म्यामराज राई
कथाकार दिलिप बान्तावा आफ्नै गाउँले हुन् । उनको लेखनले जो कोहीलाई लोभ्याउँछन् । सामाजिक सञ्जालमा राख्ने उनको रायले समेत धेरैको मन छुन्छ । यही क्रममा उनको ताल्चा कथा सङ्ग्रह बजारमा आएको छ । हामी गाउँले पनि भएकाले बढो चासो लिएर ताल्चा कथा सङ्ग्रह प्राप्त गरेँ र र मनमा भएका खुलदुलीहरू यहाँ पस्केको छु । ताल्चाभित्र जम्मा दश ओटा कथाहरू सङ्ग्र्रहित छन् ।
सातौं इमोजी
जनयुद्ध, कठोर परिस्थितिबीच प्रेम, जनवादी विवाह, बिछोड, परिस्थितिवश गृहस्थी जीवनको सुरुवात, पार्टीको बेवास्ता तथा जेनतेन चलेको एउटा जिन्दगी आदि सातौं इमोजी कथाको सार हो । लडाईंका लागि निर्देशित स्थानमा तोकिएको समयमा नआइपुग्दा कम्बिनेशन मिल्दैन । त्यसको परिणाममा अपुरणीय क्षति भएको कथामा देखाइएको छ । सशस्त्र युद्धको शान्तिपूर्ण अवतरण भयो । एउटी पात्र कामरेड रक्तिम उर्फ रमिलाको जीवन भने कहिल्यै अवतरण नहुने गरी उडिसकेको थियो । सदरमुकाम आक्रमण गर्न खटाइएको ‘आर्क ए’का कमाण्डर मात्रै ढलेको थियो तर यता रमिलाको घरको खम्बा ढलेको थियो । रङ्गिन भविष्य कहिल्यै रङ् नपोतिने गरी उजाडिएको थियो । जन्मिन लागेको बच्चाको अभिभावक ढलेको थियो । ‘आर्क बी’को बेइमानी कमाण्डरले गर्दा जिन्दगीभर रमिलाले मूल्य चुकाउनुपर्यो ।
नेपालमा दश वर्षे जनयुद्धले हर क्षेत्रमा उथलपुथल ल्याएको सत्य हो । लहडमा जनलहर उर्लेको पनि सत्य हो । परिस्थितिवश गृहस्थी जीवनमा लागेकी कामरेड रक्तिमहरूलाई खोजीनीति गर्ने पार्टीलाई फुर्सदै भएन । रमिलाहरूको पार्टीमा योगदानको लेखाजोखा गर्नु त झन् परको कुरा भयो ।कामरेड नवीन ‘आर्क बी’को कमाण्डर थियो, जसको कारण ‘आर्क ए’को कमाण्डर कामरेड शिखर सहित सदरमुकाम आक्रमणमा पार्टीले ठूलो जनधनको क्षति व्यहोर्नु पर्यो ।उ ढिलो आइपुगेको मात्र नभई सेनामा गोप्य सूचना चुहाएको रमिलाले प्रमाण समेत भेटिन् । पार्टीमा छानबिनको लागि उजुरी दिए पनि सुनुवाई भएन । उनको पार्टीप्रति वितृष्णा पैदा भयो र आफ्नै सुर कसिन् ।
सन्तान पालनपोषणका निम्ति वैदेशिक रोजगारीमा पुगिन् । रमिलाले वर्षौंपछि संयोगवश जनयुद्ध दिवसको दिन शहिदहरूप्रति सम्मानार्थ शालिकहरू ठड्याइएको रहेछ । सामाजिक सन्जालमा देखिन् । जुन लहरमा आफ्नो श्रीमान् सहित सदरमुकाम आक्रमणमा मारिएकाहरू थिए । ती फोटोहरू पोस्ट गर्ने बहालवाला मन्त्रीको स्वकीय सचिव अर्थात तत्कालीन समयमा ‘आर्क बी’का गद्दारी कमाण्डर कामरेड नवीन थियो । अन्तमा, रमिलाले घृणारूपी इमोजी मार्फत व्यक्त गरेकी छिन् ।
यसरी कथा मार्मिक अन्त्य भएको छ ।
कैदी नम्बर ३५४
