उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय जनताहरुका समस्यालाई सम्बोधन गर्न उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित बरगाछीमा संयुक्त सम्पर्क कार्यालय स्थापना गरेका छन् । मन्त्री लिम्बु गत बर्ष सम्पन्न आम चुनावमा मोरङ क्षेत्र नं. १ बाट नेकपा एमालेका घनश्याम खतिवडालाई हराउदै प्रतिनिधि सभा सदस्यमा विजयी बनेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्याहरु समाधन गर्न र विकास, निर्माणका नयाँ योजनाहरुलाई अघि बढाउन सम्पर्क कार्यालयले सहजीकरण गर्ने बताए । मोरङ क्षेत्र नं. १ मा उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकाका ३७ वटा वडाहरु पर्दछन् । जनताको प्रतिनिधि जनतासंगै भन्ने आभास दिलाउने उद्देष्यले सो सम्पर्क कार्यालय स्थापना गरिएको मन्त्री लिम्बुका प्रमुख स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए । साजन कुँवर र रुपेन्द्र सेर्मा सो कार्यालयमा सम्पर्क व्यक्तिका रुपमा रहनेछन् ।
गृहजिल्ला मोरङ पुग्नुअघि मन्त्री लिम्बु खोटाङ जिल्लामा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रर्दशनीको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
उक्त चित्रकला कार्यशाला तथा प्रर्दशनीमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारहरुले भाग लिएको आयोजकले बताएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।