काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताएकी छिन् । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले आज नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् ।
कोही नभएकाहरूको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको भन्दै उनले भनिन् ‘मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु । आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ ।’
एक जनाको संकल्पले कति धेरै बेसहारा, पीडित व्यक्तिहरूले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गरेकी थिइन् । ‘आज नेपाल निजामती कर्मचारी संगठनका साथीहरू मिलेर यहाँहरूलाई एक दिनको भए पनि केही खाना जुटाइदिऊँ भन्ने धारणाले व्यवस्थापन गर्नुभएको छ । त्यसका लागि निजामती कर्मचारी संगठनको अर्थ विभागका साथीहरूलाई धन्यवाद दिन चाहन्छु’ ।
मन्त्री चौधरीका अनुसार मानव सेवा आश्रमका देशभर गरी २३ वटा शाखामा १ हजार ६ सय ६७ जनालाई सेवा प्रदान गरिएको छ ।
कार्यक्रमको अवसरमा मन्त्री चौधरीले नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पल, डाइपर लगायतका सामग्री मन्त्री चौधरीले हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताए ।
त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, अर्थ विभागीय कार्यसमितिका अध्यक्ष मधुसूदन पौडेलले संगठनका तर्फबाट सकेको सहयोग हस्तान्तरण गरिएको बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।