सम्झनामा किसन राई - Naya Online

सम्झनामा किसन राई

राजकुमार दिक्पाल

एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर ।
आफू र आफ्नो परिवारको महत्त्व तपाईंका लागि सधैँ गौण रह्यो । सधैँ समाजको नाम जपेर हिड्दा परिवारको खुसी तपाईको प्राथमिकताभित्र कहिल्यै परेन । यसरी सामाजिक अभियानमा मरिमेटेर लागिरहेकै बेला तपाईंको असामयिक भौतिक अवसानले हामी मर्माहत छौँ ।

तपाईंको सन्दर्भमा यस्तो अनपेक्षित क्षणसँग साक्षात्कार गर्नुपर्छ भनेर कल्पनासम्म गरिएको थिएन । तर अब हामीले नचाहेरै पनि तपाईँ केवल हाम्रो सम्झनामा सिमित हुन पुग्नुभयो ।

केही वर्षयतादेखि तपाईंको एउटा सपना थियो, संसारका विभिन्न देशमा छरिएर रहेका नेपाली आदिवासीहरूलाई एउटै छाताभित्र गोलबद्ध गरेर उनीहरूको सामथ्र्य र शक्तिलाई एकत्रित गरी पहिचानको लागि आन्दोलित बनाउने । तपाईंले त्यहीँ सपनालाई यथार्थमा परिणत गर्न अहोरात्र योजनाहरू बुनिरहनुभएको थियो । तर स्वदेश र विदेशबाटै तपाईंका योजनाहरूविरुद्ध छिर्के हान्नेहरू पनि देखा पर्न थालिसकेका थिए । लामो समय सत्तासिनहरूसँग लड्दै भिड्दै आउनुभएको तपाईं जीवनको अन्तिम क्षणमा आफ्नै समुदायको अन्तरघातीहरूसँग लड्दै भिड्दै हुनुहुन्थ्यो । डायास्पोरामा रहेका नेपाली आदिवासीहरूलाई गोलबद्ध गरौं भन्दा तपाईंले अत्यन्तै विश्वास गरेका ती ब्यक्तिहरू, जसले तपाईंलाई जीवनको अन्तिम क्षणमा आएर अन्तरघात गरे । तपाईंको सपनालाई कलिलैमा निमोठ्न खोजे । केही हदसम्म त उनीहरू सफल पनि भए ।


२०३६ सालको राजनीतिक हुण्डरी चलिरहेको बेला भर्खरै कखरा छिचोल्न सुरु गरेको थिएँ मैले । २०३७ सालदेखि २०३९ सालसम्म त धनकुटा नगरको हाम्रो घर तत्कालिन भूमिगत मालेको अखडा नै बन्न पुगेको थियो । भूमिगत नेताहरू आश्रयका लागि आउँथे । उनीहरूका लागि गाँस र सुरक्षित बासको प्रवन्ध गर्न पथ्र्यो । यसमा मेरो दाजु डम्बर सुब्बा हाम्रो घरका सम्पर्क सूत्र थिए । सांस्कृतिक गतिविधिहरू हुन्थे । परिवर्तनका लागि स्वप्नजिवी युवाहरू भेला हुन्थे । लेखपढको कुरा हुन्थ्यो । आज म आफू जसरी एउटा लेखक बन्ने सपना बोकेर केही लेखिटोपल्दै छु, यसको प्रभावको पृष्ठभूमी त्यहीँ समयको हाम्रो घरमा हुने गरेको राजनीतिक, सांस्कृतिक तथा साहित्यिक गतिविधि हो ।
अहिले मेरो लेखनको मूल अभिष्ट नेपाली इतिहास हो । नेपालका सिमान्तकृत समुदाय, त्यसमध्ये आदिवासी जनजातिहरूको इतिहासको अध्ययन हो, मेरो लेखनको अहिलेको मूल अभिष्ट ।
खासगरी २०३६ सालको राजनीतिक हुण्डरीसँगै हाम्रो घरसम्म हामीलाई आफ्नो उत्तरदायित्त्व निर्वाह गराउनको निमित्त आइपुगेको माक्र्सवादी लेलिनवादी विचार र त्यसले निर्माण गरेको सांस्कृतिक चेतले मेरो कलिलो दिमागलाई त्यसबेला राम्रैसँग स्पर्श गरेको थियो । त्यहीँ चेतले मलाई अखिलको कार्यकर्ता बनायो । अखिलको कार्यकर्ता हुँदा पनि मैले त्यसबेला जिम्मेवारी पाएको मोर्चा चाहिँ सांस्कृतिक नै हुन्थ्यो । यो मोर्चामा रहरै मैले आफ्नो कलमलाई तिखार्दै जाने अवसर प्राप्त गरेँ । त्यहीँ अवसरको आधारलाई टेकेर अहिले इतिहास अध्ययन र लेखनमा आफूलाई बामे सार्ने कोशिश गरिरहेको छु म ।
तर अखिलको राजनीतिभित्र केवल माउ पार्टीले सिकाएको माक्र्सवाद लेनिनवाद र त्यसले प्रक्षेपण गरेको वर्गवादले मात्रै नेपालको विविधतालाई सम्वोधन गर्न सक्दैन भन्ने चेतना त्यसबेला ममा जागरण भयो, जतिबेला मैले आफ्नो कलेज जीवन प्रारम्भ गरेको थिएँ । यस्तो चेतना जगाउने चाहिँ तत्कालिन धनकुटा अखिलका अध्यक्ष राजेन्द्रकुमार राई (यो लेख लेखिरहदाको बखत नेपाल सरकारका मन्त्री) थिए । हामीलाई नेपालको विविधताका बारेमा ज्ञान दिएर नेपालमा युगौँदेखि गजुल्टिएर रहेको जातीय समस्याका बारेमा पनि चिन्तन हुनु जरुरी छ भन्ने चेतना जागरणमा मलाई उत्प्रेरित गर्न अहम भूमिका खेल्ने ब्यक्तित्त्व चाहिँ विनोद गुरुङ हुन् ।

