मुन्धुङगे र साङधुङगेको नालीबेली - Naya Online

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप


को हुन् मुन्धुङगे र साङधुङगेहरू ?
मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र साङधुङ्गेका सन्तानहरूका रुपमा चिनाउँछन् । यसमा पनि मिक्वाखोला पूर्व लिवाङतर्फका सांवा, लिवाङ र थलङहरूले मुन्धुङगेका सन्तान र मिक्वाखोला पश्चिमका नाल्बु, थुकिमा, लिङतेप र सान्थाक्रा गाउँहरूका नाल्बो, केदेम, हाङगाम, चङवाङ, मादेन, तुम्बाहाङफे, लिङथेप र लङवाहरू साङधुङगेका सन्तानहरू भनेर चिनिन्छन् । मासेरेङ यकलाई आफ्नो माङगेन्ना लुङधुङ मान्ने सेरेङवशी लिम्बूहरूका आदि पुरुष(मुन्धुमी पात्र) साङधुङगेहाङ हुन् भन्ने विश्वास गरिन्छ । माथि उल्लेखित सेरेङ वंशका लिम्बू वंशजहरूले आफ्ना विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू सम्पन्न गर्दा साङधुङगेको नाम उच्चारण नगरी सम्पन्न हुन सक्दैनन् ।
साङधुङगेहाङको काल्पनिक चित्र
माङगेन्ना मुन्धुमले के भन्छ ?
लिम्बू भाषामा ‘माङगेन्ना’को शाब्दिक अर्थ– ‘चेलीबेटी र शिर उठाउनु’ भन्ने हुन्छ । यसरी शिर उठाउने पूजा(अनुष्ठान) गर्दा सम्बन्धित व्यक्ति, परिवार, वंश र थर(मिङस्रा)को उत्पत्तिकालदेखि हालसम्मको मुन्धुम(इतिहास)लाई फलाक्ने(वाचन) गरिन्छ । माङगेन्ना मुन्धुममा आदि पुरुषको उत्पत्ति, उत्पत्तिस्थल(माङगेन्ना यक)बाट अन्यत्र बसाईसराईं, परदेश यात्रा, युद्ध र सन्धि, दुःख र सुखका कुरा, नातागोता तथा कुलकुटुम्ब आदिको वर्णन गर्दै आफ्नो कुलदेवता(माङ)ले अहिले वसोवास गरिरहेको स्थानमा पनि सुख र शान्ति दिइरहेकाले आफु, आफ्नो परिवार वंशको भूलवश शिर निहुरिने गरी कुनै कार्य भएको वा गरेको भए चेली माइतीहरूको शिर उठोस् भनेर प्रार्थना गरिन्छ । ‘मुन्धुमी मत अनुसार मेरिङदेन क्षेत्रका रैथाने वंश थरीहरू सबैले साङधुङगेलाई मुन्धुमी नायकको रुपमा वंशीय पहिलो युगपुरुष मान्दै आएका छन् । जन्म, न्वारान, विवाह, मृत्यु संस्कार, खाउमा, तङसिङ, लुम्मायेप्मा, नाहाङमा आदि जे अनुष्ठान गरे पनि अनिवार्य साङधुङगे फलाक्नैपर्छ ।’(नाल्बो २०७८: १३५)
लिम्बू जातिले माङगेन्ना पूजा बर्षमा दुई पटक(उधौली र उभौली) गर्ने गर्दछन् । कतिपय कारणहरूले गर्दा उधौंली उभौली माङगेन्ना अनुष्ठान गर्न नसके वा नभ्याएमा बर्षमा एक पटक र कम्तिमा तिन बर्षमा अनिवार्य  गर्नैपर्दछ भन्ने मान्यता लिम्बू जातिमा रहेको पाइन्छ । अन्य सत्र थुम दस लिम्बूवानका लिम्बूहरूले झैं साङधुङगे र मुन्धुङगे वंशजहरूले पनि सोही रीतले माङगेन्ना अनुष्ठान सम्पन्न गर्ने गर्दछन् । मिक्वाखोलाका साङधुङगे र मुन्धुङगे लिम्बू वंशहरूको माङगेन्ना मुन्धुम अनुसार उनिहरूको उत्पत्ति कथा यस्ता छन्–
१. मुन्धुङगे वंशज थलङ वंशावली अनुसार–
“मुन्धुङगे र साङधुङगे मुनाखाम्ना हुँदै दसराखा तोक्पेगोला पुग्दा विरक्तिएर रुन थाले । उनिहरूको आँसुबाट मिक्वाखोला(मेवाखोला) उत्पत्ति भयो । त्यही मिक्वाखोलासंगै उँधोतिर झर्दै युमिक्मा पोखरीमा खर्वाथक बनाएर पेङ्यु पेन्दाङ फाक्सिङदाङदेखि उँधो हेर्दा दक्षिणमा अहेमा खोला, उत्तरमा चम्नामा खोला, माथि धरक्या, तल युगक्पा बीचको उच्च जमिनमा तेल्ला लाजम राखी माङगेन्ना गर्न खोज्दा अनिष्ट भई माङगेन्ना गर्न सकेनन् । त्यस ठाउँलाई आजसम्म तेल्लाजान भनिन्छ ।
त्यसपछि फङफङे झरना फेदीको समाजे पुगी छुट्टिन लागे तर भाइको मायाले दाजु मुन्धेङगेलाई छाडेन । उसले भाइ सान्धुङगेलाई मिक्वा खोला तारेर सिवा खोलासम्म पु¥याई ‘लुम्मायेप्पा’ भन्ने शक्तिशाली देवता समेत भाइलाई नै दिई पठाएर पुनः सामुजे फर्किए । ज्ञातव्य रहोस कि अझै पनि दायाँपट्टि माथि थालमा अक्षता कलश राखी, चोखो भात्तीजाँड राखी ‘लुम्मायेप्पा’ देवताको पूजा गर्ने चलन कायम नै छ ।
