अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ - Naya Online

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल

मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको इतिहास निफननाफन गरी हेर्दा उनी आठराई हाङपाङका किपटिया लिम्बू सुब्बाका सन्तान रहेछन् भन्ने देखिन्छ । आफ्नो घरमा भएका तिनै कागजपत्रहरूको अध्ययनले पनि हुनसक्छ, उनमा इतिहासप्रतिको अनुराग थियो । आफू मातृवात्सल्यबाट १३ वर्षकै उमेरमै विमुख हुनुपरेको घटना सुनाउँदै उनी भन्थे, “मेरी आमा बितिसकेको कसैले पत्तो पाएनन् । यता आमाको प्राण गइसकेको, अर्कातिर कान्छा भाई चाहिँ आमाको दूध चुसिरहेको । मैले नै मरिसकेकी आमाको दूध चुसिरहेको भाईलाई आमाबाट छुटाएँ ।”

त्यसपछि मावलीको सहयोगमा लाहुरे बनेर पेन्सन पकाएका मेरा बुबा निवृत्तजीवनमा पनि फुर्सदमा बसेको कहिल्यै देखिनँ । जीवनको उत्तराद्र्धमा पनि उनलाई श्रमको पूजा गरिरहेकै देखिरहेँ । फुर्सदमा रहेको बेला पनि उनी लिम्बूहरूको इतिहास र मुन्धुम अनि आफूले सैन्यजीवनमा भोगेको युद्धका अनुभवहरू सुनाइरहेका हुन्थे । त्यतिबेला छुनुमुनु गर्दै उनको छेउछाउ पुग्दा सुन्ने अवसर पाएको उनको कैयौँ उद्गारहरू आज मेरा लागि प्रेरणापुञ्ज बन्न पुगेका छन् । कहिलेकाहिँ मैले यात्रा गरिरहेको बेला निष्पट्ट अन्धकार छाउँछ, त्यसबेला उनका उद्गारहरूले मेरो लागि चिरागको काम गर्छ । चाकरी र चाप्लुसीसँग जीवनभर दूरी बढाएर बसेका उनी भन्थे, “हलो–कोदालो जिन्दावाद !”

उनीबाट पाएको मन्त्रले मेरो जीवनमा पनि काम गरिरहेछ । पञ्चायतकालिन निरङ्कुश राजनीतिक ब्यवस्था भएको बेला स्कूले जीवनमा आफू सुत्ने कोठामा माओको फोटोमुनि उनको एक वाणीलाई लेखेर टाँसेको थिएँ,“सङ्घर्षको सुख सर्वश्रेष्ठ सुख हो ।” आज श्रम जीवनका अनेकौँ आयामहरूसँग आत्मियता साँटेर रमाइलो गरिरहेको म सगौरव भन्छु,“पसिनाको सुगन्ध सर्वश्रेष्ठ सुगन्ध हो ।”

मैले पसिनासँग आत्मीयता साँट्न लामो समय लेखनलाई माध्यम बनाएँ । यो क्रम निरन्तर २२ वर्ष चल्यो । लेखन अर्थात् पत्रकारिताबाटै मेरो वृत्ति चल्यो । पत्रकारितालाई यतिखेर अर्धविराम लगाएर मैले श्रमको अर्कै आयामलाई मेरो वृत्तिको आधार बनाए पनि लेखनयात्रालाई विचलित हुन दिएको छैन । त्यसैले पहिलेजस्तै घटनाप्रधान सूचनाको खोजी, त्यसको सम्पादन र प्रश्तुतितिर नभई यतिखेर म शोधमूलक अध्ययनतिर मोडिएको छु । त्यसमा पनि सिमान्तकृतहरूको ओझेलमा इतिहास मेरो अध्ययनको अभिष्ट बन्न पुगेको छ । यसैमा मैले केही स्यावासीका तालीहरू बटुलिरहेको छु भने केही आलोचनात्मक आपेक्षहरू पनि ब्यहोरिरहेको छु । तर उत्साहले पाइलाहरू अभूतपूर्व रूपमा उचालिएका छन् । मेरो पसिना कलमको मसी भएर पोखिने क्रम साविकबमोजिम गतिमान हुनेछ, यसमा कुनै शङ्का छैन ।

