नेपालमा पहिचानहरूबिचको द्वन्द्व र वर्तमान अस्पष्ट व्यवहारिक राजनीतिको प्रभाव - Naya Online

नेपालमा पहिचानहरूबिचको द्वन्द्व र वर्तमान अस्पष्ट व्यवहारिक राजनीतिको प्रभाव

प्रा डा युवराज लिम्बू

विश्व समुदायमा आफ्नो संस्कृति, सभ्यता र पहिचानप्रति चेतनाको लहरमा आएको वृद्धिसँगै दुई ध्रुवीय शीतयुद्धको अन्त्यपश्चात विश्व बहुध्रुवीय हुन पुगेको छ । प्रख्यात अमेरिकी राजनीतिक विश्लेषक Samuel P Huntington का अनुसार अब भविष्यमा हुने मानव द्वन्द विगतमा भए जस्तो भूमिको कारण नभएर विविध संस्कृति र सभ्यताहरूको कारण हुनेछ अर्थात् भविष्यमा युद्धहरू बिगत दुई ध्रुवीय विश्वमा भएको जस्तो भूराजनैतिक (Geopolitical) युद्ध नभएर संस्कृतिहरू बीच हुनेछ । आज यसको ज्वलन्त उदाहरणको रूपमा वर्तमान रसिया र युक्रेनबीच भईरहेको युद्धलाई लिन सकिन्छ । पुर्व सोभियत संघको एक प्रमुख गणराज्यको रूपमा रहेको युक्रेन, रसियन संस्कृति र सभ्यताको निश्चित प्रभाव रहेको एक देश हो । एक लेखकले वर्तमान रसिया र युक्रेन बीच भईरहेको युद्धलाई भूमिको लडाईं नभएर Identity (पहिचान) र Status को युद्ध हो भनेर विचार व्यक्त गरेका छन् (David Brooks, The New York Times 2022: March 12,13) । सभ्यता र संस्कृतिको द्वन्द देशहरू बीच (International) मात्र नभएर एकै देशभित्र (International) पनि हुने गर्दछ । आज संसारको बिभिन्न राष्ट्रहरूमा बिबादको रूपमा आएको विवादित गर्भपत सम्बन्धि कानून प्रष्ट रूपमा देखिने सांस्कृतीक द्वन्दको उदाहरण हो (Tonathan H Turner. Sept 1: 2005. Sociology) । सांस्कृतीक द्वन्दले युद्ध सम्म निम्त्याएको घटनाहरू पनि इतिहासका पानाहरूमा सुरक्षित छन् (Fellman M. April 19, 1990. Inside war; the guerrilla conflict in Missauri during the American civil war. Oxford University Press. P15) ।

नेपालको सन्धर्भमा भन्ने हो भने, सबै अल्पसंख्यक जाती, भाषा र संस्कृतिको विविधता यो देशमा प्रष्टैसँग देख्न सकिन्छ । सबै अल्पसंख्यकहरूको बसोबास भएको नेपाल वास्तवमा विविध इतिहास र सभ्यताहरूको संगम पनि हो । अंग्रेजी शब्दलाई सापटी लिएर भन्ने हो भने विविध जाती, भाषा, संस्कृति, इतिहास र सभ्यताहरूको सम्मिश्रण भएको नेपाल एक Salad bowl हो । बिभिन्न काल खण्डमा भएका भाषिक र सांस्कृतिक द्वन्दहरू नेपालको इतिहासमा प्रष्टसँग पढ्न सकिन्छ र यो द्वन्द निरन्तर रूपमा चलीरहेको छ । हालै प्रदेश नं १ को नामांकनलाई लिएर उठिरहेको विवाद, सतहमा नै देख्न सकिने यहाँको विविध भाषा, संस्कृति, इतिहास र सभ्यताहरू बिचको द्वन्दको उत्कृष्ट उदाहरण हो । सबै अल्पसंख्यकहरूको बसोबास गरिरहेको ठाउँमा अल्पसंख्यक भईकन पनि राजनीति र राज्य संयन्त्रमा एकल खस आर्य पहिचानको वर्चस्वशाली उपस्थितिका कारण वर्तमान प्रदेश नं. १ मा किराँत सभ्यता र लिम्बुवान इतिहासले आफ्नो अस्तित्व बोधको निमित्त आवाज उठाउँदा, लिम्बुवान किराँत पहिचान र खस आर्य पहिचानबीच द्वन्द सृजना भएको हो । खस आर्य समुदायका न्यायप्रेमी बौद्धिक व्यक्तित्वहरू र अभियन्ताहरूसमेत लिम्बुवान किराँत पहिचानको जायज मुद्दामा अडिग हुनुहुन्छ (यस लेखमा पहिचान शब्दसँग जोडिएर समग्र रूपमा खस आर्य भन्ने शब्द प्रयोग गर्नु परेको हो ।) वर्तमान प्रदेश नं १ मा नामांकनको निमित्त स्पष्ट रूपमा भाषा, संस्कृति, इतिहास र सभ्यताका आधारहरू हुँदाहुँदै पनि वर्तमान राजनीतिका कारण यी दुई पहिचानहरूबीच द्वन्द्ध सृजना भएको छ ।

