लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’ - Naya Online

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई

कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो । त्यसयता जो कोहीलाई बौरिन सकस परिरहेको छ । तर केही सिर्जनशील पाखुरीहरू चुप रहेनन् । त्यो कोरोनाले बनाएको थिलथिलो अवस्थामा केही महत्त्वपूर्ण कामहरू भएका छन् । सन्जय तुम्बाहाङ्फे पनि त्यही मध्येका एक पौरखी सर्जक हुन् । साथीहरूसँग मिलेर उनले कोरोना समयमा पनि केही गीतहरू निकाले, कविताहरू निरन्तर लेखे । उनको कोरोना काल खण्डमै लेखेको गीत सिटिसफारी लोकप्रिय नै बन्यो । अहिले उनको पुस्तक ‘सृष्टिको याङ्दाङ’ कविता कृति बजारमा छ । त्यसको ढकपल्ला समालोचकहरूले उचाल्दै होलान् । यो सँगै सन्जय तुम्बाहाङ्फे लगायतले पछिल्लो समय अर्को गीत “सत्र थुम” ल्याएका छन् । हिजोआज यो गीत हाटबजार, मेलापात र बिहेबटुलोहरूमा गुन्जिरहेको छ । लिम्बू सस्कृतिमा आधारित रहेको यो गीतमा च्याब्रुङ, केलाङ तथा धाननाचको स्वाद छ यो गीतमा । यो नाच आफैँमा लिम्बु समुदायको उत्सव हो । अझ हाटबजार अनि बिहेबटुलोमा आफ्नो घर, गाउँमा आएका पाहुनाहरूसङ्ग माया पिरती साट्दै नाचिने नाच हो । लिम्बु समुदायमा यो नाचले खास अर्थ राख्ने गर्छ । पछिल्लो समय यी संस्कृतिहरू अश्लिल भयो भन्नेहरू पनि छन् । हामीले हाम्रो संस्कृतिहरू उचित व्यवस्थापन गर्न नसक्दा यसो हुनु र भनिनु स्वभाविक पनि हो । पछिल्लो समय हरेक समुदाय आफ्नो संस्कृति र संस्कारप्रति सचेत हुने क्रममा छन् । १० वर्षे जनयुद्ध र ६२÷६३ को जनआन्दोलनले किनारीकृत, पिछडा वर्ग र आफ्नो अस्तित्वको सङ्रक्षणमा मरिमेट्नेहरूलाई ठूलो उत्साह र उभार ल्याएको साँचो हो । खुवालुङ भत्काउने र मुक्कुम्लुङमाथि अतिक्रमण गर्ने विरुद्ध कर्कस आवाज निकाल्ने साहस यही आन्दोलनको उपज हो ।

तर हामी यो अवस्थामा पुग्यौं कि ती आन्दोलनहरूले दिएको उपल्ब्धिले हामीलाई पुगेन । हाम्रो प्रदेशको नाम पनि उनैले राखिदिनु पर्ने भो, हाम्रो अधिकार पनि चुलामै पुराइदिनु पर्ने भो । हाम्रो हालत यो अवस्थामा छ । आन्दोलन भन्ने बित्तिकै हाम्रो अपेक्षाहरू हाम्रो दैलोबाट भित्रै पुराइदिन्छन् भन्ने ग्रसित मानसिकता छ हामीमा । कतिपयलाई आफैले थालेको पहिचानको आन्दोलन नै भ्रम लाग्न थाल्यो । हामी यो अवस्थामा गुज्रेको बेला “सत्र थुम“ जस्ता गीतहरू आउनु भनेको हाम्रो मुद्दाको निम्ति आधारहरू मजबुत हुनु हो । अनावश्यक अपेक्षा राख्नेहरूलाई यो पौरखी सिर्जनाले पक्कै केही बोलेको छ । उसै पनि पछिल्लो समय लिम्बु समुदायहरू आफ्नो कला साहित्य र संस्कृतिको उजागर गर्न कम्मर कसेर लागि परेका छन् । “दस लिम्बुवान, सत्रथुम लिम्बुवान”को ऐतिहासिकता र गरिमा बोकेको शब्द अथवा वाक्यांश हो । कोरोना कहरमा पनि लिम्बुजन्य संस्थाहरू आफ्नो समुदायको जागरणमा लागि परे । जसको उदाहरण अनलाइन पालाम प्रतियोगिता, हाक्पारे प्रतियोगिता लगायत हुन् । अहिले पनि देश परदेशमा रहेका लिम्बुहरू अनेक प्रशिक्षणहरू गराईरहेका छन् । यसले हामीबाट ओझेल पर्न लागेका संस्कृतिको सङ्र्क्षणमा टेवा पुग्दछ । ग्लोबलाइजेसनको मारमा पर्दै गर्दा हाम्रो भाषा र मिथकको भविष्य अनिश्चित प्राय भैसकेको छ । यो बेला सचेत वर्ग उठ्नै पर्छ आफ्नो मौलिकपन र संस्कृतिको जगेर्नाको निम्ति ।

