कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी - Naya Online

कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी

उदय पूर्वेली चोङबाङक्याक

भारतको उत्तरप्रदेश, जालौन जिल्लाको गोराहास्थित सानो गुमनाम गाउँमा अत्यन्तै उपेक्षित र अत्यन्तै गरिब मल्लाह (माझी) परिवारमा सन् १९६३ मा फूलनदेवीको जन्म भयो । उनका परिवारमा उनका पिता देवीदीन मल्लाह, आमा मूला, दुई दिदी,एक दाजु र उनी परिवारका सबैभन्दा कान्छी सन्तान गरी जम्मा छजना सदस्यहरू थिए ।

देवीदीनले नाउ चलाएर परिवारको छाक टार्दथे । उनीहरूको नाममा सानो एकटुक्रा जमिन थियोे । त्यसको केही हिस्सा पनि उनका काकाले कब्जा गरेका थिए ।

फूलनदेवी सानै उमेरदेखि जिद्दी र अति नै निडर स्वभावकी थिइन् । परम्परागत अश्लील गालीगलौजमा उत्रनु उनको खराब आदत नै बनिसकेको थियोे । उनका काकाले आफ्नो जमिन हडपेका कारण एकदिन उनका बुबा र आमा रोइरहेको उनले थाहा पाइन् । त्यसबेला उनी १० वर्षकी मात्र थिइन् । उनले आफ्ना दिदीहरूलाई लिएर काकाको घरमा गइ आफ्नो जमिन अतिक्रमण गरेकोे सवाललाई लिएर कडा प्रतिवाद गर्थिन् । यहीँ विवादका क्रममा एकपटक उनले आफूभन्दा उमेरले निकै जेठो उनको काकाका छोराले उनलाई जोडले पिटेपछि उसलाई इँटा बर्साएर घाइतेसमेत बनाएकी थिइन् । त्यहीँ जग्गाको विवादलाई लिएर १० वर्षकै पूर्वकिशोर अवस्थामा नजिकैको प्रहरी चौकीमा धर्नामा समेत बसेकी थिइन् । उनको यो हिम्मत र विवेकलाई नलोभ्याउने दुनियाँमा सायदै होलान् !

उनको यस्तो हठी र झगडालु स्वभावका कारण उनीसँग बुबाआमा पनि आजित भइसकेका थिए । बिचमा उनको एकैभाइ मात्र दाजुको पनि सानै उमेरमा मृत्युु भयो ।

फूलनदेवी ११ वर्षकी हुँदा, काकाले नियन्त्रणमा लिएको आफ्नो जमिनको विषयलाई लिएर बुबासँग उनको चर्काचर्की पर्यो । त्यसैको सजाय स्वरूप उनका पिताले ११ वर्षकी नाबालिका छोरीको अर्को गाउँको ३४ वर्षे पुत्तिलाल नामक पूर्णवयस्क युवासँग विवाह गरिदिए ।

युपीमा बालविवाहको सवालमा परम्परागत “गना” रीति अपनाउने प्रचलन रहेछ । जसको औचित्य भनेको नाबालिका दुलही शारीरिक र मानसिकरूपले प्रजनन क्रियाका लागि योग्य भएको ठहर्याउने माध्यम रहेछ । तर गना संस्कारको ठाडो उलङ्घन गर्दै, यौनपिपासु पुत्तिलालले फूलनदेवीलाई जबर्जस्त बलात्कार गरे । उनी भागेर माइत आइन् । तर उनका बुबाले फेरि ज्वाईकै साथ लगाएर पठाइदिए । जतिपटक पीडा सहन नसकेर फूलनदेवी पतिको घरबाट भागेर माइतीघर आउँथिन्, त्यति नै पटक उनका बुबाले ज्वाई लिन आएपछि खुरुक्क उनको पछि लगाएर पठाउने गर्थे । केही सीप नलागेपछि नरभक्षी पतिको पञ्जाबाट बल्लतल्ल फुत्केर प्राण जोगाउन माइत आएकी आफ्नो नाबालिका छोरीलाई स्वयम् उनकै बुबाले औँठी चोरेको अभियोग लगाएर स्थानीय प्रहरी चौकीमा लिखित उजुरी दर्ता गरे । त्यसैको आधारमा प्रहरीले फूलनदेवीलाई गिरफ्तार गरी हिरासतमा राखे । त्यतिबेला उनीहरूले उनी उपर शारीरिक तथा मानसिक यातना र यौनशोषण समेत गरेका थिए ।

तीनदिनपछि रिहा हुनेबित्तिकै उनलाई उनका बाबुले ज्वाईको घरमा पठाइदिए । पतिको घरमा पुग्दा उनका पतिले अर्कै महिला विवाह गरेर घरमा भित्र्र्याइसकेका थिए । अनि फूलनदेवीमाथि सख्त कुटपिट गरी उनका लुगाकपडा लगायतका सबै सामानहरू पोका पारेर घरबाट निकाली श्रीमानले देवीदीनको जिम्मा लगाइदिएका थिए ।

