कप्तान रत्नबहादुर लिङथेप, २००७ को जनक्रान्ति र चैनपुर - Naya Online

कप्तान रत्नबहादुर लिङथेप, २००७ को जनक्रान्ति र चैनपुर

उत्तमकुमार लिङथेप

कुराः उहिलेका

हिजोआज वि.सं. २००७ सालको कुरा उप्काउनु मात्रै पर्छ, कुरा नसक्किदैं अचेलका युवाहरू भन्छन्– ‘ह्या उईलेका कुरा !’

हो त, साँच्चै २००७ साल भनेको उहिलेकै समय हो ! हाम्रा बाजे पुस्ताहरूले वि.सं. २००७ सालको जनक्रान्तिबाट एकतन्त्रीय जहाँनियाँ राणाशासकहरू विरुद्ध सशस्त्र क्रान्ति लडेर ल्याउनु भएको प्रजातन्त्रको उमेर सात दशक नाघिसकेको छ । मेरो हजुरबाबाट गन्दा म तेस्रो पुस्ताका मान्छे, म भन्दा दुई पुस्ता तलका केटाकेटीहरू नै बीस बर्षे उमेर पुग्न थालिसकेका छन् । छोटकरीमा भन्ने हो भने– वि.सं. २००७ सालको जनक्रान्तिमा लड्ने बहादुर नेपालीका सन्तानहरू खनाति पुस्तामा पुगिसकेका छन् । अहिलेको विज्ञान, प्रविधि, सूचना र सञ्चारको युगमा एक घण्टा त एक युगको रुपमा गणना हुने बेलामा वि.सं. २००७ सालका कुरा उहिले उहिलेका कुरा नहुने कुरै भएन ! अहिलेको अत्याधुनिक जमानामा हाम्रा नातानातिना पुस्ताकालाई सात दशक अघिका कुरा रामायण र महाभारत जत्तिकै पुराना कथा लाग्नु स्वाभाविकै पनि हो । अहिलेका पुस्ताका युवाहरूलाई राजा, राणा र कांग्रेसका लडाईंका कुरा निक्कै पुराना लाग्छन् । तर जब चैनपुर क्षेत्रका ६० नाघेका बुढापाकाहरू माझ वि.सं. २००७ सालको जनक्रान्तिको प्रसंग चल्छ, तब प्रसंगको मूल पात्रको एउटा नाम फ्याट्ट आइहाल्छ– कप्तान रत्नबहादुर । हो, अहिले चर्चा गर्न लागिरहेको व्यक्तित्वको नाम त्यही हो र प्रसंग पनि उही रत्नबहादुर लिङथेपको नै हो । संखुवासभाको चैनपुर र तेह्रथुमलाई जहाँनिया राणा शासनबाट मुक्त गर्न जनमुक्ति सेनाको नेतृत्व गर्दै सशस्त्र संघर्षबाट प्रजातन्त्र ल्याउन गरेको कठोर योगदानकै कारण उनको चर्चा हुने गरेको हो । उनलाई वि.सं. २००७ सालको जनक्रान्तिमा चैनपुरका सैनिक कमाण्डर, चैनपुर विजयपछि राजनीतिक प्रशासक तथा तेह्रथुमको युद्धका प्रमुख नायक पनि मानिन्छ । उनकै नेतृत्वमा दोस्रो पटकको सैन्य आक्रमणबाट तेह्रथुम जिल्ला एकतन्त्रीय राणा सरकारको अधिनबाट मुक्त गरी स्थानीय जनसरकार गठन गरिएको थियो ।

वि.सं. २००७ सालमा तत्कालीन राणा शासन विरुद्ध नेपाली कांग्रेसले शुरु गरेको सशस्त्र विद्रोहको प्रभाव पूर्व ६ नं. चैनपुरमा पनि पर्यो। चैनपुरको राजनीतिक इतिहासमा जनक्रान्ति शुरु गर्न जनमुक्ति सेना गठन गरी पूर्वको ऐतिहासिक राजधानी चैनपुरलाई सशस्त्र युद्धबाट कब्जा गर्ने श्रेय उनलाई नै जान्छ । यस बाहेक तेह्रथुम र दिङला कब्जा गर्न तथा खोटाङ, ताप्लेजुङ, धनकुटा आदि क्षेत्रको शान्ति सुरक्षा समेतको व्यवस्थापनमा उनको महत्वपूर्ण योगदान रहेको पाईन्छ । यो संक्षिप्त लेखमा वि.सं. २००७ सालको जनक्रान्तिमा चैनपुर क्षेत्र र उनको भूमिका बारे चर्चा गर्ने प्रयत्न गरिएको छ ।