एउटा जुझारु टिम “सत्र थुम” बोलको गीत लिएर साङ्गितिक यात्रामा निस्केका छन् । यो गीतको बोलले नै सिङ्गो लिम्बुवान जुरुक्कै उठाएको भान हुन्छ । यहाँभित्रका शब्दहरूमा लिम्बुवान क्षेत्रका रैथाने जनबोलीहरू गुन्जयमान छ । रैथाने बाजाहरूको धुनले लिम्बुवानभन्दा पर रहेका लिम्बुहरूलाई पनि त्यही मेला, उत्सव, शुभ चारकलम, फक्ताङलुङ, मुक्कुमलुङ, तम्मोरको किनारतिर नै पुराउने दम राख्छ यो गीतले । हामीले बुझेको च्याब्रुङ, धाननाच र यहाँ देखाउन खोजिएको नाचमा फरक छ । माथि प्रसङ्ग उठिसकेको हुनुपर्छ हामीले आदिवासीजन्य सस्कारहरूलाई अस्लिल, छाडा, इत्रिने संस्कारको रूपमा बुझ्ने मानसिक्ता छ । अझ यो नाचमा तरुनी तन्नेरीहरू तानातान, जबर्जस्ती गर्ने संस्कारको रूपमा अफवाह फैलाइएको छ, यो अफवाह फैलनुमा हाम्रो नि केही कमजोरीहरू पक्कै छ तर यो गीतमा त्यस्तो छैन । हाम्रा संस्कारहरू सभ्य र सुन्दर पनि छ, धाननाच पनि एउटा लिम्बु समुदायको सांस्कृतिक, सङ्गीतको सौन्दर्य हो, यो नाचको वस्तविक्ता चै सभ्य र सुन्दर नाच हो भन्ने सन्देश दिन खोजिएको छ । उदाहरणको निम्ति सोल्टीले सोल्टिनीलाई तानेर लान्छु हौ भन्दा सोल्टिनीले त्यसरी हुन्न, आखिर हजुरसँग म बेराजी छैन राजी नै छु क्यारे ! रीत पुराएर घरमा आउनुस्, बाउमाइतीलाई राजी बनाउनुस् । म पनि राजी नै छु । यो बेला सोल्टीहरू पनि कुरा ठीक हो भन्नू भनेको हाम्रो संस्कारहरूमा खास शुद्धता थियो, बिचमा कसै कसैले बिटुलो बनाउन खोजे तर अब यसलाई सङ्गलो बनाउने काम हाम्रै नै हो भन्ने सन्देश पनि छ यो गीतमा । अर्को सुन्दर पक्ष लिम्बुवानको पहिचान र प्रेमको संयोजन हो । यो गीतमा तरुनी तन्नेरीबिच माया र पिरतीका संवादमा खिपिएका शब्दहरूले लिम्बुवानको थातथलो र त्यहाँका चलन चल्तीलाई सम्बोधन गरिएका छन् । च्याब्रुङ, सुनौली, रूपौली, किपट, लालमोहरजस्ता शब्दहरूले लिम्बुवानप्रतिको प्रेमलाई झल्काउँछ । सङ्गै जिम्मेवारी बोध पनि गराउँछ । यो खाले गीतहरू या लेखन लिम्बुवानमा अभियानकै रूपमा चलेको छ । जो आफैमा सकारात्मक कुरा हो ।