यस दर्दनाक घटनाले फूलनदेवीको जीवनमा युटर्न लियो । यी भयावह शृङ्खलाबद्ध घटनाक्रम र उनका अनौठा स्वभावहरूका कारण नकारात्मक वा सकारात्मक जेजस्तो भएतापनि उनको चर्चा चुलिईरहेकै थियो । यहीँ मौकामा सन् १९७९ मा उनी चम्बल प्रवेश गरेर एउटा डाँकु समूहमा संलग्न हुनपुग्छिन् । यसबारेमा भने, दुईप्रकारका मतहरू रहेका पाइन्छन् । पहिलो, फूलनदेवी आफ्नै स्वेच्छाले त्यहाँ गएकी थिइन् । दोस्रो, चम्बलका डाँकाहरूले उनलाई अपहरण गरेर जबर्जस्ती आफ्नो समूहमा सामेल गराएका थिए । उनी जीवित रहुन्जेलसम्म पनि यस रहस्यको बारेमा वास्तविकता र सत्यतथ्य खुलेन । उनले आफ्नो कर्मले त्यहाँसम्म पुर्याएको बताउँथिन् ।

त्यसबेला, चम्बलका उक्त डकैत समूहका ग्याङलिडर बाबू गुज्जर थिए भने, उनका टुआईसी विक्रम मल्लाह थिए । विक्रम मल्लाह र फूलनदेवी स्वजातीय थिए । यसकारण, फूलनदेवीप्रति विक्रम मल्लाहले भावनात्मक र नरम व्यवहार प्रदर्शन गर्थे ।

तर फूलनदेवी उपर बाबू गुज्जरको गिद्धेनजर सोझिएको थियोे । परिणामस्वरूप एकदिन रातको समयमा बाबू गुज्जरले फूलनदेवीलाई जबर्जस्ती गर्नथाल्यो । फूलनदेवी चिच्याइरहेको सुनेर विक्रम मल्लाह त्यहाँ पुगे । उनीहरूबिच चर्को वादविवाद र झगडा भयो । फलस्वरूप विक्रम मल्लाहले बाबू गुज्जरलाई गोली हानी हत्या गरिदिए ।

बाबू गुज्जरको हत्यापछि विक्रम मल्लाह ग्याङका लिएर चुनिए । त्यसलगत्तै फूलनदेवी र उनको प्रेम–सम्बन्धको चर्चा चल्नथाल्यो । विक्रम मल्लाहले फूलनदेवीलाई राइफल चलाउनेदेखि लिएर भाग्ने, छलिनेजस्ता आधारभूत तालिम पनि दिलाए ।

एकदिन विक्रम मल्लाह आफ्नो ग्याङसहित फूलनदेवीलाई लिएर फूलनदेवीकी पूर्वपति पुत्तिलालको घरमा पुगे । पुत्तिलाल र उनकी श्रीमती दुवैजनालाई नियन्त्रणमा लिएर एकान्त स्थानमा लगी पुत्तिलाललाई बाँधेर, आफू नाबालिका छँदा पहिलोपटक बलात्कार गर्ने यौनपिपासु आफ्नो पूर्वपतिलाई फूलनदेवीले मरणासन्न अवस्थामा पुग्नेगरी कुटपिट गरिन् । त्यसपछि अबउप्रान्त दिनहरूमा उक्त गाउँमा २० वर्ष उमेर नपुगेका कुनै पनि महिलालाई जुनसुकै उमेर समूहको पुरुषले बालविवाह गर्न नपाउने छैन । यदि, यो आदेश आइन्दादेखि अवज्ञा गरेको थाहा पाएको खण्डमा त्यस्तालाई फूलनदेवीले सिधै गोली प्रहार गर्ने कडा चेतावनीसमेत जारी गरेका थिए ।

त्यहाँबाट चम्बल फर्किएपछि लुटपाट, आतङ्क आदिमै सदा झैँ उनीहरूको दैनिकी गुज्रिरहेको थियो । यहीँ समयमा उनीहरूका समूहका श्रीराम र लालाराम प्रहरीद्वारा गिरफ्तार भई जेल चलान भए । जेलमुक्त हुनासाथ उनीहरू चम्बल पुग्छन् । त्यहाँ पुगेपछि, बाबू गज्जरको हत्या विक्रम मल्लाहले गरेको र कारण फूलनदेवी नै भएको वास्तविकता थाहा पाउँछन् । यसकारण, विक्रम मल्लाह र फूलनदेवी भर्सेस श्रीराम र लालारामबिच गुटगत तवरले समूहमा आन्तरिक द्वन्द्व दिनानुदिन चर्कदै गयो ।

क्रमशः यसले जातीयरूप धारण गर्नथाल्यो । विक्रम मल्लाह र फूलनदेवीले मल्लाह जातिका युवाहरूलाई संरक्षण गर्नथाले भने, श्रीराम र लालारामले समूहमा राजपुतहरूको वर्चस्व स्थापित गर्न लागिपरिरहेका थिए ।