मुन्धुङगे सामुजेबाट फङ्फङ्देन देवीसंग शक्ति मागी फङ्फङ्देन खोला तरेर तुम्बाङयक, लिङथाङयक, पुक्वायक, खान्दाङ्यक हुँदै बोरिङयक पुगे । यहाँसम्म आउँदा पनि माङगेन्ना यक नपाएपछि येक्नेम्बा काम्पोयोक, मेन्छेचोक, फोम्फोम्बा हुँदै नुकुवा खोला तरेर माथि जाँदा नुकुवा खोला र सुम्लुवा खोलाको बीचमा रहेको साराजा साप्तोनेम्बामा बल्ल माङगेन्ना गर्न मिल्ने भयो ।
उनले त्यहाँ ‘साम्याङरे खाप्मेना, युप्पारे लेक्मेना, मसथिङरे थेप्मेना, किधिरे मेङकाक्ना, आक्वारे मेन्अक्ना(सुनले छाएको, चाँदीले पोतेको, ईयूँ/बहुमूल्य पत्थरले ठोकेको, मलसाँप्रोले नाघ्न नसक्ने र कागले ठुँग्न नसक्ने)’ शक्तिशाली दरबार बनाई सोही ठाउँमा भाइसंगै तयार गरेर आफुसंगै ल्याएको तेल्ला र खर्बा राखी लासो बनाई माङगेन्ना गरेको मुन्धुम जीवितै छ ।”(थलङ २०७४: १९)
२. सिरेङ चङवाङ वंशावली अनुसार–
सिरेङ चङवाङ वंशावली अनुसार सिरेङहरू देववंशी हुन् । फेदापमा मधेसी किरात देववंशी राजा शंखदेवले स्थापना गरेका हुन भन्ने इतिहासकार ईमानसिंह चेम्जोङले किरात इतिहासमा उल्लेख गरे अनुसार आफ्नो वंश र वंशावलीलाई जोड्ने थुप्रै लिम्बू वंशहरू छन् ।
‘पर्वते राजाको सातौं पुस्तापछि पूर्व नेपाल फेदाप राज्यमा साम्युकहाङ राजा भए । राजा साम्युकहाङको शासनकालमा भाइफुट्टा वंशी र देव वंशीका बीचको द्वन्द्व चरमोत्कर्षमा पुग्यो । राजा साम्युकहाङले देववंशी किरातीहरूलाई असमान व्यवहार गर्दै अत्यन्त अत्याचार गर्न लागे । राजा साम्युकहाङको अत्यचार मधेशबाट फिरेका किरातका सन्ततिले सहन नसकेर वाजदेवको नेतृत्वमा साम्युकहाङको विरुद्ध खडा भए । इतिहासकार ईमानसिंह चेम्जोङले ुत्जभ ज्ष्कतयचथ बलम ऋगतिगचभ या प्ष्चबत एभयउभिु नामक ऐतिहासिक पुस्तकमा ‘किरात जनताको दोस्रो विद्रोह’ भनी नामाकरण गरिएको छ । यस विद्रोहलाई पूर्वी किरात राज्य फेदापको एक ऐतिहासिक घटनाको रुपमा मानिएको छ । त्यस विद्रोहमा लासा वंशी किरातहरूले पनि सहयोग गरे । यस विद्रोहमा भाइफुट्टावंशी राजा साम्युकहाङ मारिए । त्यस बेलादेखि पूर्वी नेपाल फेदाप राज्यमा भाइफुट्टावंशी राजाहरूको अन्त्य भयो । साम्युकहाङको मृत्युपछि किरात समुदायका प्रमुखहरूले इस्वी सन् ३०० बर्ष पछि वाजदेवलाई आफ्नो राजा छाने । वाजदेव पूर्व किरात राज्य फेदापको राजा भएको समयलाई इतिहासकार ईमानसिंह चेम्जोङले किरात इतिहास १९४८ मा इस्वी सन ३०० बर्षपछि भन्ने धारणा प्रस्तुत गरेका छन् । वाजदेवले पूर्व किरात राज्य फेदापको राजा भएको समय इस्वी सन् चौथो शताब्दिको पूर्वार्धको समयलाई मान्न सकिन्छ । वाजदेवले पूर्व किरात राज्य फेदापको पुरानो राजधानी फेदापलाई छोडी नयाँ राजधानी लिवाङमा बनाई फेदाप राज्यको शासन गरे । वाजदेवका पुर्खाहरूले आफुलाई देववंशी वा देवपुत्र भनी देव विभूषणले विभूषित गर्दथे । देव भन्नाले देवत्व, देव आत्मा वा देव प्रतिनिधि भन्ने बुझिन्छ । यसरी आफुलाई देव आत्माले प्रेरित वंश वा देवपुत्र मानी देव विशेषण प्रयोग गरेको पाइन्छ ।
वाजदेवको समयमा पूर्वी किरात राज्य फेदापको सीमा उत्तर साँध तम्बर, दक्षिण पाँचथर, पूर्व याङवरक र पश्चिममा अरुण नदी थियो । वाजदेवले पूर्वी किरात राज्य फेदापमा ३० बर्ष जति शासन गरे । वाजदेवपछि उनका सन्तानहरूले एकीकृत फेदाप राज्यमा बाह्र पुस्तासम्म शासन गरे । वाजदेवपछिको राजाहरूको पुस्ताक्रम निम्नानुसार छ ।
१. वाजदेव ८. सोतुमहाङ
२. शंखदेव ९. लिम्बूहाङ
३. देवशंख १०. लिजेहाङ
४. देवापुर ११. मर्पुगहाङ
५. देव भिक्षुक १२. देन्देहाङ
६. देवा वल्क १३. कुन्दुङजापहाङ
७. देव पन्तुक १४. देव मुन्धुङगेहाङ, देव सान्धुङगेहाङ, देवकनेहाङ, देवकचुहाङ । .
