फिदिम बजारको कवि कुना । यो एउटा सामान्य चियापसल हो । तर, यस स्थल पाँचथरभरका कविहरूको सम्पर्क थलो हो भने जिल्लाबाहिरका कवि/साहित्यकारको पाँचथर भ्रमण भए यही भेटघाट गराइन्छ ।
कविकुनामा चिया पिउँदै पिलाउँदै कविता सुन्ने, सुनाउने गरिन्छ । र, कविताकै माध्यमबाट राजनीतिक हुँकार पनि छाडिन्छ । यसरी बढि नै हुँकार छाड्नेमा पर्छन् –सागर केरुङ । नाटक तथा कविता लेखनका साथै अभिनय, निर्देशन तथा सामाजिक अभियन्ताका रुपमा चिनिने सागर केरुङ यसपटक पाँचथर ‘क’बाट प्रदेश सभाको उम्मेद्वार छन् । सागर निर्वाचनमा होमिएको यो पहिलोपटक होइन, यसअघि पाँचथरबाट प्रतिनिधिसभाकै उम्मेद्वार बनेका थिए । यसले सागरलाई जति साहित्य, नाटक र चलचित्रक्षेत्रमा सक्रिय छन्, राजनीतितर्फ पनि उत्तिकै सक्रिय रहेको देखाउँछ । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पाँचथरको अध्यक्ष हुँदै हाल प्रदेश समन्वय समितिको सचिव छन् ।
‘जनताले यसपटक मलाई अनुमोदन गर्छ ।’ सागरले उम्मेद्वारी दिएयता छाडिरहेको हुँकार यो । सञ्चारमाध्यम होस् या त सामाजिक सञ्जाल । सबैतिर उनले भनिरहेका नै छन् ।
‘भाषा, साहित्य र कलाकारिताको आन्दोलनले जनताबाट अनुमोदित होइन्छ र ?’ सञ्चारकर्मीको यो प्रश्नमा उनको ढुक्क उत्तर आउँछ –‘अनुमोदन हुनैपर्छ । ढिलोचाडो जनताले बुझ्नेछन् ।’
उनले २ वर्ष अगाडि अनामनगरको यति क्याफेमा पनि यसरी नै हुँकार छाडेको थिए –“यसपटक चलचित्र महोत्सवमा मेरो चलचित्रले जित्छ ।” च्याब्रुङ बजाउँदैमा जितिन्छ र ? अलि हेपिएको शैलीमा प्रश्न राखिँदा “मुलुक धर्मनिरपेक्ष हो, तर हिन्दू धर्मको अधिपत्यको कारण गाईगोरु काट्न वर्जित छ । त्यसैले मरेका गाइगोरुको छालालाई संकलन गरी च्याब्रुङमा प्रयोग गरिन्छ । तर त्यसरी पाइएको छालालाई पनि मारेर लगायो भनी आरोप लगाई कैयौं निर्दोषहरू थुनामा परेका छन् । एउटा धर्मको आडम्बरले सदियौंदेखि आफ्नै संस्कृतिलाई संरक्षण गर्दै आएका लिम्बूहरूलाई ठूलो समस्या परिरहेको छ । त्यही समस्यालाई उजागर गरेर चलचित्र ‘के’ बनाइएको हो । त्यो विषय उठाइएकोले मेरो चलचित्रले जित्छ ।” सागरले झण्डै भाषणको शैलीमा स्पष्ट पारेका थिए ।
नभन्दै २० वटा चलचित्र प्रदर्शन भएकोमा लिम्बू जातिको तर्फबाट पेश भएको चलचित्र ‘के’ उत्कृष्ट भयो । के अर्थात च्याब्रुङ जुन लिम्बूहरूको शुभ कार्यमा बजाइन्छ । विवाह, घर सराई तथा विभिन्न सांस्कृतिक कार्यक्रममा बजाइने च्याब्रुङ चाँपको रुखलाई दुईतिर ढुङ्ग्रो बनाई गाईगोरुको छालाले मोडेर बनाइन्छ ।
पूर्वी नेपालको पाँचथरमा रहेर ‘सांस्कृतिक क्रान्ति’ नै गरिरहेका सागर पहिचानको राजनीतिमा होमिएका ह्ुन् । उनी पुस्तक लेख्छन् । नाटक लेखेर मञ्चन गर्दछन् । चलचित्रको पटकथा लेख्छन् र आफै निर्देशन पनि गर्दछन् । तर जे जति काम गरेका छन्, सबै सांस्कृतिक क्रान्तिसँग नजिक भएरै गरेका छन् ।
