रचनाले न्याय पाएपछि..... - Naya Online

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली

जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द चोङबाङ बुरुक्क उफ्रिए । उफ्रनुको कारण टिजरमा समावेश ख्याली थियो । ख्यालीका लेखक उनी थिए, तर टिजरमा उनको नामोनिशाना थिए ।

गोविन्दले तीस वर्ष अगाडि प्रकाशन गरेको पुस्तक ‘याःलाक’ को एक अंश हो उक्त ख्याली । ख्यालीलाई नयाँ प्रयोगका साथ सुन्दर टिजर निर्माण भएको थियो । टिजर एकदमै चर्चित भयो । सबैका टिकटक, रिल, युट्युव सर्टमा बज्न थाले । आफुले रचना गरेको सिर्जना आँखैअगाडि चर्चित हुनु, आफ्नो नामोनिशाना नै नहुनु उनको चिन्ताको विषय बन्यो ।

त्यसैले उनी निकै उफ्रिए, फेसबुकमा लेखे । निर्देशक उपेन्द्र सुब्बाकहाँ खबर पु¥याउन हारगुहार गरे । मुद्दा हाल्नेसम्मका योजना बनाए । कुरा उपेन्द्र सुब्बाकहाँ पुग्यो । सुब्बाले उक्त ख्यालीको रचनाकारको नाम समावेश गर्ने, अन्तर्वार्तामा नाम उल्लेख गरिदिनेसम्म सन्देश पठाए । पछि टिजरमा ख्याली रचनाकारको नाम गोविन्द हुक्पा चोङबाङ भनेर लेखिएर आयो । त्यसपछि भने चोङबाङले खुशीहुँदै उक्त टिजरलाई सेयर गरे ।

०००

के उपेन्द्र सुब्बाले अर्काको रचना स्वीकृतिविनै प्रयोग गरे त ? भन्ने प्रश्नले बेर्ला । तर रचना यहाँसम्म आउनुको कथा पनि सिनेमाझैँ रोचक नै छ ।

गोविन्द चोङबाङको पुस्तक ‘याःलाक’ सिमित व्यक्तिको हातमा मात्रै रह्यो । बढिजसो हुक्पा चोङबाङहरूको घरमा पुग्यो भने केही आफन्त र चिनजानको घरसम्म । पुस्तक पढ्ने जमात नबढिसकेकाले ति पुस्तकहरू जसको हातमा पुग्यो, त्यहि थन्कियो ।

हुक्पा चोङबाङ समुदायकै मदन चोङबाङ गीत संगीत, साहित्य तथा पत्रकारितामा सक्रिय थिए । धरानमा रहेर मदनले केही पत्रपत्रिका सम्पादन, लेखन तथा गीतका क्यासेटहरू निकाल्ने गर्दथे । धरानबाट प्रकाशन शुरु भएको ‘हाम्रो संस्कृति’ द्वैमासिकका उनी सल्लाहकार थिए । र, पत्रिकाको अन्त्यमा एउटा स्तम्भ लेख्थे । एक अंकमा मदनले लिम्बू जनजीवनमा आधारित स्तम्भ लेखे । लिम्बूहरूको मुख्य संस्कृतिमा धान नाच पनि पर्दछ । धान नाच्दा पाःलाम गाउनुपर्छ, ख्याली भन्नुपर्छ ।

मदनले बाटोघरे जेठालाई पात्र बनाएर स्तम्भमा ख्याली भनाएका थिए । हाम्रो संस्कृति पत्रिका पढ्नेक्रममा उपेन्द्र सुब्बालाई ख्यालीले खुब छोएछ । र, जतनगरी राखे । पछि सुब्बाले आफ्नो कविता सङ्ग्रह ‘खोलाको गीत र अरु कविताहरू’मा उक्त ख्यालीलाई समावेश गरे । ‘ख्यालीमा हारेको ध्रुव’ कवितामा उक्त ख्याली समावेश भयो र साभार गरिएको ख्याली अंश मदन चोङबाङको भनेर उल्लेख पनि थियो । सुब्बाको पुस्तक २०७० सालमा प्रकाशित भएको हो ।

यस पंक्तिकारले उक्त ख्याली सुब्बाले आफ्नो पुस्तकमा समावेश गरेको कुरा मदन चोङबाङलाई बताएको थियो । मदन चोङबाङले त्यतिखेर भने –‘त्यो त मेरो रचना होइन, बाटोघरे जेठाको हो । बाटोघरे जेठाले लेखेको कारण उनैलाई पात्र बनाएर लेखेको थिएँ । गोविन्द चोङबाङ नै बाटोघरे जेठा हुन् ।’

