देवेन्द्र सुर्केली
भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५ मिटर पूर्वमा छ एउटा घर । जुन घर शहरमा परिणत हुँदैगर्दा आधुनिक थियो भने अहिले पुरानो डिजाइनमा परिणत भइसकेको छ ।
उक्त घरमा ९० वर्ष पुग्न लागेका पाका एकजोडी बस्छन् । अक्सर घरबाहिरको सिकुवामा रहेको घाम ताप्ने ठाउँमा बसिरहेका देखिन्छन् । ८० वर्ष नाघिसके पनि हिडडुल गर्न, घरको तलामाथि गरिरहन सक्छन् । आगन्तुक पाहुनाहरूसँग मज्जाले भलाकुसरी गर्न सक्छन् ।
छत्रबहादुर खापुङ र लक्षीमाया याक्खा खापुङको जोडी हो यो । छत्रबहादुर वि.सं. १९९३ वैशाख ९ गते जन्मिएका हुन् भने लक्षीमाया १९९९ असारमा । उहाँहरूलाई सहयोग गर्ने एक आफन्त छन् । त्यसैगरी आगन्तुक पाहुना आउनसाथ लुटपुटिहाल्न मन पराउने दुई कुकुर छन् ।
उहाँहरूको पुरै एक्लो भने होइनन्, छोराबुहारी, नातिबुहारी, नातिनीज्वाइँहरू सबै युकेमा छन् । हरेक दिन बिहानबेलुकी फेसबुक म्यासेन्जरमा भिडियो कुराकानी हुन्छ परिवारको । तसर्थ कुनै पनि हालतमा परिवारबाट टाढा रहेको भान नभएको बताउँछन् ।
“तपाइँहरू युके जानु भएन ?” पंक्तिकारको प्रश्नमा छत्रबहादुर खापुङ भन्छन् –“मन नमान्दा नमान्दै छोराले मधेश झार्यो । मधेशमा भिजिसकेको मान्छेलाई फेरि भक्तपुर ल्याएर राख्यो । जहाँ जहाँ भन्यो त्यही जाने हो ? भनेर छोरालाई झपारेँ । अनि यहि बसिरहेका छौं ।”
साँची ! एउटा परिवारको जीवनको दौडाई, बसाइँ सराइँ निरन्तर हुन्छन्, धेरैपटकको सराइँबाट त दिक्क पनि होइन्छ है ! छत्रबहादुर खापुङको कुरा सुन्दैगर्दा पंक्तिकारलाई लागेको जिज्ञासा । अनि बिस्तारै अहिलेसम्म बाँचेको जीवन र भोगेको भोगाइबारे कोट्याउन शुरु गर्यो । छत्रबहादुरलाई जीवनका दुःखकष्टहरू पोख्न खासै रुचि नराख्दा नराख्दै पनि कुरैकुरामा धेरै कुरा उक्किहालेछन् ।
एकधारे परिवार
तेह्रथुम जिल्लाको जलजले गाउँ । जहाँ एक धारा थियो, उक्त धाराको पानी पिउथेँ खापुङ परिवार । त्यसैले एकधारे परिवार भनेर चिनिने पनि गर्थे । त्यहाँ रंगलाल खापुङ र हाङ्रोती सेरेङ चोङबाङबाट माइला छोराको रूपमा छत्रबहादुर खापुङ जन्मिएका हुन् ।
उतिबेलाको सामाजिक परिवेश अहिलेको भन्दा धेरै फरक थियो । धरानदेखि नुन, मट्टितेल बोकेर लानुपथ्र्यो । बारीको ससाना फोक्टा पनि बाँझिदैन थिए, सबैमा खेती लगाइन्थ्यो । वर्षभरी काममै व्यस्त रहनुपथ्र्यो, चाडबाडमा रमाउनबाहेक । त्यो व्यस्तता सिर्फ दुईछाक खानकै लागि हुन्थ्यो । जग्गाजमिन धेरै हुनेले धेरै अन्नपात बटुल्थे । थोरै हुनेको वर्ष समस्यामा नै बित्थ्यो । पैसा त देख्न मुस्किल हुन्थ्यो, हाटबजारमा अन्नपातकै विनिमय बढि चल्थ्यो । लेकमा हुनेले सीमसाग, निगुरो वेशीँमा हुनेले हरियो मकै, सिमी, आँप दिएर साटासाट गर्ने गर्दथे । अन्न दिएर मासु किन्ने, दालसँग कुनै अन्न साट्ने इत्यादि हुन्थ्यो । गाउँघरमा हुने मरौपरौमा परस्पर सहयोग हुन्थ्यो ।