उनै विनोदजीको नेतृत्वमा धनकुटाको प्रतिनिधि भएर पोखरामा सम्पन्न अनेरास्ववियूको ११ औं राष्ट्रिय सम्मेलनमा सहभागी भएको थिएँ । नेपालको जातीय विविधताको सवालमा सङ्गठनले एउटा स्पष्ट धारणा ल्याउनुपर्छ भन्ने आवाज ब्यापक रूपमा हलभित्र उठ्यो ।

किसन सर, मलाई त्यसबेलाको एउटा दृश्यको झल्झली सम्झना आइरहेको छ । हलभित्र यस्तो आवाज उठ्ने सम्भावना प्रष्ट रूपमा देखा पर्दै गर्दा त्यो सम्मेलनबाट अध्यक्षमा चुनिने गरी पार्टीको संस्थापन पक्षबाट अखिलको भावी अध्यक्षका रूपमा अघि सारिएका शङ्कर पोखरेल (हालः एमालेका महासचिव) हामी तत्कालिन राजनीतिक विभाजन अनुसार निर्माण भएको कोशी अञ्चलका प्रतिनिधिहरू बसेको ठाउँमा आएका थिए । नेपालको जातीय विविधता र समस्याका बारेमा आवाज उठ्दा सुनसरी र त्यसमा पनि धरानबाट कडा समर्थन हुनेछ भन्नेमा पार्टीको संस्थापन पक्ष पहिल्यैदेखि सतर्क रहेछ । त्यसैले सुनसरीको नाभीमै हान्न भनेर शङ्करले सुनसरीका प्रतिनिधिहरू बसेको ठाउँमा आएर सुनसरीका तत्कालिन अखिलका नेता मनोजकुमार मेयाङ्वोसँग केही मन्त्र फुक्दै गरेको दृश्य अहिले पनि मेरो आँखा अगाडी झल्झली आइरहेछ ।

हलको सबैैभन्दा पछाडीको भागमा त्यसबेला काठमाडौंका प्रतिनिधिहरूलाई राखिएको थियो । हलभित्र नयाँ उठिरहेको सवाललाई सम्बोधन गरिनुपर्छ र यसबारे कुरा राख्न पाउनुपर्छ भनेर उफ्री उफ्री आवाज उठाइरहने एक विद्यार्थी नेता एकछिनपछि उनै मनोजकुमार मेयाङ्वो भएको ठाउँमा आएर उनलाई लिम्बू भाषामा निक्कैबेर सम्झाएको दृश्य पनि उसैगरी मेरो आँखा अगाडी झल्झली आइरहेछ । यसरी दुई विपरित ध्रुवबाट मन्त्रणा गर्ने कार्यपछि मनोजकुमार मेयाङ्बोलाई अनौठो निद्राले छोप्यो । उनी आफू बसेको सीटको अगाडीतिरको सीटको आडमा घोप्टिएर आराम गर्न थाले । मानौँ, उनी उघ्न थाले । दिपेन्द्र सभागृहमा चलिरहेको सम्मेलनको बन्द सत्र अवधिभर उनको अवस्था यस्तै देखियो ।
बन्द सत्र अवधिभर सम्मेलनमा निस्केको नयाँ सवाल उठाउने नेताका रूपमा खोटाङका अखिल नेता रमेश राई अघिसरा थिए । तर उनलाई बोल्नबाटै रोक्न खोजिएपछि उनले कुरा उठाउन पाउनुपर्छ भनेर बुरुक्क उफ्रनेमा सुनसरीका कुलचन्द्र राई देखिए । कुलचन्द्रलाई होस्टेमा हैँसे गर्नेमध्ये विजय लिम्बू (लुम्फुङ्वा)सँगै तपाईँ पनि देखा पर्नुभएको म कसरी विर्सन सक्छु र किसन सर ?

यसरी हामीहरूले माउ पार्टीबाट केवल माक्र्सवाद, लेनिनवाद तथा वर्गिय सवाललाई मात्रै राजनीतिको मूल दर्शन बनाएर मात्र सम्पूर्ण नेपाल समेट्न सकिदैन, त्यसैले नेपालको जातीय, सांस्कृतिक तथा धार्मिक विविधतालाई पनि सम्वोधन गरिनुपर्ने आवाज एकै स्वरमा उठाएको त्यो ३२ वर्षअघिको घटना आजै जस्तो लाग्छ ।

