राजकुमार दिक्पाल
उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न सकिन्छ जस्तो लाग्थ्यो । कविताका हरफहरू देख्दा आँखा पुलकीत हुन्थे, यसका भावहरूबाट झङ्कार पैदा हुन्थ्यो मनभरि ।
अङ्ग्रेजी साहित्यका गुरु भट्टराई सर (प्रा.डा. गोविन्दराज भट्टराई) को अध्यापन अक्कल पनि बडो गजबको । रोचक पाराको प्रस्तुतिले ट्वाक्क विषयबस्तुमा प्रवेश गराई ज्ञानको गङ्गा प्रवाहित गराइदिने । सरकारी विद्यालयमा अङ्ग्रेजीको ठूलै साहित्यजस्तो लाग्ने “गम्भीरमान गोइङ टू लण्डन” पढेर कलेज जीवनमा प्रवेश गर्दा अङ्ग्रेजी साहित्यलाई आफ्नो बडो महात्त्वाकाङ्क्षा इच्छाधीन विषय बनाउन पुगेको मैले धन्न कसो भट्टराई सरलाई गुरु थाप्न पाएँ । माया र सद्भाव मिसिएको सरल सिकाईमार्फत् डुङ्गा तार्न माहिर माझीतुल्य भट्टराई सरले अङ्ग्रेजी साहित्यको ज्ञानको गङ्गामा पौडी खेल्न पस्दा भुमरीमा फसेको मजस्तो बबुरोलाई पाखुरामा समातेर निकालिदिनु भएको पनि धेरै पुरानो घटना भइसकेछ, एकादेशको कथाजस्तै ।
त्यसैले जब यी गुरुदेवको सम्झनाले मनमा स्पर्श गर्न थाल्छ, तब श्रद्धाले उहाँको सम्मानमा शिर निहुरिन्छ ।
भर्खरै स्कूले जीवन छिचोलेर कलेज परिसरमा पाइला हालेको थिएँ । त्यो समय म कविताबाहेक अरु सोच्दिनथेँ । मेरो सपनाको अर्को नाम थियो कविता । धनकुटामा हुने कविता प्रतियोगिताहरूमा मेरो नामसँग पुरस्कार र तालीको घनिष्ट सम्बन्ध थियो, त्यो एउटा समय । प्रतियोगिता नामको त्यो दौडमा अक्सर आफूभन्दा अघि अरु कसैलाई देख्न पर्दैनथ्यो ।
अग्रज कवि प्रेम ओझाले त्यो मेरो ऊर्जामा उकेरा लगाएको पनि बिर्सिनसक्नु छ । उहाँ त्यतिखेर सरकारी जागिरका क्रममा धनकुटामा हुनुहुन्थ्यो । उहाँले प्रेमपूर्वक झापाबाट निस्कने साहित्यिक पत्रिका “रहर”मा प्रकाशनार्थ मेरो कविता पठाइदिनुभएछ । प्रकाशनका दृष्टिले २०४७ सालमा हो, मैले साहित्यिक क्षेत्रमा कवितामार्फत् पाइला हालेको । ओहो, साढे तीन दशकअघिको कुरो पो परेछ यो त !
