'मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला' - Naya Online

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार

दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा कृतिका कथाकार । भोजपुरको हतुवागढीमा जन्मेका बान्तावा हाल वैदेशिक रोजागारीको सिलसिलामा द .कोरियामा छन् । आफू उभेको भूगोल प्रेम, समाजमा व्याप्त रहेका विकृति र विसंगतिमाथि खरो प्रहार गर्नु उनको कथा लेखनको विशेषता हो । अहिले नेपाली साहित्यिक बजारमा ताल्चा कथा कृतिको चौतर्फी चर्चा छ । उनै दिलिप बान्तावासँग नयाँ अनलाइनको नयाँ साहित्यअन्तरगत नयाँ भेटमा ताल्चा कथा कृतिनजिक रहेर गरिएको कुराकानीको सार अंश ।

अनि परदेशी जीवनमा हुनुहुन्छ, दौडधुप त पक्कै छ ?
खास दौडधुप नै भन्न त नमिल्ला । किनभने काम गर्ने, आराम गर्ने निश्चित समय हुन्छ । निर्धारित हुन्छ । कामको समयमा ठ्याक्कै काम अनि बाँकी समयमा आफ्नै धुनमा बस्न सकिन्छ ।

यो बेला हजुरको ताल्चा बजारमा छ, पाठकहरू के भन्दैछन् ?
ताल्चाका बारे मिश्रित प्रतिकृयाहरू आईरहेका छन् । म त्यस्तो गतिलो र चलेको लेखक होईन । त्यसैले मान्छेहरूको नजर खास पर्दैन । यो स्वभाविक हो । चिने जानेको वा सुनेको साथीहरूमार्फत पढ्ने पाठकहरूले सामान्य प्रतिकृया दिईरहनुभएको छ । प्रतिकृयाहरूले केही लेख्न कोसिस गरेको थिएँ, त्यो कोसिस गलत रहेनछ भन्ने लागेको छ ।

हरेक दृष्टिले कथाहरू अब्बल छन्, कथाहरू लेख्दै गर्दाको समयलाई सम्झदा यी कथाहरू कुन कुन मुड र अवस्थामा लेखिए होला ?
मलाई चाहिँ त्यस्तो लाग्दैन । त्यत्रो अब्बल कथाहरू लेखेको छु भन्ने लाग्दैन । अधिकांश कथाभन्दा पनि मैले देखेको, भोगेको, सुनेको वा अनुभूत गरेको साना ठुला प्रसंगहरूलाई एउटा फ्रेममा राख्ने कोसिस गरेको मात्रै हो । ती सबै तपाईं हाम्रै वरपर देखिने दृष्यहरू नै हुन् । यद्यपि ती दृष्यलाई दर्शक(हेर्ने मान्छे)ले कुन दृष्टिकोणबाट बुझ्छ भन्नेमा निर्भर हुन्छ । त्यस कारण मैले कथाहरू धेरै कालखण्डमा, फरक–फरक समय र अनुभुतिमा लेखेको छु । लेख्नु पहिला म त्यो कथाको लागि एउटा सोलोडोलो घट्ना बुन्छु र त्यो घट्ना वरिपरिका अन्य दृष्यहरू बिस्तारै सृजना हुन्छन् । दिमागमा कथाको पूरा प्लट बन्न निक्कै समय लाग्छ । प्लट तयार भएपछी लेख्न थाल्छु र लेख्दा त्यो कथाभित्र आफैलाई पुर्ण रूपमा समाहित गरेर लेख्न प्रयास गर्छु । त्यसरी लेख्दै गर्दा केही कथाहरूले नमज्जाले चिथोरेका छन् मलाई । केही कथाहरू लेखिसकेपछी कथाको प्लटबाट बाहिरिन निक्कै दिन लागेको पनि छ । मेरो सार्है खराब बानी चाहिँ कुनै पनि चिज एउटा “मुड” मा लेखिसकेपछि अर्को पटक हेर्न मन लाग्दैन । हेर्दिनँ । त्यही भएर कथाहरूको कथानकता निक्कै कमजोर भएको महसुस गरेको छु ।

