मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध - Naya Online

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक

मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर आफ्नो संस्मरणलाई मात्र ब्युँझाउने कोसिस गर्दैछु । प्रसङ्गवश जरुवा टिप्पणीहरू आवश्यकता अनुसार समाहित हुने नै भयो । तत्कालीन समयमा मैले मेरै वरिपरि र नजिकबाट देखेका, भोगेका र घटेका केही घटनाहरूलाई प्रत्यक्ष तवरले सम्झिने प्रयास भने अवश्य गर्नेछु ।

हामी सबैलाई थाहै छ कि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे मागपत्र बुझाएर त्यसको सम्बोधन नहुने निश्चित भइसकेपछि वि.सं. २०५२ साल फाल्गुन १ गते प्रचण्ड र बाबुरामको नेतृत्वमा मुलुकमा औपचारिक रुपमै देशव्यापी दीर्घकालीन जनयुद्धको घोषणा गरिएको थियो । यद्यपि सुरुवातमा जनयुद्धको प्रभाव नेपालको पश्चिमी भू–भागमा मात्रै सीमित थियोे । करिब २०५६ सालसम्म माओवादीले पूर्वमा कुनै सक्रिय र सशस्त्र गतिविधि सञ्चालन गर्न सकिरहेको थिएन । त्यसपछि भने सार्वजनिक स्थलहरूमा पोस्टरिङ, भित्तेलेखनहरू देखापर्न थालेको थियोे । “विश्वका मजदुर एक होऔँ, प्रचण्डपथ,मालेमावाद जिन्दावाद !” लेखिएको प्रचण्डको तस्बीर राखिएको पम्प्लेटहरू रातारात जताततै टाँसिन थालियो । “नेकपा माओवादी क्रान्तिकारी संगठन ताप्लेजुङ + पाँचथर“ लेखिएका निलो, पहेँलो र रातो रङ्गका पर्चाहरू बाटो, विद्यालय, चौतारो र पुलतिर छरिएका भेटिन्थे । कसै–कसैका घरमा पनि छरिदिन्थे । पर्चाहरूमा “हाम्रो महान गौरवशाली पार्टी एकात्मक सामन्ती राज्यसत्ताद्वारा जबर्जस्त लादिएका सामाजिक,धार्मिक,सांस्कृतिक,भाषिक,लैङ्गिक तथा जातीय,क्षेत्रीय र वर्गीय सबैखाले विभेद, शोषण, दमन, अन्याय, अत्याचार र असमानताहरूको समूल अन्त्य गर्न यसको विरुद्ध युद्धको मैदानमा उत्रिएको सर्वविदितै छ” लेखिएको हुन्थ्यो । पछिल्ला समयमा यो लाइन पार्टीका जुनसुकै वक्ताहरूले प्रयोग गर्ने रेडिमेड मन्त्र वाक्यसरह नै भइसकेको थियो । सायद यसको रहलपहल अझैसम्म पनि चलनचल्तीमै छ ।

त्यसपछि क्रमशः माओवादीका सङ्गठनात्मक अभियान र अन्य गतिविधिहरूले गति लिँदै गयो । वि.सं. २०६० सालमा पूर्वमा सशस्त्र विद्रोह गरिरहेको गोपाल किराती नेतृत्वको खम्बूवान राष्ट्रिय मुक्तिमोर्चा र सशस्त्र विद्रोही माओवादीबिच एकता भयो । विशेषगरी पूर्वको सामाजिक परिवेशलाई राम्रोसँग बुझेर भक्तराज कन्दङ्वाले नेतृत्व गरेको लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चा लगायत शेर्पा मुक्तिमोर्चा, दलित मुक्तिमोर्चाको मोर्चाबन्दी गरिसकेपछि माओवादी कामकारबाही र संगठन विस्तारको अभियानले ह्वात्तै गति लिएको थियोे ।

जनसरकार गठन, जनअदालत, जनकारबाही, सभा–सम्लेलन, मौसमी बाली र जबर्जस्त चन्दा सङ्कलनआदि अभियानले व्यापकता पायो ।

यसै सिलसिलामा मेरै गाउँमा मध्यरातमा दुईजनाको टाउको गिडियो । छिमेकी गाविसमा भरुवा बन्दुकद्वारा एकजनाको हत्या गरियो । साविकको थिङ्लाबु गाविसका एकजना असी वर्ष पुग्न लागेका वयोवृद्धको समेत निर्मतापूर्वक हत्या गरिएको थियोे । त्यसपछि भने विभिन्न स्थानहरूमा सुराकी र सफायाको शीर्षकमा व्यक्ति हत्याको शृङ्खला नै चालू भयो ।

लिम्बूवानमा मृत्युु संस्कारमा चौपाया काटमार वा मासुको प्रयोग गर्न र छोरीचेलीको सोतरीत लिन बन्देज गरियो । मदिरा सेवन र बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाएर प्रचण्डपथ मात्रै होइन, उनीहरूले फाल्गुनन्दपथको पनि अनुसरण र अभ्यास नगरेका होइनन् । कहिले दशै बहिष्कार गर्नुपर्ने आदेश दिँदै हिड्थे भने कुनैबेला “हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी र खम्बूवान राष्ट्रिय मुक्तिमोर्चाको एकीकरण भएको ऐतिहासिक दिन पनि यहीँ मौकामा परेकाले भव्यसँग निर्धक्क भएर दशै मान्नुस्” भन्थे ।