सामाजिक विज्ञानको गुरु बिज्ञान मानिने राजनीतिको ठोश परिभाषा भने छैन । “The human being is a political animal”, “politics is the master science” भनेर राजनीति शास्त्रको पिता मानिने Aristotle ले प्राचिन समयमा नै मानव समाजमा राजनीतिको महत्वबारे प्रष्टसँग भनिसकेका थिए । सबै राज्यव्यवस्था, शाशन पद्धति र सुशाशन कायम गर्ने भनेको राजनीति शास्त्र नै हो । सरकार र राज्य संचालन राजनीतिबाट नै निर्धारित हुने गर्दछ । वर्तमान प्रदेश नं १ को नामांकन सम्बन्धमा देखापरेको संस्कृति र पहिचानको द्वन्द्ध, बिशेष गरेर लिम्बुवान किराँत पहिचान र खस आर्य पहिचानबिचको द्वन्द्धलाई जायज रूपमा सम्बोधन गर्दै अन्तिम निर्णय गर्ने सन्दर्भ आफैंमा एक राजनीतिक विषयबस्तु हो । त्यसो त नेपालका अन्य प्रदेशहरूमा पनि त्यहाँका आदिवासी/मुलबासी र जनजातीहरूले आफ्नो पहिचान स्थापनार्थ झिनो भए पनि केही आवाज उठाएकै हुन् तर आदिवासी/मुलबासी र जनजातीहरूको राजनीतिमा पकड नभएका कारण एकल खस आर्य संस्कृति र भाषिक पहिचान झल्काउने; बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम आदि प्रदेशका नामहरू स्थापित भए । तत्कालिन प्रदेश नं २ भने अपवादको रूपमा रह्यो । मधेशी पहिचान र पहाडे खस आर्य पहिचानबिचको कडा द्वन्द्धमाझ स्वभिमानी मधेशी जनताको दर्विलो राजनैतिक चेतनाका कारण मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश स्थापित हुन पुग्यो ।

संख्यात्मक रूपमै हेर्ने हो भने आदिवासी/मुलबासी र जनजातीहरू नेपालको सबै भन्दा ठूलो समुदाय हो र नेपालको हरेक राजनैतिक घटना क्रमहरूमा उनीहरूको उपस्थिति ज्यादै महत्वपूर्ण छ तर नेपालको इतिहासमा आज सम्म कुनै पनि राजनैतिक घटनाहरूमा आदिवासी/मुलबासी र जनजातीहरूले निर्णयकारी भूमिका निभाउन सकेका छैनन् । नेपालका प्रत्येक राजनैतिक पार्टीहरूमा आदिवासी/मुलबासी र जनजातीहरूको सहभागिता संख्यात्मक रूपमा राम्रै छ तर निर्णयकारी भूमिकामा उपस्थिति प्राय सुन्य भएकोले यस देशमा हुने महत्वपूर्ण निर्णयहरू; देश निर्माणका ठूला ठूला परियोजनाहरू, राज्य सँग सम्बन्धित नागरिकता सम्बन्धि ऐन कानुनहरू, देशको मूल कानून, राज्य संचालन, अर्थनीति, परराष्ट्र नीति आदिमा यहाँका आदिवासी÷मुलबासी र जनजातीहरूको दृष्टिकोणबाट कुनै निर्णयकारी भूमिका रहँदैन न त संघीय नेपालको प्रदेशहरू निर्धारण गर्दा यहाँका आदिवासी/मुलबासी र जनजातीहरूले सशक्त र प्रभावकारी रूपमा आफ्नो चाहना र दृष्टिकोण व्यक्त गर्न सके । विश्वको कुनै देशमा थोरै संख्यामा रहेका आदिवासीहरूको जस्तो स्थिति नभएर नेपालमा आदिवासीहरूको उपस्थिति संख्यात्मक हिसाबले सबैभन्दा ठूलो समुदाय हो । यति ठूलो संख्यामा रहेका नेपालका आदिवासीहरू वर्तमान बर्चश्वशाली राजनीति लगायत राज्यका तीनै अंगहरू, कर्मचारीतन्त्र, संचार जगत (Media), सामाजिक र पेशागत सञ्जालहरू आदिमा प्राय सिमित संख्यामा मात्र रहनु र अझ निर्णयकारी भूमिकामा उपस्थिति प्राय सून्य हुनु आफैंमा एक गहन अध्ययन र विश्लेषणको बिषय हो ।