३२ वर्षको अवधिमा धेरै कुराहरू भए, चेतना जागरणका दृष्टिकोणले सिमान्तकृत आदिवासी जनजातिहरूमा स्वर्ण दिन त आइपुग्यो, तर परिवर्तन र समतामूलक नेपाली समाजसँगको भेट तत्काल हुने सम्भावना देखिदैन । त्यसैले तपाईँ हामीले अझै धेरै गर्नुपर्ने सङ्घर्षको यात्रा अधृुरै पारेर तपाईले भौतिक रूपमा हामीलाई छाडि जानुभयो । हामी मर्माहत छौँ ।


विद्यार्थी राजनीति छाडेर म पत्रकारितामा लागेँ । पत्रकारितामा लाग्नुको मेरो केवल दुई उद्देश्य थियो, लेखेर केही नाम राखूँ र अर्को चाहिँ जिविका चलाऊँ । त्यसैले मैले पत्रकारितालाई पेशा बनाएँ । तपाईँ चाहिँ विद्यार्थी राजनीति छाडेर सेवामूलक ब्यवसायमा लाग्नुभएको थियो । तपाईँ यस्तो ब्यवसायमा लाग्नुको उद्देश्य के थियो, यो विषयमा मैले तपाईँसमक्ष कहिल्यै पनि जिज्ञासाको विस्कुन फिजाउने अवसर पाइनँ । तर मेरो लाटो बुझाईमा तपाईँ स्तरीय शिक्षा दिएर नानीबाबुहरूमा चेतनाको दियो बाल्न चाहनुहुन्थ्यो । योग्य नागरिक तयार पार्ने अभियानमा हुनुहुन्थ्यो । त्यसैले मैले विद्यार्थी राजनीति छाडेपछि तपाईँ सेवामूलक ब्यवसायमा लाग्नुभएको थियो भन्ने आँट गरेको हुँ ।

तपाईँले सञ्चालन गर्नुको विद्यालय राम्ररी चलिरहेकै थियो । पछि तपाईँले माछा भौडीचोकमा एउटा पुस्तक पसल पनि सञ्चालनमा ल्याउनुभएको थियो । पुस्तक तथा स्टेशनरी ब्यवसायमा हात हाल्दा सायद तपाईँ “ज्ञानोदय” नामलाई एउटा ब्राण्डको रूपमा स्थापित गर्न चाहनुहुन्थ्यो, त्यसैले पुस्तक पसलको नाम राख्दा पनि ज्ञानोदय नै रोज्नुभयो ।

धरान बसेर म आफूभन्दा नयाँ पुस्ताका भाई बहिनीहरूलाई पत्रकारितामा ल्याउन चाहन्थेँ । मलाई धरान बस्न निम्तो दिनुहुने चाहिँ उमेरमा मभन्दा अलि जेठो भए पनि सम्बन्धको हिसावले एक अनन्य मित्र जीवन भट्टराई हुन् । मेरो धरान बसाईलाई उकेरा लगाउनेमध्ये अर्का ब्यक्ति हुन्, दाई शिव सुब्बा । संस्थागत रूपमा भन्ने हो भने हिमायति परिवार मेरो धरान बसाईको प्रेरक संस्था हो ।

धरानका अधिकाँश बौद्धिक ब्यक्तित्त्व, साहित्यकार तथा पत्रकारहरूको जमघटको स्थल छाताचोक हो । यहाँ राजनीति गर्नेहरू पनि भेला हुन्थे, न्यूरोडस्थित पिपलबोट भेला भएजस्तै । सञ्चारमाध्यममा छापामाध्यमको रजगज भएको अवस्थाका कारण जहाँ पुस्तक तथा पत्रपत्रिका उपलब्ध हुन्छ, त्यहीँ हुनेगर्छन् यस्ता जमघटहरू ।

तर मेरो लागि चाहिँ छाताचोकभन्दा प्रिय थियो, माछाभौडी चोक । किनकि त्यहाँ थियो, ज्ञानोदय पुस्तक पसल । त्यहीँ पसलमा मैले आफ्नो मित्रमण्डलीको लागि जमघटको थलो बनाएको थिएँ । त्यहीँको जमघटबाट उत्पादन भएका हुन्, जसकुमार राई, डम्बरकृष्ण श्रेष्ठ, प्रदीप मेयाङ्बो र देवराज राईहरू । यी चार जनाको नाम लिनुपर्दा मात्र म आफूलाई ठूलो तृप्ती मिल्छ । यी चार भाई सिर्जनशील बनेर निस्के, बेइमान भएनन् । यिनीहरू पृथ्वीको विभिन्न गोलाद्र्धमा पुगे पनि मातृभूमीको ऋण तिर्न विर्सेका छैनन्, त्यसैले उनीहरूले आफ्नो प्रखर सिर्जना यात्रालाई भगिरथ रूपमा जारी राखेका छन् । कर्तब्यवोधले आँखा उघारेरै स्वप्नजिवी बनेका छन् ।

किसन सर, हाम्रो यो मित्रमण्डलीको साक्षात् साक्षी हुनुहुन्थ्यो, तपाईँ । तपाईँले हाम्रो यो मित्रमण्डलीलाई सद्भाव राखिरहनुभयो । पछिल्लो समय डम्बर र म त तपाईँको संस्थागत परिवारको सदस्य नै भएका थियौँ । यस अर्थमा तपाईँको असामयिक, अवाञ्छित र अकल्पनीय भौतिक देह विसर्जनबाट हामीले परिवारको एउटा भरपर्दो सदस्य गुमाएको वियोगमा हामी छटपटिइरहेका छौँ यतिखेर ।


