आनन्दबहादुर राई
१ परिचय
नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा फूटकर रूपमा प्रकाशन भएको हो । पछि यो नाटक सुम्निमा नाटक सङ्ग्रह (२०५२) मा तथा सुम्निमा पारूहोङ नाटक सङ्ग्रह (२०६४) मा दोस्रो संस्करणको रूपमा संग्रहित रहेको छ । वि.सं. २०५० सालमा सुम्निमा थिएटर एकेडेमीमा मञ्चन गरिएको यो सुम्निमा नाटक तीन दृश्यको लघु आयाममा विभाजित भएर पनि पूर्ण रहेको छ । किराती मिथक सुम्निमाको कथा नाटकको कथानक नभए पनि यो नाटक किराती मुन्दुम, धर्म, संस्कृतिमा पूर्णतः आधारित रहेको छ ।
२ विषयवस्तु
सुम्निमा नाटकमा किराती नारी सुम्निमाको जीवनको घटना विशेषलाई मुख्य विषयवस्तु बनाइएको छ । यसमा किराती मिथक सुम्निमाको कथालाई नभई किराती नारी सुम्निमाका जीवनको कथालाई यो नाटकमा कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ तर पनि कथानकमा किराती मिथकको प्रयोग प्रशस्तै गरिएका छन् । लाहुर गएको खावाहोङ घर फर्कदा दूधकोशीले बगाएपछि विधवा हुन पुगेकी सुम्निमाको दुःखद स्थितिको चित्रण नै यो सुम्निमा नाटकको मुख्य विषयवस्तु बनेको छ । यसबाट यो नाटकको विषयवस्तु किराती मिथकमा आधारित नभएको र सुम्निमा नाम गरेकी सामान्य किराती नारीको कथा हो भन्ने प्रष्ट हुन्छ तर पनि किराती मिथकीय सन्दर्भहरू पर्याप्त देखिन्छन् । गुप्ताका अनुसार यो नाटकको कथा मिथक भगवान् सुम्निमाको होइन तर यसले सुम्निमा मिथकसगँ सम्बन्ध राखेको छ । यो नाटकले किराती संस्कृति र मिथकलाई प्रतिनिधित्व गर्दछ (गुप्तो, २०६६: ८०) । दाजुको मृत्यु भएपछि विधवा भाउजुलाई देवरले सम्हाल्ने गरेको करिब तीन चार दशक अघिको किराती सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ । यो नाटकमा किराती सामाजिक परिवेशको यथार्थ घटना विशेष र सांस्कृतिक पक्षलाई मुख्य कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ ।
३ चरित्रचित्रण
सुम्निमा नाटकमा किराती मिथकीय चरित्रको चित्रण रहेको छ । पात्रहरूका नामांकरण किराती मिथकीय पात्रहरूको नामबाट र किराती पुमा भाषाका शब्दबाट गरिएका छन् । यो नाटकको मुख्य नारी पात्र सुम्निमाको चरित्रमा किराती मिथकीय चरित्रको प्रयोग गरिएको छ । सुम्निमाले पारूहोङसँग विहे गर्न नमानेको किराती मिथक नाटकमा नायिका सुम्निमाले देवर दिवाहोङसँग विहे गर्न अस्वीकार गर्नुमा देखाइएको छ । त्यसैले यो नाटकको प्रमुख नारी चरित्र सुम्निमामा किराती मिथक सुम्निमाको चरित्र देखिन्छ । त्यस्तै सुम्निमाले विवाह गर्न अस्वीकार गरेपछि टाढिएको पारूहोङ साल्पा पोखरीमा सुतेको भन्ने किराती मिथक नाटकमा लाहुरबाट फर्केको खाबाहोङ दूधकोशीमा बगेर मृत्यु भएको भन्ने