पारिवारिक स्थिति
कप्तान रत्नबहादुर लिङथेपको जन्म वि.सं. १९५५ मा पूर्व ६ नं. चैनपुर नजिकैको बाघा गाउँमा भएको थियो । उनको बाजे सुब्बा बन्दवीर बाघाको चर्चित सुब्बा(जमिन्दार)हरू मध्ये एकजना थिए । उनका बुवा र आमाको नाम क्रमशः सुब्बा अगमध्वज र आमा फिपरानी एभेङ थोप्रा(साप्ला) हो । आमापट्टिका मावली एभेङ थोप्रा(साप्ला) हुन् भने बाबु पट्टिका मावली केदेम हुन् । उनका तीन श्रीमतीहरू पूर्णवती साम्याङखाम, माहिली सुखमाया साङपाङ र कान्छी राममती येहाङ समेतबाट ६ भाइ छोरा र ६ बैनी छोरी समेत १२ जना सन्तान भएका थिए । हाल उनको वंशमा छोराबुहारी तथा नातानातिनीहरू समेत ७२ सदश्यहरू जीवित रहेका छन् ।

उनको बुवाको निधन भारतको डुवर्समा भएको थियो । सानै उमेरमा नै बुवा परलोक हुनु भएकाले एक्ली आमाले उनको पालनपोषण गरेकी थिईन् । उ बेला राणाका सन्तान, दरबारीया, क्षत्री÷बाहुन र हुने खानेहरूले मात्र पढ्न पाउँथे । गाउँघरमा स्कुल थिएनन्, पढनलाई कि काशी वा दार्जिलिङ जानु पथ्र्याे कि त कुनै पढेलेखेका मानिसकोमा पढ्न जानु पथ्र्याे । यसरी पढ्दा लुकेर पढ्नु पथ्र्याे र पढाउने मान्छेको घरको सबै काम गरी दिनु पर्दथ्यो । उनले चिठी र तमसुक पढ्न लेख्न सक्नेसम्मको प्रारम्भिक शिक्षा घरैमा हासिल गरेका थिए । पछि ब्रिटिस इण्डियाको लाहुरे भएपछि पल्टनकै कोर्समा रोमन नेपाली, उर्दु तथा हिन्दी भाषाको शिक्षा समेत प्राप्त गरेका थिए । ब्रिटिस इण्डिया आर्मीको लामो अवधिको सैनिक सेवाबाट अवकास लिएपछि उनले गाउँघरमा सुब्बा जिम्मावालको हैसियतमा लेखेका थुपै्र कागजातहरू हेर्दा उनको लेखन शैली निकै उँचो स्तरको पाईन्छ । तीक्ष्ण बुद्धि, लगनशील र अनुशासित भएकै कारण उनले ब्रिटिस इण्डियन मिलिट्रीमा गोर्खालीहरूले प्राप्त गर्ने उच्चतम पद सुबेदार दर्जासम्म पदोन्नोति प्राप्त गरी रिटायर्ड भएका थिए ।

कप्तान रत्नबहादुर लिङथेपका बाजे सुब्बा वन्दवीरका तिन सन्तान मध्ये जेठा स्वर्गवास भई माहिला छोरा अगमध्वजको हातमा पुस्तैनी सुब्बाङगी अधिकार आएको थियो । सुब्बा अगमध्वज सयौं मुरी माटो(रोपनी) किपट जग्गाका मालिक थिए । उ बेला किपटियाले बिह्राएका जग्गाहरू किपट र रैतीहरूले बिह्राएका जग्गाहरू रैकर हुने गर्दथे । किपट जग्गा खोला पहिरो लागे वा बाँझिएमा र रैकर जग्गाका रैती बसाईं उठी रैती भर्ना हुन नसकी बाँझिएमा सो जग्गामा लाग्ने भूमि कर सुब्बा जिम्मावालले नै तिर्नु पर्दथ्यो । सो बक्यौता भूमि कर सरकारी बक्यौता सरह असुल गरिन्थ्यो । फलस्वरुप लिम्बू सुब्बाहरू श्रीजंग पल्टनलाई भूमि कर तिर्न नसकी टाट पल्टन्थे । यसकारण कतिपय लिम्बू(सुब्बा जिम्मावाल)हरू दार्जिलिङ, सिक्किम र बर्मातिर बसाईं जाने गर्दथे ।