पत्रिका किन्न ढुङ्गा माटो उठाउँदा
अक्षर चिन्न थालेपछि अक्षर देख्नासाथ पढिहाल्ने बानी बसेछ, त्यसको भाव बुझे पनि नबुझे पनि । भर्खरै कक्षा २ कक्षामा पुगेको थिएँ, दाजुको कक्षा १० को किताबहरू पनि पढ्थेँ । अहिले पनि सम्झना छ, त्यसबेला कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा राखिएको भवानी भिक्षुको “त्यो फेरि फर्कला” र रमेश विकलको “मेरी भतिजी प्रतिमा” मैले त्यसबेलै पढेको । मलाई यी कथाको कथासार अहिले पनि कण्ठस्थ छ । दाजुकै इतिहास विषयमा राखिएको जङ्गबहादुर राणादेखि मोहनशमशेरसम्मको पाठमा पनि मैले त्यसबेलै आँखा दौडाएँ, तर त्यहाँ के लेखिएका थिए त्यसबेला मैले केही पत्तो पाइनँ ।

पढाईमा म एउटा दुस्साहसी रहेछु, आफूलाई चाहिएको पनि पढ्ने, नचाहिएको पनि पढ्ने । अक्षर देख्यो कि पढिहाल्ने ।

पछि हाम्रो टोल भोटेचौताराका युवापुस्तामा एउटा लहर आयो । म त बालकै थिए, दुई तीन कक्षामा पढ्ने प्रावि तहको विद्यार्थी । हाम्रो टोलका युवाहरू जुर्मुराएर उठे, पञ्चायती ब्यवस्थाविरुद्ध । उनीहरूमध्ये कोही लेख्थे, कोही गाउँथे, कोही बजाउँथे अनि कोही नाच्थे । त्यसबेलाका पढालेखा जोशिला युवा रेख ब्लोन थिए सबैका अगुवा । मेरा दाजु डम्बर रेख दाईको समकालिन । तीमध्ये रेख दाई गाउने, बजाउने र खासगरी कविता र गीत रचना गर्ने । मेरा दाजु डम्बर चाहिँ साह«ै गजबले सारङ्गीको धुन निकाल्ने । लेखनमा कविता र नाटकतिर उनको रुझान थियो । उनले लेखेका नाटकमध्ये केहीको मञ्चन भएको थियो भने एउटा प्रकाशित पनि भएको थियो । यो समय हो, २०३७ देखि २०३९ सालको । यी सबै गतिविधि हुने केन्द्र थियो, हाम्रो एउटा घर ।

यी अग्रजहरूको गतिविधिलाई संवेदनशील भएर नियाल्ने क्रममा कसो कसो ममा पनि लेखपढको प्रभावले बास गरेछ । गाउने, बजाउने र नाच्नेतिर त मेरो रुची गएन तर पाएजति र भेटेजति कागजका अक्षरहरूमा आँखा कुदाउने बानी चाहिँ त्यसबेलैदेखि बसेको हो ।

यसरी कागजका छापिएका अक्षरहरूमा आँखा दौडाउने क्रमलाई निरन्तरता दिदै जाँदा केही सुझबुझ पलाउन थालेपछि पत्रिका पसलहरूमा देखा पर्ने नयाँ पत्रिकाहरूमा आँखा नपर्ने कुरै भएन ।

कक्षा ९ मा पढ्दै गर्दा “कामना” पत्रिका पढ्ने बानी लाग्यो । सकेसम्म किनेरै पढ्थेँ । सुरुमा लुकाई लुकाई पढ्थेँ, ताकि आफूले पढिसकेर मात्रै कोही पढ्न माग्न आउनेलाई दिन परोस् ।

यो पत्रिका किन्नकै लागि मैले ढुङ्गा माटो उठाएको छु । यो क्षण सम्झदा अहिले पनि गौरव लाग्छ ।

एसएलसी दिएर बसेको थिएँ । पत्रिकाको नयाँ अङ्क आइपुग्यो, नयाँ वर्ष २०४६ को विशेषाङ्क । घरमा आमासँग मागौँ भने उनीसँग पैसाको नाममा सुको छैन भन्ने स्पष्टै थाहा थियो । तर आफूलाई भने किनेर नपढी भएकै छैन । फेरि एउटा बेरोजगार किशोरलाई सरसापट पत्याउने कसले ?