पूर्वी किरात राज्य फेदापका राजा वाजदेवको बाह्रौ पुस्तापछि कुन्दुङजापहाङ राजा भए । कुन्दुङजापहाङले राज्यभार सम्हालेपछि एकीकृत फेदाप राज्यको अस्तित्व रहेन । कुन्दुङजापहाङले आफ्नो पुत्र मोहमा आफु जीवित हुँदै पूर्वी किरात राज्य फेदापलाई आफ्ना ४ जना छोराहरूलाई बाँडी दिए । जेठो मुन्धुङगेहाङलाई तम्बर, मेवा गाउँहरूका राजा बनाए । माईला साङधुङगेहाङलाई पाँचथर, याङवरक गाउँहरू दिए । साहिंला कनेहाङलाई मैवाखोलाका गाउँहरू दिए र कान्छा कचुहाङलाई संखुवा उत्तरका गाउँहरू दिए । यसरी पूर्वी किरात फेदाप राज्य स–साना प्रदेशहरूमा विभाजन भयो । फेदाप राज्यले आफ्नो अस्तित्व कायम गर्न सकेन र फेदाप राज्यको अवधारणा फेदाप राज्यको विभाजनसंगै समाप्त भयो । फेदाप राज्यको विभाजनपछि हाल ‘फेदाप’ शब्दले एउटा सानो क्षेत्रलाई मात्र बुझाउँछ । पूर्वी नेपालको किरात राज्य फेदापको अवधारणा त्यसपछि आउन सकेन । त्यसपछिका समयमा फेदाप राज्यको नाम इतिहासमा मात्र सिमित रह्यो ।’(चोङवाङ २०६२: १३)
चोङवाङ वंशावलीमा माथि उल्लेखित विवरणहरू ईमानसिंह चेम्जोङको किरात इतिहासबाट उद्धृत गरिएका हुन्, यसैले यस बारे थप केही भनिरहन परेन । वास्तवमा मिक्वाखोला क्षेत्रको इतिहासमा शंखदेव, वाजदेव लगायतका देववंशी, भूईंफुट्टावंशी, यक्केनावावंशी, खाम्बोङवा तथा कासीथाङवावंशीहरूको अस्तित्व र उपस्थिती देखिदैंन ।
३. केदेम वंशावली– २०६३ अनुसार:
साङधुङगेकै सन्तानहरू मध्येका केदेमहरूको उत्पत्ति थलो नाल्बु गाउँको ‘फच्चङ’ भन्ने ठाउँलाई मानिन्छ । हाल यहाँ केदेमहरूको रस्तीबस्ती छैन । यद्यपि उनिहरू यस स्थानबाट लङवा खोलापारिको वरक भन्ने स्थानमा सघन रुपमा बसोबास गर्दै आइरहेका छन् । केदेम वंशावली–२०६३ ले ईमानसिंह चेम्जोङको किरात इतिहासमा उल्लेखित कुन्दुङजापाहाङका चार भाइ छोराहरू क्रमशः मुन्धुङगे, साङधुङगे, कानेहाङ र कुचुहाङ भन्ने विवरणहरूलाई नै चर्चा गरेको छ । यद्यपि चेम्जोङले भने झैं साङधुङगेका सन्तानहरू याङवरकमा बसोबास नभएको तथ्य चाहीँ उजागर गरेको छ । बरु मुन्धुमको हवाला दिदैं देवलङटेनका छोरा १२ भाइ र २ बहिनी छोरीहरू भएको उल्लेख गरेको छ ।
माथि उल्लेखित १२ भाइहरू देवलङटेनका छोराहरू भनिएका छन् । तर ती १२ भाइहरूको आगमन मार्ग, उनिहरूको दाबी गरिएको वंश, कालखण्ड, रस्तीबस्ती रहेको भूगोल, माङगेन्ना यक आदिको आधारमा एकै दाजुभाइ वा एकै वंश हुने कुनै संभावना देखिदैंन । उदाहरणका लागि मेवाखोलाका मुन्धुङगे र साङधुङगेका सन्तानहरू क्रमशः ७ थरी लिवाङ/थलङहरू र ११ थरी सेरेङहरू हुन् । त्यस्तै तमोरखोलाका थाक्मिया र मुरेगनका सन्तानहरू क्रमशः ३५ थरी माबोहरू र २५ थरी लेक्वाहरू हुन् । यस्तै अन्य वंशहरू पनि फरक फरक हुनाले १२ भाइ छोराहरूको मिथक निराधार देखिन्छ ।
४. साम्याङखाम वंशावली(२०७६) अनुसार
“साङधुङगे वंशीहरूको इतिहास मुन्धुम अनुसार साम्याङखामको थातथलो महाश्रेङ हो । परापूर्वकालमा हाम्रो पुर्खा श्रेङचो नाम गरेको व्यक्ति तिब्बतबाट सिंसाखरेबा मेवाखोलाको शिर मेरिङदेनमा आई मेवाखोलामा राजकाज गरी आएका थिए । त्यस समयमा इमेवंशी र प्रान्तीय खडेराजाहरूले पनि मेवाखोलामा राज्य गरी आएका थिए । इमेवंशी राज्यको केन्द्र ईलामसम्म फैलिएको (थियो ?)भने लाप्सिङखानासम्म खुवा प्रान्त(संघीय) राज्य विस्तार गरेका यीनै प्रान्तीय राजाहरू मध्ये खडेराजालाई मेरिङदेनका राजा देवालाजेका छोराहरू जेठा मुन्धुङगे र कान्छा साङधुङगेहरूले युद्धमा पराजित गरी मेवाखोला वारि र पारि भागबण्डा गरी आजपर्यन्त साङधुङगे र मुधुङगेहरू बसोबास गरी आएको हाम्रो पितापुर्खाहरूको भनाई छ ।”(साम्याङखाम २०७६: १/२)
“मेवाखोलाको इतिहास र मुन्धुम अनुसार देवालाजेका सन्तानहरूमा कान्छा साङधुङगे र जेठा मुन्धुङगे हुन् । यी साङधुङगे र मुन्धुङगेहरू फैलने क्रममा एक आपसी समझदारीमा सिमाना छुट्याए जसमा साङधुङगेको भाग मेवाखोला वारि र मुन्धुङगेको सिमाना पूर्वमा मेवाखोला, पश्चिममा हाङवाखोला, उत्तरमा तोक्पे गोला र दक्षिणमा तमोर मैवा नदी किनार रहन गयो ।”(साम्याङखाम २०७६ ः २)
५. हाङगाम वंशावली– २०७५) अनुसार
