रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया - Naya Online

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक

विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको राजधानी सहरलाई नै लक्षित गरेर भीषण आक्रमण सुरु गरिसकेको छ । रुस–युक्रेन युद्धले दुनियाँको नजर त्यतातिर आकर्षित गरिरहेको छ । कुनै पनि मुलुकहरु युद्ध गर्ने अवस्थामा पुग्ने एउटामात्र कारण हुँदैन । रुसो–युक्रेनियन युद्ध चर्किनुका कारण अन्तर्राष्ट्रिय सैन्य अभ्यास, आर्थिक,सामरिक,औद्योगिक,व्यापारिक,आणविक र रणनीतिक वर्चस्व कायम गर्नका खातिर महाशक्ति राष्ट्रहरुले आफ्नो स्वार्थ अनुकूलको अभीष्ट परिपूर्तिका निम्ति अपनाउने परराष्ट्र मामिला तथा विदेश नीति र शक्ति सङ्घर्ष नै मुख्य कारक तत्व हुन् ।

दोस्रो विश्वयुद्धपछि सन् १९७५ मै जी–७ को स्थापना गरिएको थियोे । यसको मुख्य उद्देश्य भनेको वैश्विक वा भूमण्डलीय अर्थ–व्यवस्था,सुरक्षा र उर्जा सम्बन्धी विचार र सहयोग आदानप्रदानका लागि फ्रान्स,इटाली,जापान,अमेरिका, बेलायत,जर्मनी र क्यानाडाजस्ता विश्वका अति सम्पन्न राष्ट्रहरु सम्मिलित संगठन स्थापित गरिएको थियोे । पछिल्लो चरणमा यो समूह चीनको आर्थिक र औद्योगिक गतिविधिको यथार्थ अवस्था बुझ्नमा बढी सक्रिय हुँदै गइरहेको छ । यो ग्रुप अफ सेभेनमा सन् १९९८ मा रसिया पनि संलग्न भएपछि जि–८ भएको थियोे । तर सन् २०१४ मा क्रिमियालाई रुसी सङ्घमा विलय गरेपछि रुसलाई जि–८ बाट निष्कासित गरियो ।

दोस्रो विश्वयुद्धको समापन सँगसँगै सोभियत सङ्घलाई काउन्टर दिन सुरुवाती चरणमा ११ राष्ट्रको संलग्नतामा सन् ज्ञढद्धढ अप्रिल ४ मा अमेरिकाको वासिङटन डिसीमा उत्तर अटलान्टिक सन्धि सङ्गठन  ( NATO) नामक सैन्य गठबन्धनको स्थापना गरिएको थियोे । अहिले नाटोमा ३० राष्ट्रहरुको संलग्नता रहेको छ । जसमा ३१औँ राष्ट्रको रुपमा नाटोमा आबद्ध हुन हरपल प्रयासरत थियो । यसमा जापान बाहेकका जि–७ का सबै राष्ट्रहरु संलग्न छन् । जापान अफिसियलरुपमा संलग्न नभएपनि अनौपचारिक तवरले नाटोको विशिष्ट सहयोगी राष्ट्रको भूमिकामा रहेको छ । बेल्जियमको ब्रसेल्समा मुख्यालय रहेको यो सैन्य सङ्गठन संयुक्तराष्ट्र सङ्घीय शान्ति मिसन खटाइएको प्रायःजसो सबै मुलुकहरुमा सहभागी हुने गरेको पाइन्छ । हाल रुस र युक्रेनबिचको युद्धको मुख्य कारण पनि युक्रेनले अमेरिकासँगको सहकार्यमा संयुक्त सैन्य अभ्यास लगातार सञ्चालन गर्नु पनि एउटा कारण हो ।

अहिले करिब तीन दशक यताको घटनाक्रमको शृङ्खलालाई आंशिकरुपमा उजागर गर्न सान्दर्भिक हुनसक्छ ।