अङ्ग्रेजी कवितामा स्वच्छन्दतावादी युगका कवि पी.बी. शेलीको विशेष प्रभाव थियो ममा । आँधीको लय सिर्जना गर्ने उनको कविता प्रियकर थिए, मेरा लागि । देशको राजनीतिक अध्यारो चिर्दै पूर्वमा उज्यालो लालिमा पोतिदै गरेको समय थियो, अनि थियो ऊर्जा भरिएको उमेर ।
यी त सबै समय समयको बात रहेछ । आज त्यो उमेर पनि रहेन, त्यो कवितामय सपना पनि कता पुग्यो कता ? अब त चाहेर पनि कविता लेख्न सक्छु भन्ने लाग्दैलाग्दैन । गर्न नसकिने काममा हात हाल्ने सवालै भएन । अब त कवितासँगको मेरो साइनो गोरु बेचेको साइनो बराबर भयो ।
फेरि अलिकति फर्कौँ, स्वच्छन्दतावादी समयका जल्दाबल्दा अङ्ग्रेजी कविहरूको प्रसङ्गतिर ।
पाँच स्वच्छन्दतावादी कविहरू हुन्, वल्र्डस्वर्थ, कलरिज, बाइरन, शेली र किट्स । यिनीहरूमध्ये सबैभन्दा कान्छा हुन् किट्स । संयोग पनि कस्तो ! सबैभन्दा पहिले उनकै मृत्यू भयो, २६ वर्षको खाऊँखाऊँ लाऊँलाऊँ उमेरमा । अरु सबै बितेपछि उमेरमा सबैभन्दा जेठा वल्र्डस्वर्थले भौतिक संसार छाडे । किट्सपछि उनीभन्दा अलि जेठा शेली, त्यसपछि उनीभन्दा अलि जेठा बाइरर उनीपछि उनीभन्दा अलि जेठा कलरिजले क्रमशः भौतिक संसार छाड्दै गए । कलरिजपछि सबैभन्दा जेठा वल्र्डस्वर्थको पालो आयो । उनीहरूको जन्म र मृत्यूको संयोग पनि त्यस्तै भयो, क्रमबद्ध ।
किट्सभन्दा कलिला विमल गुरुङ
किट्स र शेलीलाई सम्झदा यस्तो लाग्छ, कति धेरै सपना थिए होलान्, उनीहरूको कविताको संसारमा । लेखूँ, अझै धेरै लेखूँ, लेखूँ, अझै राम्रो लेखूँ । तर उनीहरूलाई समयले आवश्यकताभन्दा चाडै भौतिक रूपमा विदाई ग¥यो । तर पनि थोरै समय बाँचेर, अङ्कगणितका हिसावले धेरै नभए पनि गुणको हिसावले धेरै राम्रो लेखेर गए ती कविहरू । त्यसैले उनीहरूको नाम पाठकको मनमा बसेको छ, अमिट अभिलेख भएर । संसारमा जबसम्म चेतना रहन्छ, विस्मृतिको गर्तमा पुग्ने छैन, उनीहरूको नाम र सिर्जना ।
कम्तिमा किट्स २६ वर्ष बाँचे । यता हाम्रा कवि विमल गुरुङले त किशोरावस्था नै पुरा छिचोल्न पाएनन् । उनी त केवल १९ वर्षका थिए । कति धेरै र राम्रो लेख्ने हुटहुटी थियो होला उनीसँग ? तर समयले असामयिक रूपमा विदाईको हात हल्लायो । २०२८ साल कात्तिक १९ गते यो सुन्दर संसार हेर्न पहिलो पटक आँखा खोलेका उनले २०४८ वैशाख २४ गते त्यहीँ आँखा सदाका लागि चिम्लिए । एउटा होनहार कविलाई हामीमाझबाट निष्ठूर समयले खोसिदियो ।
विमलले धरानमा रहेर कविताको आगो ओकलिरहेको बेला कविता भनेपछि मरिहत्ते गर्ने म धनकुटामा रहेर उनको सिर्जनाको परख गरिरहेको थिएँ । उनको गति नियालिरहेको थिएँ । उनी मजस्तै लाखौँ पाठकको मुटुमा धड्किरहेका थिए । तर उनको असामयिक विदाईमा हाम्रो मुटुको धड्कन एकपटक रोकिएलाझैँ भएको थियो । इतिहास साह्रै नमज्जाले चुकचुकाइरहेको थियो ।
उनी आफ्नी आमा सरस्वति र सानीआमा झिमा गुरुङसँग काठमाडौंबाट धरान फर्कदै थिए । धादिङको जुकेपानीमा उनी चढेको बस दूघर्टनाग्रस्त भयो । आमा र सानीआमा सकुशल हुँदा उनले भने संसार छाडिसकेका थिए । आठ वर्षअघि आमाले पनि देह त्याग्नुभयो । अन्तिम अवस्थासम्म उहाँले छोराको सम्झनामा भक्कानो छाड्न छाड्नुभएको थिएन । भनिरहनुहुन्थ्यो, “त्यो दूर्घटनामा म चाहिँ जानुपथ्र्यो, किन मेरो छोरा नै जानुपर्ने ?”