तायाको क्लासमेइट् रमा हुन् । उनको दाई समीर जो बेलायती सेना । समीरले उँंभौली साकेन्वाको अवसर पारेर नम्बरी विक्रमलाई आफ्नो गाउँ लिएर आयो । उनै विक्रमसँग कथाकी प्रमुख पात्र तायाबुङ् राई अर्थात ताया उर्फ कैदी नम्बर ३५४, जो प्रेमजालमा परेर विवाह पूर्व नै अनैतिक सम्बन्धबाट जन्माएकी मृत बच्चाको कारण जेल चलान गरियो ।
सहायक पात्रहरू
१) सङ्गी दिदी, जसको श्रीमान् वैदेशिक रोजगारीमा गएको थियो । त्यही मौका छोपी छिमेकी देवर झ्याल फोडेर अस्मिता लुट्न आएको बेला प्रतिकार गर्दा ठहरै भयो र, सङ्गी दिदीको जेल यात्रा शुरु भएको थियो ।
२) जानुका मगर, जो जँड्याहा बुवाबाट आमालाई जोगाउने क्रममा बुवा ढलेपछि जेल गएकी हुन् ।
३) पूर्णिमा तामाङ् जसको नेतृत्वमा गाई मारिएको थियो । त्यही अभियोगमा उनीलगायत संलग्न सबैलाई जेल कोचिए ।
किराँत राईहरूको महान् पर्व चण्डी/साकेला पर्वको परिवेश वरिपरि कथा घुमेको छ । साँस्कृतिक पर्वको रूपमा वर्षमा दुई पटक उँभौली तथा उँधौली सेवामा पूजाआजा गर्दै मनाइन्छ ।
बन्दी जीवनमा पनि सही मान्छेको सङ्गतमा पर्दा प्रगति गर्न सकिन्छ भन्ने तायामार्फत देखाइएको छ । उनी एसएलसी दिएर नतिजा पर्खँदै ताका जेल परिन् तर सङ्गी दिदीको सल्लाह र उत्प्रेरणाले शैक्षिक योग्यतामा बिबिएस पूरा गरिन् । हाते सीपमा कुरुस र काँटा चलाउन सिकिन् र अरुलाई सिकाउन सक्ने भइन् ।
गणतन्त्र दिवसको अवसरमा तायालगायत राम्रो आचरण बनाएकाहरूलाई बाँकी कैद सजाय मिनाहा भई जेलमुक्त भए । ताया जेल जीवन समाप्त हुँदा त्यति खुशी भइनन्, जति ‘विक्रमको मानसिक यातनाले श्रीमतीद्वारा आत्महत्या’ भन्ने शीर्षकको समाचार पढेर खुशी भइन् । आफू त्यो भलखाँडोबाट बचेकोमा ।
हल्लावा
उहिले चाडपर्व विशेष लाग्ने मेलाहरू, खोला बजार तथा मेलापातबाट मन परेको केटी तानेर ल्याउने चलन थियो । हाम्रो पुस्ताकालाई कथाजस्तो लाग्ने गरी बाजे–बज्यैले आफूले प्रत्यक्ष भोगेको कुराहरू यस्तै सुनाउनुहुन्थ्यो । भोजपुर जिल्लाको दक्षिणी भेग हतुवा र आमचोक क्षेत्रको तत्कालीन समयको सत्यपरक घट्नामा आधारित बुनिएको कथाबाट अगाडि बढ्छ–हल्लावा शीर्षकको कथा । त्यो समयमा हतुवा क्षेत्रको जहाँनिया जिम्मावाल ढिसङ्हाङ् थियो, जसको छोरो बुसुङ्हाङ्का दुईओटी श्रीमतीमध्ये पहिलीबाट चार छोरी तथा दोस्रीबाट तीन छोरी थिए । उत्तराधिकारीको रूपमा छोरै चाहिने दबावले बुसुङ्हाङ्ले कान्छी श्रीमतीको रूपमा आमचोक क्षेत्रबाट बुङ्छ्याङ्मालाई तानेर ल्यायो । सन्तानमा छोरा(नाम्नुहाङ्) नै जन्म्यो । कुल घरानको नियम विपरित नाम्नुहाङ् बेलायती सेनामा भर्ती भयो । उ बाल्यकालदेखि नै फौदारी गर्न माहिर थियो । धेरै झगडा, लडाईँ या पाप गर्दा मरेपछि कुलपितृमा गइदैँन भन्ने विश्वास अहिले पनि किराँती समुदायमा छ । त्यसलाई हल्लावा भनिन्छ । यस कथामा नाम्नुहाङ् पात्र हल्लावा भएको देखाइएको छ ।
यो कथा नयाँ पुस्ता तथा गैह्र किराँतीका लागि ऐतिहासिक साथै रोचक कथा हुन सक्छ ।
