-उदय पूर्वेली चोङबाङक्याक
चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना मैदानदेखि मागोङवंशी एक समूह छुट्टिएर सिन्युक मुदेन मुलुकमा आए । त्यहाँ रहँदा उनीहरूको वंशमा माङहाङ नाम गरेका एकजना प्रतापी राजा भए । उनैको शासनकालमा भयावह अनिकाल उत्पन्न भइ कैयौँ मानिसहरु भोकभोकै मर्न लागेको सङ्कटकालीन घडीमा राजा माङहाङले तागेरा निङवाफु युमा माङको पुकार गरे । फलस्वरूप; उनको पुकार सुनी तागेरा निङवाफु युमा माङले सपनामा प्रकट भइ राजा माङहाङलाई अन्न जुराइदिएका कारण माङहाङका जनताहरुलाई महाअनिकालबाट बचाइदिएको हुनाले राजा माङहाङले सम्पूर्ण जनतालाई भेला गरी बारी बिराउन, बीउबिजन लगाउन वा जगेडा गर्न र तागेरा निङवाफु युमा माङको भक्ति उपासना गरी शक्ति र आशिष् माग्नुका साथसाथै अन्न अर्पण गर्नसमेत जनतालाई सुझाएका थिए । यसले अलिखित प्रागैतिहासिक इतिहास उजागर गर्दछ ।
दोस्रो, याक्थुङ मुन्धुमअनुसार; आदिम याक्थुङ पुर्खा सावा येत्हाङहरु काँचो सिकार र जङ्गली कन्दमूल खान बाध्य थिए । यसबाट उन्मुक्ति पाउन उनीहरूले तागेरा निङवाफु युमा माङसँग प्रार्थना गरे । यसको सुनुवाइ गर्दै, तागेरा निङवाफु युमा माङले उनीहरू लगायत तमाम मानव जातिलाई आगोसहित पारामा( एक प्रजातिको कोदो), क्याबो (फापर), फामु ( कागुनी) तुम्री (जुनेलो) आदि अन्नका बिज पनि प्रदान गरिन् । यी उत्पादनजन्य अन्नका बीउहरु आदिम याक्थुङ चेली सिबेरा याक्थुङमा (कतिपय फेदाङमाहरुले एक्थुक्मा पनि भनेको मैले सुनेको छु) ले संरक्षण गरी अनुकूल सिजनमा छरपोक गरेर प्राचीन कृषि युगको सुरुवात गरिन् ।
समयक्रम सँगसँगै आगोमा अन्न र सिकार पोलेर वा पकाएर खान मानिसहरु अभ्यस्त हुँदै गए । काँचो कन्दमूल,अन्न र सिकार खानबाट छुटकारा पाएका कारण मानिसहरू स्वास्थ्य भइ उनीहरूको प्रजनन शक्तिसमेत वृद्धि भएका कारण तीव्ररुपमा फैलिए । मानव जातिले आगो प्रयोग गर्न थालेपछि हिंस्रक जङ्गली जनावरको आक्रमणबाट बच्न वा धपाउनसमेत सक्षम भए । यो केवल मिथक मात्रै नभएर, तथ्यपरक पनि छ । किनभने; अहिलेकै सन्दर्भमा पनि जङ्गली हात्ती लखेट्नका लागि विद्युतीय बार र आगोको प्रयोग गरिन्छ । आगोबाट उनीहरूलाई रातको अँध्यारोमा प्रकाश र ठण्डी मौसममा तापक्रम पनि प्राप्त भयो ।
