प्रकाश दिप्साली राई
मोरङको उत्तरी क्षेत्रमा केराबारी गाउँपालिका छ । सोही गाउँपालिकाको वडा नम्बर २ मा अवस्थित छ रमणीय स्थल जेफाले । त्यसकै फेदीमा छ हाबेचौरी, जहाँ बिहीवारको दिन साप्ताहिक बजार लाग्ने गर्छ । त्यो बिहीबारे बजारसँग कतिको जीवन जोडिएको होला, कतिको अधुरो प्रेमको कहानी होला । त्यही सम्झनाहरूको खाल्डो भर्न कति जेफाले फिर्दा हुन्, वर्षौँदेखि टाढिएका परदेशीहरूलाई जेफालेको प्रेमले तान्दा हुन् र त बारैमास आउनेजानेहरूको चहलपहल भइरहन्छ । त्यही प्रेमले पुलकित भएर उ हराभरा भइरहन्छ । जेफाले मनतिरको चिया बगानमा आफ्नो प्रेमलाई सदाबहार बनाउन आउजाउ गर्ने प्रेमिल जोडीहरूको तन्नेरी वैँशले उस्तै सुहाउँदो छ जेफाले । तराई र सहरको नजिक रहेर पनि भौगोलिक हिसाबले अति दुर्गम जेफालेले पछिल्लो समय सहजताको राहत महसुस गर्दैछ । २०७६ सालबाट कोरोनाले थलो बसायो आम मानिसमा । लकडाउनले कुनामा कोच्यायो । तर पहाड र गाउँहरूमाथिको कोरोनाको हमला बेतुक जस्तै भयो । गाउँ प्रायः कृयाशील नै रह्यो, आन्तरिक भेटघाट र चहलपहललाई कुनै प्रभाव पारेन । त्यसकै उपज जेफालेबाट २०७७ भदौ सुरु भयो एउटा अभियान ‘पर्यटनसँगसँगै साहित्य’ भन्ने नाराका साथ “जेफाले सिर्जना डबली” ।
२०७७ सालको भदौमा बिहिबारेको डाँडाबाट सुरु भएको डबलीले गत साउन २७ गते आफ्नो सयौं अङ्क मनायो । कुनै पनि अभियानले सयौं अङ्क पार गर्नु चानेचुने कुरो हुँदै होइन । सयौँ अङ्कसम्म आइपुग्दा उसले थुप्रै आरोहअवरोह भोगेको छ । यहाँ २५ औं भाग पुग्दा हर्षोल्लास मनाइन्छ । त्यसभित्र त कति कठिनाई हुन्छ ? भने सय अङ्क पुग्दा त झन कति उतार चढाव आए होला ? “प्रकृति तर्फ फर्क” दार्शनिक रुसोको भनाई जस्तै जफाले सिर्जना डबली पुरापुर प्रकृतिमा रमायो र ओझेलमा रहेको पर्यटकीय क्षेत्रलाई खुला आकाशमा ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । भिन्न भिन्न ठाउँमा पुगेर शृङ्खला निर्माण गरेको छ । जेफालेको हरियो पर्वत शृङ्खला, चियाबारीको हरियाली, बेतना, हतुवागढी, बराहक्षेत्र, राजारानी, धोजेडाडा, खदम खोलाको बगरहरू जस्ता ठाउँहरूमा पुग्नु भनेको अनुपम प्रकृतितर्फै फर्कनु हो ।
“कति राम्रो बिहिबारे बजार जेफालेको फेदीमा ।
पर्यटनको सिङ्गो आधार जेफालेको फेदीमा ।
गाउँ घरको कोदो मकै साग सिस्नु सबै कुरा,
पाइन्छ है धेरै प्रकार जेफालेको फेदीमा ।”
झनै यी प्रकृतिप्रेमी रुवाईले रुसोको भनाईलाई थप सार्थकता तुल्याईदिएको छ । पानीले लुथ्रुक्कै भिजेर रुखको छहारीमा ओत लागेको, २/३ घन्टाको पैदल यात्रा गरेर शृङ्खला निर्माण गरेको, मोटरसाइकल बिग्रेर बाटोमै अलपत्र परेको क्षणहरू सम्झदा अभियन्ता युवराज ठकुरीको मन अमिलिन्छ । उसो त पाटीगाउँमा पुग्दा शुक्र आङ्देम्बे, चबेगु राज सानुहरूले फुलमालासहित आत्मीय स्वागत गरेको पल सम्झदा हिजोका दुखहरू भुलेको महसुस गर्छन् । कुनाकाप्चाका सर्जकहरूसँग अन्तरङग गर्न पाउँदा अनि उनीहरूमा देखिएको खुसीले आफैलाई आल्हादित बनाएको मीठो यादहरू ठकुरीसँग छ । त्यति मात्र होइन, जेफाले सिर्जना डबलीले यति खेर सम्पुर्ण सर्जकहरूको विश्वास जितेको छ । र नै, उसले “जेफाले सिर्जना उत्सव–२०७७” र “केराबारी साहित्य उत्सव–२०७९” जस्ता राजधानीलाई ढेसिङ हान्ने मोफसलकै अब्बल कार्यक्रमको आयोजना गरिसकेको छ । सायद यति छिटै राज्यको निकायको मन जितेको