सजन राई
माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान क्रान्तिकारी युवाको हत्या गर्यो । प्रहरी परिचालन गरेर लखेटी लखेटी हत्या गरिएका युवा थिए ‘पूर्वको रातो तारा’ उपमा पाएका रत्नकुमार वान्तावा ।
संयोग यस्तो थियो कि २००८ चैत २७ जन्मिएका उनको हत्या पनि २०३५ चैत २७ गते नै भएको थियो ।
इलाम चमैताको चित्रे (हाल देउमाई नगरपालिका १०) मा बुबा गर्जमान राई र आमा पुष्पमाया राईका ११ सन्तानमध्ये चौंथो सन्तानका रूपमा जन्मिएका बान्तावा पूर्वी नेपालमा चलेको निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा नेतृत्व गर्थे । कम्युनिष्ट विचारधाराका उनी समाजका कुनै पनि शोषण र अन्यायको विरोध गर्थे भने जनतालाई पञ्चायतको तानशाहविरुद्ध प्रतिकार गर्न झक्झक्याउँथे ।
भूमिगत कालमा संगठनको गोपनीयताका लागि र पञ्चायतको आँखामा छारो हाल्न बान्तावाले आफ्नै घरबाट बाहिर निस्कने मिल्ने सुरुङसमेत निर्माण गरेका थिए । रत्न बम प्रतिष्ठानले हाल बान्तावाको चित्रेस्थित घर र सुरुङको संरक्षण गर्दै आएको छ ।
मंगलबार पनि फेरि अर्को संयोग परेको थियो । अर्थात् २०७५ जेठ ३ गते पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको एमाले र माओवादी केन्द्रबीच २०७७ फागुन २३ सर्वोच्च अदालतको फैसलासँगै छुट्टिएका दुई पार्टीका कार्यकर्ता उनै सहिद बान्तावाको ७२औँ जन्मजयन्ती र ४५औँ स्मृति दिवस मनाउन माङ्सेबुङ २ स्थित रत्न चोकमा सँगै भेला भएका थिए ।
पार्टी विभाजनपछि अलग बनेका एमाले र माओवादी केन्द्रका कार्यकर्ता यतिबेला इलाम २ को उपनिर्वाचनका कारण पनि सँगै हुन पुगेका हुन् । एमालेबाट दिवंगत सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ उम्मेद्वार छन् भने सुहाङलाई माओवादी केन्द्र र नेकपा सी (विप्लव)ले पनि समर्थन गरेको अवस्था छ ।
मंगलबार दुवै पार्टीका कार्यकर्ताले मिलेर सहिद बान्तावाको शालिकमा अबिर तथा माल्यार्पण गरे भने शालिकसहित निर्माण गरिएको पार्क क्षेत्रमा सरसफाई गरेका थिए ।
त्यसै अवसरमा आयोजित स्मृतिसभामा एमाले माङसेबुङ अध्यक्ष मित्र खड्काले अध्यक्षता गरे भने माओवादी केन्द्रका प्रदेश सदस्य एवम् माङसेबुङ इञ्चार्ज जनम खम्बूले प्रमुख वक्ताका रूपमा सम्बोधन गरे । उनले भने –‘वामपन्थी कम्युनिष्ट शक्ति एक भएमात्र सर्वहारा वर्गको न्याय र मुक्तिका लागि निरंकुश शासन विरुद्ध शहीद भएका अमर शहीदहरूले देखेको सपना पूरा गर्न सकिन्छ ।’
एमाले इलाम जिल्ला सदस्य एवम् माङसेबुङ इञ्चार्ज हेमन्त राईले भने –‘शहीदहरूको मार्गनिर्देशमा निरन्तर लाग्नु पर्छ र कम्युनिष्टहरू व्यावहारिक हुनु पर्दछ ।’
उपनिर्वाचनको सरगर्मी बढिरहेका बेला दुई पार्टीले स्थानीयस्तरमा गरेको यो संयुक्त कार्यक्रमले सहिदको आदर सम्मान र मतदाता जनतामा सकारात्मक सन्देश पुगेको एमाले माङसेबुङ अध्यक्ष खड्काको भनाई छ ।
सहिद बान्तावाको स्मृतिमा चैत २७ गते विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । साथै रत्न बम प्रतिष्ठानले हरेक वर्ष बान्तवाको स्मृति दिवस मनाउँदै आएको छ ।
पञ्चायतविरुद्ध भूमिगत आन्दोलनका क्रममा माङसेबुङ २ (साबिक इभाङ २) मा बिहान करिब ५ः४५ बजे तिर प्रहरीको गोली लागेर बान्तावाको ज्यान गएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।