सन् १९९१ को प्रारम्भमा सोभियत सङ्घ ढल्न लाग्दा जर्जियाले आफू स्वतन्त्र भएको स्वघोषणा गरेको थियो । यस पृष्ठभूमिका बीच जर्जिया र रुस समर्थित दक्षिण ओसेसियाली स्वायत्त क्षेत्रका पृथकतावादीहरू बीच युद्ध भएको थियो । युद्धपछि जर्जियाली,रुसी,ओसेसियाली सेनाको एक संयुक्त शान्ति सैन्यबल त्यस क्षेत्रमा तैनाथ भएको थियो ।

यस्तै परिस्थिति सन् १९९२–१९९३ को अब्खाजिया पृथकतावादी युद्धमा देखापरेको थियो । सन् २००० मा रुसमा भ्लादिमिर पुटिनको विजयपश्चात् र सन् २००३ मा जर्जियामा पश्चिमा समर्थक शक्तिको उदयपछि रुस र जर्जियाबीचको सम्बन्ध बिग्रन थालेको थियो । सन् २००८ को अप्रिलसम्म आइपुग्दा कूटनीतिक सम्बन्ध चिसिएर सङ्कट चरमोत्कर्षमा पुगेको थियो ।

फलस्वरूप; सन् २००८ अगस्ट महिनाको १ देखि लगातार १२ दिनसम्म युद्ध चर्कियोे । परिणामस्वरूप; रुसी सहायतामा दक्षिण ओसेसिया र अब्खाजिया विजयी भएका थिए । त्यसपछि अब्खाजिया र ओसेसियालाई रुसद्वारा स्वतन्त्र स्टेटको मान्यता प्रदान गरिएको थियोे । साथै अब्खाजिया र दक्षिण ओसेसियामा रुसी सैन्यशिविर स्थापना भयो । त्यसकारण, जर्जियाले अब्खाजिया र दक्षिण ओसेसियामा उसको अधिपत्य र नियन्त्रण गुमायो ।

त्यसैगरी सन् २०१४ मा रुसले क्रिमियामा पनि आक्रमण गरेको थियो । युरोपस्थित कृष्ण सागरको उत्तरमा रहेको क्रिमिया प्रायद्वीपलाई रूसी सङ्घद्वारा सन् २०१४ को फेब्रुअरी र मार्च महिनाबिचमा गाभिएको थियो । तत्कालीन समयमा पनि रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन नै थिए । उनकै आदेशअनुसार, रुसी नकाबधारी पल्टनद्वारा क्रिमियाको विमानस्थल र सैन्यशिविर लगायतका प्रमुख स्थानहरू कब्जा भयो । युक्रेनी नौसेना प्रमुख एडमिरल डेनिस बेरेजोभस्कीद्वारा वफादारी परिवर्तन गरेपश्चात् त्यस क्षेत्रमा तैनाथ आधाजसो युक्रेनी सेनाले उनको अनुसरण गरे ।

२७ फेब्रुअरीमा रुसी बलद्वारा सर्वोच्च परिषद क्रिमियाली संसद कब्जा भएसँगै क्रिमियाको मन्त्रीपरिषद विघटन गरी नयाँ रसिया समर्थित कठपुतली प्रधानमन्त्री नियुक्त गरियो । मार्च १६ मा सर्वोच्च परिषदद्वारा क्रिमिया गणतन्त्र स्वतन्त्र र स्वशासित इकाई भएको घोषणा गर्दै,यसले जनमत सङ्ग्रह आयोजना गर्यो, जसमा रुसी महासङ्घमा विलय हुने पक्षमा बहुमत आएको थियो ।
मार्च १८ मा मस्को क्रेमलिनमा क्रिमिया गणतन्त्र र रुसी महासङ्घबिच भएको अधिग्रहण सन्धिअनुसार; क्रिमिया औपचारिकरुपमा रुसमा विलय भयो ।