मदनले उक्त कुरा गोविन्द चोङबाङलाई सुनाएका रहेछन् । पुस्तकमा आएको कुरालाई गोविन्दले त्यति ध्यान दिएनन् । कुरा त्यसैमा सकियो ।

त्यसको १० वर्षपछि भने असली लेखक गोविन्द चोङबाङले मदन चोङबाङलाई फोन गरेर रचना चोरिएको गुनासो गरेछन् । रचना प्रयोग गरेवापत पारिश्रामिक होइन, रचनाकारको नाम उल्लेख गर्नुपर्यो भनेर उफ्रेछन् । यसले मदन चोङबाङको निकै टाउको दुखाई भयो र उपेन्द्र सुब्बासम्म कुरा पुर्याउने बाटो खोजे । कुरा उपेन्द्र सुब्बाकहाँ पुग्नेवित्तिकै समस्या समाधान भने भइहालेको छ ।

०००

साविक खाम्लालुङ ८, तेह्रथुम हालको आठराई २ मा बुबा पदमजङ्ग लिम्बू र आमा कृष्णमाया लुम्फङ्वाबाट जन्मिएका हुन् गोविन्द हुक्पा चोङबाङ । मोरङ जिल्लाको बेलबारी ३ खोरियाटोलको स्थायी बासी गोविन्द लिम्बू जातिको संस्कार संस्कृतिलाई संरक्षण गर्न उत्रिएका फेदाङ्मा समेत हुन् । फेदाङ्मा भनेको लिम्बू जातिभित्र गरिने कुलपूजा, सामाजिक रित तथा अन्य पूजाआजाको नेतृत्व गर्ने व्यक्ति हो । समनिज्म प्रणालीबाट आउने यो प्रथा व्यक्तिमा आफैँ सवार हुन्छ, कतिको सवार हुने अवस्था आएपछि पूजा गरी फेदाङ्मा उतारिन्छ । कतिपय फेदाङ्माहरू पुस्तैनी पनि हुन्छन् । गोविन्दका बुबा पनि फेदाङ्मा नै थिए ।

गोविन्द फेदाङ्मा हुँदाका किस्सा पनि सिनेमाका रिलझैँ रहेको मदन चोङबाङ बताउँछन् । साउने संक्रान्तिमा अनिकाल खेदाउन थाल ठटाउँदा गोविन्दमा फेदाङ्मा सवार भएको कुरा, कहिले कुनै सामान फाल्दै कया खोला (फेदाप र आठराईलाई छुट्याउने खोला, जुन तमोरमा मिल्छ) सम्म पुर्याएको सम्झन्छन् । त्यस्तै धान नाँच्ने, पाःलाम भन्ने भएकोले साहित्य सिर्जना स्वतः हुने नै भयो ।

फेदाङ्मा भए पनि उनी अध्ययनशील थिए । एसएलसी टेष्ट परिक्षा दिन अर्को स्कुल जानुपर्ने तत्कालिन व्यवस्थाको कारण तेह्रथुमको मोराहाङ बसेको कथा गोविन्द आफैँले सुनाए । त्यसबेला पूर्व राष्ट्रिय पञ्चायत सदस्य भीमराज खापुङको पुरानो घरमा बसेर एसएलसी दिँदा पढ्नुभन्दा बढि धान पो नाचियो नि ! गोविन्द पुराना कुरा सम्झँदै सुनाउँछन् ।

धेरै धाननाच्दा मायाप्रीति बस्न पुगेको तर धेरै धोका मात्र पाएकोले झनै विरहका पाःलामहरू कथ्न पुगेको गोविन्द बताउँछन् । उनले आफ्ना जिजुबाजेबाट पाःलाम सिकिमागेका थिए । जिजुबाजेले नै अरुण नदिको शिरमा चौतारी रहेको र त्यही चौतारीमा भेट भएका युवायुवतीबीच प्रेम भएको कथा सुनाएका थिए । त्यसलाई गोविन्दले यसरी लिपिवद्ध गरेका थिए ।

नदिलाई ठूलो अरुण
अरुणै शिरमा चौतारी
किराती मिङ्सो निलकण्ठ
चौतारीमाथि श्रीखण्ड
पानीलाई झर्यो छाँगानी
श्रीखण्ड ज्यानको हाँगानी
आगोलाई फुकी बल्दैखेरी
आँधीसो बेरी चल्दाखेरी
बाँसैमा चरी नाचेछ
एक्कुसो हाँगा भाँचेछ ।