आफूलाई लागेको कुरा प्रत्यक्ष भेटमा, मञ्चमार्फत नभए फेसबुकमा भए पनि झटारो हानिहाल्ने स्वभाव भएका केरुङसँग कहिले गम्भिर, कहिले जिस्किने शैलीमा अन्तरकुन्तर कोट्याउने कोशिष गरिएको थियो । ‘काम गरिरहेको छु, कामबाट के कति सफलता पाएँ या पाउनेछु त्यसको लेखाजोखा गरिहाल्ने समय भएको छैन ।’ केरुङको पहिलो बोली नै यहि थियो । उनको आशय –‘के चलचित्र उत्कृष्ट भयो, यसको समाचार लेख्नुस्, अटाएसम्म निर्देशकको नाम लेख्नुस् । निर्देशक को हुन् ? कस्ता छन् भन्ने कुरा अहिले नै छताछुल्ल बनाइराख्न जरुरी छैन ।’ भन्ने थियो ।
यद्यपि कहिले चियागफमा, कहिले टेबलगफ तथा उनका पुस्तकका परिचयखण्डबा निकालिएका सागरका विविध आयामहरू यसरी प्रस्तुत गरिएको छ ।
जन्म तथा शिक्षा
याङनाम ५ पान्थर हालको फेदेन नगरपालिका १० स्थीत बुबाआमा स्व. आइतराज केरुङ, विष्णुमाया आङ्देम्बेबाट जन्मिएका सागरको परिवारमा दाजु २ जना, भाई १ जना र दिदी ३ बहिनी १ छन् । सागरले जन्ममिति जेठ ५ गते विहिबार मात्रै बताउँछन् । यसको मतलव उनी आम ‘सेलिब्रेटी’पन पनि छ ।
बाल्यकालमा चकचके, अस्थिर स्वभाव बोकेका सागरले कुम्भकर्ण प्रा.वि. याङ्नामबाट प्रारम्भिक शिक्षा लिए । फिदिम मावि र खलङ्गा माविमा माध्यमिक तहको अध्ययन गरेर प्रवेशिका उतीर्ण गरेपछि पाँचथर बहुमुखी क्याम्पसमा विएसम्मको अध्ययन गरे । त्यसैगरी सत्यहाङमा उच्च माविबाट लिम्बू भाषामा १२ कक्षा उतीर्ण गरेको कुरा पनि सगर्व सुनाउँछन् ।
साहित्यप्रेम तथा सेवा
२०५८ तिर हवाई पत्रिकाको बहार आएपछि नै सागरको साहित्यतर्फ लगाव बढेको हो । सागरले सबैभन्दा पहिले ‘तुवाँलो’ नामक हवाई पत्रिका पढेको सम्झन्छन् । उनको पहिलो रचना पनि यसैमा छापियो । कोपिला शिर्षकको रचना थियो त्यो ।
पछि आफैले ‘कोशिष’ नामको हवाई पत्रिका सम्पादन पनि गरेका थिए । हवाई पत्रिका सम्पादन गर्नेहरूको हवाई साहित्य सेवा नेपाल (हसासने) पनि गठन भएको थियो । तर सागरले त्यससँग आवद्ध हुन नपाई हवाई साहित्यिक पत्रिकाहरू प्रायः बन्द हुनपुग्यो र हसासने पनि त्यतिकै सेलायो ।
नाटकमा मन
नजिकको नाता पर्ने अभिषेक केरुङले गाउँमा नाटक मञ्चन गर्ने गर्दथे । गाउँका तन्ना भेला पारेर पर्दा बनाई डोरीले तान्ने नाटकमा सागरले सहयोग गर्दथे । अभिनय गर्दथे । त्यहीबाट प्रभावित भई विद्यालय तहमा अध्ययन गर्दागर्दै १० वटा जति नाटक निर्देशन गरिसकेका थिए भने क्याम्पसतहमा पनि उत्तिकै संख्यामा मञ्चन गरे ।
फिदिममा नाटक मञ्चन गरेर समाजमा राम्रो चेतना दिन सकेको सागरको दाबी छ । केरुङको नाटक ‘जित्यापार्क’ले आदिवासीमा राम्रो चेतना ल्याएको पनि दाबी गरे ।
पुस्तक प्रकाशन
हवाई साहित्यले दिएको उर्जालाई सागरले निरन्तर साहित्य लेखनमा होमाउन सके । चलचित्र चेत उनमा पसिसकेकोले कलाकारिताको खुड्किलोको रूपमा लिइने रङ्गमञ्च उनको रोजाईमा प¥यो । रङ्गमञ्चलाई चाहिने नाटक उनले लेख्न थाले । लेखिएका नाटकहरू निकै नै मञ्चन भए ।