सुब्बा अगमध्वजलाई पनि घरायसी र सरकारी(बक्यौता) ऋण लागेको थियो । त्यस बेला गाउँघरमा आम्दानीको कुनै स्रोतहरू थिएनन् । उ बेला रुपैयाँ पैसा कमाउन बर्मा, आसाम र दोरलिङ(दार्जिलिङ) तिर जाने चलन थियो । अतः वि.सं. १९६३ तिर उनका पिता विदेश लागेपछि फेरि फर्केर आएनन्, परदेशमा नै बिते । यता दस बर्षका टुहुरे बालक रत्नबहादुर एक्ली आमाको संरक्षणमा हुर्किनु पर्यो । उनको पुख्र्याैली सम्पत्ति अर्थात किपट जग्गाहरू प्रशस्त भए पनि साहु लागेका थिए । त्यसबेला लिम्बूका किपट जग्गाहरू छिन्ती राजिनामा हुँदैनथे, बन्धकी मात्र दिन सकिन्थ्यो । बन्धकी दिएका जग्गामा बढ थप(ऋणमा थप रकम) लिंदा लिंदा ऋणको ठूलो भारी उहाँले सानै उमेरमा बोक्नु पर्यो । वि.सं. १८३० मा चैनपुरमा भएको गोरखा लिम्बू युद्धका बेला उनका नजिकका दाजुभाइहरू भारतको डुवर्स, आसाम, याङवरक, धनकुटाको चौबिस र ईलामको नाम्सालिङतिर पलायन भएका थिए । यसरी आफ्ना कोखे र डोके भाइहरू बसाईं गएकाले किपट जग्गाहरू बाँझिन पुगेका थिए । त्यस्तै किपट बाहेकका रैकर जग्गामा बसेका रैतीहरू पनि धमाधम बसाईं गएकाले जग्गाबाट प्राप्त हुने आम्दानी घट्न थालेको थियो । यसर्थ प्रशस्त किपट जग्गा हुँदाहुँदै पनि श्रीजंग पल्टनलाई ठेक्का थिति बापत तिर्नुपर्ने राजश्व बाँकी लाग्न थालेकाले उनलाई जीवनयापन गर्न निकै कठिन भइरहेको थियो ।

ब्रिटिस इण्डिया सैनिक सेवामा प्रवेश
गरिबी, अशिक्षा र सामाजिक उत्पीडनबाट पिसिदैं युवा उमेरमा प्रवेश गरेका रत्नबहादुर लिङथेप, करिब २० बर्षको उमेरमा ब्रिटिस इण्डियाको लाहुरे भए । त्यतिबेला प्रथम विश्वयुद्ध भर्खरै समाप्त भएको थियो ।

उनले सैनिक सेवाको अन्त्यकालतिर सन् १९३९ देखि १९४५ सम्मको दोस्रो विश्वयुद्धमा जापानसंग बर्मा, मलाया र थाईलैण्डमा लडेका थिए । बर्मामा जापान विरुद्धको लडाईंमा झण्डै झण्डै उनले आफ्नो जीवन गुमाउनु परेको थियो । बर्माको घना जंगलमा २२ दिनसम्मको जापानी घेराबन्दीमा १५ दिन त भोक भोकै बसेका कुरा बेलाबेला आफन्तहरूसंगको गफगाफमा बताउँथे । ‘आकाशमा जापानी फाईटरहरू उडिरहन्थे रे, जापानीहरूले बर्माको जंगलमा अन्धाधुन्ध बम झार्थे रे । उनिहरू बंकर खनेर दिनभर लुकिरहन्थे रे । बर्माको जंगलमा लुक्ने गोर्खाली सैनिकहरूले बाँच्ने आशा मारिसकेका थिए रे, तर २२ औं दिनमा बल्लबल्ल ब्रिटिसको जहाजले खानेकुराहरू प्यारासुटबाट झारी दिएपछि उनिहरू भोकले मर्नबाट बाँचेका थिए रे । बर्मा युद्धमा ब्रिटिस इण्डियाको १/१० जिआरमा कार्यरत २ कम्पनी नेपालीहरूको फौज जापानीहरूले पक्डेर जापान पुर्याए । सो कम्पनीको फौजमा बन्दी बनाईएका मध्ये १÷१० जीआरका राईफलम्यान पूर्णबहादुर लिङथेप(मावादिन)लाई पनि करिब ६ महिना जापानी श्रम शिविरमा राखिएको थियो । उक्त जापानी श्रम शिविरमा युद्धबन्दीहरूलाई जापानी सेनाहरूका लागि युद्ध सामग्रीहरू ओसारपसार तथा राईफल मर्मत गर्न लगाईन्थ्यो । दोस्रो विश्वयुद्ध साम्य भएपछि ती गोर्खाली कम्पनीहरूलाई अमेरिकी फौजले जापानबाट उद्धार गरी बर्माको रंगुनसम्म ल्याएकोे थियो ।’ (लिङथेप, सु. तुलाराम :२०७४)

