मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा - Naya Online

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल


समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ । पुराण र वेदहरूले निर्माण गरेको मिथहरूले कवितामा विम्बको रुपमा कति स्थान पाए कति ! अब उपेक्षित, तिरस्कृत र सीमान्तकृत समुदायमा प्रचलित मूल्य र मिथहरूले पनि कवितामा विम्बका रुपमा आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेछन् । यस्तो विम्ब विधानमा निक्कै परिपक्व हैसियतका साथ समकालिन काब्य क्षितिजमा आफ्नो स्पेश बनाइरहेका छन्, कतिपय कविहरू । उनीहरूको यस्तो हस्तक्षेपकारी काब्यिक उपस्थितिले सिमान्तकृतहरूको अनुहारमा एक झुल्को उज्यालो देखा परेको छ । चनाखा भएका छन्, आशावादी आँखाहरू ।

इतिहासको एक कालखण्डमा पोमुहाङ नामका राजा थिए, लिम्बूहरूको मूलुकमा । एकपटक सान्थाक्रा क्षेत्रका राजा सेरेङहाङलाई उनका शत्रुहरूले चुतौति दिदा सेरेङहाङ पोमुहाङकहाँ सहयोग माग्न पुगेछन् । पोमुहाङले थाक्मिया र मुरेगन नामका दुई सुरवीरको नाम सिफारिस गरेर उनीहरूको सहयोग प्राप्त भए युद्ध सजिलै जितिनेछ भन्ने सल्लाह दिएछन् । अन्ततः थाक्मिया र मुरेगनको सहयोगमा सेरेङहाङले आफ्नो शत्रुको सर्वनाश गराएर आफूले चर्चिआएको थातथलो जोगाएछन् ।

आज समय बदलिएको छ । हिजो धनुकाँड, ढाल तरबार बोकेर राज्यको रक्षाका लागि हिँड्ने उनै पोमुहाङका सन्तान पराजित पोमु कलम बोकेर काब्यिक क्षितिजमा आशा र भरोसाको किरण रुपमा चम्किरहेका छन् भने थाक्मिया र मुरेगनका सन्तति यो लेखक कवि पोमुको आशालाग्दो काब्यिक उपस्थितिमा उकेरा लगाउने उद्देश्यका साथ उत्साहित हुँदै आज उनै कविको चर्चाको चोत्लुङ उठाइरहेछ ।

कवि पोमुका कविताका लयहरूमा भेटिने सर्वाेत्तम वैशिष्ट्य भनेको लिम्बूहरूको मुन्धुमी विम्बहरू नै हो । यस्ता विम्ब विधानको परिपक्व प्रस्तुतिले पोमुलाई एक अपराजित कविका रुपमा स्थापित गरेको छ । तर यी कविको न्वारान चाहिँ कसरी ‘पराजित’ हुनपुग्यो ? यो प्रश्न यो लेखकका लागि अहिलेसम्म अनुत्तरित छ ।

राती १ बजे निद्रा खुल्दा
पराजित पोमुको जन्म अग्र्यानिक मुन्धुमी मूलुक ताप्लेजुङको नेग्रादेनमा भयो । सुवाङ्गी परम्पराले गाउँ सजाउँदै, मुन्धुमी लयमा माङ्गेना जगाउँदै, हाक्पारे, ख्याली, पालामको भाकासँगै माया पिरती साँट्दै अनि च्याब्रुङ र धाननाचको तालमा उन्मुक्त रमाउँदै रस्ती रसाउने र बस्ती बसाउने आदिवासीहरू हुन्, लिम्बूहरू । तर समयले मौलिकताको लयलाई तितरवितर बनाइरहेछ । उनीहरूलाई आफ्नो आदि थातथलोबाट अलगथलग बनाइरहेछ । कवि पराजित पोमुलाई पनि समयको हुरीले नेग्रादेनबाट हुत्याएर लामै समय परदेशी बनायो ।

जीवनको बाजी मार्न परदेशमा पसिनाको गीत गाउँदै दुःख बेसाएरै पनि थातथलोलाई आफ्नो हृदयको अन्तरकुन्तरबाट विस्मृत बन्न नदिनु नै कवि पोमुको काब्यिक विशेषता हो । आफ्नो आदि थातथलो छाडेर निक्कै लामो समय परदेशी जीवन बिताए पनि आफ्नो पूर्वजले भष्मे फाँडेर मलिलो बनाएको माटोको सम्झनाले उनलाई एक ऊर्जाशील कवि बनायो । मुन्धुमको लयले सिर्जनाको माङ्गेना उठ्यो । अनि पायो उनका कविताहरूले तियाहा…तियााह…।

