काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते भई निधन भएका लाजेहाङ लिम्बू(पदम)लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन् । उनले भनिन्, ‘नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’
गत चैत ५ गते प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा भएको झडपमा लाजेहाङको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उपचाररत लाजेहाङको चैत १० गते शुक्रबार विहान २ः३० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।
‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ कोशी प्रदेशको नामाकरण खारेजी, लाजेहाङ्लाई सहिद घोषणालगायतको मागसहित आन्दोलित छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।