ज्ञानोदय पुस्तक पसलको सन्दर्भ आउँदा ती हिउँदका चिसा साँझहरूको सम्झना यसरी आउँछ मलाई कि एउटा सङ्घर्षको क्षण थियो, त्यो मेरो लागि । मैले भर्खरै काठमाडौंमा प्रकाशन सुरु भएको एक राष्ट्रिय दैनिकको धरानको प्रतिनिधिको जिम्मेवारी पाएको थिएँ । धरानको यसको वितरणको जिम्मा चाहिँ ज्ञानोदयले पाएको थियो । काठमाडौंबाट विराटनगर हुँदै धरान आइपुग्ने उक्त दैनिक अखबार पर्खेर ती हिउँदका चिसा साँझहरूमा अबेरसम्म भानुचोकको बसपार्कमा तपाईँ र म गुज्रिरहेका हुन्थ्यौँ ।
आहा, कति चुनौतीपूर्ण तर रमाइला क्षणहरू थिए, ती ! तिनै क्षणले हामीहरूलाई संघर्षशीलतासँगै सिर्जनशीलता पनि सिकाइरहेको हुन्थ्यो । त्यहीँ सिकाइले हामी आज सत्मार्गमा हिड्ने भगिरथ प्रयास गरिरहेका छौँ ।


तपाईँको नाममा शब्दहरूसँग खेलिरहदा तपाईँका अधिकाँश शुभेच्छुकहरूले उल्लेख गरेको एउटा पक्ष हो, तपाईँ सकेसम्म स्वदेश छाडेर अन्यत्र जाने चाहना भएको मानिस हुँदै होइन । यसको साक्षी त म आफै पनि हुँ ।

जतिखेर हङकङ आईडी खुल्यो, त्यहीँ बेला लाहुरेको सहर धरानको सडकमा म एउटा सानो मनचिन्ते झोला बोकेर लखर लखर गरिरहेको थिएँ । हङकङ आईडीले धरानका “भान्जा भान्जी” खलकमा ठूलो आशाको सञ्चार गराएको थियो । देश पनि हेरिने मुख पनि फेरिने हुँदा हङकङ आईडीका कारण जीवनमा सकारात्मक परिवर्तनको फड्को मार्न सकिने आशाका किरणहरू जगाएको थियो । तर तपाईँ भने हङकङ आईडीप्रति उदाशिन हुनुहुन्थ्यो । हुन पनि युवा उमेरमै आफ्नो स्पेश आफै बनाएर धरानको माटोलाई उर्वर बनाइरहेको कर्मशील मानिसलाई प्रवासको त्यो झिलिमिलीले तान्नै पो के सक्थ्यो र ? त्यसैले हामीलाई पनि भन्नुहुन्थ्यो, “तपाईँहरूको भाउजुको आईडी त छ, तर म त हङकङ नजाने है !”

तर एक विहान म बाँझगराको एभरेष्टलाइनबाट देशिलाइन हुँदै भानुचोक तिर तेर्सिइरहेको थिएँ, तपाईँ अलि हस्याङफस्याङ मुडमा हुनुहुन्थ्यो । मेरै अगाडी घ्याच्च मोटरसाइकल रोक्नुभयो ।

“कता पुगेर आउनुभयो सर ?”

“म त झोला पो किनेर फकर्दैछु त ! हङकङ जाने भइयो नि । त्यसको लागि आजै पो काठमाडौं हिड्न लागियो ।”

“होइन हौ, तपाईँ पनि अब विदेशतिर ?” अचम्मले ट्वाँ पारेर मैले तपाईँ समक्ष प्रश्न सोधेको आजै जस्तो लाग्छ ।

तपाईँले हत्त न पत्त स्पष्टिकरण दिनुभयो, “होइन, होइन । म त केही समय बस्ने अनि नेपाल फर्कि पो हाल्ने हो ।”

तर मानिसले सोचेजस्तो पो कहाँ हुँदो रहेछ र ? तर पछिल्लो समय भने तपाईँ नेपाल बस्ने गरी फर्कने योजनाका खाकाहरू बुन्दै हुनुहुन्थ्यो, यद्यपी तपाईँको देह विसर्जन यहीँ नेपालको पाखा पहराको काखमा हुनुपर्ने रहेछ । किसन सर, तपाईँ त अब कहिल्यै नफर्कने बाटोमा लाग्नुभयो ।

मैले पनि त स्वदेशको माटो सुम्सुम्याउन छाडेर कहाँ विदेशको यात्रामा निस्कन्छु भन्ने सोचेको थिएँ र ? जीवनमा सोचेकोभन्दा नसोचेको, चाहेकोभन्दा नचाहेको क्षणहरू आइदिदा रहेछन् । जीवन एउटा सरल रेखाभन्दा बढि त बक्ररेखा रहेछ, त्यहीँ बक्ररेखाको नियतिमा म पनि आज युरोपको सबैभन्दा पश्चिम र दक्षिणको गोलाद्र्धमा आएर सङ्घर्षको नयाँ चरण सुरु गरेको छु । तपाईँ र ममा फरक यति हो, तपाईँ उमेर छँदै विदेशतिर लाग्नुभयो, म चाहिँ उमेर ढल्केपछि यतातिर आएँ ।