धेरैले सोचेका थिए, तपाईंको केही कृति त आउँछ नै तर कविता कृति आउँछ भन्दैथिए, एक्कासि कथा कृति आयो नि ?
“कविता” आफैमा अत्यन्तै गह्रूङ्गो विधा हो भन्ने लाग्छ । मनमा आए जति सबै कुराहरू कम्प्युटरमा लेखेर “ईन्टर” थिचेको भरमा त्यो कविता हुन सक्दैन भन्ने मेरो मान्यता हो । कविताको एउटा लाईन वा स्टान्जाले सिंगो कथाको किताबले दिने भाव बोक्न सक्नुपर्छ जस्तो लाग्छ । जस्तै भुपी शेरचनको “चिसो स्ट्रे” शीर्षकको १० लाईनको एउटा कवितामा पुरै फिल्म बनेको छ । त्यसकारण यति विशाल र शक्तिशाली विधामा कलम चलाउने हिम्मत म मा छैन सायद । त्यसो भन्दै गर्दा कथा चाहिँ कमजोर विधा भन्ने अर्थ नलाईदिनुहोला । कथामा चाहिँ आफुलाई ब्यक्त गर्न अलि सहज लागेर हो । यद्यपि “कथा” को मापनभित्र पर्छन् पर्दैनन् त्यो पनि थाहा त छैन फेरि । कथा लेख्न सक्छु भन्ने दाबी पनि होईन मेरो, सिर्फ कोसिस गरिरहेको छु ।

दिलिप बान्तावाका अधिकांस कथा गाउँ पुगेको छ, कहिँ बढी नै आक्रोशहरू पोखिएको छ । किन गाउँ पुग्यो यहाँका कथाहरू ?
मेरो मान्यतामा चाहिँ जो कोहिले आफ्नो धरातल बिर्सनु हुदैन भन्ने हो । म सँधै एउटा चिनियाँ उखान सम्झन्छु, “पहाड जतिसुकै अग्लियोस्, त्यसले भुइँ छोडेको दिन धुलो हुनुपर्छ ।” हुन त म जुन समाज, भुगोल र समुदायमा जन्मिएँ त्यो मैले रोजेर जन्मिएको थिईनँ । तर जन्मिएपछि मैले जुन परिचय र पहिचान पाएँ त्यो म जन्मिएको भुगोल र समुदायले दियो । त्यसका प्रति म ईमान्दार बन्नैपर्छ । जुन माटोबाट म आएँ मैले त्यही माटोको हरक लिएर हिंड्न सक्नुपर्छ । सके त्यो हरक सबैलाई चिनाउनुपर्छ नसके पनि कृतज्ञ हुनुपर्छ भन्ने लाग्छ ।

अनि अर्को कुरा चाहिँ हामीले जति पनि पढ्छौँ साहित्यिक खुराकका रूपमा, ती खुराकहरूमा म आफुलाई एकदम कम ठाउँमा मात्रै पाउँछु । भुगोलका हिसाबले, भाषिक आञ्चलिकताका हिसाबले, संस्कृतिका हिसाबले त्यस्तो चिजहरूमा आफुलाई खोज्दा नपाएपछी तिनिहरू मेरो पनि हुन् भन्ने अपनत्वको भावना अलि कम हुने रहेछ । पछिल्लो समय राजन मुकारुङ्, उपेन्द्र सुब्बालगायतले बनाउनुभएको फरक खाले बाटोबाट हिँड्ने लेखकहरूको लेखनलाई हेरेपछि हाम्रा कुराहरू पनि पढिन योग्य हुने रहेछन् है भन्ने महसुस भयो । त्यही महसुसले चाहिँ आफू जन्मिएको, हुर्किएको समाजका कुराहरू लेखिनुपर्छ भन्ने बोध गराएको हो ।

यसको मतलब गाउँघरमै छन् हाम्रो कथाहरू हगि ?
हजुर, हामीले जहाँ सबैभन्दा उर्वर समय बितायौँ । जुन ठाउँको माटोको कण कणमा हाम्रो पसिना सिंचिएको छ, त्यो ठाउँको ढुकढुकी हामीले नै छाम्न सकिन्छ । अर्थात हाम्रो कुरा हामीले भन्दा राम्रो गरि अरुले भन्न सक्दैन भन्ने लाग्छ । त्यसैले पनि हामी जहाँवाट आयौँ हाम्रा अनुभुतिहरू पनि त्यही ठाउँमा बढी जोडिने रहेछन् ।

सबैको जीवनमा मेल त नखाला तर यसो भन्दा हामी लेखकहरू अलि लेखन र व्यबहारमा अलि फरक छ नि ? हामी गाउँका कथा लेख्छौँ तर बस्न चँै सहरमा बस्छौं । हामीमा अलि बढी आदर्शवादी पनि छ नि ?
गाउँप्रतिको प्रेम दर्शाउन चाहिँ गाउँ नछोडी त्यहीँ बस्नुपर्छ भन्ने मान्यतासंग सहमत छैन म चाहिँ । अवसरका लागि गाउँ छोडिन्छ अर्थात आफ्नो थातथलोभन्दा उपल्लो अवसर कतै छ भने त्यो ठाउँबाट अवसर भएको ठाउँमा जानुपर्छ । तर अवसरको खोजी गर्दै थातथलो छोडेको मान्छेले अवसर पाएपछि आफ्नो पुरानो थातथलोको लागि के कति योगदान गर्न सक्यो त्यो चाहिँ महत्वपुर्ण कुरा होला भन्ने लाग्छ । यदि अवसर पाएर पनि उसले आफ्नो पुरानो थातथलो बिस्र्यो वा कुनै प्रकारको योगदान गर्न चाहदैन भने तपाईले भन्नुभएको कुरा सहि हुनेछ ।