“कार्काेछिङ लामा र पूर्णबहादुर लिम्बूको वि.सं. १९२६ र वि.सं. २०१२ सालको लेख(टिपोट) अनुसार सुन्दुछेनदेखि १० औं पुस्तापछिका देव लङटेनदेखि पनि धेरै समयपछि १० पुस्तापछिका राजा कुन्दुङचापाहाङका छोराहरू साङधुङगे र मुन्धुङगेहाङ ल्हासा तिब्बतबाट आफ्ना प्रजा, फौज, दलबल सहित मेवाखोलाको सादोङवा सोदोवरक ताप्लेजुङकै प्रसिद्ध तोक्पेगोला पवित्रभूमि धार्मिक स्थलबाट तागेरा निङवा?फु माङसंग बल शक्ति मागी आफ्नो धन, दौलत, फौज, हातहतियार शत्रुबाट जोगाई मेवाखोलाको दक्षिण पश्चिम हुँदै आउने क्रममा साङधुङगेहाङ राजा महास्रेङमा यक(गढी) बनाई राज्य गर्न थाले भने मुन्धुङगेहाङ पारि लिवाङमा राज्य गर्न शुरु गरे ।”(हाङगाम २०७५: १/२)
६. नाल्बो एकपुस्ते वंशावली (पाण्डुलिपि १९९४) अनुसार
वि.सं. १९९४ मा वलिवन्त नाल्बोद्वारा टिपोट गरिएको एक पुस्ते वंशावली अनुसार साङधुङगे, मुन्धुङगे र जोंजोंपो लामाहरूको वंशक्रम यस प्रकार रहेको छ ।
“कासीदेषी आयाका सुंद्रसेन नेपाल आई वस्येको पुस्ता –१
नीजको छोरा वरेयात सेन पुस्ता –२
नीजको छोरा धानेरा सेन पुस्ता –३
नीजको छोरा तेवोसेन पुस्ता –४
नीजको छोरा सषावोत सेंनको पाला हत्ते गरी पुस्ता –५
नेपाल छोडी जोषी सरुव ली उत्तर तरफ कयालासामा पुक्ता ध्यानी लाम्येनी कुफामा वसेका थीयो र सो लाम्येनीसंग फोग हुता सो लम्येनी कुफा आसरामो मै जनमेको करुग्यामजो काजी पुस्ता –६
सो मौली कोतर हुनाले लासाको दाभायाको हो नीजको छोरा नेवा फुरुवगजी पुस्ता –७
नीजको छोरा तेवालोगे पुस्ता –८
नीजको छोरा तेवान्मांजे पुस्ता –९
नीजको छोरा तेवाथुतुग पुस्ता –१०
नीजको छोरा तेवानीजुरु पुस्ता –११
नीजको छोरा ३ भाइ जेथा मुंधुंगे मईला सांधुंगे गंछा जोंजोंपो लामा येती ३ भाइ लासा छोडी पसिम तरफ आयाको हो गंछा आफना वातो आयाका हुनाले मैवाषोला येफेंःयोमा रोकी वस्येका हुनाले फागु येफे ः थोफराहरू गंछा २ भाइ तांवारा काती मेवा सीर आया तेला जान पसिं वारी तरी औने जेथो मुंधुंगे सतोयामा रोकी वस्येको हुनाले नीजको छोरा २ भाइ हो लिवां थुलुं हो पुस्ता –१२
माइला वारी वातो आउने सांधुंगे माहासीरीं रोकी वस्येका सीरीं हो सांधुंगेको छोरा तेवा साजिने पुस्ता –१३
नीजको छोरा तेवा वेवेने पुस्ता –१४
नीजको छोरा नेवेने पुस्ता –१५
नीजको छोरा तेवरु मुगेवा पुस्ता –१६
नीजको छोरा जेथा तेवागेरुंहां माईला लारावाएको संतान लींतेवा हो
तेवागेरुंहांको सांथान जुंपांमा तेंवालोवा सामयांषावा नालावु हो पुस्ता –१७”
(स्रोत: वलिवन्त नाल्बो १९९४)
७. फागो चोङवाङ वंशावली अनुसार
“कुन्दुङ चापाहाङका यी १८ भाइ छोराहरू भएकालाई स्व. ईमानसिंह चेम्जोङले किरात इतिहास नामक पुस्तकमा उल्टो लेख्नु भएको छ वा पुरै लेख्नुभएको छैन । १८ भाइहरूको पुर्खा वा थिमा थिप्मा अर्थात उनिहरूको पुर्खाबाट थर वंश भई निम्नानुसार लेखिएको छ । साथै दोस्रो वासस्थान वा थुम घडेरी माङगेन्ना यक मुन्धुम अनुसार लेखिएको छ । ती १८ भाइ मध्ये ९ भाइ पूर्व गए । सोराङवा एप्लावा(ब्रह्मपुत्र नदी भारत) नौ भाइ मध्ये एक भाइ नदी तरेर अझै पूर्व लागे । ८ भाइ चाहीं उत्तर ल्हासातिर लागे । कैयौं बर्ष त्यतै बसे । पछिबाट मिवाको शीरमा मुन्धुङग,े साङधुङगे, चङवाङलिम्बा झरे । तमरको शीरमा थाप्मिया र मुरेगन झरे । यभलुङको शीरमा लाप्साङमी झरे । हेङवाको शिरमा फेदेनमी झरे । कईक्वाको शिरमा मेचे कोचे झरे । युमिक्मा, सारेक्मा, खम्बुलम्बा, मेन्दातरङ, पेङदमा, लिगङ्फुक, ताङखु, न्याजो, पापुङ, तेल्चाङ यी स्थानसम्म मुन्धुङगे, साङधुङगे चङवाङलिम्बा संगै आए । यी तीन भाइले मिवाखोलाको तेल्जाङ गाउँमा शिकार खेले । मुन्धुङगेले शिकार हान्दा लागेन । साङधुङगेले हान्दा पनि लागेन । चोङवाङलिम्बाले शिकार साम्दाङवा चरालाई हान्दा तर्सेर पश्चिम सिन्धोलुङ ओसाङ डाडाँतिर भाग्यो । त्यतिखेर चोङवाङलिम्बा शिकार पछ्याएर त्यतै लागे । मुन्धुङगे र साङधुङगे मिवाखोलाको बायाँतर्फ मुन्धुङगे झरे । दायाँतर्फ साङधुङगे मिवा सिवा दोभान हुँदै एकापट्टि मुङवाखोला अर्काे उत्तरपट्टि लङवाखोला र साम्सिङवा खोल्सीको बीचमा इनु यकमा, मासिरेङ यकमा, यक्चे यकमा, किधिरीरे मेम्वितमा यक, मुयारे मेन्गाकमा यक निसाम्माङ युक्ना तागेरा निङवाभु युक्ना खाप्पु साधुङगेरे सोधुङ कुमु थान्दुरो । खाप्मु युङसिङलो । थिन्दोङ कुसा पोराहारे खुन्छी मिङस्रा थामारुङ खुन्छी मिङहा ।
मुन्धुङगे र साङधुङगेका सन्तान र माङगेन्ना यक
