राजेन्द्र सुक्वाबा
फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति
नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान भनिन्छ । इतिहासका विभिन्न कालखण्डमा यस भूगोललाई फेदाप, पल्लो किरात, लिम्बूवान आदि विभिन्न नामबाट सम्बोधन गरिए पनि आम लिम्बू जातिले भने यस क्षेत्रलाई ‘याक्थुङ लाजे’को रूपमा चिन्दछन् । आठौं शताब्दिताका यस याक्थुङ लाजेभित्र कैयौ स्वतन्त्र आपुङ्गी राज्यहरू थिए । गाउँ पिच्छे, थुमै पिच्छे आपुङगी राज्यहरू स्थापना भएका थिए । यसरी भारेभुरे राज्यहरू स्थापना भए पनि समस्त लिम्बू राज्यहरूमा संघात्मक राज्य प्रणाली अवलम्बन गरिएकाले प्रायः शक्तिशाली राज्यले नेतृत्व गर्ने परम्परा रहेको थियो । कहिले फेदाप राज्य प्रभावशाली बन्थ्यो र उसैले संघीय सरकारको नेतृत्व गर्दथ्यो भने कहिले चैनपुर(चेनलुङ) त कहिले मोरङ राज्यहरूले पनि संघीय सरकारको नेतृत्व गर्दथे । कालान्तरमा सोह्रौं शताब्दितिर विजयपुर राज्यले मधेश र पहाडका राज्यहरूलाई संघात्मक सरकारमा आबद्ध गराई समस्त लिम्बूवान भूगोलमा राज्य गरेको इतिहास पाईन्छ । लिम्बूवान भूमिको इतिहास हेर्दा– आठौं शताब्दिको अन्त्यतिर याक्थुङ लाजेको पुनःसंरचना भएको पाईन्छ, जसको परिणाम स्वरूप १० लिम्बूवानको संघात्मक राज्य प्रणाली अझ विकसित भयो । इतिहासकार ईमानसिंह चेम्जोङले यो घटनालाई ‘किराती जनताको तेस्रो क्रान्ति’ भनेका छन् । (Chemjong 2003: 51)
यस क्रान्तिपछि सोह्रौं शताब्दिको मध्यतिर फेदापबाहेक चैनपुर, मोरङ तथा विजयपुर आदि स्वतन्त्र र बलिया राज्यहरू उदय हुन थालेका थिए । पछिल्लो समयमा फेदापलाई याक्थुङ लाजेभित्रको एउटा मुख्य राज्यको रूपमा चिन्ने र बुझ्ने गरिन्छ । फेदाप क्षेत्रका राज्यहरूको अस्तित्व गोरखालीहरूको राज्य विस्तारका समयसम्म निर्वाध चलिरहेको थियो । सेन तथा गोरखाली शासनकालमा यस भूगोलको पल्लो किरात र लिम्बूवान नाम पनि खुबै चलेको हो । यद्यपि यस भूगोलको वास्तविक इतिहास के हो ? भन्ने बारेमा प्रशस्तै चर्चा भए पनि यस बारे खासै महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सकिएको छैन । यसका प्रमुख कारणहरूमा यस भूगोलको बारे सम्बद्ध कुनै ऐतिहासिक लिखित दस्तावेजहरू प्राप्त नहुनु, उपलब्ध तथ्य तथा सामग्रीहरूको ऐतिहासिक एवं पुरातात्विक अध्ययन नहुनु, ऐतिहासिक धरोहरका रूपमा रहेका गढी(यक), समाधिस्थल, प्रस्तर प्रतिमा(लुङधुङ) आदिको अध्ययन, व्यवस्थित संरक्षण तथा संवद्र्धन नहुनु आदिलाई मान्न सकिन्छ ।
लिम्बू जाति सम्बद्ध इतिहासकारहरूले लिम्बूवानका पछिल्लो कालखण्डमा थुमथुममा विभाजित विभिन्न आपुङ्गी राज्यहरूको नामाकरण तथा सिमाङ्कनका बारेमा विभिन्न मत र तर्कहरू उल्लेख गरेका छन् । खासगरी फेदाप राज्य कसरी थुमको रूपमा परिवर्तित भयो ? भन्ने विषयमा स्पष्ट इतिहास पाईंदैन, यद्यपि उ बेलाका लिम्बूवानका भुरेभारे राज्यहरू संघात्मक ढाचाँका हुँदाहुँदै पनि आपुङ्गी हुन्थे । आपुंगीको अर्थ आफु खुसी गर्ने भन्ने हुन्छ । उ बेला डाँडैपच्छिे भुरेटाकुरे आपुंगी लिम्बू राज्यहरू थिए । अहिले पनि लिम्बूहरूलाई हियाएर भन्नुपर्दा– ‘आपुङ्गी’ नै भन्ने गरिन्छ । अझ विजयपुर राज्यका बारेमा त ‘लथालिङ्गे राजाको भताभुङ्गे दरबार, आपुङ्गी राजाको ठुटे तरवार !’ भन्ने नकारात्मक टुक्का प्रचार गरिएको पाईन्छ । सारांशमा लिम्बूवानका भुरेटाकुरे स्वतन्त्र राज्य र रजौटाहरू आपुंगी अर्थात आफ्नो मर्जीमा स्थापित र सञ्चालित थिए भन्ने बुझ्न सकिन्छ । यस्ता राज्यहरू कुनै खास वंश वा वंश समूहद्वारा स्थापित तथा सञ्चालित हुन्थे । फेदाप राज्यको उत्पत्ति पनि माथि उल्लेखित प्रक्रियाबाटै फेदाप वंशले शुरु गरेको आपुंगी राज्यको निरन्तरता हो भन्नमा कुनै द्विविधा छैन । फेदाप नामाकरण कसरी भयो ? फेदाप भन्ने शब्दले कुन कुराको प्रतिनिधित्व गर्छ ? भन्ने तथ्यहरू यस्ता छन्–
१. “किरात लिम्बू भाषामा ‘फेसुम फेयाताप’ भन्नाले ढाल, तरवार, खुँडा, खुकुरी र बन्दुक जस्ता अस्त्र राख्ने भण्डार वा कोतखानालाई बुझाउँछ । फेयाताप जस्ता अस्त्रहरू प्रयोग गरेर स्थापित गरिएको विजय भूमिको नाम फेदाप रहन गयो ।” (तुम्बाहाङफे २०६३ः १६)
२. “अर्काे मत अनुसार ‘फे’ भनेको खुकुरी खुर्पाले ‘दाप’ भनेको बोटविरुवा लहराहरूले जेलिएको घना जंगललाई ढालफाँड गरेर आवाद गरिएको जमिनलाई फेदाप भनियो ।” (तुम्बाहाङफे २०६३ः १६)
३. “सेङसेङगुम फेदापहाङ फेदाप जिल्लाका राजा निर्वाचित भएका थिए, जसले पोक्लाबाङमा आफ्नो किल्ला बनाए र पोङयाङगु, निङलेकु, सोङबाङफे, पाङगेनहाङ, कावेपुङ, फोम्बो, चोङवाङ र अन्य जातिहरूमाथि शासन गरे ।” (Chemjong 2003: 53)
४. ‘फेदाप एक प्रसिद्ध चट्टान र गुफाको नाम हो, जुन शरतचन्द्र दासले भ्रमण गरेको र वर्णन गरेको छ र यस गुफाका मूल वासिन्दाहरूले आफैलाई चट्टान माने र सो चट्टान तथा जिल्ला(भूगोल)लाई उनिहरूको जातीय नाम दिए । फेदाप भाइफुट्टाहरूको देश थियो ।’ (भ्यान्सिटार्ट १८९२ः १०७)
५. ‘फेदाप भनेको किरात लिम्बू भाषामा भीर, पहरा भएको ठाउँ हो ।’ (भ्यान्सिटार्ट १८९२ः १४६)