यी कथाहरू पहिचानको मुद्दाले नि सशक्त छन्, केही केही कथाहरू दार्शनिक ढङ्गका पनि छन्, यस्ता कथा लेखनको उर्जाहरू के के र को को हुन सक्छ ?
मैले लेख्दै गर्दा कुनै पनि कथालाई यो वा त्यो हिसाबले प्रस्तुत गर्छु भनेर तयारी गरेको थिइँनँ । मलाई विभिन्न घट्ना, समाचार तथा मैले देखे–भोगेको समाज र समय आदिका आधारमा केही न केही लेखिरहन्थेँ । परदेश आएपछि त्यो सिलसिला अझ बढ्यो । परदेशले धुमिल सम्झनाहरूलाई अलि सङ्लो बनाएर घरिघरि घुमाईरहँदो रहेछ क्यार । त्यही भएर अलि बढी देशको, गाउँको, समाजको सम्झनाहरू आए । समाजका विभिन्न पात्रहरूले बाँचेको जिन्दगीलाई यतिखेरको समयसँग तौलन खोजेँ क्यार । त्यसो गर्दा मन एकतमासले बतासिन्थ्यो र केही लेख्न थाल्थेँ । संग्रह कै लागि चाहिँ करिब १६ वटा जति कथाहरूबाट छानेर कुनैलाई मर्ज गरेर १० वटा तयार गरेको हो । तसर्थ आफुले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरूलाई नै कथा लेखनको स्रोत मान्नुपर्ला कि ।

यो पनि सोध्न मन लागिहाल्यो, दिलिप बान्तावाको बुझाईमा कथा के हो? र किन कथा नै लेख्ने ?
कथा भन्नुस् वा लेखनको कुनै बिधा, त्यो अभिब्यक्तिको माध्यम होला भन्ने लाग्छ । मलाई आफ्नो कुराहरू भन्नुपर्दा समय समयमा विभिन्न माध्यमको प्रयोग गर्ने गर्छु । कुनै कुरा गीतले भन्न सजिलो लाग्छ, कुनै कुरा कथा त कुनै कुरा विभिन्न सामाजिक सञ्जालहरूमै अपडेट गर्दा पनि चित्त बुझिहाल्छ । अनि कथा नै लेख्नुको ब्यक्तिगत कारण सोध्नुहुन्छ भने अघि पनि भनिहालेँ कथामा म आफुलाई अलि खुलेर ब्यक्त गर्न सक्छु जस्तो लाग्छ । यहाँ शब्दको सिमितता छैन । विषयवस्तुमा जति लामो कुदे नि भईगयो, तर पाठकले रुचाउने नरुचाउने भन्ने कुरा चाहिँ बेग्लै हो फेरि ।

अब केही समय त ताल्चालाई पर्खनु हुन्छ होला तत्काल अरु कृतिको योजनाहरू त छैन होला । 
म खास कुनै योजना नै बनाउँदिनँ । कथाहरू लेखिरहँदा पनि संग्रह प्रकाशन गरुँला भनेर कहिल्यै सोचेको थिईनँ । अब अहिले संग्रह पाठकहरूकहाँ अलिली भए नि पुग्दैछ । मैले आफ्नो मनमा भएको गथासो पोखेको हुँ । त्यसो भन्दा यो संग्रहका कथाहरू पाठकका लागि नभएर आफ्नो लागि मात्रै लेखेको थिएँ मन शान्त बनाउन । अहिले पाठकहरूको भएको छ । अब यो संग्रहले नै निर्धारण गर्ला कि यो मैले फेरि प्रकाशन गर्नुपर्छ वा पर्दैन भनेर । तर लेख्न त म निरन्तर लेखिरहन्छु नै ।

नयाँ योजनाहरू के के छन्, स्वदेश कहिले फिर्दै हुनुहुन्छ, स्वदेशका योजनाहरू चै के के छन् ?
योजनाहरू केही छैनन् । भर्खरै भनिहालेँ, म योजना नै बनाउन जान्दिनँ । सिर्फ आफ्नो अगाडि जे आईपर्छ त्यसँग सामना गर्न चाहिँ तयार रहनुपर्छ भन्ने लाग्छ । स्वदेश फर्किने योजना पनि निश्चित छैन । कोरोनाभाईरसले सबै कुरामा उलटपुलट बनाईदियो । परिस्थिती यस्तै रह्यो भने अर्को साल यही बेला सायद हामीसँगै चिया पिईरहेको हुन सक्छौँ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...