निरज सर ! तपाई होइन, म कहाँ हराएँ ? - Naya Online

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली

सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा कार्यरत रहेकोले गर्दा उनैको सल्लाहबमोजिम विद्यार्थी भिषामा मलेसिया पस्दै थिएँ ।

दाजु विद्यार्थी भिषाबारे जानकार भएको चाही एकपटक रेष्टुरेन्टमा सँगै काम गर्न पुगेका प्रविण दाहाल पनि त्यहाँ पढ्दै काम गर्दै गरेकाले रहेछन् । प्रविण दाहालसँग काठमाडौंमा केहीपटक भेट पनि भएको थियो । दाहालकै सल्लाहमुताविक म मलेसिया पुगेँ ।

कलेजका भिषा विभागमा हुनुहुन्थेछ –गुनासेगारण एल्लाप्पान । उहाँ विमानस्थलमा लिन आउनुभएको थियो । कलेजसम्म चाही प्रविण लिन आइपुगे ।

कलेजबाट प्रविणले दुईखालको रेल, बस चढाउँदै आम्पाङजया भन्ने ठाउँमा पु¥याए । जहाँ मेरो दाजु बस्दथे ।

म मलेसिया पुग्दा आफ्ना कपडाबाहेक केही आफैँले लेखेका पुस्तक बोकेर पुगेको थिएँ । कोशेलीको रूपमा मैले मेरो पुस्तक ‘आमुल परिवर्तनको बाटो’ प्रविणलाई दिएँ ।

दुईदिनपछि म कोताराया पुगेँ । जहाँ नेपाली बजार नै रहेछ । आइतबार त खुट्टा टेक्न नसकिने भिँड रहेछ । ति भिडहरू छिचोल्दै म नेपाल हाउस पुगेँ, जहाँ प्रविण बस्थे । प्रविणले मलाई नेपाल हाउसको माथ्लो तलामा लगे, त्यहाँ नेपाल हाउसको कार्यालय र कर्मचारी बस्न ठाउँ थियो ।

“सुर्केलीजीको साहित्यले मलाई खुब तान्यो, सुर्केलीमा साहित्यलेखनको भविष्य उज्ज्वल छ ।” कार्यालयमा बसिरहेका व्यक्तिले अचानक त्यसो भनेपछि म छक्क परेँ र कौतुहलता जाग्यो ।

“कसरी ?” मैले जिज्ञासा राखेँ ।

“मैले सुर्केलीलाई नजिकबाटै पढिसकेको छु ।” उक्त व्यक्ति थप बताएपछि लाग्यो –प्रविणले मेरो पुस्तक दिएछन् । साथै उनै व्यक्तिले बस्नको नेपाल हाउसमै बस्नको लागि आग्रह पनि गरेँ ।

विरानो देशमा पुगेको, त्यहीँमाथि दाईसँग पनि टाढा बस्न मन मानिहाल्ने गरेको थिएन र त्यसदिन विदा मागेर आम्पाङ पुगेँ ।

कलेज जानको लागि आम्पाङ पोइन्टदेखि कोतारायासम्म बसमा, त्यसपछि प्रविणसँग रेलमा चढेर सेतियाजया पुगिन्थ्यो । जाँदाआउँदा नेपाल हाउस छिरिन्थ्यो, त्यहिँ खाना खाइन्थ्यो । उही साहित्यप्रेमीसँग केहीबेर कुराकानी गरिन्थ्यो ।

मैले उहाँबारे बुझ्दै गएँ –उहाँ विराटनगरबासी निरज सापकोटा हुनुहुन्छ । चलचित्र सौभाग्य बनाउने माधव सापकोटाको छोरा हुनुहुन्छ । र, सहित्य लेख्नुहुन्छ ।