६. ‘भूईंफुट्टा किरातहरू यस भूमिमा आएर ठाउँ खोज्दै हिंडदा ती मध्येका उक्त फेदाप नाम गरेका व्यक्ति वा फेदाप थरले यो ठाउँ वा देशमा सर्वप्रथम आवाद गरी सिमाना तोके । उसैको नामबाट यस ठाउँको नामाकरण गरे । (कुरुम्वाङ २०६८ः ३५)
७. ‘पेताप वा पेदापको मूल शब्द पे?ता हो । यसको अर्थ उडेर आउनु अर्थात दैवी शक्ति भएको मानव जो उडेर आवतजावत गर्न सक्दछ भन्ने हुन्छ । खाम्बोङबाहरूका पुर्खा पेदाप अति नै शक्तिशाली र दैवी शक्ति भएको जो उडेर आवतजावत गर्न सक्ने व्यक्ति थिए । तिनै पेतापहाङको नामबाट पेदापलाजे नामाकरण हुन गएको र कालान्तरमा पेदाप नाम अपभ्रंश भई फेदाप हुन गएको हो ।’ (सुक्वाबाः २०६५)
८. लिम्बूहरूको आगमन हुनुभन्दा पहिले फेदाप थर भएका खाम्बोङबाहरू पोक्लाबाङमा र पिप्ले अम्फुवामा बस्दथे । पिप्ले अम्फुवालाई आजभोलिसम्म पनि गाउँघरको बोली भाषामा फेदाप भन्ने गर्दछन् । ती ठाउँहरूमा छौरेहरू आउनुभन्दा अघि पहिला फेदाप थरका खाम्बोङबाहरू बस्दथे । हाल जिरीखिम्ती अम्फुवामा फेदाप थरका लिम्बूहरूको बस्ती चार घर छन् । यिनै फेदाप थरका खाम्बोङबाहरूले ओगटी बसेको भूमिको नाम फेदाप रहन गयो भन्ने कथन रही आएको छ । (तुम्बाहाङफे २०६०ः ५१)
९. यो पंक्तिकारको विचारमा– यस क्षेत्रको भित्री समथर भू–भागहरूमा र खोेलानाला, बेँसीहरूमा प्रायः विभिन्न जातका बोट–बिरुवा लहराले जेलिएको घना बाँसघारी र लहराघारी मात्रै भएकोले त्यस क्षेत्रको नाम ‘फादाप्ला’ वा ‘फेदाप्ला’ रहन गएको हुनसक्छ, जसलाई याक्थुङ लिम्बू भाषामा बाँसलाई ‘फा’ वा ‘फे’ र लहराघारीलाई ‘दाप्ला’ भनिन्छ । यसर्थ फादाप्ला वा फेदाप्ला शब्दबाट नै फेदापलाजे वा फेदाप रहन गएको हो भन्न सकिन्छ । यहाँका प्रथम भूमिपुत्र लुङबोङबा खाम्बोङबासाहरूबाट बाँसघारी र लहरै लहराले बेरिएको झाडी जंगल भएको भू–भाग वा क्षेत्रलाई ‘फादाप्ला’ भनिएको र कालान्तरमा यही ‘फादाप्ला’ शब्द अपभ्रंश भई फेदाप बनेको हो । समयक्रममा फेदाप शब्द सो भूगोल, त्यहाँका जाति र सभ्यतालाई प्रतिनिधित्व गर्दै लोकप्रिय र प्रचलित बन्न पुग्यो । यसरी फेदाप लाजेमा वसोवास गर्ने वंशलाई फेदाप र उनीहरूको आपुंगी राजालाई फेदापहाङको नामले सम्बोधन गरेको गरिएको हो ।
फेदाप वंशको पहिचान
फेदाप भन्ने शब्द निकै पुरानो हो भन्ने चर्चा माथि नै भइसकेको छ । सो फेदाप क्षेत्रको कालाबञ्जर मुलुक(जमिन/जंगल) ढालफाँड गरी मानव वस्ती बसाउने प्रथम मानव वंश खाम्बोङवा लुङबोङवाहरू नै थिए । याक्थुङ भाषामा खाङबोङवासा र लुङबोङवासाको अर्थ माटो र ढुंगाका सन्तानहरू भन्ने अर्थ लाग्छ । यसको अर्थ ती फेदापहरू यस क्षेत्रका भूमिपुत्रहरू हुन्, जसको फेदाप भूमि, फेदापका ढुंगा र माटोसंग उत्पत्तिसंगैको नाता छ । यी खाम्बोङवासा लुङबोङवासाहरू नै पेताप या पेदाप वंशका मूल पुर्खाहरू हुन् भन्न सकिन्छ । फेदाप क्षेत्रमा बसोबास गर्ने छौरे सोदेम्बाहरू आफुलाई खाम्बोङवा लुङबोङवा वंशका सन्तान ठान्दछन् । माथि बुँदा नं ८ मा इतिहासकार लीलाबहादुर तुम्बाहाङफेले भने जस्तो यक्केनावा, खाङबोङवा र छौरे सोदेम्बा वंशहरू छुट्टाछुट्टै नभई एउटै वंश हुन्, यसमा कुनै सन्देह छैन । छौरे सोदेम्बा वंश निर्माण भएको समय त करिब ४०० बर्ष(१५ पुस्ता) अगाडि मात्र हो । सो समयभन्दा अघि छौरेहरू नै फेदापवंशी भनिन्थे । तर उनले भने जस्तो दस लिम्बूवान निर्माण क्रममा पोक्लावाङका सेनसेनगुम फेदापहाङ पनि ताप्पेसो पेरुहाङकै वंश हुन सक्छन् । यहाँ के स्पष्ट हुन जरुरी छ भने– सातरे वंश फेदाप वंश होईन, यसर्थ पछिल्लो समयमा सातरेहरूको आगमनपछि सेनसेनगुम फेदापहाङका सन्तानहरू आफ्नै पुख्र्यौली भूमि थलायकतर्फ फर्केका हुन सक्छन् ।
फेदाप राज्यको नामाकरणको बारेमा थुप्रै मत र तर्कहरू रहेका भए पनि सौमरवंशी लुक्थुयो र भाइफुट्टाहाङका सन्तानहरू सिङमाङगढबाट फेदापमा प्रवेश गर्न अगाडिदेखि नै यस क्षेत्रमा यहाँका लुङबोङवा खाम्बोङवासाहरूले ढालफाँड गर्दै आवाद गरी बसोबास गर्दै आएका थिए भन्ने कुरामा चाहीं विवाद देखिदैन । यस क्षेत्रमा कालाबञ्जर भूमि ढालफाँड गरी बसोबास सुरु गराउने यिनै खाम्बोङवा फेदापहरूको प्रथम पुरुष, सरदार या मुखियाको नाम पेताप या पेदाप रहेको र उनकै नामबाट नै यस भूगोलको नाम फेदाप रहन गएको हो भन्ने मान्यता रहँदै आएको छ । यस्ता नाम र थरबाट स्थानहरूको नामाकरण भएको धेरै उदाहरणहरू पाइन्छन्, जस्तै– मुङमोरङवाबाट मोरङ, मनिपुहाङबाट मणिपुर, दिम्बापुहाङबाट दिमापुर, विराट राजाको नामबाट विराटनगर आदि । त्यस्तै यी खाम्बोङवाहरूका सरदार (पेताप) वा पेदाप नाम गरेका आपुंगी राजा वा निजको वंशको नामबाट नै यो भूगोलको नाम फेदाप रहन गएको हो भन्ने तर्क सत्य नजिक भएको मान्न सकिन्छ ।