सन् १९४५ सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध थामिएपछि उनिहरू ईण्डोचाईना, बर्मा हुँदै भारत आइपुगेका थिए । सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटेनबाट स्वतन्त्र भएपछि ब्रिटिस इण्डियाको सेनामा कार्यरत गोर्खाली सेनाहरू विभाजित भए । गोर्खाली सेनाहरू बाँडफाँड गर्दा ब्रिटेनसंग ७ जीआर, १० जीआर र ११ जीआर(गोर्खा राईफल्स) जाने भए भने बाँकी पल्टनहरू भारतमा नै रहने भए । ब्रिटेनले ती गोर्खाली फौजहरूलाई मलाया, हङकङ र बु्रनाईमा लगेर राख्यो । सुबेदार रत्नबहादुर लिङथेप भने सन् १९४५ को अन्ततिर नै स्वेच्छाले पेन्सनमा निस्किए । सोही समयमा उनका भतिजा सुबेदार चन्द्रबहादुर लिङथेप, एमसी पनि उनिसंगै पेन्सन निस्केका थिए ।

कप्तान रत्नबहादुर लिङथेप ब्रिटिस इण्डियाको लामो सैनिक सेवाबाट सेवा निवृत भएपछि आफ्नो जन्मभूमि पुख्र्यौली गाउँ बाघामा आइपुगे । तत्कालिन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था फौजी अनुशासनबाट सेवा निवृत सुबेदार रत्नबहादुर, सुबेदार चन्द्रबहादुर, सुबेदार विष्णुलाल आदिका लागि सहज बनेन । उनिहरूलाई नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार र शोषण भएको अवस्था सहन भएन । सुबेदार रत्नबहादुर अन्यायको घोर विरोधी थिए । सुब्बा जिम्मावाल भएर पनि रैतीको हितका निमित्त पक्ष लिने कामहरू गर्न थालेपछि उनी विरुद्ध धनकुटा गौंडामा उजुरी पुग्यो, फलतः उनी राणा शासनको कोपभाजनमा परे । उनलाई धनकुटा गौंडाबाट सात दिने बेजमानी पूर्जी आयो । उनी आफै धनकुटामा राणा बडाहाकिमको सामु हाजिर भए । लामो पुछताछपछि बडाहाकिमले उनलाई चेतावनीसहित शासन विरोधी आरोपबाट मुक्त गरी दिए ।(लिङथेप, खम्बसिंह : २०६५) यस घटनापछि उनलाई गाउँमा बस्न मन लागेन । उ बेला बाघा गाउँका अन्य मानिसहरू हिउँदभरि आसाम, नागाल्याण्ड, खसिया हिल्स(कोईला खाद)तिर जाने गर्दथे । उनिहरू ती ठाउँहरूमा उखु खेती, काठ काट्ने र कोईला निकाल्ने काम गर्दथे । उनिहरू बर्खा लाग्ने बेलामा खेतीपाती चलाउन २÷४ रुपैयाँ कमाएर नेपाल फर्कने गर्दथे । यसकारण उनी आफ्ना गाउँलेहरूकै साथ लागेर इण्डियाको आसामतर्फ कुयँर(उखु) खेती गर्न लागेका थिए ।

फेरि स्वदेशी सेना नायक: जहानियाँ राणाशाहीको अन्त्य
वि.सं. २००७ सालको कार्तिक महिनामा बर्षे बाली थन्क्याएर आसाम जाने तयारी हुँदै थियो, राजा त्रिभुवन भारततिर भागे भन्ने हल्ला चल्यो । राजा विदेशतिर भागेपछि कार्तिक महिनादेखि नै नेपालमा राणा शासन विरुद्ध सशस्त्र विद्रोह शुरु भएकाले बाघाबाट आसाम जाने टोली यस बर्ष जान परदेश सकेन । यो विद्रोह तत्कालिन एकतन्त्रीय जहाँनिया राणा शासन विरुद्ध नेपाली काँग्रेस पार्टीको सशस्त्र संघर्षको आह्वान र नेपाली जनताहरूको स्वतःस्फुर्त सशस्त्र विद्रोहबाट शुरु भएको थियो । नेपाली जनता राणाशाहीको जहाँनिया हुकुमी शासनबाट आजित भएका थिए ।

