रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको हडियामा जन्मिएका उनी हालः बराहक्षेत्र नगरपालिका –३ राजधामी चौकमा स्थायी बसोबास गरिरहेका छन् । शारीरिक हिसाबले उनी अशक्त छन् । कम्मरमुनि चल्दैन । तर व्हिल चियरको सहायताले आफुलाई दायाँबायाँ र यताउता गराउँछन् र आफुलाई कहिले रहर त कहिले जबरजस्ता सिर्जनशील बनाउँछन् । उनी कोलाको दाम्चामा चित्रहरू बनाए पनि पछिल्लो समयमा उनी गहुँको छुवालीमा मानव आकृति र विभिन्न प्राकृतिक सौन्दर्यको चित्रहरू बनाइरहेका छन् । त्यस्तै उनको “संघर्षका कथाहरू” आत्मसंस्मरण मोफसलमा सर्वाधिक रुचाइएका र बिक्री भएका किताबको सुचिमा पर्छ । उनको ८ महिना पछि बाहिरी संसार चिहाउँदा…… खुब चलेको संस्मरण हो । आज उनै हस्तकलाकार तथा लेखक रामकुमार तिवारीसँग नयाँ अनलाईनको नयाँ साहित्यले गरेको कुराकानीको बेलीबिस्तार ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
हिजो आज खासै केही गरेको छैन । बढी समय त आफ्नै केयर र सरसफाईमा ध्यान दिनुपर्छ । यसो दुई चारवटा पुस्तकरु हेर्दैछु । केही समय सामाजिक सन्जाल फेसपुस्तक र टिकटकमा सन रमाउने गर्छु । अनि धेरै समय हस्तकलामा तनमन लगाउँछु । किनकी यो नै मेरो पेशा हो । यसरी नै समय बितीरहेको छ।
अहिले गहुँको छवालीमा आर्ट गर्दै हुनुहुन्छ, कोलाको दाम्चामा चै किन छाड्नु भो ?
हजुर छुवाली आर्ट पनि धेरै हैन केही मात्रमा गर्छु । केलाको दाम्चामा नि काम गर्न छाडिहोको छैन । बिक्री कम छ । कोरोनाले गर्दा माग त्यति आउँदैन । त्यही भएर हो । गर्दा दुई वटैलाइ गर्छु । छोड्ने कुरा त आउँदै आउदैन । जसले जिन्दगी बदली दियो, जसले जिउने आधार दियो उसलाई कसरी छोद्न सकिन्छ र ?
तपाइँको हस्तकलाहरू कता कता के कति बिक्री वितरण हुन्छ ?
अहिलेको समयमा अपेक्षाकृत चैँ बिक्री वितरण छैन । छँदै छैन भन्न पनि मिल्दैन । सामाजिक सन्जाल मार्फत शभेच्छुकहरूले यसो डिमान्ड गर्नुहुन्छ । जसोतसो यही हस्तकलाले नुनभुटुन र दुई छाक टार्ने आधार बनेको छ ।
अहिले के केको चित्र कोर्दै हुन्हुन्छ ?
हाल म गहुँको छुवालीमा आकृतिहरू उतार्ने कोशिसमा छु । मान्छेको सामाजिक सन्जालमार्फत जे को माग आउँछ सोही अनुसार बनाइन्छ । कसरी हुन्छ सिर्जनामा समर्पित छु ।
अशक्त हुनुहुन्छ तर जीवनलाई सार्थक बनाउने यी सुन्दर कार्यमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भो ?
अब अशक्त भएर पनि बाँच्नु पर्छ। बाँच्न सकिन्छ भन्ने प्रेरणाना साथै बाटो देखाईदिने त्यसमा यसरी हिड्नु पर्छ भन्ने आँट ,हिम्मत दिने इटालियन सिस्टर लिला, आदेले हुनुहुन्छ । बाँकी क्रमशः प्रेरणा थप्ने काम म आफैले गरेका सिर्जना । साहित्यले पनि साहस थपिदै गयो। यी सँगै सयौं साथीभाइ, सबैको सपोर्ट र साथले आज मलाई यहाँसम्म ल्याईपराएको छ।
झण्डै भुलेको विषय चै तपाइको ‘संघर्षका पाईलाहरू’ पुस्तकको के कस्तो प्रतिकृया पाउनु भो ? अनि बिक्री कस्तो रह्यो ?
