सांस्कृतिक अतिक्रमण र झुठको खेती - Naya Online

सांस्कृतिक अतिक्रमण र झुठको खेती

दिलेन्द्र कुरुम्बाङ
पूर्व सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि साँस्कृतिक अतिक्रमणको बात लागेको छ । उनी अहिले ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी पनि हुन् । आदिवासी याक्थुङ लिम्बुहरूको मुन्धुममा वर्णित पवित्र स्थल मुक्कुमलुङ हस्तक्षेप गरिएको, त्यहाँको जमिन यति समूहलाई कौडीको भाउमा बेचेको, तिम्बु पोखरीको नाम परिवर्तन गरी विष्णुपोखरी बनाउने प्रयास गरेको, सोधुङ वरकलाई रामसार घोषणा गरिएको, सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी बनाएको लगायतका आरोप छन् ।

काठमाडौँ ठमेलस्थित नेवाःसँग सम्बन्धित सांस्कृतिक, धार्मिक, पुरातात्विक महत्व बोकेको कमल पोखरी मासेर माफियाहरूले छायाँ सेन्टर बनाए । त्यसको मुद्दा बिचारधीन रहेको अवस्थामा बिरोधका बाबजुद उनले पछाडिबाट लुकेर उद्घाटन गरेका थिए । त्यसको चारैतिर आलोचना भयो । नेवारहरूको सामाजिक संस्था नेवाः दे दबुको वार्षिक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बोलाइएकोमा बिरोध र कालो झण्डा देखाउने भएपछि आयोजकले प्रमुख अतिथि रद्द गर्नुपरेको थियो ।

ती आरोपहरूको प्रतिजवाफमा उनले प्रेस विज्ञप्ती नै सार्वजनिक गरे । चुनावी घरदैलो कार्यक्रममा सर्वसाधारणसँग स्पष्टिकरण दिएको भिडियो क्लिप्स सार्वजनिक भएका छन् । जवाफमा उनले यी आरोपहरू केबल मिथ्या हुन् सत्य होइनन् भन्ने कसरत गरेका छन् । उनले भने जस्तै यी कुराहरू केबल मिथ्या हुन् त ?

योगेश भट्टराईले मुक्कुमलुङको अस्तित्वलाई अस्वीकार मात्र गरेनन् यो विषयलाई कुतर्क भनेका छन् । सोधुङ वरकलाई रामसागर क्षेत्र बनाएको सवालमा भने मौन छन् । उनले मुक्कुमलुङ होइन पाथिभरा नै हो भन्ने कुरा सावित गर्न खोजेका छन् भने तिम्बु पोखरीे र सुकेटार विमानस्थलको नाम परिवर्तन सम्बन्धमा सरासर झुठ बोलेर आफ्नो बचाउ गर्ने प्रयत्न गरेका छन् । त्यसैले यस विषयमा वास्तविकता के हो भन्ने तथ्य आम जनताले बुझ्न जरुरी छं ।

फुृङलिङ नगरपालिकाको पुर्वी भेगमा समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा रहेको पर्वतको नाम मुक्कुमलुङ हो । मुक्कुमलुङलाई येबा, फेदाङमा, साम्बाले पूजा आजा गर्दा सेमुक्तु मुक्तुबुङ, सेमुक्तु मुक्तुबो माङ आदि विभिन्न नामले पनि पुकार्छन् । मुक्कुमलुङ पर्वतको वरिपरि थुप्रै गाउँवस्तिहरू छन् । ती गाउँहरूको लागि यो डाँडो जीवनदायिनी होे । प्रकृतिपूजक याक्थुङ लिम्बुहरूले मानव सभ्यताको प्राम्भिक कालदेखि यो वर्पतलाई अद्भूत शक्तिको श्रोत मानी पूज्न थाले । कारण चैत बैशाखदेखि शुरु हुने वर्षात्को याममा भयंकर असिना पानी पर्ने, हुरि बतास चल्ने, चट्याङ पर्ने र तल बस्ति बग्ने गरी बाडी पहिरो जाने भएकोले पक्कै पनि यहाँ अद्भूत शक्ति छ भनेर पुज्न पुकार्न थालेका हुन् । युमा माङको बासस्थान र क्रिडास्थल यो पर्वत र यस वरिपरि छ भन्ने विश्वास छ । त्यसैले यिनलाई सत्विचारले पुज्नु पर्छ । र, पहरामा एउटा बल्ने शिला छ जुन शक्ति केन्द्र हो भन्ने पत्ता लाग्यो । त्यसैले यो पर्वतको नाम मुक्कुमलुङ रहन गयो ।