यसले गर्दा एउटै समूहमा मल्लाह र राजपुत समुदायबिचको आन्तरिक द्वन्द्वले उग्ररूप लिनथाल्यो । तर दिनदिनै श्रीराम र लालारामको गुट सशक्त हुँदैगयो । समूहमा उनीहरूको हालीमुहाली ह्वात्तै बढ्यो । यही मौका छोपेर उनीहरूले विक्रम मल्लाहको हत्या गरे ।

अनि श्रीराम र लालारामले फूलनदेवीलाई अपहरण गरेर आफ्नो आफ्नो गाउँ बेहमई पुर्याए । त्यहाँ पुर्याएर फूलनदेवीलाई एउटा अँध्यारो कोठामा कैद गरियो । लगातार तीन हप्तासम्म अँध्यारो कोठामा थुनेर तीन दर्जनभन्दा बढी नरपिसाच पुरुषहरूले पालैपालो सामूहिक बलात्कार गरिरहे ।

सुरुवातमा, ११ वर्षकी हुँदा नै आफ्नै यौनपिपासु पतिद्वारा फूलनदेवी बलात्कृत भइन् । त्यसै बखतमा हिरासतमा समेत प्रहरीबाट यौनशोषण झेलिन् । चम्बलमा आफ्नै ग्याङलिडर बाबू गुज्जरको यौनदुर्व्यवहार खेपिन् । यी र यस्ता अनेकौँ क्रुर र दानवीय घटनाहरूको यो शृङ्खलासम्म आइपुग्दा, फूलनदेवीको बाल्यकालदेखि नै “बलात्कृत” उनको जीवनको अर्को पर्यायवाची नाम बनिसकेको थियो ।

अब पुनः नियमित प्रसङ्गमा प्रवेश गरौँ ।

तीनहप्ता पुगिसकेपछि, त्यसै गाउँमा रहेका एकजना मल्लाह समुदायका मानिसले दिएको सूचनाका आधारमा विक्रम मल्लाह गुटका दुईजना मल्लाह युवाहरूले एउटा कोठामा यातनापूर्वक बलात्कार गर्दै बेहाल अवस्थामा फूलनदेवीलाई थुनेर राखेको सुराक पाउन सफल भए ।

त्यहाँ प्रत्यक्ष निगरानी गर्ने क्रममा ती तीनजना मल्लाह युवाहरूले श्रीराम र लालारामका ग्याङहरू लापरबाही तवरले उक्त स्थानबाट अव्यवस्थित ढङ्गले टाढा–टाढा छरिएर रहेको पत्ता लगाए । त्यसै अनुकूल मौका छोपी मल्लाह युवाहरूले फूलनदेवीलाई त्यहाँबाट उद्दार गरेर आफ्नो पकड एरिया बेहडतर्फ लिएर गए । त्यस घटनापछि मल्लाह युवाहरू जागरुक भइ राजपुतहरूको विरुद्धमा संगठित हुनथाले । उक्त ग्याङको लिडर स्वयम् फूलनदेवी हुन्छिन् ।

बेहमईको नर्ककुण्डबाट फूलनदेवीलाई रेस्क्यु गरेर ल्याउने तीमध्येका मानसिँह मल्लाह पनि एक थिए । यसै दौडानमा फेरि मानसिँह र फूलनदेवीबिच प्रेम–सम्बन्ध सतहमा देखापर्न थाल्यो । फूलनदेवीको जीवनमा यहाँ अर्को नौलो अध्यायको प्रारम्भ हुन्छ । अथवा बेहमईको घटनाले उनको जीवन र मानसपटलमा एउटा गहिरो प्रतिसोधको जन्म गरायो ।

उनको रणनीतिमा पनि व्यापक परिवर्तन आइरहेको थियोे । उनले आफ्नै कमाण्डमा सम्पूर्ण मल्लाह जातिलाई सचेतना जगाउनुका साथै एकत्रित र संगठित गर्ने अभियानलाई तीव्रगतिमा अघि बढाइन् । आफ्नो समूहबाट मल्लाह जातिलाई लुटपाट, कुटपिट र धम्की आदिबाट पनि सकेसम्म जोगाउने प्रयास गरिन् । उनले राजपुत र कथित उच्च जातिलाई आफ्नो आक्रमण र लुटपाटको मुख्य निशाना बनाइरहेकी थिइन् । मुल्लाह जातिलाई लुटपाट गर्नुको साटो मूल्लाह जातिका अति विपन्न परिवार र गम्भीर समस्यामा परेकाहरूलाई नगद, खाद्यान्न, लत्ताकपडा तथा भौतिक सहयोगसमेत प्रदान गर्थिन् । यसले गर्दा मल्लाह समुदायमा फूलनदेवीप्रतिको विश्वास, भरोसा, भावनात्मक सम्बन्ध लोकप्रियता र समर्थन पनि अनापेक्षित तवरले बढिरहेको थियो भने, यसको विपरीत एकातर्फ मुल्लाह समुदायमा राजपुत समुदायप्रतिको घृणा दिनानुदिन जागिरहेको थियोे ।