पहिले आफैले कखरा सुरु गरेको विद्यालय भवन २०४५ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । त्यसको पुननिर्माण हुँदै थियो । पुरानो संरचनालाई भत्काएर नयाँ बनाउन भवनस्थल सम्याइदै थियो । त्यहाँ गएर काम मागेँ । सुरुमा गिज्याए, “ओहो, यस्तो पढेलेखेको मान्छेले पनि कुल्ली काम गर्ने ?”

तर मलाई यसले छोएन । मैले दुई साता त्यहाँको ढुङ्गा माटो बोकेँ । दैनिक ज्याला २५ रूपैयाँ थियो ।

दुई साताको ज्याला थापेर आधाजति आमालाई दिएँ ।

यसरी पसिना बगाएर कमाएको पैसाले सबैभन्दा पहिले “कामना” किनेँ । यसको मूल्य त्यसबेला ८ रूपैयाँ थियो । रातभरमा पत्रिका पढिसिध्याएँ । अधैर्यता कति थियो, भनेर साध्यै छैन ।

पत्रिका विशेषाङ्क थियो, नेपालका चलचित्र नायकहरूको उनीहरूको लोकप्रियताअनुसार वरियतामा राखिएको । राजेश हमाल उदयोन्मुख थिए । शिव श्रेष्ठ र भुवन केसी स्थापित नायक । तर उनीहरू सबैलाई उछिनेर सरोज खनाल नेपालको नम्बर १ नायक घोषित भएका थिए ।

मैले यिनै सामग्रीमाथि आफूलाई लागेको कुरा लेखेर पठाएको थिएँ, २०४६ भदौको अङ्कमा पाठक प्रतिक्रियाको रूपमा छापिएर आएछ । म खुसीले उफ्रिएँ, मेरो भूँईमा खुट्टा थिएनन्, त्यसबेला । मैले मेरो नाम कति पटक पढेँ भने पटक पटक पल्टाउँदै पढ्दा पढ्दा पत्रिका नै थोत्रो हुन पुगेको थियो ।

हो, त्यहीँ दिनदेखि हो, मलाई पत्रिकामा आफ्नो नाम छाप्ने लत परेको । म यो लतबाट छुटकारा लिन सक्दिनँ ।

पछि म कामना प्रकाशनकै सहप्रकाशन “साधना” मासिकमा डेढ वर्ष विशेष संवाददाताको रूपमा आवद्ध भएँ । म पुस्तकालयमा पसी “कामना”को पुरानो फाइल पल्टाउन पुग्थेँ, बेला बेलामा । त्यसबेला पाठक प्र्रतिक्रियाको रूपमा छापिएको आफ्नो त्यहिँ सानो टुक्राबाट आँखालाई पन्छाउन सक्दिनथेँ । त्यसबेला भावुकिदै विगततिर फर्कन्थेँ, ओहो, ती दिन । ती सङ्घर्षमय दिन । माओले ठीकै भनेकारहेछन्,“सङ्घर्षको सुख सर्वश्रेष्ठ सुख हो ।”

साह्रै बास्नादार पसिनाको सुगन्ध
म निजी सवारीसाधनविहीन मान्छे । नजिकै हिँडेरै भ्याइने ठाउँमा लखर लखर हिँड्ने । नभए सार्वजनिक यातायात जिन्दावाद ।

एक दिन अनामनगरबाट बबरमहलतिर जाँदै थिएँ, मेरो अगाडी विपरित दिशाबाट आइरहेको एउटा मोटरसाइकल रोकियो । हेलमेटको भाइजर खोलिएपछि पो चिनियो, मित्र नरेश खपाङ्गी मगर रहेछन् ।