मलेसियाबाट प्रकाशित हुने पत्रपत्रिकामा साहित्यकारहरूको संस्था बनेको र त्यसको विस्तारित भेला गर्ने सूचना पढ्न पाएँ । सुचनालाई पच्छयाउँदै कार्यक्रमस्थलमा पुगेँ । पुगेकै दिन मलाई सदस्यमा तानियो र संस्थाले प्रकाशन गर्ने पुस्तकको सम्पादन मण्डलभित्र राखियो ।

मैले कम्प्युटर किनेर साइनो रेष्टुरेन्टको छेउमा राखेँ र पत्रिका तथा अन्य डिजाइनको काम गर्न थालेँ । साथै, नेपाल सन्देश साप्ताहिकमा काम पनि गर्न थालेँ । छोटो समयमा मलेसियाका धेरै नेपालीसँग चिनजान गर्ने मौका पाएँ ।

यसबिचमा निरज सापकोटासँग यति गहिरो दोस्ती बढ्यो कि कम्प्युटर नै बोकेर नेपाल हाउस छिरे । उनी नेपाल हाउसका शेयरधनी र मुख्य प्रवन्धक पनि थिए । उनले रुचाएका व्यक्तिको त्यहाँ बोलबाला हुने नै भयो ।

म त्यहाँ सरेपछि साहित्य संस्था त्यहाँ स¥यो । अन्य संघसंस्थाका कार्यक्रम त्यहाँ सरे । रेष्टुरेन्टको माथिल्लो तल्ला सभासम्मेलनको लागि कार्यक्रम गर्ने थलो बन्यो । आइतबार त ११ वटा सम्म संघसंस्थाका बैठक भएको रेकर्ड हामीले राखेका थियौं ।

म नेपाल सन्देश साप्ताहिकमा अभिव्यक्ति नामको स्तम्भ लेख्थेँ । उक्त स्तम्भमा नेपालमै केहि गरिसकेका र मलेसियामा पनि प्रयास गरिरहेकाहरूको सङ्घर्षका कथा लेख्थेँ । निरज सापकोटाको पनि लेखेँ । उक्त स्तम्भले निरजलाई मलेसियाको बजारमा साहित्यिक व्यक्ति पनि रहेछन् भन्ने चिनाएको थियो ।

हामीले प्रवासी नेपाली साहित्य संस्थालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)मा रूपान्तरण गरेका थियौं । अनेसास बन्नुमा नेपालका लागि तत्कालिन कार्यवाहक राजदूत हरिकुमार श्रेष्ठले पनि सुझाव दिनुभएको थियो ।

अनेसासले प्रकाशन गरेको विम्ब साहित्यिक संगालो र विम्ब गजल सङ्ग्रहले मलेसियाको नेपालीमनहरू बेग्लै छाप छोड्न सफल भएको थियो । यसपछि अनेसासले मलेसियाव्यापी नेपाली कविता प्रतियोगिता गर्ने भयो । जसको संयोजक मलाई तोक्यो । प्रथम पुरस्कार ५ सय, दोश्रो ३ सय र तेश्रो २ सय रिंगेट पुरस्कार दिने घोषणा गरियो र कविता आव्हान गरियो । त्यससमयमा यतिका रकम जुटाउन निकै सकस पनि थियो । आइएमईका सुशान्त बगाले साहित्यिक मनका थिए, लेख्थे र हामीलाई सहयोग गर्थे । दोश्रो पुरस्कार सुशान्तमार्फत नै आइएमईले प्रायोजन ग¥यो । तेश्रो पुरस्कार धनबहादुर याक्खाले गर्ने भए ।

पहिलो पुरस्कारको प्रायोजक खोज्न निकै कोशिष ग¥यौं । सन् २००७ को दीपावलीमा कार्यक्रम गर्ने निधो गरिसकेका थियौं । कार्यक्रमको मिति नजिक आइसकेका थियो । म र अनेसासका इन्द्र नारथुङे एक हिसाबका ढुक्कका व्यक्ति पनि थियौं र जसरी भए पनि हुन्छ भनेर बसेका थियौं । तर निरज सापकोटा ढुक्क भएनन् ।

