भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा
सुनसरी । आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरि रचना वाचन गर्दै बराहक्षेत्रमा भानु २१२ औं भानु जयन्ती आइतबार मनाइएको छ ।
बराहक्षेत्र न.पा. वडा नम्बर –३ द्वारा भानुचौकमा आयोजित सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र –३ का वडाअध्यक्ष राजदीप लामाले भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै कार्यक्रमको प्रारम्भ गरेका थिए । उक्त कार्यक्रममा दर्जन बढीले आफ्नो सिर्जनाहरू प्रस्तुत गरेका थिए । यसरी रचना वाचन गर्ने सर्जकहरूमा अनुमा बस्नेत, प्राप्ति कार्की, सबिना बानियाँ, युबिशा श्रेष्ठ, पवन कार्की, सुजन बस्नेत, साजन कोइराला, शारदा निरौला, दुर्गा बस्नेत, सबिता फागो चोङ्बाङ, प्रल्हाद पहरेदार, रोमु अधिकारी लगायत थिए । उनीहरूले भानुभक्त विशेष र अन्य खाले रचना वाचन गरेका थिए ।
आदिकवि भानुभक्त आचार्यको बारेमा प्राध्यापक रमेश काफ्लेले चर्चा परिचर्चा गरेका थिए । आज विश्वभर रहेका नेपालीलाई भाषाको माध्यमले एक सुत्र बनाएको बताए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथि बराहक्षेत्र–५ का वडाअध्यक्ष अतिथि रोहित काफ्लेले यी यस्ता सफा मन भएका सर्जकहरूले देशको दुषित राजनीतिलाई सङ्लो बनाउनमा मद्दत गर्न अनुरोध गरे ।
यस्तै कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र वडा नम्बर –३ का वडाअध्यक्ष राजदीप लामाले चेतनाको विकास नभइ अन्य भौतिक विकासले मात्र गाउँ समाज पूर्ण नहुने बताए। उनले “हामीले आजसम्म विकासलाई एकपक्षीय ढङ्गले मात्र बुझ्यौ कि भन्ने लाग्छ । तर अब विकासलाई फराकिलो अर्थ लगाउनु पर्दछ । कला साहित्य र शिक्षा भनेको चेतनाको विकास हो अब हामी चेतनाको विकास गर्न पनि उत्तिकै सकृय छौँ । म अथवा मेरो टिम सधैंभरी जिम्मेवारी पदमा रहला नरहला तर स्वर्णिम साहित्य समाजसङ्ग सदा म जोडिने छु । स्मरण रहोस् यो पल्टबाट वडाको योजनामा स्वर्णिम साहित्य समाजलाई रातो किताबमा समेट्दैछौँ ।”
कार्यक्रमलाई स्वर्णिम साहित्य समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेका थिए । यस्तै उपाध्यक्ष शरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष समाजका सदस्य मनोज विष्ट रहेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।