प्रसङ्गसँग जोडिएको छ । वास्तवमा खाबाहोङ दूधकोशीमा डुबरे नमरेको कुरा पछि घरमा आएकोबाट प्रष्ट भएको छ । त्यसैले पारूहोङ साल्पा पोखरीमा निदाएको भन्ने किराती मिथकको प्रयोग यो नाटकमा खाबाहोङ दूधकोशीमा डुबेर हराएको प्रसङ्गमा जोडिएको देखिन्छ । यसबाट किराती मिथक सुम्निमाको चरित्र नाटकमा सामान्य किराती नारी सुम्निमामा र मिथक पारूहोङको चरित्र नाटकमा सामान्य किराती खाबाहोङमा आरोपित गरिएको छ । त्यस्तै सुम्निमाले साकेन्वा पूजाको बिहान घर लिप्नु, आत्महत्या गरेकी सुम्निमालाई साकेन्वा थानमुनि गाड्नु, ठोला, भ्mयाम्टा बजाउँदै साकेन्वासिली नाच्नु, साकेन्वाथानमा बाँसको लिंगो गाड्नु, दिवाहोङ र नाहिमाले साकेन्वा पूजाको दिन प्रेमको भाकल गर्नु जस्ता पात्रहरूको फरक–फरक क्रियाकलापहरूमा पनि किराती मिथकीय पात्रहरूका चरित्र देखिन्छन् । यी चरित्रहरू किराती मिथकको मर्म अनुसार रहेका छन् । त्यस्तै सालापाहोङ एकोहारो जिद्घीवाल अभिभावकीय चरित्रको रूपमा देखा परेको छ भने दिवाहोङ, नाहिमा र सुम्निमाको चरित्रमा विद्रोहीपन देखिएको छ । यसले वर्तमानको किरातीहरूमा आएको व्यक्तिगत स्वतन्त्रताको चाहनालई संकेत गरिएको देखिन्छ । समग्रमा पात्रहरूको चरित्रचित्रणमा मिथकीय चरित्र र वर्तमान किराती चरित्रको मिश्रित रूप पाइन्छ ।
४ देश, काल र वातावरण
सुम्निमा नाटकमा देशगत परिवेशमा सालापाको घर, साकेन्वा थान, दूधकोशी, पाथीभारा, हिमालय आदि आएका छन् । अहिलेको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभारा र दूधकोशी नदीको सेरोफेरोको चित्रण यो नाटकमा गरिएको छ । नाटकमा प्रयुक्त दूधकोशी आफैंमा मिथक हो भने किराती मिथक साल्पाको सादृश्यमा पनि दूधकोशीलाई देखाइएको छ, जहाँ सुम्निमाले पारूहोङसँग विवाह गर्न नमानेपछि पारूहोङ साल्पा पोखरीमा सुतेको थियो । नाटकमा मञ्चका रूपमा आएको साकेन्वा थान, पाथीभारा, हिमालय, सालापाको घर भित्रको विशेष स्थान आदि पनि देशगत मिथकीय परिवेश हुन । कालगत परिवेशमा बिहान, दिउँसो र बेलुका आएका छन् तर पनि यसले किराती समाज विकासको अवस्थालाई इंगित गर्दछ । त्यसैले यसमा प्रारम्भकालीन आधुनिक किराती समाजको चित्रण पाइन्छ । वातावरणगत परिवेशमा संयोग, वियोग, आश्चार्य, डर, त्रास आदिको चित्रण गरिएको पाइन्छ तर पनि मुख्यगरी किराती सांस्कृतिक वातावरणको चित्रण गरिएको पाइन्छ । किराती भेषमा ठोला, मानी बजाउँदै लामबद्ध भई साकेन्वासिली नाच्नु, साकेन्वा पूजाको दिन बिहानै घर लिप्नु, साकेन्वा थानमा बाँसको लिङ्गो गाडनु, मरेको किरातीलाई साकेन्वा थानमुनि गाड्नु, बेहुलाबेहुलीलाई सुप्तुलुङ छेउमा राडीमा बसालेर टीका लगाइदिनु, देवर भाउजुको