पदम सुखी सम्बाहाम्फे
पाँचथर, २२ भदौ । कुम्मायक गाउपालिकामा रहेको तमोर पम्पिङ खानेपानी आयोजना उपभोक्ता समितिको कार्यलय भवनमा ताला लागेको बर्षौ भएको छ । उपभोक्ता समितिले निर्माण पूरा भएको आफ्नै भवनलाई प्रयोगमा नल्याई भाडाको घरबाट सेवाग्राहीलाई सेवा सुबिधा दिइदै आएको छ । मासिक २ हजारको दरले कोठा भाडा तिरेर खानेपानीको महसुल उठाउदै आएको झण्डै एक बर्ष भएको बताइएको छ ।
सुख्खा क्षेत्रका ३ हजार ४३ घरधुरीलाई लक्षित गरि २०७३ सालमा बृहत तमोर पम्पिङ खानेपानी योजना अघि बढाइएको थियो । उक्त योजना ५२ करोडको लागतमा निर्माण कार्य सम्पन्न गरि ठेकेदार कम्पनीले २०७७ सालमा योजनाको काम उपभोक्ता समितिलाई जिम्मा लगाइसकेको छ । आयोजना सञ्चालनको जिम्मा पाएको उपभोक्ता समितिले आफ्नो भवनमा ताला लगाएर भाडाको कोठा बाट सेवा प्रवाह गरेको सेवाग्राहीको भनाई छ ।
उक्त भवन निर्माण गर्न स्थानीय जग्गादाता डिकबहादुर पौडेलले १० लाख मुल्य बराबरको २ रोपनी जग्गा निशुल्क दान गरेका थिए । खानेपानी कार्यलयमा चहलपहल बढ्नुको साथै आसपासमा रहेका जग्गा जमिनको मूल्याकंन बढ्ने आशा पौडेलले लिएका थिए । तर उपभोक्ता समितिले बजारमै भाडा तिरेर सेवा प्रवाह गर्न थालेपछि उनी निराश भएको बताए ।
अब कहिलेदेखि खानेपानीको निजि भवनबाट सेवा प्रवाह हुन्छ ? भन्ने प्रश्नमा समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाले अहिले सडकको संरचना र सहज पहुँच भइसकेकाले चाडैं समितिको बैठक बसी निर्माण कार्य सम्पन्न भएको भवनबाट सेवा प्रवाह गर्ने बताएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।