१.सिरेङ चङवाङ २.साम्मेखाम ३.लङवा ४.मादेम्वा ५.सिङथा ६.साम्सो ७.यक्वा(याखा) ८.हाङगाम ९.लिङथेप १०.केदेम ११.साम्सुयाङ १२.चङवाङ नाल्बो १३.मादेन नाल्बो १४.तुम्बाहाङफे १५.थक्लुङ १६.फोम्बो १७.आवाजङगो १८.सावा १३ थर १९.थलङ २०.लिवाङ ४ थर २१.खोक्लिङ २२.थुयुमा । माथि लेखिएका थरहरू मुन्धुङगे र साङधुङगेको संयुक्त थर हुन् । उनिहरूको माङगेन्ना यक पनि मासिरेङ यक नै हो ।”(चोङबाङ २०७६: ६२/६३)
८. कुरुम्वाङ वंशावली २०६८ अनुसारः
“वाजदेव वंशसंग जोडिएको लिम्बूहरूलाई आठ आपुङ्गी राजाहरूको सन्तान भन्दा कुनै फरक देखिदैन । जस्तै: मुन्धुङगे, साङधुङगे, कनेहाङ र कचुहाङका सन्तानहरू पर्दछन् । वर्तमान लिम्बूहरूमा फागोबाट छुट्टेका थरहरू, सिरेङबाट छुट्टेका थरहरू र ईमेहाङबाट छुट्टेका थरहरू सबै पर्न जान्छ ।”(कुरुम्वाङ २०६८: ३१)
९. एभेङ थोप्रा वंशावली २०५५ अनुसार
देव साङधुङगे, देव मुन्धुङगे, देव चाङबो लामा काजीहरूको जन्म ल्हासामा भएको र पछि भोटबाट उँधो झरेका थिए । उनिहरूका बाबु देव थुन्दुक र बाजे देवकुजाहाङ(कुन्दुङजापाहाङ ?) थिए । एभेङ थोप्राहरूको वंशावलीमा ईमानसिंह चम्जोङ र फागो वंशावलीहरूमा लेखिएका कनेहाङ र कचुहाङहरूको नाम उल्लेख गरिएको छैन । तिब्बतमा राजा ल्हासाहाङको सन् ८३९ मा हत्या भएपछि अन्य वंशजहरू झैं भाग्ने क्रममा देव साङधुङगे, देव मुन्धुङगे, देव चाङबो लामा काजी समेत ३ दाजुभाइहरू मेवाखोलाको तांवरा डाँडा, तेलजाङ् हुँदै फुत्लासो पोखरी आइपुगेका थिए ।(थोप्रा २०५५: २९)
१०. साङधुङगेहाङ सेरेङ लङवा वंशावली अनुसार
‘मिक्वाखोलाका मुन्धुङगे र साङधुङगेको समय ई.पू. ७०० तिर मानिएको छ । उनिहरूको बसोबासको क्षेत्र सोधुङ वरक वरपर, तोप्केगोला र मिक्वाखोला क्षेत्रलाई मानिन्छ ।’ (लङवा २०७९: १२) यस वंशावलीमा मुन्धुङगे र साङधुङगेको पितालाई तेन्देहाङ भनिएको छ । यी तेन्देहाङलाई कतिपय वंशावली तथा लेखहरूमा कुन्दुङजापाहाङ भनिएका छन्, तर यो ‘साङधुङगेहाङ सेरेङ लङवा वंशावली–२०७९’ ले अन्य दाबीहरू अस्वीकार गरेको छ ।
११. सेरेङ मादेन लिम्बू वंशावली अनुसार
सेरेङ मादेन लिम्बू वंशावली–२०८१ अनुसार– ‘नेपालको अरुणपूर्व हालको ताप्लेजुङ जिल्लास्थित मासेरेङ यक अर्थात् मिक्वाखोला क्षेत्रका मुन्धुङगेहाङ र सान्धुङगेहाङका बारेमा इतिहासमा खुबै चर्चा र परिचर्चा भएको पाइन्छ । याक्थुङ सेरेङ वंशको मुन्धुममा जन्म, न्वारान, विवाह, मृत्यु संस्कार(खाmउमा), तङसिङ्, लुङ्मा उेप्मा, नाहाङ्मा आदि सबैको माङ्ख?मा(पूजा) गर्दा साङधुङगेहाङको नाम लिनैपर्छ । त्यसैले साङधुङगेहाङलाई मुन्धुमी प्रमुख नायकको रुपमा सेरेङ वंशहरूको पहिलो युगपुरुष मान्दै आएका छन् ।’(मादेन/आङबुङ २०८१: १२) यस्तै सोही वंशावलीका अनुसार– ‘….मिक्वाखोला मासेरेङ क्षेत्रका मुन्धुङगे र सान्धुङगे दुईजना एकै दाजुभाइ हुन् । मुन्धुङगे र सान्धुङगे कासीथाङ्बा नभई उत्तरका सिन्युक मुदेन(थावा) वंशी हुन्…।’(मादेन/आङबुङ २०८१: १४)
‘मेरिङदेन थोसु यकवासी विभिन्न सेरेङ वंशहरूको विश्वास र मान्यता अनुसार ‘मासेरेङ’ सेरेङवंशी याक्थुङ लिम्बूहरूको पुख्र्याैली आदिभूमि हो । अनादिकालदेखि नै सेरेङ वंशको बसोबास रहेको यस क्षेत्रमा पुर्खा सान्धुङ्गेहाङले शासन गरेका थिए ।’(मादेन/आङबुङ २०८१/ १४)
त्यस्तै सेरेङ मादेन लिम्बू वंशावली–२०८१ ले मासेरेङ यक र मेरिङ्देनका बारेमा स्पष्ट व्याख्या गर्दै भनेको छ– ‘याक्थुङ लिम्बू भाषामा ‘मेरिङदेन’को शाब्दिक अर्थ अलाप विलाप गरेको ठाउँ भन्ने हुन्छ । यसैगरी ‘मासेरेङ’को अर्थ सेरेङ लिम्बूहरूको  मुख्य साझा मातृस्थल वा मातृभूमि भन्ने हुन्छ ।’(मादेन/आङबुङ २०८१: १४)
१२. ताप्मादेन वंशावली– २०७९ अनुसार
ताप्मादेन वंशावली प्रथम संस्करणमा मुन्धुङगे र साङधुङगेहरू माबोहाङहरूसंगै तिब्बतबाट लिम्बूवान प्रवेश गरेको उल्लेख भएको छ । माथि उल्लेखित विभिन्न वंशावली, मिथक र मुन्धुमहरूबाट मुन्धुङगे र साङधुङगेहरूको समय ई.पू. ७०० मानिएको देखिन्छ भने माबोहरूको समय सन् ८४२ पछि मानिन्छ । यसको अर्थ लासाहाङ र मुन्धुङगे र साङधुङगेहरूको समय १,५४२ फरक देखिन्छ । यसैले केही वंशावलीहरूमा ८ भाइ, १२ भाइ र १८ भाइकाहरूका रुपमा उल्लेख गरिने नामावलीमा मुन्धुङगे र साङधुङगेहरू राख्न उचित हुँदैन, त्यसैले ती १८ भाइहरू विभिन्न कालखण्डमा मिक्वाखोला र तमोरखोलामा प्रवेश गर्ने ताङसाङथावाहरू मान्न सकिन्छ । त्यस्तै कतिपय लिम्बू वंशावलीहरूमा मुन्धुङगे र साङधुङगेहरूका भाइ (कुन्दुङजापाहाङका छोरा)हरूका रुपमा काजुङमा, कानेहाङ, कचुहाङ, चाङबो लामा आदिलाई वंशावली लेखेको पाइन्छ । तर ती पात्रहरूलाई मुधिङ्गुम लेक्वाहाङ ताप्मादेन वंशावली–२०७९ अनुसार यसरी उल्लेख गरेको पाइन्छ– ‘त्यौगुन्दाछका पुत्रहरू काजुङमा, कानेमा, कासेमा र काजोमा नाम गरेका ४ जना थिए ।’(ताप्मादेन २०७९: ४५)