टायम पास्ट र मनोरञ्जनका लागि दहलमारा तास खेलिरहेका दाँत झरेका वृद्ध अवस्थाका व्यक्तिलाई समेत नुन र खुर्सानीसँग तासको पत्ती चपाएर निल्न लगाइयो । भाटे कारबाही भनेको त सामान्यजस्तो भइसकेको थियोे । सानोतिनो गल्ती गरेवापत कारबाही स्वरुप श्रमशिविरमा बाटो खन्नु चर्चित सजाय कहलिएको थियोे । उनीहरूले तोकिदिएको स्थानमा बङ्कर खन्नुपर्ने, खबर गरिसकेपछि अनिवार्य आमसभामा जानैपर्ने गाउँघरको दैनिकी जस्तै भइसकेको थियो । सेनाको गस्ती टोली थाहै नपाई अचानक गाउँ सर्च गर्थे। त्यतिबेला बङ्कर खन्दैगरेको फेला पारेको खण्डमा बाँच्ने सम्भावना कमैमात्र रहन्थ्यो । माओवादी सशस्त्र जनयुद्ध ०६१ सालतिर पूर्वमा उत्कर्षमा पुगिसकेको थियो। गाउँघरका सबै प्रकारका झैझगडा,मुद्दामामिलाहरू प्रहरी–प्रशासन र अदालत पुग्न छोडिसकेको थियोे ।

त्यो बखतमा खेतबारीको काममा जाँदा, पँधेरो वा गोठालो जहाँ गएपनि माओवादीका कार्यकर्ताहरूसँग जम्काभेट भइरहन्थ्यो । सुरुसुरुमा उनीहरूले रुमालले मुख छोप्ने र क्याप लगाउने गर्थे। तसर्थ याक्थुङ लिम्बू भाषामा उनीहरूलाई मरा केदेप्पाहाः (मुख छोपुवाहरू) भन्ने गर्थे । उनीहरूले अनिवार्य झोला बोक्ने भएकाले पछिबाट उनीहरूलाई सबैले “झोले“ भन्थे । बिहाभोजका कार्यक्रममा उनीहरू अनिवार्य उपस्थित हुनेगर्थे । अपवादबाहेक तुलनात्मकरुपमा जमघटहरूमा जथाभावी बोल्ने, झैझगडा, श्रीमती पिट्ने, कान्ला पेल्ने र मारपिटका घटनाहरू पनि नियन्त्रणमा आइसकेको थियो । जेठो, माइलो, जाँडरक्सी, चिनी, मुला खाने आदिसमेत बोल्न बर्जित गरिएको थियो । तत्कालीन गाविस भवनहरू भएभरका सबै जलाइएको थियो । स्थानीय निकायका पदाधिकारीहरू रिक्त भएका कारण गाविस सचिवहरू सम्बन्धित गाविसका कार्यबाहक अध्यक्ष भइ भएरभरका गाविस सचिवहरू एउटै भवनभित्र जिल्ला सदरमुकाममा बसेर काम गर्थे । जिल्लाभरिका इलाका र अस्थायी प्रहरी चौकीहरू विस्थापित भइ सदरमुकाम स्थानान्तरण भइसकेका थिए। व्यवहारतः ग्रामीण बस्तीहरू माओवादीको पूर्ण नियन्त्रणमा थियोे ।

लगभग ०६१÷६२ साल सम्ममा ताप्लेजुङ जिल्लाका ग्रामीण इलाकामा विद्रोही माओवादीको हालीमुहाली स्थापित भइसकेको थियोे । स्याटलाइट रेडियोबाट पार्टीको गतिविधि, क्षति र उपलब्धि, मुठभेड र भीडन्तका घटनाहरू प्रसारण हुनेगर्दथ्यो। जिल्ला सदरमुकाम सेना,सशस्त्र र प्रहरी प्रशासनको पकडमा रहेको थियो ।

माओवादीसँग भिन्न मत वा फरक विचार राख्नेहरू उनीहरू द्वारा कारबाहीमा परिने, अपहरण होइने वा मारिइने त्रासले गाउँबाट विस्थापित भई सदरमुकाम पलायन हुनेक्रम पनि चलिरहेकै थियोे। पार्टी त्यागेर पलायन हुने भगौटेहरू पनि बढिरहेकै थिए। जसलाई सेनाले सुराकीको रुपमा प्रयोग गरेको र सर्च अभियानमा फिल्डमा आफू सँगसँगै हिडाएको पनि प्रत्यक्ष देखियो ।
यसको चपेटामा ताप्लेजुङ जिल्लाको साविकको लिङतेप गाविस सबैभन्दा प्रभावित भएको थियो ।

त्यतिबेला बाटो हिड्नेक्रममा ठाउँठाउँमा इनामेलले लेखिएका आक्रोशित र उत्तेजित नाराहरू यत्रतत्र देख्न र पढ्न पाइन्थ्यो । जसमध्ये “शेर्पा मित्रहरू ! भारी मात्र होइन, अब विचार पनि बोक्ने गर “भन्ने हेयात्मक नारासमेत देखियो । यसमा केही क्याटालिस्ट शैली र वास्तविक दृष्टान्त पनि मिश्रित थियोे । साविकको सान्थाक्रा गाविसको एउटा वडाको सानो बस्तीबाट शेर्पा समुदायका थुप्रै जनाको सहादत भएको यथार्थताले पनि उनीहरूको झुकाव र सहभागितालाई सहजै पुष्टि गर्दछ ।