उनको र मेरा पुख्र्यौली थलो एउटै हो, ताप्लेजुङ, हाङपाङ । फरक के हो भने मेरो पुर्खा त्यहीँ थातथलो जमाएर किपटको सुवांगी सम्हाल्दै बसेको लिम्बू सुब्बा । उनको पुर्खा चाहिँ गोर्खाली राज्य विस्तार अभियानका क्रममा लड्दै पूर्वतिर पुग्दा त्यहीँ बसोबास गरेका मगर सेनानायक ।

अनामनगरको त्यो भेटमा नरेशजीबाट आग्रह भयो, उनी मकहाँ जाने र मेरो गतिविधि अवलोकन गर्ने । उनलाई म कसरी लेख्छु, लेख्न कसरी भ्याउँछु भन्ने खुल्दुली परेको रहेछ । मैले मसँग त्यस्तो कुनै विशिष्ट तौरतरिका छैन, भेटेको पक्ष सामान्य टिपोट गर्ने हो र एकै बसाईमा लेख्ने हो भन्दै त्यस्तो अवलोकन गरिरहनुपर्ने मेरो विशिष्ट गतिविधि नभएको स्पष्टिकरण दिएँ ।

कालान्तरमा नरेशजी र म दुवैले अखबारी पत्रकारिताबाट विदा लियौँ, नरेशजीले अलिअघि र मैले अलि पछि । अहिले हामी दुवै पृथ्वी नामको यो डल्लो ग्रहको पश्चिमी गोलाद्र्धमा पुगेर पसिनाकै गीत गाइरहेछौँ । हामी दुईको बसाईमा अक्षाङ्श केही फरक छ, देशान्तर भने उही हो । हामी दुवै प¥यौँ, लेखनबाट अलग हुननसक्ने प्राणी ।

लामो समयपछि नरेशजीसँग भलाकुसारी भयो । हामी दुई बीच एउटा सहकार्यको सम्भावना बढिरहेछ, सायद त्यो कुनै दिन पुस्तकाकारको रूपमा देखा पर्ला ।

मैले पुस्तक प्रकाशनको केही अनुभवहरू सुनाएँ नरेशजीलाई । आफ्नो पुस्तक प्रकाशनका लागि अनलाइनहरूमा लेखेको लेखबाट उठेको पारिश्रमिकबाट खर्च जुटाएको बताउँदै एउटा मिडियाको नाम लिएँ । मैले भनेँ, –“त्यो मिडियाले मेरो लेखको पारिश्रमिक आधा लाख रूपैयाँ खातामा हालिदिएछ, त्यसैबाट पुस्तक प्रकाशनको लागि खर्च जुटाइयो ।”

आधा लाख पारिश्रमिक भन्ने सुन्नासाथ नरेशजी चकीत । तर त्यहीँ मिडियाबाट मैले यस्तो आधा लाखकै दरले तीन पटक पारिश्रमिक बुझिसकेको छु ।

कुनै बेला एउटै मिडियामा काम गर्ने बहिनी सरिना महर्जन अहिले नेपाल बैंक लिमिटेडमा कार्यरत छिन् । उनले मलाई नेपाल बैंकमा खाता खोल्न प्रेरित गरिन् । अनलाइनबाटै खाता खोलेँ । मैले त्यस बैंक खातालाई मेरो लेख छाप्ने मिडियाहरूबाट प्राप्त हुने पारिश्रमिक जम्मा गर्ने खाताको रूपमा प्रयोग गर्ने गरेको छु । केही मिडियाहरूबाट मेरो त्यस बैंक खातामा जम्मा भएको पारिश्रमिक ६ डिजिटमा पुगेको छ । लेखनको माध्यमबाट पसिनाको गीत गाउने गायकको मनमा यस्तो प्रतिफलबाट प्राप्त हुने सुख र शान्तिको मापन गर्ने तराजु यो संसारमा के हुन सक्ला ?

