निर्वाचन –२०७९ का लागि दलहरूले मुलुकभर चुनावमा होमिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संयुक्त जनमोर्चा तथा नेपाल समाजवादी पार्टीले गठबन्धन दलको रूपमा जनतामाझ गएको छ भने नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका पार्टीले पनि चुनावी तालमेल गरेर अगाडि बढेका छन् । गठबन्धन दलहरूले सिंगो दलजस्तै चुनावी मैदानमा होमिएका छन् भने तालमेल गरेका दलहरूले तालमेल गरिएको स्थानमा मात्रै सिंगो उम्मेद्वार छन् भने अन्य ठाउँमा आआफ्नै उम्मेद्वार छन् ।
ताप्लेजुङ जिल्लामा गठबन्धन सिंगो उम्मेद्वार छ भने अन्य दलहरूले आफ्नै ढङ्गमा चुनावमा होमिएका छन् । केही स्थानमा जनता समाजवादी पार्टी र नेकपा एमालेले तालमेल गरेपनि ताप्लेजुङमा भने छुट्टाछुट्टै लडेका छन् । ताप्लेजुङमा जनता समाजवादीबाट प्रतिनिधिसभाको लागि समानुपातिक उम्मेद्वार बनेका छन् किर्तिमान मादेन । उनी पार्टीका जिल्ला अध्यक्ष पनि हुन् । राजनैतिक परिवारकै किर्तिमान राजनीतिमा अलि पछिमात्रै आएका हुन् । तर पछि आएपनि उनको आगमन दमदार नै छ । उनी यसपटकको निर्वाचनमार्फत जसरी पनि प्रतिनिधि सभामा छिरेर आफ्ना कुरा र पार्टीले लिएको कुरालाई टेबल गर्ने योजनामा छन् ।
को हुन् कीर्तिमान मादेन ?
मादेनको जन्म २०१७ सालमा नारायण प्रसाद मादेन र भक्तिमाया थुप्पुको थेबेबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका ४ मा भएको हो । बाजे लप्टन हर्कजङ मादेन उसबेलाका शिक्षाप्रेमी तथा समाजसेवी थिए ।
परिवारमा ८ जना दाजुभाईमध्येका उनी काइँला हुन् । उनले भानुजन माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा शुरु गरी एसएलसी गरेका थिए । उच्च शिक्षाको लागि २०३६ मा काठ्माडौँको पब्लिक युथ क्याम्पसमा अध्ययन शुरु गरेका थिए । त्यसताकै व्यावसायमा पनि हात हाले । अध्ययन र व्यावसाय सँगसँगै लान नसकेपछि पूर्णकालिन व्यावसायलाई मात्र अंगालेका उनी करिब २१ वर्ष काठमाडौँमै रहे ।
वि.सं. २०५५ सालमा परिवारसहित घर फर्किएका थिए मादेन । घर फर्कनका कारण चाही मुलघरमा बस्ने मान्छे नभएरै हो । दाजुभाई सबै लाखापाखा लागेपछि ११ वर्षसम्म अन्यले घर हेरिदिँदै आएको र त्यसपछि हेर्न नसक्ने भएपछि किर्तिमान गाउँ फर्केका हुन् । फेरि आफूसँगै रहेकी आमाले ताप्लेजुङ नै बस्ने अडिड् कसेपछि किर्तिमानलाई आफ्नो घर फर्कन कर नै आइलाग्यो ।
फुङ्लिङमा स्कुल व्यावसाय
जन्मघर फर्केपछि किर्तिमान चुप बसेनन् । वि.सं. २०५८ सालमा उनले निजि विद्यालयको अवधारणा ल्याएर सञ्चालन पनि गर्न थाले । शुरुमा ३ जना साथी मिलेर चलाएको स्कुल विविध कारणले साथीहरूले छोड्दै गएपछि उनी एक्लो सञ्चालक बन्न पुगे । लिटिल बुद्ध आवासीय स्कुल नाम रहेको यस विद्यालय ताप्लेजुङमा अनुशासित र राम्रो स्कुलको रूपमा चिनिन्छ ।