गोम्बाक र सुंगाई नदिको दोभान (उक्त दोभानलाई स्थानीय भाषामा क्वालालम्पुर भनिएको हो)मा साँझसम्म बसिएको थियो । म विन्दास थिएँ, सापकोटाजी चिन्तित थिए । त्यो पुरस्कारको रकम कहाँबाट ल्याउने ? के छ उपाय ? भनेर बाराम्बार प्रश्न तेस्र्याइरहन्थे । म भने भइहाल्छ नि भन्दै नदिको बेग सुनिरहन्थेँ । केहीक्षणपछि सापकोटाजीले कहाँबाट झार उखेलेर ल्याएर दुबोझैँ छुवाएर भने –सुर्केलीले जसरी व्यवस्था गर्छ गर्न सकेन भने नेपाल हाउसले गर्छ ।

हामीसँग प्रविण दाहाल पनि थिए । हामी सापकोटाजीको गतिविधि देखेर फिस्स हाँस्यौ । र, सापकोटाको आज्ञामुताविक उक्त बाचालाई आत्मसात गर्दै झारलाई नदिमा बगाइदियौं । अलिलि जोहो भएको पैसा मेरो साथमै थियो । म कोताराया नजिकैको सिटीवान प्लाजामा बस्थेँ । नजिकै भएपनि बिचमा खोला भएकोले एकान्त बाटो थियो । उक्त बाटोबाट जाँदै गर्दा दुई लुटेराको फन्दा परेर झण्डै लुटिएँ । मैले पनि जोहो गरिएको रिंगेट बचाउन सकिनसकी लडेँ । मेरो भाग्य भनौं, एउटा बाइक आयो, त्यसपछि लुटेरा भागे । यसअघि पनि म लुटेराको कब्जामा परेको थिएँ, मेरो दाईले नयाँ किनिदिएको मोटोरोलाको भिडियो खिच्न मिल्ने मोवाइल खोसेर लगेको थियो ।

अनेसासले ५ सय रिंगेट जुटायो, नेपाल हाउसले व्यवस्था गर्न परेन । तर कार्यक्रमको मञ्च सजावट, कुर्सीको जोहोमा निरज सापकोटा पागलझैँ लागिरहे । काठका टुक्राटाक्री भेला पारेर रोष्टम बनाए । माइडिन सुपरमार्केटबाट रंगिन कागज ल्याएर रोष्टममा टाँसे ।

हामीले निरज सापकोटालाई नै प्रमुख निर्णायक बनायौं । अनि अन्य निर्णायकहरूमा वियोगी काइँला र सपना बस्याललाई तोक्यौं । करिब ४० वटा कविता संकलन भएका थिए । हुलाकमा आउँथे कविता । नभए हामीले तोकेको रेष्टुरेन्टमा छोडिएका हुन्थे । ति कविताहरूबाट हामीले २५ कविता प्रतियोगिताको लागि छान्यौं । र, वाचनका लागि बोलायौं । कार्यवाहक राजदुत हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र रेष्टुरेन्टका सञ्चालक पञ्जावी मुलका मलेसियन दम्पती थिए । राजिव सिंह दम्पतीलाई लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्र्यापण गराएर कार्यक्रम गरिएको थियो । कार्यक्रम देखेर राजिव सिंह दम्पती पनि चकित थिए ।

तस्बिरमा बायाँबाट क्रमशः निरज सापकोटा, पंक्तिकार, प्रमुख अतिथि हरिकुमार श्रेष्ठ, अनेसास अध्यक्ष जीवन देवान गाउँले, सचिव इन्द्र नारथुङे

 

हाम्रो कार्यक्रम देखेर नेपाली दुतावास पनि हर्षित थियो । संस्थालाई सहयोगको रूपमा केही रिंगिट पनि उपलब्ध गराएको थियो । उक्त कविता प्रतियोगिताको सन्दर्भ, कार्यक्रमलाई जोडेर समिक्षात्मक लेख निरज सापकोटाले लेखेका छन् र अनेसास स्मारिकमा उक्त लेख छापिएको छ ।