मिडियासँगको संस्थागत आवद्धताबाट विदा भएको पनि ९ वर्ष पुग्न लागेछ । अहिले स्वतन्त्र रूपमा लेखिरहेछु । म आफ्नो लेखरचनाको सकेसम्म पारिश्रमिक लिने गरी मात्रै प्रकाशनार्थ पठाउने गर्छु । यो ९ वर्षको अवधिमा प्रकाशित लेखरचनाको पारिश्रमिकबाट प्राप्त अधिकाँश रकम सामाजिक काममा समर्पण गर्ने गरेको छु । केही रकम घरखर्चमा पनि प्रयोग भए । यस्तो कर्मले पनि आफूलाई आत्मसन्तुष्ट बनाउन सहयोगी भूमिका खेल्दोरहेछ । जीवनमा आत्मसन्तुष्टिजस्तो अहम् महत्त्वको तत्त्व अरु के हुनसक्छ ?

तर लेखनकै दौडानका केही त्यस्ता “होनहार हाकिम”हरूलाई पनि बेहोर्नु परेको छ, जो विनम्रतापूर्वक लेखरचना माग्छन्, मेहनत गरेर लेखिपठायो, सहर्ष प्रकाशित गर्छन् । तर पारिश्रमिकको कुरा उठाए सम्पर्कविहीन हुन्छन् । त्यस्ता होनहार हाकिमहरूको विवरण सप्रमाण पेश गर्नु पर्ने बेला पनि आउनेछ कुनै दिन ।

त्यो तीन सय रूपैयाँ
किशोरावस्था पार गर्दै गरेको समय थियो, लेख्ने हुटहुटी त कति हो कति ! चाहनाले गगन चुम्न खोज्थ्यो–यस्तो लेख्न पाए हुन्थ्यो, उस्तो लेख्न पाए हुन्थ्यो, यता छाप्न पाए हुन्थ्यो, उता छाप्न पाए हुन्थ्यो । अझ त्यसमा पनि राष्ट्रिय स्तरका पत्रिकामा छाप्न पाए हुन्थ्यो भन्ने त्यसबेलाको हुटहुटी बयान गरिसाध्य छैन आज ।

तर आफ्नो लेख रचना चाहेको पत्रिकामा छाप्न सिफारिस वा सहजिकरण गरिदिने कोही छैन, न कुनै सम्पादक वा प्रकाशकसँग चिनजान वा सम्बन्ध छ । लेखरचना प्रकाशनको मृगतृष्णा पालेर दौडादौड गरिरहेको समय थियो त्यो ।

सिसिफस शैली नै सही, एकपटक प्रयास गरे आखिर के नै बिग्रन्छ र ?

मैले धनकुटाका आदिवासी आठपहरिया राईहरूको गतिविधि र जीवनशैलीलाई सानै उमेरदेखि संवेदनशील भएर नियालिरहेको थिएँ । मौलिक भाषा, संस्कृति र इतिहासले समृद्ध छन्, आठपहरिया राईहरू । सदरमुकाम र यसको आसपासमा रहेर पनि उनीहरूले सामना गरिरहनु परेको बाह्य सांस्कृतिक र भाषिक अतिक्रमणबारे पनि परिचित मानिस हुँ म ।

मभित्र लेख्ने हुटहुटीले उथलपुथल मच्चाइरहेको बेला अतिक्रमणका परिरहेको उनीहरूको भाषा, संस्कृति विषयमा अध्ययन गर्ने बुद्धि र विवेक विकसित भइसकेको थिएन । उनीहरूले बाह्य रूपमा जेजस्तो चुनौतिहरूको सामना गरिरहनु परेको छ, त्यसैको सेरोफेरोमा कलम घुमाउन मन लाग्यो ।

खासगरी आठपहरिया महिलाहरूको दिनचर्यालाई नियाल्दै उनीहरूले भागमा परेको सङ्घर्षहरूलाई एक अनुभुतिजन्य पर्यवेक्षणको शैलीमा शब्दहरूलाई उन्दै जाँदा एउटा लेख तयार भयो, अनि शीर्षक जु¥यो, “धनकुटाका इष्टेनीहरू” ।

