पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ । पालाम सँगै ख्याली र धान नाच जोडिएर आउछ । ख्यालीमा भने धान नाच्न पहिले लयात्मक रुपले चिनजान गर्ने र साइने केलाउने गरिन्छ । धान नाच्नका लागि एकअर्काबीच कुनै साईनो सम्बन्ध जोडिएको हुनुहुँदैन । ख्यालीमा चिनजान र साईनो केलाएर कुनै नाता सम्बन्ध जोडिएन भने मात्र धान नाच्न सकिन्छ । धान नाच (या?लाङ) महिला र पुरुष एक आपसमा हात समाएर पालाम गाउदै नाच्ने गरिन्छ । याक्थुङ समुदायका प्राय जो कोहि धान ननाचेको हुदैन ।
पालाम विशेष गरि लयात्मक र छन्दात्मक रुपले गाइन्छ । पालाममा सवाल जवाफ हुनेगर्छ । एकदम लयात्मक रुपले पालाममा माया प्रीतिका कुरा, दुख सुख, जीवन भोगाईका कुरा गज्जबले प्रस्तुत गरिन्छ । यो बढो मिठासपूर्ण हुन्छ । शृङ्गारिक रुपले गाउने गरिएता पनि त्यसै भित्र मुन्धुमका कुराहरु समेत आउँछ । उइलेका बुढापाकाले बैंसमा तीन दिन तीन रात, सात दिन सात रात सम्म पालाम गाउदै धान नाचेको कथन अझै पनि सुन्न सकिन्छ । पालाम तुम मुई (भेट्ने वितिकै), मिम मुई (मायप्रेमको बारेमा), सेम मुई (छुट्ने बेलामा) गरि विभिन्न मुईमा गाउने गरिन्छ । धान नाचेर पालाम बाटै माया प्रीती गासेर धेरैको बिहे समेत भएको पाईन्छ । पालाम लिम्बुवानको विभिन्न थुममा फरकफरक भासमा गाएको पाइन्छ । तर जुनै भासमा गाए पनि मिठास भने कम्ति हुदैन ।
पालामको शुरूवात कहिलेदेखि भयो भन्ने यकिनका साथ भन्न नसकिएता पनि कृषि युगमै शुरु भएको अनुमान लगाउन सकिन्छ । पालाम कहिले र कसरी शुरु भयो भन्ने बारे प्राज्ञ, प्राध्यापक तथा अध्येता अमर तुम्याहाङ लेख्नुहुन्छ, ‘कृषि युगको एक कालखण्डमा अनिकालको महामारी मच्चियो । त्यस समयमा माक्चेरे पु अर्थात् भँगेरी चरीले याक्थुङहरूलाई अनिकालबाट बचाउन धानको बीउ ल्याइदिने प्रतिज्ञा गर्यो । तर उसले आफू र आफ्ना सन्ततिले उक्त धान खाँदा मान्छेले मार्न वा चोटपटक पुराउन नपाइन्े बाचाबन्धन गर्नुपर्ने कुरा उसले राख्यो अनि माक्चेरे पु र याक्थुङ पुर्खाहरूबीच त्यही अनुसारको बाचाबन्धन भयो । सोही सम्झौता अनुसार माक्चेरे पुले धानको बीउ ल्यायो । याक्थुङहरूले खेती गरे । धान पनि प्रसस्त फल्यो । धान पाकेपछि माक्चेरे पु बथानका बथान आउन थाले । बाचा बन्धनअनुसार याक्थुङहरूले माक्चेरे पुहरूलाई चोटपटक पुराउन वा मार्नु भएन । उनीहरूलाई ती चराबाट धान बचाउन हम्मे हम्मे परयो । एक जना याक्थुङको जुक्ति अनुसार सबै मिलेर धान लामा जम्मा गरे र सबै मिलेर हातमा हात मिलाएर धानको थुप्रोलाई घेरेर हाऽऽऽ हाऽऽऽ भन्दै माक्चेरे पुका बथानलाई भगाउन थाले । कालान्तरमा गएर यसरी चरा धपाएर धान बचाउने तरिका नै धाननाचको रूपमा विकास भयो । समाज विकास क्रममा पछि गएर साइने नलाग्ने तरुनी तन्नेरीबीच धाननाच्ने चलनमा विकास भयो । अनि हाऽऽऽ हाऽऽऽ शब्द पाल्लामको पहिलो शब्द र लय बन्न पुग्यो । पछि गएर यो हाऽऽऽ हाऽऽऽ पाःल्लाम्को फुङ्फेक्वाको रूपमा प्रयोग हुन् थाल्यो भने यसको अघि पाःल्लामको मूल भाग विकास भयो ।’
यसरी मुन्धुमिक किंवदन्तीलाई आधार मान्दा पनि पालाम कृषि युग मै शुरु भएको मान्न सकिन्छ ।