समयको गति अब पहिलेजस्तो रहेन । त्यहीँ गतिमा गतिमान भएर हिँड्दा तपाईँ हङकङमा र म पोर्तुगलमा भए पनि पहिलेभन्दा अझ समिपमा रहेर सहकार्य गरिरहेका थियौँ । दुःख सुख साँटिरहेका थियौँ । पहिलेभन्दा अझ काँधमा काँध मिलाइरहेका थियौँ । सिमान्तकृतहरूको पक्षमा उठाउनुपर्ने आवाजको कोरस तयार गर्दै थियौँ । एउटै परिवारको सदस्य भएर सञ्चारकर्मको बिडो थामिरहेका थियौँ । सल्लाहकार सम्पादकको रूपमा तपाईँको स्वामित्त्वमा रहेको सञ्चारगृह एभरेष्ट मिडियामा मैले आफूलाई आवद्ध गराएको थिएँ । मैले संस्थागत रूपमा पत्रिकारितालाई करीव करीव पूर्णविराम दिएर जिविकाको लागि ज्यालादारी जीवनमा उब्रिएको बेला अबको समय सिमान्तकृत समुदायको इतिहासको अध्ययन र लेखनमा समर्पित गर्ने सुरसार कसिसकेको बेला आफ्नो सञ्चारगृहका लागि तपाईँले राख्नुभएको सल्लाहकार सम्पादकको जिम्मेवारीलाई नाई नभनिकन स्वीकार गरेको थिएँ ।

तर कति नमिठो संयोग, तपाईँसँगको यस्तो सामिप्यता र सहकार्यको आयु लामो हुन सकेन । तपाईँको अनुपस्थिति खट्किरहने छ, समय चुकचुकाइरहने छ । सम्झनाका छालहरू मनभरि उर्लिरहनेछ ।


पहिले धनकुटा, त्यसपछि धरान अनि फेरि धनकुटामा रहेर सञ्चारकर्मलाई पेशा बनाएर जिविका चलाइरहेको मैले अब काठमाडौं गएर पत्रकारिता गर्नुपर्छ भन्ने सोच बनाएको थिएँ । मैले बीए पास गरेपछि अगाडी बढाउनुपर्ने विश्वविद्यालयको औपचारिक अध्ययनको लागि पनि काठमाडौंतर्फ जानुपर्ने अर्को मूल उद्देश्य रहेको थियो मेरो ।

काठमाडौंमा पुग्नासाथ सुरु गर्नुपर्ने रोजगारीको मुख्य सवाल पनि छँदै थियो । जतिखेर मलाई आफ्नो सपनाले हु¥र्याएर काठमाडौं पु¥यायो, त्यतिबेला काठमाडौंमा मेरो लागि प्रथम सवाल बनेको थियो, रोजगारी । तर हिजोदेखिको तपाईँसँगको सामिप्य र आत्मियताका कारण त्यो सवाल पनि समाधान बनेर गयो । तपाईँहरूले हङकङमा सुरु गर्नुभएको “एभरेष्ट” दैनिकमा मैले सहसम्पादकको भूमिका पनि पाइहालेँ ।

तर एभरेष्टको त्यो समयको प्रकाशन यात्रा सहज भने थिएन मेरो बुझाईमा । साझेदारहरूमा आएको असमझदारी र किचलो, ब्यवसायिक समस्या र आर्थिक सङ्कट आदि तपाईहरूको प्रकाशन यात्राको लागि ठूलै चुनौति बनेर खडा हुन पुगेको थियो । हो, त्यसपछि तपाईँले एभरेष्टलाई साप्ताहिक रूपमा प्रकाशन गर्ने गरी त्यसको स्वामित्त्वको बागडोर आफ्नै काँधमा लिनुभएको थियो । एकातिर सानो जनशक्तिको भरमै कार्य सम्पन्न गर्न सकिने गरी एभरेष्टको प्रकाशन साप्ताहिक हुनु र म आफूले चाहिँ एक राष्ट्रिय दैनिकमा त्यतिखेर राम्रैसँगले काठमाडौंमा जिविका चल्ने गरी काम पाउनुले तपाईँसँगको सहकार्यमा अर्धविराम लागेको थियो ।

लामो समयको अन्तरालपछि त्यो अर्धविराम फुकावा भयो र फेरि म केही समय एभरेष्ट साप्ताहिकको स्तम्भकार र पछि एभरेष्ट मासिकमा सल्लाहकार सम्पादकका रूपमा आवद्ध भएँ । हाम्रो पेशागत पारिवारिक साइनो सम्बन्ध यसप्रकारले रह्यो, दुई दशकसम्म निरन्तर ।

एक साँझको सम्झना अझै ताजा छ । त्यतिखेरको एभरेष्ट दैनिक लथालिङ्ग हुनै लाग्दा आर्थिक रुग्णताबाट त्यसलाई जोगाउन तपाईँले हरसम्भव कोशिश गरिरहनुभएको थियो । एभरेष्ट दैनिकको नयाँ ब्यवस्थापनका लागि एक जना हङकङकै नेपाली ब्यवसायीलाई तपाईँले हामी माझ उभ्याएर उत्साहका साथ काठमाडौंमा हामी एभरेष्टकर्मीहरूको परिचय गराउनुभएको थियो । तर ती ब्यवसायीले सायद सञ्चारमाध्यममा लगानी गर्दा उति साह«ो फाइदा देखेनन् वा सञ्चारमाध्यमको महत्त्व बुझेनन् । त्यसैले पहिले लगानी गर्न तयार उनी के कारणले हो पछि हच्किए । मैले यसको कारण भने कहिल्यै पनि तपाईँसँग सोधिनँ । तर त्यो साँझ रात्रीभोजसहित आयोजित परिचयात्मक कार्यक्रममा मलाई देखाउँदै तपाईले भन्नुभएको थियो, “बास्तवमा म पत्रकारितामा आकर्षित हुनुको कारण नै दिक्पालजीहरूको सक्रियता देखेर हो । उहाँहरूले नै मलाई यस क्षेत्रमा लाग्न प्रेरणा प्रदान गर्नुभयो ।”