माथि चर्चा गरिएको फेदाप लिम्बू वंश वा थर हाल लोप हुने अवस्थामा छ । तेह्रथुमको म्याङलुङ नगरपालिकामा पर्ने अम्फुवा वेँशीमा चार घर परिवार मात्र अस्तित्वमा रहेका छन् । उनीहरूले आफुलाई फेदाप वा फेदापहाङका वंशका रूपमा चिनाइरहेका छन् । यी फेदाप लिम्बूहरूको बसोबासको भूगोल, संस्कार/संस्कृति र रक्त सम्बन्धका हिसाबले यिनीहरू फेदाप(खाम्बोङबा लुङबोङबा) लिम्बूहरूको वंशज हुन सक्ने प्रवल सम्भावना देखिन्छ । यद्यपि केही मानिसहरूको मतमा यीनीहरू फेदक थरका लिम्बूहरू हुन्, जो आठराई क्षेत्रबाट कुनै कारणवश पलायन भएर फेदापमा वसोवास गर्न आइपुगेका हुन् । तर यो तर्क त्यति उचित छैन, किनकी यस क्षेत्रका मूल वासिन्दा छौरे सोदेम्बाहरूले यस वंशलाई आफ्नो मूल वंश ठान्दछन् । यो वंशसँग हालसम्म पनि छौरे सोदेम्बाहरूको दोहोरो कुटुम्बेरी नहुनाले भैयाद वंश हुन सक्ने अर्को दह्रो प्रमाण मान्न सकिन्छ । बरु भ्यान्सिटार्टले यो वंशभित्र फेदक होईन फेयक (FEYAK) थरी लिम्बू भएको संकेत गरेका छन् । छौरे परिवारभित्र लोपोन्मुख अवस्थामा रहेका तीन वटा वंशमा फेदाप, अङलिङ र योङहिम्बा पर्दछन् । उनीहरूको घरधुरी संख्या ४/५ भन्दा बढी छैनन् । उनीहरूको वंश लोपोन्मुख हुनाका कारणहरू धेरै हुन सक्दछन्, जस्तै– कुनै विशेष प्राकृतिक घटना, युद्ध, आन्तरिक द्वन्द्व, सांस्कृतिक विचलन, वंश पलायन वा वंश विलयन आदि । यद्यपि फेदाप वंश चाहीं छौरे वंश बन्नुभन्दा अघिको वंश हो । यस अर्थमा फेदाप वंश ६०० वर्षभन्दा पुरानो मान्न सकिन्छ । यति लामो अवधिमा यो वंशको आरोह अवरोह कसरी भयो होला ? भन्ने अध्ययन नगरी यसै भन्न सकिन्न, तैपनि यो वंश छौरे सोदेम्बाभित्रकै मूल हाँगो मध्ये एक हो भन्ने मान्यता उनिहरूको छ ।
प्राचीनकालका यिनै खाम्बोङवा लुङबोङवा वंशीय फेदापहाङका सन्तानहरू फैलिदै जाने क्रममा थुप्रै वंशहरू बन्ने क्रममा सोदेम्बा मिङस्रा पनि बन्यो । हाल उही सोदेम्बा मूल थरबाट विभिन्न सङ/सुमा(उपथर)मा विभाजन भई ६ थरी सोदेम्बाहरू यसै भू–भागमा बसोबास गर्दै आइरहेका छन् । बोलीचालीको भाषा यो वंश समूह(मिङस्रा)लाई छौरे सोदेम्बा भन्ने गरिन्छ । प्रसिद्ध ब्रिटिस इतिहासकार ईडेन भ्यान्सिटार्टले आङबुङ, फुदुङवाङ, तेयुङ, कङवा, सुक्वाबा, तोकलेङक्या, फेयक, तेगोबा, उङलिङबा, योहिम्बाङ आदिलाई सिङजाङगो(फेदाप) वंश समूहको रूपमा उल्लेख गरेको पाईन्छ ।(भ्यान्सिटार्ट १९१८ः १२१)
भ्यान्सिटार्टले उल्लेख गरेको फेदाप सिङजाङगो वंश
वास्तवमा यो वंशको सिङजाङगो वंश मूल वंश(मिङस्रा) नभई फेदाप वंशभित्रको एक हाँगो वंश वा थर(सङ वा सुमा) मात्र हो । यसको मूल वंश चाहीं छौरे सोदेम्बा नै हो । मानव जातिका भिन्न भिन्न वंशहरूमा नयाँ वंश बन्ने, विलयन हुने, मासिने वा थपिने यस्ता क्रिया प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । यो प्रक्रियाबाट सोदेम्बा वंश पनि अछुत रहेको छैन । यो मिङस्राभित्र थुप्रै नयाँ वंशहरू बन्ने, पुराना वंश लुप्त हुने, पलायन हुने र विलयन हुने क्रम जारी रहेको पाईन्छ । यसर्थ भ्यान्सिटार्टको भनाईलाई नकारी हाल्न मिल्ने अवस्था देखिदैंन, बरु असहजै भए पनि इतिहासको यो कडीलाई स्वीकार नगरी हाल माथि उल्लेखित वंशहरू मध्ये आङबुङ र तेयुङले सातरे वंश समूहमा र कङवाले खादी वंश समूहमा आफुलाई उभ्याएका छन् भने फेदाप वंश चाहीं लोपोन्मुख वंशको रूपमा सोदेम्बा वंशभित्र नै रहेको छ । बाँकी फुदुङवाङ, सुक्वाबा, तोकलेङक्या, थेगुबा, अङलिङ, योङहिम्बा आदि चाहीं सिङजाङगो वंश समूहको सट्टा सोदेम्बा वंश समूहको रूपमा परिचित भएका छन् । माथि उल्लेखित वंशहरू मध्ये पछिल्लो कालखण्डमा छुट्टिएका थक्लेङ, थेगुवा, फुदुङ, सुक्वाबा, अङलिङ र सिङजाङगोहरूलाई छौरे वंशको रूपमा चिनिन्छ । यिनै छौरे सोदेम्बाहरूका पुर्खाहरूले स्थापना गरेको फेदाप राज्यको सिमाना पूर्वमा लिम्बूवानको याङवरक, पश्चिममा सुम्बेत्लुङ, उत्तरमा तमोर र दक्षिणमा छथर तथा पाँचथरको नुवो दक्षिणसम्म रहेको थियो । आठौं शताब्दिको अन्त्यतिर सावायेत्हाङ(आठ आपुङगी राजा)हरू र थिबोङ याक्थुङहाङ(दश लिम्बू सरदार)हरू बीचको सशस्त्र युद्ध भएको थियो । यस युद्धका कारण विशाल फेदाप राज्य दश राज्यहरू बन्ने क्रममा छिन्नभिन्न भई कम्तिमा चार टुक्रा भएको थियो भने समस्त लिम्बूवान दस विभिन्न राज्यहरूमा विभाजित भएको थियो ।
फेदाप प्रवेश गर्ने नयाँ वंशहरू
फेदाप क्षेत्र प्राचीनकालदेखि नै मानव बसोबास भएको क्षेत्र भएकाले यहाँ विभिन्न भूगोलबाट विभिन्न जातजातिका मानिसहरू आइपुगे । सौमरवंशी किरात सरदार लुक्थुयोको समूह सिङमाङगढबाट विजुगखोला गढतीर हुँदै फेदापमा प्रवेश गरेको थियो । हाल यो वंश समूहको फेदाप क्षेत्रमा बसोबास छैन, बरु मैवाखोला क्षेत्रमा आवाद भएको देखिन्छ । त्यस्तै सेच्छेरे सेनिहाङ वंश समूहले पनि फेदापमा राज्य गरेको दावी गरेका छन् । उनिहरूको मतमा दस लिम्बू राज्य स्थापना कालका सेनसेनगुम फेदापहाङ उनिहरूकै राजा थिए, तर यो दावी त्यति विश्वसनीय छैन । सेनिहाङ वंशको आगमन मार्ग कोसी नदी आसपासबाट चौबीस क्षेत्र हुँदै पाँचथरतर्फ गएको देखिन्छ । उनिहरूकै एक हाँगो तमोर नदी किनार हुँदै सिनाम पुगी थेबे वंश निर्माण भएको देखिन्छ । फेदाप क्षेत्रमा भने सेने, सेनी वा सेनेहाङ थरले चिनिने सुङनाम गाउँमा बसोबास गर्ने सानो लिम्बू समूह सेनिहाहाङ वंशकै हाँगा हुन् भन्ने मान्यता रहिआएको पाईन्छ । फेदाप प्रवेश गर्ने अर्काे ठूलो समूह ईङनाम्फे वंश समूह हो । कालान्तरमा यसको ठूलो हिस्सा पाँचथरमा गएर पापो वंश र चौबीस ईलाकामा ईवा वंशका रूपमा विकसित भएको देखिन्छ ।