उवाहाङका ३ पुत्रहरू १. माबोहाङ, २.पेलेहाङ र ३.साम्दुरा थिए । बुवालाई मारेपछि सन् ८६५ मा माबोहाङ आफ्ना भाइहरू, काका चाङवाहाङका शाखाहरू र खालाहाङका छोरा सुसुनेहाङहरू दक्षिण तिब्बतको उ गाउँ चाङ गाउँआदि स्थानहरूमा केही समय रहदैबस्दै सन् ८७७ मा फुत्लासो बेलासो वरुम्सुम हुँदैं तमोरको बाटो लिएर याक्थुङ लाजे लिम्बूवान पसे ।(ताप्मादेन २०७९: ४४)
लेक्वा ताप्मादेन वंशावलीकार सूरज ताप्मादेनका अनुसार– सन् ८३९ मा राजा लासाहाङ मारिएपछि बौद्धमार्गीहरूले ल्होसार पर्व मनाएको र सन् ८६५ मा ओलाङचुङ क्षेत्रमा उवाहाङ मारिएपछि फुटुक चाड मनाइएको उल्लेख गरेका छन् । त्यस्तै कासेमा सन्तानहरू तावा थरी लिम्बू भएका र काजुङमा शाखा केही समय साम्लुप्ली साम्बाहाङ वंश भएको र कालान्तरमा मुहिगुम लेक्वाहाङ वंशका रुपमा स्थापित भएका हुन् ।(पेज ४५) तर तिब्बतको इतिहासमा लासाहाङको नाम भेटिदैंन, बरु उनको सट्टा तिब्बती सम्राट ‘ठ्रि रल्प चन’का छोरा ‘उदुम चन् पो’ नामका राजा देखिन्छन् । जो सन् ८४२ मा बौद्ध लामा ल्हालुङ पेल्गी दोर्जेले हत्या गरेका थिए । उनलाई बौद्धमार्गीहरूले घृणा गरेर लाङदर्मा(हिम्मतहीन गोरु) उपनाम राखेका थिए । उनै लाङदर्मालाई इतिहासकार चेम्जोङ, माबो वंशावलीहरू, लेक्वा वंशावलीहरू र लगभग अधिकांश लिम्बू इतिहासहरूमा लासाहाङका रुपमा चित्रण गरेको पाइन्छ ।
१३. नाल्बो वंशावली–२०७८
नाल्बो वंशावलीमा मुन्धुङगे र साङधुङगेलाई मुन्धुमी पुरुषहरूका रुपमा अथ्र्याईएको पाइन्छ । उनिहरूको आगमन सिङमाङगढतर्फबाट नभई तिब्बततर्फबाट भएको उल्लेख गरिएको छ । उनिहरूको विचरण क्षेत्र ताङवारा(तोप्केगोला), सुम्फुनुसा वरक, सोदुङ वरक, मिक्वा वरक, युमिक्वा वरक, किलिङतेम्बे, चाङगातेम्बेहरू हुन् । मिक्वाखोलाको उपल्लो भूभागमा सदियौं अघिदेखि पशुपालन र शिकार खेल्दै बसेका साङधुङगे र मुन्धुङगेका सन्तानहरू ई.पू. ७०० तिर मात्र तल्लो भू–भागमा झरेको कुरा मुन्धुममा उल्लेख भएको पाइन्छ ।
नाल्बो वंशावलीले मिक्वाखोलाका मुन्धुमी पुरुषहरू मुन्धुङगे र साङधुङगे दुई जनालाई मात्र वर्णन गरेको छ । इतिहासकार चेम्जोङले भने जस्तो उनका अरु दुई जना भाइहरू कनेहाङ र कचुहाङलाई पनि स्वीकार गरेको छैन । त्यस्तै उनिहरूको उत्पत्ति र आगमन स्थलका बारेमा पनि अति स्पष्ट तथ्य अगाडि सारिएको छ– ‘कामरुप र सिङमाङगढबाट आउनेको पिता र मेरिङदेन लासावासीको पिता एउटै हुन संभव छैन ।’ (नाल्बो २०७८: १३५)
माथि उल्लेखित विभिन्न वंशावलीहरू बाहेक ओख्राबु वंशावली–२०६९, सिन्धोलुङ फागो वनेम वंशावली–२०७०, येक्तेन मोरोहाङ वंशावली–२०७४, यक्युक वंशावली–२०७८, तेम्बे फागो वंशावली–२०७३ आदिले कुन्दुङजापाहाङका चार छोराहरू क्रमशः मुन्धुङगे, साङधुङगे, कानेहाङ र कुचुहाङ उल्लेख गरेको पाइन्छ । ती विवरणहरू ईमानसिंह चेम्जोङको ‘किरात इतिहास’ पुस्तकको आधारमा लेखिएका हुन् ।
१४. ईमानसिंह चेम्जोङले किरात इतिहास अनुसार
“मलयकेतु राजाका पाँच पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए । यी राजाले आफ्ना रैयतहरूलाई अत्याचार गर्दा मधेशबाट फिरेका किरातीहरूले राजविद्रोह मच्चाए । तिब्बतबाट आएका लासावंशी किरातहरूले पनि जोरसोरले मधेशका किरातहरूलाई मद्दत दिए । साम्युकहाङ विद्रोहमा मारिए । त्यस बेलादेखि फेदापमा भाइफुट्टा हाङवंशी राजाहरूको अन्त्य भयो ।
इसाको ३०० बर्षपछि फेदापमा वाजदेव नामक राजा भए । यिनी हिन्दुधर्म मान्दथे तर उनले आफ्नो प्रजावर्गमा हिन्दुधर्म प्रचार गरेनन् । उनीपछि शंखदेव, देवशंख, देवापुर, देवभिक्षुक, देववल्क, देवपन्तुक, सोतुमहाङ, लिम्बूहाङ, लिजेहाङ, मर्पुगहाङ, देन्देहाङ र कुन्दुङजापाहाङ जम्मा बाह्रजनाले राज्य गरे । कुन्दुङजापाहाङका चार पुत्रहरू भए– जेठो मुन्धुङगेहाङ, माहिलो सान्धुङगेहाङ, साहिंलो कनेहाङ र कान्छो कचुहाङ । आफ्नो मृत्युभन्दा अघि नै कुन्दुजाङजापाहाङले फेदाप देशलाई चार भागमा बाँडी जेठोलाई तम्बर, मेवा गाउँहरूका राजा तुल्याए । माहिलोलाई पाँचथर र याङवरकका गाउँहरू दिए । साहिंलोलाई मैवाखोलाका गाउँहरू दिए, औ संखुवा उत्तरका गाउँहरू कान्छो कचुहाङको भागमा प¥यो । साहिंलो कनेहाङका दुई छोराहरू थिए । पिताको मृत्युपछि जेठो हाङयुवाले मैवा सिंहासन पाए । कान्छो हाङसेवाले खपुवान(खम्बुवान?)का राज्य पाए ।”(चेम्जोङ २०५९ क: १५)
