झापा, १८ भदौ । किरात याक्थुङ् चुम्लुङ्को ३४ औं स्थापना दिवस शुक्रवार अतिथि सदन विर्तामोड झापामा भव्यता साथ मनाएको छ । लोक संस्कृतिसहित मनाइएको दिवसको अवसरमा कियाचु झापा शाखाका पूर्व जिल्ला अध्यक्ष ४ जना र लिम्बु भाषा शिक्षक १ जनालाई सम्मान गरिएको थियो भने ४ जना विद्यार्थीलाई विभिन्न शिर्षकको छात्रवृत्ति प्रदान गरियो ।
समारोहका प्रमुख अतिथि कियाचु संघीय सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् १ न.ं प्रदेश अध्यक्ष, कियाचु लिम्बुवान् प्रदेश कार्य समितिका पूर्व अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोज्युले कियाचु पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङ्देम्बे (भरत), टेकबहादुर योङ्हाङ्, भक्त खेवाङ् र पूर्णहाङ् साँबा र दमकसिथत श्री पृथ्वी मा.वि. मा कार्यरत लिम्बु भाषा शिक्षक दिपेन्द्र सेत्लिङ्लाई दोसल्ला ओडाएर सम्मान गरेका थिए भने झापा जिल्लाका जेहेन्दार लिम्बु विद्यार्थी ४ जनालाई नगद सहित प्रोत्साहन पत्र समेत प्रदान गरेका थिए ।
श्री खेममाया सिङ्घक लिम्बु स्मृति अक्षयकोषबाट १० हजार श्री काकडभिट्टा मा.वि. मेचीनगर–६, कक्षा ११ मा अध्ययनरत छात्रा फुङ्सा लिम्बु, कियाचु कल्याणकारी सहयोग कोष–२०६२ बाट ८ हजार श्री बालकल्याण मा.वि. मेचीनगर– ५, कक्ष ५ मा अध्ययनरत छात्रा स्नेहा लिम्बु, कियाचु याक्थुङ् सहयोग कोष–२०६२ बाट जनही ५ हजारको दरले श्री पृथ्वी मा.वि. दमक–७, कक्षा १० मा अध्ययनरत छात्रा आरती लिम्बु र श्री मेहन्द्ररत्न मा.वि. विर्तामोड–३, कक्षा ९ मा अध्ययनरत छात्र विवश लिम्बुलाई नगद सहित प्रोत्साहन पत्र प्रमुख अतिथि मेन्याङ्वोज्युले प्रदान गरेका थिए ।
कियाचु ३४ औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेन्याङ्वोले लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ्ले समग्र याक्थुङ् लिम्बुहरूलाई एकताको सूत्रमा बाँधेर हरेक कुरामा अगाडि बढाईरहेको कुरा स्मरण गराउदै आफ्नो पहिचान र अस्तित्वको लडाँईमा एक केस पनि पछि नहटि अघि बढ्नुपर्छ भन्दै प्रदेश न.ं १ को नामकरणको विषयमा लिम्बुवान, किरातको बटम लाइन छोड्नु नहुने कुरामा समेत जोड दिएका थिए । स्थापना दिवसको अवसर पारेर आयोजना गरिने यस्तो कार्यक्रमले धर्म, संस्कार संस्कृति, भाषा, लिपि, साहित्यको विकासमा महत्वपूर्ण टेवा पुग्ने भएकोले सम्पूर्ण महानुभावहरू आ–आफ्नो क्षेत्रबाट सदैव लागि पर्नुपर्ने कुरा आग्रह पनि मेन्याङ्बोले गरेका थिए ।
समोरोहमा विशिष्ठ अतिथि कियाचु संघीय सल्लाहकार जितबहादुर लावती, कियाचु, कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार धिरेन लावती, कियाचु संघीय सदस्य अमृत योङ्हाङ्, पूर्व केन्द्रीय सदस्य पूर्ण हाङ्सरुम्बा, पूर्व केन्द्रीय सदस्य राधा सुब्बा, विर्तामोड नगरपालिका वडा न.ं ६ का वडा अध्यक्ष तथा जिल्ला सल्लाहकार सूर्यप्रसाद कन्दङ्वा, पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला सल्लाहकार टेकबहादुर आङ्देम्बे (भरत), सल्लाहकार लोकबन्धु कन्दङ्वा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) झापा अध्यक्ष भूमिका फियाक, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, राष्ट्रिय चुम्लुङ सदस्यद्वय गुमानसिं सम्बाहाङफे, जनबहादुर जबेगु, गौरादह नगर अध्यक्ष राजकुमार माखिम लगायतका पाहुनाहरूले ३४ औं कियाचु स्थापना दिवस भव्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कियाचु ३४ स्थापना दिवस भव्यताका साथ सम्पन्न गर्नको निमित्त कियाचु मेचीनगर शाखा, कियाचु विर्तामोड नगर शाखा, कियाचु भद्रपुर, कियाचु दमक नगर शाखा, कियाचु गौरादह नगर शाखा र कियाचु कनकाई नगर शाखाले नगर अध्यक्षहरू क्रमशः धनप्रसाद केरुङ, हिमालयप्रकाश कन्दङ्वा, का.वा. अध्यक्ष मुना इजम, देवेन्द्र चेम्जोङ्, राजकुमार माखिम र प्रेम फोम्बोले के लाःङ् समूहको संयोजन गरि ल्याएका थिए । सो के लाःङ् प्रस्तुति बेजोडका साथ मञ्चमा प्रदर्शन गरेका थिए ।
समारोह शुरु हुनु अगाडि दर्जनौं के र कियाचुको झण्डा फर्फराउँदै नगर शाखाको व्यानर सहित विर्तामोड बजार परिक्रमा गरिएको थियो भने औपचारिक कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा बेजोड सांगितिक प्रस्तुति समेत रहेको थियो ।
यसरी अत्यन्तै भव्यताका साथ मनाइएको औपचारिक कार्यक्रममा कियाचु झापा शाखा उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राखेका थिए भने कियाचु जिल्ला सदस्य धर्म लक्सम्बाले ३४ औं स्थापना दिवसको अवसरमा गरिने सम्मान र छात्रवृत्ति कार्यक्रमको वारेमा प्रष्ट्याएका थिए ।
राजनैतिक अवस्था र कोरोना महामारी कहरपछि दर्जनौं के (च्याब्रुङ्) को आवाज घन्काएर मनाएको स्थापना दिवस समारोह कियाचु झापा शाखा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने जिल्ला सचिव प्रेमचन्द्र लिम्बु र कियाचु मेचीनगर सदस्य ओमप्रकाश खापुङ्ले कार्यक्रम सञ्चालन गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।