यो असामान्य बेदनालाई सहज अवतरण त गर्नु नै थियो । छाडिजानेलाई भुल्न त कहाँ सकिन्छ र ? तर सम्झनालाई सार्थक बनाउनु पनि त थियो ।
एक सर्जक थिए, विमल । सानै उमेरमा परिपक्व सिर्जना गर्ने क्षमता लिएर आएका थिए उनी । एउटा लाहुरे बाबुको एक्लो छोरो, पुल्पुलिएर बिग्रनुको सट्टा एउटा सादगी सर्जक भएर निस्केका थिए । आफ्नै टोल बुद्धचोकमा “बुद्ध वाचनालय” खोलेर पठन संस्कृतिको उज्यालो बाँडिरहेका थिए । भित्तेपत्रिका “इँटा” निकालेर सिर्जनाको भब्य निकेतनको सपनालाई विपनामा परिणत गर्ने गरी पसिनाको सुमधुर गीत गाइरहेका थिए ।
उनको एउटा सपना थियो, वाचनालयलाई पुस्तकालयमा परिणत गर्ने ।
एउटा वैशाखी मुनाजस्तो उमेर । सपनाका अनेक रङहरू भर्ने उपक्रमहरू । अनायसै आएको हुरीले वित्यासलाई निम्तो दिएको जस्तै भयो । विमल हामीबाट खोसिए, हाम्रा मुटुहरू चोइटिए ।
अब विरह गाएर मात्रै विमल पूनः ब्यूँझेर भौतिक रूपमै फर्कने सम्भावना रहेन । आँखाबाट छुटेको धाराप्रवाहले नै मनको ब्यथा बगाएर लैजाने भए सबैभन्दा श्रेयस्कर उपाय हुने थियो, रुदै र कहालिदै बस्नु । यहीँ सत्य बुझेर अब आमा सरस्वतिले बारम्बार छुटिरहने भक्कानोलाई अलि कम गर्दै जान, पोलिरहने आँखाको पीरोलाई अलि सितल पार्दै लैजान विमलको अधुरो सपनालाई गोडमेल गर्ने निर्णय गर्नुभयो । बुबा पूर्णबहादुर र बहिनी शान्ति गुरुङबाट साथ सहयोग छँदै थियो ।
यो निर्णयको ६ महिनापछि नै विमलको २० औँ जन्म जयन्तीमा २०४८ साल कात्तिक १९ गते धरान–१८, बुद्धचोकमा भब्य पुस्तकालय भवनको उद्घाटन भयो, कवि विमल गुरुङ स्मृति पुस्तकालय । आज यो पुस्तकालय पूर्वी नेपालको एउटा भब्य साहित्यिक तीर्थस्थल बन्न पुगेको छ । यहाँ साहित्यिक तीर्थालुहरूको बाक्लो तीर्थाटन भइरहन्छ । उनीहरू दिवंगत विमललाई सोध्दै खोज्दै र सम्झना गर्दै त्यहाँ पुग्ने गर्छन् । एउटा अमर स्रष्टाको सिर्जनाको सार्थकतालाई यताबाट पनि मसिनो गरी पर्यवेक्षण गर्न सकिन्छ ।
कविता महोत्सवको परिकल्पना
माथि पनि उल्लेख गरिसकेको छु, त्यो समयको कविता भनेपछि मरिहत्ते गर्ने मान्छे थिएँ म । तर मेरो गोरेटो अन्तै मोडियो । पत्रकारिताको डोरोमा डोरिएपछि कवितासँग मेरो कुनै बेलाको सघन साइनो क्रमशः पातलो हुँदै गयो । लेखनका दृष्टिले अब मसँग कविताको हिङ त के, हिङ बाँधेको टालो पनि छैन । पठनको कुरा गर्दा छानी छानी मात्रै कविता पढ्छु । कविताका वैचारिक विम्वहरूले जसरी मलाई मदबेहोसी पारामा लठ्याउँछ, जस्तो कि “मध्यरातमा मातेको मान्छेको भाषण” ।
कलाको लागि केवल कला खिपेको विम्वले मलाई छुँदै छुँदैन । त्यसैले वर्तमानमा कविता विधामा लेखनका दृष्टिले म अल्छे तिघ्रो भएको प्राणी र पठनका दृष्टिले स्वादे जिब्रो भएको पारखी हुँ । यद्यपी कवि महोदयहरूमा मेरो ठूलो सम्मान छ ।