त्यसबखत मैले सैद्धान्तिक र वैचारिक तवरले उनीहरूलाई कहिल्यै मूल्याङ्कन गरिनँ । यद्यपि उनीहरूका उत्तेजक भाषण,आकर्षक पर्चा,पम्प्लेट र भेटघाटमा हुनेगरेका बातचितका क्रममा उनीहरूप्रति मेरो जिज्ञासा,सद्भाव र नैतिक समर्थन अदृश्य तवरले जागिरहेको थियोे । उनीहरूमध्ये कतिपय चिनजानकै थिए भने, कतिपय नयाँ मानिसहरूसँग पनि बोलचाल, भेटघाट र परिचय हुने सिलसिला जारी रहिरह्यो । दिनहरू बित्दैजाँदा केहीजना आफ्नै साथीजस्ता भइसकेका थिए। कहिलेकाहीँ सँगसँगै भलिबल, फुटबल खेल्ने अवसर पनि मिल्थ्यो ।

एकदिन म र गाउँका साथीहरू घर नजिकैको विद्यालयको खेलमैदानमा भलिबल खेलिरहेका थियौँ । त्यसैबेला दुईजना कमरेडहरू आइपुगे । हामीबिच चलिरहेको खेल एकछिन स्थगित गरेर उनीहरू भएतिर गयौँ । उनीहरूले भलिबल खेल्ने इच्छा जाहेर गरे । यत्तिकैमा दुईमध्ये एकजना सन्जिब नामको कमरेड पिसाब फेर्न भनेर मुन्तिर ओर्लिए । उनी भित्तामा छलिएर पिसाब फेरिरहेको अवस्थामा अर्का कमरेडले हत्तपत्त एकमुठी धूलोमाटो टिपेर छलिदै ताकेरै पिसाबको मूलमै प्रहार गरे । यो देखेर मलाई मनमनै “यिनीहरू पनि हामी जस्तै कहिलेकाहीँ उत्ताउला हर्कत गर्दारहेछन्” भन्ने लाग्यो टकटकिएर ग्राउन्डमा उक्लिएपछि सन्जिब कमरेडको प्रतिक्रिया थियो “मुसुमुसु हाँस्दै… केम्मान केयेख्रा ।” तथापि गाउँघरका मानिसहरूको मनमस्तिष्कमा सन्त्रासले डेरा जमाएको सङ्केत उनीहरूको मुहारमा प्रष्टै झकिन्थ्यो ।

वनपाखा, मेलापात, भीरपखेरा र डाँडाकाँडामा यदाकदा गुञ्जिने पालाम, पकन्दी र सुसेलोका आवाजहरू भयसँगै मनभित्रै दबिएका थिए ।

समयक्रममा भदौ महिनाको अन्तिम सातातिर पश्चिमी मोर्चाका जनमुक्ति सेनाका ठूलो जत्थाले पहिलोपटक हाम्रो गाउँ टेके । उनीहरूको त्यसरातको सेल्टर पनि हाम्रै गाउँमा तय भयो । जम्मा चारवटा घरहरूमा उनीहरूको खानेबस्ने बन्दोबस्त भयो । चारैतिर सेन्ट्री खटाइएका थिए । खाना पकाउनको लागि गाउँभरिबाट चामल सङ्कलन गरे । सब्जी बनाउन मुलाको साग,स्कुस,हाडे सिमी,फर्सीको गट्टा र मुन्टो बटुले । अनि कोही खाना पकाउनमा खटे । कोही तरकारी काट्न तयार भए । यतिकैमा एकजनाले “सर मलाई पासा दिनुस् न” भन्यो । उसले “पासा” भनेको मैले बुझ्न सकिनँ । उसले त्यसको प्रयोगबारे बताएपछि बल्ल “हँसिया” रहेछ भन्ने थाहा भयो । अर्को एकजनाले “स्कुस” त्योभन्दा अगाडि नखाएको र नामसमेत थाहा नभएको बतायो ।

त्यसबेला मेरो घरमा बिजुली बत्ती जडान गरिएको थिएन । त्यसकारण कोही क्यान्डल बालेर चर्को आवाज निकालेर पढिरहेका थिए । तर धेरैजनाको आवाज जुधेकाले एकाध शब्दबाहेक पूर्णवाक्यहरू बुझ्न सकिँदैनथ्यो । उनीहरूले जथाभावी खोलेर राखेका गोल्ड स्टार जुत्ताको दुर्गन्ध नराम्ररी फैलिएको थियो । म बेलाबेलामा भित्र–बाहिर गरिरहन्थेँ । मैले उनीहरूले तिहुन पकाउँदै गरेको नियाल्दा स्कुस, फर्सीको गट्टा, मुन्टो,सिमी एउटै भाँडोमा झोल टन्न हालेर उमालिरहेका थिए ।