विवाह गर्नु, किराती छोराछोरीको विहे गर्न लाग्दा दाजुभाइसँग सरसल्लाह माग्नुजस्ता प्रस्तुतिमा किराती सांस्कृतिक वातावरणको चित्रण भएको छ । त्यस्तैगरी लाहुर जानु, साकेन्वा पूजाको दिन किराती युवायुवतीले प्रेमको भाकल गर्नु जस्ता कुराले वर्तमानको किराती परिवेशलाई संकेत गरिएको पाइन्छ । यसले मुख्य गरी दुई, तीन दशक अगाडिको किराती सामाजिक परिवेशलाई इंगित गरेको छ । अन्ततः यो सुम्निमा नाटकमा किराती मिथकीय र सामाजिक, सांस्कृतिक परिवेशको मिश्रित चित्रण पाइन्छन् ।
५ द्वन्द्वविधान
सुम्निमा नाटकमा द्वन्द्वविधान सशक्त रहेको छ । यो नाटकमा मुख्यतः बुबा सालापा र छोरा दिवाहोङ बीच द्वन्द्व रहेको छ । त्यसैगरी दिवाहोङ र नाहिमावीच सामान्य द्वन्द्व रहेको छ । दिवाहोङमा र सुम्निमामा अन्तद्र्वन्द्व पनि प्रबल देखिन्छ । यो नाटकमा मुख्य रूपमा सालापा र दिवाहोङका बीचमा द्वन्द्व देखिएको छ । खावाहोङ लाहुरबाट फर्कदा दूधकोशीले बगाएपछि घरपरिवार तथा सालापाले मरेको ठानेर देवर दिवाहोङसँग भाउजू सुम्निमाको विहे गराइदिन खोजेपछि सालापा र दिवाहोङवीच द्वन्द्व शुरू भएको छ तापनि देवर भाउजूले भने विहे गर्न अस्वीकार गरेका छन् । दिवाहोङले भाउजूसँग विवाहको अस्वीकार गर्नाको कारण एकातिर नाहिमासँग प्रेमको सम्बन्धमा वाँधिएका छन् भने अर्कोतिर भाउजूलाई आमाको प्रतिमूर्तिका रूपमा हेर्न चाहन्छन् । त्यसैले बुबाको इच्छाविपरीत दिवाहोङले भाउजूसँगको विहे अस्वीकार गरेको छ तैपनि सशक्त प्रतिकार भने गर्न सक्दैन । फलस्वरूप सालापाले आफ्ना आफन्तजन बोलाएर जर्वजस्ती विहे गराइदिन तम्सेका छन् । ठीक त्यसै बेला खावाहोङ जीउँदै आइपुगेपछि यो द्वन्द्वको अन्त्य हुने सम्भावना देखिन्छ तर सुम्निमाले जति बोलाए पनि खावाहोङ नबोलेपछि सुम्निमा खुकुरीले आत्माहत्या गरेर मर्दछे र द्वन्द्व अन्त्य हुन्छ । यसरी सुम्निमा पारूहोङको विवाहको प्रसङ्गबाट उत्पन्न भएको यो द्वन्द्व ठ्याक्कै किराती मुन्दुमी मिथकमा आधारित नभए पनि सुम्निमा र दिवाहोङको विहे असफल हुनु किराती मुन्दमी मिथकमा वर्णित सुम्निमाले पारूहोङको विवाह प्रस्ताव अस्वीकार गरेको प्रसङ्गको सापेक्षतामा देखिन्छ । त्यसैले सुम्निमा र दिवाहोङको विहेको प्रसङ्गबाट शुरु भएको द्वन्द्व किराती मिथकको सापेक्ष्यमा देखिदैंन । अनुकूल अनुकूल चरित्र बीचको द्वन्द्व भए पनि परिणामा प्रतिकूल आएको छ । त्यस्तै दिवाहोङ र नाहिमाका बीचमा पनि द्वन्द्व देखिन्छ । उनीहरूको भेट सदाको झैँ नहुन नसकेपछि शुरू भएको द्वन्द्व दिवाहोङले स्यामुनालाई बोकेर गन्तव्यविहीन हिडेपछि अन्त्य भएको छ । यो द्वन्द्वलाई हेर्दा एक अर्कामा माया ममता रहे तापनि फितलो