फेदापमा आएर सर्वाधिक फैलिएर बस्ने अर्काे आगन्तुक वंश सातरे वंश समूह हो । यो वंश समूहभित्र हाल बीसभन्दा बढी वंशहरू एकीकृत भएका छन् । यो वंश समूह आफुलाई ताई वा श्यानवंशी मान्दछ । विजयपुरका राजा विजयनारायणको वंश र सातरे वंश कोच घरानाका मानिन्छन् । सबैभन्दा पछिल्लो कालखण्डमा फेदाप आइपुग्ने वंश आठराइको कन्दङवा वंश मानिन्छ । कन्दङवाहरूका पुर्खा टटुवा राईले फेदापका आतहाङ राईसंग ‘हाङगर हाङदङ, सुभागर सुभादङ’ भनेर सातरे वंशसंग शक्ति संघर्ष गरेको देखिन्छ । (तुम्बाहाङफे २०६३ः १९)
फेदाप र पेललुङ यक
खाङबोङवा लुङबोङवाहरूका विभिन्न समूहहरू मध्ये ताप्पेसो पेरोहाङका आदिम पुर्खा पेदाप (फेदाप) नै फेदापको पेललुङ फुक्कु (ओडार) भीरको ठूलो ओडारमा देखापरेको वा आएर बसेको किंवदन्ती छ । यही ओडार र यो ओडारमाथिको डाडाँ पेललुङ यकलाई ताप्पेसो पेरोहाङका सन्तान छौरे सोदेम्बाहरूले आफ्नो माङगेन्ना यक, थामरुङ, लुङधुङ फुक्कु (उत्पत्तिको ओडार)को रूपमा मान्दै आएका छन् । यस क्षेत्रमा फेदाप वंशको बसोबासका आधारमा यस भूगोलमा आवाद हुने प्रथम मानव समूह भएको अनुमान गर्न सकिन्छ । उनीहरूले नै यहाँका वन जंगल ढालफाँड गरी स्थायी बसोबास गर्न शुरु गरेको हो भन्ने भनाई रहेको छ । कालान्तरमा यी खाम्बोङबा लुङबोङबाहरूका सन्तानहरू नै चारैतिर फैलिएर फेदाप राज्य निर्माण भएको हो भन्ने अनुमान गर्न सकिन्छ । उ बेलाका खाम्बोङबाहरूको सन्तान पेदापहरू अम्फुवा र आम्देन बिचको हाल मेयङलुङ नगरपालिका वडा नं. ५ साबिक अम्फुवा गा.वि.स वडा नं. १ पित्लङवा (पिंगुवा) खोला नजिकैको पेदाप फुक्कु (ओडार)मा बस्दथे भन्ने जनश्रुति रहेको पाइन्छ । यो ओडार अद्यावधि छँदैछ र स्थलगत अवलोकन गर्न पनि सकिन्छ ।
धेरै जसो खाम्बोङवा लुङबोङवाका सन्तानहरू फेदाप समूहबाट छुटेर पेललुङ फुक्कु वरिपरि बसोबास गरिरहेका थिए । यही समयतिर दक्षिण पश्चिमबाट आएका अन्य जातिहरूले फेदाप वंशमाथि आक्रमण गरेका थिए । फेदापहरू र भाइफुट्टाहरूको बीच भएको भीषण लडाईंमा अत्यन्त धेरै मानवीय क्षति भएको स्थानीय बुढापाकाहरूको भनाई सुन्न पाईन्छ ।
भीरको टुप्पाबाट फेदापहरूले भाइफुट्टा र नागाहरूको समूहमाथि पहिरो लडे झैं गरेर ढुंगाहरू लडाउने गर्दथे र ओडारबाट फेदापहरूले असिनाको बर्षा झैं ढुंगा बर्षाउँदा ओडारको मुखबाट निस्केर आकाशमा ढुंगाको बर्षा उडेर आक्रमणकारीहरूमाथि बर्सने गर्दथ्यो । त्यसैले सो भीरको ओडारलाई ‘पेललुङ ओडार’ वा (पेललुङ फुक्कु) भनिएको हो भन्ने किंवदन्ती छँदैछ । लिम्बू(याक्थुङ) भाषामा ‘पेललुङ’ को अर्थ ‘ढुङगाहरू उडेर निस्कनु’ हो । अर्को कथन अनुसार भाइफुट्टाहरू र फेदापहरूको यस घमासान लडाईंमा फेदापहरू पेललुङ ओडार (पेलङ फुक्कु)बाट बाहिर र भित्र पस्ने र निस्कने क्रममा उडे झैं गरेर बाहिर र भित्र निस्कने र पस्ने गर्दथे । यो दृश्य देख्दा मान्छे नै उडे झैं देखिन्थे । त्यसैले नै यस ओडारको पेलेलुङ यक(पिल्लिङ यक) र यस ओडारको नाम ‘पेललुङ फुक्कु’ रहन गएको हो भन्ने जनश्रुति छ । पेलन, पेलङ वा पेदापको याक्थुङ भाषामा यसको अर्थ उडेर निस्कनु र उडेर आउनु हुन्छ । यसरी पेलङबाट पेदाप र पेदापका राजा पेदापहाङ वा फेदापहाङ नामाकरण हुन गएको हो भन्ने अनुमान गर्न सकिन्छ । फेदापहरूसंगको लडाईंमा धेरै भन्दा धेरै भाइफुट्टा वा भूईंफुट्टा जातिका लडाकुहरू मारिएका र उनीहरूको लाशको हड्डीहरू र हड्डीका अवशेषहरू ओडार र भीरहरूमा जताततै केही बर्ष अघिसम्म देख्न पाईन्थ्यो ।
पेललुङ थेगु र पेललुङ फुक्कु
पेललुङ थेगु क्षेत्रमा भएको भीषण युद्धबाट बचेर केही भाइफुट्टाहरू नुवो दक्षिण पश्चिमतिर भागे । यसरी पोक्लावाङबाट विस्थापित भएर जाने थुप्रै वंशहरू मध्ये एउटा कोयोङवा वंश पनि हो । हाल यो वंशका मानिसहरू दस मझिया क्षेत्रमा याक्खा जातिकै एक वंश भएर बसोबास गरिरहेका छन् । केही भाइफुट्टाहरू पित्लङ थेगु वा हालको पिलिङ डाँडा र पित्लङवा वा पिङगुवा खोलाको दोभानको माथिल्लोपट्टिको भीरको ओडारमा लुकेर बसेको अवस्थामा खाम्बोङवा लुङबोङवा(फेदाप)हरूले त्यही ओडारको मुखमा ढुंगाको पर्खाल लगाई दिए । भाइफुट्टाहरू ओडार बाहिर आउन नसकेका कारण ओडारभित्र नै मरेका हुन् भन्ने स्थानीय बुढापाकाहरूको भनाई र जनश्रुतिहरू सुन्न पाईन्छ । खाम्बोङवा लुङबोङवा(फेदाप)हरू यही फेदाप फुक्कु र पेललुङ फुक्कुमा देखा परेको वा आएर बसेको र यही ओडार(फुक्कु)बाट फेदापको वरिपरिको भू–भागहरूमा बस्दै आफ्नो जीवनयापन शुरु गरेकाले यस पेललुङ फुक्कु वा ओडार रहेको स्थानलाइ खाम्बोङवा लुङबोङवा वंशी फेदाप ताप्पेसो पेरोहाङका सन्तान छ भाइहरूले थामरुङ वा लुङधुङको रूपमा मान्दै आएका छन् । हाल पेललुङ नाम अपभ्रंश भई पेलेलुङ, पिल्लिङ थेगु, पिप्ले, जोगी डाडाँ तथा पुरान डाडाँ आदि विभिन्न नामले पनि चिनिन्छ । तर यहाँ आवाद भएका खाम्बोङवासा लुङबोङवासाहरू यहाँ देखा पर्न अगाडि कहाँबाट आएका हुन् ? र उनिहरूको उत्पत्ति कहाँ हो ? भन्ने कुरा अनुसन्धानकै विषय रहेको छ ।