यो डबली नै हुनुपर्छ । आज त्यहाँको साहित्यिक कार्यक्रम भन्ने बित्तिकै जो कोही मोहित भैहाल्छन् । उसो त यसो भन्दै गर्दा उत्तरी साहित्यिक मन्च, जेफाले साहित्य समाजलगायत सस्थालाई नि भुल्नुहुन्न । उनीहरूको नालीबेली लेख्ने समय आउँदा धक खोलेर लेखौला, बोलौला । लेखकहरूले आफ्नो कृति लन्चको मन्च जेफाले सिर्जना डबलीलाई बनाउन थालेका छन् । त्यो डबलीमा चकेन्द्र राईको ‘ट्रान्जिट’ उपन्यास , घायल ठुले उर्फ गोविन्द खड्काको लोकगीत
‘छोडी जान मन लाग्दैन सुन्दर ठाउँलाई भुली
जेफालेमा मुस्कुराउँछे चौविसेकी ठुली ।’
गीतको लोकार्पण भएको छ । छोटो समयमा पुर्वान्चलको केन्द्रबिन्दु बनेको यो डबलीमार्फत प्रकाशमा आएका सर्जकहरूले अहिले राम्रै भाउ पाएका छन् ।
संयोग नै होला जेफाले सिर्जना डबलीले आफ्नो सय अङ्क यो स्तम्भकारले सिर्जनशील पसिना बगाइरहेको थलो बराहक्षेत्रको माटोमा अशक्तताका बाबजुत हस्तकला र लेखनक्षेत्रमा योगदान दिइरहेका रामकुमार तिवारीसँग उनका उतारचढाव , उनका जीवन भोगाइका नालीबेली साटासाट गर्न “जेफाले सिर्जना डबली” उनकै घरमा आउने भयो । बराहक्षेत्रमा जेफाले सिर्जना डबली आउने भएपछि त्यहाँका स्वार्णिम साहित्य समाज र बराहक्षेत्रभरिका सर्जकहरूमा खुसियाली नछाउने कुरै भएन । तत्कालै स्वर्णिम साहित्य समाज,बराहक्षेत्रले सो डबलीको सयौं अङ्कलाई विशेष अङ्कको रूपमा मनाउने चाँजोपाजो मिलायो । रामकुमार तिवारीसँगको अन्तरङ पश्चात् सुरु भो डबलीको सयौं अङ्कको उमङ्ग र रौनक ।
डबलीका अभियन्ता युवराज ठकुरीलाई अघिल्लो मन्चमा बोलाइयो । उनलाई कवि सबिता फागो र छबिना लुङ्गेली मगरले फुलमाला र खदा लगाइदिए अनि सयौं अङ्क, विशेष अङ्क लेखिएको केक काट्न लगाइयो केक काटिसकेपछि उपस्थित सर्जकहरू बिच उनलाई बधाई र शुभकामना दिदै खुसीयाली साटासाट भयो । आफ्नो विशेष मन्तव्यको क्रममा ठकुरी निक्कै भावुक देखिए । उनले भने “म साच्चिकै भावुक छु । म यो उचाइमा पुगौँला, यो माया पाँउला, अनि यो भिड मेरो पछाडि होला भनेर यो डबली कदापी थालेको हैन । यो यात्रा गरिरहँदा मैले कहिले पनि स्वार्थ बोकिन । को नजिक को टाढा त्यो नजिरको सोच ममा कहिल्यै आएन । डबलीले गरेको उकाली ओरालीहरू निक्कै अविश्मरणीय छन् । राज माङ्लाक, नवीन थापा क्षेत्री, प्रदिप योङ्हाङ, राजेश किराती लिम्बू, सिकुम सुहाङ, चबेगु राज सानू हरूले जेफाले सिर्जना डबलीको यात्रामा सँगसँगै दिनुभएको साथ यो मुटुभरि कैद गरेको छु । सुरु भएको चौथो हप्तापछि धेरै सर्जकहरूले चासो बढाईदिनु भयो । म गाउँमा बस्ने नाथुले त्यस्तो खुसी कहिले पाएको थिए हुँला र ? आज फेरि बराहक्षेत्रवासी कवि, गजलकारहरूको यो प्रेमले अभियानमा थप उर्जा भरिएको छ । यहाँहरूको माया र आशीर्वादले अरु शृङ्खला निर्माण गर्नमा साहस थपिएको छ । यति मात्रै हैन अरु शृङ्खलामा पनि यहाँहरूको साथ सदा पाइरहुँ ।”
हेर्दा लोकप्रिय देखिए पनि यस्ता अभियानहरू चुनौतीपूर्ण छ । प्रविधिको दुनियाँमा गुणस्तरीय कार्यक्रमहरू पस्कनु उत्तिकै कठिन हुन्छ । प्रविधिले भरिपुर्ण छैन युवराज र जेफाले सिर्जना डबली । तर नि सर्जकहरूको सेवामा भ्याईनभ्याई, कहिले मोबाइल त कसैलाई अनुरोध गरेर भिडियो क्यामराले शृङ्खलाहरू खिचेर आम सर्जकहरूमाझ प्रत्येक शनिबार पुराउने गर्दछन् । सर्जकहरूप्रति योभन्दा अरु ठूलो जिम्मेवारी सायदै नहोला ?