भेटघाटले शंका उपशंका उब्जिएर द्वन्द्वको स्थिति सृजना भएको छ तर यसको प्रभाव खासै देखिदैंन । त्यस्तै दिवाहोङ सालापामा अन्तद्र्वन्द्व देखिएको छ । बुवाले भाउजूसँग विहे गराइदिने बताएपछि दिवाहोङको मनमा अन्तद्र्वन्द्व शुरू भएको छ । सधै भाउजूको रूपमा तथा आमाको प्रतिमूर्ति मान्ने सुम्निमालाई राम्री देख्न थालेको छ । विधवा भाउजूलाई अंगालिई किराती परम्परागत संस्कृतिलाई निरन्तरता दिएर घरप्रतिको, समाजप्रतिको उत्तरदायित्त्व पूरा गरूँ कि वाल्यकालदेखिको नाहिमासँगको प्रेमसम्बन्धलाई साकार पारूँ भन्ने दोधारमा परेको छ । एकातिर ऊ भाउजूलई आमाको प्रतिमूर्तिका रूपमा हेर्न चाहन्छ भने अर्कोति र अचेतन मनले सुन्दरी किराती नारीको रूपमा देख्दछ । त्यसैले दिवाहोङमा अन्तद्र्वन्द्व पनि प्रबल देखिन्छ तर उनी भित्रको त्यो अन्तद्र्वन्द्वले नकारात्मक प्रभाव पारेको छैन । सालापामा सुम्निमाले आत्महत्या गरेपछि अन्तद्र्वन्द्व देखा परेको छ । आफ्नो मुन्दुमी मिथकलाई लत्याएकोमा र देवर भाउजूको मञ्जुरी बीना विवाह गरिदिन खोज्दा स्वर्ग जस्तो घर क्षण भरमै नर्कसमान भएको छ । मुन्दुमी मिथक लत्याएकोमा र देवर भाउजूको विवाह गरिदिन खोजेकोमा सालापा अन्तद्र्वन्द्वको पीडामा फसेको छ ।
समग्रमा यो नाटकको द्वन्द्व विधानलाई हेर्दा किराती मुन्दुमी मिथकको सापेक्षतामा नदेखिए तापनि किराती मिथकको तुलनात्मक सादृश्यमा देखिएको छ । दिवाहोङमा आन्तरिक र वाह्य दुवै द्वन्द्वको प्रभाव सशक्त देखिन्छ भने सुम्निमामा पनि अन्तद्र्वन्द्व सशक्त नै देखिएको छ । फलस्वरूप आत्महत्या गर्न पुगेकी छे । नाटकका पात्रहरू द्वन्द्वग्रस्त नै देखिन्छन् । अन्ततः नाटकको द्वन्द्व पक्ष सशक्त नै देखिन्छ ।
६ भाषाशैली
सुम्निमा नाटकको भाषाशैलीमा किराती प्रभाव परेको छ जुन किराती मिथकको सापेक्ष्यमा रहेका देखिन्छन् । वाक्य संरचनाका क्रममा लिङ्ग, वचन, काल, पुरुष, आदर आदिको प्रयोगमा किरातीपन रहेको छ । किराती घरपरिवारमा प्रयोग गरिने बोलीचालीको भाषाशैली, धार्मिक, सांस्कृतिक सन्दर्भका शब्दहरूको प्रयोग बढी देखिन्छन् । अझ मुख्य गरी पुमा भाषाको शब्दहरूको प्रयोगमा संवाद अगााडि बढेको छ । त्यसले नाटकको अर्थ सम्प्रेषणमा कहीँ कतै असहजता पनि ल्याएको छ । वाक्य, संवाद संयोजन प्रायः छोटा छोटा र सरल रहेका छन् तर कुनै कुनै प्रसङ्गमा भने लामा लामा वाक्य, संवाद पनि रहेका छन् । कहीँ कतै पात्रहरूको क्षमता भन्दा उच्च कोटीका शब्दहरूको प्रयोग भएको पाइन्छ । यसले नाटकको भाषाशैलीमा अस्वाभाविकता, असहजता ल्याएको छ । किराती पुमा भाषाका शब्दहरूको प्रयोग समग्र संवादकै रूपमा भएका छन् । जस्तै ः–
ङापोङ: यायो, ए यायो !