कुनै पनि ठाउँको नामाकरण स्थानीय सापेक्षतामा हुन्छ र यसको आफ्नै ऐतिहासिकता, पुष्ठभूमी र सांस्कृतिक सम्बन्ध हुन्छ । यो संसारकै चलन हो । शक्तिपुञ्ज डाँडो भएको र शक्तिशाली शीला (लुङ) भएको हुनाले रैथाने याक्थुङ भाषामा मुक्कुमलुङ भनियो । मुक् भनेको शक्ति, मुक्कुम भनेको शक्ति वा आगो हुन्छ भने लुङ भनेको शिला वा पत्थर हो । त्यसैले अद्भूत प्राकृतिक शक्ति केन्द्र मानी मानव जीवनको रक्षा र कल्याणको लागि मुक्कुमलुङ माङ भनेर पूजा गर्न थालियो । यही मुक्कुमलुङलाई नव आगन्तुक समुदाय खासगरी क्षेत्री बाहुनले पाथिभरा भन्न थाले । यसको इतिहास लगभग ८०/९० वर्षको हाराहारी मात्र छ ।

मुक्कुमलुङ वा पाथिभरा कुन पहिले हो ? मुक्कुमलुङ अतिक्रमण बिरुद्ध आन्दोलन चलिरहेको छ भने सर्वोच्च अदालतमा मुद्दा दायर भई विचाराधीन छ । योगेश भट्टराईमाथि लागेको आरोप नाम परिवर्तन भन्दा पनि अतिक्रमणलाई अझ सशक्त पार्न, केबलकार निर्माण गर्न र त्यहाँको सयौं रोपनी जग्गा लाभांशको लालचमा सित्तैमा यति कम्पनीलाई सुम्पेको भन्ने छ ।

संसारका उपनिवेशकारीहरूको चरित्र लगभग समान प्रकृतिको हुन्छ । नेपालको सन्दर्भमा पनि यही लागू हुन्छ । मुलुकमा व्यवस्था र शासकहरू परिवर्तन भए तापनि पहाडे हिन्दूखस शासकीय चरित्र र व्यवहार परिवर्तन भएन । एकल पहाडे हिन्दूखस भाषा, संस्कृतिको दबदबा छ । अर्थात् हिन्दूखस कल्चरल हेजेमोनी कायम छ । हिन्दूखस सांस्कृतिक सत्ताको निरन्तरका कारण यहाँका रैथाने भाषा संस्कृतिलाई माथि उठ्न नदिएको सत्य हो । नेपालको संविधानमा बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भनेर स्वीकार गरिए पनि व्यवहारमा लागू भएको छैन । शासकीय सोच र चिन्तन एकल र नश्लीय चरित्रको छ । यही चिन्तनले मुक्कुमलुङको अस्तित्व स्वीकार गर्न सक्दैन । कसैले पाथिभरा भनेर पुज्छन्, कसैले मुक्कुमलुङ भनेर पुज्चन् भन्नुको पछाडि लुकेको रहस्य यही हो ।

राज्यको नीति निर्माण गर्ने र निर्णय गर्ने उपल्लो तहमा जान दौडाहामा रहेका नेताले यति हल्का ढंगले टिका टिप्पणी गर्नु हदै सम्मको गैर जिम्मेवार अभिव्यक्ति हो र उनले पुरातन संस्कृति र समुदायको मात्र प्रतिनिधित्व गर्छन् भन्ने पुष्टि गर्छ । अझ उनले मुक्कुमलुङको कुरा कुतर्क हो सम्म भनेका छन् । उनका यी सबै अभिव्यक्ति संविधानको मर्म विपरित छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून, मानवअधिकार, आदिवासी अधिकार र सामाजिक सांस्कृतिक अधिकारको खिलाफमा छ ।