पेरोहाङको पितृ यकः थक्ला यक (थला यक)
थक्ला यक (थला यक)
अहिले सबैले भन्ने गरिएको थालडाडाँ वा थलायक ऐतिहासिक कालखण्डमा थक्लायक ताप्पेसो पेरोहाङका आदिम पुर्खा खाम्बोङबा लुङबोङबाहरूको पाङयक(घडेरी) रहेको थियो । यो थक्लायक हालको मेयङलुङ नगरपालिका वडा नं. १ को थालडाडाँ वा खुर्खुट्टे डाडाँ(थक्केप्ला थेगु)लाई मानिन्छ । यस यकमा नव आगन्तुक जातीय समूहहरूको बारम्बारको आक्रमण भइरहेका कारण खाम्बोङवा लुङबोङवा(फेदाप)हरू असुरक्षित महसुस गरेर पेलेलुङको आसपास क्षेत्रबाट सुरक्षित स्थानहरूको खोजी गर्दै त्यहाँदेखि उत्तरपट्टिका भीर, पहरा र डाडाँहरू थक्लाथक्केप्ला थेगु)को आसपासमा बसाईं सरेका थिए । उक्त बसाई सर्ने क्रममा थक्लायकदेखि पूर्वपट्टिको भीरको ओडार र यसका आसपासका क्षेत्रलाई भौगोलिक रूपमा नै सुरक्षित भएकोले सो क्षेत्रमा ढुंगाका पर्खाल लगाई स्थायी वासस्थान(पाङयक) बनाई यस क्षेत्रका वरपर स्थायी रूपमा बसोबास गर्न थालेको देखिन्छ । यस क्षेत्रहरूमा पर्खालका केही अवशेषहरू अझै पनि देख्न सकिन्छ ।
हाल यो स्थानलाई थालडाडाँ, खुर्खुट्टे डाडाँ, थक्केप्ला थेगु, थला थेगु र थला यक आदि विभिन्न नामहरूले चिन्न सकिन्छ । वास्तवमा यस स्थानको नाम थलायक, थाल डाडाँ, खुर्खुट्टे डाडाँ नभएर थक्लायक वा थक्ला थेगु हो । याक्थुङ भाषामा थक्केप्लाको शाब्दिक अर्थ झारघारी हुन्छ, अर्थात थक्केप्ला थेगु को अर्थ कुरेझार भएको डाडाँ हो । फेदाप लिम्बूवानको धेरै जसो स्थानहरूको नामाकरण यसरी नै भएको पाइन्छ । जस्तै– पक्ला, आङला, तुम्फुङला, सिङला, इसेबुङ, खाम्लालुङ इत्यादि । यही थक्केप्ला शब्द नै अपभ्रंश भई थक्केप्लाबाट थक्ला, थक्लाबाट थला, थलाबाट थाल डाडाँ भन्न थालिएको हो । यस स्थान वा थक्लायकलाई खाम्बोङवा फेदाप ताप्पेसो पेरोहाङका पुर्खाको यक वा पाङयक भएकाले यस स्थानलाई ताप्पेसो पेरोहाङका सन्तानहरूले आफ्ना पुर्खा मुयादिङका सन्तान छौरेहरूको पाङयक र फेदाप सभ्यता निर्माण भएको केन्द्रको रूपमा लिने गर्दछन् । खाम्बोङवा लुङबोङवा(फेदाप)हरू फेदाप फुक्कु, पेललुङ फुक्कु, पेललुङ यक हुदै थक्ला यक वा थालडाँडा वरिपरिको भू–भागहरूमा बस्दै आफ्नो स्थायी रूपमा जीवनयापन शुरु गरेकाले यस थक्केप्ला, थक्ला, थला, थाल यक रहेको स्थानलाइ खाम्बोङवा लुङबोङवा फेदाप ताप्पेसो पेरोहाङका सन्तान छ भाइहरूले माङगेन्ना यकको रूपमा पनि मान्दै आएका छन् । यिनै पेदाप वा फेदापका सन्तानहरू फेदापको भूमिमा फैलिएर हालसम्म पनि बसोबास गरिहेका छन् । (सुब्बा स्व.वागवीर सुक्वाबाः १९५६–२०४२)
यक्के नावा फुक्कु (खुर्खुट्टे ओडार)
तत्कालिन समयमा फेदापको सिमाना पूर्वमा लिम्बुवानको याङवरक, पश्चिममा अरुण, उत्तरमा तमोर र दक्षिणमा छथर, पाँचथर नुवो दक्षिणसम्म फेदापको सिमाना रहेको थियो । इतिहासकार ईमानसिंह चेम्जोङका अनुसार– सौमरवंशी लुक्थुयोका वंशहरू सिङमाङगढबाट फेदापमा प्रवेश गर्न अगाडि नै यस भूगोलमा लुङबोङवा खाम्बोङवाहरू बसोबास गर्दै आइरहेका थिए । सिङमाङगढबाट आएका सौमरवंशी लुक्थुयोका सन्तानहरूको संख्या ठूलो थियो । स्थानीय भाइफुटाहाङ वंशसंग केही समय युद्ध भएपछि एकै वंश भई फेदापमा अधिकार जमाए । फेदाप क्षेत्रमा बसोबास गर्ने खाम्बोङवाका प्रमुखहरूलाई उनलाइ उपहार चढाएर आफुहरू स्थानीय सामन्तको रूपमा स्वायत्त राज गरी बसेका थिए भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ । यो वंशले ईशाको ३०० बर्षसम्म शासन चलाएको र अन्तिम राजा साम्युकहाङ भएको पाइन्छ । तर ती भाइफुट्टावंशीहरू को हुन् ? र अहिले कता छन् ? भन्ने बारेमा त्यति भरपर्दाे जानकारी पाउन सकिएको छैन । मैवाखोला क्षेत्रका फागो वंशले आफुलाई भाइफुट्टावंशी मानेका छन् । उनिहरूको बसोबासको भूगोल मैवाखोला क्षेत्र हो । हाल फेदाप क्षेत्रमा आफुलाई भाइफुट्टावंशी हौं भन्ने कुनै लिम्बू समुदाय पाईएको छैन । यसकारण उपर्युक्त वंश फेदाप सम्बद्ध रहेको पुष्टि हुँदैन, बरु साम्युकहाङको राजधानी लिवाङमा रहेको र उनी नाल्बो गाउँमा मारिएका हुन् भन्ने मिथक पनि सुन्नमा पाईन्छ ।
यकथेगु र तिल्लिङहरूसंगको युद्ध
फेदाप क्षेत्रको विशिष्ट भौगोलिक वनावटले गर्दा पूर्व पहाडी क्षेत्रको अति सामरिक महत्वको (इम्बिरि याङदाङवा) तमोर नदीको उत्तरमा तिब्बत र दक्षिणको समतल भू–भाग तराइलाइ जोडने हुँदा खुवालुङबाट पूर्व पहाडी क्षेत्रमा प्रवेश गर्ने र उत्तरी तिब्बतबाट दक्षिणी भू–भागहरूमा प्रवेश गर्नको लागि अति सहज मार्गको भएकोले फेदाप प्रान्त नयाँ आगन्तुकहरूको लागि आकर्षणको क्षेत्र बन्यो । थक्लायक, पेलेलुङयक, खरङवा खोलाको छेउछाउको तान्दिवक्पा आदि स्थानहरू सामरिक दृष्टिकोणहरूबाट सुरक्षित थिएनन् । खाम्बोङबा लुङबोङबाहरूले थक्लायक थेगु आफ्नो समूहको लागि सुरक्षित स्थान भएकाले यही थक्ला थेगुलाई आफ्नो पाङयक बनाई स्थायी रूपमा बसोबास गर्न थाले । त्यस क्षेत्र वरिपरि वसोबासको क्रममा खोला र गढतीरहरूका यकहरूमा भाइफुट्टाहरूले वारम्वार दुःख दिइरहने र नयाँ आगन्तुक शत्रुहरूले बारबार आक्रामण गर्ने गरेकाले पेरोहाङका सन्तानहरूले आफ्नो सुरक्षाको लागि त्यस आसपासका क्षेत्रहरूको भीरपहरा र डाडाँहरूमा पनि स साना यकहरूको रूपमा तेक्वा तलङ यक, पित्लङ यक र यक थेगु गढी यक जस्ता स साना फेचुवा यक या गढहरूको निर्माण गरेका थिए ।