आफूलाई अपहरण गरेर चरम यातना र सामूहिक बलात्कार गरिएको ठीक ७ महिनापछि उक्त स्थान बेहमईका एक राजपुत परिवारमा विवाह कार्यक्रम तय भएको खबर फूलनदेवी प्राप्त गर्छिन् । त्यसपछि, फूलनदेवीले आफ्नो ग्याङलाई प्रहरीको पोसाकमा १४ फेब्रुअरी १९८१ का दिन बेहमईको उक्त विवाह घरमा उतारिन् । तर त्यहाँपुग्दा श्रीराम र लालाराम फेला परेनन् । उनीहरू निकटका दुईजना युवालाई पहिचान गरी फूलनदेवीले सोधपुछका लागि नियन्त्रणमा लिइन् । तर आफूलाई बलात्कार गर्ने समूहमा प्रत्यक्ष संलग्न अपराधीहरू कोहीपनि गाउँघर नजिकै नभएको वा टाढा–टाढा भागिसकेको उनले जवाफ पाइन् ।

आफूले चाहेको सिकार उम्किएको आवेगले जलेर डढेलो झैँ बलिरहेकी फूलनदेवीले त्यस विवाहमा उपस्थित सम्पूर्ण पुरुषजतिलाई तुरुन्त एउटा लाइनमा लहरै उभ्याउने आदेश दिइन् । एकैछिनमा त्यहाँ उपलब्ध २२ जना पुरुषलाई लाइनमा उभ्याइयो । फूलनदेवीले केरकारको निहुँमा उनीहरूलाई चिच्याइ–चिच्याइ गालीगलौज गर्दै कुटपिट गरिन् । अन्त्यमा, उनकै आदेशमा पालैपालो २२ जानलाई नै गोली हानी सामूहिक हत्या गरिएको थियोे ।

फूलनदेवीले यस्तो अमानवीय जघन्य अपराधिक घटना घटाउनुको पछाडि विक्रम मल्लाहले उनीसँगको कुराकानीका क्रममा “श्रीराम वा लालाराम एकजना मात्रै मारेमा फाँसीको सजाय हुन्छ । तर एकैसाथ २० जना मार्न सकेको खण्डमा नाम हुन्छ, अनि नाम भएपछि काम हुन्छ” भनेर भनेका थिएछन् ।

उक्त नरसंहारपछि तत्काल बेहमई छोडेर फूलनदेवी र उनका ग्याङ पूर्णरूपमा भूमिगत भए । भोलिपल्ट यो भयानक कत्लेआमको खबर भुकम्पको गतिमा विश्वभर फैलियो । यस घटनाको चौतर्फीरूपमा चर्को निन्दा, भत्र्सना र विरोध हुनथाल्यो । जातीय तवरबाट पनि आवाजहरू बुलन्द हुनथाले । अन्ततः यसले राजनीतिक रूपधारण गर्न पुग्यो । उत्तरप्रदेशका तत्कालीन मुख्यमन्त्री विपी सिँह उपर चर्को दबाब सृजना भयो । अन्तमा दबाब थेग्न नसक्ने अवस्थामा पुगेकाले विपी सिँहले आफ्नो मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । त्यसरी नै यस घटनाका कारण, तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसमेत तनावमा परिरहेकी थिइन् । प्रहरी प्रशासन पनि फूलनदेवीको गिरफ्तारीका लागि डटेर लागिपरिरहेका थिए । उसो त यस अभियानका दौडानमा फूलनदेवी निकटका कैयन सन्दिग्ध व्यक्ति, संलग्न अपराधीहरू पक्राउ परिरहेका थिए । कतिपय ग्याङका सहायक नाइकहरूलाई नियन्त्रणमा लिएर भागेको अभिनय गराउन लगाइ पछाडिबाट गोली हानी हत्यासमेत गरिसकेका थिए । यद्यपि, यतिका भरमग्दुर कोसिसका बाबजुद पनि दुईवर्ष बित्दासमेत बेहमई घटनाका मुख्य आरोपित फूलनदेवीलाई प्रहरीले गिरफ्तार गर्न सकिरहेका थिएनन् ।

उक्त फूलनदेवीको गिरफ्तारीका लागि फ्रन्टलाइनमा काम गर्ने मुख्य जिम्मेवारी तत्कालीन भिण्डका एसपी राजेन्द्र चतुर्वेदीले सम्हालेका थिए । उनले मध्यस्थकर्ताको माध्यम अपनाएर फूलनदेवीलाई आत्मसमर्पण गर्नका लागि बारम्बार सुझाउँदै आइरहेका थिए । दुईतर्फी सन्देश आदान–प्रदान पनि भइरहेको थियो । तर वार्ताको सुनिश्चित हुन सकिरहेको थिएन ।