केहीबेरपछि खाना तयार पारे । अनि टाउको गन्ती गरेर भात र सब्जी एकैसाथ प्रत्येक थालमा पस्केर खान सुरु गरे । मैले अगाडि नै खाना खाइसकेकाले म आराम गर्न कोठातिर जान लाग्दा एकजनाले “ठाउँ छ र मिल्छ भने, हामी पनि दुईतीन जना तपाईंसँगै आराम गर्दा कसो होला ?” भनेर मलाई सोध्यो । मैले पनि तुरुन्तै हुन्छ भनेँ। त्यसपछि उनीहरू तीनजनाको लागि भुइँमा ओछ्यान तयार पारियो। म मेरै खाटमा सुत्ने भएँ । तीनैजनाले हतियार (एसएलआर) एकापट्टि कुनामा ठड्याएर राखे ।
अनि ओछ्यानमा ढल्किनुभन्दा पहिले तीमध्ये एकजनाले “सर यहाँबाट दुश्मनको किल्ला कति किलोमिटरमा रहेको छ ?” भनेर मलाई सोध्यो ।
मैले बत्ती बलिरहेको ताप्लेजुङ सदरमुकाम देखाइदिएँ । “ओहो ! नजिकै पर्छ रहेछ” भनेर एकजना झस्कियो । मैले, यहाँको भूगोल अलि बिकट छ, सदरमुकाम यहाँबाट आमनेसामने पर्ने भएकोले मात्र रातमा नजिकै देखिएको हो । तर पैदल हिड्दा लगभग दुईघण्टा जति नै लाग्छ । साथै योभन्दा पहिले आफ्नो गाउँमा सेनाको गस्ती कहिल्यै नआएको कुरा बताएपछि तीनैजनाले राहतको सुस्केरा हाले ।

हामी आआफ्नो बिछ्यौनामा ढल्क्यौँ । उनीहरू एफएम सुनिरहेका थिए ।
घरको सिकुवा र हामी सुतेको भुइँतलामा अझैसम्म पनि धेरैजना पढिरहेका थिए। करिब रातको साढेएघार बजेतिर घर मास्तिर रहेको ट्वाइलेटबाट एउटा गुहेकिरो भुँभुँ… आवाज निकालेर आँगनतर्फ उड्यो ।
एकैछिनमा होहल्ला मच्चियो । सबैजना आँगनमा छरिएका थिए । ती मसँगै सुतिरहेका साथीहरू पनि हत्तपत्त हतियार टिपेर बाहिर निस्किए । “हेलिकप्टरको आवाज सुनियो, कतातिर गयो ?” भन्दै उनीहरू अतालिईरहेका थिए । उनीहरूको कुरा सुनेर अचम्म मान्दै, म पनि आँगनमा झरेँ ।
मैले अनुमान लगाइरहेको थिएँ । के भएको हो ? भनेर सोधेँ । उनीहरू माझबाट “सर अचानक हेलिकप्टरको आवाज सुनियो” भन्ने प्रतिक्रिया पाएँ । सत्यकुरा बताउन मलाई केही असहज लागिरहेको भएपनि बताउनु नै उचित ठानेर “तपाईंहरू ढुक्क हुनुहोस् , जुन तपाईंहरूले सुन्नुभएको आवाज हेलिकप्टरको नभएर गुहेकिरोको हो” भनिदिएँ ।

फेरि गुहेकिरोलाई पनि गोब्रेकिरो, गैँडेकिरो र गन्धेकिरो आदि विभिन्न नामले पुकार्न थाले । त्यो दिन मलाई नेपालजस्तो सानो मुलुकमा रहेको भाषिक विविधता पहिलोपटक प्रत्यक्ष महसुस भयो। जे होस्, अन्त्यमा मसँग सबैजना कन्भिन्स भए । म र तीनजना कमरेडहरू गएर हाम्रो बिछ्यौनामा ढल्कियौँ ।
बिहान सबेरै तीनवटै सेल्टरका कमाण्डरहरूले आदेशसूचक सिटी बजाए। केही क्षणमै जनमुक्ति सेनाहरू फर्मेसनमा उभिए। करिब आधाघण्टा जति स्ट्रेचिङ व्यायाम गरेर आफ्नो गन्तव्यतर्फ बाटो तताए ।

मेरो तीनचार पटक जनमुक्ति सेनासँग साक्षात्कार हुँदा, मेरोअनुसार उनीहरू धेरै नै अनुशासित र उत्साहित पनि थिए। तर झोलावाल साथीहरू भने अधिकांश क्षुद्र बोली र सङ्कीर्ण स्वभावका नै हुन्थे ।