तपाईँको यस प्रकारको सम्वोधनले म असामान्य रूपमा गौरवान्वित भएको थिएँ । यस्तो गौरव गर्ने अवसरका लागि तपाईँप्रति तपाईँको यो खट्किरहने अनुपस्थितिमा अवस्थामा पनि आभार ब्यक्त गर्न चाहन्छु किसन सर !


म आदिवासी जनजातिका लागि छुट्याइएको नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा विजयी भएको थिएँ, २०६५ सालमा । त्यहीँ साल तपाईँले एभरेष्टको दशौँ वार्षिकोत्सवलाई भब्यता दिन नेपाली सिर्जनाका उच्च शिखर वैरागी काइँलालाई हङकङ भ्रमणको निम्तो पठाउनुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपतिसमक्ष तपाईँको निम्तो बोकेर म काइँलासमक्ष पुगेको थिएँ । काइँलाका साथ मलाई पनि हङकङमा बोलाएर ऋणी बनाउनुभएको थियो । त्यो ऋण तिर्न भ्याएकै थिइनँ, तपाईँ त हामीमाझबाट खोसिएर जानुभयो । तर एउटा प्रण चाहिँ म के गर्छु भने तपाईँले जीवनका पछिल्लो समयको सम्पूर्ण ऊर्जा नेपाली आदिवासी जनजातिहरूको पहिचान र अधिकार प्राप्तीको आन्दोलनका लागि लगाउनुभएको थियो, तपाईँले बाल्नुभएको त्यो उज्यालो दीयोमा आफूले सकेसम्म तेल थप्दै जानेछु । सकेसम्म तपाईँको सपनालाई विचलित बनाउन दिने छैन म ।

तपाईँको सपनालाई साक्षी राखेर पनि म अझै नेपाली आदिवासी जनजातिहरूको इतिहासको खोजीमा निस्कनेछु । इतिहासको अध्ययन र लेखनमार्फत लड्नुपर्ने ठाउँमा प्राज्ञिक युद्ध लड्ने छु । तपाईँको सपनाको साक्षी, म दृढतापूर्वक यो प्रतिज्ञा जाहेर गर्न चाहन्छु ।


जीवनमा भिसा लगाएर पहिलोपटक म तपाईँको निम्तो मान्न हङकङ पुगेको थिएँ । त्यहाँ नेपालीहरूबाट पाएको न्यानो काखको तातो माया बिर्सिनसक्नुको छ । त्यसमा पनि वैरागी काइँलाजस्ता शिखर ब्यक्तित्त्वको छत्रछायाँमा । एउटा रानो मौरीका साथ म हङकङ भ्रमणमा आएको थिएँ । स्पष्ट छ, मौरीको सङ्गत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ, झिँगाको सङ्गत गरे फोहरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ । उनै बैरागी काइँलाको छत्रछायाँले मलाई आज सिर्जनशील यात्रामा हिड्न थप प्रेरणा प्राप्त भएको छ । सायद तपाईँको त्यो निम्तो नहुँदो हो त, वैरागी काइँलाजस्ता मुर्धन्य मनिषीसँग आत्मिय सङ्गतको सुवर्ण अवसरबाट म छुट्ने थिएँ हुँला । मेरो प्राज्ञिक यात्रा दिशाहीन हुने थियो होला । त्यो अवसरका लागि तपाईँलाई कुन शब्दले धन्यवाद दिऊँ किसन सर ?


हङकङ भ्रमणकै क्रममा तपाईँले विग बुद्धमा लैजानुभएको थियो, सरर केवल कार चढाएर । तर नेपालमा बुद्धदर्शनका बारेमा अनभिज्ञहरू विग बुद्ध बनाउने कुरा गर्छन् । बुद्धले लोभ मोह त्यागे दुःखबाट मुक्त भइन्छ भन्ने सन्देश दिएका छन् । तर बुद्धको नाममा जग्गा दलालीजस्तो तुच्छ कर्म गर्नेहरू देखिए । तिनीहरूविरुद्ध तपाईँले गरिरहनुभएको खबरदारी पनि निक्कै मननयोग्य रहेको थियो । आज उनै बुद्धको नाममा जग्गा दलाली गर्नेहरू दुःख र सङ्कटबाट घेरिनुपरेको छ । उनीहरूलाई नै अख्तियार लागेको छ । यस्ता आत्माहरू दुःखबाट कहिल्यै मुक्त हुने छैनन् ।

बुद्धको चार आर्य सत्यलाई नबुझ्नेहरूले गर्ने हो, बुद्धको ब्यापार । ब्यवहारले त तपाईँमै मैले बुद्धको अनुयायीमा हुनुपर्ने अधिकाँश गुणहरू देखेको थिएँ । बुद्धको चार आर्यसत्यले भन्छ, यहाँ दुःख छ, दुःखको कारण छ, कारण भएकोले दुःखको निवारण पनि छ ।