बर्मा म्यानमार भएको, रंगुन याङगुन भएको, बम्बै मुम्बइ भएको, क्यालकाट्टा कोलकाता भएको छ । अंग्रेज उपनिवेशकारीहरूले अप्रभंशित वा परिवर्तन गरेको ठाउँको नाम सच्याइएको हो । कुनै पनि सम्पदाको ऐतिहासिक नाम र त्यसको सांस्कृतिक महत्व कसले पहिले गरेको थियो, को पछिबाट आएर त्यसको नाम परिवर्तन गर्यो र आफ्नो संस्कारअनुुसार ढाल्यो भन्ने प्रश्न प्रमुख सवाल हो । याक्थुङहरूले परापूर्वकालदेखि मुक्कुमलुङ भनेर आध्यात्मिक स्थलको रूपमा उपभोग गर्दै आए । पछिबाट नव आगन्तुकहरूले त्यसलाई पाथिभरा भनेर पुज्न थाले ।

निश्चय पनि ताप्लेजुङको रैथाने आदिवासी याक्थुङहरू नै हुन् । यसमा दुईमतै छैन । रैथाने आदिवासीहरूले मुक्कुमलुङ भन्दै आएकोलाई नव आगन्तुकहरूले पाथिभरा बनाए । हो यही नै हो अतिक्रमण । मुक्कुमलुङ सन्दर्भमा योगश भट्टराईले शासकीय एकल चरित्र देखाए भने याक्थुङ अस्तित्व र राष्ट्रियतालाई अस्वीकार गरे । अरुको पहिचान र अस्तित्वलाई सम्मान नगर्ने, स्वीकार नगर्ने असहिष्णु चरित्रले द्वन्द्वको वीजारोपण गर्छ । राज्यको एकल चरित्र नै अहिलेको मूल समस्या हो । उनले त यसको ऐतिहासिकताको आधारमा यहाँहरूको मर्म र भावनालाई सम्बोधन गर्छु, न्याय दिलाउछु पो भन्नु पर्ने हो । “मैले नाम राखेको होइन तपाइले राखेको होइन । कसले राख्यो राख्यो के थाहा त । कसैले पाथिभरा भन्छ कसैले मुक्कुमलुङ भन्छ ।” योगेश भट्टराईहरूले ताप्लेजुङको माटो, समाज, भाषा, संस्कृति र इतिहासको आदर र सम्मान गर्नुपर्छ मास्न बल गर्ने होइन ।

तिम्बु पोखरीलाई स्थापित गर्न पैदल मार्ग र होमस्टे निर्माणमा बजेटको व्यवस्था गरेको भन्ने कुरो गलत हो । सत्य कुरा यो हो तिम्बु पोखरीको किनारमा विष्णु मन्दिर बनाउन र विष्णुको मुर्ति स्थापना गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले ५० लाख बजेट हालेका हुन् । यसमा सिदिङबा गाउँपालिकाले ५ लाख थप गरेको हो । यसलाई नागपञ्चमीको अवसर पारेर पर्यटन मन्त्री योगेश भट्टराईको बाहुलीबाट उद्घाटन गर्ने तयारी हुँदै थियो । पदमार्ग निर्माण गर्न र होर्डिङ बोर्डका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलामले वर्षेनी बजेट हालिरहेको थियो । तिम्बु पोखरी जाने बाटोमा कहीँ पनि होम स्टे छैनन् बनाइएको छैन । होम (घर) वा बस्ति नै नभएको ठाउँमा होम स्टे हुँदैन । घर (होम) बस्ति भएको ठाउँमा मात्र होम स्टे हुन्छ । ताप्लेजुङको कालिखोलादेखि माथि लागेपछि ठाउँ ठाउँमा बर्षे चौंरी गोठहरू छन् । तिनै गोठमा बास बस्ने खाने हो । ती गोठहरू भदौ अन्तिमदेखि जाडो शुरु भएपछि गाउँ फर्किन्छन् । गोठ उँधो झरेपछि बास बस्ने खाने ठाउँ कहीँ पाइन्न ।