ख्यालीको यस अंश जारीको टिजरमा सामान्य सम्पादनसहित मज्जाले सुन्न सकिन्छ ।

०००

पहाडमा दुःख थियो । एसएलसी पास गरेका उनले लाहुरतिर मन गरेनन् । अन्य जागिरतिर पनि मन गरेनन् । तसर्थ २०४० सालको चैत्रमा उनी झापाको घेराबारीमा बसाइँ सरे । घेराबारीमा निकै दुःख गरे । समाजमा भिजे, सामाजिक व्यक्तित्व भएकैले उनी तत्कालिन घेराबारी गाविस अध्यक्षका प्रत्यासी पनि भए । तर पराजित भए । घेराबारी गाविस अहिले पनस्र्थापित स्थानीय निकाय कचनकवल गाउँपालिकामा पर्दछ ।

धान नाचेर मात्र हुन्न, धान नाच्दा सिर्जिएको पाःलामलाई सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा उनलाई अगाडिदेखि नै लागेकोले लिपिवद्ध गरिरहेका थिए । चुनावले गाविस अध्यक्ष नबनाएपछि उनी आफ्ना पाःलामहरूलाई पुस्तकमा ल्याउने जमर्को गरे र २०५० साला ‘यालाक’ (पालाम सङ्ग्रह) प्रकाशन गरे ।

२०५६ सालमा उनी बेलबारी मोरङको खोरियाबस्तीमा बसाइँ सरी आए । बेलबारी आएर पनि राजनीति, लेखन र समाजसेवामै समर्पित भए । २०६२ सालमा ‘याक्थुङ साक्थिम नु सङ हा?’ पुस्तक प्रकाशन गरेका थिए ।

गोविन्दले गत स्थानीय निर्वाचन २०७९ मा बेलबारी नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा प्रत्यासी पनि थिए । झिनो मतले पराजित उनी जनसांस्कृतिक महासंघ बेलबारीको सहइन्चार्ज पनि छन् । त्यसैगरी आफ्नै वंश समुदायको संस्था हुक्पा चोङ्वाङ कल्याण समितिको मोरङ अध्यक्ष पनि रहिसकेका छन् ।

गोविन्द चोङवाङ फेरि पनि नयाँ पुस्तकको तयारीमा छन् । उनी नयाँ पुरानो पाःलामलाई समेटेर पाःलाम सङ्ग्रह ल्याउन लागेका छन् । उनको याःलाक पुस्तकमा ठेट ख्यालीहरू परेकैले रैथाने संगीतकी झुमा लिम्बूले मदन चोङबाङसँग पुस्तक झिकाएकी थिइन् । ति ख्यालीहरूको काम गर्ने भनेर झुमासँग सम्झौता गरिसकेको पनि गोविन्द बताउँछन् । जारी चलचित्रमा झुमा पनि संलग्न हुनुले यसै चलचित्रसँग सम्झौता हो कि भन्ने गोविन्दलाई थियो । तर त्यस समयमा झुमासँग सम्पर्क नहुनुले गर्दा उनले रचनामा हकदावी गर्न सम्बन्धित पक्षसँग गुहार्नु परेको थियो ।

०००

पछिल्ला दिनमा गोविन्द निकै खुशी छन् । प्रदर्शन पूर्व नै अत्यधिक चर्चामा रहेको जारीमा आफ्नो रचना पनि समावेश हुनुले गोविन्दलाई संसार जितेको अनुभव भइरहेको छ । उनी दिन बिराउँदै जारीको टिजर फेसबुकमा सेयर गरिरहेका छन् । र, चलचित्र हेर्न अनुरोध पनि गरिरहेका छन् ।

आफ्नो श्रीमतीले अरुले लगेपछि उठाइने जारी प्रथा नै चलचित्रको मूलकथा हो । आफूले कयौं जारी प्रथा देखेको, कतिपय उठाउन पनि पुगेको गोविन्द बताउँछन् । यस्तो मौलिक कथा चलचित्रमा आउनु निकै राम्रो पक्ष भएको उनी सुनाउँछन् । त्यसैले जारी हेरिदिन अनुरोध गरेको हुँ, गोविन्दको भनाई छ ।

टिजर सार्वजनिक भएको २० दिनपछि ट्रेलर आएको छ । ट्रेलर आएपछि भने वैशाख १ को पखाईमा रहने दर्शकको संख्या पनि धेरै ठूलो भइसकेको छ ।

ख्याली चर्चित हुनका कारण टिजरमा अपनाइएको तरिका नै हो । अर्थात पुरै ख्यालीले भरिएको टिजर चलचित्र प्रचारको नौलो अभ्यास नै थियो । भिडियोमाथि रियाक्ट गर्नेहरूले नयाँ प्रयोग भन्दै गरे । नेपाली भाषामा मात्र नभई हिन्दी रियाक्टकर्ताहरूले पनि ख्यालीलाई कविता भनिएको भन्दै रियाक्ट गरे । ति प्रविधिबारे उति जानकार नभएपछि गोविन्द चोङ्वाङ भने आफ्नो रचनाले न्याय पाएको कुरामै दङ्ग छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...