छत्रबहादुर काममा खट्न सक्ने भएपछि चारआनामा खेताला गएका रहेछन् । त्यसपछि बिस्तारै छ आना, आठआना पाउदै गरेको पनि स्मरण गरे । चारआना पाउने समयमा एक रूपैयाको ढ्याक पैसा पाएको तर बाह्रआना फिर्ता दिने पैसा नहुँदा जसले दियो उसैलाई फिर्ता दिएर अर्को तीनपटक खेताला गएर पूरा पैसा लिनुपरेको यथार्थता पनि सम्झिए ।
पैसा जोगाउनु त्यसबेलाको लागि महत्वपूर्ण कुरा थियो । किनभने वर्षदिनमा सुभा तिरो उठाउन आउथेँ । कुनै एकघरमा अड्डा जमाएर बस्थे । मासु, दही, दुध माग गथ्र्यो । पैसा थिएन भने जिन्सी कुरा तिर्नुपर्ने रकमभन्दा बढि जान्थ्यो । जलजलेतिरका खापुङहरूको सुभा जिम्मा म्याङ्लुङका रंगिते भन्ने रामलाल खापुङ उठाउन आउँथे ।
छत्रबहादुरका बुबा रंगलाल खापुङ लेखपढ गर्न सक्ने व्यक्ति थिए । लेखापढी गर्नुका साथै फेदाङ्मासमेत थिए । बुबा केही समय परदेश लाग्दा आमाले उनका सरसामान छुन नदिएको पनि छत्रबहादुर सुनाए । समान छुँदा फेदाङ्मा जहाँ रहे पनि दुःख पाउने, समस्या हुने विश्वास गरिन्थ्यो । उनै रंगलालले छोराहरूलाई धुलोमा लेख्न सिकाएका रहेछन् । लेख्न जानेको कुरा बाँसको पट्याँसमा उतारेर सुरक्षित गर्ने गरेको स्मरण पनि गरे ।
वि.सं. २००२ सालमा जलजलेको सन्यासी छापमा हालको शंकर माविको स्थापना भयो । त्यहाँ रहेका केही बुज्रुक नेवारहरूले मन्दिर बनाए, स्कुल बनाए । पढालेखा नै भए पनि रंगलालले स्कुल निर्माण अध्ययन अध्यापन सहभागी हुन पाएनन् । त्यसबेला आसाम आरा काट्न जाने प्रचलनले रंगलाललाई पनि छोयो र परदेश लागे । २००९ सालमा त बितेको खबर आयो । त्यसपछि माइला काका वक्तुवारले दाईको सिको गरेर फेदाङ्माको काम गर्न लागेका पनि थिए । उनले एकधारे मास्तिर देविथान पनि स्थापना गरेका छन् ।
चैते दशैंँमा टिकाबाहेक दर्शैंकै रूप
शिवालय मन्दिरको मुनी रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ । उक्त रामनवमी मेला कहिलेदेखि लाग्यो भन्ने कुरा छत्रबहादुर खापुङलाई थाहा भएन । जान्दाखेरी मेला लागिरहेको र वर्षेनी लाग्ने मेलामा अनिवार्य पुग्ने गरेको बताए ।
पहिले रामनवमी मेला खोरङ्वा खोला र तमोरको दोभानमा लाग्ने गथ्र्यो । चैतवैशाख तिथिमा पर्ने मेलामा सुँगुर काटी खाँदा पेटको विरामी र हैजाले समस्या पारेपछि वीरबहादुर मास्केले केही वर्ष शिवालय मन्दिर (हालको शंकर मावि रहेको ठाउँ)माथि सारेका रहेछन् । पछि याङसिलामा सारियो । त्यहाँ सार्न तत्कालिन प्रधानपञ्च कुमार मास्केको हात रहेछ । वीरबहादुर र कुमार बाबुछोरा हुन् । मकै उम्रने बेलामा लाग्ने भएकोले गाउँलेको गुनासो भएपछि सार्ने काम भइरहेको पाइन्छ । पछिल्ला दिन मा शिक्षाप्रेमी तथा व्यावसायी विजय सम्बाहाम्फे तोक्मास्थीत तीनधारेमा लगाउँदै आएका छन् ।