वृत्ति चलाउन पत्रकारिता क्षेत्र रोजेको हुँ । सिधा कुरा सिधै भन्नु वा लेख्नु पर्ने यहीँ पत्रकारिता अभ्यासले लक्षणा र ब्यञ्जनाले विम्व र प्रतीकको सहयोगी लिएर घुमाई घुमाई बोल्नुपर्ने कविता साधनालाई मबाट तितरबितर बनाइदिएको हो । ममा पत्रकारिता हावी हुँदै गएपछि मभित्रको कविलाई भने सुकेनासले सताउँदै लग्यो ।
पत्रकारिताको आकासमा पखेटा फिजाउँदै जाँदा धनकुटाभन्दा अलि फराकिलो ठाउँको खोजी गर्न थाल्यो आँखाले । काठमाडौं पो ताक्न थालिएछ, दुई तीन महिना त्यहाँ गएर अभ्यस्त हुन खोजेको हराइएला झैँ भयो । आपतविपतमा न काका छन्, न मामा ! मेरो विलखबन्द मनोदशा बुझेर मित्र जीवन भट्टराई (उमेरमा मभन्दा अलि जेठा भए पनि सम्बन्धका हिसावले हामी साथी–साथी) आफ्नो गृहनगर धरानमा आमन्त्रण गर्नुभयो, “यतै बसौँला, एउटा अखबार चलाऊँला ।”
तर उहाँले भनेअनुसार पहिला जोशिएका तारा सुब्बा (पछि धरान महानगरका मेयर, हालः दिवंगत) बाट अखबार सञ्चालनका लागि उति साह्रो जाँगर चलाइएको पाइनँ । त्यसतर्फ खास कुरो कोट्याउने रुची पनि मैले लिइनँ । राजधानीबाट प्रकाशित हुने अखबारको संवाददाताको रोजगारी छँदै थियो ।
धरानको बसाई सुरु गरेपछि उही तिर्थस्थलको रूपमा विकसित विमल पुस्तकालय पुग्ने नै भइयो । विमलजीका बुबा पूर्णबहादुर र आमा सरस्वतिसँग जीवनजीले नै चिनापर्ची गराइदिनुभयो । दुई वर्षअघि मात्रै सामना गर्नुपरेको पुत्रवियोग उहाँहरू दुवैको आँखामा छचल्किएर प्रकट हुन पुग्यो । विमलकै दौतरी वयको भएकोले होला, समिपमा मलाई पाउँदा उहाँहरूलाई अलि गाह्रो भएको । अलि दुब्ले, ख्याउटे र पातले अनि लुगा लगाईमा ल्याङ्फ्याङे तर लेखपढमा खिप्ती गर्ने विमलकै झल्को आयो होला म उहाँहरूको समिपमा हुँदाखेरि । पहिलो भेटमा बुबा पूर्णबहादुरको आँखा डब्डबायो, आमा सरस्वतिको सास बढ्यो, उहाँलाई बोल्न गाह्रो भयो ।
हाम्रो भेट भएको केही दिनपछि जीवनजीमार्फत उहाँहरूले खबर पठाउनुभयो,“लु त्यो बाबु हाम्रैमा बसोस् । बाहिर डेरा गरेर बस्नु पर्दैन भनिदिनू । पुस्तकालयको काममा पनि सहयोग हुन्छ ।”
यो प्रस्ताव स्वीकार गरिहाल्न सकिनँ मैले । अलिपछि लाग्यो, पुस्तकालयमा सघाउनु त छँदैछ, मेरो उपस्थितिले उहाँहरूमा विमलको न्यास्रो मेटिन्छ भने केही समय घरैमा बसि पनि दिऊँला ।
विमलले प्रयोग गर्ने गरेको कोठा नै मैले पाएँ । गाँस र बासको समस्या भएन धरानमा मेरो लागि । पखेटा फिजाउने अलि फराकिलो आकास खोज्दै हिडेको मलाई न्यानो काखको तातो माया दिने अभिभावक पो मिल्यो । एक वर्ष बसेँ म विमलको घरमा, उनको बुबा र आमाको छोरा भएर । सम्बोधनमा बुबा पूर्णबहादुर मामा र आमा सरस्वति छेमा पर्नुभयो । मैले उहाँहरूको नून खाएको छु । म यो नूनको गुन जीवनभर बिर्सने छैन ।