राजनीतिमा सिद्धान्त र विचारधारा (Ideology) को हवाला दिए पनि व्यवहारिकता (Pragmatism) को स्थान महत्वपूर्ण रहेको कुरा विश्व राजनीतिमा व्यवहारिक रूपमै पुष्टि भइसकेको छ (Drhimeur A. The party of justice and development’s pragmatic politics. Rice University Baker Institute for public policy. Issue brief’ 05.31.18_, -Dr Patrick Keelan. To be principled or pragmatic: that is the question. Call Dr Pat-403_ 324–187) । बिभिन्न राजनैतिक पार्टीहरू बीच चुनाव जित्न निर्माण हुने मोर्चा बन्दि, सरकार बनाउन निर्माण हुने गठ बन्धन आदि राजनैतिक व्यवहारिकता (Political pragmatism) को सिद्धान्त अवलम्बन बाट नै भएको हो किनकि यसले बढि परिणाम सँग सम्बन्ध राख्तछ यहाँ विचारधारा (Ideology) साथै किन र कसरि भन्ने प्रश्न गौण हुन्छ (Rosanti R.-2020_,Political pragmatism in Indonesia. Jurnal Bina Praja, 12-2_, 153– 165.) । “बिरालो सेतो भए पनि कालो भए पनि मुसा मर्ने बिरालो असल बिरालो हो” (It doesn’t matters whather a cat is black or white, if it catches a mice, it is a good cat–Deng Xiao Ping) भन्ने चिनिया नेता तङ स्याओ फिङको भनाईबाट राजनैतिक व्यवहारिकतालाई अझ प्रष्ट सँग बुझ्न सकिन्छ । राजनैतिक निर्वाचनहरूमा व्यवहारिकताको (Pragmatism) असर मतदान परिणामहरूमा प्रष्टैसँग देख्न सकिन्छ । निर्वाचनमा निकै असर राख्ने, व्यक्तिलाई हेरेर दिईने मत यसको प्रष्ट उदाहरण हो । सबै नेपाली मतदाता हरूलाई प्रत्येक राजनैतिक पार्टीहरूको सिद्धान्त एक एक गरेर थाहा कसरि हुन सक्छ ? अक्सिजन सिलिन्डर सहित मतदान केन्द्रमा पुग्ने ९६ बर्षीय र नातिको पिठ्युँमा मतदान केन्द्र पुग्ने ९० बर्षियाहरूले पार्टीको सिद्धान्त याद गरेका होलान र ? हालै सम्पन्न आदिवासी बौद्धिक बहस समूहको Zoom meeting मा भरखरै मात्र सकिएको स्थानीय निकायको निर्वाचन परिणाममा व्यवहारिक राजनीति (Pragmatic politics) को प्रभाव र असरहरू बारे राम्रै सँग छलफल र बहस भएको थियो ।

निर्वाचन परिणामहरूलाई हेर्दा, राजनीतिमा व्यवहारिकता (Pragmatism) लाई समेटेर नेपालका सत्तासिन राजनैतिक पार्टीहरूले तुलनात्मक रूपमा राम्रै सँग जनमत सृजना गरेको देखिन्छ । राज्यसँग भौतिक र मानसिक (सञ्चार, कानून, शिक्षा…. आदि) दुवै किसिमको श्रोत र साधन उपयोग गर्ने सुबिधा हुन्छ । गाँस, बास र कपास आधारभूत आवश्यकता भएको मानिसलाई स्वाभाविक रूपमै राज्य संयन्त्रको सामिप्याताले बढि व्यवहारिक समस्याहरू समाधान गर्दछ । दर्शन र सिद्धान्तले मात्र घरको चूलो बल्दैन । . “An empty stomach is not a good political advisor” भन्दै विश्वविख्यात बैज्ञानिक एल्बर्ट आइन्सटाईन समेत यो विचारधारामा सहमत देखिन्छन् । मेरो बाबु बाजे लागेको पार्टी, फलानो मेरो नातेदार, यो पार्टीले मेरो धेरै व्यवहारिक कुराहरू समाधान गरिदिएको छ, यो पार्टीमा लागेँ भने मेरो व्यक्तिगत भलाई हुन्छ म ?ठूलो मान्छे बन्न सक्छु (जबकी भाषिक, सांस्कृतिक, इतिहास र सभ्यताको पहिचान भनेको सामुहिक हो) भन्दै नेपालका आदिवासी/मुलबासी र जनजातीहरू बिभिन्न पार्टीहरूमा आवद्ध रहनु र मतदान गर्नु राजनैतिक व्यवहारिकता (Political pragmatism) को एक असल उदाहरण हो । बढि सिद्धान्त र आदर्शको हवाला दिँदै राजनीति गर्छु भन्ने व्यक्तिहरूले समय समयमा राजनैतिक पार्टीहरू बदलिरहनु आदिमा व्यवहारिकताको कारण होइन भनेर भन्न सकिँदैन । राज्यमा आफ्नो भाषा, संस्कृति, इतिहास र सभ्यता स्थापित भईसकेको राष्ट्र समुदायको व्यक्तिले जति सुकै पार्टीहरू बदले पनि राज्यमा उस्को प्रभुत्त्वशाली पहिचान कायमै रहन्छ तर राज्यमा आफ्नो पहिचान स्थापित नभएको व्यक्तिले पार्टीहरू परिवर्तन गरेमा केहि व्यक्तिगत लाभ होला तर समग्र रूपमा आफ्नो भाषा, संस्कृति, इतिहास र शाभ्यताको पहिचान स्थापनामा कुनै योगदान पुग्न सक्तैन बरु झनै क्षति हुन सक्तछ ।