नागरिक
भोजपुर जिल्ला प्रशासन कार्यालय तथा नागरिकतासँग सम्बन्धित ठाउँहरूलाई कथामा स्थानको रूपमा भेटिन्छ । दिलमाया पात्र मार्फत एउटी सामान्य परिवारमा जन्मेकी बच्चा, वयस्क, वृद्धावस्थासम्मको चक्र देखिन्छ । आमाको नामबाट नागरिकताको लागि नागरिकले पाएको दुःख वरिपरि कथा घुमेको छ । नजिक ठानिएको आफ्नै घर र समाजबाट भोग्नुपर्ने एकल महिलाको व्यथा पोखिएको छ । कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन पाइने उल्लेख भएपनि कार्यान्वयनको अभावमा एकल महिलामाथिको झन् पीडा थपिएको महसुस हुन्छ ।
मुख्य पात्रको जीवनमा उथलपुथल ल्याउने तथा कथा अगाडि बढ्न मुख्य कारकको रूपमा लिम्बु पात्र (जो बाही, चुरा, चुल्ठी आदि जगरसित साट्न आउँछ)को प्रवेश हुन्छ ।
अङ्कुरित प्रेमले सामाजिक रूपमा वैधानिकता नपाउँदै बज्रपात हुनु र सरकारी तवरबाट पीडितको लागि ठोस कदम लिन नसक्नु यो कथाको स्रोत हो प्रतिफलस्वरूप नागरिकता पीडितले न्याय पाएका छन्, त्यो चाहिँ कथाको गतिशिलता हो ।
श्रद्धा
किर्तिपुर त्रिवि क्याम्पस आसपासबाट सुरु भएको कथा कथाकारको गाउँघर भोजपुर हुँदै गोरखामा गएर टुङ्गिएको छ । २०७२ सालको महाभूकम्पको चपेटामा परेको काठमाण्डौ तथा गोरखाको कथा मार्मिक तरिकाले उतारिएको छ । त्यही भूकम्पसँंगै कथाकी मुख्य पात्र श्रद्धाको इहलीला समाप्त हुन्छ । माया प्राप्ति मात्र नभएर दैवी प्रकोपमा गुमाउँदा स्विकार्न सक्नु पनि हो । नपाइने चीजमा बारम्बार सम्झेर आफूलाई कमजोर बनाउनुभन्दा उनैको नाममा पवित्र कार्य गरे आफूले माया गरेको मान्छेको आत्माले चिर शान्ति पाउँछ र आफ्नो मायाको जित हुन्छ भन्ने म पात्रमार्फत देखाइएको छ । म पात्रको माया कोपिलामै भूकम्पले चुँडाइदियो । उनैको सम्मानस्वरूप पुनः निर्माण कार्यक्रम अन्तर्गत श्रद्धाको गाउँलाई म पात्रले योगदान दिएर कथा समाप्त भएको छ ।
रामप्रसाद
नेपालको राजनीतिक इतिहासमा वीर,बहादुर तथा जननायक रामप्रसाद राईको नामबाट बुवा (उनैको सेना)ले छोरोको नाम जुराइदिए– राम प्रसाद । निर्धनमाथि अन्याय र अत्याचार भएको देखाइएको कथा जुन तत्कालीन समयको सत्यपरक घट्नामा आधारित छ । गाउँमा लामो समय खडेरीले अनिकाल लाग्यो । त्यही मौकामा मुखियाको विश्वासिलो मान्छे दलजीत(काजी)ले चर्को ब्याजमा पैसा तथा अन्नपात गाउककंलेलाई दिन्थे । यतिसम्म कि उ दुई प्रकारको माना–पाथी चलाउँंथे, दिँदा सानो र गाउँलेबाट असुल्दा ठूलो साथमा एक पाथी बराबर एक खेतालो । बम बहादुर बस्नेत(मुखिया)ले बनारसमा साधना गरेको फिरन्ते साधुको मास्टरीमा स्कुल खोल्यो जहाँ आफ्ना भाइभारदारहरूले मात्र पढ्न पाउँथे । किनकी,गाउँलेहरू पढेर शिक्षित भए भने आफूले शोषण गर्न पाउँंदिन भन्ने उनी सोच्थे ।