यो गीत हरेक दृष्टिकोणले हेरौं र सुनौ लागीरहने । पहिलो त गीतको नाम नै कस्तो मन छुदो ? लाग्ने ‘सत्र थुम’ । लाग्छ यो नामले एक पल्ट सिङ्गो लिम्बुवान र त्यसमा आस्था राख्नेहरूले श्रद्धा गर्छन् र सुन्न थाल्छन्, हेर्न थाल्छन् बिस्तृत रूपमा । पेशल माबुहाङ (दिलदुखी जन्तरे)ले कलम चलाएको यो गीतमा पेपराज माबुहाङ र चेम्जोङ श्रेयसीको स्वरले कर्णप्रिय बनाएको छ । हामी मस्त तन्नेरी हुँदा कोसी किनारे भनेर चिन्थ्यौ अहिले सन्जय तुम्बाहाम्फे, उनको लय तथा सङ्कलनको कुरा गरिसाध्य छैन । उनी रैथाने गीत सङ्गीत÷लेखनमा खुब दख्खल राख्छन् ।

पुष्पाञ्जली तिलिङ र राज लिम्बुलगायतको अभिनयले गीतलाई जीवन्त बनाएको छ । लिम्बुवानी भेषभुषाले गीतमा अमरत्व थपेको छ । हाङ चेम्जोङको निर्देशन गरेको यो गीतले लिम्बुवानी माटोलाई थप सुगन्धमय बनाएको छ, कालजयी बनाएको छ । गीतको उठान र वैठान साह्रै लोभलाग्दो छ । यो गीतले लिम्बुवानको ऐतिहासिकतामा अरु इट्टा थपेको छ । जसको कारण लिम्बुवान आन्दोलन पनि मजबुत बन्नेछ । यो गीतमा अलि अलि खड्केको कुरो चाहिँ त्यत्रो ऐतिहासिकता बोकेको गीत अझै केही कुरा अटाउन पो सकिन्थ्यो कि अथवा अलि छोटो भको पो हो कि भन्ने कौतुहलता लाग्छ, अर्को कुरो चै सम्वाद नराखिनु पथ्र्यो, राखेपछि अलि शालिन ढङ्गको हुनुपथ्र्यो, सोल्टीज्युको बिना प्रसङ्ग एक्कासी तानेर लान्छु भन्दा अलि खस्रोपना महसुस हुने । तर सोल्टिनीको संवादले गीतलाई न्याय गरेको छ । नितान्त यो मेरो कुरा हो यसमा फरक मत पनि हुन सक्छ ।

अन्त्यमा यो गीतले एउटा उचाई छोएको अनुभूति छ ममा । यो गीतलाई पहिचान र अस्तित्वको आन्दोलनमा एउटा इट्टा हुनेछ । गीतलाई अरु सफल्ता मिल्न केही बाँकी नै छ । त्यो दिन जरुर आउने छ । सत्र थुमको परिकल्पना गरेरमात्रै हुन्न, यथार्थमा ढाल्न मद्दत दिने सुर्य खापुङ, शर्मिला हुक्पा चोङबाङ र रीता फोम्बो ठुलीलगायत सिङ्गो सत्र थुम टिमलाई बधाई तथा अरु सफलताको शुभकामना ।

https://www.youtube.com/watch?v=qgfUG9x3lWY

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...