विष्णु मन्दिर बनाउदै गरेको कुरो थाहा पाएपछि पाँचथर जिल्लास्थित डेढ दर्जन संघ संस्थाहरूले बिरोधमा विज्ञप्ची जारी गरे । हामी (यो स्तम्भकार पनि) २०७६ साउन २८ गते सिदिङबा गाउँपालिकामा बिरोध पत्र बुझाउयौं । त्यसक्रममा तात्कालीन अध्यक्ष नरबहादुर कडरियाले विष्णु मन्दिर बनाएको र मुर्ति राख्न लागेको कुरो स्वीकार गर्दै “यस्तो कुरा पहिले हामीलाई थाहा नभएको अब थाहा भो संरचना (मन्दिर) बनिसक्यो अब हटाउन पनि अप्ठ्यारो लगानी धेरै भैसक्यो तर अब विष्णुको मुर्ति चाहिँ राख्दैर्नौ” भनेर बचन दिए । हामी त्यहाँदेखि तिम्बु पोखरीको यात्रामा निस्क्यौं । र साउन ३० गते निर्माणाधीन विष्णु मन्दिरमा नारा जुलुशसहित ताला लाग्यो ।

यस विषयमा ताप्लेजुङका तत्कालीन प्रजिअ डोरेन्द्र निरौलाको पहलमा २०७६ भदौ ३ गते ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत पक्षसँग सुरक्षा संयन्त्रसहित सर्वदलिय छलफल भएको थियो । बनिसकेको संरचना नहटाउने बरु नाम विष्णु मन्दिर नभनेर तिम्बु मन्दिर या अरु नै नाम दिने, त्यहाँ विष्णुको मुर्ति नराख्ने, यो कुरो दिमागबाटै हटाउने र सीमाक्षेत्रका ताप्लेजुङको सिदिङबा र पाँचथरको याङवरक गाउँपालिकाले आन्दोलनरत पक्षसँग सम्वाद गरी समस्या किनारा लगाउने भन्ने छलफलमा सुझाव आएको थियो ।

तिम्बु पोखरीलाई नियतबस् विष्णुपोखरी बनाउन लागिएको कुरा माथि उल्लेखित परिघट्नाले पुष्टि गर्छ । सुकेटार एयरपोर्टको नाम परिवर्तन गरिएको सवालमा मलाइ थाहा छैन भनेर विभागीय मन्त्रीले भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो । र, याक्थुङ मुन्धुमसँग सम्बन्धित सोधुङ वरकलाई रामसार क्षेत्र घोषणा गराउन पनि उनकै हात छ ।

त्यसैले यस्ता साँस्कृतिक, आध्यात्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरू चलाउँदा सम्बन्धित समुदाय र संघ संस्थाहरूसँगको राय, परामर्श र सहमति लिएर गरिनुपर्दछ । विधि र पद्दतीलाई मिचेर, ऐन नियमलाई मिचेर शासकीय एकल चरित्र र दम्भ देखाउने समय गइसक्यो । यसले न लोकतन्त्र बलियो हुन्छ न विविधतामा एकता हुन्छ न सामाजिक सदभाव र साहिष्णुता कायम हुन्छ । नीति निर्माण तहमा भएकाहरूले यो कुरा सोच्न र व्यवहारमा लागू गर्न आवश्यक छ । काठमाडौंका जनताले २,२ पटक अस्वीकृत गरेका योगेश भट्टराईलाई ताप्लेजुङका जनताले जिताए तर बद्लामा याक्थुङ संस्कृतिको दोहन शुरु गरे । भोट चाहिँ याक्थुङ लिम्बुको चाहिने अनि बदलामा तिनैको संस्कृतिको संहार गर्नु पर्नेे ?

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र ‘के’ मनोनयन

काठमाडौं – लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो...