मौसम आङ्देम्बे पापोहाङ
वि.सं. १८३१ साउन २२ गते गोर्खा राज्य र लिम्बुवानबीच लालमोहर सन्धि भयो । त्यहिबेला देखि लिम्बुवान गोर्खा राज्यको सहराज्यमा रहन गयो । लिम्बुवान कहिल्यै र कसैसँग नहारेको राज्य हो । अर्को शब्दमा लिम्बुवालाई नहारेको राज्य पनि भन्ने गरिन्छ । त्यसैले लिम्बुवानको इतिहास अरुको भन्दा फरक र विशिष्ट छ । लिम्बुवान हारेको भए गोर्खा–लिम्बुवानबीच सन्धि हुदैन थियो र युद्ध जित्ने र हार्नेबीच कदापि सन्धि पनि हुन सक्दैन। गोर्खा–लिम्बुवानबीचको सन्धि लिम्बुवान नहारेको एउटा बलियो प्रमाण हो ।
विद्यमान एकात्मक शासक वर्गले लिम्बुवानभूमिलाई युद्ध जितेर कब्जा गरे जस्तै दमन, अन्याय, अत्याचार र विभेद गरेको छ । जब–जब लिम्बुवान आन्दोलनले उचाइ लिन थाल्दछ, एकात्मक राज्यसत्ताले अनेकन् षड्यन्त्रको चङ्गुल बुन्न जुक्ति अपनाउछ । लिम्बुवानले जातिय राज्य माग्यो भनेर आरोप लगाउछ । लिम्बुवानजन्य पार्टीलाई फुटाउन जालझेल, तिगडम मात्र होइना राष्ट्रिय तथा अन्तरराष्ट्रिय गुप्तचरीको प्रयोग गरेर लिम्बुवानलाई फुटाउन सकृय हुन्छन् । त्यसमा एकात्मक राज्यसत्ता जालझेल गरेर सत्ता हत्याउन सफल भएको देखिन्छ । तथापि, लिम्बुवानभूमिलाई युद्ध जितेर कब्जा लिएको भने होइन ।
जब गोर्खा राज्य र लिम्बुवानबीच लालमोहर सन्धि भयो त्यसैबेला देखि लिम्बुवान आन्दोलन प्रारम्भ भयो । राजा, राणा, पञ्चायतदेखि वर्तमान शासकसम्म आइपुग्दा लिम्बुवान आन्दोलन निरन्तर रहेको छ । विभिन्न कालखण्डमा भूमिगत, अर्धभूमिगत र सशस्त्र बिद्रोह भयो । अपितु, साठीको दशक पश्चात् लिम्बुवान आन्दोलन शान्तिपूर्ण ढंगले अगाडि बढेको छ । सशक्त बिद्रोहको नाम सुन्ने बित्तिकै सुइँकुच्चा ठोक्ने नेताहरु समेत देखिएका छन् । लिम्बुवान एकताको नाम सुन्नै नचाहने तर बाहिर–बाहिर एकताको मिठो, चिप्लो र बोक्रे कुरा गर्ने, कार्यकर्तालाई हामी नै हौ एकतावादी, हामी नै हौ लिम्बुवानको प्रमुख दल, हामी नै हौ लिम्बुवानको मुल घर भनेर भ्रममा पारे । तिनैले आफूलाई महान संघीयवादी नेता भन्न लगाएर हिरो पल्टिने थरी–थरीका नेता उदाएको देख्न सकिन्छ ।
आधुनिक शन्तिपूर्ण लिम्बुवान आन्दोलनको नाममा कथित नेताद्वयको जुँगाको लडाईं र तिगडमबाजीले साच्चि नै लिम्बुवान आन्दोलन कमजोर बनाएको छ । नेताद्वयको पार्टीगत कार्यशैलीमा होस् वा रणनीतिक भूमिकामा चुकेको देखिन्छ । अनावश्यक चन्दा असुल्ने देखि जातिय सद्भाव भड्काउने सम्मको नारा लगाउन लगाए । कार्यकर्तालाई गलत प्रशिक्षण दिए । यस्ता गतिविधिले लिम्बुवान आन्दोलनलाई गिराउने र राज्यसत्तालाई माथि चढाउने काम मात्रै गरेको भएको छ । उदाहरणार्थ, “ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण पूर्वका नौ जिल्ला लिम्बुवान हुनुपर्ने जोडदार माग राख्दछौ” पार्टीको घोषणा पत्रमा होस् वा विज्ञप्तिमा एकात्मक राज्यसत्ताको शरण परेर लिम्बुवानभूमिको माग राख्नु किमार्थ जायज हुदैन ।
हाम्रो लिम्बुवानभूमि खोसिएको छ, हामी नै आफै लुटिएका छौ, हामीमाथि किस्ता किस्तामा दमन, शोषण गरेको छ, हामी युद्धमा नहारेर पनि लिम्बुवान कब्जा गर्न खोज्छन् भने हामीले किन लिम्बुवानको माग राख्ने ? जसले हाम्रो घाँटीमा छुराले रेटिरहेको छ त्यसैको लगौँटी पक्रेर निगुरमुन्टी पर्नु यो त हदैसम्मको डरपोख कहलिन्छ । एकात्मकवादीलाई शिर झुकाएर लिम्बुवानको माग राख्नु त महाकायरता हो । सामान्य भाषामा माग भन्नाले कुनैपनि वस्तु वा सेवाको मात्रालाई बुझाउँदछ, जुन वस्तु वा सेवाका उपभोक्ताहरु निश्चित समयको अवधिमा विभिन्न मूल्यहरुमा किन्न इच्छुक हुन्छन । के लिम्बुवान कसैले किन्न र बेच्न सक्ने वस्तुको मूल्य हो ? बिल्कुल होइन । लिम्बुवानभूमि मागेर होइन खोसेर ल्याउने हो । खोसेर सम्भव नभए बन्दुकको नालबाट ल्याउने हो । लिम्बुवान आन्दोलनको स्वरुप, कार्यदिशा, रणनीतिक भूमिका नयाँ एवम् फरक ढंगबाट हुनुपर्ने भाष्य निर्माण गरौ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।