रामप्रसादले दुःखजिलो मिस्त्रीको सीप सिक्यो । पैसा कमायो । त्यही कमाएको पैसामा थपथाप गर्दा बिहे खर्च बापत मुखियाबाट लिएको पैसा पुग्ने हिसाब निस्क्यो । आमालाई ब्याज सहित फिर्ता गर्न पठाउँदा पो थाहा भयो मुखियाको गद्दारी । उनले रु.५,०००/- दिएका हुन् । तर,अनपढ राम प्रसादकी आमालाई सही छाप रु.१५,०००/- को कागजमा गराए । यसरी मुखियाले अनाहकमा दुख दिन थालेसँंगै कथा अगाडि बढ्छ । शक्ति र सम्पत्ति सामुन्ने को भिड्न सक्छ? अब उनी गाउँबाटै विस्थापित भए । ठालुको बेइमानीले गाउँमा जग्गाजमीन मनग्गे भए पनि ऐलानीमा बस्न बाध्य भए ती राम प्रसाद परिवार ।
आमूल
धनु र कबिर प्रेममा परी बिहे गरे । धनुलाई मन पराउने भूतपूर्व प्रधानपञ्चको छोरोले कबिरलाई गोरु मारेको आरोपमा प्रहरीद्वारा पक्राउ गर्न लगायो ।
धनुलाई पनि आतङ्ककारी बनाए र पक्रे । बलात्कार गरी निर्ममतापूर्वक मारे । जब्बरे (कबिरको छिमेकी दाई) सहयोगी ।सकेसम्म कबिर परिवारलाई जब्बरेले सहयोग गरे ।
प्रहरी चौकी आक्रमणमा केही प्रहरीसहित सबै कब्जा गरे । कबिर बदलाको लागि क्रान्तिमा लागे ।उनको सामु एक्कासी दुखको पहाड चुलियो । शक्तिको आडमा निर्धनमाथि कतिसम्म अत्याचार गर्न सक्छ भन्ने कथामा देखाइएको छ । पन्चायतकालमा प्रधानपन्च भएर सताए । गणतन्त्र आएपछि स्थानीय चुनावमा जनतालाई लोभ्याएर हुन्छ कि धम्क्याएर जनप्रतिनिधीको रूपमा चुनिए । जुनतन्त्र आए पनि उनीहरूकै हालीमुहाली । गरिब, निमुखा, असहाय जनताहरूलाई सुख छैन भन्ने कथाको सार रहेको छ ।
चिनो
पात्र चबुङ् कान्छा गाउन र नाच्नमा सिपालु । अर्की पात्र फर्की पनि के कम ? बाहिरी मुखले जातीय भेदभाव गरिककंदैन भनिए पनि भित्र हृदयको कुनामा अझै कसर बाँकी रहेको समाजमा हुर्केका यी दुई पात्र वरिपरि कथा घुमेको छ । हाट बजार, मेलापात, बिहेबटुलो जता पनि नछुट्ने जोडी चबुङ् कान्छा र फर्की भए । त्यो समाजमा जमेको जोडीको रूपमा समेत चित्रण गर्थे ती दुईलाई । बसउठ गर्ने क्रममा एकार्काको प्रेममा परे । बच्चा पेटमा आयो । समाजको कठोर सजाय भोग्न तयार भए चबुङ् कान्छा । अन्ततः फर्कीलाई अंशबापत पाएको घरमा भित्राए ।
परिवेशमा हतुवा क्षेत्र आसपास लिइएको उक्त कथामा रिसिइबी साँध्ने मेलो बने यी जोडी । चबुङ् कान्छालाई पानी काढियो । जात खसाइयो । आफ्नै बुवाले समेत समाजको डरले अलग पारे ।
रामायणमा लक्ष्मण बचाउन सिङ्गो पहाड उचालेर हनुमानले ल्याए जस्तै फर्कीको लागि सुखको पहाड बोकेर ल्याउने अभिप्रायले चबुङ् कान्छा परदेश हिडे । सबैको भाग्यमा सुख लेखेको हुन्न । फलस्वरूप उ रित्तै फर्के । विडम्बना घरमा प्राणभन्दा प्यारी फर्कीलाई भेटेनन् । समाजकाले अर्को बिहे गर्न आग्रह गर्थे । तर त्यस्तो सोचबाट टाढा बसे । ‘फर्कीले छोडेर गएको चिनो हो मेरो जीवन’ भन्ने चबुङ् कान्छाको भनाइ मर्मस्पर्शी लाग्यो । प्रेमले जात, रङ्ग, धर्म, समाज, परिवार केही भन्दैन भन्ने कथाको आशय पाएँ ।