मेरो पुस्तकको प्रतिकृया मैले सोचेभन्दा माथिल्लो तहको पाएँ । धेरै जनाले त यो पुस्तकले जीवन के हो ? र कस्तो अवस्थामा कसरी जीवन जिउन सकिन्छ भन्ने मार्गनिर्देश साबित भएको प्रतिकृयाहरू दिनु भयो । अब म जस्ताने सामान्य सिकारु लेखकले त्यस्तो प्रतिकृया पाउँदा खुसी कसरी नहुँ ? यो पुस्तक धेरै विद्यार्थीले पढेर प्रतिकृया दिनु भएको छ । अर्को कुरा चाही म स्वम पनि यो पुस्तकको कारण आफ्नो जीवन थप सार्थक बनाउन प्रेरित भएको छु । मैले पुस्तकले जीवनमा यत्रो हलचल बनाउँछ भन्ने कुरा पनि आफ्नै पुस्तकबाट थाहा पाएँ । बिक्रीको हिसाबले पनि यो पुस्तक सफल बन्यो । अब यो पुस्तक पाउन म आफै पाठककोमा पुग्ने बेला भएको छ । यो पुस्तकलाई स्वर्णिम साहित्य समाज बराहक्षेत्रले प्रकाशन र व्यवस्थापन गरिदियो । पुस्तकको प्रसंग उठ्दा म निक्कै भावुक हुने गरेको छु । यो पुस्तकको बारेमा याहाँ अरु बोल्ने आँट गरिन मैले ।
अब कुनै पुस्तकको तयारीमा हुनुहुन्छ कि ?
लेखन आफैमा गम्भीर रहेछ । जोखिम मोल्नु पनि रहेछ । अरु केही २÷४ वटा नयाँ संस्मरण थपेर यही संस्मरणको अर्को संस्करणको तयारीमा छु । विविध कारणले लेखनलाई निरन्तर समय दिन सकेको छैन । यसमा दःखी छु ।
हस्तकला र पुस्तक लेखनमा कुनमा आफुलाई सहज पाउनुहुन्छ ?
हस्तकला र पुस्तकमा सहजताको कुरा गर्दा उस्तै हो । फरक यति मात्र छ पुस्तकमा कलमले दिमाग चलाउने हो । कलामा यै दिमागले बिलेट चलाउने हो । त्यही भएर होला मलाई चाहीँ एउटै लाग्छ । सायद मेरो बुझाई अरुसँग नमिल्न नि सक्छ ।
लामो समय हस्तकलामा हुनुहुन्छ, पुस्तक नि लेख्न थाल्नु भा’छ, यी चिजहरूमा खास के रहेछ र लागिपर्नु भा’छ ?
यसको उत्तर दिन त्यति सहज नहोला । र, म उति यस्ता उत्तरहरू फुलबुट्टा भरेर दिन पनि आउँदैन । तै पनि एक हरफे उत्तरमा भन्नु पर्दा आनन्द , मन हल्का हुने । एउटा आर्ट सकेको दिन संसार जितेको अनुभूति हुने । यसमा, परिचय, सम्मान जस्ता धेरै कुरा जोडिएका छन् । सायद त्यसैले पनि होला कलम, कुच्ची, ब्लेड, कोलाको दाम्चा र छ्वालीबाट टाढा हुन सकिएको छैन ।
कुनै त्यस्तो भावी योजना केही छ कि ?
म जस्ता सामान्य मान्छेको त्यस्तो भावी योजनाहरू के हुन्छ र ? साना तीना समयसँगै बनिन्छ्न र सकिहाल्छन् । यस्तै त हो हजुर ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।