यो अब कुनै सीमित क्षेत्र र निश्चित समुदायको मात्र नभइ सिङ्गो भारतको समस्या र विश्वकै चासो र चिन्ताको विषय बनिसकेको थियो । यसले गर्दा, भारतको सुरक्षा प्रणाली र सरकारको क्षमता, विश्वसनीयताका साथै जिम्मेवारी माथिसमेत प्रश्न चिन्ह र चुनौती खडा गरिदिएको थियो । एउटा डकैत समूहको महिला कमाण्डरलाई समेत आफ्नो देशभित्रै रहेको अवस्थामा समेत गिरफ्तार गरी कानुनी कारबाही गर्न नसकेकाले विश्वसामु भारतको साख गिरिरहेको थियोे । अन्तर्राष्ट्रिय समुदायले भारतलाई गुण्डाराजको सङ्केत गरिरहेको थियोे । तसर्थ यस्तो लज्जास्पद परिस्थिति सृजना भएको थाहा पाएर स्वयम् प्रधानमन्त्री इन्दिरा गान्धीले यस बदनाम घटनालाई अविलम्ब किनार लगाउन जोडतोडले पहल गरिन् । फाँसी बाहेकका सबैखाले कानुनी तथा संबैधानिक विकल्प खोजेरै भएपनि हरहमेसा फूलनदेवीलाई जुनसुकै उपाय वा माध्यमद्वारा आत्मसमर्पण गर्न गराउन आफ्ना मातहतका सम्बन्धित सम्पूर्ण संयन्त्र र निकायहरूलाई कडा अर्डर जारी गरिन् ।

इन्दिरा गान्धीको यस पहल र आपेक्षालाई सार्थक तुल्याउन विपी सिँह पनि पनि लागिपरे । एसपी राजेन्द्र चतुर्वेदी उक्त घटना घटेको सुरुवाती दिनदेखि नै फिल्डमा सक्रिय भइरहेका थिए । यो घटनाको आरोपित व्यक्तिलाई पक्राउ गरि वास्तविक दोषी पत्ता लगाउने मुख्य अभिभारा, कार्यभार र जिम्मेवारी पेसागत हिसाबले पनि राजेन्द्र चतुर्वेदीकै टाउकोमा थुप्रिएको थियोे ।

राजेन्द्र चतुर्वेदीको रातदिनको अनवरत प्रयासपश्चात् अन्ततः सन् १८८२ फेब्रुअरी महिनामा केही आफ्ना सर्तका साथ फूलनदेवीले वार्तामा सहभागी हुने इच्छा प्रकट गरिन् । आफ्ना ग्याङका थुप्रै विश्वासपात्रहरू पक्राउ पर्नु, जेल चलान हुनु, मारिनु, प्रहरीको सर्च अभियानमा पटकपटक आफूसमेत गिरफ्तारी वा सट डेथको अत्यन्तै नजिक पुग्नु, जङ्गलको अव्यवस्थित र कष्टकर सेल्टर, पटकपटकको बलात्कारको पीडा, शारीरिक तथा अत्यधिक मानसिक यातना झेल्नुपरेको, आफूले गरेका जघन्य अपराधका अविरल पश्चातापले मनमा हदैसम्म बेचैनी उत्पन्न हुनु, कमजोर स्वास्थ्यका कारण दिनदिनै शरीर अत्यन्तै जीर्ण हुँदै जानु आदि–इत्यादि कारणहरूले उनी अन्तिम विन्दुमा वार्ताको सहारा लिने मनस्थितिमा अवतरण गरेकी हुनुपर्छ ।

तर, आत्मसमर्पका गर्नका लागि उनले जम्मा ६ बुँदे सर्त अघि सारेकी थिइन् ः–
१. उत्तरप्रदेश प्रहरी भरोसायोग्य हुन नसक्ने भएकाले यूपी प्रहरीसामु आफूले कुनै हालतमा आत्मसमर्पण नगर्ने वा गर्न नसकिने ।

२. विधानसभामा अथवा मुख्यमन्त्री अर्जुन सिँह समक्ष मात्र आत्मसमर्पण गर्ने ।

३. वार्ता तय गरिएको निश्चित स्थलमा प्रहरीले कुनै पनि प्रकारका हातहतियार बोक्न वा राख्न नपाउने । साथै महात्मा गान्धी र दुर्गा माताका दुईवटा तस्बीरका अगाडि आफूले हतियार राखेर आत्मसमर्पण गर्ने ।

४. आफू (फूलनदेवी) लगायत आफ्ना समूहका सम्पूर्ण सदस्यहरूले आत्मसमर्पण गरेपश्चात् उनीहरूमध्येका कसैलाई पनि फाँसीको सजाय दिन नपाउने ।

५. आफ्नो समूहका कुनै सदस्यलाई आत्मसमर्पण गरेबापत ८ वर्षभन्दा लामो समय जेल सजाय तोक्न नपाउने ।

६. आफूले आत्मसमर्पण गरेको दिन जीवित रहेका आफ्ना सम्पूर्ण घरपरिवार उक्त तोकिएको समय र स्थानमा अनिवार्य वा प्रत्यक्ष तवरले भौतिकरूपमै उपस्थित हुनुपर्ने ।