यक थेगुको भग्नावशेषहरू
सोह्रौं शताब्दिको शुरुतिर नुवो पश्चिम उत्तरी छथरबाट मुबेरु तिल्लिङहरूले कालिमाटी, सोल्मा र पित्लङवा आसपासका क्षेत्रहरूमा घुसपैठ गरी बारम्बार दुःख दिईरहने गर्दथे । यसरी बारम्बार दुःखको अन्त्य गर्न सातराय मध्येका कुरुम्बाङहरूको सहयोगमा छौरे सोदेम्बाहरूले तिल्लिङहरूलाई पराजित गरी स्थायी रूपमा नुवाखोला नघाएका थिए । यसै ताकाका युद्ध गर्ने क्रममा छौरेहरूले थक्ला यकबाट नजिकैको उत्तरपट्टिको डाडाँहरूमा आफ्नो सुरक्षा र शत्रुसंग बच्नको लागि स–साना यकहरू वा गढहरू पनि निर्माण गरेका थिए । केही लेखकहरूले यस थेगुलाई तिल्लिङजङ्गु यक भनेको पाईन्छ, तर यो सत्य होईन किनकी यस क्षेत्र तिल्लिङहरूको भूमि नै होईन । बरु यो यक थेगुलाई फेदापहाङका सन्तानहरूले नाहाङमा यकको रूपमा सम्मान गर्दछन् ।
यी गढीहरू मध्ये मेयङलुङ नगरपालिकाको पिप्ले गाउँमा अवस्थित ऐतिहासिक महत्व बोकेकोे ‘यक थेगु’ (गढी डाडाँ) पनि एउटा हो । हाल यो गढी अति जीर्ण अवस्थामा रहेको छ ।
येपिच्चाटारको कथा
येपिच्चाटार(आलेटार) पिप्ले
यकथेगुबाट अन्दाजी १५० मिटर पश्चिमतिर तल येपिच्चाटार(आलेटार) भन्ने सानो मैदान छ । यही स्थानमा सोह्रौं शताब्दिको शुरुतिर छथरे तिल्लिङहरू र छ राय सोदेम्बाहाङका वंश विचमा भीषण युद्ध भएको इतिहास पाइन्छ । यस भीषण युद्धमा सोदेम्बाहरूका छ भाइहरूको फौज र मुवेरु तिल्लिङहरूका बिचमा भयानक युद्ध भएको थियो । यस भीषण युद्धमा मान्छेको शरीरको हड्डी उछिट्टिने गरी काटाकाट मारामार भएकोले यस स्थानलाइ ‘येपिच्चा’ भनिएको हो । येपिच्चाको याक्थुङ/लिम्बु भाषामा यसको शाब्दिक अर्थ हड्डी उछिट्टिनु भन्ने अर्थ लाग्छ । यही युद्धमा मुबेरु तिल्लिङहरू नराम्ररी पराजित भइ नुवाखोलापारि भागे भने उनिहरूका सरदार चाहीं हालको तिल्लिङटार माथिपट्टि भीरको ओडारमा लुकेर बसेको अवस्थामा छ रायका लडाकुहरूले समाप्त गरेका थिए ।
सो युद्धमा मारिएका मान्छेहरूको र घाइतेहरूका रगतले पूरै टार चुर्लुम्म डुबेकाले माख्खीलङवा वा माख्खी आहाल/टार भनिएको हो । अठारौं शताब्दिको शुरुतिर पश्चिम नेपालबाट आएका खस ब्राह्मणहरूसंगै मगर, क्षत्री, गुरुङ, भुजेल दमाई, कामी तथा सार्की जातका मानिसहरू पनि पूर्व नेपालमा आएका थिए । वि.सं. १८३१ पछि त पश्चिम नेपालका माथि उल्लेखित जातिहरू गोर्खाली लडाका वा भारवाहकहरूका रूपमा हूलका हूल आएर लिम्बूवानमा बसोबास गर्न थालेका पाइन्छ । पछिल्लो कालखण्डमा यिनीहरूसंगै आएका आले मगर जातको व्यक्तिलाई त्यस मैदान वा चौरमा केहि बर्ष बसोबास गर्न दिइएकाले सो स्थानलाई आलेटार पनि भन्ने गरिन्छ । येपिच्चाटारलाई माख्खीलङवा, आहालटार र आलेटारको नामले पनि चिन्ने गरिन्छ । (रन्धोज सुक्वाबा १९९३–२०७७)
माखि लेक्वाःलुङ (पोतेको ढुंगा)
माख्खिलेःवा लुङ, लुङनामफुङ(पाटीगाउँ)
येपिच्चाटारको युद्धमा मुबेरु तिल्लिङहरू पराजित भई भागिसकेपछि छौरे सोदेम्बाहरूका लडाकुहरूले आफ्ना ढाल, तरवार, खुँडा, खुकुरी र हातहतियारलाई एउटा ढुंगामा राखेर धोई पखाली गर्दा सो ढुंगा रगतले पुरै रंगिएकाले सो ढुंगालाई माख्खीलेःवालुङ भन्ने गरिन्छ । याक्थुङ लिम्बु भाषामा माखिलेक्वा लुङ शब्दको अर्थ रगतले पुरिएको वा पखालिएको ढुंगा भन्ने हुन्छ । मुबेरु तिल्लिङहरूसंगको युद्धको क्रममा घाइते भएका छौरे लडाकुहरूलाई यही ढुंगाको मुनिपट्टिको ओडारमा राखी औषधि उपचार गरिएको थियो भन्ने जनश्रुति रहिआएको छ । यही समयदेखि नै लडाईंमा घाईते भएका, झगडामा काटाकाट गरेका, रुख तथा भीर आदिबाट लडेर हातखुट्टा भाँचिएका मानिसहरूलाई यस स्थानमा ल्याएर औषधि उपचार गर्दा चाँडो निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यो प्रचलन केही बर्ष अघिसम्म पनि चलिरहेको थियो । पछिल्लो समयमा यो ढुंगाको ओडारमुनिको भागमा स्थानीय मानिसहरूले यो ओडारको ढुंगालाई रातोमाटो र सेतो माटोले पोतेर पूजा गर्न सुरु गरेकोले यस ढुंगालाई ‘पोतेको ढुंगा’ भन्ने गरिएको हो । यो ‘माख्खिलेःवा लुङ’ पाटीगाउँको टुक्रेबजार छेउमा अवस्थित छ ।
तेक्वा तलङ वापाक अर्थात बाजे कुवा