त्यो समय निरज सापकोटालाई हरेक क्षण म नै चाहिन्थ्यो । म त विद्यार्थी थिएँ, मेरो कुनै आम्दानीको श्रोत थिएन । त्यसैले निरजजीले मलाई नेपाल हाउसमै बास दिलाएका थिए । त्यहीँ खाना, त्यही बसाई भयो झण्डै ६ महिना । तर सिंह दम्पतीले थाहा नै पाएनन् । बेलाबेला केटाकेटी झैँ बाझ्थ्यौं । म निस्कन्थेँ, तर निरज अघि बाटो छेक्न आइहाल्थे ।

झण्डै डेढ वर्षको मेरो बसाईमा मैले केही कमाएको थिइनँ । जसोतसो खाइरहेको थिएँ, कलेजको ट्युसन फि चाही दाजुबाटै भराइरहेको थिएँ । दाजुले भेटमा भन्थ्यो –“आफ्नै खुट्टामा उभिन सिक ।” तर मेरा खुट्टा चाहिँ लर्वराइरहेको थिएँ ।

निरज सापकोटाले नेपाल हाउसमै कम्प्युटर कक्षाको लागि ठाउँ दिएर मलाई आत्मनिर्भर बनाउन खोजेका पनि थिए । दुई विद्यार्थी म सँग कम्प्युटर सिक्न आउँथे । तर त्यो पुरा भएन । नेपाल पृष्ठभूमि साप्ताहिकको लागि सुन्दर आले र सुनिल चालिसेले निकै जोड गरे र म त्यस पत्रिकासँग आवद्ध भएर काम गर्न थालेँ । नेपाल पृष्ठभूमिले बस्नको लागि राम्रो फ्ल्याटको जोहो गरिदिएको थियो र केही रकम तलब पनि दिएको थियो । जसले गर्दा म आफै ट्युसन फि तिर्न सक्ने भएँ ।

उता नेपाल हाउस धरासायी बनेको र कोतारायामा बन्द गरेर सबै कर्मचारीलाई माउन्ट केरास्थीत पञ्जावी रेष्टुरेन्ट लगिएको थियो । त्यसपछि निरज सापकोटासँगको भेटघाट कम हुन थाल्यो ।

यताउता गर्दागर्दै ३ वर्ष बितिसकेछ । म नेपाल फर्किए । बिचबिचमा भिजिट भिषामा जाने आउने गरेँ । निरज सरसँग प्रत्यक्ष भेटघाट हुन पाएन । एकपटक मलाई फोन गरेर क्रिकेट गेमको प्रचारको लागि फोटो सम्पादन गर्ने अह्राए । मैले सामान्य सम्पादन गरिदिएँ । उनी मुलपानी क्रिकेट स्टेडियम अफिसियल पेज बनाएर मलेसियामा भइरहेकको एसीसी प्रिमियर लिग –२०१४को प्रचार गरिरहन्थे । मलाई खेलसम्बन्धि कुनै चासो नभएकोले बहस भने गर्दैनथ्यौं ।

सन् २०१२ मा हामी फेसबुकमा पनि जोडियौं । फेसबुकमा दुःखसुखका मात्रै कुराकानी हुन्थे । थोरै मजाकका कुरा, बाँकी जिन्दगीका कुरा हुन्थे । म्यासेन्जरमै कविता दिन्थे, त्यसलाई नेपाल पृष्ठभूमिमा छाप्थेँ ।

हामीले २०१६ सम्म कुराकानी गरेका रहेछौं । १७ मा मैले पठाएको रिप्लाई आएन । त्यसपछि त मैले नि बिर्सेछु ।