अब, सेनाको एउटा अविस्मरणीय गतिविधिलाई पनि यहाँ सम्झिने प्रयास गर्दैछु । ती पश्चिमी मोर्चाका जनमुक्ति सेनाहरू फर्किएको करिब दुईमहिना पश्चात् कार्तिक महिनाको अन्त्यतिर एकाबिहानै बुलेट पड्किएको फायरिङको आवाज सुनियो। म ओछ्यानमै सुतिरहेको थिएँ । मैले खासै वास्ता गरिनँ। लगभग आधाघण्टा फायरिङ भएको बाक्लै आवाज सुनियो। साढेसात बजेतिर म उठेर बार्दलीबाट वरपर नियालिरहेको थिएँ । बन्दुकधारीहरू जताततै हिँडिरहेका थिए । त्यतिबेला धेरैजसो सेनाले पनि युनिफर्म लगाउँदैनथे । त्यसकारण उनीहरू जनमुक्ति सेना हुन् या तत्कालीन शाही सेना हुन् भनेर मलाई पहिचान गर्न गाह्रो परिरहेको थियोे । तर केहीबेरपछि मैले चिनेका तीनचार जना साथीहरूलाई देखेँ । अनि बल्ल शाही सेनाको टोली रहेछ भन्ने थाहा भयो ।
ती साथीहरूले भीडन्तका क्रममा चारजना आतङ्कारीहरूको ज्यान गएको बताए। मेरो मनमा कस्तो अवस्थामा गोली हाने होलान्? कसरी मुठभेड भयो होला? कस्तो ठाउँमा मारेका होलान् ? भन्ने प्रश्नहरू उब्जिरहेका थिए ।
सेनाले त्यसदिनको बिहानको खाना हाम्रै गाउँमा खाने निधो गरे ।

त्यो सेनाको टोलीका कमाण्डर एकजना राई थिए। उनी गाउँ चाहार्ने क्रममा मेरो घरमा आइपुगे । उनले बडो शालीन शैलीमा “हजुरहरूकोमा खसी किन्न पाइन्छ ?” भनेर सोधे। मेरी छ्यामाले भनिन् “खसीचाहिँ घरमै चाहिने भएकोले, बरु दुईवटा ससाना बोका छन् । काम टर्छ भने लानुहोस् ।”
अन्तिममा एउटा बोको दुईजना जवानले लिएर गए । सुबेदार र अरु पाँचजना जवानहरू एकछिन बसे । त्यहीँ मौकामा मैले “सुबेदार साब ! मृतकहरूको लास हेर्न जान मिल्छ ? भनेर सोधेँ । उनले “मिल्छ हजुर, तर अलिपछि हामी यहाँबाट मुभ भइसकेपछि मात्रै जाँदा राम्रो हुन्छ । किनभने; अहिले हाम्रो टोलीहरू जताततै छरिएर रहेका छन् । यतिबेला त्यहाँ जाँदा अरुनै भन्ठानेर गोली चलाउन सक्छन् ।” मैले हुन्छ भनेँ । उनीहरू दिनको दुई बजे भइसक्दा पनि त्यहीँ रहेको देखेपछि म भलिबल बोकेर विद्यालयको खेलमैदानतर्फ लागेँ ।

म र मेरा अन्य तीनजना साथी त्यहाँ पुग्दा उनीहरूको टिम उक्त ग्राउन्डमा फर्मेसन उभिन सुरु गरिहाल्यो । त्यसैले म र साथीहरू मैदानको एकछेउमा गएर बस्यौँ ।
एकैछिनमा उनीहरूको फर्मेसन कम्प्लिट भयो । सुबेदारलगायत अन्य दुईजना गरी जम्मा तीनजनाले जवानहरूलाई ब्रिफिङ र कासनमा खटिएका थिए। त्यसपछि अनुमानित छफिटको ग्यापमा टोली मुभ हुनथाल्यो । करिब पच्चीस जनाको टोली अघि बढिसकेपछि फेरि पछिल्लो टोलीलाई एकछिन रोकियो । त्यस पङ्क्तिको फ्रन्टका जवानले “कसैलाई मार्नु पनि नपरोस्, आफूपनि मर्न नपरोस्, मेरो घरपरिवार र बालबच्चाको मुख हेरेर दया गर मेरो भगवान !” भन्दै बाटोलाई ढोगे । लगत्तै मुभ हुने आदेशपछि सबैजना त्यहाँबाट उकालो लागे ।

मैले भलिबल खेल्न थाती राखेर साथीहरूलाई मृतकहरू हेर्न जाउँ भनेँ । त्यहाँबाट घटनास्थलको दूरी करिब ४०० मिटर जतिमात्र थियोे । उनीहरू पनि मञ्जुर भए । बाटोमा अरु थपिँदै जाँदा घटनास्थलमा पुग्दा जम्मा २३ जना पुगिएछ । त्यहाँको स्थलगत दृश्य अवलोकन गर्दा उनीहरूको सेल्टर घरको नजिकैको गल्लीमा केही डायरी र लेखिएका कपीका पानाहरू, क्यान्डल, हाते रेडियो, क्याप टोपी, दाँत ब्रस आदि लथालिङ्ग छरिएका थिए । ठाउँठाउँमा रगतका फाल्सा र दागहरू यत्रतत्र देखिन्थ्यो । त्यहाँ छरिएको एउटा पाना टिपेर हेर्दा, “खासमा ‘क्रान्ति’ भनेको सर्वहारा वर्गको न्याय र मुक्तिका लागि बुर्जुवा सामन्ती राज्यसत्ताको शोषण, दमन, अन्याय र अत्याचार विरुद्धको लडाइँ वा सङ्घर्ष हो । यस्तो लडाइँ लड्ने वा सङ्घर्ष गर्नेलाई ‘कारी’ वा ’धारक’ भनिन्छ । यसलाई एकैसाथ भन्नुपर्दा ‘क्रान्तिकारी’ भनेर भनिन्छ” लेखिएको थियोे । भाँती नपुगेको लेखाइ र ताँती नमिलेका अक्षरहरू लागेपनि लेखेको भन्न खोजेको चाहिँ यै नै थियोे । जेजस्तो भएपनि मेरो हकमा “क्रान्तिकारी” शब्दको परिभाषा पढ्न पाएको त्यो नै पहिलोपटक थियोे । मैले त्यो पाना च्यातेर गोजीमा पनि हालेँ । तर सेनाले फेलापारेको खण्डमा विपत्ति आइपर्ने डरले फेरि गोजीबाट झिकेर त्यतै फ्याँकिदिएँ । ती मृतकहरू जनमिलिसिया थिएछन् ।
मृतकहरू चारैजनाको पार्थिव शरीरचाहिँ उनीहरू बास बसेकै घरको मास्तिर पहेँलपुर पाकेको धानबारीको बीचमा एउटा ठूलो स्थायी भ्वाङमा फूलतरुलको पत्ता र चारपाँच पाथी जति माटोले विशेषगरी अनुहारमात्र नदेखिने अवस्थामा छोपेर छाडेका रहेछन् । सबैको खुट्टाका पूरै भाग स्पष्ट देख्न सकिन्थ्यो ।