‘नेपालको कानुन दैव नै जानून’ यो उखान यसै बनेको होईन । उ बेलाका राणा शासकहरूलाई मनमा जे लाग्दथ्यो, त्यही गर्थे, उनिहरू जे गर्थे– त्यही कुरा कानुन हुन्थ्यो । राणाहरू जे बोल्थे, त्यो नै कानुन हुन्थ्यो अर्थात राणाहरू कानुन भन्दा पनि ठूला थिए । साह राजाहरू नारायणहिटीमा सुरा, सुन्दरी र दुव्र्यसनमा मस्त हुन्थे भने राणाहरू श्री महल, केशर महल, बबर महल र सिंहदरबार जस्ता ठूल्ठूला महलहरूमा बसेर देश लुट्न व्यस्त थिए । आफुलाई धेरै भएका सम्पत्ति श्री ३ वीर समसेरकै पालादेखि विदेशी बैंकहरूमा रुपैयाँ पु¥याउँने चलनको थालनी भएको थियो । राज्यको आम्दानी उनिहरूको ढुकुटीमा सोझै दाखिला हुन्थ्यो । पहाडका राम्रा मलिला फाँट/बेंसी र मधेशका राम्रा मौजाहरू उनिहरूले राजाबाट पञ्जापत्र लिएर आफ्नो बनाई हाल्थे । त्यस बेला राणाहरू मात्र प्रधानमन्त्री हुने कानुन थियो । प्रधानमन्त्री को हुने ? भन्ने रोलक्रम पहिले नै निर्धारण गरिएको हुन्थ्यो अर्थात फलानोपछि फलानो श्री ३ महाराज र प्रधानमन्त्री बन्ने भन्ने निश्चित पालो बाँधिएको हुन्थ्यो । श्री ३ महाराज बन्नु भनेको नेपालको कानुन भन्दा ठूलो मान्छे ठानिन्थ्यो । त्यस्तै सेना तथा पुलिसतर्फका जर्नेल, कर्नेल र कप्तान पदहरू राणा बाहेक अरुले मुश्किलले मात्र प्राप्त गर्दथे । अड्डा अदालतमा डिठ्ठा विचारी सबै राणाहरूकै आसेपासे हुन्थे । नातावाद कृपावाद, चाकडी, सुराकीका आडमा सुरा, सुन्दरी र सलामीबाट मात्र राणाहरू रिझाउन सकिन्थ्यो ।

राणाका सन्तान गर्भमा नै जर्नेल हुन्थे, र उनिहरूको जन्म, विवाह आदि विविध कार्यहरूमा दाम राखेर मुहार हेर्नुपर्दथ्यो । राजा र राणाहरू क्रमशः देवता र मालिक थिए– जनताहरू रैती र दास थिए । उनिहरूलाई मन लागे छेत्रीलाई बाहुन र बाहुनलाई दलित बनाई दिन्थे । श्री ३ महाराज भीम समसेरले तामाङ जातकी महिला विवाह गरे । उनले आफ्नो र ससुरालीको जात, खान्दान र हैसियत नमिलेकाले उनले आफ्ना सारा ससुरालीहरूलाई जात उकासेर पाँडे क्षत्री बनाई दिए । यो जात ओराल्ने र उकाल्ने विरासत उनिहरूले काजी भीमसेन थापाबाटै सिकेका थिए । भीमसेन थापा अत्यन्तै क्रुर, विश्वासघाती र जातिवादी थिए भन्ने प्रमाण पाण्डे र बस्नेतहरूका छोराछोरी र स्वास्नीहरूको हुर्मत मात्रै लिएनन्, सर्वस्वहरणसहित जातिच्यूत गरी पोडे÷च्यामेको जिम्मा लगाएको निर्मम र कारुणिक इतिहास लुकाउन सकिन्न । कालान्तरमा भीमसेन थापाकै श्रीमती र छोरी बुहारीहरू पनि पाँडेहरूले च्यामखलक र पोडेहरूको हातमा सुम्पिएका थिए । उनकै षडयन्त्रमा राजा रणबहादुर साहले ज्यान गुमाएका थिए । सेनाको लगाम श्री ३ हरूमा हुन्थ्यो भने मधेशी र तामाङ लगायतलाई सेनामा भर्ना गरिदैनथ्यो । राणा, बस्नेत, थापा, पाण्डे लगायत खस, गुरुङ र मगरहरूलाई मात्र सेनामा ठूल्ठूला पदहरू दिईन्थे । जनतालाई पढ्न बन्देज थियो । राणा, भारदार र सिमित जातिका मानिसहरू बाहेक अरुलाई सुनका गहना लगाउन निषेध थियो । छुवाछुतको चलन चरमोत्कर्षमा पुगेको थियो । छोईछिटो भए चोख्याउनु पर्ने चलन थियो, विदेशबाट फर्केर आउँदा पतिया गर्नु पर्दथ्यो ।

