भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार भोजपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशील लेखक संघ भोजपुरले आयोजना गरेको सो कार्यक्रममा सो कविता कृतिमाथि वक्ताहरु कवि विष्णुकुमार राई , कवि कविता राई र उपप्राध्यापक बाबुराम ओझाले कृतिको विविध पक्षमा आफ्ना विचारहरु राखे । लेखक र कृतिको बारेमा आफ्नो धारणा राख्दै कवि विष्णुकुमार राईले युद्ध कविता हामीले अहिलेसम्म कि त जितेपछि खुशी भएको कि त युद्धमा मारिएपछि दुखित भएको पढ्यौँ तर यस्तो युद्धमा संलग्न सैनिकको भोगाइ उसको दु:ख उसको पीडा पढ्न पाएका थिएनौं । त्यो यसै युद्ध कविताहरुबाट पढ्न पाईन्छ यस कविता सङ्ग्रहले नेपाली साहित्यमा नयाँ आयाम ल्याएको बताए । यस्तै वक्ता कवि कविता राईले लाहुरेहरुलाई हामी जसरी सोंचेका छौ अब त्यस्तो रहेन उनीहरुको पनि भावना हुन्छ, इच्छा हुन्छ, सम्वेग हुने समेत जिकिर गरिन् । उनले थपिन् “युद्ध साहित्य नेपाली साहित्यमा नयाँ र कम लेखिने साहित्य हो । लाहुरेहरुले आफुले युद्धमा भोगेको लडेको शब्दहरुमात्र युद्ध साहित्य हैन यो त परापूर्वकालदेखी लेखिंदै आएर जनआन्दोलन सम्म लडेर लेखिएको युद्ध साहित्य नै हो ।हज्जारौं वर्ष अगाडी लडिएको रामायण महाभारत पनि त युद्ध साहित्यभित्र नै पर्दछन् । साथै अर्को भुल्नै नहुने कुरा चैँ कविले आफ्नो दायित्व कर्तव्य र जिम्मेवारीहरुलाई धार्मिक सहिष्णुतामाथी जोडेका छन् ।”
यस्तै अर्का वक्ता उप-प्राध्यापक बाबुराम ओझाले बारुदले कोरेका अक्षरहरु कविता कृतिका रचनाहरु हामी जसले पढ्न परे तापनि त्यत्रो फरक निस्किंदैन । उनले अरु धारणा थप्दै भने “यहाँभित्रका कविताहरुमा त्यै समाज, त्यै दु:ख, त्यै दर्द, त्यै पीडा, त्यै मान्यता र त्यै सम्बन्धहरुलाई उल्लेख गरिएकोछ जो सय प्रतिशत सत्य छ, सही छ यसमा वास्तविक भोगाइ छ वास्तविक जिन्दगी छ ।”
कवि भीम विरही राईले लेखकीय धारणा राख्दै आफ्नो कविता कृति पाठकहरुले खोजे जस्तो भाषा शिल्पी, उत्कृष्ट कविता नभइ एउटा आफू पल्टनमा रहँदा भोगेको अनुभुतिहरुको सङ्गालो मात्र रहेको बताए । “आफ्ना जीवन भोगाइहरु लेख्दालेख्दै डङ्गुर भएर कविताका रुप लिइ पठायो जसलाई माया गरिदिनु भएको छ, त्यही कविताले भोजपुर सदरमुकामसम्म ल्याइपुर्यायो । सबै प्रति आभारी छु” उनले थपे । कार्यक्रममा कवि राईको सम्मानमा सम्मानपत्र, मायाको चिनो साथमा साया चोङमा स्वरुप फेटा गुथाइएको थियो ।
प्रमुख अतिथिप्रमुख, जिल्ला समन्वय समिती भोजपुरका प्रमुख कमल थुलुङ राई प्रमुख अतिथि रहेको कार्यक्रममा सभाध्यक्ष प्रगतिशील लेखक संघ भोजपुरका अध्यक्ष अमृका ताम्राकार रहेका थिए भने स्वागत मन्तव्य सङ्घका सहसचिव सुजन कटुवाल विम्वितले राखेका थिए भने कार्यक्रमको सहजीकरण सङ्घका सदस्य सङ्ग्राम किरातीले गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।


