जसले मेन्छ्यायेम गाउँपालिका बनाउन लागिपरे... - Naya Online

जसले मेन्छ्यायेम गाउँपालिका बनाउन लागिपरे…

देवेन्द्र सुर्केली

९ वर्ष अगाडि कुराकानीको लागि समय माग्दा धेरै काम छोडेर बागबजारस्थीत आफू बसेको होटल हार्दिकमा आइपुगेका थिए –यादवबहादुर खापुङ । कुराकानी द गोर्खाज साप्ताहिकको लागि गरिएको थियो । तर कुराकानी गरिएको केही समयपछि नै ‘द गोर्खाज’ यस पंक्तिकारले छोडेकाले कुराकानी त्यसै थन्कियो ।

विशेषगरी लाहुरे समुदाय, जोकोही पेशामा रहेका व्यक्तिको लाहुरेसँग सम्बन्धबारे चर्चा गर्ने गर्दथ्यो द गोर्खाजले । यादव खापुङसँग इण्डियन आर्मीमा भर्ति भइसकेका तथा व्रिटिस आर्मीमा पनि गेटपास पाएको अनुभव थियो । लिम्बू समुदायमा लाहुरे हुनु अवसरको रूपमा लिइन्छ । तर यादवले उक्त अवसरहरूलाई तिलाञ्जली दिएर शिक्षण, समाजसेवा र राजनीतिलाई आफ्नो जीवनको बाटो बनाएका थिए । अहिले त यादवबहादुर खापुङ दोश्रो पटक मेन्छ्यायेम गाउँपालिका, तेह्रथुमको अध्यक्ष भइसकेका छन् ।

कुराकानीको बेला देशमा स्थानीय चुनावको हल्ला चलिरहेको थियो । संविधान नबनिसकेकोले अहिलेको जस्तो पालिकाको संरचना थिएन । त्यसैले नेतादेखि कार्यकर्ता र जनताको सोचाई पुरानै गाविस, जिविसकै पेरिफेरीमा दौडिएको थियो । त्यही सन्दर्भ चलेकोले यादवबहादुर खापुङले जिविस सभापतिमा आफू तयारी हुँदै गरेको बताएका थिए । आफ्नो योजनालाई प्रचार होस् भन्ने हेतुले समय माग्नेवित्तिकै मिडियासामू आइपुगेका थिए । तर समयक्रममा उनी त जिविस सभापति होइन, सिंगो गाउँपालिका हाँक्ने स्थानीय सरकार प्रमुख हुन पुगे ।

गत चुनावको सन्दर्भमा पनि यादव खापुङसँग पुन भेट भयो । टिकटको लागि सम्भावित उम्मेद्वार सबै विराटनगर झरेका थिए । तर यादव भने आफ्नै अड्डामा ढुक्कसँग बसेका थिए । “जित्ने उम्मेद्वार म नै हुँ, त्यसैले पार्टीले मलाई नै दिनुपर्छ भन्ने बुझेको छु । बेकारमा किन धाइरहनु ?” उनी बडो अदवका साथ भन्दै थिए । “म आफूचाहीँ जित्छु, यो गठबन्धनले गर्दा टिम सबैलाई पो जिताउँछु कि जिताउँदिन ? त्यो चाहीँ समस्या छ ।” खापुङले चिन्ता गरेको विषयचाहीँ यो थियो ।

“अहिले मान्छे क्षणक्षणको चिन्ता गरिरहेका छन्, तपाई चाही यतिको ढुक्क कसरी हुनुभयो ?” भन्ने प्रश्न तेस्र्याउँदा एकदमै मिजासिला शैलीका यादव आँखा चिम्म पारेर मुस्कुराउँदै भने – “यहाँसम्म आइपुग्नुको सङ्घर्ष कम छैन नि !”

०००

यादव खापुङका बुबा गणेशबहादुर उसबेलाका कानुनवेत्ता । वकिल उपनाम पनि पाएका थिए । अड्डाअदालत धाइरहन्थे । पहाडको गाउँ, नुन मट्टितेलको लागि धरानसम्म पुग्नुपर्ने बाध्यता । तसर्थ घरको दुःख त घरमै थियो । तर गाउँगाउँमा पुग्न थालेको शिक्षा भनै परिवारका सबैले लिन भ्याए । गाउँकै गौखुरी स्कुलबाट अध्ययन शुरु गरेका उनले सिंहवाहिनी माध्यमिक विद्यालयबाट एसएलसी गरे ।

शिक्षा भित्रिएको घर भएकैले होला जेठा दाई डिल्ली खापुङले सरकारी सेवामा प्रवेश गरे । माइला दाई फत्तेजङले प्राथमिक तह पूरा गरेपछि गाउँमा स्कुल नभएकाले पढ्न पाएनन् । साइला दाई केआईसिंह खापुङले प्राथमिक तह पूरा गरेपछि व्रिटिस आर्मीमा भर्ति भए । यादवचाहीँ काइँला हुन् । कान्छा ओजराज पनि व्रिटिस आर्मीमा भर्ती भए ।

त्यसबेला गल्लावालहरू गाउँ पसेर योग्य युवाहरूलाई छानेर लाहुरे बनाउथे । यादव पनि योग्य युवामा दरिए र भारतीय गोर्खा फौजमा भर्ति भए । उनले त्यहाँ नम्बर नै पाइसकेका थिए तर भागेर नेपाल फर्के । त्यसबेला पनि युवाहरूको सपना हुन्थ्यो होला लाहुरे बन्ने, किन भागेको भन्ने प्रश्न आउँथ्यो उनलाई । उनी रसिक स्वभावमा यादव भन्थे – “ट्रेनिङ देखेर भागेँ नि !”