१९ मार्चमा क्रिमियाली प्रदर्शनकारी र रुसी फोर्सद्वारा युक्रेनी सशस्त्र बललाई उनीहरूको शिविरबाट निकालियो । युक्रेनले पनि आफ्नो फोर्स क्रिमियाबाट फिर्ता गरेको घोषणा गर्यो ।
लगत्तै २१ मार्चमा रुसी डुमा (Duma) द्वारा औपचारिकरुपमा क्रिमिया गणतन्त्रलाई रुसी महासङ्घमा स्वीकार गरिएको सङ्घीय कानुन पारित भएको थियो । सन् २०१५ फेब्रुअरीमा रुसी प्रधानमन्त्री दिमित्री मेन्देलीभले क्रिमिया पूर्णरूपमा रुसमा एकीकृत भइसकेको बताएका थिए ।बदलामा जी–८ समूहद्वारा रूसउपर अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइनुका साथै जी–८ समूहबाट निष्कासित गरिएको घोषणा गर्यो ।
हालको जसरी उतिबेला पनि रुसी सङ्घले क्रिमिया कब्जा गरेको भनी, अन्य धेरै राष्ट्रहरुले कडा आलोच ना र निन्दासमेत गरेका थिए । कुनैबेला युक्रेन पनि सोभियत सङ्घकै एउटा हिस्सा थियो । सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि युक्रेन स्वतन्त्र भइ प्रजातान्त्रिक पद्धति अवलम्बन गर्न अग्रसर भयो । यद्यपि सन् २०१४ फेब्रुअरी २२ अघिसम्म युक्रेनमा रुसको अनुकूलता र इच्छा अनुसारकै सरकार गठन हुने गर्दथ्यो ।

सन् २०१० फेब्रुअरी २५ मा युक्रेनका राष्ट्रपति नियुक्त भएका भिक्टर यानुकोभिच रुसप्रति अत्यन्तै बफादार थिए । त्यहाँका रुसविरोधी खेमाका नागरिकहरु युरोपियन युनियनको हिस्सा बन्ने र नाटोमा सामेल हुने अभियानमा लागिरहेका थिए । उनैको कार्यकालमा युक्रेनको राजधानी सहर क्यीभमा सन् २०१३ नोभेम्बर महिनामा आन्दोलनकारीहरु द्वारा अचानक सशक्त विरोध प्रदर्शन सुरु भयो । अन्ततोगोत्वा; आन्दोलन निस्तेज पार्न असफल भएका कारण भिक्टर यानुकोभिज सन् २०१४ फेब्रुअरी २२ मा युक्रेनबाट भागेर रुसको शरणमा अहिलेसम्म निर्वासित जीवन व्यतीत गरिरहेका छन् । त्यसपछि ओलेक्साण्डर तुर्चीनोभ राष्ट्रपति भए । जसका कारण रुस असन्तुष्ट भइरहेको थियोे । किनभने; उनी रुसविरोधी युरोपियन युनियन र अमेरिकाका ज्यादै निकटतम पात्र थिए । उनले नाटोमा संलग्न हुने प्रयासका साथै संयुक्त सैन्य अभ्यास पनि आरम्भ गरे । आफ्नै अत्यधिक भूभागसँग सिमा जोडिएको भूराजनीतिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण संवेदनशील ठानिएको नजिकैको छिमेकी राष्ट्र युक्रेनको यस्तो रुसविरोधी गतिविधि र दुश्मनीपूर्ण हर्कतले रुसले आफू असुरक्षित र अपमान भएको महसुस गर्नथाल्यो । फलतः पूर्व सोभियत सङ्घको विघटन पश्चात् उपहारस्वरूप हस्तान्तरण गरेको दाबी गर्दै, रुसले युक्रेनबाट खोसेर क्रिमिया आफ्नो नियन्त्रणमा लिएको थियोे । ओलेक्साण्डर तुर्चीनोभले युक्रेनको सत्ता र राष्ट्रपति पद सम्हाल्ने बित्तिकै ६ अप्रिल, २०१४ मा डोनेत्स्क पिपुल्’स् रिपब्लिक ( डिपीआर) र लुहान्स्क पिपुल्’स् रिपब्लिक ( एलपीआर) ले तुर्चीनोभ नेतृत्वको युक्रेनी सरकारविरुद्ध रुसको सहयोगमा सशस्त्र युद्धको उद्घोष गरेको थियोे । यस रुसो–युक्रेनियन दोनबास युद्धमा १३ मे, २०२१ सम्ममै सबैगरी १४,००० जनाको ज्यान गइसकेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