आखिर उनको छातीभित्र कहाँ हल्लिरहेछ र धातुको टुक्रा । उनले आफूभित्रको मानवीय संवेदशीलता रत्तिभर तलमाथि हुन दिएनन्, परदेशी जीवनको दुष्चक्रले निम्त्याएको यान्त्रिक बाध्यताहरूमा पनि ।
त्यो हृदय सामान्य हृदय होइन, कवि हृदय हो कवि । अझ कवि पोमुको हृदयमा सल्बलाएका कविताहरूमा रैथाने दार्शनिक र ऐतिहासिक विम्बहरू विम्वित हुनुले कवि पोमु कर्तब्यवोधको प्रमाणप्रमेय लेखनमा अभ्यस्त छन् । यो त हामी आफ्नो छाँतीमा दाहिने हात राखेर दावी गर्न सक्छौँ ।
कवि पोमुको कविताको एउटा वैशिष्ट्य मुन्धुमी विम्ब हो भन्ने चर्चा उनको यो चोत्लुङमा गरिनेछ ।
बास्तवमा फेदाङ्मा, येवा, येमा तथा साम्वा लिम्बू समाजका कविहरू नै हुन् । त्यसैले लिम्बू समाजमा कविताको परम्परा त उहिल्यैदेखि सुरु भएको रहेछ भन्नलाई कुनै आनीकानी गर्नै पर्दैन । तर मुन्धुमले गेयात्मक श्रुतिशास्त्रका रुपमा युगौँयुग गुजार्यो ।

यसलाई विम्बका रुपमा टपक्क टिपेर थपक्क आफ्नो काब्य सिर्जनामा राख्नु पनि कहाँ सजिलो छ र ? तर अग्रज मुन्धुमविद् वैरागी काइँलाहरूले समकालिन पुस्ताका लागि सजिलो बनाइदिए, मुन्धुम सङ्कलन गरिदिएर, अझ त्यसलाई लिप्यान्तर मात्र नभई आवश्यक ब्याख्या समेत गरिदिएर । मुन्धुमी विम्बहरूको उज्यालोले सप्तरङ्गी इन्द्रधनुषी नेपाली समाजलाई सम्वोधन गर्ने कवि पराजित पोमुको चर्चाको चोत्लुङ उठाइरहदा अलिकति वैरागी काइँला र पद्यात्मक गेयरुपी मुन्धुम सङ्कलन, अभिलेखिकरण र लिप्यान्तरको ऐतिहासिक पृष्ठभूमीको पेटारो किन नखोल्ने ? अलिकति त्यसतर्फ पनि चर्चा गरौँ ।
प्रसङ्ग वैरागी काइँलाको पाँचथर, सारतापस्थित जन्मघरबाट सुरु गरौँ ।

त्यतिबेलासम्म वैरागी काइँलाको उपस्थिति आयामेली कविका रुपमा देखा परेकै थिएन । उनको ओँठमाथि जुँगाको रेखी पलाउँदै गर्दा २०१२ सालमा लन्डन युिनभर्सिर्टीको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आर. के. स्प्रिग अध्ययनका क्रममा नेपाल आएका थिए । उनी वैरागी काइँलाकै घरमा एक महिनाजति आफ्नी श्रीमतिसहित पाहुना लागेका थिए । उनले तत्कालीन लण्डनस्थित इन्डिया अफिस लाइब्रेरीमा बी. एच. हज्सनले सन् १८६४ तिर सङ्गृहित गराएका लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृति, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखत पाण्डुलिपिको छायाँप्रति पनि आफ्नो साथमा लिएर आएका थिए । प्रा. स्प्रिगले ती कागज देखाउँदै वैरागी काइँलाको ध्यान तान्न खोजे, तर उनको ध्यान त्यसतर्फ खिचिदै खिचिएन । उनी त त्यसबेला खस नेपाली भाषामा लेखिने कविताको मोहले थिचिएका थिए ।

पछि २०१८ सालमा इमानसिंह चेम्जोङले प्रकाशमा ल्याएको किरात मुन्धुम (‘किरातको वेद’) मा उनको आँखा पर्यो, अनि पो घैँटोमा घाम पर्यो वैरागी काइँलाको । त्यसपछि माइलस्टोन सावित भयो, येवा दलबीर नायम फागुसँगको भेट वैरागी काइँलाको लागि ।

