सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका भावना छरिएका छन् । आफ्ना पूर्खाको परिचयदेखि जन्मिएका स्थान, बालसुलभदेखि सानैमा परदेशिएको कुरा, काठमाडौंप्रवेश देखि गलैचासङ्घर्षको कथा, ड्राइभिङ र ट्रेकिङको चर्चा, करोडपतिबाट रोडपतिमा झरेपछि अमेरिकाको यात्रा, अमेरिकाको सङ्घर्षपछि पाएको सफलता पुस्तकमा समेटिएका छन् ।
अमेरिकामा विभिन्न तहका नागरिकता छन् । त्यसमध्येका सम्मानित नागरिकता त्यागेर गम्बु नेपाल फर्किए । नेपाल आएर उनले फर्किएका पाइला पुस्तक लेखेका हुन् । फर्कनेवित्तिकै उनी राजनीतिमा होमिए । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नं. १ का सदस्य रहेर काम गरिरहेकै बेला उनले स्थानीय निर्वाचन २०७९ का लागि ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षका उम्मेद्वार बनेका छन् ।
गम्बु शेर्पा खिजिदेम्बाका लोकप्रिय व्यक्ति हुन् । भुकम्पको बेला होस् या अन्य विपत्तिका बेला खुलेरै समाजसेवामा होमिएका उनी समाजसेवाभन्दा मनमा अन्य केही नआएको बताउँछन् । पानीको अभाव हुने स्थानको पिउने पानीको बन्दोवस्त गर्न प्रदेश नं. १ को राजधानी विराटनगर ओर्लिएका बेला सामाजिक विकास मन्त्री राजन राईले शेर्पाको बारेमा भनेका थिए –‘गम्बुजी कुन पार्टीमा रहेर काम गर्नुहुन्छ, मलाई चासो छैन । तर गम्बुजी खिजिदेम्बाको लागि असली जनप्रतिनिधि हुन् ।’
नेपाली संगीतक्षेत्रमा विशेष उपस्थिति राखेका गम्बु गीत लेखक, संगीतकार पनि हुन् । उनको देम्बा भ्यू पोइन्ट रिसोर्ट, थ्रिजी साउण्ड स्टुडियो, अर्गानिक फुड एण्ड मार्ट तथा नेपाल टेक ग्रुप प्रालिमा संलग्नता छन् । नेपालटेकमार्फत रेडियो ओखलढुङ्गा र रेडियो ओखलढुङ्गा डटकम अनलाइन सञ्चालित छ ।
‘फर्किएका पाइला’ पुस्तक निरासाजनक सन्देश दिन लेखिएको होइन, गाउँलाई असल नेतृत्वको खाँचो छ र फर्किएको हुँ भन्ने सन्देश दिन खोजेको हुँ ।’ यस पंक्तिकारसँगको भेटमा गम्बुले बताएका थिए । गम्बुको अबको योजना नेपालमै व्यावसाय, राजनीति र समाजसेवा रहने छ ।
खिजिदेम्बामा चुनावी भाषणको क्रममा गम्बुले भनेका छन् –‘म अमेरिकको नगरिकता त्यागेर यहाँ भ्रष्ट्राचार गर्न आएको होईन । म अरु पार्टीले जस्तोमासु भात खुवाउन सक्दिनँ तर तपाईंहरूको शीर झुक्न दिन्न । एक पटक जिताएर पठाउनु । अहिलेको बिकास भन्दा १० गुण बढी विकास गर्ने प्रतिबद्धता गर्दछु ।’
गम्बुले खाली चुनावमा भाग लिने र जित्ने तरिकाले उम्मेद्वारी दिएका छैनन् । गाउँपालिकामा स्नात्तकोत्तरसममको अध्ययन गर्न सकिने क्याम्पसको स्थापना, पालिकामै प्राविधिक शिक्षालयको स्थापना गरिने, सबै वडामा डिजिटल माध्यमबाट अध्ययन गराउने पूर्वाधार, कक्षाकोठामा ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था तथा आवश्यक परेको खण्डमा विद्यालयलाई ल्यापटप उपलब्ध गराइने, प्रत्येक ६ महिनामा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, स्थानीय भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि बाहुल्यताको आधारमा मातृभाषामा कक्षा सञ्चालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।