मलेसियामा जीवन देवान, दिलदुखी जन्तरे अझै छन् । जीवन देवानले त अरपे साहित्य भनेर झकझकाई रहनुहुन्छ । अरपे साहित्यलाई सप्ताहान्त फेसबुकमा पोष्ट गर्नुहुन्छ र अनिवार्य ट्याग चाही इन्द्र नारथुङे, निरज सापकोटा, सञ्जय राई छुच्चा, दिलिप राई सगर, दिलदुखी जन्तरे, वियोगी काइँला, रुद्र मिश्रलगायत धेरै मलेसियासँग जोडिएकालाई गर्नुहुन्छ । भ्याउनेले कमेन्ट गरिरहेका छन् । नभ्याउनेले लाइक रियाक्ट गरिरहेका छन् । तर निरज सापकोटाको कुनै प्रतिक्रिया आएको हुन्न । र, सबैलाई सबैको चासो पनि उति छैन ।

केही समयदेखि म विराटनगरमा छु । मेरो स्थायी ठेगाना सुनसरीदेखि नजिकै हो विराटनगर । तर केही दिनको अस्पताल बसाईबाहेक विराटनगरमा यस्तो लामो बसाई भएको थिएन । यसपाल दुईमहिनायता बस्दै आएको छु । यसो समयसमयमा विराटनगर हुने पुराना साथीभाईलाई सम्झन्छु ।

मलेसियामै सँगै पढेका भाई दिपक कटुवालले मेरो फेसबुकमा कमेन्ट गरेँ । मैले तत्काल उनलाई बोलाए । भाई त दमकमा व्यावसाय गर्दै हुनुहुँदो रहेछ । उनको दाई विराटनगरमै रहेछन् । अनि सोध्ने क्रममै निरज सापकोटाको हालखबर सोधेँ ।

“दाईलाई थाहा छैन ?” भाईको प्रश्न पो आयो ।

“के भाई ? मलाई त थाहा छैन नि ?” मैले सिधा उत्तर दिएँ ।

“निरज दाई त स्वर्गवास हुनुभएको निकै वर्ष पो भयो त ?”

यस कुराले म स्तब्ध भएँ । निरज सरको फेसबुकमा गएँ । सरर स्क्रोल गर्दै झरेँ । निरजका भाई अनुज (जससँग मलेसियामा राम्रो दोस्ती थियो मेरो)ले निरजको निधन डाक्टरको लापरवाहीले भएको भनेर न्यू सृष्टि दैनिकमा अङ्ग्रेजी लेख नै लेखेको रहेछन् । सन २०१८ मा भएको घटनाबारे म पुरा अनभिज्ञ भएर बसेको रहेछु । म पुरै नोष्टाल्जिक बनेर निरज सरलाई सम्झिरहेँ ।

प्रिय निरज सर ! म सँग अरु शब्द छैनन् । एकपटक बुकितविन्ताङमा हिडिरहँदा तपाई र म झगडाको शैलीमा जिस्कदै कोताराया आइरहेका थियौं । मैले भनेँ, निरज सर तपाई मर्नुस्, म तपाईलाई अमर बनाउँछु । तपाईले भन्नुभयो कसरी ? मैले भनेको थिएँ –तपाई मर्नुभयो भने म तपाईको स्मृतिग्रन्थ निकाल्ने छु र अमर बनाउनेछु । अनि तपाई मसँग नराम्ररी ठुस्किनुभएको थियो । त्यो एउटा जिस्क्याई थियो निरस सर । आज सुनेको अप्रत्यासित खबरले म बिल्कुल बेचैन भएको छु, तपाईकै गाउँमा । आज यिनै शब्दहरूको साथ म श्रद्धासुमन चढाउँछु ।

उही छोटो समयमा गहिरो नाता गाँसेको साथी/भाई देवेन्द्र ।

२०७८।०९।२७, विराटनगर

तस्बिरहरुः जीवन देवान गाउँले र निरज सापकोटाको फेसबुकबाट

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी

उदय पूर्वेली चोङबाङक्याक भारतको उत्तरप्रदेश, जालौन जिल्लाको गोराहास्थित सानो गुमनाम गाउँमा अत्यन्तै उपेक्षित र...

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...