धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले आम बराहक्षेत्रमा रहेर साहित्य सिर्जनामा समर्पित सर्जकहरुसँग अन्तरक्रिया गरेका छन् ।
निवर्तमान वडाअध्यक्ष समेत रहेका उम्मेदवार दाहालले शनिबार बराहक्षेत्र–३ को वडाकार्यालयमा बराहक्षेत्रभरि रहेका कवि सर्जकहरुलाई निम्त्याएर सर्जकहरुको अवस्था र उनीहरुका निम्ति आफूले गर्न सक्ने विषयमाथि अन्तरक्रिया गरेका हुन् । उपस्थित सर्जकहरुले नगरपालिका स्तरीय साहित्यिक प्रतिष्ठान स्थापना, वार्षिक रुपमा लिट्रेचर फेस्टिभलको आयोजना, बराहक्षेत्रभरि रहेका मातृभाषाहरुको संरक्षणको श्रोत व्यवस्थापन र आजसम्म प्रतिष्ठानसरह रहेर काम गरिरहेको स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३ को भवन निर्माण गरिदिन आग्रह गर्दै हिजो वडाध्यक्षको कार्यकालमा कला र साहित्यलाई गरेको साथ र सहयोगप्रति कृतज्ञता समेत प्रकट गरे । साथै स्वर्णिम साहित्य समाजले स्वर्णिम साहित्य पुरस्कार तथा सम्मानका निम्ति खडा गरिएको अक्षयकोषको जानकारी पत्र पनि उम्मेदवार दाहाललाई बुझाएको थियो ।
आम सर्जकहरुले उठाएका प्रसंगहरुमाथि बोल्दै वडाअध्यक्षका उम्मेदवार दाहालले आम सर्जकहरुले आफूलाई वडाअध्यक्षमा निर्वाचित गराएको खण्डमा हिजोको दिनमा भन्दा साहित्य सिर्जनामा अझ नयाँ योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यदि मलाई पुनः वडाअध्यक्षमा निर्वाचित गराउनुभएको खण्डमा कला साहित्यको निम्ति हिजोको दिनमा भन्दा अझ नयाँ योजनाहरु ल्याउनेछु । बराहक्षेत्र नगर पालिका स्तरीय प्रतिष्ठानको गठन आफ्नो पहिलो प्राथमिक्ता रहने छ । स्वर्णिम साहित्य समाजको भवनको कुरोमा यहाँहरु भन्दा म गम्भीर छु। यसको निम्ति मेरो पहल सदा रहनेछ । बराहक्षेत्रमा एउटा लिट्रेचर फेस्टिभल गर्ने मेरो पनि ठूलो रहर छ । म यसमा प्रतिवद्ध छु । र म यहाँका कवि साहित्यकार भन्दा कहिल्यै टाढा रहनेछैन ।’ साथै उनले यी कुराहरुको निकास दिन आफू र आफ्नो पार्टीका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिई बिजयी गराउनका निम्ति सम्पूर्ण कवि तथा सर्जकहरुसँग अनुरोध समेत गरे ।
सो अन्तरक्रियामा कवि रविन्द्र केदेम, सुर्य तामाङ, छविना लुङ्गेली, छविलाल चौधरी, पहलमान बस्नेत, गजलकार शारदा निरौला, लक्ष्मण कट्वाल, शिक्षासेवी शरण लिम्बु, शुभेच्छुक मोहन सुब्बा लगायतका सर्जकहरुको उपस्थिति रहेको थियो । पत्रकारहरु आदेश गौतम , रमेश हतुवालीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले गरेका थिए । स्मरणीय छ बराहक्षेत्र नगरपालिका भरिमा कला, साहित्य र सिर्जनाको विकासमा सबैभन्दा उद्धारता देखाउने वडाअध्यक्षको छवि दाहालले बनाएका छन् भने यही ढंगले बेलाबखत सर्जकहरुसँग वार्तालाप पनि गर्ने गरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।