नेपालमा आदिवासी/मुलबासी र जनजातीहरूको पहिचान स्थापनार्थ सैद्धान्तिक रणनीति लिएका राजनैतिक पार्टीहरूले अवलम्बन गर्न नसकेको व्यवहारिक राजनीति (कर्मचारीतन्त्र, व्यवसायिक पेशागत सञ्जालहरू साथै अन्य दैनिक जीविकोपार्जन सँग सम्बन्ध राख्ने संघ संस्थाहरू आदिमा पकड नहुनु)लाई आदिवासी/मुलबासी र जनजातीहरूको पहिचानप्रति कुनै पनि सैद्धान्तिक रणनीति नभएका पार्टीहरूले अवलम्बन गरेर आदिवासी÷मुलबासी र जनजातीहरूलाई राम्रै सँग आकर्षित गरिरहेका कुरा बिगतमा भएका निर्वाचनको मत परिणामहरूले पुष्टि गर्न सकिन्छ । वर्तमान अवस्थामा नेपालका आदिवासी÷मुलबासी र जनजातीहरू आफ्नो भाषा, संस्कृति र रितीरिवाज प्रति सचेत नै छन् तर राजनैतिक रूपमा विभाजित छन् । वर्तमान अवस्थामा बिभिन्न राजनैतिक पार्टीहरूबाट निर्वाचित आदिवासी/मुलबासी र जनजाती जन प्रतिनिधीहरू राजनैतिक रूपमा आफ्नो भाषा, संस्कृति, इतिहास र शाभ्यताको पहिचानलाई, पार्टीको निर्देशन बिपरित, स्थापित गर्न सक्ने सामर्थ्यमा छैनन् । राजनीति र राज्यमा पकड हुने वर्चश्वशाली समुदायले आफ्नो संस्कृति अनुकूल नियम कानून बनाउँछ र आफ्नो पहिचान प्रतिकूल हुने संस्कृतिको निषेध गर्न लाग्दछ भन्ने अध्येताहरूको विश्लेषण (Source: Quora.com) सही छ । आज सामाजिक सञ्जालहरूमा आएका भाषिक बिबेधका उदाहरणहरू, संस्कृति, रितीरिवाज र परम्परागत प्रचलनहरूमा राज्यबाट गरिने बिभेदहरू आदि खसआर्य पहिचान र अन्य आदिवासी/मुलबासी र जनजातीहरूको पहिचान बिचको द्वन्दको ज्वलन्त उदाहरणहरू हुन् । नेपालका आदिवासी/मुलबासी र जनजातीहरूले राजनीतिमा पकड बेगर राज्यमा आफ्नो पहिचान स्थापना गर्छु भन्नु हावामा महल बनाउँछु भने जस्तै हो । आफ्नो सभ्यता, इतिहास, संस्कृति, रितीरिवाज र चाड पर्वहरूलाई प्रदर्शनीको बस्तु मात्र बनाउने, मनोरञ्जनात्मक सांस्कृतिक झाँकीहरू मात्र प्रस्तुत गरिरहने र दिवस र चाड पर्वको रूपमा रमाइलो भेटघाटको माध्यम मात्र बनाउने तर राजनीति र मौलिक पहिचानबिचको सम्बन्धलाई नबुझ्ने वा बुझ्न नचाहने हो भने यहाँका आदिवासी/मुलबासी र जनजातीहरूले इतिहासमा मूल्य चुकाऊँदै जानु पर्ने हुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...