फूलनदेवीले वार्ताका लागि पेस गरेका यिनै सर्तहरू मुताबिक नै सरकार पक्ष पनि वार्ता गर्न तयार भयो । वार्ताको लागि भिण्डको एउटा स्थान सुनिश्चित गरियो । सन् १९८३ फेब्रुअरीमा वार्ता सम्पन्न गरिने दिन मुख्यमन्त्री पनि त्यस स्थानमा पुगे । उक्त वार्तास्थलमा करिब ३०० जनाको हाराहारीमा निरस्त्रीकृत प्रहरी खटिएका थिए । तर फूलनदेवी सार्वजनिक हुने खबरले आसपास र टाढा–टाढाबाट आएका १० हजारभन्दा बढी सङ्ख्यामा मानिसहरूको भीड जम्मा भएको थियो । उक्त भीड नियन्त्रण र व्यवस्थापन गर्न सीमित सङ्ख्याका प्रहरीलाई हम्मेहम्मे परिरहेको थियो ।

सम्पूर्ण तयारी पूरा भइसकेपछि निर्धारित समयअनुसार, आफ्नो सर्तहरूलाई अक्षरस पालना गर्दै, आफ्नो सम्पूर्ण समूह र हातहतियारसहित लिएर मुख्यमन्त्री, सम्बन्धित निकायका अधिकृतहरू, प्रहरी र हजारौँ सर्वसाधारण, शुभेच्छुक, आफन्त तथा घरपरिवारका सदस्यहरूको प्रत्यक्ष उपस्थिति माझ फुलनदेवी सार्वजनिक भएर सर्तअनुसार हातहतियार महात्मा गान्धी र दुर्गा माताका तस्बीरसामु राखेर आत्मसमर्पण गरिन् । बुझेर हो वा अन्धाधुन्ध भावना बहिकिएर हो ? जे होस्, त्यतिबेला भीडबाट उनको जयजयकारको नारासमेत लागिरहेको थियो ।

त्यसलगत्तै उनलाई जेल चलान गरियो । उनी विरुद्धको लुटपाट, अपहरण, चोरी, ज्यानसम्बन्धी, ज्यान मार्ने धम्की आदि प्रकृतिका अपराधिक घटनाका ४८ वटा मुद्दा अदालतमा दर्ता गरिएको थियो । तर तमाम मुद्दाहरूको बिनासुनुवाई र चार्ट सिटनै बेगर उनलाई ११ वर्षसम्म थुनुवामा राखियो । जेलमै रहँदा उनको दुईपटक अप्रेसन भयो । फेरि पुनः दोस्रो फूलनदेवीको जन्म नहोस् भन्ने रुढीवादी मनोविज्ञानद्वारा प्रेरित भइ दोस्रो पटकको अप्रेसनमा उनको पाठेघरसमेत निकालिएको थियो ।

तर सन् १९९४ मा उनको जिन्दगीभरिकै पहिलोपल्ट नयाँ बहारको आगमन हुन्छ । किनभने; सिर्फ उपचारको निहुँमा उनलाई आममाफी (Parole) मिल्छ र तत्काल उनी जेलमुक्त हुन्छिन् । उनी रिहाइ भएर बाहिर आएको केहीदिनमै आफ्नो संबैधानिक अधिकारको जगमा टेकेर तत्कालीन उत्तरप्रदेशका मुख्यमन्त्री मुलायम सिँह यादवले पूरै दुनियाँलाई चकित पार्दै, फूलनदेवीका नाउँमा उनीविरुद्ध अदालतमा दर्ता भएका भएजति सबै खालका मुद्दाहरू सरकारले फिर्ता लिइसकेको घोषणा गरेका थिए । त्यसै दिनदेखि कानुनको नजरमा फूलनदेवी एक निर्दोष, निरपराधी र स्वतन्त्र भारतीय महिला नागरिक सावित भइन् ।

त्यसपछि उनले उम्मेद सिँहसँग विवाह गरिन् । उनीहरू दुवैजनाले गुम्बामा गएर बौद्ध धर्म पनि ग्रहण गरे । यसले फूलनदेवीमा शान्तिप्रतिको मोह जागेको दर्शाउछ । उनीहरूको जीवन पनि हाँसीखुसी बितिरहेको थियोे । एक प्रकारले फूलनदेवी जङ्गली र जेलको पशुतुल्य कष्टकर कैदी जीवनबाट एकैचोटि दिल्लीको विशाल सहरको एक महलमा प्रवेश गरिसकेकी थिइन् । सायद तत्क्षणमा उनका विगतसँग साक्षात्कार र प्रायश्चित गर्ने अवसर मिलेन होला !