तागेरा निङवाफु युमा माङको यस्तो करुणादायी र कल्याणकारी वरदानको उच्च कदर गर्दै, उनको सम्मान स्वरुप त्यसैबेलादेखि मानिसहरूले पाकेको अन्नबाली आफूले खानुपूर्व उनलाई चढाउने प्रचलन चलिआएको छ । जसलाई हामी तकसोक–थिसोक भन्छौँ ।तर पछिल्लो समयमा आइपुग्दा ‘चासोक’ चाहिँ यसैको जगमा सामूहिकरुपमा उत्सव मनाउने लक्ष्यअनुरुप अघि बढिरहेको छ । यसमानेमा तकसोक–थिसोक प्रारम्भिक र चासोक यसैको विकसित अवस्था हो ।
पछिल्लो समयमा केहीले ‘चासोक’ शब्दलाई ‘चासोत’ भन्नुपर्छ भन्ने मत सामाजिक सञ्जालमा यदाकदा सम्प्रेषण गरेको पाइन्छ । वास्तवमा तकसोक–थिसोक र चासोकमा केही भिन्नताहरु छन् भनेर बुझ्नुपर्छ । तकसोक–थिसोक भनेको, साउने धान पाक्दा पनि तकसोक गरिन्छ । भदैया/भदौरे धान पाक्दा पनि तकसोक गरिन्छ । पारामा (साउने कोदो) पाक्दा पनि थिसोक गरिन्छ । मकै पाक्दा युमा,सगुने र थेबालाई चढाइन्छ । मकै पाक्दा खासै तकसोक–थिसोक गरिदैन । यसमानेमा मकैलाई तक वा थि खास एउटा क्याटेगोरीमा नखुट्याइएको बुझिन्छ ।
दोस्रो कुरा, विषेशगरी धान,कोदो वा मकै पाक्ने समय भौगोलिक तापक्रमअनुसार फरकफरक हुन्छ । ठाउँअनुरुपको खेती गर्ने समय पनि अलगअलग हुन्छ । तराईमा बाह्रैमास धान,मकै,कोदो खेती हुन्छ ।
एउटै गाउँमा पनि अगुवा र पछुवा हुन्छ । धान पनि छिटो र ढिलो पाक्ने प्रजातिका हुन्छन् ।
यसर्थ, तकसोक–थिसोक एउटै गाउँमा समेत अघि–पछि हुन्छ । त्यो पनि सम्बन्धित घरको महिला घरमूलीको थक्ले साम्माङअनुसार तकसोक–थिसोक गरिन्छ ।तसर्थ, तकसोक–थिसोक घर–घरमा सम्पन्न गरिने मुन्धुमी विधि हो । तर, चा (अन्न) + सोक ( चढाउनु/पुज्नु) = चासोक अलि फरक कर्मकाण्डीय अनुष्ठान र संस्कार हो ।
‘चा’ ले ‘समग्र अन्न’ हरुको प्रतिनिधित्व गर्दछ । मङ्सिर महिनामा धान–कोदो मात्रै नभएर फिलिङ्गे, नाम्बङ (सिलाम), जुनेलो, दाल,मस्याम,गहत,सिमी,लहरी दाल,भटमास,सुटुनी,सिमल तरुल,घर तरुल, वन तरुल फूल तरुल,स्कुस,फर्सी,लौका,चिन्डो, कुभिन्डो,सुन्तला,कागती, ज्यामिर, भोगटे, लप्सी, ओखर, हर्रो, अमारो, भकी अमिलो, अनार, अमला, पिँडालु आदिजस्ता फलफूल तथा तरकारीहरु पनि पाक्छन् । त्यसकारण; यसलाई याक्थुङ लिम्बू जातिले चासोक( अन्न चढाउने) तङनाम (पर्व)= चासोक तङनामको रुपमा सामूहिक उत्सव मनाइएको हो भनेर बुझ्नुपर्छ ।
अब, चासोक कि चासोत ?