इतिहासमा उल्लेख भएका साम्युकहाङ इतिहासकार ईमानसिंह चेम्जोङ बारे थलङ वंशावलीकार हरि थलङले टिप्पणी गर्दै यसो भनेका छन्– ‘केही अध्येताहरू ईमानसिंह चेम्जोङको इतिहासलाई कुनै सिनेमाको सुन्दर कथाको रुपमा समेत चित्रण गर्ने गर्दछन् । ईमानसिंह चेम्जोङको इतिहास र मेवाखोला क्षेत्रका लोकोक्तिहरू बीच सम्मति हुन नसकेका थुप्रै तथ्यहरू छन् । उनले भाइफुटाहाङ वंशका अन्तिम राजा साम्युकहाङ भनी उल्लेख गरेका छन् । उनका अनुसार साम्युकहाङ फेदापका राजा थिए र वाजदेवहाङले पराजित गरेको समय ई.पू. ३०० भनेका छन् तर कतिपयले ई.पू. १२५ त कतिपयले ई.पू. १८० भनी उल्लेख गरेको पाइन्छ । तर मेवाखोला क्षेत्रको लोकोक्ति अनुसार साम्युकहाङको दरबार साबिक नाल्बुमा थियो, आजसम्म पनि नाल्बुमा साम्युक्मा भन्ने टोल नै छ ।’ (थलङ २०७४: २६)
माथिका विवरणहरूलाई बुँदागत रुपमा टिपोट गर्दा निम्न बमोजिमका तथ्यहरू देखिन्छन्–
१. भाइफुट्टा वंश सिङमाङगढबाट आएको सौमरवंशी लुक्थुयो समूहको वंश हो । जुन वंशका अन्तिम राजा साम्युकहाङ थिए ।
२. भाइफुट्टा वंशसंग युद्ध गर्ने वाजदेवहरू मधेसी किरातहरू हुन् ।
३. वाजदेवका बाह्रौं पुस्तामा कुन्दुङजापाहाङ राजा भए ।
४. कुन्दुङजापाहाङका चार छोराहरू मुन्धुङगे, साङधुङगे, कनेहाङ र कचुहाङ थिए ।
५. मुन्धुङगे, साङधुङगे, कनेहाङ र कचुहाङहरूले क्रमशः तमोर, याङवरक, मैवाखोला र खपुवानमा राज्य गरे ।
इतिहासकार चेम्जोङले उल्लेख गरेको फेदाप राज्य र यसको इतिहास सम्बन्धमा माथिका ५ वटा बुँदाहरूलाई यसरी विश्लेषण गर्न सकिन्छ–
१. भाइफुट्टा वंशलाई आफ्नो वंश मान्ने वंश समूह काशीथाङवा हो, अर्थात सौमर वंश हो । यो वंश समूहको उत्पत्ति वा आगमन स्थल सिङमाङगढ देखिन्छ । यो वंश फेदापमा विस्तार भएको बताइएको छ तर यो वंश समूह मैवाखोला क्षेत्रमा बसोबास गरेको देखिन्छ । यता मिक्वाखोलाका मुन्धुङगे र साङधुङगेका सन्तानहरू लिवाङ, थलङ र सेरेङ वंशहरू ताङसाङथाहरू हुन् र यो वंश मिक्वाखोलामा स्थापित भएको देखिन्छ । यसर्थ यी दुई वंश एउटै हुन सक्दैनन् ।
२. भाइफुट्टा वंश र वाजदेवहरू सौमर तथा मधेसी किरातहरू हुन्, जब कि मुन्धुङगे र साङधुङगे अलग्गै ताङसाङथा वंश हुन् ।
३. चेम्जोङले मुन्धुङगे र साङधुङगेका बाबु कुन्दुङजापाहाङ बताएका छन्, तर मिक्वाखोलाका सेरेङहरूले मुन्धुङगे र साङधुङगेका बाबु तेन्देहाङ मान्दछन् ।
४. ईमानसिंह चेम्जोङले कुन्दुङजापाहाङका मुन्धुङगे, साङधुङगे, कनेहाङ र कचुहाङ चार जना छोराहरू थिए भनेका छन् । तर साम्याङखाम, नाल्बो आदि वंशावली तथा उनिहरूको माङगेन्ना मुन्धुम अनुसार मुन्धुङगे र साङधुङगे दुई जना मात्र उल्लेख गरेका छन् । यस्तै सेरेङ वंशहरूको माङगेन्ना मुन्धुममा मुन्धुङगे र साङधुङगेको मात्र नामोच्चारण हुन्छ । अन्य वंशले कनेहाङ, कचुहाङ र चाङबो लामा पनि मुन्धुङगे र साङधुङगेका दाजुभाइहरू हुन् भनेका छन्, तर यसको कुनै आधार देखिदैन । त्यस्तै कतिपय वंशावली, इतिहासकार तथा लेखकहरूले कुन्दुङजापाहाङका छोराहरू कसैले ८, कसैले १२ र कसैले १८ भाइ भनेका छन्, तर यो सत्य देखिदैन ।
५. मुन्धुङगे, साङधुङगे, कनेहाङ र कचुहाङहरूले क्रमशः तमोर, याङवरक, मैवाखोला र खपुवानमा राज्य गरेको कुरा उल्लेख गरेका छन् । तर मुन्धुङगेले मिक्वाखोला लिवाङमा र साङधुङगेले मिक्वाखोला मासेरेङमा गढ बनाई राज्य गरेका थिए, यसर्थ चेम्जोङद्वारा वर्णित इतिहाससंग तालमेल मिल्दैन । त्यस्तै कनेहाङ, कचुहाङ र चाङबो लामाका प्रसंगहरू सेरेङ वंशमा कहीं कतै उल्लेख हुँदैनन् । बरु साङलुप्लि लेक्वा सांबाहाङहरूका पुर्खाहरूका रुपमा काजुङमा, कानेमा, कनेमा र काजोमा देखिन्छन् । (ताप्मादेन २०५८: २८५) त्यस्तै वाजदेवको समय ईसाको ३०० बर्षपछि भनिएको छ । यसको अर्थ चेम्जोङले उल्लेख गरेका बाह्रौं पुस्ताका कुन्दङजापाहाङको समय ६०० ई. देखिन्छ, जबकि मिक्वाखोलाका मुन्धुङगे र साङधुङगेका बाबु तेन्देहाङको समय ई.पू. ७०० बर्ष अघि देखिन्छ । यो अवधि १,३०० बर्षको अन्तराल हो । अतः चेम्जोङले उल्लेख गरेका कुन्दुङजापाहाङ मिक्वाखोलाका वंशसंग सम्बद्ध होईनन् ।