सालापा: (सामान मिलाउँदै) जेऊ, आ’को !
ङापोङ: साकेन्वा सेवा मुसी पुङमा पे, सालापा ?
सालापा: जेऊ आ’को । पुङमा दोत–पुङमा दोत । हेन, दोङवाङा–दोङदापा दो ताकु साकेन्वा सेवा दोना झाराङे पुङमा दोत, आ’को (प. दृ.: पृ. ६५) ।
मथिको उदाहरणमा पुमा भाषाका शब्दहरूको प्रयोग भएका छन् र वाक्य गठनमा किरातीपन देखिन्छ । त्यस्तै लिङ्गको अभेद्य प्रयोग भएको उदाहरण तल दिइएका छन् ।
जस्तैः– किराती देवी जस्तो कति राम्रो देखिएको छौँ (प. दृ. ः पृ. ६३), भाउजुले आत्महत्या ग¥यो (ते. दृ.: पृ. ७७) जस्ता वाक्य, आखेरी, आबुई, गाको गाकै, विधुवाजस्ता किराती बोलीचालीको शब्दको प्रयोग भएका छन् । त्यस्तै कुटुक्क, ढ्याङ…कुक…ढ्याङ…कुक…(प. दृ. ः पृ. ६५) जस्ता अनुकरणात्मक शब्दहरू र मुड, एस, गार्जियनजस्ता अंग्रेजी शब्दको पनि छिटफुट प्रयोग भएका छन् । यी यस्ता शब्दको प्रयोग, पात्रहरू बीचको संवाद र भाषाशैलीले किरातीपनलाई प्रष्टै संकेत गरेको छ । अतः नाटकको भाषाशैली मिथकीय रहेका छन् ।
७ शीर्षक
सुम्निमा नाटकको शीर्षक मिथकीय रहेको छ । किराती मिथक सुम्निमाको नामबाट शीर्षक राखिएको छ । नाटकको कथावस्तु सुम्निमाको जीवन परिवेशको चित्रणबाट अघि बढेको छ र उनै सुम्निमालाई मुख्य चरित्रको रूपमा प्रस्तुत गरिएको छ । अतः सुम्निमा नाटकको केन्द्रबिन्दु हो । सुम्निमा नाम गरेकी सामान्य किराती नारीको कथा यो नाटकमा प्रस्तुत भए पनि नाटकले पूर्णता पाएको छ । नाटक पूर्ण रूपमा सुम्निमामै केन्द्रित रहेर उनकै जीवन परिवेशको घटनाबाट कथावस्तु अघि बढेकोले यो नाटकको शीर्षक सार्थक रहेको छ ।
८ उद्देश्य
सुम्निमा नाटक विधवा सुम्निमामा केन्द्रित रहेर उनकै जीवन सङ्घर्षबाट कथावस्तु अघि बढेको छ । संस्कृति बचाउने नाममा व्यक्तिको स्वेच्छालाई दबाएर परम्परावादी सोच विचार लाद्दा, घरपरिवारमा स्वेच्छाचारी तन्त्र चलाउँदा स्वर्गजस्तो घरपरिवार पनि क्षण भरमै नर्क समान हुन पुग्छ भन्ने सन्देश दिनु नै यो नाटकको मुख्य उद्देश्य रहेको छ । किराती मुन्दुम, धर्म, संस्कार, रितीरिवाजजस्ता कुराको उल्लङ्घन गरी घरपरिवारको हित विपरीत काम गर्न खोज्दा त्यसले घरपरिवारमा नराम्रो परिणति ल्याँउछ भन्ने सन्देश दिनु पनि प्रस्तुत नाटकको उद्देश्य रहेको देखिन्छ । त्यस्तै किराती दुई पुस्ताको बीचको वैचारिक मतभेदलाई प्रस्तुत गर्नु पनि यो नाटकको उद्देश्य देखिन्छ ।
९ निष्कर्ष