उनका निर्देशित चलचित्रहरु लिम्बु कथानक चलचित्र ‘के’, थारु कथानक चलचित्र ‘पायल’, लिम्बु लघु चलचित्र ‘पुङ्साम’, लिम्बु लघु चलचित्र ‘तुम्याहाङ्’, गुरुङ लघु चलचित्र ‘तोने’, लिम्बु लघु चलचित्र ‘नाहेन’, लिम्बु कथानक चलचित्र ‘फुङ्वामा’ (मुख्य सहायक निर्देशक), नेपाली कथानक चलचित्र ‘बदला’ (मुख्य सहायक निर्देशक), लिम्बु कथानक चलचित्र ’लाजेरेन् थोक्ला’ (मुख्य सहायक निर्देशक), लिम्बु कथानक चलचित्र ’अम्लारीफुङ्’ (मुख्य सहायक निर्देशक), नेपाली कथानक चलचित्र ‘भूमिपुत्र’ (मुख्य सहायक निर्देशक) छन् ।
उनका नाटकहरू मञ्चनमात्र भएनन्, पुस्तककै रूपमा पनि प्रकाशन भए । वि.सं. २०६७ सालमा ‘नुमाहाङ्मा’ नामक नाटक पुस्तकमा प्रकाशन भएपछि क्रमशः ‘केमाबा लाजे?’ (२०६८), ‘पासी भञ्ज्याङ’ (२०७०), ‘दोश्रो नागरिक’ (२०७३), ‘सैमुन्द्री’ (२०७४), ‘साक्थिम’ (२०७५), ‘साक्सा नु पेन्युक’ (२०७५), सुनौली रुपौली (२०७८) प्रकाशन भएका छन् ।
चलचित्र लेखन र निर्देशन
सागरले चलचित्र अम्लारी फुङको पटकथा लेखेर लेखनमा अगाडि आएका हुन् । त्यसपछि ‘हेल्लुक्वा’, ‘साम्’, ‘थेत्लङ’, ‘लोजिमा’ आदि चलचित्रको पटकथा लेखिसकेका छन् । त्यसैगरी ‘पुङ्साम’, ‘तुम्याहाङ’, ‘तोने’ (गुरुङ भाषा), ‘पायल’ (थारु भाषाको निर्देशनमात्र) गरेका छन् । त्यसपछिको लेखन/निर्देशन हो –चलचित्र ‘के’ ।
सागरका प्रकाशित कृतिहरु नुमाहाङमा – २०६७ (नाटक), केमाबा लाजे? – २०६८ (नाटक), पासीभन्ज्याङ – २०७० (नाटक), दोश्रो नागरिक – २०७३ (नाटक), सैमुन्द्री – २०७४ (नाटक), साक्थिम – २०७५ (नाटक संग्रह), सक्सा नु पेन्युक – २०७६ (वर्ण र छन्द), तियाह – २०७७ (नाटक), सुनौली रुपौली – २०७८ (नाटक) छन् ।
त्यसैगरी उनीद्वारा लिखित चलचित्रहरु लिम्बु कथानक चलचित्र ’हेत्लुक्वा’, लिम्बु लघु चलचित्र ‘पुङ्साम’, लिम्बु कथानक चलचित्र ‘साम्’, लिम्बु लघु चलचित्र ’तुम्याहाङ्’, लिम्बु कथानक चलचित्र ‘के’, लिम्बु कथानक चलचित्र ‘रीत’, लिम्बु कथानक चलचित्र ‘थिम’, गुरुङ लघु चलचित्र ‘तोने’, लिम्बु कथानक चलचित्र ‘अम्लारीफुङ्’ (पटकथा/संवाद), लिम्बु कथानक चलचित्र ‘लाजेरेन् थोक्ला’ (संवाद), नेपाली कथानक चलचित्र ‘जीवन’ (पटकथा), थारु कथानक चलचित्र ‘पायल’ (पटकथा/संवाद), लिम्बु कथानक चलचित्र ‘थेत्लङ्’ (पटकथा/संवाद), लिम्बु लघु चलचित्र ‘नाहेन्’ छन् ।
चलचित्र मात्र होइन, उनले लिम्बू नेपाली गरी ३४ वटा म्युजिक भिडियो निर्देशन गरेका छन् । र, ६० वटा जति गीत लेखेका छन् ।
अभिनयमा सागर
सागरले धेरै चलचित्रमा अभिनय गरेका छन् । लेखन, निर्देशनपछि अभिनय पनि उनको काम हो । आफूले लेखेर निर्देशन गरेका बाहेक ‘घरजम’ र ‘पायल’ हो ।
साहित्यिक तथा अन्य संस्थाहरूमा आवद्ध