कुरा पर्यो, २०३३ सालको ।

वैरागी काइँला झापाको खुदुनाबारीबाट आफ्नो घरगाउँ पाँचथरको सारताप हिँडेका थिए । बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा उनको बास पर्यो । थकीत भएर उनी सुतिरहेको बेला अचानक रातको एक बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उनको कानलाई स्पर्श गरेपछि उनी ब्यूँझे । उनको त्यहीँ रातको ब्यूँझ्याईले मुन्धुमी ज्ञानको क्षितिजलाई गम्भीरतापूर्वक नियाल्न कैयौँलाई आज छिप्पिएको तोङ्वाले लगाएको निद्रा खोलिदिएको छ । मुन्धुमी चेतनाको झर्के थाल बज्न पुग्दा उनीहरूको मष्तिष्कको तन्तु हल्लन पुगेको छ । सांस्कृतिक पुनर्जागरणको युगमा छ, यतिखेर मुन्धुमी मुलुकको लिम्बू समाज ।

त्यो रातको चकमन्नतामा येवाले गाएको मीठो लयबाट निद्रा खुल्न पुग्दा वैरागी काइँला केही तलको मामाको घरमा झरे । त्यहाँ चलिरहेको थियो, एक राते तङसिङ । साह्रै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येबा । उनले विहानसम्म बसेर येबाले गाएको मुन्धुमलाई धमाधम टेप रेकर्ड गराए ।

मुन्धुमको अध्ययनको सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा २०३४ साल मंसिर ८ देखि ११ गतेसम्म तीन राते तङ्सिङ्को आयोजना गरे । वि.सं. १९६० भदौ २९ गते जन्मेका येबा दलबीरको जन्मस्थल मैवाखोला इलाका थादिङ् गाउँ चैनपुर हो । पछि उनी इलाम जिल्लाको नाम्सालिङ गाउँमा बसाईं सरेका थिए । उनको यगाप्ची रामप्रसाद याक्खा थिए । येबा दलबीरले गाएको मुन्धुम सो अबसरमा टेप गरेर पछिबाट आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उनीसँग काइँलाले पटक पटक भेट र छलफल गर्ने काम पनि गरे ।

येबा दलबीर बाहेक अन्य जानकार येबाहरूको खोजी गर्दा याङ्रोक निबासी हाल झापाको खुदुनाबारीमा बस्ने बीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो, उनको । यिनै बीरबहादुर नै पछिबाट वैरागीका माइला दाजु डिल्लीविक्रम नेम्वाङको घर झापाको खुदुनाबारीमा वि.सं. २०४९ माघ १६ देखि १९ गतेसम्म तीन राते तङसिङको आयोजना गर्दा मुख्य येबा थिए । येबा बीरबहादुरसँग येबा दलबीरले गाएको मुन्धुमको पाण्डुलिपी र उनी आफैले गाएको मुन्धुमको पाण्डुलिपीमाथि ब्यापक छलफल भई तुुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने कार्य वैरागी काइँलाले गरे । यी अमूल्य सम्पदाहरूलाई वैरागी काइँलाले बडो मेहनतसाथ सिरिजङ्गा लिपीमा लिप्यान्तर गरे । आज बैरागी काइँलाको हातबाट ठेलीका ठेली मुन्धुमी किताब त्यतिकै निस्केका होइनन् । सानो मेहनतले मुन्धुमविद बनेका होइनन्, वैरागी काइँला । आज उनै आस्थाका फक्ताङलुङ वैरागी काइँलाका प्रेरणादायी बुद्धि र मेहनतसामु नतमस्तकपूर्वक सेवाढोग गर्दै समकालिन कविहरूलाई मुन्धुमी विम्बहरू टिप्न काफलगेडीसरह सहज हुन पुगेको छ । यो उत्साह अभूतपूर्व छ, अनि स्वागत योग्य पनि ।

यसै सेरोफेरोमा मुन्धुमी विम्बहरूसँग खेल्दै समकालिन काब्य जगतमा कवि पराजित पोमुको हस्तक्षेपकारी उपस्थिति देखा परेको छ । यस्ता विम्ब विधानका कविताहरूले नै सप्तरङ्गी इन्द्रधनुषी नेपाली समाजको सजावटमा आयाम थप्छ । अब मखमली र सयपत्री मात्रै फुलेर पुग्दैन, नेपाली समाजमा बेली र चमेलीहरूले पनि आफ्नो महक छर्न पाउनुपर्छ । यसले समाजको आयतन बढाउँदै लैजान्छ ।

कवि पराजित पोमु

यो समय कसको समय हो ?
समकालिन नेपाली तन्नेरी पुस्ताले मरिहत्ते गरेर आँखामा सजाउने औसत सपना हो, परदेश । यस्तो लाग्छ, परदेशी माटोमा झाँगिएका बोटहरूमा पहेँलपुर ऐसेलु झाँगिए झैँ पैसा फल्छ, जसलाई टप्प टप्प टिप्न सकियोस । यस्तै अवसरको ऐसेलु टिप्न पराजित पनि लामै समय दक्षिण कोरियामा बसे । उनले त्यहाँ कति ऐसेलु टिप्न भ्याए, कसरी फिाउने यस्तो जिज्ञासाको झोली उनीसमक्ष ? यो त प्रसङ्ग बाहिरको कुरा भयो ।

तर सबैले देख्ने गरी कोसेलीका रुपमा उनी र उनका सर्जक साथीहरूले तीन वटा महत्त्वपूर्ण साझा काब्यकृति हामी पाठकसमक्ष समर्पित गरे, “यो मेसिनको सहर हो”, “भूँईमान्छेको आवाज” र “इतर आवाज” ।

ल्यू सुन भन्छन्, “कामदार वर्गले उत्कृष्ट लेखन गर्न सक्दैन । किनकि उनीहरूलाई कामकै चिन्ता बढि हुने र उनीहरूको सरीर पनि थकीत हुने हुनाले उत्कृष्ट सिर्जनाका लागि उनीहरूलाई न सोच्ने समय हुन्छ, न लेख्ने फुर्ति !”

तर ल्यू सुन महोदयको समय होइन यो । यो त पराजित पोमुहरूको समय हो ।

समयले नेटो काटिसकेको छ । बाध्यताले अवसरको ऐसेलु टिप्न विदेशमा खोलाका खोला पसिना बगाइरहेका पराजित पोमुहरूले विदेशमा पसिनाको गीत मात्रै गाएनन्, सिर्जनाका रङहरूले आफ्ना अमूल्य क्षणहरूलाई उत्सवमय पनि बनाए । मेसिनसँग खेल्दै मेसिनमय भएको आफ्नो भौतिक काया एकैछिन आरामको खोजीमा निस्कदा सिमलको भुवाजस्तै हावामा उडिरहेका आफ्ना अनुभूतिहरूमा बडो महत्त्वका विम्ब र प्रतीकका रुपमा फेला पारे । उड्दै उड्दै कतै बास खोज्न निस्किएका सिमलका भुवारुपी आफ्ना अनुभूतिहरूलाई आफैसँग समालेर राखे । अनि त उनीहरूको समवेत स्वर गुञ्जियो, “यो मेसिनको सहर हो” (२०७८) ।

त्यसैले भन्न सकिन्छ, यो ल्यू सुन महोदयको समय होइन, यो त पराजित पोमुहरूको समय हो ।
राज्यसत्तामा छन्, बारुला र अरिङ्गलहरू । महको खोजीमा मौरीहरू परदेशिएका छन् । पराजित पोमुहरूलाई देशले धकेल्दै धकेल्दै लगेर सीमान्तमा पुर्याएको दृश्य कतै छुपेको छैन । यो दृश्य त हाम्रो दृष्टिविन्दुले सतहमा देख्ने अवसर पाएकै छ । हुँदा हुँदा उनीहरू देशको सिमाना कटेर परदेशी हुन पुगे र परदेशमा उनीहरूलाई मेसिनमय जिन्दगी बाच्न विवस बनायो ।

तर कविहरूलाई अन्याय मान्य हुनसक्दैन । कविहरूलाई अत्याचार सहृय हुनसक्दैन । यस्ता दलनमलनप्रति सुन्यसहनशील कविहरूको हृदयको अन्तरकुन्तरबाट गुञ्जिने ध्वनीहरूमार्फत् उनीहरू बागवतमा निर्भिकतापूर्वक उभिन्छन् । परिणामतः “इतर आवाज” (२०७६) जस्ता सिर्जनाका अमूल्य काब्यकृतिले प्रकाश पाउँछ ।

यस्तो लाग्छ, पराजित पोमुहरूको शब्दकोशमा “थकाई” भन्ने शब्द नै छैन । अवसादमुक्त छन् उनीहरू, र त उचालिन्छन् उत्साहले पाइलाहरू । तथाकथित मूलधारबाट मूल्य नपाएका स्रष्टाहरू हुन्, कवि पराजित पोमुहरू । याम्विरी यङघङजस्तै कञ्चन र पवित्र प्रवाह बग्ने उनीहरूको सिर्जनात्मक प्रस्फुटनलाई बागमति र विष्णुमतिको जस्तो हरक आउने तथाकथित मूलधारले मूल्य नदिएकै उत्तम लाग्छ । यहीँ मूल्यको कसीमा कवि पराजित पोमुहरूले “भूँईमान्छेको आवाज” (२०७९) आफ्ना प्रिय पाठकहरूको हातमा पाहुर थमाए ।

त्यसैले यो पृथ्वीनारायण शाहकालिन भाट कवि ललितावल्लभको समय त हुँदै होइन, यो समय त दलनमलनप्रति सुन्यसहनशील कवि पराजित पोमुहरूको समय हो ।

यी अर्थपूर्ण कविताकृति प्रकाशनका लागि उनीसँग काँधमा काँध मिलाउने कविहरू हुन्, उत्तम खजुम, मातृका नेम्वाङ, सुरेशसिंह सम्बाहाम्फे, सुष्मा रानाहाँमा, कृष्ण किरात, डम्बर सुब्बा, दिपा मेवााहाङ, खोम गुरुङ, बलिन्द्र योङहाङ, खेम पुन मगर, शकुन आँसु, दिलिप बान्तवा, सेसेफुङ सेर्मा, हाङसेम गणेश, जीवन खत्रीलगायत ।

कवि पराजित पोमु र उनका समवयी र सहकर्मी स्रष्टाहरू बास्तवमा भूँई मान्छेहरू नै हुन् ।

यहाँनेर गौतम बुद्धको एउटा प्रसङ्ग जोड्न आवश्यक ठानियो । एक दिन बुद्ध आफ्ना भक्तहरूलाई उपदेश दिइरहेका थिए । उनीहरूमध्ये एक जनाले सोधे,“तथागत, तपाईँ किन आसनमा नबसी भूँईमा बसेर उपदेश दिनुहुन्छ ?”

त्यतिखेर बुद्धले भने,“भूँईमा बसेपछि त्यहाँभन्दा तल झर्नुपर्दैन ।”

हो, यसै प्रसङ्गमा पराजित पोमुहरूले प्रकाशमा ल्याएको “भुँइमान्छेका आवाज” (२०७९)लाई सार्थकतापूर्ण सिर्जना मान्न सकिन्छ ।

“अप्पो दीपो भवः” को मूल्य
कवि पोमुका आफ्ना कोही पनि पूर्वजले खस नेपाली भाषाबाट सिर्जनाको संसार चियाउने कर्म गरेनन् । तर उनीहरू मातृभाषाबाट मुन्धुम, हाक्पारे, ख्याली र पालामजस्ता पद्यात्मक गेय निकाल्ने आँसुस्रष्टाहरू थिए । यद्यपी मातृभाषाका लागि शासनसत्ताबाट क्रमैसँग समर्थन र साहनुभूति दुरुह बनिदिदा कवि पराजित पोमु खस नेपाली भाषाको अनुशरणमा पर्नु पर्यो। यहीँ भाषाबाट उनले सिर्जनाको संसार चियाउँदाखेरि मातृभाषा र मुन्धुमी विम्बहरूलाई आफ्नो कविताको आत्मा बनाए । परिणामतः परदेशमै बसेर उनले दुई मौलिक कृतिहरू पाठकसमक्ष प्रस्तुत गरे, “लेप्मुहाङको डुङ्गा” (२०७३) र “मद्वारा मेरो निर्माण” (२०७९) ।

लिम्बू मुन्धुममा सोधुगेन लेप्मुहाङको स्थान उच्च छ । उनले पृथ्वीमा भयङ्कर जलप्रलय हुँदा एउटा डुङ्गा निर्माण गरी त्यसलाई फक्ताङलुङको टुप्पामा बाँधेर अड्याई मानिसहरूलाई उद्धार गरेको प्रसङ्ग मुन्धुममा आउँछ । यसरी सोधुगेन लेप्मुहाङलाई केन्द्रमा राखेर उनले पहिलो कविता सङ्ग्रह पाठकसमक्ष प्रस्तुत गरे ।