दुःखको कारण खोज्न चार आर्यसत्यलाई बुझेर आठ वटा मार्ग अपनाए दुःखबाट मुक्ति पाइन्छ भन्ने सन्देश छ बुद्धको । ती आठ वटा मार्ग हुन्, सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजिविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि । सम्यक भनेको धेरै पनि होइन, थोरै पनि होइन । हरेक कुरा ठिक्कले गर ।

यस्तै बुद्धले पाँच वटा शीलमा रहनु भन्ने उपदेश पनि दिएका थिए । हिंशा, चोरी, ब्यभिचार, झुट र नशा सेवनबाट मुक्त रहनु नै पञ्चशीलको सिद्धान्त हो । तर बुद्धका चार आर्यसत्य, अष्टाङ्गिक मार्ग र पञ्चशीलको सिद्धान्तलाई धोती लगाएर तपाईँकै गृहनगरमा खानेपानीको मुहान सुकाउने, जग्गा दलाली गराउने गरी हङकङबाट जुन अभियान चलाउन खोजिएको थियो, त्यसको खिलापमा हुनुहुन्थ्यो तपाईँ किसन सर ।

बुद्ध आफै पनि मूर्तिपूजालाई अनावश्यक ठान्थे । बुद्धका एक जना कट्टर अनुयायी अवलोकितेश्वरले बुद्धकै नाममा एउटा मन्त्रको रचना गरे, “ओम मणि पद्मे हुँ ।” तिब्बतीहरू यस मन्त्रलाई आफ्नै जिब्रोको लवजले उच्चारण गर्दै भन्छन्, “ओम माने पेमे हुँ ।”

पद्म भनेको कमलको फूल को र मणि भनेको पवित्र चम्कने वस्तु हो । “ओम मणि पद्मे हुँ ” को अर्थ हो म हिलो र मैलोमै भएर पनि कमलको फूलजस्तै पवित्र र चोखो फुल्छु ।

बास्तवमा तपाई बुद्धको नाममा ब्यापार गर्नेजस्तो हिलो मैलोका बीचमा कमलको फूलजस्तै चोखो र पवित्र फुलिरहनुभएको थियो । तर यस्तो फूल भौतिक रूपमा हामीमाझबाट असमयमै चुडिएर गयो । तैपनि हामी धैर्यतापूर्वक त्यो पवित्र फूलको सम्झना गरिरहने छौँ । त्यो फूललाई हामी आफ्नो मनमष्तिष्कमा राखेर अरु कमलका फूलहरू फुलाउने कर्ममा जुटिरहने छौँ । र दिलैदेखि तपाईँको स्मृतिमा बुद्धप्रति समर्पित यहीँ मन्त्रोचरण गर्नेछौँ, ओम मणि पद्मे हुँ !


बुद्धले भनेको अर्को एउटा महत्तवपूर्ण वाक्य पनि यहाँ उल्लेख गर्न जरुरी भएको छ । बुद्धले भनेका छन्, “आँखा झिमिक्क गर्दा पनि तिम्रो आयु घटिरहेको हुनेछ, त्यसैले प्रत्येक क्षण तिमी प्राणी जगतको उपकारमा लाग ।”

पछिल्लो समय तपाईँ सबै प्राणीजगतको उपकारमा लाग्नुभएकै थियो । त्यसमा पनि युगौँदेखि पाखा पारिएका नेपाली आदिवासी जनजातिहरूलाई संसारको जुनसुकै गोलाद्र्धमा छरिएर रहेको भए पनि उनीहरूलाई सङ्गठीत गरेर उनीहरूको पहिचान र अधिकारको मुद्दालाई समवेत स्वरमा घन्काउने तपाईँको विराट उद्देश्य थियो । यसैका लागि रातोदिन बुद्धि घोट्दै छलफल चलाउँदै पसिनाको खोलो बगाइरहनुभएको थियो । यसको एक एक सूचना मलाई पनि दिइरहनु भएकै थियो ।

जब तपाईँले यो अभियानको गतिलाई वेगले अगाडी बढाउन खोज्नुभयो, त्यसैबेला यसलाई अवरुद्ध गराउन आइपुगे आफ्नै ठानिएकाहरू सिखण्डी बनेर । संसारमा छरिएर रहेका नेपाली आदिवासी जनजातिहरूलाई एउटै छातामुनि गोलबद्ध गराउनु खोज्दै हुनुहुन्थ्यो तपाई, तर नेपालमा रहेका “आफ्नैहरू” त्यो छातामा दुलो पार्ने अभियानमा लागेको देखिए । कस्तो अचम्म लाग्दो छ, नेपाली आदिवासी जनजाति आन्दोलनको अनुहार कठै !