सन् १९९७ मा फूलनदेवीको विधिवत तवरले राजनीतिक जीवनको प्रारम्भ भयो । अब भने उनको जीवन कायापलट तर्फ उन्मुख भइसकेको हुन्छ ।

सन् १९९७ को लोक सभाको निर्वाचनमा मुलायम सिँह यावले समाजवादी पार्टीको तर्फबाट मिर्जापुर निर्वाचन क्षेत्रको लोकसभा सदस्य पदको लागि फुलनदेवीलाई उम्मेदवारी टिकट दिए । फूलनदेवी सहजै विजयी पनि भइन् । निर्वाचित भइसकेपछि एमपी भएर गर्वका साथ लोकसभामा प्रवेश गरिन् ।

फूलनदेवी सन् १९९८ को निर्वाचनमा दोस्रोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भइन् । तर यसपटक भने उनी विपक्षी उम्मेदवारद्वारा पराजित भइन् । त्यसलगत्तै सन् १९९९ मा निर्वाचन घोषणा भयो । यसपटक मिर्जापुरबाट पुनः दोस्रोपटक निर्वाचित भइन् । पछिल्ला दिनहरूमा लगभग दिल्ली उनको होमटाउन सरह बन्दै गइरहेको थियो ।

सन् २००१ सम्म पनि उनी बहालवाला एपमी कायमै रहेकी थिइन् । तर त्यति नै बेला अचानक उनको जीवनको सबैभन्दा कालो र अन्तिम दिन आयो ।

सन् २००१ जुलाई २५ तारिखका दिन इन्डियन स्ट्यान्डर्ड टाइमअनुसार रातको ०१ः३० बजेको सुनसान रातमा ठीक उनकै बस्ने गरेको बङ्गालाकै बाहिरीपट्टि तीनजना नकाब लगाएका बन्दुकधारीहरूले प्रहार गरेका जम्मा ९ गोली लागी ३७ वर्षको अल्पायुमै एउटा बालदुलही, दर्दानक पीडाकी कथा, भयानक क्रुरताकी खानी, अपराधिक गतिविधिकी श्रृङ्गार, बलात्कृतकी पर्यायवाची, पीडितकी नमुना, अपहेलितकी उपमा, कुख्यात डाँकुकी उदाहरण, नरसंहारकारीकी बिम्ब, पूर्व कैदीकी अलङ्कार, राजनीतिकी प्रदुषण आदि पृष्ठभूमिका अनगिन्ती सत्य आख्यानहरू बोकेकी फूलनदेवीले अन्ततोगत्वा अकालमै मृत्युवरण गरिन् ।

उनको हत्यापछि प्रहरी प्रशासनसमेत अनविज्ञ झैँ बनेका थिए । घटना घटेको दुईदिन पश्चात् बडो नाटकीय शैलीमा शेरसिँह राना नाम गरेका एकजना ठाकुर समुदायका युवा आफैँ प्रहरीसामु उपस्थित भइ बेहमई हत्याकाण्डको बदला स्वरूप आफू एक्लैले फूलनदेवीको गोली हानी हत्या गरेको बयान दिन्छन् । उसले आफूले चाहेको खण्डमा मात्र कारागारमा बस्ने र इच्छा नलागेमा बाहिर निस्कन पाउने सर्तमा मात्रै सजाय कटाउन आफू जेल जाने विगतको फूलनदेवीका वार्ताका सर्तहरू र उनले पाएकी अपत्यारिलो आममाफीकै ढाँचाको कानुन विपरीतका अडान राखे ।

तथापि, उनकै सर्तबमोजिम प्रहरीहरूले उनलाई तिहड जेल चलान गरे । नभन्दै पछिल्लो समयमा उनी जेलबाट निस्केर कहिले अफगानिस्तानबाट भिडियो लाइभ स्ट्रिमिङमा प्रस्तुत हुन्थे कुनै बखत फेरि जेलभित्रै बसेका भेटिन्थे ।

त्यसो त चाहे जति नै कुख्यात र भयानक डाँका नै किन नहोस्, तर हत्या, कैदी र भूमिगत जीवन आदि अवस्थामै दुःखद अन्त्य भएको तथ्य र आधारहरूले पुष्टि गरेको पाइन्छ । जीवित र बाहिरी दुनियाँमै रहँदा पनि उनीहरूको मनमा जहिल्यै त्रास, बेचैनी र सन्देह आदिले गाँजिरहने मनोवैज्ञानिकहरू बताउँछन् ।

फूलनदेवीको सवालमा भने, सटिक विश्लेषण गर्न निश्चयै पनि मलाई मात्र नभएर जोकोहीलाई निकै कठिन महसुस हुनसक्छ । किनभने यसमा थुप्रै पक्ष वा कारकतत्वहरू समाविष्ट छन् ।