नेपाली जनता सार्वभौम थिएनन्, राजा र राणाका रैती मात्र थिए । वि.सं. १९१० मा जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनले सारा नेपाली जनता ४ वर्ण ३६ जातमा विभाजित व्यवस्थालाई लिपिबद्ध गरेर औपचारिक रुपमा कानुनी मान्यता दिए । नेपाली जनता उँचनिच, जात र भातमा विभाजित थिए, जात र भात उकाल्न र ओराल्न सकिन्थ्यो । एउटै अपराधमा बाहुन, क्षत्री, वैश्य र शूद्रलाई फरक फरक दण्ड सजाय गरिन्थ्यो । बाहुन जातिलाई मृत्यदण्ड हुँदैनथ्यो भने क्रमशः क्षत्री, वैश्य र शूद्रहरूलाई जाति अनुसार सजायको प्रकृति कठोर र निर्मम हुँदै जान्थ्यो । बाहुनले सानो जातकी स्वास्नी ल्याए पनि उसका सन्तान मात्र पतित हुन्थे, लोग्ने बाहुन चाहीं पवित्र नै रहन्थे । जातै पिच्छेका कानुन थिए । तत्कालिन शासकवर्ग अभिजात क्षत्रियवर्ग थियो भने संरक्षक भूमिका पर्वते ब्राह्मणहरूले गर्दथे । यी दुई वर्गको अधिनायकत्वमा हिन्दुवादी नश्लीय जातिवादी शासन व्यवस्थामा वैश्यवर्गको अवस्था निकै कमजोर थियो भने कथित शूद्रहरूको अवस्था चाहीं पशुकोभन्दा निम्न अवस्थाको थियो । ब्राह्मणहरू भित्रै पनि भेदभाव हुन्थ्यो– पूर्वीया र पश्चिमा, उपाध्याय र जैसी, पहाडिया र मधेशी, कन्नौजिया र कान्यकुब्ज आदि आदि । आदिवासी जनजातिहरूलाई पनि विभाजित गरेर ‘मासिन्या’ र ‘नमासिन्या’ मतवाली बनाएका थिए । समग्रमा भारतीय वैदिक आर्यहरूको हिन्दू नश्लवादी धार्मिक परम्परालाई राज्य धर्म बनाई एकतन्त्रीय जहाँनीया शासन पद्धतिबाट नेपाललाई विश्व रंगमञ्चबाट अत्यन्तै टाढा राखिएको थियो ।
चाकडीबाजहरूले राणा तथा साह शासकवर्गको चाकरी गरेर बकस, नगद र ठूल्ठूला बिर्ताहरू प्राप्त गर्दथे भने शासकवर्ग भने मधेशमा सयौं बिघा र पहाडमा ठूल्ठूला वेंसीका खेतहरू जागिर बापत प्राप्त गर्दथे । वैश्यहरू मुख्य करदाता थिए भने शूद्र र साधारण जनताहरू पनि अनेकौं प्रकारका करहरू तिर्न वाध्य थिए, उदाहरणका लागि राजा र राणालाई खीर खानका लागि ‘साउन्या फागु’ भन्ने कर तिर्नु पर्दथ्यो । उनिहरूको परिवारमा हुने विवाहका लागि दाईजो र उपहारका दिन जनता(रैती)ले ‘गोडधुवा कर’ तिर्नु पर्दथ्यो । यस बाहेक झारा, बेठी, चन्द्रायण लगायत २० भन्दा बढी प्रकारका करहरू जनताले तिर्नु पर्दथ्यो ।

