नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा छन् । पारिवारिक कामसँगै अन्तरदेशीय अनुभव बटुल्दै कविता लेखनमा नयाँपन खोज्न उनी केही समय अमेरिकामा रहनेछन् । ‘फालेलुङ र काबेली बजार’ अनि त्यसभित्रका ‘साग बेच्ने केटी’ कविताबाट अत्याधिक चर्चामा आएका थेबे अहिले पनि कविता लेखनमा निरन्तर छन् । एक्कासि अमेरिका पुग्नुलाई उनका पाठक एवम् शुभेच्छुकहरूले अर्थपूर्ण रूपमा लिएका छन्, त्यतिकै खुलदुली पनि । अमेरिका पुगेपछि पहिलो पल्ट आफ्ना नयाँ अनुभव साट्ने क्रममा उनै कवि सन्तोष थेबेको अनुभव ‘नयाँ अनलाईन’को शनिबारे परिष्टाङ्क आजको ‘नयाँ साहित्य’मा ।
केको सिलसिलामा अमेरिकातिर लाग्नु भयो ?
परिवारका सदस्यहरू लामो समयदेखि तेतै बस्दै आएका हुनाले बेला मौकामा मेरो तथा परिवारका सदस्यहरूको आवत जावत जरूरी थियो । यो सिलसिला ले त्यही उपक्रमलाई दरीलो निरन्तरता दिएकोछ । अनि सभ्य भव्य देश घुमफिरको अवसर जुरेर पनि हो ।
अनि त्यताको दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
नयाँ भाषा संस्कृति जीवनशैलीमा घुलमिल हुन समय लाग्छ नै । फेरि उमेरको उपक्रमले नि निर्णायक भूमिका खेल्दो रहेछ । अहिले सामाजिक सामान्जस्यता सकभर छिटो कायम होस् आग्रहमा समय गुज्रीरहेछ तर परिवारका सदस्यहरूले केही पूर्वाधार निर्माण गरिसकेकाले सजिलो पनि छ ।
कविता लेखन के कस्तो चल्दैछ ?
नढाँटी भन्ने हो भने मनको चंचलता अझै मत्थर भएको छैन । तरंगहरू उठी नै रहेका छन् त्यसैले कविता लेख्न सकिरहेको छुइनँ । तर सँगसंगै नयाँनयाँ परिवेश र कथ्यहरू लोभ लाग्दो गरि चाङ लागेर बसेका छन् । आशा छ तिनीहरूले ढिलोचाँडो कविताको रूप लिनेछन् ।
एउटा कविलाई कविता लेखनमा भुगोलले के कति असर पुराउँछ ?
भूगोलमा ढुंगामाटो एवं जीवन वस्पतिदेखि लिएर समाज संस्कृति सभ्यता आदिको विविधता र त्यसको प्रभाव रहन्छ नै, फेरि त्यसमाथि जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने निकै चाखलाग्दो भएकोले कविता लेखनको माहोल मलिलो भएको कुरालाई नकार्न सकिन्न ।
हामी कविताका पाठकले तपाईंका कविताहरू नेपालमा भए जसरी नै पढ्न पाइएला ?
सजिलो सुनिने तर गारो प्रश्न हो यो मेरो लागि मुलुकमा रहँदा र मुलुक छोडी सकेपछि धेरै आशलाग्दा श्रष्टाहरूले पाठकहरूको आशामाथि रचनात्मक काम गर्न नसकेको तीतो यथार्थलाई यति सजिलोसित चिरेर बोल्न गारो कुरा हो तथापी आशावादी छु ।
कृतिहरूको तयारी के कसो गर्दैहुनुहुन्छ ? अबको कृतिको जस् त अमेरिका बसाइले लिन्छ होला ?
अमेरिका बसाई विभिन्न कारणहरूले गर्दा लम्बिन्छ नै । फेरि यो अमेरिका बसाईसँग नचाहेर पनि धेरै कुरा जोडिन्छन् नै । केहि थोरै कविताहरू नयाँ देश काल परिस्थिति का हुनेछन् भने अधिकांश कविताहरू मुलुक रहँदा कालिन नै हुनेछन् ।
एउटा कवि देश देशान्तर हुँदा कविता पछि लाग्ने क्रम कस्तो हुदो रैछ ?
मेरो बुझाइमा कविता एक मूडमा लेखिन्छ र मूडमै पढिन्छ । हतास र व्यस्त मनस्थितिमा कविता त्यति सप्रिदैन । भन्न खोजेको कुरा के हो भने एउटा कवि मान्छे पनि हो । कविताभन्दा पर व्यवहारिक जीवनमा व्यस्त रहयो भने कविता लेख्ने वातावरण कम मिल्छ तर साहित्यिक माहोल रह्यो भने प्रशस्त काव्य साधना रहन्छ ।
एउटा कविको यात्रामा कविता सँगसँगै भएन भने त्यो यात्रा कस्तो होला ?
जीवन साथी गुमाउँदाको भन्दा ज्यादा पीडा होला । तर म यसलाई आदर्श मात्र हो भन्छु । यसको जीवन बाँच्नुको तीतो यर्थाथसित खासै सम्बन्ध छैन भन्छु । यसको अर्को कारण पनि छ । म जीवनमा अनिवार्यता रुचाउँदिन । हुँदा पनि र नहुंदा पनि खासै अन्तर देख्दिनँ ।
अमेरिका पुगेर लेखेको कुनै कविता भए पाठकहरूमाझ पस्कदा कसो होला ?
अमेरिका पुगेर चिलिका कवि पाब्लो नेरुदाको कविता नेपालीमा अनुवाद गरेको छु । त्यही नै प्रस्तुत गर्न चाहें
कविता– तिमीमा यो धरती
कवि – पाब्लो नेरुदा (चिली)
सानो
गुलाब,
निख्खुर सानो,
कहिले काहिँ,
सानो र नग्न,
यस्तो देखिन्छ
मानौ तिमी सजियौ
मेरो एक हातमा
मानौ म तिमीलाई यसरी जोडले कस्नेछु
र ल्याउँछु तिमीलाई मेरो मुहार छेउमा
तर
अचानक
मेरो गोडाले तिम्रो गोडा छुन्छ र मेरो मुखले तिम्रो ओंठः
तिमी हुर्किएकीछौ
तिम्रा काँधहरू दुई पहाड जसरी उठेकाछन्
तिम्रा स्तनहरू मेरो छातीमाथि विचरण गर्छन्
मेरो पाखुरालाई बाँध्न गारो भएकोछ त्यो पातलो
खुर्पे जून जस्तो तिम्रो कम्मरः
प्रेममा तिमीले आफूलाई सामुद्रिक जल झैं फिँजाएकी छौ
मलाई आकासको सबैभन्दा फराकिलो आँखाहरू मापन गर्न हम्मे हम्मे भएकोछ
र म झुकिसकेँ तिम्रो मुहार हुँदै… चुम्बन गर्न धरतीलाई…!
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।