यहाँ, चासोक शब्दबाट ‘सोक’ को अर्थ ‘चढाउनु/अर्पण गर्नु’ भन्ने हुन्छ । ‘चासोक’ को खस पर्वते भाषामा ’खेर जान्छ’ भन्ने अर्थ पनि लाग्छ । यसलाई तक र थिसँग मात्र तुलना गर्न पनि मिल्दैन ।
एवम रीतले, चासोत (अन्नको बोसो) सोत : जिस्किन्छ/ चल्छ, उखु, बोसो आदि अर्थ लाग्छ ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने, जुनसुकै भाषाका कतिपय शब्दहरु नकारात्मक र सकारात्मक,द्विअर्थी वा बहुअर्थी हुन्छन् । जस्तै; खस नेपाली भाषामा वायुको पवन वा हावा मात्रै नभएर प्रेतात्मा,भड्किएको आत्मा वा प्रेत भन्ने अर्थमा पनि बुझिन्छ ।
त्यसैगरी, अङ्ग्रेजी ‘गल’ शब्द मिडल इङलिस ‘यल’ बाट व्युत्पत्ति भएको हो । मिडल इङलिसमा यसको अर्थ ‘मूर्ख बनाउनु वा हुनु’ भन्ने हुन्छ । अङ्ग्रेजीमा पनि ‘धोका वा छल’ भन्ने अर्थमा बुझिन्थ्यो । तर सत्रौँ शताब्दी पश्चात् यसको विलोम (Vice versa) आनन्ददायक वा रमाइलो समय (A merry good time) भनेर प्रयोगमा ल्याइएको हो । तथापि, अझैसम्म खिल्ली उडाउनु (Make fun of ) को अर्थमा पनि प्रयोग हुनेगरेको छ ।
छोरीचेलीको रीतभातलाई पनि ‘सोत’ भन्ने गरेको पाइन्छ । याक्थुङ भाषामा, ‘केगोबा’को खस पर्वते अर्थ रुग्ने र तातो दुवै हुन्छ । ‘केयेम्बा’ को अर्थ उभ्याउने, तिम्रो पोइ र तातो भन्ने पनि हुन्छ । यी अर्थहरु एपल एण्ड ओरेन्ज जत्तिकै फरकफरक छन् । यसकारण, हामीले कुनै पनि शब्दको अर्थ निरपेक्ष तवरले बुझ्नु हुँदैन । भएभरका शब्दहरुको व्युत्पत्ति, उपसर्ग, प्रत्यय, व्याकरण, लेखन र उच्चारणमा एकरुपता हासिल गर्नु आफैँमा अत्यन्तै जटिल र प्रायः असम्भव विषय पनि हो ।
हामीले यो पनि बुझ्न जरुर छ कि, हिन्दु पर्व तिहारलाई ‘दिपावली’ र दसैँलाई ‘विजयादशमी’ भनिन्छ । यिनीहरू पर्यायवाची शब्द भइसके । यहाँ, तिहार सिङ्गो शब्दलाई ‘ति’ र ‘हार’ दुई भागमा विभक्त गर्दा ‘हार’ को अर्थ (हार्नु, असफल हुनु, पराजित हुनु, पराजय, शिथिलता, थकाइ, विवशता, लाचारी र माला,सिक्री,लहर,पङ्क्ति वा ताँती भन्ने अर्थमा बुझिन्छ ।
विशेषणको रुपमा हरण गर्ने, चोर्ने वा नाश गर्ने भन्ने अर्थमा लिइन्छ । तर यो ‘तिहार’ शब्दको उपसर्ग र प्रत्यय (हार) मा कहिल्यै विवाद भएको सुनिएको छ ? यस्तो अवस्थामा हामीले पनि In the moment या Crisis, the wise build the bridges, and the foolish build dams भन्ने एउटा अफ्रिकी कथनलाई आत्मसात गर्नुपर्छ । मेरो घरको बाजे ९१ वर्ष र मावली बाजे ८६ वर्षको उमेरसम्म बाँचेर केही सालअघि उहाँहरु दुवैजना दिवङ्गत हुनुभयो । भनिन्छ, When an old man dies, a library burns to the ground अर्थात जब एक वृद्ध मानिस मर्छ, एउटा पुस्तकालय जमिनमा जल्छ । उहाँहरु तकसोक,थिसोक वा चासोक नै भन्नुहुन्थ्यो । यद्यपि, मेरो भनाइ र बुझाइ के हो भने, चासोक वा चासोत, तकसोक या तकसोत, थिसोक र थिसोत जे भनेपनि यो विवादको विषय बनाइनु हुँदैन । आफूलाई जुन सहज लाग्छ, त्यो प्रयोग गर्दा केही बिग्रदैन । बरु प्रमुख समस्या अर्कै छ ।
मुख्य समस्याः
येले तङबे कि कक्फेक्वा तङनाम ?