राणाहरूको अत्याचारले सिमा नाघिसकेको थियो । नेपाली जनता जसरी भएपनि जहाँनिया शासन फाल्न आतुर थिए । यही बेला टंकप्रसाद आचार्य, रामहरि जोशी र धर्मभक्तहरू लगायतका नेताहरूले प्रजा परिषद भन्ने पार्टी गठन गरेर राणाहरूका यस्तो क्रूर शासन प्रणाली विरुद्ध आवाज उठाइरहेका थिए । नेपाली जनताहरू बिस्तारै राणा विरोधी आन्दोलनमा सक्रिय भइरहेका थिए । सहिद धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्दहरूले वि.सं. १९९७ सालमा नै आफ्नो जीवन बलिदान दिइसकेका थिए । नेपाली जनतामा राजनीतिक चेतना बढ्दै थियो । यही सेरोफेरोमा वि.सं. २००६ सालमा दुईवटा पार्टी मिलेर नेपाली काँग्रेस पार्टी स्थापित भयो । वि.सं. २००७ सालमा नेपाली काँग्रेसले सशस्त्र विद्रोहको थालनी गर्यो । काठमाण्डौं पूर्वका वल्लो किरात, माझ किरात र पल्लो किरातमा पनि यसको प्रत्यक्ष प्रभाव पर्न थाल्यो ।

जनमुक्ति सेना गठन र त्यसको नेतृत्व
राजा त्रिभुवनले २१ कार्तिक २००७ मा भारतीय दूतावासमा स–परिवार शरण लिएपछि नेपाली काँग्रेसले नेपालभर सशस्त्र जनविद्रोह शुरु गरेकाले माझ किरातमा पनि यसको असर पर्यो । पूर्व ४ नं. भोजपुरका नारदमुनि थुलुङ, रामप्रसाद राई तथा विष्णुप्रसाद राईहरूले पनि जनमुक्ति सेना गठन गर्न थाले । यसै क्रममा वि.सं. २००७ साल मङसिरको पहिलो हप्तातिर नारदमुनि थुलुङ र पूर्णप्रसाद राईले चैनपुरका सुबेदार रत्नबहादुर लिङथेप र सुबेदार चन्द्रबहादुर लिङथेपसंग धनकुटामा गोप्य भेटघाट गरी जनमुक्ति सेना गठन गर्ने गोप्य सरसल्लाह गरे । स्मरण रहोस– नारदमुनि थुलङ सैनिक सेवामा जमदार पदमा रहँदा रत्नबहादुर लिङथेप सुबेदार(सिनिअर जेसिओ) पदमा थिए अर्थात सबैको सिनियर अफिसर थिए । ब्रिटिस फौजको तालिम केन्द्र क्वेटा छाउनी(हाल पाकिस्तान)मा कार्यरत रहँदा जमदार नारदमुनि थुलुङ, नारदमुनिका काका कप्तान हर्कराज राई, खोटाङका सुबेदार हप्पु गुरुङ र चैनपुरका सुबेदार रत्नबहादुरको चिनजान भएका कारण आपसी सम्बन्ध राम्रो रहेको थियो । भारतीय सेनामा कार्यरत रहँदा नारदमुनि थुलुङको सुबेदार रत्नबहादुर लिङथेपसंगको पूर्व परिचय र सुमधुर सम्बन्धका कारण नै धनकुटाको भेटघाटमा जनमुक्ति सेना गठन गर्ने सहमति भएको थियो । वि.सं. २००७ को जनक्रान्तिमा गठित जनमुक्ति सेनाको प्रमुख कप्तान पदमा क्रान्ति नायक नारदमुनि थुलुङ, हप्पु गुरुङ, हर्कबहादुर लिम्बू आदिले आफ्ना सिनियर अफिसर रत्नबहादुर लिङथेपलाई सर्वसम्मत रुपमा कमाण्डर स्वीकार गरेका थिए ।