स्कुल
बालमनोविज्ञानमा आधारित कथा । साथी–साथीमा न भोक, तिर्खा हुनु न त जातपात ।मातृभाषी समुदाय अन्तर्गत राई समुदायमा हुर्केको कथा हो यो । शिक्षकहरूलाई विद्यार्थीसँग अनादरार्थी शब्दहरू नबोल्दा राम्रो भन्ने सन्देश छोडेको छ । साथीकै लागि भए पनि छिमेकीको छोरोलाई विद्यालय जान प्रोत्साहन गरिएको राम्रो पक्ष उप्काएको छ यो कथाले ।
साथीको नाताले बालसखादेखि भविष्य निर्माण गर्ने बेलासम्म एकार्कामा सहयोग गरे । गुण बिर्सिनु हुँदैन भन्ने शिक्षा दिएको छ ।
पात्र मोटेले मातृभाषा बाहेक नजान्दा निर्विकल्प नेपाली भाषामार्फत शिक्षा लिनुपथ्र्यो । छोरोको पुस्तामा ठिक उल्टो,घरमा नेपाली भाषा बाहेक अरू बोलिँदैन तर विद्यालयमा भने मातृभाषामा पढाइन्छ । खाडी मुलुक गएर मोटेले कमाए । समापनमा गुरूप्रति अनादर शब्द बोले बापत सजाय दिने सर लगायत उनको बिरानो बनेको/बनाइएको विद्यालयका सरहरूलाई पार्टी खुवाएर गर्व गर्यो । मोटेले जीतको महसुस गर्यो । विद्यालयमा सैद्धान्तिक कुराहरू लाद्ने नभई विद्यार्थीको बालमनोविज्ञान अध्ययन गर्न जरुरी छ । र, व्यावहारिक रूपमा समेत शिक्षकहरूले हेर्नुपर्दछ भन्ने कथाको निचोड पाइन्छ ।
ताल्चा
सउल टावर आसपास मायाको प्रतीक ताल्चा झुण्याउने विशेष ठाउँ (हार्ट लक स्पट)को पूरै बयान गरिएको कथा हो यो । स्थानमा नेपालको पूर्वी दमक–बेलबारीदेखि काठमाडौं र काठमाडौंदेखि दक्षिण कोरियासम्म प्रयोग गरिएको छ । मुख्य पात्र रिमा सहयोगी तथा स्वावलम्बी हृदयकी छिन् भने अर्का पात्र पर्वत भने केटीहरूसित अनेक बहानामा नजिकिने मौका छोप्छन् । नोटकपी माग्दै त कहिले बोलाउने नाममा रिमाको साथी समूहमा पर्वत मिसिएपछि कथा स्वाभाविक रूपमा अगाडि बढ्छ ।
रिमा सहयोगी हृदयकी हुन् । प्रमाणको रूपमा प्रेममा पर्नु अगाडि नै पर्वत दीर्घ रोगी हुन् भन्ने कुरा थाहा पाएपछि साथ छोड्नुपर्नेमा निरन्तर उसैको सेवामा तल्लीन हुनुले देखाउँछ । रिमामा पर्वतप्रति झन् माया बस्यो । प्रेम बढेको कथाकारले स्पष्ट देखाएका छन् ।
पितृसत्तात्मक समाजमा एकबाट दुई भएपछि पुरुष कमाउनतिर लाग्नुपर्नेमा अघोषित श्रीमान्(पर्वत)रोगीका कारण रिमा अघि सरिन् । कोरिया पुगिन् । मनग्गे कमाइन् । निकै मिहिनेत गरेर पर्वतलाई कोरियाको हार्टलक स्पटदेखि घुम्न लायक सबै ठाउँतिर घुमाएको दृष्तान्तले रिमा असाध्यै असल चरित्रकी हुन् भन्ने कुरा सोच्न टाढा पुग्नु पर्दैन । पर्वत शङ्कालु पात्रको रूपमा चित्रण गरिएको छ । प्रेमील तथा वियोगान्त कथा हो ।
यासरी ताल्चा खोले पछि यी नै कुरा भेटेँ देखेँ । दिलिप बान्तवाको यस्तै सशक्त अरु कृतिहरू पढ्न पाउँ शुभेच्छा ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।