पाँचथर, २० चैत । पाँचथरको कुम्मायक गाउपालिकामा प्रदेश नम्बर १ को कोशी नामाङ्कन खारेज गर्न एकदिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ जिल्ला कार्य समितिका अध्यक्ष रिन्जी शेर्पाको प्रमुख उपस्थितिमा सर्वदलीय अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रदेशको नामाङ्कनको विषयमा शान्तिपूर्ण भइरहेको आन्दोलन भड्काएर राज्यले द्वन्द्वको बाटो रोजेको शेर्पाले बताए । ऐतिहासिक इतिहास र सभ्यतामा आधारित सहअस्तित्व कायम हुनेगरी भूगोलको नामाकरण राखौ भन्दा राज्यले जातीय सहिष्णुता र सद्भाव बिथोल्न खोजेको भन्दै समस्याको समाधान छिटो हुनुपर्ने उनले जोड दिए । यसैगरी कुम्मायक गाउपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले हाल भइरहेको आन्दोलनलाई खुलेरै समर्थन गरे भने अध्यक्ष बमप्रसाद लावतीले पनि भूगोलको आधारमा समुदायको पहिचान झल्किनुको विकल्प नभएको बताए ।
लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिको आयोजनामा भएको सो कार्यक्रममा लिम्बुवान किरात जातिवादी नामाङ्कन नभएको लिल्डा अध्यक्ष दिलेन्द्र कुरुम्बाङ्ले बताए । कोशी नदिको नामसम्म स्विकार्न सकिने तर प्रदेशकै नामाङ्कन भने कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । कौशिकी ब्राह्मण समुदायको एकल पहिचान अरुलाई पनि जबर्जस्ती थोपारिएको कुरुम्बाङ्को भनाइ थियो । लिम्बुवान किरात शब्द ब्राह्मण जातिले नै राखिदिएको तर अहिले आदिवासी जनजातिको थात्थलो भूगोलको त्यही नाम राखियोस् भन्दा नश्लीय चिन्तन भएका शासकहरूले कानमा तेल हालेर बसेको उनले बताए ।
त्यस्तै लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावतीले सत्य जहिले थोरै भए पनि सत्यकै जित हुने बताए । संयुक्त सङ्घर्ष समितिद्वारा सञ्चालित पहिचानवादी आन्दोलनको उभारलाइ सबैले आत्मसात गरेर साथ सहयोग दिनुपर्ने उनले बताए ।
किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेश चेम्जोङ र आदिवासी जनजाति महासंघ कुम्मायक गाउँ कार्य समितिका अध्यक्ष दुर्गा बम्जनले पनि बहुपहिचानको आधारमा भूगोलको नाम राख्न चुक्नु नहुने बताए । षड्यन्त्र पुर्वक राखिएको कोशी नाम खारेज नगरे आन्दोलनले थप उग्र रुप लिन सक्ने किरात याक्थुङ चुम्लुङ्का जिल्ला सदस्य घनेन्द्र शेर्माले बताए । हाल भइरहेको आन्दोलनमा ३६ वटा संघसस्थाको सहभागिता रहेको र पहिचानवादी पक्षधर संघ सङ्गठनहरूको एकता हुने क्रम जारी रहेको सेर्माले बताए ।
कोशी नाम खारेजी अभियानमा महेन्द्र लावतीको अध्यक्षतामा पनि थप सङ्घर्ष समिति गठन भएको जानकारी प्राप्त भएको छ । यसैगरी संयुक्त संघर्ष समितिले कुम्मायक गाउपालिकाको कार्यलय र पाँच वटै वडा कार्यलयहरूमा कोशी प्रदेश लेखिएको बोर्ड र लेटरप्याड तत्काल नचलाउन आग्रह गर्दै गाउपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोलाई ज्ञापन पत्र दिइएको छ ।
कार्यक्रम संयुक्त संघर्ष समितिका संयोजक पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।