पदम सुखी सम्बाहाम्फे
पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की मोटोरेबल पुलको निर्माणकार्य अलपत्र परेको छ ।
१० वर्ष अगाडि २०६८ सालमा सडक डिभिजन कार्यलय धनकुटाले स्वछ्न्द निर्माण सेवा कम्पनीसँग १५ करोड ९० लाख २५ हजार रुपैयाँमा पुल निर्माणकार्यको लागि ठेक्का सम्झौता गरेको थियो । कम्पनीका मालिक जयराम लामिछाने हुन् । कम्पनीले सो योजनाको काम ३ बर्ष भित्रमा सम्पन्न गरिसक्ने सम्झौता गरेपनि ठेक्केदार कम्पनीसँगको सम्झौता अनुसार ८ वटा पिलर निर्माण गरि त्यसमाथि ढल गर्नुपर्नेमा अहिलेसम्म आधाकाम मात्र भएको सरोकारवालाहरुको गुनासो छ ।
१० बर्षमा चारवटा पिलरको काम मात्रै गरेर मुख्य ठेक्केदारले निर्माणकार्य अवधीको म्याद थप्दै अटेर गरि बस्दासमेत सरकारको ध्यानाकर्षण नभएको स्थानीय नागरिकको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ ।
दस वबर्षमा नेपाललाई स्विजरल्याण्ड देश जस्तो बनाउछु भन्ने राजनीतिक दलका नेता कार्यकर्ता तथा पार्टी र सरकार खोइ कहाँ छन भन्दै पाचथरको सदरमुकाम फिदिमदेखि यासोक र तेह्रथुमको सदरमुकामसम्म आवतजावत गर्ने नागरिकको दुखेसो छ ।
ठेक्केदार कम्पनीको चरम लापरबाहीका कारण यो योजनाको मोटोरेबल पुल निर्माणकार्य अलपत्र भएपछि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुलगायतका सामग्रीको ढुवानी गर्न पनि दुवै जिल्लाका नागरिकलाई अत्यन्त असहज भएको छ ।
योजनाको १ सय ५४ मिटर मध्ये ९३ मिटर ढलको काम पूरा भएको र बाकी ५७ मिटर स्टिलको ट्रष्ट राख्दै आरसिसी गर्नुपर्ने यो योजनालाई लथालिङ्ग अवस्थामा अलपत्र पारी बाढी पहिरो र कोरोनाको महामारी जस्ता अनेकौं बहाना र कारण देखाइ पुल निर्माणकार्यका ठेक्केदार पन्छिदै आएको छ ।
कुम्मायक गाउँपालिका तथा म्याङ्लुङ नगरपालिकाका जनप्रतिनिधिद्वारा पटकपटक अलपत्र पुलको अनुगमन गरि ठेक्केदार कम्पनीलाई तागेता गराएपनी निर्माण कम्पनीले नटेरेको भनाइ छ । हिजोआज सङ्घिय सरकारबाट पनि रकम निकासा हुन बन्द भएकोले अब लगभग यो योजनाको काम पक्कापक्की नबन्ने आशङ्का बढ्दै गएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।