आधुुनिक कृषि युगको आरम्भ भएपछि आदिवासी खाम्बोङबा लुङबोङबाहरूले त्यो सुसुवादेनलाई मूल बसोबासको स्थानको रूपमा विकास गरी आवाद गरेका थिए । खाम्बोङबा लुङबोङबाहरू उक्त पेललुङ फुक्कुको ठूलो ओडार वरिपरि आएर बसेको र यही ओडार वरिपरिका भीरपहरा, ओडार, वनजंगल तथा खोलानालाहरूका छेउछाउमा धेरै बर्ष बिताएको अनुमान गर्न सकिन्छ । जब मानव जातिहरू समूह समूहमा बस्ने थाले, तब आफ्नो परिवार र समूहको सुरक्षा गर्न समूह बनाएर काम गर्न थाले । सिकार गर्ने समयदेखि यहाँ वरिपरिका जंगलहरू ढालफाँड गरी स्थायी बसोबास गर्न शुरु गरे । समय क्रमसंगै खाम्बोङबा लुङबोङबाहरूका सन्तान वृद्धि भएर एउटा विशाल जातिको निर्माण भएको थियो । लिम्बू जातिभित्रको करिब एक चौथाई जनसंख्या यही खाम्बोङबा लुङबोङबाहरूका सन्तानहरू नै हुन् भन्ने विश्वास गरिन्छ । सुसुवा तेक्वा तलङ यकको केही पूर्वमा पानी खाने एक प्राचिन कुवा रहेको छ । खाम्बोङवा र लुङबोङवाहरू फेदापको पेललुङ फुक्कु आसपासका क्षेत्रहरूमा बसोबास गर्ने क्रममा खाम्बोङवा लुङबोङवा फेदापहरूले यहि कुवाको पानी पिउने गरेका थिए भन्ने भनाई रहिआएको छ । यो प्राचीन कुवालाई नै ‘तेक्वा तलङ कुवा’(तेक्वा तलङ वापाक)लाई ‘बाजे कुवा’ पनि भन्ने गरिन्छ । वि.सं. १९९० सालसम्म यो कुवा प्राकृत अवस्थामा नै रहेको र वि.सं. २०४५ सालको भू–कम्पले सो कुवामाथिका पहरा र ढुंगाहरू हल्लाएर निकै क्षति पु¥याए पनि साविककै अवस्थामा सो कुवा अद्यावधि छँदैछ । स्थानीय वासिन्दा बमबहादुर तामाङका अनुसार यो कुवा धेरै धेरै पुरानो हो । उहिले यहाँ बसोबास गर्ने फेदाप वंशका मानिसहरूले उपयोग गरेको पानीको कुवा हो भन्ने कुरा सानै उमेरमा सुनेको बताउँछन् । यो बाजे कुवा हाल मेयङलुङ नगरपालिका साविक पिप्ले गाबिस–४ पिल्लिङ डाडाँ सुसवादेन भन्ने ठाउँमा अवस्थित छ ।
सुसुवा हाङचुम्लुङ सुसुवा खायल(पाङयक)
सुसुवा हाङचुम्लुङ सुसुवा खायल(पाङयक)
सोह्रौं शताब्दितिर छौरे सोदेम्बाका सन्तानहरू छुट्टिएर विभिन्न स्थानमा गई बसोबास गर्न थाले । जेठा थेगुबा पित्लङ थेगु, माईला सिङजाङगु दाप्लादेन, साईंला थक्लेङ पुयुङदेन, काईंला फुदुङवाङ, अन्तरे अङलिङ उम्लिङखोला भने कान्छा सुक्वाबा पुर्खाको पुरानै खायल सुसुवादेनमा बसेकोले हालसम्म पनि सुक्वाबाको किपट सुसुवादेनमा विद्यमान रहेको छ । ती छौरे दाजुभाइहरू छुट्टिएर अलग अलग क्षेत्रमा बसोबास गर्न थाले पनि समय समयमा दाजुभाइ भेला भई चुम्लुङ गर्ने गर्दथे । त्यसैले यो स्थानलाइ सुसुवा हाङचुम्लुङ पनि भन्ने गर्दछन् । यस स्थानलाई छौरे सोदेम्बाहरूले आफ्नो पुर्खाको पाङयक वा घडेरी÷खायलको रूपमा मान्दै आएका छन् । छौरे सोदेम्बाहरूका कान्छा भाइ सुक्वावा आफ्नो पुख्र्यौली थलो सुसुवादेन क्षेत्रमा बस्दा सातरेहरूसंग मनमुटाव एवं झगडा समेत हुन थालेकाले पिप्ले नजिकै अलिक सुरक्षित स्थल मासेन्लुङ पासेन्लुङ साप्ला, लुङनामफुङ(पाटीगाउँ)मा बसाईंसराई गएका हुन् । म्याङलुङ बजार क्षेत्र लगायत सोस्लिङ, केउरेनी, सुसुवादेन गढी, पिप्ले, लुङनामफुङ (पाटीगाउँ) आदि वृहत क्षेत्रका किपट भूमि नापी हुनु पूर्वसम्म सुक्वावाहरूकै क्षेत्राधिकारमा थिए । हाल यी भू–भागहरूमा तुम्बाहाङफे र पयाङगुहरूको ठूलै आवादी बसिसकेको छ ।
पेवेलुप्मा फुक्कु र छौरेहरूका समाधिस्थलहरू
प्राचीनकालमा मानिसको मृत्यु पश्चात मृत शवलाई जलाउने, शव समाधिस्थ गर्नका लागि खाडल खनी पुर्ने वा चौतारा बनाउने तथा व्यवस्थित रूपममा समाधिस्थलहरू बनाउने प्रचलन थिएन । हिन्दू धर्मशास्त्रमा मानव शवलाई अग्निदहन र समाधिस्थ गर्नुभन्दा श्याल तथा गिद्धहरूले आहारा बनाए तत्काल मुक्ति र स्वर्गको बास मिल्ने उल्लेख गरेको पाईन्छ । त्यस्तै बौद्धमार्गीहरूले पनि लाशलाई खुला चौरमा लगेर छाड्ने परम्परा पछिल्लो कालसम्म रहेको पाईन्छ । ठिक यही परम्परा फेदाप क्षेत्रका खाम्बोङवा लुङबोङवा जातिमा रहनु कुनै आश्चर्यको विषय मान्न सकिन्न । हिमालय पर्वत श्रृङखला क्षेत्रका आदिवासी जातिहरूमा मृत मानव शरीरलाई ओडारमा लगेर छाड्ने, कुनै भीरबाट तल खसाली दिने जस्ता मृत्यु संस्कारहरू विद्यमान थिए । याक्थुङ मुन्धुममा तेल्लारा लाफियाङनाका छोराहरू लाकेरेक र नामकेरेकहरूले आफ्नी आमाको शवलाई खियाजङ फिरिम भीरको फेदी मालेची लेलेची गाउँमा लगेर गाड्न खोजे तर त्यहाँ पहिलेदेखि नै लुङबाङबा खाम्बोङबाहरूको समाधिस्थल रहेकाले लुङबोङबा खाम्बोङबाहरूले शव राख्न दिएनन् । पानीमा बगाउन खोज्दा माछाहरूले दिएनन्, रुखमा राख्न खोजे चराहरूले दिएनन् र अन्तमा उनिहरूले आफ्नी आमाको शवलाइ भीरको ओडारमा छाडेर आएको मुन्धुममा वर्णन गरिएको पाईन्छ ।
पेबेलुप्मा फुक्कु
माथि उल्लेखित मुन्धुमी कथालाई भर्खरै मानव सभ्यता विकास हुँदै गरेको अवस्थामा प्राचीन शव व्यवस्थापनको एउटा ज्वलन्त उदाहरण मान्न सकिन्छ । मुन्धुममा उल्लेखित प्रसंग झैं फेदाप वंशमा मृत मानव शरीरलाई जमिनमा समाधिस्थ गर्ने प्रचलन नभएको पाईन्छ । यकथेगुदेखि केही परको पेवेलुप्मा फुक्कुमा पेरोहाङका सन्तानहरूले लाश राख्ने र केहीले सोही स्थानको भीरबाट तल खसाली दिने गर्दथे । विश्वका प्राचीन मानव सभ्यताको कुरा गर्दा नाईल, ह्वाङहो, मेसोपोटामिया र सिन्धु घाँटी सभ्यताहरू अति प्राचीन एवम् ऐतिहासिक मानिन्छन् । ती उल्लेखित सभ्यताहरूमा पनि मानव शव व्यवस्थापन संस्कार बर्बर तरिकाबाट नै सम्पन्न हुन्थे । कालान्तरमा मात्र समाधि र अग्निदहन जस्ता उन्नत संस्कारहरू विकसित भएका हुन् । मिस्रका पिरामिडहरूले मानव शवको उन्नत समाधि परम्परालाई जीवन्त र अभिव्यक्त गरेको मान्न सकिन्छ, तर याक्थुङ लाजेसम्म यस्ता परम्परा आइपुगेका थिएनन् । कालान्तरमा सौमरवंशी किरातहरूको आगमनले उनिहरूको समाधि परम्परा यस क्षेत्रका आदिवासीहरूले पनि ग्रहण गरेका हुन् । तर यस क्षेत्रमा भने आफ्नै खालका विशिष्ट परम्पराहरू विद्यमान थिए, जसको उल्लेख माथि गरिसकिएको छ ।