नाट्यकर्मीर प्रवीण पुमाद्वारा लिखित सुम्निमा नाटक सुम्निमा पारूहोङ (वि.सं.२०६४) नाटक सङ्ग्रहमा संग्रहित एक सफल किराती मिथकीय नाटक हो । तीन अंकको लघु आयाममा सङगठित यो नाटकको कथावस्तु किराती खम्बु मिथक सुम्निमामा पूर्णतः आधारित देखिदैंन । सामान्य किराती नारी सुम्निमाको जीवनमा यो नाटक आधारित रहेको छ तर नाटकको कथावस्तु मिथकीय परिवेशबाटै अगााडि बढेको छ । उनकै केन्द्रीयतामा अर्थात् सुम्निमाको केन्द्रीय भूमिकाबाट कथावस्तु अघि बढेको छ । कथावस्तु सुहाँउदो चरित्रचित्रण गरिएको छ । नायकका नायिकाका रूपमा सुम्निमा र दिवाहोङलाई प्रस्तुत गरिएको छ । उनीहरूको चरित्रमा किरातीपन देखिएको छ भने नाहिमा र सालापाको भूमिका महŒवपूर्ण देखिन्छ, जसले नाटकमा उत्कर्ष रूप प्राप्त गरेको छ । नाटकको परिवेशविधान र द्वन्द्वविधानको आयोजना कथावस्तु र चरित्र सुहाँउदो गरिएका छन् । किराती घर, किराती घरको विभिन्न स्थान विशेष, साकेन्वा पूजाथान, दूधकोशी, महातम्मा, पाथिभारा स्थानगत परिवेश, कालगत परिवेश र वातावरणको चित्रण कथावस्तु सुहाँउदो गरिएको पाइन्छ । एकातिर कथावस्तु र पात्रहरूको चरित्र चित्रणलाई हेर्दा दुई, तीन दशक अघिको किराती समाजलाई संकेत गरेको देखिन्छ भने अर्कातिर व्यक्तिगत स्वतन्त्रताको चाहनासँग किराती मुन्दुमको महŒवपूर्ण सम्बन्ध रहेको कुरालाई प्रकाश पार्न खोजिएको छ । नाटकमा किराती मिथक अनुरूपका भाषाशैलीको प्रयोग पाइन्छ । अर्थ सम्प्रेषणका दृष्टिले नाटक सरल रहेको छ । पुमा भाषाको शब्द प्रयोगले कहीँ कतै अर्थ सम्प्रेषणमा दुरूहता पाइन्छ तर वाक्य गठन र पात्रहरूको संवादमा सहजता नै पाइन्छ । नाटकको संवाद पक्ष सशक्त रहेको छ । यसले किराती मिथकीय नाटकको मौलिकतामा थप ऊर्जा प्रदान गरेको छ । नाटकको शीर्षक अनुसार कथावस्तु र चरित्र चित्रण उपयुक्त भएकोले यो नाटकको शीर्षक सार्थक रहेको छ । समग्रमा यो नाटक किराती मिथकमा आधारित नभए पनि किराती नाटकको रूपमा सफल रहेको छ ।
सन्दर्भसामग्रीसूची
गुप्तो, अरुण (२०६६), किरात राई यायोक्खा स्मारिका २०६६) ट्राजिक स्टोरी अफ सुम्निमा: एक्टिङ फर कल्चर एण्ड एक्टिङ अगेन्स मिथ (सम्पा. प्रवीण पुमा/जनक राई), किरात राई यायोक्खा जिल्ला कार्य समिति: ललितपुर ।
पुमा, प्रवीण (२०५२), सुम्निमा नाटक सङ्ग्रह, काठमाडौं: सुम्निमा थिएटर एकेडेमी ।
……….. (२०६४), सुम्निमा पारूहोङ नाटक सङ्ग्रह, काठमाडौं: सुम्निमा थिएटर एकेडेमी ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।