राजनैतिक यात्रा
मादेनमा शुरुमा राजनितिक चिन्तन त्यति थिएन । उनकै भनाईलाई सापटी लिँदा राजनीति नै मन पर्दैनथ्यो । उनको तुम्बा (ठूलोबुबा)का छोरा पूर्वमन्त्री विष्णु मादेन दाई भएकोले नैतिक समर्थन गर्दै आएका थिए । किर्तिमानका अनुसार दाईलाई सहयोग गर्नका कारण राजनैतिक रस नभएर बन्धुको नाताले सहयोग गरेका हुन् ।
उनले वि.सं. २०६२/६३ को आन्दोलनपश्चात वैचारिक राजनीतिमा प्रवेश गर्ने मौका पाए । त्यस आन्दोलनपश्चात उनले संघीयता, लिम्बुवान, लोकतन्त्रका मुद्दाहरू थाहा पाए । त्यसलाई आत्मसात गर्दै उनले लिम्बुवान आन्दोलनसँग नजिक भई काम गर्न थाले । आफ्नै घरको सिकुवामा चामलको बोरामा कागजपत्र राखेर शुरु गरिएको संगठनले अनुभवबिना नै ठूलाठूला आन्दोलनको नेतृत्वसम्म पुर्याएको थियो ।
लिम्बुवान बन्दको समयमा १९ दिन लिम्बुवानका नौ जिल्ला बन्द गरिँदा ताप्लेजुङ जिल्ला बन्द गर्ने जिम्मा किर्तिमानले लिएका थिए । आन्दोलनलाई सरकारले बन्द गराउन धरपकड गर्यो । युवाहरू शहिद भए । आन्दोलनले उग्ररूप लिँदै गर्दा सरकारले वार्तामा बोलायो । तत्कालिन शान्तिमन्त्री रामचन्द्र पौडेलले लिम्बुवान आन्दोलनसँग केही प्रतिवद्धताहरू गरेको थियो । उक्त प्रतिवद्धतापश्चात किर्तिमानहरूको राजनैतिक दल पनि चुनावमा होमिएको थियो । उनी ताप्लेजुङबाट चुनावी मैदानमा होमिए । अन्य जिल्लाहरूबाट सोचेजस्तो परिणाम नआएपनि किर्तिमानले करिब चारहजार मत ल्याएर जमानत जोगाए । उनी आवद्ध दलमा प्रत्यक्षतर्फ सबैभन्दा बढि मत उनैले ल्याएका थिए ।
वि.सं. २०७४ सालमा पनि उनले स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वारी दिएका थिए । उनले त्यसबेला राम्रै मत ल्याएका थिए । त्यसपछि भने उनी आवद्ध दलले राष्ट्रिय राजनीतिमा छाप नछोड्ने बुझे र जनता समाजवादी पार्टीसँग आवद्ध भए । उनी जसपाको ताप्लेजुङ जिल्ला अध्यक्ष छन् ।
समानुपातिकको टिकट र मादेनको प्रतिवद्धता
मादेनले चुनाव २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेद्वार बनेका छन् । ‘सँगै अरुका लागि लड्यौ, यसपटक आफ्नो लागि लडौं’ भन्ने पार्टीको नारा नै पार्टीको मुलमन्त्र हो भन्ने उनको दाबी छ । आफ्ना लागि भन्नाले आफ्नो ठाउँको विकास, संघीयतालाई संस्थागत, जनताको मुक्तिका लागि समाजवाद भनिएपछि सम्पूर्ण कुरा समेटिने उनको ठहर छ । यसलाई गम्भिरताका साथ हेरिनुपर्छ र अध्ययन गरिनुपर्छ भन्ने उनको आव्हान छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।