त्यसबेला मसँग क्यामेरा बोक्ने हैसियत नै कहाँ थियो र ? रीलवाला क्यामेराको चलन थियो । रील सकिएपछि मात्र धुलाउन सकिने । यी सबै मेरो पहुँचबाट धेरै कोश टाढा थिए । त्यसैले मैले फोटो स्टुडियोलाई गुहार्नु एक उत्तम उपाय थियो । त्यसबेला एउटै विद्यालय पढेको र मभन्दा सिनियर दाई बुद्ध लिम्बूसमक्ष सम्बन्धित पात्रको फोटो खिचिदिन प्रार्थनाको भाषामा बिनम्रतापूर्वक आग्रह गरेँ । उनी त्यसबेला धनकुटा हुलाकटोलमा फोटो स्टुडियो चलाएर बस्थे । उनले समयमै श्यामस्वेत फोटो तयार पारिदिए ।

मैले माथि पनि उल्लेख गरिसकेको छु, केन्द्र काठमाडौँमा प्रकाशित हुने पत्रिकाका सम्पादक तथा प्रकाशक कोही कसैसँग मेरो परिचय र सम्बन्ध थिएन । न मेरोबारे सिफारिस गरिदिने चिरपरिचित नै कोही थिए । थियो त केवल मनभरि अरुण र तमोरजस्तै गरी उर्लने लेखक बन्ने चाहनाको भेलबाढी ।

दुई साताजस्तो लगाएर बडो मेहनतपूर्वक लेख लेखेँ । सक्दो सावधानी अपनाएकै थिएँ, अझ केरमेट आदिले सामग्री फोहर वा अनाकर्षक देखिएला भनेर आवश्यक पर्ने ठाउँमा टिपेक्स प्रयोग गरेँ । अब फोटो पनि तयार भयो । त्यसपछि एउटा पत्रका साथ हुलाकबाट पठाएँ । म अहिले पनि कतै लेख पठाउनु परे सम्पादकलाई सम्बोधन गर्दै “…उपयुक्त ठहर भए प्रकाशित गरिदिन हुन अनुरोध गर्दछु” भनी एउटा दरखास्त हाल्ने गरेको छु । मैले यस्तै दरखास्तका साथ “अस्मिता” मासिकलाई त्यो लेख पठाएँ ।

लेख पठाएको तीन चार महिनापछि २०४८ चैत महिनामा एक पृष्ठ पुरा ढाकिएर पत्रिकामा आफ्नो लेख छापिएर आएको देख्दा सुरुमा आफैलाई पत्यार नलाग्लाजस्तो भयो । पत्रिका किनेर विषयसूचीमा आँखा प¥यो, त्यसपछि फट्के तरेजस्तै सम्बन्धित पृष्ठमा हुर्रिदै पुगियो । एकै सासमा लेख पढिसक्दा मासु मरेजस्तै भइसकेको आफ्नो छाला आफै चिमेट्दै आफैलाई सोधेँ,“भर्खरै तैँले पढिसकेको लेख के तँ आफैले लेखेको होस् ? त्यो छापिएको नाम तेरै हो ?”

मलाई होशमा फर्कन केही मिनेट लागेको थियो । कुनै कुनै खुसीले त बेहोश पनि बनाउँदो रहेछ !

थाहा छैन, मैले त्यसबेला लेखेको त्यो लेख कुन विधा अन्तरगत पथ्र्यो ? तर अहिले सम्झदा फिचर लेखेको रहेछु, एउटा विषयप्रधान सामग्री ।

यदाकदा कोही कसैबाट सुनेको, यसरी लेख छापियो भने पैसा पाइन्छ । मेरो शब्दभण्डारभित्र पारिश्रमिक, लेखकश्व आदि शब्द परिसकेको थिएनन् । त्यसैले यति मात्रै थाहा थियो, लेख छापियो भने पैसा पाइन्छ पैसा !