रुस र युक्रेनको युद्धको अर्को मुख्य कारण भनेको रुसले उत्पादन गरिरहेको विश्वकै सबैभन्दा ठूलो नेचरल ग्यास पूर्वी युरोपका अधिकांश मुलुकहरुमा सप्लाईका लागि सदुपयोग गरिरहेको युक्रेनको भूमिमा निर्मीत नोर्ड स्ट्रिम २ ग्यास पाइपलाइन हो । रुसको सरकारी स्वामित्वमा रहेको गेजप्रोम कम्पनीले सन् २००६ देखि नै नेचरल ग्यास उत्पादन र अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण तथा निर्यात गर्न पाउने वैधानिक एकाधिकारसहित ग्लोबल अनुमतिपत्र प्राप्त गरिसकेको छ । तेल र प्राकृतिक ग्यास निर्यात गरेबापत हुने आमदानीले रुसको वार्षिक बजेटको ४० प्रतिशत राशी धानेको तथ्याङ्क सार्वजनिक गरिएको छ । नोर्ड स्ट्रिम १ (NS1) पाइपलाइन पश्चिमी साइबेरियाबाट बाल्टिक सागर पार गरेर सिधै जर्मनीमा पुग्छ । यसको क्षमता प्रतिवर्ष ५५ बिलियन क्युबिक मिटर रहेको छ । यो सन् २०११ देखि नै निर्बाध तवरले निरन्तर सञ्चालन भइरहेको छ ।

सन् २०१८ मे महिनामा सुरु भएको नोर्ड स्ट्रिम २ (NS2)  ग्यास पाइपलाइनको निर्माण प्रक्रिया सेप्टेम्बर २०२१ मा नै सम्पन्न भइसकेको छ । पहिलोभन्दा यसको क्षमता दोब्बर अथवा प्रतिवर्ष ११० बिलियन क्युबिक मिटर हुने आपेक्षा गरिएको छ । सञ्चालनमा आइसकेको ल्क्ज्ञ बाट मात्रै जाडो याममा जर्मनीका लगभग २६ मिलियन घरधुरीले न्यानोपान गर्दछन् । यसको ट्रान्जिट शुल्कस्वरूप रुसले युक्रेनलाई वर्षेनी करिब ३३ बिलियन अमेरिकी डलर बुझाउँदै आएको छ ।तर नोर्ड स्ट्रिम २ भने, २०११ सेप्टेम्बरमै सम्पूर्ण निर्माण कार्य सम्पन्न भएर पनि आजका दिनसम्म सञ्चालनमा आउन नसक्नु नै अहिलेको रुस–युक्रेन युद्धको मुख्य फ्युज बनिरहेको छ । जब रुसका वर्तमान राष्ट्रपति भ्लादिमीर पुटिनद्वारा पृथकतावादी समूहको नियन्त्रणमा रहेको डोनेस्त्क र लुहान्स्क युक्रेनका इलाकाहरु स्वतन्त्र भएको भनी, गत २१ फेब्रुअरीमा राष्ट्रपतीय कानुनद्वारा पारित गरी हस्ताक्षर गरेकै भोलिपल्ट जर्मनका चान्स्लर ओलफ स्कोल्जले ल्क्द्द को प्रमाणीकरण निलम्बित गरेको घोषणा गरेलगत्तै दुईदिन नबित्दै रुसी स्थल,वायु र जलसेनाले फेब्रुअरी २४ का दिन एकैसाथ पूर्ण युद्धस्तरको फोर्सद्वारा युक्रेनको राजधानी क्यीभ नजिकै अन्धाधुन्ध हमला ग¥यो । यस आक्रमण पश्चात् अमेरिकी राष्ट्रपतिले ल्क्द्द लगायत आर्थिक,मौद्रिक, व्यापारिक अन्तर्राष्ट्रिय मामिलाका क्षेत्रहरुमा रुसलाई प्रतिबन्ध लगाएको ब्यारोन्स समाचार एजेन्सीको वेबसाइटमा उल्लेख गरिएको छ । तर त्यस्तो निर्णय अहिलेसम्म नभएको जो बाइडनले अभिव्यक्ति दिएको समाचारहरु पनि आइरहेका छन् । स्पष्ट भन्नुपर्दा, डोनेस्त्क र लुहान्स्क यी दुवै इलाकाहरु पूरापूर रुसका समर्थक हुन् ।