आजभन्दा ५,००० बर्ष अगाडिसम्म मानव जातिले खेतीपाती, पशुपालन र व्यवस्थित बसोबास गर्ने पद्धति बसिसकेको थिएन । त्यस बेलाका मानव समुदायहरूमा जन्म, विवाह तथा मृत्यु संस्कारहरू पनि अहिलेको जस्तो विकसित भइसकेको थिएन । उ बेलाका मानव समूहहरू सर्वाधिक रूपमा बसाईंसराई गर्दथे । समय परिवर्तनसंगै मानव सभ्यता स्थायी बसोबास, खेतीपाती, पशुपालन, सामाजिक रहनसहन र जीवन शैलीहरूमा परिवर्तन गर्दै लगेको सहजै अनुमान गर्न सकिन्छ । त्यस समयमा मानव जातिले आफ्नो परिवारका सदश्यको मृत्यु भएमा मृत शरीरको दाहसंस्कारको लागि आफ्नो समुदायको प्रचलन अनुसार भीरबाट खसाली दिन्थे, कसैले खोलामा बगाइदिन्थे, कसैले जनावरलाई खान दिन्थे भने कसैले ओडारमा लगेर राख्ने चलन थियो । यो प्रचलन संसारका विभिन्न जातिहरूमा धेरै वर्षसम्म चलेको देखिन्छ । संसारका धेरै सभ्यताहरू विकसित हुँदै जाँदा यो प्रचलन विस्तारै विस्तारै सुधार हुँदै गए, तर स्थानीय खाम्बोङवा लुङबोङवा आदिवासीहरूको भूगोलमा भने बाह्रौं शताब्दिसम्म फेदापका खाम्बोङवाहरूमा यही प्रचलन रहिआएको पाइन्छ ।
फेदापमा ताइश्यान वंंशीहरूको आगमन र १० लिम्वूवानको प्रान्तीय विभाजन हुनु पूर्व यस क्षेत्रमा बसोबास गर्दै आउने खाम्बोङवा लुङबोङवा फेदापहरूले आफ्नो परिवारको सदश्यको मृत्युु हुँदा मृतकको शरीरलाई परिवारका सदश्यहरूले प्राचीनकालदेखिको चलन अनुसार डोकोमा बोकेर भीर पहरा भएको ओडारमा लगेर राख्ने वा लडाई दिने प्रचलन रहेको थियो भन्ने किंवदन्तीहरू प्रचलित छन् । यही प्रचलन अनुुसार नै फेदापका खाम्बोङवा लुङबोङवा(फेदापहरू)का सन्तान पेरुङहाङ(छौरे सोदेम्बा)हरूका पुर्खाहरूले पनि आफ्नो परिवारको कुनै सदश्यको मृत्यु भएपछि उसको मृत शरीरलाइ दाह संस्कारको लागि फेदापको यकथेगुबाट उत्तर पश्चिमपट्टिको सानो भीरको ओडार(पेबेलुप्मा फुकु)मा डोको वा कुनै अन्य साधनबाट बोकेर छोडी राख्ने वा भीरबाट तल झारी दिने वा खाडल खनेर लाश पुरेपछि ‘पेरो हो’ भनी कराउने गर्दथे । लिम्बू भाषामा ‘पेरो’को शाब्दिक अर्थ= ‘गयो है’ वा ‘आजदेखि गयो वा पर गयो है’ भन्ने अर्थ लाग्छ । त्यस्तै ‘लुप्मा’को अर्थ पुर्नु हुन्छ । त्यही ‘पेरो लुप्मा’ शब्द कालान्तरमा अपभ्रंश भएर ‘पेवेलुप्मा’ भन्न थालियो । अहिले सो ओडार वा भीरलाई छौरे सोदेम्बाका सन्तानहरूले ‘पेवेलुप्मा फुक्कु’को नामले चिन्दछन् ।
यो ओडार हाल मेयङलुङ नगरपालिका वडा नं. ९ मा पर्ने लुङनामफुङ पाटीगाँउको टुक्रे ढलेबरको छेउमै रहेको छ । छौरे सोदेम्बाहरू लगायत धेरै लिम्बू वंशहरूमा उक्त प्रचलन सयौं बर्षसम्म चलेको अनुमान गर्न सकिन्छ । सौमरवंशी लुक्थुयोको भाइफुट्टा वा भूईंफुट्टा वंश समूह फेदाप भूमिमा प्रवेश गरे पश्चात मात्र मृत मानव शरीरलाई अग्निदहन गर्ने चलन शुरु भएको हो । फेदाप वंशमा बोनधर्मीहरूबाट प्रभावित भई समाधिस्थल(कब्रस्थान) बनाउने र पछि हिन्दूहरूको प्रभावले गर्दा शव दहन गर्ने चलन समेत शुरु भएको देखिन्छ । पेवेलुप्मा फुक्कुको आसपासमा नै छौरे सोदेम्बाहरूको पुर्खाहरूको समाधिस्थल रहेकाले यस्तो अनुमान गर्न सकिन्छ । कालान्तरमा छौरे सोदेम्बाहरू छुट्टिएपछि पनि हालसम्म सोही ठाउँको आसपासतिर नै छ भाइ मध्येका तिन भाइहरूको समाधिस्थल रहेको पाइन्छ । अहिले सिङजागुहरूको किताने, सुक्वाबाहरूको पेवेलुप्मा थेगु र फुदोङहरूको ढलेबरको आसपासमा समाधिस्थल रहेको पाईन्छ ।
फेदाप क्षेत्रमा स्थानीय खाम्बोङवा लुङबोङवाहरूको एक्लौटी राज्यहरूमा आठौं शताब्दिताकादेखि विभिन्न नयाँ वंशहरू प्रवेश गरी वसोवास, विद्रोह र विस्तार भएको देखिन्छ । फेदापमा प्रवेश गर्ने विभिन्न वंशहरू यस प्रकार थिए– भाइफुट्टा वंश, सौमरवंशी किरात, लुक्थुयो समूहको वंश, मुङमावरोङका नेतृत्वमा आएको श्यान मकवान वंश, वाजदेवका नेतृत्वका मधेसी किरातहरू, ताई÷श्यानवंशी दश सरदारका सन्तानहरू, चोङ तथा रोङ वंश समूह आदि । यी सबै वंशहरूको सांस्कृतिक, वैवाहिक तथा रक्त सम्बन्धबाट बनेका एकीकृत समुदायहरू नै फेदाप क्षेत्रका हालका दुई ठूला छौरे र सातरे वंश समूह(मिङस्रा)हरू लगायतका लिम्बू वंशहरू हुन् भन्नमा कुनै दुईमत नहोला ।
स्रोत तथा सन्दर्भ सामग्रीहरू
०१. कुरुम्बाङ, हर्कराजः कुरुम्बाङ वंशावली र इतिहास, कुरुम्बाङ परिवार, युके– २०६८
०२. चेम्जोङ, ईमानसिंहः किरात इतिहास– २०५९
०३. तुम्बाहाङफे, लीलाबहादुरः फेदाप थुम र पोक्लाबाङ यक, हाम्रो भाषा हाम्रो लिपि, स्मारिका; कियाचु तम्फुला–२०६०
०४. तुम्बाहाङफे, लीलाबहादुरः सातरेनुहाङ तुम्बाहाङफे वंशावली र फेदाप लिम्बूवान, जेठानसिं भगिमानसिं– २०६३
०५. लिम्बू, सुब्बा वागवीर (वि.सं. १९५६–२०४२): अन्तर्वार्ता २०४२।०१।१५
०६. सुक्वाबा, रन्धोज(१९९३–२०७७: अन्तर्वार्ता मिति २०६५।०२।२२
07. Chemjong, Iman Singh: The History and Culture of Kirat People, KYC Lalitpur 2003
08. Vansitartt, Col. Eden: Gurkhas, Superintendent Government Press, India-1982
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।