भारतीय फौजबाट फर्केर आएपछि पनि फेरि व्रिटिसको गेटपास पाएका रहेछन् । तर पढ्नुपर्छ भन्ने कुरा उनमा चेत आइसकेकाले त्यसलाई छोडे । एसएलसीपश्चात उच्चशिक्षाको लागि काठमाडौं पुगे । विद्यार्थी जीवनको भोगाईलाई नजिकबाट भोगे । जागिर खोजे, कृषि चुन उद्योगमा केही समय जागिर पनि खाए । अन्यतिरको जागिरमा पनि केही समय अलमलिए । त्यसबाट सन्तुष्ट नभएपछि वैदेशिक रोजगारको बाटोमा पनि उभिन खोजे ।

गाउँबाट युवाहरू धमाधम कोरिया गइरहेका थिए । यादव खापुङ पनि त्यही लाइनमा उभिए । तर उनलाई कोरियासम्म पुर्याउने जिम्मा लिएको एजेन्टले पुर्याएन । मान्छेलाई पुर्याएन, लागेको खर्च पनि फर्काएन । पछि एजेन्टसँग लागेको खर्च फर्काउने सहमतिस्वरूप तमसुक बनाएका थिए । उक्त एजेन्टको असामयिक निधन भयो, खबर सुनेर यादव खापुङ तत्काल काठमाडौं पुगे, पशुपति पुग्दा एजेन्टको शव जलिरहेको रहेछ । यादवले उक्त तमसुकलाई चितामै जलाएर विदा गरे ।

“तमसुकको माध्यमबाट आफ्नो गुमेको रकम फिर्ता गर्न सक्नुहुन्थ्यो नि !” भन्ने साथीभाईको प्रश्नमा यादव भन्थे रे “खास मान्छे गइगो, उसको परिवारलाई किन दुःख दिनु हौं ।”

०००

यादव खापुङ जाँते प्रावी, मोराहाङ शिक्षक बने । शिक्षण पेशासँग मन उती रमाएन । शिक्षण छोडेर राजनीतितर्फ झुकाव राख्न थाले । श्री गौखुरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बने । वि.सं. २०४८ सालमा नेकपा (एमाले)को संगठित सदस्य बने । ०५३ सालमा पार्टीले गाउँ कमिटिको सचिव बनायो । गाउँ कमिटिको सचिव हुनुको नाताले स्थानीय निर्वाचनमा गाविस अध्यक्षको लागि स्वभाविक उम्मेद्वार थिए । त्यसैले उनले प्रचारप्रसारको लागि पोष्टरसमेत छपाएर गाउँ पुर्याएका थिए ।

पार्टीका जिल्ला सचिव हालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ थिए । जिल्ला सचिवले नै गाविस अध्यक्ष लड्न मन गरेपछि यादवले आफ्नो प्रचारको लागि छपाएको पोष्टर कुनामा थन्काएछन् र भवानीलाई जिताउन अगाडि बढेछन् । “राजनीतिमा त्याग भएन भने सफल होइन्न, त्यसबेला मै हुन्छु भनेर लागिपरेको भए अहिले यस ठाउँमा हुँदिन थिएँ कि ? कि अझै माथि पुग्थेँ कि ?” त्यसबेलाको क्षणबारे आफ्नै समिक्षा गर्दा निस्कने बोली हो यादवको ।

वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन मोराहाङ गाविस अध्यक्ष चुनाव लड्नका लागि बनाइएको पोष्टर

 

उनलाई गाविस अध्यक्षमा टिकट दिइएन तर जिल्ला विकास समितिको सदस्य भने बनाइयो । इलाका क्षेत्रबाट जिल्ला सदस्य बनेपछि उनलाई क्षेत्रपाल उपनामले चिनिन थालियो । अहिले उनलाई धेरैले चिन्ने नाम क्षेत्रपाल नै हो ।

२०५४ सालदेखि नेकपा (एमाले)को जिल्ला कमिटि सदस्य बनेका खापुङ त्यसयता निरन्तर जिल्लास्तरीय नेताको रूपमा सक्रिय छन् । पार्टीले उनलाई मेन्छ्यायेम गाउँ कमिटिको अध्यक्षको जिम्मेवारी पनि दिएको छ । एमालेकै जनसंगठन अखिल नेपाल किसान संघको दुईपटक जिल्ला अध्यक्ष, कोशी अञ्चल सदस्य र केन्द्रीय प्रतिनिधि पनि बनेका थिए ।