रुसले भने रुसी सेनाको आक्रमण र औचित्याबारे वक्तव्य जारी गर्दै, आफ्नो समर्थक रहेको र आफूले समर्थन गरेको पृथकतावादी समूहको नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनी सेनाको आक्रमणबाट जोगाउन बाध्य भइ सैन्यकारबाही गरेको दाबी गरिरहेको छ । तथापि, कतिपय विज्ञहरूले रुसी दाबी अनुचित भएको बताएका छन् । पश्चिमा देशहरूले हप्तौँबाट रुसले कुनै पनि बहानामा हठात् आक्रमण गर्नसक्ने र त्यसको लागि अग्रिम सजगता अपनाउनुपर्ने बताउँदै आएका थिए ।

रुसले आफूले गरेका आक्रमणहरूको टार्गेट सैन्य संरचनालाई मात्रै लक्षित गरिएको दाबी गरेपनि २७ फेब्रुअरी, आइतबार बिहान सम्मको विभिन्न सञ्चारमाध्यम द्वारा प्राप्त समाचारहरुका अनुसार; आक्रमणमा परी युक्रेनको तर्फबाट १९८ जना सर्वसाधारणको मृत्यु साथै जसमध्ये ३ जना बालबालिका रहेको र १११५ जना घाइते भएका विवरणहरू आइरहेका छन् । युक्रेनका जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै, युक्रेनले रुसका १४ वटा लडाकु विमान, ८ वटा हेलिकप्टर, १०२ वटा ट्याङ्क, ५३६ सशस्त्र बाहन र १५ थान तोप ध्वस्त पारेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले पनि युक्रेनका ८०० भन्दा बढी सैन्य संरचना र अखडाहरु नष्ट गरेको जनाएको छ । तर युद्ध चर्किएको मौकामा अचूक सूचना,समाचार र तथ्याङ्क प्राप्त गर्न गाह्रो हुन्छ । किनभने; यस्तो बेलामा सञ्चार माध्यम, विद्युत प्रसारण, यातायात, राज्यका प्रशासनिक संयन्त्र र अङ्गहरुले सामान्य अवस्थामा जस्तो सहजरूपमा आफ्नो कार्य सम्पादन र सम्पन्न गर्ने प्रणाली नै लथालिङ्ग भइरहेको हुन्छ । हामीले पनि जति उपलब्ध भएका स्रोतमध्ये तुलनात्मक रुपमा बढी एकरुपता भएकोलाई आधार मान्नुपर्ने हुन्छ ।