चैते दशैं समेत भनिने उक्त तिथिमा फूलपाती, भेजो, मार, टिकाकै नाम दिएर मनाइने गरिन्थ्यो । र, फूलपातीकै दिन भव्य मेला लाग्ने गरेको र टिका लगाउनेबाहेक चैते दशैले दशैंकै रूप लिने गरेको छत्रबहादुरले सम्झिए ।
त्यसबेला रामनवमी मेलाको मुख्य पूजा अमृत पयाङ्गोले गर्ने गर्दथे । उनले नौ दिन धुपवात्ती नै गर्ने गर्दथे । उनी बाँचुञ्जेल धुपवाती गरिरहेको नै थाहा पाएको छत्रबहादुरले सुनाए ।
भर्तिको लहरोमा लहरिँदा
झण्डै २२ पुग्दामात्रै छत्रबहादुरको विवाह भयो । त्यस समयमा छिटै विवाह गर्ने चलन भएपनि छत्रबहादुरले विवाहप्रति त्यतिधेरै चासो देखाएनछन् । आमाबुबाले कि रोजेको छस् भने ले होइन भने हामीले भनेको ठाउँमा माग्न जाउँ भनेर ढिपी गरेछन् ।
छत्रबहादुरलाई विवाहपश्चातको जीवनबारे डर लागेरै नहतारिएको बताए । अहिले विवाह गर्दिनँ भन्दा पनि धर नपाएपछि बुबाआमाको रोजाइमै संखुवासभाको तेल्लु पुगेर मगनी गरे । एकधारे र तेल्लुमा कुटुम्बेरी बेस्सरी चलेको रहेछ । त्यसैको फेरोबाट छत्रबहादुर खापुङले लक्षीमाया याक्खासँग विवाह गरेका हुन् ।
लिम्बूको छोरा अनिवार्य लाहुरे भर्तिमा लहरोमा उनिने प्रचलन नै छ । ‘लाहुर भिड्न जानुभयो कि भएन’ भन्ने प्रश्न गर्दा ‘लाइनमा उभिएँ, तर दार्जिलिङमा जाडोले झन्नै मरे नि !’ भनेर अट्टाहस हाँसो हाँसे ।
दार्जिलिङ भर्ति खुलेको छ भन्ने सुनेपछि वि.सं. २०१८ सालतिर विविरेँ भनिने भक्तिप्रसाद खापुङ, जेमिरे माइलालगायत ९,१० जनाजति दार्जिलिङ पुगेछन् । जाडोले रोगी मान्छे त उभिनै नसकिने, लुगा फुकाएर लाइन लगाउँदा तुसारोले जिउ सेतै बनाएकोले फेल नै होस् भन्ने कामना गरेछन् । काठको फलेकमा बस्दा छत्रबहादुर खुट्टा सिधा नभएकोले फेल भएछन् ।
फर्कदा खर्च सकिएर काँचो स्कुस खाएको ज्यादै मिठो भएको प्रसँग पनि सुनाए । सिम्सारा उकालोमा बाटो ढाकेर स्कुस झाँगिएको रहेछ । त्यहिबेला काँचो स्कुस टिपेर खाएका रहेछन् । “ज्यामिरे माइँला केही बाठो भएकोले एक तामाङको घरमा गई खानेकुरा उधारो मागेर खायौं र घर आउन सकियो, धेरै कुरा बिर्सिए पनि त्यो क्षण त बिर्सन नसकिने रहेछ ।” विस्मृतमा पुगेर छत्रबहादुरले भने
यात्रा आसामको, गन्तव्य उदयपुरमा
उसबेला गाउँका मान्छेहरू आसाम आरा काट्न जान्थे । छत्रबहादुरले जोडी बाँधेपछि लाहुरको प्रयास गरे । नभएपछि आसाम जाने निधो गरे । भर्खरै विवाह गरेको लक्षीमायाले पनि बाँचे सँगै, मरे सँगै भन्दै पछि लागिन् ।
आरा धारानमा दुईजना चाहिन्छ । त्यसैले १५ जोडी जति बनेर आरा काट्ने टोली बनाए । हिड्नेबेलामा लक्षीमाया मान्दै मानिनन् रे । “माइती पुर्याउँदा पनि आसाम नै जान्छु भनेर बुढासँगै फर्किएँ । लाठेहरू आरा काट्छन्, म भात पकाइदिन्छु, जाँड पकाइदिन्छु भनेर पछि लागेँ नि ।” लक्षीमाया त्यसबेलाको क्षण सम्झिन्छिन् ।