या?लाङ सँगै पालाम पहिले मेला ,बजार, बिहे ,बर्खान्तमा र निस्चित भाका राखी मेन्दङ्दङ ३÷४ रातसम्म नाच्ने गाउने गरिन्थ्यो । तर समयको बिकास सँगै अहिले त्यो लोप भएर गयो । धेरै पालामका भासहरु हराएर जाने अवस्थामा छ । त्यसैले मध्इन्जर गर्दै ’सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान ’ भन्ने मुल नाराका साथ एक बर्ख पहिले याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी पालाम प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा ३५२ जनाको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिता चुम्लुङ चरण , फक्ताङलुङ चरण,साम्लो लुङ्धुङ चरण र मेन्छ्यायेम चरण गरि चार चरणमा सन्चालन गरिएको थियो । प्रतियोगितामा मुन्धुमविद ,गीतकार तथा गायक यासेली योङ्हाङ, चर्चित गायिका मनु नेम्बाङ र रैथाने सँगीतका अभिइन्ता तथा गायिका झुमा लिम्बू जर्जका रुपमा हुनुहुन्थ्यो । उक्त प्रतियोगिताबाट धेरैले आफुलाई याक्थुङ संस्कृति र कला क्षेत्रमा स्थापित गराउन सफल भए । त्यस मध्येका ६ जना प्रतिभा जो–हरुले याक्थुङ र नेपाली साङ्गितिक क्षेत्रमा आफुलाई गज्जबले जमाई रहेका छ्न उनिहरु बारे छोटकरीमा चर्चा गरिएको छ ।
सुनिता सङ्यक
पुर्वबाट छुट्टै पहिचान लिएर नेपाली सांगीतिक आकाशमा चम्किरहेकी तारा हुन् सुनिता सङयक । उनले दर्जनौं नेपाली गीत गाईसकेकी छन् । नेपाली सांगीतिक जगतमा उनले छुट्टै पहिचान बनाउन लागेकी छन् । सुमधुर स्वर भएकी उनी सानै देखि गाउन थालेकी हुन् । धनकुटा चौबिसमा जन्मी धरानमा बसेर संघर्ष गरिरहेका सुनिता सङ्यकले चौबिसे तारा २०६४, आधुनिक गीत सम्मेलन रेडियो नेपाल विजेता २०१७ जस्ता उपाधी समेत हात पारिसकेकी छन् । त्यसरी नै प्रथम विश्वव्यापी पालाम प्रतियोगितामा पनि सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा सयौंलाई उछिनेर सेकेन्ड रनर अप बन्न सफल भइन् । पालाम प्रतियोगितामा सहभागी हुनु पहिले याक्थुङ गीत सँगीतमा त्यति लगाव नरहेको बताउछिन् । पालाम प्रतियोगिताले याक्थुङ गीत, सँगीतमा योगदान गर्नका लागि आफुलाई अवसर प्रदान गर्नुका साथै याक्थुङ समुदायमा परिचित गराउन ठूलो सहयोग गरेको बताउछिन् । भर्सटाईल गायिका सुनिता सङ्यकले पालाम प्रतियोगिता पछि धमाधम याक्थुङ साम्लो र पालाम रेकर्ड गर्ने अवसर पाईरहेकी छन् भने उनले गाएका साम्लो,पालाम स्रोताले निक्कै मन पराएको छ । आगामी दिनमा याक्थुङ संस्कृति ,साम्लो, पालाम र हाक्पारे प्रती प्रतिवद्द भएर समुदायका लागि योगदान गर्ने लक्ष रहेको बताउछन् ।
शिवकुमार सम्बाहाम्फे
गीतसँगीतमा साधनारत रहेका शिवकुमार सम्बाहाम्फे तेह्रथुममा जन्मिएर हाल धरानमा संघर्ष गरिरहेका छन् । सुमधुर स्वरका धनी शिवकुमार सम्बाहाम्फे याक्थुङ पालामका लागि अब्बल नाम हुन् । सानै देखि याक्थुङ लोक भाका पालाम,हाक्पारे गाउन रुचाने उनि विश्वव्यापी पालाम प्रतियोगितामा फर्स्ट रनर अप बन्न सफल भएका थिए । सयौं जनालाई उछिनेर फर्स्ट रनर अप बन्नु चानचुने कुरा थिएन । पालाम प्रतियोगितामा भाग लिएपछि आफ्नो सांगीतिक करियरमा सोचे भन्दा धेरै सफलता प्राप्त गरेको उनी बताउछन् । प्रतियोगिता पछि उनले याक्थुङ साम्लो र पालाम रेकर्ड गर्ने अवसर व्यापक रुपले पाउनुका साथै नेपाली गीत समेत रेकर्ड गर्न भ्याएका छन् । पालाम प्रतियोगिता पछि आफूले नसोचेको खुशी र सफलता पाएको उनी बताउछन् ।