माथि पोखिसकेको छु, कुनै समय आफूले पढ्ने गरेको पत्रिका किन्न मैले मजदूरीसमेत गर्न परेको एक अञ्जुली अनुभवको सङ्गालो । अस्मितामा लेख छापिनुभन्दा दुई साता मात्रै अघि “गोरखापत्र”मा एउटा कथा पनि छापिइसकेको थियो । अब त आफ्नै औँलालाई क्यालकुलेटर बनाएर हिसाव गर्न थालेँ, दुई वटा रचनाको एकमुस्ट पैसा पाइने भइयो, पैसा !

धनकुटाबाट एक जना अग्रज खगेन्द्र घिमिरे निजी काम विशेषले काठमाडौँ जाँदैछन् भन्ने सुनेँ । उनको हातमा दुई वटा मञ्जुरीनामा थमाएँ । काठमाडौँबाट फर्कदा उनको हातमा दुई वटा लेखरचनावापत प्राप्त एकमुस्ट पाँच सय ५० रूपैयाँ थियो मेरो लागि । लेखेर कमाएको मेरो पहिलो कमाई थियो, त्यो । खगेन्द्र दाईले पनि मेरो कमाई मेरो हातमा थमाउँदै ठूलो हर्षोल्लास प्रकट गर्दै थप अगाडी बढ्न आशिर्वाद दिए ।

हो, त्यहीँ दिनदेखि आफ्नो जिविकाको लागि कलमले पनि सहयोग गर्न सक्छ भन्ने चेत ममा पलाएको । अस्मिता मासिकमा छापिएको त्यहीँ लेखबाट मेरो पत्रकारिता यात्राको श्रीगणेश भएको रहेछ । यो लेख मेरो वृत्तिविकासको एउटा कोशेढुङ्गा बन्यो ।

त्यो बेला मलाई प्राप्त पारिश्रमिकमध्ये अस्मिताले तीन सय रूपैयाँ प्रदान गरेको रहेछ, साढे दुई सय गोरखापत्रबाट । पारिश्रमिकको मञ्जुरीनामामा दस्तखत गर्ने बेलामा गोरखापत्रका सम्पादकले भनेका थिए रे,“खासमा हामीले कथालाई डेढ सय दिने गरेका छौँ, तर यो बाबुको कथा मन परेकोले मैले सय रूपैयाँ थपिदिएको हुँ ।”

यहीँ प्रेरणाले पनि मैले २०६४ मा एउटा सानो कथा सङ्ग्रह बजारमा ल्याएँ ।

अस्मिता मासिकको लेखले चाहिँ मलाई पत्रकारितामा जाने प्रेरित गरेको उल्लेख गरिसकेको छु । त्यो बेला मैले यस पत्रिकाबाट पाएको तीन सय रूपैयाँको मूल्य अहिले कति होला ?

त्यो बेला एक रूपैयाँमा एक वटा समोसा आउँथ्यो । खाजामा समोसा खाइन्थ्यो, त्यो पनि कहिलेकाहिँ मात्र, गोजीमा दाम हुँदाखेरि । अस्मिताले दिएको पारिश्रमिकले त्यो बेला तीन सय वटा समोसा आउँथ्यो । अहिले एक वटा समोसाको दाम औसत ३० रूपैयाँ पर्छ । हिसाव गरेर ल्याउँदा अहिलेको नौ हजार रूपैयाँ बराबरको पारिश्रमिक दिइएको रहेछ मलाई । हरेक दिन दुई वटाको दरले समोसा खाँदा पनि पाँच महिनालाई खाजा खर्च पुग्ने ।

मैले लेखनको त्यो पहिलो कमाईलाई भने समोसामा खर्च गरिनँ । त्यो खर्च लिएर झापा र मोरङतिर गएँ, भुटानी शरणार्थीहरूबारे रिपोर्टिङ गर्न ।

पारिश्रमिकको जुन मूल्य छ, मेरो लागि त्योभन्दा पनि मूल्यवान हुनपुग्यो, प्रतिष्ठीत प्रकाशनको एउटा नवोदित र अपरिचित लेखकमाथिको विश्वास । मैले लेखेको सामग्रीले कसैमाथि भइरहेको शोषणबारे बोलेको थियो भने शोषण गर्ने समाजको प्रतिविम्व पनि उतारेको थियो । लेखकको रूपमा कुनै परिचय पाइनसकेको लेखकमाथि पूर्णविश्वस्त भए लेख छापिदिनु सानो महत्त्वको घटना थिएन । त्यहीँ दिनदेखि मैले गद्य लेखकको पहिलो परिचय पनि पाएँ । यसअर्थमा एक गद्यलेखकको रूपमा मेरो परिचयको विमोचन गरिदिएको हो अस्मिता पत्रिकाले ।