मोरङको जोगबनी पुगेपछि आसाममा आरा काट्न बन्द भएको खबर सुनेपछि टोली विलखबन्दमा पर्यो । त्यसबेला झापा मोरङ सुनसरीको धेरै जङ्गल मासिएका थिएनन् । टोलीमध्यका केही जोडी इटहरीतिर काम खोज्दै गए । छत्रबहादुरको टोली उदयपुरतिर लागे । धरानदेखि चतरासम्म गाडीमा, त्यसपछि कोशी नदि पार गरेर कमला नदिको छेउमा रहेको डिपोमा पुर्याएछन् ।
डिपो पुगेपछि त्यहाँ पुर्याउन गएका व्यक्तिले अर्को ठेकेदारको जिम्मा लगाएछन् । त्यहाँको सरदारले आरा दिएर जंगल छिराएछन् । सखुवाको रुखहरू दुईजना अंगालोले नभ्याउने थिए । कति राम्रो रुख भनेर ढाल्यो, भित्र त पोचा पसेर ठूलठूला भ्वाङ परेर काठ काट्नै नमिल्ने हुन्थे । टुप्पामा राम्रो छ कि भन्दै गिड्दै गयो, माथिसम्मै पोचा हुन्थ्यो । ति सखुवाहरू रेलका लिग बनाउन काटिएका हुन् । तर पुरानो रुखमा पोचा पस्ने भएकोले ठेकेदारलाई पनि ठूलो घाँटा भएको सुनाए । पुसदेखि चैतसम्म बस्दा रुख काट्नेहरूलाई पनि बाटो खर्चमात्रै हुन सकेको थियो ।
उदयपुरदेखि सिधै जलजले, तेह्रथुम नै फर्केका छत्रबहादुरले श्रीमतीलाई गाउँमा छोडी फेरि झापाको जलथलमा झरेर दुई वर्ष आरा काटेका रहेछन् ।
चार दाजुभाईमध्य जेठा पदमबहादुर र उनी छत्रबहादुर भने ज्यादै मिलेर काम गर्ने गर्दथे । आरा काट्नमा जोडी बन्नदेखि हरेक काममा सँगै हुन्थे । साइँला भक्तबहादुर कक्षा १० सम्म अध्ययन गरेकाले धेरै स्कुलमा शिक्षक पेशामा आवद्ध थिए । कान्छा गणेशबहादुर भने भारतीय सेनामा भर्ति भएका थिए ।
ढाकरले निहुरिन नमिलेको ढाँड
छत्रबहादुर दम्पतीको एक सन्तान सुर्य खापुङको जन्म भइसकेको थियो । नजिकै स्कुल भएकोले सुर्यले अध्ययनमा राम्रो समय दिन सके । छत्रबहादुर दम्पती भने घर, खेत, बारी, खेताला र पैकारमै समय व्यतित गरिरहे । पेशामा परिवर्तन गर्नुपर्छ कि भनेर सोच्दै थिए ।
यतिकैमा छत्रबहादुरले स्थानीय एक सम्बाहाम्फेको किराना पसलको लागि धरानदेखि ढाकरमा सामान ल्याइदिने कार्यण् गरे । करिब १ वर्ष ढाकर बोक्दा ढाँड कुप्रो पार्न भएनछ । जसले गर्दा खन्ने काम आइपर्दा गर्नै मिलेनछ । अनि कसैले खेताला भन्न आएमा ‘लु ! हलो भने जोतिदिन्छु । खन्न चाही सक्दिनँ है ।’ भनेर टार्नुपरेको समस्या पनि सुनाए ।
धरानदेखि ढाकर बोक्दा सामान्य नुन र मट्टितेलबाहेक केही जोरजाम गर्न नसकेको पीडा एकातिर थियो । अर्कोतर्फ बाटोमा भेट हुने ताप्लेजुङका ढाकरेले पनि उल्टो ऋण परेको कुरा सुनाएपछि यस पेशामा मन मरी सकेको थियो । उता ससुरालीबाट पनि खबर आएछ –“ज्वाइँले धरान खेप्न थालेको खबर पायौं, त्यसरी धरान खेप्दा केही फाइदा हुन्न । हामील बुझिसकेका छौं ।”
त्यसपछि छत्रबहादुरले ढाकर बिसाए ।