यहाँ सागर तर्ने ज्ञान नहुनेलाई
डुङ्गा चलाउन दिइएर
दलदलमा फस्दैछन् हाम्रो मूल्य
डुविरहेछ हाम्रो आँगन इक्सागेन खाम्बेक
आऊ लेप्मुहाङ
नयाँ सपनाका डुङ्गाहरू बनाऊ
अ–मान्छेहरूलाई त्यहीँ फालेर
सुन्दर, सचेत मानिसहरूलाई उद्धार गरिदेऊ ।
(लेप्मुहाङको डुङ्गा)

जस्तोसुकै भीडबीचमा पनि त्यो नितान्त मानिस एक्लो हुन्छ, जब उनले आफूमा आफैलाई पाउँदैन । गौतम बुद्धले भनेका छन्, “अप्पो दीपो भवः” अर्थात् आफ्नो दिपक आफै बन । पराजितले भनेजस्तै आफ्नो निर्माण त आफैले गर्ने हो । आफ्नो अवरोध त आफैले पन्छाउने हो । उनी लेख्छन्,

साँघुरा छन् हिँड्ने बाटाहरू उसै
वासाङ भिरेर
तीन तियाली तीन वाचा कसेर
झर्के थालले चिर्नुछ, सम्याउनुछ अवरोधहरू ।
(मद्वारा मेरो निर्माण)

औचित्य सकिसकेको छ भने त्यसलाई भत्काउने र नयाँ निर्माण गर्ने हो । बलजफ्ती लादिएको छ भने त ऐजेरुरुपी त्यस्ता मान्यतालाई पनि भत्काउने हो । डेरिडाको विनिर्माणवादी मूल्यमा पनि मुन्धुमी विम्ब स्थापनार्थ कवि पोमुको कलम दौडेको पाइन्छ,

उहिले–उहिले
पाम्ना भाषा पढ्न/लेख्न जान्नेहरू
महाकवि, आदिकवि, आशुकवि भए
अलिअलि मिक्फुला भाषा जान्नेहरू
कविसम्म भए
दुवै भाषा नबुझ्ने–आफ्नै भाषाका मानक हामी
दुधिलोको हाँगामाथि चढेर पिपिरी बजा––उँदै
विचारका अनेक रङ्ग घोलेर
विनिर्मित पूर्ण चित्र कोरिरहेछौ–मौलिकताको !
(शालिक)

परदेशमा बस्दा घरदेशको सम्झनाले भुतुक्कै हुनु र यस्ता सम्झनाका तरेलीहरूलाई कविताको वान्कीमा सजाउनुले आफ्नो माटोप्रति स्नेहको प्रकटीकरणलाई सहज बनाउँछ । र त त्यस्ता कविहरू अवसादमुक्त भएर कवितामा सलल बग्न सक्छन् । कवि पोमुले घरदेशप्रेमका साथ उठाएको मायाको माङ्गेना यस्तो छ,

म भिर्छु काँधमा धनुकाँड
मट्याङ्गा तिमी बोक
सिकार खेल्दै बँदेलको
सेकुवा पोली खाऔँ ढुङ्गाको ताप्केमा
तिम्रो हातले छानेको तीनपाने रक्सी स्वाट्टै पारेर
मेन्छ्यायेम डाडाको चुच्चोमा निस्कूँ
पर परे…सम्म फैलिएको पृथ्वी फैलिएर दृष्टिभरि
तुत्तुतुम्याङ सावा यत्हाङ साक्षी राखेर
प्रेमको तङ्सिङ गरौँ
मायाको माङगेन्ना उठाऔँ/नसोचेको कहाँ हो र नायुमा
खै के–केले अल्झाई बस्छ यो परदेशमा ।
(नायुमा)

उनका यी सबैजसो सिर्जनाहरू परदेशमै बसेर सिर्जित भएका हुन् । परदेशमा बसेर गरिएका भए पनि यी सिर्जनाहरूमार्फत् कवि पराजित पोमु इम्विरी यङधङको गतिमान र पवित्र प्रवाहजस्तै सिर्जनाको लयमा बगिरहेका देखिन्छन्, कहिले गडगडाउँदै, कहिले सुशान्त । मुन्धुमी विम्बहरूका जगमगाउँछन्, त्यसैले त उनी उक्लदा पनि आफ्नै माटोको उकालीमा, ओर्लदा पनि आफ्नै माटोको ओरालीमा भेटिन्छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...