हामी सबैजनाले त्यो हृदयविदारक दृश्य नियालिरहेका थियौँ । ठीक त्यतिबेलै त्यसको सिधा माथितिर पर्ने डाँडामा फायरिङको आवाज सुनियो । सबै अतालिएर भागदौड गर्न तम्सिए । मैले कोही पनि भाग्ने, चिच्याउने, हडबडाउने र अतालिने काम नगर्नुहोस् भनेर सम्झाएपछि सबैजना सम्हालिएका थिए ।
त्यहाँ धेरै लामो समयसम्म रहन उचित नहुने ठानेर लहरै सँगसँगै घर फर्किन सबैलाई मैले अनुरोध गरेँ ।
घर आइपुग्दा ती बाटो लागेका सेनाहरू फेरि फर्केर आइसकेका रहेछन् । उनीहरूसँग भेटेर “किन वापस हुनुभयो ?” भन्ने मेरो जिज्ञासामा –“दुश्मनले उच्च भूगोल कब्जा गरेर हामीलाई आक्रमण गर्नको लागि फायर खोल्यो । हाम्रो फोर्टिफिकेसन त्यस किसिमको नभएको कारणले गर्दा हामी ब्याक हुनुपरेको हो । यसको मतलव हामीले कायरता प्रदर्शन गरेको होइन । अब हामीले यहीँबाट थप फोर्स मगाएर जवाफी आक्रामण गर्छौं । १६ नं. बाहिनी हिलेबाट पनि हाम्रा साथीहरू बढिसकेका छन् । अब हामी यी दानवहरूलाई घेराबन्दी गर्छौं” भनेर भन्यो । ती सेनाहरू त्यो रात हाम्रै गाउँको विद्यालयलाई अस्थायी क्याम्प बनाएर बसे ।

त्यतिबेला फिक्कल प्रहरी चौकी आक्रमण गरी प्रहरीहरूलाई अपहरण गर्ने जनमुक्ति सेनाको टोलीले नै फायर खोलेको भन्ने उनीहरूले निष्कर्ष निकाले । तर भोलिपल्ट नौबजेतिर “जनमुक्ति सेनाको टोली रातारात हिँडेर सङ्खुवासभा पुगिसकेको हामीलाई सूचना प्राप्त भएकोले अब हामी फर्किन्छौँ” भनेर उनीहरू सदरमुकाम फर्किए । नभन्दै त्यसलगत्तै तीनचार दिनपछि अपहरित प्रहरीलाई जनमुक्ति सेनाले ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा तीन जिल्लाको बोर्डरमा पर्ने सङ्गमस्थल गुफापोखरी आसपासको स्थानबाट पत्रकार सम्मेलन गरी रिहा गरेको समाचार प्रसारण भएको थियो ।

सेनाको टोली फर्किनेबित्तिकै झोलावाल साथीहरू गाउँमा प्रवेश गरे । रातारात चारजनाको शवलाई पहिलेको स्थानबाट उठाएर त्यहाँबाट अलि तलतिरको खाली ठाउँ रहेको डाँडामा गाडे । त्यसलगत्तै घरघर डुलेर घटनाको छानबिन र अनुसन्धानबाट सत्यतथ्य पत्ता लागेपछि ककसको टाउको र शरीर अलगअलग हुने धम्की दिन थाले । त्यसको करिब डेढमहिनापछि एकै घरका तीन दाजुभाइहरूलाई एकैसाथ अपहरण गरेर लगे । तर उनीहरू निर्दोष भएको ठहर गरी एक महिनापछि जनभेला गरेर सकुशल रिहा गरेका थिए । त्यसदिन म पनि उनीहरूलाई रिसिभ गर्न तोकिएको सार्वजनिक गर्ने स्थलमा गएको थिएँ । मैले त्यतिबेला उनीहरूको एकजना ब्यूरो इन्चार्जलाई सोधेको थिएँ कि, तपाईंहरूले एकैघरका तीनजना दाजुभाइलाई एकैसाथ अपहरण गर्नुभयो । अपहरणका क्रममा यातनासमेत दिएको अपहरितहरूले गुनासो पोख्दैछन् । हाम्रो लागि अत्यन्तै खुसीको कुरा पनि छ, जुन कि तपाईंहरूले सुझबुझपूर्ण तवरले अनुसन्धान गरी उहाँहरूलाई निर्दोष ठह¥याइ न्याय दिनुभएको छ । यद्यपि त्यत्रो लामो दिनसम्म अपहरण गर्दाको शारीरिक तथा मानसिक यातना र पारिवारिक पीडा साथै एकजनाको कुमको हड्डीमा परेको असरलाई मानवीय दृष्टिकोणले के–कस्तो क्षतिपूर्ति वा न्याय दिलाउनुहुन्छ ? भनेर जिज्ञासा राख्दा “जो सामान्य घाइते हुनुभएको छ, उहाँको उपचारको व्यवस्था हामी गर्छौं र तपाईंका अन्य प्रश्नको सवालमा यस्तो सङ्कटग्रस्त युद्धको घडी भएकाले हामीले चाहेर पनि केही गर्न सक्तैनौँ र एउटा कमान्डर हुनुको नाताले व्यक्तिगत रुपमा मैले उहाँसँग माफी पनि मागिसकेको छु” भन्ने जवाफ दिएका थिए ।