सुमन लिम्बु
सुमन लिम्बु हाल याक्थुङ पालाममा अति नै व्यस्त र स्थापित नाम हुन् । तेह्रथुमको छथरमा जन्मिएका सुमन केही वर्ष दक्षिण कोरियामा वैदेशिक रोजगार गरे पछि हाल काठमाडौंमा गीतसँगीतमा व्यस्त रहेका छन् । सारङ्गीको धुनसँग पालामी भाका मिलाउन सिपालु सुमन प्रथम विश्वव्यापी पालाम प्रतियोगितामा सहभागी मध्ये अत्यन्तै व्यस्त प्रतिभा मानिन्छन् । उनलाई पालाम रेकर्ड गर्न अहिले भ्याईनभ्याई छ । उनको स्वरमा मौलिकपन भएकाले पनि धेरैले रुचाएका हुन् । पालाम प्रतियोगितामा उत्कृष्ट १० मा पर्न सफल भइ सेहोनाम्लाङ अवार्ड प्राप्त गरेका थिए । पालाम प्रतियोगिताले आफ्नो सांगीतिक करियरमा कायापलट नै गरेको बताउने सुमन लिम्बूले नेपाली गीत सँगै दर्जनौं पालाम रेकर्ड गरि रिलिज भैसकेको छ । उनले गाएको पालाम धेरै दर्शक, श्रोताले रुचाएका छन् । आगामी दिनमा पनि यसरी नै याक्थुङ साँस्कृतिक लोकभाकामा नै योगदान गर्ने उनको योजना रहेको छ ।
ईन्दिरा नेम्बाङ
याक्थुङ पहिचान र संस्कृतिलाई औधी माया गर्ने बहुप्रतिभाशाली ईन्दिरा नेम्बाङ गायिका पनि हुन् । उनी पान्थरमा जन्मेर हाल सुनसरीको ईटहरीमा बसेर विभिन्न क्षेत्रमा सक्रिय रहेकी छन् । आफ्नो व्यस्त समयलाई व्यावस्थापन गरेर भए पनि याक्थुङ लोकभाकामा योगदान गर्ने बताउने ईन्धिरा नेम्बाङ पालाम प्रतियोगितामा उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् । उत्कृष्ट १० मध्ये उनले उदयमान प्रतिभा अवार्ड पाउन सफल भएकी थिईन् । मौलिक सुमधुर स्वर भएकी ईन्धिरा नेम्बाङ पालाम प्रतियोगिताले आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको बताउछन् भने उनको स्वरमा पुर्वेली लोकगीत र पालाम रेकर्ड भएर रिलिज भैसकेको छ ।
पेपराज माबुहाङ
सुमधुर र मौलिक स्वरका धनी पेपराज माबुहाङ उदाउदै गरेका प्रतिभाशाली गायक हुन् । सबै खालका गीत गाउन सक्ने माबुहाङ तेह्रथुममा जन्मेर हाल धरानमा बसेर गीत,संगीतमा व्यस्त छन् । वैदेशिक रोजगारमा दक्षिण कोरियामा रहदै विश्वव्यापी पालाम प्रतियोगितामा भाग लिएका उनी उत्कृष्ट १० मा पर्न सफल भएका थिए । उत्कृष्ट १० मध्ये उत्कृष्ट पालाम चोलुङ अवार्ड पाउन सफल भएका थिए । पालाम प्रतियोगिताले आफ्नो साङ्गीतिक करियरमा महत्वपूर्ण भूमिका खेलेको बताउने पेपराज माबुहाङले आफ्नो स्वरमा पालाम र नेपाली गीत रेकर्ड गरि रिलिज गरिसकेका छन् । उनको गीत र पालाम श्रोताले निक्कै मन पराए । आगामी दिनमा पनि याक्थुङ सांस्कृतिक गीत ,सँगीतमा विशेष योगदान गर्ने उनी बताउछन्।
अन्त्यमा यी ५ प्रतिभा मात्र नभएर प्रथम विश्वव्यापी पालाम प्रतियोगितामा सबै सहभागीहरुको सांगीतिक भविष्यको शुभकामना छ । उहाँहरु जस्तो प्रतिभाहरुले निरन्तर योगदान गरिरहेमा मात्र हाम्रो मौलिक, सांस्कृतिक लोकभाकाहरुको संरक्षण र विकास हुनेछ ।
–प्रस्तोता आपुङीहाङ याक्थुङ
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।