पुस्तकालयको काममा सघाउपघाउ छँदैछ, तर विमलको जन्मजयन्तीलाई अलि भब्य बनाऊँ भन्ने लाग्यो । उनको नाममा हुने उत्सवहरूलाई महोत्सव बनाउनु पर्छ भन्ने सोच्न थालियो । त्यसैले २०५२ सालदेखि राष्ट्रिय कविता महोत्सव सञ्चालन हुँदै आएको छ । यो कविता महोत्सवमा पहिलोपल्ट भीम राना “जिज्ञासु” (गोरखा) प्रथम, रमेश श्रेष्ठ (कास्की) द्वित्तीय र पेशल आचार्य (सुनसरी) तृतीय भएका थिए । २०४८ सालदेखिनै पुस्तकालयले कविता प्रतियोगिता गर्दै आएकोले त्यसैलाई जोडेर यो वर्ष गरिने कविता महोत्सवलाई ३३ औँ संस्करणको भनेको हो ।
महोत्सवका लागि कविताको आह्वान गर्दाको क्षण पनि यो प्रसङ्गमा स्मरणीय भएर आउँछ । काठमाडौंबाट छापिने दुई वटा साप्ताहिक अखबारमा विज्ञापन दिन्थ्यौँ, त्यसबेला । विज्ञापनको विवरण र तीन सय रूपैयाँ अलि बाक्लो खाममा हालेर पठाउँदा ती अखबारले छापिदिएको सानो विज्ञापनको भरमा देशभरबाट एउटा महोत्सवको लागि पाँच सय हाराहारीमा कविताहरू प्राप्त हुन्थे ।
आज सम्झन्छु, ती दुई अखबारले पनि पुस्तकालयलाई सहयोग नै गरेका हुन् । अत्यन्तै कम मूल्यमा अमूल्य सूचना प्रकाशित गरिदिनु सहयोग नै हो । ती दुईमध्ये “दृष्टि” साप्ताहिक अहिले पनि निरन्तर प्रकाशित भइरहेको छ भने साप्ताहिक “विमर्श” को प्रकाशन बन्द भएको निक्कै वर्ष भइसक्यो ।
दुई लाख राशीको पुरस्कार
विगत आठ वर्षदेखि म परदेशमा छु । यो बीचमा पछिल्लोपटक तीन वर्षअघि म मातृभूमी पुगेको थिएँ । धरानमा निस्कदा सञ्चारकर्मी तथा मुन्धुम कवि प्रदीप मेन्याङ्बोले भने,“दाई, यो पूर्वमा स्रष्टालाई सम्मान गर्ने एउटा गतिलो पुरस्कार छैन । लौन विमल पुस्तकालयमा यो प्रस्ताव राखौँ । विमल कृति पुरस्कारको नाममा हरेक वर्ष एक उत्कृष्ट पुस्तकलाई पुरस्कार दिने ब्यवस्था गरौँ ।”
प्रस्तावका लागि म आफै अघिसरा भएँ । पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङसमक्ष भनेँ,“पुस्कालयबाट हरेक वर्ष एक पुस्तकलाई एक लाख रूपैयाँको पुरस्कारको ब्यवस्था गरौँ मामा ।”
यसबारेमा एकैछिन छलफल भयो । प्रदीप र मैले यसको महत्त्वबारे प्रकाश पार्यौ । बहिनी शान्तिको समुपस्थितिमा पूर्णबहादुर गुरुङले भन्नुभयो,“एक लाखको होइन, दुई लाखको पुरस्कार दिऔँ ।”
हामी खुसीले उफ्रियौँ ।
विगत तीन वर्षदेखि यो कृति पुरस्कार पनि निरन्तर प्रदान गरिदै आएको छ । यसपटक लेखक प्रकाश थाम्सुहाङको निवन्धकृति “शब्दथुम”ले यो पुरस्कार पाएको छ । राष्ट्रिय कविता महोत्सवको निरन्तरता छँदैछ ।
बास्तवमा पुस्तकसँग त्यति परिचित होइनन्, विमलको बुबाआमा । तर दिवंगत छोराको सपनासँग गाँसिएको पुस्तकालयसँगको सपना र साइनोले उहाँहरूलाई पनि बाँध्यो । सिसेरोले भनेका छन्,“पुस्तक नभएको कोठा र आत्मा नभएको सरीरमा कुनै फरक हुँदैन ।” हो, यो पुस्तकालयमा पुग्छन्, उनै दिवंगत विमललाई सोध्दैखोज्दै बास्तविक आत्मा भएको शरीरहरू ।
वर्तमानमा म कविता सिर्जनाबाट कैयौँ दूरी टाढा छु । तर छोटो समय र कलिलो उमेरमा अब्बल र परिपक्व सिर्जना गर्ने कवि विमलको वैचारिक विम्वहरूबाट म कहाँ टाढा हुन सक्छु ?
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।