सागरले साहित्यिक सांस्कृतिक मञ्च नेपाल याङ्नामबाट संस्थामा रहन शुरु गरेका हुन् । पछि फिदिमकै ‘हाम्रो थिएटर नेपाल’, ‘नौलो साहित्यिक बिहानी प्रतिष्ठान’, ‘याक्थुङ प्रज्ञा प्रतिष्ठान’, ‘कियाचु लिम्बू सांस्कृतिक परिषद्’, ‘याक्थुङ मुनचइत चोकसयङ’मा आवद्ध छन् । त्यसैगरी चलचित्रकै शिलशिलामा मलेसिया र सिंगापुर भ्रमण गरी आफ्नो चलचित्रको प्रदर्शन गरिसकेका छन् ।
सागरले २०६४ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्यपरिषद जिल्ला कार्य समिति पाँचथरको सहसचिव, ०६५ देखि ७३ सम्म सचिव, २०७४ मा जिल्ला संयोजक तथा अध्यक्ष, २०७८ मा संघीय समितिको सचिवालय सदस्य, २०७८ मा संघीय समितिको सहसचिव तथा प्रदेश समन्वय समितिको सचिव बनेका थिए । त्यसैगरी संंघीय विद्यार्थी युनियनको संघीय सचिव, युनियनकै कला तथा सांस्कृतिक विभाग प्रमुख २०६७, उपाध्यक्ष २०७१, अध्यक्ष २०७४ बनेका हुन् ।
संस्थागत तवरमा किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति पान्थर सदस्य २०७५, उपाध्यक्ष २०७६, चुम्लुङ राष्ट्रिय सदस्य २०७८, याक्थुङ मुन्चइत चोक सयङ् केन्द्रीय कार्य समितिको सदस्य, प्राज्ञ सदस्य – याक्थुङ प्रज्ञाप्रतिष्ठान, केरुङ चो?लुङ् सङ्जुम्भो केन्द्रीय कार्य समितिको केन्द्रीय सदस्य, अध्यक्ष श्री खलङ्गा टार उच्च मा.वि, याङ्नाम शिक्षक अभिवावक संघ २०७० – २०७८, संयोजक – नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, स्थानीय शान्ति समिति पाँचथर २०६८–२०६९, सदस्य चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवेर्दन समिति – २०७८, सदस्य याक्थुङ लेखक संघ केन्द्रीय कार्य समिति – २०७६ सम्हालिसकेका छन् ।
त्यसैगरी लिम्बु विधार्थी मञ्च, केन्द्रीय कार्य समिति –२०७२, नवयुग संगीत कला केन्द्र, एकतीन पाँचथर –२०६७, नेपाल आदिवासी जनजाति महासंघ याङ्नाम पाँचथर –२०७१, पाँचथर नाचघर –२०७५, यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठान मैवाखोला ताप्लेजुङ –२०७७, श्री खलंगाटार उच्च वा.वि. याङ्नाम पाँचथर –२०७५, किरात याक्थुङ चुम्लुङ मलेसिया –२०७६, नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, स्थानीय शान्ति समिति पाँचथर –२०७३, किरात याक्थुङ चुम्लुङ, फालेलुङ् गाउँ पालिका कार्य समिति – २०७८, युजेस फिल्मस्, अनामनगर काठमाडौं – २०७५ उनले काम गरेका संघसंस्था हुन् ।
पुरस्कार तथा अवार्ड
उनले नेपाल अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव – २०१४, काठमाडौं, उत्कृष्ट निर्देशक अवार्ड – एफ एल एफ अवार्ड २०२०, काठमाडौं, उत्कृष्ट नवनिर्देशक अवार्ड – ज्योमो गाङ् चलचित्र अवार्ड २०१९ थाइल्याण्ड, बेस्ट स्टोरी अवार्ड – नेपाल आदिवासी फिल्म फेस्टिवल २०२१, न्यूयोर्क अमेरिका, उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड – क्वालिटी इन्टरतेन्मेन्ट अवार्ड – २०७८ काठमाडौं, बेस्ट स्टोरी अवार्ड – एफ एल एफ अवार्ड – २०१६, विर्तामोड झापा आदि पुरस्कार तथा अवार्ड पाएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।