काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को वल्र्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । नेपालमा २९ फागुनदेखि प्रदर्शनमा आउने भनिएको यस चलचित्र २३ मंसिर (८ डिसेम्बर) का दिन हङकङमा वर्ल्ड प्रिमियर गरिएको हो ।
पाथिभरा गु्रप हङकङद्धारा आयोजित प्रिमियरमा अञ्जिला र निर्देशक मिलन चाम्स सहभागी भएका थिए । युङ्लुङ् थिएटरमा सम्पन्न प्रिमियरमा करिब पाँच सय नेपालीहरुको उपस्थिति थियो ।
हङकङपछि फिल्मलाई बेलायत, अमेरिका, अस्ट्रेलिया र जापानमा स्क्रिनिङ गरिने बताइएको छ ।
फिल्मको शीर्ष भूमिकामा अञ्जिला आफैं देखिएकी छन् । यसबाहेक सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।
यस चलचित्र अञ्जिलाको कर्मथलो इलाममा छायाँकन गरिएको छ भने यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गरिएको छ ।
‘अञ्जिला’को प्रिमियर लगत्तै ग्रिसको फुटबल लिगमा खेल्न तुम्बापो बिहीबार त्यसतर्फ प्रस्थान गरेकी छन् । उनी ग्रीस क्लब निस अट्रोमिटोउमा २०२४–२५ को सिजनका लागि अनुबन्ध छिन् ।

अञ्जिलाको घर निर्माण गर्ने सपना पुरा हुँदै
अञ्जिलाको आफ्नै घर निर्माण हुने भएको छ । अञ्जिला फाउण्डेसन हाउस आर्थिक समिति हङकङका संयोजक ग्राण्डमास्टर/समाजसेवी तथा सफल व्यवसायी रविनकुमार नाल्बोका अनुसार ‘अञ्जिला फाउण्डेशन हाउस’द्धारा ‘अञ्जिला हाउस’ बन्ने योजना रहेको र उक्त योजनाअनुसार हङकङमा रहेका नेपालीहरुले सहयोग रकम संकल गर्न सुरु गरेका हुन् । हङकङ समितिको सचिवमा हाङ चेम्जोङ र कोषाध्यक्षमा श्याम इङ्नाम र सदस्यमा शेरबहादुर लक्सम्बा रहेका छन् ।
यस्तै, महिला संयोजक सदस्यहरूमा रामकुमारी हाङस्रोङ, शान्ता वनेम,पूर्णिमा राई रहेका छन् । समितिका सल्लाहकारहरुमा विष्णुकुमार थेबे, त्रिभुवन लुम्फुङ्वा, हेमराज अन्छङ्बो, शमशेर तुम्बाहाम्फे रहेका छन् ।
नाल्बोका अनुसार घर निर्माणका लागि हङकङबाट अहिलेसम्म २८ लाख १८ हजार संकलन गरिएको छ । जसअनुसार संयोजक नविनकुमार नाल्बो ५ लाख ५ हजार, विष्णुमार थेबेले नेपाली ६ लाख, भुपेन÷गीता लिम्बु जबेगु २ लाख ७० हजार, पबि बान्तावा १ लाख १८ हजार, त्रिभुवन लुम्फुङ्वा १ लाख, मौसम इम्बुङ (फुःलेन्देको बुबा) १ लाख १ हजार, टंक राना १ लाख, चौविसे समाज १ लाख, याक्थुङ आर्टिस्ट सोसाइटी ६० हजार, भिमप्रसाद तुम्बाहाम्फे ५१ हजार, हाङबारे ५१ हजार, पृथ्वि इङ्नाम ५१ हजार, श्याम इङ्नाम ५१ हजार, भीम सिंगक ५१ हजार, हेमराज अन्छङ्बो ५१ हजार, प्रकाश तुम्बाहाम्फे ५१ हजार, अर्जुन पाहिम ५१ हजार, नन्दु चङ्सु ५१ हजार, पूर्णीमा राई ५० हजार, हाङ चेम्जोङ ५० हजार, सुकु नाल्बो ५० हजार, गंगा माबो ५० हजार, रामकुमारी हाङस्रोङ ५० हजार, मिना हुक्पा चोङबाङ ५० हजार, शिवचन्द्र लुङ्फुङ्वा ५० हजार र भुपाल अन्छङ्बोद्धारा ५० हजार गरी उक्त रकम संकलन भएको हो ।
यस्तै, आउने डिसेम्बर २५ का दिन चासोक तङ्नामको अवसरमा ’क्याम्पेन’ गरिने पनि संयोजक नाल्बोले बताए । उक्त क्याम्पेनमा अञ्जिलाको जीवनीमा आधारित डकुमेन्ट्रीसमेत प्रस्तुत गरिने उनको भनाइ छ ।
रकम संकल हुने क्रम जारी रहेको र यसलाई विश्वव्यापी बनाइने पनि बताइएको छ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।