मेरो व्यक्तिगत सवालमा भन्नुपर्दा तत्कालीन जनयुद्धकालमा विद्रोही माओवादीको तर्फबाट खासै अप्ठ्यारो पार्ने काम भएन । मैले पनि भित्री मनदेखि नै सकभर स्वतन्त्र नागरिकको भूमिका निभाउने अठोट गरेको थिएँ । यद्यपि माओवादीप्रति मेरो अलि बढी आस्थाको सुइरो ढल्केको थियोे । किनभने, त्यसबखत माओवादीले साम्राज्यवादी अमेरिका र भारतीय विस्तारवादको चर्को विरोध गर्थ्यो । यसका आधारमा उनीहरूलाई अन्तर्राष्ट्रिय फोरममा चीनको सहयोग प्राप्त छ भन्ने मेरो बुझाइ थियोे । तसर्थ विशेषगरी वर्षौंदेखि नेपालमाथि थोपरिएको भारतीय दादागिरीबाट मुक्ति पाउनु निश्चय पनि हाम्रो राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकताको सवालमा युगान्तकारी उपलब्धि हुनेछ भन्ने मलाई लागेको थियो । अर्को पहिचानमा आधारित आत्मनिर्णयको अधिकारसहितको स्वायत्त राज्य स्थापना गर्ने मुद्दा मलाई सबैभन्दा बढी आकर्षक लागेको थियो । त्यतिबेला पनि समाजवाद र साम्यवादप्रति चाहिँ मेरो अलिकति पनि विश्वास थिएन । तर अहिले बुझ्दा त्योबेला म निन्द्रामै थिएछु भन्ने लाग्छ ।
तर यहाँ म कुनै सैद्धान्तिक र वैचारिक कुरा गर्न चाहन्नँ । अर्को भेटमा यी विषयहरूका बारेमा मन्थन गरौँला । बरु अब सशस्त्र र प्रहरीको संयुक्त गस्ती टोलीद्वारा मैले बेहोरेको अर्को एउटा नाटकीय शैलीको घटना बताउँछु ।

२०६२ साल भदौ महिनाको कुरा हो । म राहदानी बनाउन भनेर जिल्ला सदरमुकाम ताप्लेजुङ गएको थिएँ । त्यहाँ जाँदा चिनजानका केही साथीहरूसँग जिल्ला प्रशासन कार्यालय परिसरमै भेट भयो । द्वन्द्वको मार र त्रास खेप्न नसकेर विदेसिनका लागि जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउनेहरूको भीड देखिन्थ्यो । उनीहरू पनि पासपोर्ट बनाउनकै लागि त्यहाँ आएका रहेछन् । उनीसँगको बातचितको क्रममा त्यसदिन बेलुका त्यहीँ नजिकैको एउटा होटलमा सँगै बास बस्ने सल्लाह भयो । बेलुकाको चारबजे पासपोर्ट पाएपछि हामी होटलमा भेला भयौँ । त्यसबेला राज्य र विद्रोही माओवादीबिचको द्वन्द्व चरमोत्कर्षमा पुगेको थियो ।