फूलनदेवीको सानैदेखि जिद्दी र झगडालु स्वभाव कति दोषी ?
नाबालिका फूलनदेवीसँग सत्रुतापूर्ण व्यवहार प्रदर्शन गर्ने उनका छिमेकीहरूको दोष कति ?
उनको अश्लील गालीगलौज र जोकोहीसँग लड्न जहिल्यै अग्रसर हुने उनको आदत दोष कति ?
बालविवाह प्रथा कति दोषी ?
नाबालिका छोरी बिठ्याइँ वा उपद्रव सहन नसकेर उनीभन्दा तीनगुना बढी उमेरका पुरुषसँग विवाह गरिदिने उनका बुबा कति दोषी ?
पतिको घरमा परम्परागत “गना” संस्कार नै उलङ्घन गरेर फूलनदेवीलाई बलात्कार गर्ने उनका पति कति दोषी ?
उक्त पीडा सहन नसकेर माइतमा आउँदा सुनको औँठी चोरेको आरोपमा नाबालिका छोरीविरुद्ध प्रहरी चौकीमा लिखित उजुरी दिने उनका बाबु कति दोषी ?
नाबालिका विरुद्धको उजुरी दर्ता गर्ने प्रहरी प्रशासन कति दोषी ?
अझ भएन, नाबालिकालाई तीन दिनसम्म पुलिस कस्टडीमा राखेर शारीरिक, मानसिक र यौनशोषण गर्ने प्रहरी रक्षक कि भक्षक ?
फूलनदेवी तीनदिन हिरासतमा बस्नुपरेकाले लिन आउँदा घरमा नहुँदा तुरुन्त अर्की श्रीमती भित्र्याउने पुत्तिलाल कतिको दोषी ?
हिरासतबाट रिहाइ भएपछि नाबालिका छोरीलाई खुरुक्क पतिको घरमा बलजफ्ती पठाउने बाबु कति दोषी ?
फेरि उता पुगेपछि बेस्सरी कुटपिट गरेर उनका लुगाफाटो र सामानहरू पोको पारी माइतीघरमा जिम्मा लगाउने उनको पति कति दोषी ?
जग्गा कब्जा गर्ने उनका काका कति दोषी ?
आफूभन्दा धेरै सानी आफ्नी बहिनीलाई लापरबाही कुटपिट गर्ने उनका काकाका छोरा (दाइ) कति दोषी ?
गरिबीलाई दोष दिन मिल्दैन होला ?!

किनकि, पृथ्वीमा प्रकृतिले जुनसुकै वस्तु कुनै खास व्यक्ति वा समूहलाई मात्र लक्षित गरेर वितरण या भागबन्डा गरेको हुँदैन । गरिबीले मेहनत र अवसरको पहिचान गर्न सिकाउँछ । अनि अब्राहम लिङकनजस्ता महान व्यक्तित्वको जन्म गराउने सम्भावना पनि टर्दैन ।

आफ्नो गाउँ गोराहा छोडेर चम्बलको डाँकु समूहमा प्रवेश गरिसकेपछि फूलनदेवीले जेजति थप पीडा वा सामूहिक बलात्कार बेहोर्नुपरेको होस् वा उनले गरेका एकैसाथ २२ जनाको सामूहिक हत्याकाण्डजस्तो जघन्य अपराधआदि उनका कर्मकै परिणाम वा फल हुन् । त्यसको भागिदार उनी स्वयम् हुनुपर्थ्यो र आखिर भइन् पनि । अन्तिममा उनको चर्चा र आतङ्कलाई राजनीतिक पार्टीले उपयोग गरे ।

उनी जीवित छँदाछँदै शेखर कपुरले डाँकु रानी (Bandit Queen) नामक फूलनदेवी बायोपिकमा आधारित चलचित्रसमेत निर्माण गरे । मैले यो स्तम्भ लेख लेख्नुभन्दा ठीक अघिल्लो दिनमात्र उक्त चलचित्र पनि युट्युबमार्फत हेरेको थिएँ ।

मैले समग्रमा फूलनदेवीको भोगाइ भनौँ या जीवनलाई सरसरती अध्ययन गर्दा, उनलाई निरपराधी, सज्जन वा निर्दोष थिइन् भन्नै सकिँदैन वा भन्नै मिल्दैन । तर उनलाई त्यो अवस्थासम्म पु¥याउनमा परिवारका मुख्य अभिभावकका भूमिकामा रहेका उनका बुबाको सबैभन्दा बढी दोष छ । अथवा, उनका बुबाले छोरीको बाल्यकालको मनोविज्ञान बुझ्न, बुझाउन र सहन नसक्नु वा उचित वातावरण र पारिवारिक शिक्षा दिन नसक्नु नै फूलनदेवीको पछिल्लो फिगरको मुख्य तस्बीर हो भन्ने मेरो बुझाइ रहेको छ । बाँकी अन्य सवालमा धेरथोर सबैको दोष छ । कुरो यतिमात्र हो कि, अङ्कगणितमा जस्तो ठ्याक्कै प्रतिशतमा उतार्न सम्भव हुँदैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘सुनौली रुपौली’ चलचित्र हन्टिङमा

पाँचथर– लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा  आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

प्रदेश नं. १ प्रमुखद्वारा आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व विधेयक प्रमाणित

विराटनगर, २३ चैत्र । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश...

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

चुनाव, खेलाँची होकी वास्तविक ?

मलिसा याक्थुङ्बा लिम्बू सर्वव्यापी स्वीकार्य चुनाव गरिनु पर्छ र सहभागी मतदाताहरू निर्विघ्न हुनुपर्छ ।...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

ताल्चा कथा सङ्ग्रहको रचनागर्भ, पात्रमाथिको कथासहितको नयाँसाहित्य

विराटनगर, १९ चैत्र । यस हप्ताको नयाँ साहित्यमा निनाम लोवात्तीको कुलुङ लोककथा, कथाकार दिलिप...