मुन्धुङगे र साङधुङगेका नामहरू विभिन्न वंशहरूमा देखा परेका छन्, जस्तै– खेवाङहरूमा साङदुङगे र वाङदुङगे, येक्तेन वंशमा मुन्धुङगे र साङधुङगे, फागो वंशमा मुन्धुङगे, साङधुङगे, कनेहाङ र कचुहाङ, त्यस्तै थोप्रा वंशमा मुन्धुङगे, साङधुङगे र चाङबो लामा आदि । मिक्वाखोलाका मुन्धुङगे र साङधुङगे बारे थुप्रै वंशहरूले आफ्नो पुर्खा भएको दावी गरिएका छन् । येक्तेन मोरोहाङ वंशावलीमा साङधुङगेलाई याङवरकको राजा उल्लेख गर्दै येक्तेन वंशको मूल पुर्खा मानिएको छ । त्यस्तै खेवाङहरूले पनि साङदुङगे र वाङदुङगेलाई आफ्नो मूल पुर्खा बताउँदै आएका छन् । मैवाखोलाका भाइफुट्टा वंशी फागोहरूले पनि मुन्धुङगे र साङधुङगेका साहिंला भाइ कनेहाङलाई आफ्नो प्रथम पुरुष मानेका छन् । उता मैवाखोलाकै थोप्राहरूले पनि मुन्धुङगे र साङधुङगेका कान्छा भाइ चाङ्बो लामाको सन्तान भएको उल्लेख गरेर वंशावली प्रकाशित गरेका छन् ।
इतिहासकारद्वय टिकमधोज ताप्मादेन र भुवनचन्द्र पतङवाका अनुसार– सेनमहाङ सांबा तुम्बाहाङफेका पुर्खा काजुङमा, कानेमा, कसेमा र काजोमा हुन् । काजुङमाका छोरा थिबम्बाहाङ,  नाति याङलिगेकहाङ हुन् । याङलिगेकहाङका ३ छोराहरू सेजेरेम, सेनम र सेनहाङ थिए । याङलिगेकहाङकी श्रीमती यङहाङ राजाकी छोरी यङहाङमा थिईन् । कुनै कारणवश सेजेरेमहाङकी श्रीमतीलाई खेवाङका साङदुम्बे र वाङदुम्बे खेवाङहरूले विवाह गरेर लगे । तर सेजेरेमहाङकी श्रीमतीले खेवाङसंग विवाह भएको ४/५ महिनामा नै छोरा जन्माईन् । यसर्थ साङदुम्बे खेवाङले साबाहाङको वीर्यबाट जन्मेका छोरालाई साबायू(हाल साम्यू) नामाकरण गरे । (ताप्मादेन २०५८: २८५/२८६)
केही इतिहासकारहरूका मतमा उत्पत्तिका हिसाबले साङदुम्बे र वाङदुम्बे खेवाङहरू छथरका खेवा वंश नजिक मानिन्छन्, जो विजयपुर राज्यकालमा छुट्टिएको अनुमान छ । त्यसैले उनिहरूले उच्चारण गरेको खेवाङका साङदुम्बे र वाङदुम्बे नामहरूले मिक्वाखोलाका मुन्धुङगे र साङधुङगेसंग सामिप्यता वा सम्बन्ध राख्दैन । त्यस्तै येक्तेन वंशले याङवरक क्षेत्रका मुन्धुङगे र साङधुङगेलाई मूल वंश मानेका छन्, जब कि मिक्वाखोलाका मुन्धुङगे र साङधुङगेहरू चेम्जोङले भने जस्तो तमोरखोला र याङवरकमा राज्य गर्न गएको कुनै प्रमाण वा मिथक भेटिएको छैन । येक्तेन र मोरो वंश दस लिम्बूवान बन्नु अघिका आठ आपुङ्गी हाङहरू मध्येका येक्तेत हाङका वंशज मानिन्छन् । उनिहरूको थातथलो चारखोला ईलाम हो । जब कि मुन्धुङगे र साङधुङगेहरू ताङसाङथावा हुन्, उनिहरू येतहाङहरू होईनन् । यसैले येक्तेन र मोरो वंशले दावी गरेका साङधुङगेहाङसंग कुनै ऐतिहासिक सम्बन्ध वा वंशजको सम्बन्ध कतै जोडिने संभावना देखिदैन ।
त्यस्तै फागो वंशले उनिहरूको उत्पत्ति वा आगमन स्थल सिङमाङगढ हुँदै फेदाप पुगेको वर्णन गरेको छ, तर मिक्वाखोलाका मुन्धुङगे र साङधुङगे वंशहरूले आफुलाई ताङसाङथा वंशज मान्दछन् । यसर्थ यी विभिन्न वंश र वंश समूहमा उच्चारित हुने मुन्धुङगे र साङधुङगे नामहरू संयोगवश मिलेका हुन सक्छन्, एउटै व्यक्ति वा वंश हुने कुनै संभावना देखिदैन । मिक्वाखोलाका मुन्धुङगे र साङधुङगेहरूको माङगेन्ना मुन्धुम, उत्पत्ति क्षेत्र, बसोबासको भूगोल, काल, वंशक्रम आदिका हिसाबले पनि माथि उल्लेखित वंशमा उल्लेख भएका मुन्धुङगे र साङधुङगेहरू एउटै होईनन्, फरक फरक व्यक्ति र वंश हुन् । इतिहासकार सेसेमी सेरेङ नाल्बोका अनुसार– ‘कामरुप र सिङमाङगढबाट आउनेको पिता र मेरिङदेन लासावासीको पिता एउटै हुन संभव छैन ।’ (नाल्बो २०७८: १३५)
त्यस्तै मुन्धुङगे र साङधुङगेहरूका बाबुका बारेमा पनि भिन्नभिन्न नामहरू चर्चामा रहेका छन्, जस्तै– कुन्दुचापाहाङ, कुन्दुजापाहाङ, कुन्दुङजापाहाङ, कान्दोहाङ चापा, कुतुबा, कुतुजाबा, देवाकेरोप, केलोक, केरोप, केरोपहाङ, तेन्देहाङ आदि । मिक्वाखोलाका सेरेङ, लिवाङ र थलङहरूका पुर्खा मुन्धुङगे र साङधुङगे नै हुन्, तर उनिहरूका बाबु कुन्दुङजापाहाङ नभई तेन्देहाङ हुन् । उनिहरूको वंशमा यदाकदा कुन्दुङजापाहाङ नाम उच्चारण भए पनि वंशक्रममा उनको नाम छैन । यसर्थ माथि उल्लेखित नाम, वंश र वंश समूह एउटै होइनन् । यसर्थ मिक्वाखोलाका मुन्धुङगेका सन्तानहरू लिवाङ र थलङहरू हुन् भने साङधुङगेका सन्तानहरू सेरेङहरू हुन् । उनिहरूका बाबु तेन्देहाङ हुन्, कुन्दुङजापाहाङ होइनन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...