सुरुमा मलाई दिनुभएको सूचनाअनुसार तपाईँहरूले अग्निपीडित चेपाङहरूका लागि उठाइएको सहयोग रकम वितरणको नेतृत्व गर्न पनि मानिदिएनन् होइन त, नेपालका आदिवासी जनजाति नेताहरू ? त्यसैले आदिवासी जनजाति पत्रकारहरूको सहयोग लिनुभयो तपाईँले । विश्वका नेपाली आदिवासी जनजातिहरूको एउटा साझा सङ्गठन बन्नै नदिने खेलमा लागे उनीहरू ।

नेपालमा मेरी आमा विरामी भएकोले आमालाई भेट्न त्यतातिर आउँदै गरेको बेला हाम्रो भेट्ने योजना थियो । तपाईँले बडो उत्साहका साथ मलाई सुनाउनुभयो, “हामीले आदिवासी जनजातिहरूको सम्मेलन हिमालय होटलमा राखेका छौँ, मन्त्री राजेन्द्र श्रेष्ठ उद्घाटन गर्न आउने भएका छन् । सम्मेलन रोक्ने अनेकौँ प्रयास भए । तर त्यसलाई हामीले असफल बनायौँ ।”

तर सम्मेलन उद्घाटन गर्न मन्त्री राजेन्द्र श्रेष्ठले सम्मेलन स्थलमा पाउकष्ट गरेनन् । तर तपाईँले त्यसका बावजुद पनि सम्मेलन सफल बनाएरै छाड्नुभयो ।

तपाईँले मलाई एक जना भाइरल आदिवासी जनजाति नेताको नाम लिएर भन्नुभएको थियो, “फलानोसँग पनि कुरा गरियो । तिनले भनेका थिए, आदिवासी जनजातिको अन्तराष्ट्रिय संस्था बन्ने हो भने हाम्रो पार्टीको प्रभुङ्खव त्यहाँ हुनुपर्छ ।” तपाईँले भन्नुभएछ, “सामाजिक काममा म त्यो पार्टी र यो पार्टी हेर्दिनँ ।”

तपाईँको यस्तै चट्टानी प्रतिवद्धताले सम्मेलन पनि सफल भई नयाँ कमिटी पनि गठन हुन पुग्यो । आफ्नो एउटा सपना पुरा गरेर तपाईँ रिफ्रेस हुन काठमाडौँ खाल्डोबाट उम्केर मुन्धुम मार्गको फन्को लगाउन निस्कनुभयो ।

हामीबीच कैयौँ वर्ष भएको थियो, भौतिक रूपमा भेट नभएको । यसपाली त जसरी पनि भेट्ने वाचा थियो । तर तपाईँ त आदिवासी जनजातिहरूको विराट अभियानमा लाग्दालाग्दै आफ्नै ठानिएकाहरूबाट धोका खाइरहनुभएको थियो । धोका खाए पनि हरेश नखाने तपाईँको स्वभाव । हो, जीवनमा कहिले काहिँ धोका खाए पनि चरेश र हरेश चाहिँ कहिल्यै नखानु । आफ्नै भनिएका वा ठानिएकाहरूबाट धोका खादै, अवरोध छल्दै भए पनि तपाईँले आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गराएरै छाड्नुभयो ।

आफूमाथि आइपरेको ऐतिहासिक कार्यभारलाई सम्पन्न गरेर तपाईँ रिफ्रेसमेन्टको लागि मुन्धुम मार्गको फन्को लगाउन आफ्ना हितले खाएका साथीहरूका साथ काठमाडौं खाल्डोबाट पूर्वतिर हानिनु भयो । तपाईँ हिँडिरहेकै बेला म टुप्लुक्क नेपाल आइपुगेको थिएँ । तपाईँ बाटैमा हुँदा अलिकति कुराकानी गर्ने अवसर पनि पाएँ । हामीबीच अत्यन्तै छोटो त्यो कुराकानीमा यति मात्रै बोलेका थियौँ, “लु ठीक छ, धरानमा भए पनि काठमाडौंमा भए पनि पक्कै भेट्नेछौँ है !”

तर हामीले बाँधेको वाचाअनुसार भौतिक रूपमा हाम्रो भेट हुन सकेन । अब भौतिक रूपमा हाम्रो भेट असम्भव बन्न पुगेको छ ।


तपाईँले बेहोर्नुपरेको अकल्पनीय घटनामा दोषी को हो, यो त प्रहरीले अनुसन्धान गरेकै थियो । तर अनुसन्धानमाथि चित्त नबुझेर फेरि परिवारका सदस्यहरूले पुनः अनुसन्धान हुनुपर्ने माग गरेकै थिए । म भन्न सक्दिनँ, तपाईँ भवितब्यमा पर्नुभयो कि योजनाबद्ध रूपमा तपाईँमाथि कसैले षडयन्त्र ग¥यो ? खराब कामविरुद्धको मोर्चामा जहिल्यै पनि खडा हुने तपाईँका शत्रुहरू पनि प्रशस्तै थिए ।

तर एउटा कुरा चाहिँ म स्पष्टसँग भन्न सक्छु, त्यो के भने तपाईँले विश्वका नेपाली आदिवासीहरूलाई जुन ढङ्गले एउटै छातामुनि गोलबद्ध गर्ने काम गर्नुभएको थियो । तर तपाईँको अभियानलाई असफल बनाउन जजसले छिर्के हान्न खोजे, अवरोध गर्न खोजे उनीहरू नैतिकताका कठघरामा उभिन पर्छ कि पर्दैन ?

यहीँ नैतिकताको प्रश्न उठाएर तपाईँ स्वयम्सँग जिज्ञासा राख्दै म सोध्छु, “तपाईँलाई त्यो भीरमा कसले ठेल्यो किसन सर ?”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...