यस्तो युद्धको सङ्कटग्रस्त भयावह परिस्थितिमा रक्षात्मक जुक्ति अपनाउन युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देश महाविपत्तिमा परेको बेला देशभित्र रहेका भुतपूर्व सेना, प्रहरी वा सर्वसाधारण जोसुकैले हतियारको आवश्यकता महसुस गरेको खण्डमा तुरुन्त उपलब्ध गराउने र सेनामा भर्ती हुन उमेरको कुनै हद लागू नहुने प्रतिबद्धता समेत जाहेर गरेको बताइएको छ । स्वयम् भोलोदिमीर जेलेन्स्की पनि युद्धको सैन्य मोर्चामा सहभागी भएका तस्वीरहरु पनि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भइरहेका छन् । यतिबेला युक्रेनको राजधानी सहर क्यीभका सडकहरुमै भिडन्त भइरहेको बताइएको छ ।

रुस–युक्रेन युद्धका कारण प्रश्न उठ्न सक्छ कि, अब के हुन्छ ?
कस्तो परिस्थिति सिर्जना होला ?

माथि पनि उल्लेख भइसकेको छ कि जर्जियासँगको युद्धमा रुसले सन् २००८ मा दक्षिण ओसेसिया र अब्खाजियामा आफ्नो सैन्यशिविर खडा गरिसकेको छ । सन् २०१४ मा युक्रेनको महत्त्वपूर्ण भूभाग मानिएको क्रिमिया पनि रुसमा गाभिएको थियोे । त्यतिबेला पनि युरोपियन युनियन र अमेरिकाले चौतर्फी प्रतिबन्ध लगाएको घोषणा गरेकै हो । अझ जि–८ समूहबाट रुसलाई निष्कासित गरिएको थियो । तैपनि रुसलाई खासै असर परेन । उहीँ शैलीमा अहिले पनि अमेरिकी टेलिभिजन फक्स न्युजले धारा प्रवाहरुपमा रुसलाई आर्थिक प्रतिबन्ध लगाउने समाचार चौबीसै घण्टा प्रसारण गरिरहेकै छ । नाटो, जि–७ र अमेरिकाले कडा निन्दा,वक्तव्य र अभिव्यक्ति सम्प्रेषण गरिरहेको छ ।
यस रुस–युक्रेन युद्धमा विभिन्न खालका मत र विश्लेषणात्मक विचारहरु लगातार आइरहेको भएतापनि मेरो बुझाइमा, रुस भनेको करिब ५,९७७ थान शक्तिशाली आणविक हतियार भएको विश्वकै सबैभन्दा न्युक्लियर हतियार सम्पन्न महाशक्ति राष्ट्र हो । हुँदाहुँदै पनि आणविक हतियारको घमण्ड र दुर्गन्ध भने, छरपस्ट भइहालेको छैन ।
युक्रेन सन् १९९४ देखि नै आणविक हतियारमुक्त मुलुक घोषित भएको छ । यस्तो अवस्थामा रुसले युक्रेनविरुद्ध परमाणु बम बर्साउने हदैसम्मको मूर्खता अवश्य पनि गर्दैन । एकातर्फ युक्रेनले पनि मुडभेट वा प्रतिवाद गर्ने दुस्साहस गर्दैन, र उसको त्यो हैसियत देखिँदैन । युक्रेन अहिलेसम्म नाटोको सदस्य राष्ट्र पनि होइन । तसर्थ नाटोले रुसी आक्रमणको जवाफ फर्काउन युद्धमा सामेल हुनैपर्ने बाध्यता ठान्दैन । किनभने; रुसलाई आक्रमण गर्नु भनेको कुनै चानचुने धृष्टता हुँदै होइन । फेरि अमेरिकासँग पनि भर्खरै ३० अगस्ट, २०२१ मा बीस वर्षपछि अफगानिस्तानबाट धूलो चाटेर फर्किएको कटु अनुभव ताजै छ । ग्यास पाइपलाइन निष्क्रिय बनाउँदा जर्मनी लगायत युरोपका अन्य थुप्रै मुलुकहरुमा उर्जाको सङ्कट देखापर्ने निश्चित छ । त्यसकारण; (NS2)  मा जर्मनीको घुर्की उसैको लागि घातक हुनसक्छ । यहीँ कारणले ल्क्ज्ञ को आपूर्ति रोकिएको खण्डमा जर्मनी नागरिकहरूले ओलफ प्रवृत्तिको विरुद्ध जर्मनमा आगो बाल्ने सम्भावनालाई समेत नजरअन्दाज गर्न मिल्दैन । पूर्वी युक्रेनस्थित डोनेत्स्कमा “द सेन्ट्रल स्क्वायर अफ डोनेत्स्क“ मा सन् १९६७ मै लेनिन स्क्वायर स्थापना भएको छ । पछिल्लोपटक सन् २००८ मा लुहान्स्कमा रसियन समर्थक पृथकतावादी समूहले १३९औँ लेनिन दिवसको अवसरमा दुईवटा नयाँ लेनिनका स्मारक खडा गरेका थिए ।