युवराज ठकुरीले सबैको मन छुने भनाइहरू राखिसकेपछि बराहक्षेत्रमा रहेका सिर्जना कर्ममा रहेका सर्जकहरूले सिर्जना वाचन गरे । लक्ष्मण कट्वालले सुरु गरेको रचना वाचनमा झण्डै १ दर्जन सर्जकहरूले रचना वाचन गरे ।
“तिमी तल म माथि हेराहेर गर्दा खेरी
मन पोल्थ्यो वारिपारी पर्दा खेरी।
तिमी हामी कति लुकामारी गर्थ्यौँ,
डाँडापाखा गाईवस्तु चर्दा खेरी ।”
***
“ससुरालीमा एउटी साली नभएर बोर भो
गहुंगोरी मात्र हैन काली नभएर बोर भो
वाक्क भइयो घरको खाना खाँदा खाँदा
ससुराली जाउँ पेट खाली नभएर बोर भो”
पल्लो घरको झ्याल भित्र केही देखिदैन
चिहाएर हेर्न लाई जाली नभएर बोर भो ।
दुर्गा बस्नेत
“सपनामा देखेको रातबाट तिमिलाइ पल पल सम्झिए
तिमिले मलाइ भेट्न आउने माइलाको पसल सम्झिए
आमाले खाजा खान दिएकै पैसा जोगाएरै भए पनि
उपहारमा तिमिलाइ किनिदिएको निलो सल सम्झिए ।”
अच्युत भट्टराई
“म यतिखेर छाती बेचेर
तक्मा किनिरहेको छु युद्धमैदानमा ।
परबाट आउने दुश्मनका ठुला ठुला तोप र
बमहरूको भयंकर बिस्पोटले किन उडाउन सक्दैनन् तिम्रा कुमारी सम्झनाहरू ????
दुश्मनको गोलीले छेडिएको छाती र
तिम्रो सम्झनाले हरेक पल रेटिएको मुटुले
कति उत्तेजेक पीडा दिदो रहेछ युद्धमैदानमा ।।।
युद्धको यति आकर्षक सौन्दर्य
कसैलेपनी हेर्न नपरोस अब उप्रान्त ।
म शान्तिको लागि, युद्धको तयारी गरिरहेको छु ।”
युद्ध र प्रेम/बुद्धि तेम्बे माइला
“यदी चुरोट पिएर
मनका पीडाहरू समधान हुने भैदिए,
यदी म मेरो सम्पुर्ण जीवनलाई नै चुरोट बनाई दिन्थेहुँला
जहाँ म भित्र भएका अनगिन्ती
चिन्ताहरू धुवा बनेर निस्कन्थे होला ।”
धुवाँसरी जीवन/छबिना लुङ्गेली मगर
“जब ….
बतासले सुस्तरी उसको नाम सुनाएर के गयो
स्मृतिमा जमेका एक हुल याद जागेर आयो
पत्तै नभई ,
आँआका डिल हुँदै –हुँदै आँशु तप्प खसेछन् ।
धेरै पछि
तिमी नभइदिएरै त बतासहरूले याद गरायो
मुटुले कस्सिएका गाँठो खोल्न पायो
ओठहरू काँप्न थाल्यो ….
कसो बार्दलीमा बस्न भुलिनछु ।”
–बतास/सविता फागो चोङ्बाङ
माथिका रचना वाचनसँगै जेफाले सिर्जना डबलीको सयौं अङ्क मनाए अनि कवि सविता फागो चोङ्बाङले सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो लोकप्रिय कविता बतास वाचन सहित कार्यक्रमको बिट मारिन् ।
यसरी जेफाले सिर्जना डबलीले धेरैलाई एउटा सन्देश दिएको छ । हाम्रो सफलता हाम्रो हाम्रो कर्ममा भर पर्छ । खुसी र पीडाहरू एक सिक्काका दुई पाटा हो मन्त्र जपेको खण्डमा सफलता पर छैन । जेफाले सिर्जना डबलीलाई सयौं अङ्क पार गरेकोमा बधाई, अरु सिँढीहरूको निम्ति मनभरीको शुभकामना ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।