खासमा “किरात” भनेको तत्कालीन भारतीय उप–महाद्वीपका धूर्त हिन्दुब्राह्मणहरुले आफूइतरका मङ्गोलोइड मूलका गैरहिन्दुहरुलाई भिराइदिएको नाम्लो मात्र हो । कतिपय विद्वानहरुले मङ्गोलोइड र किरात पर्यायवाची शब्द हुन्, भनेको पनि पाइन्छ । कसैले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रइतरका इण्डो–आर्यनसँग भाषा नमिल्ने भारतीय उप–महाद्वीपको उत्तरी भूभाग र जङ्गलमा बसोबास गर्ने भोट–बर्मेली भाषा बोल्ने असभ्य जातिलाई किरात भनिएको पनि पाइन्छ । “राय” भनेको सेन मकवानहरुले दिएको पदवी हो भने, “लिम्बू” चाहिँ गोर्खाली शासक अथवा शाहहरुले जुराइदिएको राजनीतिक दस्तावेजको नाम हो । विविध कारणले यसबाट उन्मुक्त हुनसक्ने तत्काल सम्भावना पनि छैन ।
तत्कालीन नेपाल खाल्डोमा गोपाल बङ्शलाई पराजित गरी किरातीहरुले शासन गरे भन्नेमा प्रायःजसो इतिहासकारहरुको समान मत रहेपनि शासकको सङ्ख्या र अवधिको हकमा गोपालराज बङ्शावलीले ३२ पुस्ता साथै शासन अवधि १९६३ वर्ष र कतै १९६४ वर्ष ८ महिना भन्ने फरक किसिमको मत रहेको पाइन्छ । डेनियल राइट बङ्शावलीमा २९ पुस्ता (१११८ वर्ष), कर्क प्याट्रिक २७ पुस्ता (१६३० वर्ष), केपी जयसवाल २८ पुस्ता (७०० वर्ष) उल्लेख गरिएको छ । भाषा बङ्शावलीमा २८ पुस्ता, सैल्भेन लेभी २४ पुस्ता, इतिहास प्रकाशनमा २९ पुस्ता लेखिएको छ । जिपी सिंहका अनुसार; २९ पुस्ता,डाक्टर स्वामी प्रपन्नाचार्य २८ पुस्ता, सुब्बा प्रेमबहादुर माबोहाङ २८ पुस्ता, भुपेन्द्रनाथ शर्मा ढुङ्गेल ३३ पुस्ता र धरणीधर दाहालका अनुसार ३५ पुस्ता पनि भनेका छन् । कतै पुस्ताको ठाउँमा “जना” मात्रै पनि लेखिएको छ । “जना” ले वंश परम्पराको जस्तो सोझै अवधि यकिन गर्न कठिन हुन्छ । ती “शासन गरे” भनिएका राजाहरुको नाममा समेत एकरुपता छैन । त्यसैगरी येले तङ्बेको विवाद पनि सहमतिको विन्दुभन्दा धेरैटाढा पुगिसकेको छ ।
यसरी कुनै पनि इतिहासकारहरूको अभिलेखमा किराँत राजाहरूको सङ्ख्या र शासन अवधिमा धेरै फराकिलो अन्तर रहेको पाइएकाले पनि यस येले संवतको विश्वसनीयता माथि प्रश्नचिह्न खडा भइरहेको छ । इ.पू. ३०६१ मा अहिरवंशी राजा भुवनसिँहको राजधानी मातातीर्थउपर आक्रमण गरी किराँत राजवंशीय युगको प्रारम्भ गरेका थिए“ भन्ने फितलो विवरणकै आधारमा इ.पू.को ३०६१ वर्ष + आजसम्मको सन् २०२१ वर्षलाई समायोजन गरी विसं २०७८ सालमा आइपुग्दा ५०८२ वर्ष दाबी गरिरहेको छ ।