बजारमा बेलुकाको ७ बजेदेखि कर्फ्यु आदेश लागू गरिएको थियोे । हामी चारभाइ तङ्बा तान्न थाल्यौँ । पटकपटक नयाँ तङ्बा अर्डर गर्दै तानिरहेका थियौँ। सायद तङ्बाको तागतले अलि चर्को स्वरले कुरा गरिरहेका थियौँ। होटलका साहुजी र साहुनीले दुईतीन पल्ट खाना खान अनुरोध गर्दापनि “एकछिन पर्खनुस् है” भन्दै लगातार तङ्बा तानिरह्यौँ ।
हामीले बाहिरको वातावरण कुनै वास्तै गरेनौँ । घरभित्र सुरक्षित छौँ भनेर ढुक्क थियौँ । बेलुकाको दस बजिसकेको थिएछ ।
हामी बसिरहेको पसलको ढिकको बाहिरपट्टिबाट ढकढक..आवाज सुनियो । हामी चारैजना शान्त भयौँ ।
बाहिरबाट “यहाँको साहुजी को हुनुहुन्छ?“ भनेर एकजना सुरक्षाकर्मीले सोधे। चुल्होको छेउमा मुढामाथि बसिरहेका साहुजीले “ म हुँ हजुर“ भन्यो। मैले चनाखो भएर तङ्बा टेबुलमुनि लुकाउँदै थिएँ। तत्काल बाहिरबाट आवाज आयो “ अँ…साला हामीले देखेकै छैन । लुका, अझै राम्रोसँग लुका !”
मैले लुकाइसकेको तङबा झिकेर फेरि टेबुलमै राखेँ ।
बाहिरबाट “ढोका खोल्नुस् साहुजी” भनेपछि साहुजीले ढोका खोले । बाहिरपट्टि ढोकाको छेउमा उभिएको एकजना सुरक्षाकर्मीले “तिमीहरूको अगाडिको आआफ्नो तङबा बोकेर तुरुन्त बाहिर निस्क” भने ।
हामी तङबा बोकेर बाहिर निस्कदै गर्दा एकजना साथी छलिनलाई ट्वाइलेटतिर गयो । देख्यो भने बर्बाद हुन्छ भनेर मलाई डर लागिरहेको थियोे। तर धन्य देखेनन् रहेछ !
बाहिर निस्केपछि रोडको बिचमा वरिपरिबाट घेरा हाली पलेटी कसेर हिलोमा लहरै बस्न लगाए ।
प्रहरी हवल्दारले एक जवानलाई एक–एकजना गरेर के–के पिएका रहेछन् भनेर श्वास सुँघ्ने आदेश दिए ।
सबैभन्दा पहिले मेरै पालो आयो । उसले मेरो मुख सुँघेर “हवलदार साब, एस्ले त बेस्सरी च्याप्टे पनि पिएजस्तो छ । एस्को मुखबाट ठसठसी च्याप्टेको गन्ध आइरहेको छ” भनेर मैले पिउँदै नपिएको च्याप्टेको गन्ध पनि उसको नाकले थाहा पाइहाल्यो । उसले त्यति ठोस्नेबित्तिकै पछाडिबाट एकजना मेरो पिठ्युँमा एक झापु हान्न भ्याइहाल्यो। लगत्तै भ्वाक..भ्वाक लात्ती बजारेको आवाज सुनेँ। अररो परेर जुरुक्क उठेको देखेपछि थाहा भयो कि, मेरा दुईजना साथीहरूको ढाडमा बजेको रहेछ । हवलदारले “तीनैजना थचक्क बस् ! भने ।
बसेपछि हवलदारले “ …का बानहरू! तङ्बा तान,छिटो तान्” भन्न थाले । हामीले तङ्बा तान्यौँ । बिचबिचमा “बज्ने गरी तान्, अझै बजेको सुनिने गरी तान्” भन्दै थिए । पानी रित्तिएकाले चप्..चप् आवाज आउनेगरी नै तानिरहेका थियौँ । यिनीहरूले निल्दैछन् कि छैनन् ? भनेर टर्चलाइट बालेर हाम्रो घाँटी पनि निरीक्षण गरिरहेका थिए ।

अन्तिममा नाम,ठेगाना,काम लगायतका सम्पूर्ण विवरण सोधपुछ गरिसकेपछि अन्तिममा “अनि तिमीहरू किन यति अबेरसम्म जाँड खाएर हल्ला गरिबसेको हँ ? भनेर हप्काउँदै सोधे । मैले “खाना पाक्न अलि ढिलो भएकोले सर“ भनेँ। तुरुन्तै” …जी ! हाम्रो ८०० जनाको खाना ७ बजे नै तयार पारेर खाइसक्दा तिमीहरू तीनजनाको खाना पाक्न १० बज्यो ?” भनेर थर्काइहाल्यो । तिनीहरू मध्येका एकजनाले “यी सालाहरू हेर्दै हो नि, फिक्स हो नि” भन्दै थियोे ।
फेरि अर्को टास्क रचे । “तङबाको छोक्रा खा, खुरुक्कै खान थाले” भन्नथाले ।
अबभने, मेरो पनि निकै पारो तात्तियो । मेरा दुईजना साथीहरू मतिरै हेरिरहेका थिए । मैले भनेँ– सर आखिर हामी आतङ्कारी पनि होइनौँ । बेलुका अबेरसम्म जाँड खाएर बसेको बाहेक हामी निर्दोष छौँ । अरु जे कारबाही गर्नुहुन्छ, भोग्न तयार छु । तर छोक्रा खानचाहिँ सक्तिनँ ।
त्यसपछि उनीहरूबिच एकछिन छलफल भयो । अनि “आइन्दा यस्तो अवस्थामा यो तिमीहरूको अनुहार देखेको खण्डमा राम्रो हुनेछैन । यो पटकलाई तिमीहरूले छुटकारा पायौ” भने । अन्तिममा दुईजना साथीहरूले फेरि लुरो एकएक बुट बोनस पनि पाएका थिए । मामाहरूले मलाई पनि हानेकै हुन्, तर तर्किदा मेरो भाग ढिकले खायो ।
यति शिक्षा पाएपछि चुपचाप हत्तपत्त खाना खाएर हिलो लत्पतिएको कपडा बदलेर आराम गरियो ।
यत्तिकैमा मैले भोगेको द्वन्द्वकालको सबैभन्दा अविस्मरणीय उत्तरार्धको कथा यहीँ विसर्जन हुन्छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...