पछि मैले एक राष्ट्रिय दैनिकको धनकुटा समाचारदाताको जिम्मेवारी पाएँ, २०५० साल वैशाखदेखि । यसले पनि एउटा इतिहासको हिस्सा ओगट्ने अवसर मलाई मिलेको छ । सिद्धराज राई (हालः महाप्रवन्धक, राष्ट्रिय समाचार समिति)ले पूर्वाञ्चल विश्वविद्यालयलाई, आमसञ्चार तथा पत्रिकारितामा स्नातकोत्तर तहको शोधग्रन्थमा उल्लेख गरेअनुसार ब्रोडसीट दैनिकमा धनकुटाबाट समाचारदाताको रूपमा काम गर्ने पहिलो पत्रकारको रूपमा मेरो नाम उल्लेख छ ।

पछि सोही राष्ट्रिय दैनिकले बोलाएको समाचारदाताहरूको भेलामा काठमाडौँ पुग्दा अस्मिता पत्रिकाको कार्यालयमा पनि एकपटक निस्केर सम्पादक दिदीहरूसमक्ष आभार किन प्रकट गर्ने निधो गरियो । त्यसबेला दुब्लोपातलो थिएँ, साह«ै अनपत्यारिलो । उमेर पनि त भर्खरै एक कोरी कटेको । फेरि म त्यस्तो समुदायबाट आएको थिएँ, जुन समुदायबाट त्यसबेला पत्रकारिता क्षेत्रमा आउनेहरूको सङ्ख्या गन्ती गर्दा एउटा हातको पाँच वटा औँला मुस्किलले भाँच्न सकिन्थ्यो ।

अस्मिताको कार्यालयमा पस्दै गर्दा पहिले सुसन दिदीलाई चिनिहालेँ, “नमस्कार” । उनले नमस्कार फर्काउँदै सोधिन्,“कसलाई खोज्नु भएको होला ?” मैले आफ्नो परिचय दिदै नाम मात्रै के भनेको थिएँ, सुसन दिदी चिच्याइन्,“ए अञ्जु बाहिर आऊ त, यहाँ को आएको छ ?”

अञ्जु दिदी पनि दौडदै आइन् । दुवै केही क्षण मलाई हेरेर छक्क परे, “अबुई हाम्रो संवाददाता त !”

छुट्ने बेलामा यी दुवै सम्पादक दिदीहरूबाट शुभेच्छाका प्रशस्तै न्यानो बोकेर फर्केँ । त्यहीँ न्यानोले आजसम्म लेखनको क्षेत्रमा नैराश्य र अवसादका चिसा स्याँठहरूलाई मसम्म आउन दिएको छैन ।

एउटा गौरवपूर्ण इतिहास बोकेको अस्मिताले लामै विश्रामपछि नयाँ रङ्ग र ढङ्गबाट आफ्नो यात्रालाई निरन्तरता दिएको बेला खुसीले बाख्राको पाठो उफ्रेजस्तै उफ्रनेहरूमध्येको अग्रपङ्तिमा म पनि थिएँ सायद । यो पत्रिकामा लेख्ने रहर अझै मरेको छैन । नयाँ जोश र विद्वताले भरिपूर्ण सम्पादकज्यूहरूसमक्ष लेख प्रस्तुत गर्दै दिइने दरखास्तमा अब चाहिँ अलिकति थप्न मन लागेको छ,“…लेख प्रकाशनार्थ पठाएको छु, उपयुक्त ठहर भए प्रकाशित गरिदिनुहोला । लेख छापिदिनु भए ३३ वर्षअघिजस्तै खुसीले केही मिनेट बेहोश हुनेछु ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...