समय बितेको पत्तै भएन । वि.सं. २०३६ सालमा त सुर्यबहादुर ‘मलायाको लाहुरे’ भए । व्रिटिसले मलेसिया छोडेर गोर्खा फौजलाई हङकङ पुर्याएता पनि मलायाको लाहुरे नै भनिन्थ्यो । छोरा मलायाको लाहुरे भएपछि भने छत्रबहादुर दम्पतीलाई केही राहत पुग्यो । केही वर्षपछि सुर्यले मोरङ जिल्लाको खोसानेमा घरजग्गा लिए र बुबाआमालाई तराई झर्न अनुरोध गरे ।
“दुःखजिलो गरेको ठाउँलाई चटक्क छाडेर जान मन नलाग्दो रहेछ ।” छत्रबहादुरको भनाई थियो । छत्रबहादुर दम्पती तराई झर्न मानेनन् । सुर्यको परिवार त हङकङमै बस्थ्यो । त्यसैले तराईको घर खाली नै थियो । केही सीप नलागेर वि.सं. २०५० सालमा छत्रबहादुर दम्पती तराई झरे । उनी काम गर्न रुचाउने मान्छे, त्यसैले तराईको फाँट पनि जोत्न थाले ।
“कति पटक जोत्नुभयो ?” गाउँलेले सोध्थे रे ।
छत्रबहादुरले पहाडे काइदाले भन्थेँ रे –“एकपटक जोतेर पुगिहाल्छ नि ।”
तर तराईका समतल ठाउँमा धेरैखेप जोत्नुपर्छ । जसलाई चाँस काट्ने भनिन्छ । चाँस काटिँदा डल्ला बस्दैनन् । चाँस नलाउँदा राँटा धेरै बस्छन् ।
छोराको घरले डोर्याएको बसाइँसराइँ
तराईको गर्मीमा बानी बस्दै थियो, फेरि छोराले भक्तपुरमा घर बनाए । सर्न अनुरोध गरे ।
“पहाडको घर जिवित छ, माया लाग्दालाग्दै झरियो । अब यहाँ माया पलाइसक्यो । आउन सक्दैनौ ।” भनेर जवाफ दिएछन् ।
यस्तै सवालजवाफकै क्रममा १४ वर्ष बितेछ । छोरा सुर्यको परिवार युके जाने भए । आफ्नो पाउदरको भाग खोजी खान युके जानैपर्छ भन्ने सुर्यले सोचेँ अनि बुबाआमालाई भक्तपुर आउन कर गर्न थाले ।
“तिमेरले जहाँ बोलायो त्यतै आउन सक्दिनँ, पहाडमा घर जिउँदै छ । बरु त्यतै जान्छु ।” भनेर छत्रबहादुरले भनेछन् ।
माया भन्ने चिज नै यस्तै रहेछ । जहाँ बस्यो त्यहीँ माया, जे काम गर्यो, त्यसैको माया । त्यसैले तराईको घरजग्गा छोड्नै मानेनछन् । सुर्यले के गर्दा माया सकिन्छ भन्ने बुबासँग प्रस्ताव गरेछन् ।
“तिमेरकै कमाई हो, सप्पै सप्पै बेच्यौँ भने माया नरहला ।” माया मेटाउने नयाँ कुरा सुनेपछि सुर्य पनि निकैबेर घोरिएछन् । बुबाआमालाई जसरी पनि भक्तपुर सार्न चाहेका सुर्यले बेचबिखन गरेछन् ।
वि.सं. २०६४ यता छत्रबहादुर दम्पती गट्ठाघर बस्दै आएका छन् । बेलाबेला छोराबुहारीले युके लैजाने प्रस्ताव ल्याउँछन् रे । तर अब त कही जान नसक्ने भन्दारहेछन् । त्यसैले हरेक वर्ष छोराबुहारी करिब १ महिनाको समय लिएर बुबाआमा भेट्न आइरहन्छन् ।
“दिनहुँजसो भिडियोमा कुराकानी गरेपछि सबै परिवार एकै ठाउँ छौं नि !” लक्षीमाया भन्छिन् । “दिन पनि के आयो आयो नि, समुद्रपारी रहेको छोराबुहारी, नाती नातीनीहरू अनि नातीनी बुहारी र नातीनीसँग एकै ठाउँमा छुङजस्तो लाग्छ, भिडियो बोल्दा ।” लक्षीमाया थप्छिन् ।
“फेरि जहाँजहाँ पुग्यो, बस्यो सपना त तेह्रथुमकै जलजलेकै मात्रै देखिन्छ । त्यसैले पनि यो भन्दा अर्को ठाउँ हामी जान चाहन्नौं ।” छत्रबहादुर दम्पतीकै कथन छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।