हिन्दु धर्मग्रन्थअनुसार, इसाको ३१३७ मा महाभारतको युद्ध भएको थियो । त्यसको ३५ वर्षपछि श्रीकृष्णको मृत्युु भयो । त्यहीँबाट कलियुगको सुरुवात भएको उल्लेख गरेको पाइन्छ । त्यसो हुँदा; ५०८२ भन्नुभन्दा बरु सिधै ३१३७+३५+२०२१= कलियुग सुरु भएको ५१९३ लाई येले तङबे भने भइहाल्थ्यो नि? त्यसैले, यो तथ्यहीन दाबी मात्रै हो । यो कुनै खास बलियो आधार होइन । अर्को पक्षले विसं २०५६ सालतिर काठमाडौँको मालीगाउँमा एक व्यक्तिको घरको जग खन्ने क्रममा जय बर्माको मूर्ति फेलापरेको र उक्त मूर्तिमा शक संवत् १०७ पनि लेखिएको आधारमा शक संवतमा ७८ वर्ष जोडेर त्यसलाई बिक्रम संवत् १८५ वर्षमा बदलेका छन् । गोपालराज वंशावलीमा उल्लेख भएकामध्ये सबैभन्दा लामो शासन अवधिलाई आधार मानेर १९६४ वर्ष ८ महिनामा यो १८५ वर्ष घटाइएको छ । अथवा १९६४ वर्ष ८ महिना – १८५ वर्ष = १७७९ वर्ष ८ महिना दाबी गरेका छन् । यसो हुँदा; अहिले सन् २०२१ मा १७७९ वर्ष ८ महिना + अहिले इस्वी संवत् २०२१ = ३८०० वर्ष ८ महिना हुन आउँछ । यसर्थ, यो पनि याक्थुङ समुदायका हकमा अनावश्यक बोझ वा भारी मात्र हो ।
विशेषगरी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएपश्चात् विभिन्न किसिमका अनुदार केन्द्रीकृत एकात्मक राज्यद्वारा कुण्ठित गरिएका हकअधिकारहरु उपभोग गर्ने अवसर धेरै जाति,वर्ग र समुदायले प्राप्त गरेको कुरा कतै छिपिदैन । तर बँधुवा बहरलाई छोडिदिँदा आफ्नो स्वतन्त्रताको खुसीको वेग नियन्त्रण गर्न नसकेर उफ्रिदा उफ्रिदै सन्तुलन गुमाएर भुइँमा मुन्टो जोतिएजस्तो लोकतन्त्रको सदुपयोग गर्न सकिएन भने त्यसले सकारात्मक रिजल्ट दिँदैन । कुनै समयमा अघि बढाइएको प्रक्रिया पूर्वमा उदाएर पश्चिममा अस्ताउने घाम जत्तिकै यथार्थ हो भन्ने निरपेक्ष बुझाइले सापेक्षतामा कलहको बीजाङ्कुरण हुन्छ ।
यसर्थ, भरपर्दाे यथेष्ट तथ्य र प्रमाण फेला नपरेसम्म विश्वव्यापी प्रचलनमा रहेको इस्वी संवतको उपयोग गरेर येले तङ्बेभन्दा माघ १ गतेलाई आधार मानी कक्फेक्वा तङनाम अथवा याक्थुङ जातिको नयाँ वर्षको रुपमा अघि बढाउनुपर्छ । यसो भएमा, चासोक तङनामको हकमा पनि स्वतः यसै मुताबिक हुनेभयो ।
समस्या यत्तिमै पनि टुङ्गिदैन । हामीले अहिलेसम्म मङ्सिर पूर्णिमालाई चासोक तङनामको रुपमा मानिरहेका छौँ । खासमा हाम्रो याक्थुङ मुन्धुमले औँसी–पूर्णिमा वा ती दिनहरूमा गोरु जोत्न हुने र नहुने बारेमा केही बताउँदैन । फेरि यसलाई हिन्दु पर्व तिहारसँग मीत लगाउनु पनि उचित हुँदैन । यस सवालमा मङ्सिर महिनाको कुनै पनि एकदिन किटान गरी चासोक तङनाम उत्सव भव्यरुपमा मनाउन सबैभन्दा उत्तम हुनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।