०००

मेन्छ्यायेम गाउँपालिका बनाउनमा यादव खापुङले विशेष जोड गरेका हुन् । तत्कालिन पौठाक, श्रीजुङ र मोराहाङ गाविसलाई मिलाएर मेन्छ्यायेम गाउँपालिका बनाइएको हो । फेदाप र म्याङलुङ डाँडालाई जोड्ने कुनामा अवस्थित छ मेन्छ्यायेम । पौठाकलाई फेदापमा जोडेर श्रीजुङ र मोराहाङलाई म्याङलुङ नगरपालिकामा गाभ्ने प्रयास नभएका होइनन् । तर मेन्छ्यायेम हुनुपर्छ भनेर खरोगरी उभिएका थिए यादव । र, मेन्छ्यायेम गाउँपालिका सुचिकृत भयो । त्यसैले मेन्छ्यायेमको नेतृत्वमा आउन उनको जोड हो, अनि बने पनि ।

‘मेन्छ्या’ भने याक्थङ भाषामा तरुनी युवती र ‘येप’ भने उभिनु हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जोड्ने डाँडामा अवस्थित छ यस स्थल । याक्थुङ मुन्धुममा यस डाँडाको चर्चा धेरै हुन्छ । यस्तो ऐतिहासिक स्थलको नाममा गाउँपालिका बन्नु महत्वको विषय बनेको छ ।

यस गाउँपालिकामा तेनहाङ राजाले राज्य गरेको अवशेष छन् । खापुङहरू तेनहाङकै सन्तान हुन् । खोरङ्वा खोलाको शीर यसै गाउँपालिकामा छ । यसै खोलामा गौखुरी धाम छ भने तीनजुरे मिल्के जलजले शिरमा रहेको छ । जुन गुराँशको राजधानी हो । गौखुरी धामदेखि केही तल तेह्रथुम पावर कम्पनीको उत्तरी खोरङ्वा हाइड्रोपावर प्रोजेक्टले ७.५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । लेकदेखि वेशीसम्म पहाडमा हुने सबैखालका खेती उत्पादन भइरहेका छन् । प्राकृतिक रूपले पनि सुन्दर यस गाउँपालिका छुट्टै विशेषताले भरिपूर्ण छ । अलैची, आलु, पशुपालन, अन्नपात प्रशस्त हुने यस ठाउँमा पछिल्लो समयमा जग्गा बाँझिने अवस्था पनि बढ्दो छ । मानिसहरूको बढ्दो पलायन, कृषितर्फ नैराश्यता पहाडीक्षेत्रका समस्या हुन् । मेन्छ्यायेममा पनि यस्ता समस्याले छाएको छ । ऐतिहासिकतादेखि नैराश्यतासम्मलाई जोडेर सिंगो मेन्छ्यायेमलाई सदा जिवित राख्ने जिम्मेवारी यादवबहादुर खापुङसँग छ ।

हक्कि स्वभावका यादवले गर्न सक्छु र गर्छु भनेरै अगाडि बढिरहेका पनि छन् ।

प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई स्वागत गर्नेक्रममा मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ

०००

खापुङ वंशावलीअनुसार २७ पुस्ताका नरबहादुरका तीन छोरामध्य मानबहादुर खापुङका नाती हुन् यादवबहादुर खापुङ । जसलाई मोराहाङमा तीनभैया सन्तान भनेर चिनिन्छ । यादवका तुम्बा (ठूलो बुबा) दुर्गाबहादुर खापुङ पनि मोराहाङका प्रधानपञ्च भइसकेका व्यक्ति हुन् ।

यादवबहादुर खापुङको जन्म २०१५ वैशाख २४ गते बुबा गणेशबहादुर खापुङ र रत्नमाया आङबुहाङ खापुङबाट काइँलो छोराका रूपमा तत्कालिन मोराहाङ १ मा भएको हो । जेठा डिल्लीबहादुर नेपाल सरकारको कर्मचारीबाट अवकाश पाएर ललितपुरमा बसोबास गर्दै आएका छन् । माइला फत्तेजङ खापुङ थरीहरूको संस्था किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोको केन्द्रीय अध्यक्ष हुन् । साइँला केआईसिं केआईसिंह जन्मदा नेपालमा प्रधानमन्त्री के.आई.सिंह बनेका रहेछन् । तसर्थ बुबा गणेशबहादुरले छोराको नाम पनि केआईसिंह नै राखिदिए । कान्छा ओजराज अवकासप्राप्त व्रिटिस आर्मी हुन्, उनी बेलायतबासी बनेका छन् । यादवको दिदी नन्दमाया खापुङ मादी नगरपालिका, संखुवासभाको पूर्वमेयर विदुर लिङ्थेपको आमा हुन् । बहिनी राजकुमारी खापुङ बेलायतमै रहँदै आएकी छिन् ।

यादवले दिलकुमारी निङ्लेकुसँग विवाह गरेका छन् भने छोरा उज्जल खापुङ र छोरी मेनुका खापुङ छन् । छोरापट्टि एक नाती, एक नातिनी र छोरीपट्टि एक नातिनीको धनी पनि भइसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...