खुवालुङ नाटक मात्रै होइन, यो सांस्कृतिक अभियान पनि हो: राजन मुकारुङ
प्रकाश दिप्साली राई
नडाहा सुनसरी, २४ भदौ । पछिल्लो समयको सर्वाधिक सफल र लोकप्रिय नाटक भदौ २७ देखि असोज ५ गतेसम्म धरानमा मञ्चन हुने भएको छ ।
काठमाडौंको अपार सफलतापछि दर्शकहरुको अत्याधिक माग भएपछी खुवालुङलाई धरानमा पनि मञ्चन गर्न लागिएको हो । किरात राई समुदायको संस्कृतिसङ्ग जोडिएको निर्माण गरिएको यो नाटकलाई प्रख्यात लेखक एवम् संस्कृतिकर्मी राजन मुकारुङले लेखेका छन् भने नाटकलाई किरण चाम्लिङ राईले निर्देशन गरेका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पानीबोटको सहजताका निम्ति सो ढुङ्गा फुटाउने घोषणा गरेसँगै खुवालुङका आस्थावान समुदाय र साँस्कृतिक अभियानताहरुले चरणबद्ध आन्दोलन र संघर्ष गरेका थिए । त्यसपछि सरकार सो कदमबाट पछि हटेका थिए ।
सो नाटक धरान– ८ स्थित सभागृहमा मञ्चन गरिने व्यवस्थापकले जनाएको छ । अहिले व्यवस्थापक कलाकारहरु नाटकको अन्तिम तयारीमा जुटेका छन् । मञ्च व्यवस्थापन, कलाकारहरुको आवश्यक सामग्रीहरुको चाजोपाजो मिलाइरहेका छन् । खुवालुङ् नाटकका कलाकार हिजै धरान आइपुगेको हो । खुवालुङ नाटकमा मनाहाङ लावती, अनु थापा, वेदना राई, दिपा सुहाङ, सबिना थापा, रमिला मोक्तान, रियर राई, इगिहोपो कोइच सुनुवार, पवित्र राई, प्रशंसा गुरुङ लगायतले अभिनय रहेको छ ।
धरानमा यो नाटक मञ्चन हुँदै गर्दा लेखक राजन मुकारुङ उत्साहित हुँदै भन्छन् “धरानका शुभचिन्तकहरूको माग मात्रै होइन, उहाँहरू आफै उत्साहित भएर आयोजक बन्नुभयो । प्रोडक्सन जिम्मेवारी लिनुभयो । धरानमा नाटक परम्परा पुरानो भए पनि हललगायत प्राविधिक अभावलाई पूरा गर्ने हिम्मत गर्नुभयो । यसै पनि खुवालुङ नाटक मात्रै होइन, यो सांस्कृतिक अभियान पनि हो । यो अभियानलाई धरानले बलियो साथ दियो र सम्भव भयो ।”
यस्तै नाटक मञ्चनको विषयमा संस्कृतिकर्मी दोर्पाधोज राई भन्छन् “हाम्रो आस्थाको धरोहर खुवालुङ नाटकका रुपमा तयार भएको छ र काठमाण्डौमा मञ्चन पनि भइसकेको छ । यो मुन्दमी आस्थाको धरोहरलाई बचाउन राज्य सत्तालाई बुझाउन हामीले निकै पापड पेल्नु पनि पर्यो । वास्तवमा खुवालुङ के रहेछ ? भनेर बुझाउन र हाम्रो पहिचानको अभियान र आन्दोलनमा पनि नाटकले थप टेवा पुग्न सक्छ भन्ने भएकाले खुवालुङ नाटक धरानमा मञ्चन गर्न लागिएको हो ।“
यस नाटकलाई धरानमा मञ्चनका निम्ति अशोक राई, रमेश रोदुङ, विष्णु मोक्तान दोर्पाधोज राई र किरात राई यायोक्खा, सुनसरीले अग्रणी भुमिका निर्वाह गरिरहेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।