यी सबै गतिविधि र जनभावनालाई गहिरिएर मनन गर्दा, डोनेत्स्क र लुहान्स्कका नागरिकहरुमा रुसी प्रभाव,लेनिनवादी विचारधारा हावी भएको प्रष्टै झल्किन्छ । यस्तो अवस्थामा अमेरिकाले जानीजानी पनि कुनै किसिमको जोखिमी मोल्न चाहँदैन । बरु अमेरिकाले जतिजति युक्रेनमा दबाब र प्रभाव जमाउन तल्लीन हुन्छ, उति नै युक्रेनले आफ्नो भूभाग गुमाउँदै जान्छ । अन्त्यमा, विश्व मानचित्रबाटै युक्रेन भन्ने नामै अस्तित्वमा नरहन पनि सक्छ ।

यावत घटनाक्रम र परिस्थितिलाई मूल्याङ्कन गर्दा, अब लगभग चाँडै नै डोनेत्स्क र लुहान्स्क युक्रेनबाट स्वतन्त्र भइ ती दुवै इलाकाहरुमा रुसको वर्चस्व स्थापित हुनेछ । यद्यपि, भोलोदिमीर जेलेन्स्की र फ्रान्सका राष्ट्रपति इमानुइल म्याक्रोनबिचको टेलिफोन वार्तापछि फ्रान्सले सैन्य उपकरण र हातहतियार सहयोग गरिरहेको समाचार आइरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले पनि ६० करोड अमेरिकी डलर बराबरको युक्रेनलाई सैन्य सहायता दिने एक आदेश पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
युक्रेनी सेना र नागरिकहरुमा भित्रैबाट देशभक्ति जागेको खण्डमा र नाटो, जि–७, युरोपियन युनियन, अमेरिकाले पर्याप्त गरिरहेमा सशस्त्र युद्ध केही दिन वा महिनाका लागि लम्बिने सम्भावना देखिन्छ ।

अन्त्यमा; साम्राज्यवादी अमेरिकाको पाइला अत्यन्तै विषालु सावित हुँदै आएको छ । प्रजातन्त्र,मानवअधिकार,प्रेस,वाक तथा धार्मिक स्वतन्त्रता र विकास सहयोगको मकुन्डोधारी अमेरिकाले जहाँ–जहाँ पाइला राख्छ, त्यहाँ युद्ध, द्वन्द्व र अशान्ति पैदा हुने गरेका बग्रेल्ती नजिरहरु स्थापित भइसकेका छन् । जुनसुकै युद्ध अत्यन्तै कठोर, पीडादायी र विनाशकारी चरित्रको हुन्छ । खासमा युद्ध भनेको मृत्युको पर्याय पनि हो । तर कहिलेकाहीँ कसैले चाहेर वा नचाहेर पनि युद्ध हुनेगर्छ । त्यसैले; हामी पनि यसै धर्तीको सदस्य र मानवताको नाताले युक्रेन र युक्रेनी नागरिकको सार्वभौमसत्ता र प्राण पनि बचोस् , रुसको हठात् आक्रमण पनि तत्काल रोकियोस् , दुवै पक्षको ठूलो आर्थिक,भौतिक र मानवीय क्षति नहोस् भन्ने कामना गरौँ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...