दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू (लाजेहाङ)को मृत्युको जिम्मा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की र सिंहदरबारस्थित गृह प्रशासनले लिनुपर्ने जनाएको छ ।
शनिबार जसपा नेपाल प्रदेश १ समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
जसपा प्रदेश १ अध्यक्ष दिपक याक्खाले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने र आन्दोलनकारीको हत्या गर्ने कायर्तापूर्ण कृत्यको सम्पूर्ण जिम्मेवारी हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार र सामाजिक न्यायका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका जनतामाथि गोली, अश्र्रु ग्यास, लाठ्ठी र बुट वर्षाउने सिंहदरबारले लिनु पर्दछ ।’
गत चैत ५ गते बिराटनगरमा आयोजित कोशी प्रदेश खारेजी र पहिचानको आधारमा प्रदेश नम्बर १ को पुनः नामाकरण संयुक्त संघर्ष समितिले आह्वान गरेको विशाल जनप्रदर्शन र धर्नामा सुरक्षाकर्मीले गरेको दमनको विरोध गर्दै जारी विज्ञप्तिमा सो घटनालाई संविधान र मौलिक हकविरुद्धको ठहर गरिएको छ ।
सोही दिन प्रहरीको लाठ्ठी प्रहारबाट तेह्रथुमको म्याङलुङ नपा वडा नम्बर ९, साब्ला स्थायी घर भएका ४२ वर्षीय लिम्बू गम्भीर घाइते भएका थिए भने उनको उपचारको क्रममा शुक्रबार पूर्वान्ह २ः३० बजे निधन भएको थियो ।
जसपाले लिम्बूलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
उसले प्रदेश १ लाई किरात लिम्बुवान शेर्पालुङ प्रदेश नामाकरण गर्नुपर्ने पार्टीको अडान कायमै राखिएको भन्दै लिम्बूको न्यायको निम्ति र पहिचान र संघीयत प्राप्तिको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न आफ्ना नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ ।
मृतक लिम्बू र उनको परिवारमा जसपाले विज्ञप्तिमार्फत श्रद्धाञ्जलीसहित समवेशना प्रकट गरेको जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।