धनकुटाको उक्त गोप्य सरसल्लाह बमोजिम नारदमुनि थुलुङको आदेशमा खोटाङका हप्पु गुरुङ, भोजपुरका विष्णुप्रसाद राई, खगेन्द्र पाराली राईहरू निज रत्नबहादुर लिङथेपकै गाउँ बाघामा आइपुगे । उनिहरू आएकै दिनदेखि बाघा गाउँमा जनमुक्ति सेनामा भर्ना हुन उर्दी लगाईयो र धमाधम भर्ती गर्न पनि थालियो । करिब ७ दिनको अवधिमा १५० भन्दा बढी पूर्व सैनिक तथा सिभिल जवानहरू जनमुक्ति सेनामा भर्ना हुन आए । उनिहरूलाई योग्यता, क्षमता र अनुभव हेरेर विभिन्न दर्जा दिई तालिम दिन थालियोे । गाउँघरमा भएका भरुवा र ठुटे बन्दुकहरू जम्मा गरिए । जनमुक्ति सेनाका जवानहरूलाई खाने, बस्ने र सुत्ने आदि व्यवस्था मिलाउन हवल्दार पूनाहाङ लिङथेप र सिपाही रणबहादुर गुरुङलाई जिम्मेवारी दिईयो । यस्तै कवायद खेलाउने, हतियार चलाउने र युद्धकला सिकाउने गुरुजी सुबेदार विष्णुलाल(प्रसाद) लिङथेप थिए । दुश्मनहरूको निगरानी गर्न दूरबीन सहित खम्बसिंह लिङथेप र सिपाही रामजित लिङथेप खटिएका थिए । यसरी संखुवासभामा वि.सं. २०७७ साल मङ्सिर १४ गते प्रजातन्त्र हेडक्वाटर भोजपुरको पत्र लिएर जनमुक्ति सेनाका दुई जवानहरू बाघा आइपुगे । प्रजातन्त्र हेडक्वाटर भोजपुरबाट पूर्व ६ नं. चैनपुर क्षेत्रको जनमुक्ति सेनाको सैनिक कमाण्डर(कप्तान पद)मा सुबेदार रत्नबहादुर लिङथेपलाई नियुक्त गरेको पत्र प्राप्त भयो । सो कमाण्डिङ टिममा प्रजातन्त्र हेडक्वाटर भोजपुरबाट खटी आएका खोटाङका हप्पु गुरुङलाई सहायक कमाण्डरमा काम गर्नू भनी नियुक्ति आदेश दिईएको थियो । त्यस्तै केही दिनपछि चित्लाङ गाउँका हर्कबहादुर कम्फे लिम्बू पनि सहायक कमाण्डरमा नियुक्त गरिएका थिए । सो जनमुक्ति सेनामा बाघाका सुबेदार विष्णुप्रसाद लिङथेप, हवल्दार पूनाहाङ लिङथेप, हवल्दार पूर्णबहादुर लिङथेप, राईफलम्यान रामजित लिङथेप साथै मावादिनबाट राईफलम्यान पूर्णबहादुर लिङथेप, ओपी खम्बसिंह लिङथेप, सिपाही रणबहादुर गुरुङ(लामा माईला), सिपाही पहलमान तामाङ र फाबिङबाट राईटर नरसिंहबहादुर फाबेन फागो, बैदार नरबहादुर फाबेन फागो, धनबहादुर फागो, मनबहादुर फागो आदि दर्जनौं पूर्व ब्रिटिस सैनिक तथा सिभिल जवानहरू भर्ती भएका थिए । मावादिनका ओली देवानलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको थियो । यस्तै वाना, मैदाने, मादी, तामाफोक आदि गाउँहरूबाट पनि जनमुक्ति सेनामा भर्ना लिन थालियो ।

यसरी वि.सं. २००७ साल मंगसिर १६ गतेका दिन झण्डै १५० जना मुक्ति सेनाका जवानहरूले दर्जनौं पटक हवाई फायर गर्दै बाघाबाट पनि राणा शासन विरुद्धको जनक्रान्ति थालनी भएको विधिवत घोषणा गरिएको थियो ।

चैनपुर कब्जा
वि.सं. २००७ सालको क्रान्तिमा ब्रिटिस इण्डियामा लाहुरे भई अवकास प्राप्त सैनिकहरूको भूमिका ज्यादै नै महत्वपूर्ण रह्यो । सन् १९४५ ताकाको दोस्रो विश्वयुद्ध लडिसकेका पूर्व ब्रिटिस इण्डियन सैनिकहरू राणाका सैनिकहरूको तुलनामा आधुनिक युद्धकला जानेका तालिम प्राप्त सैनिकहरू थिए । ब्रिटिस इण्डियाकोतर्फबाट दोस्रो विश्वयुद्ध लडिसकेका गोर्खाली सेनाहरू युद्धका हरेक दृष्टिकोणबाट राणाका सेनाहरू भन्दा अव्वल थिए । युद्धकला, मोर्चाबन्दी, आक्रमणको रणनीति, प्रत्याक्रमणको कौशलता, आधुनिक हतियारहरूको प्रयोग गर्ने सिप र क्षमता आदिका कारणले पनि राणा फौजहरू सहजै निरुत्साहित, निस्तेज र परास्त भएका थिए । जर्मन र जापानी सेनाहरूसंग लडेको उनिहरूको अनुभवले जनमुक्ति सेनाको राणाहरूका दरबारीया फौजहरूसंग तुलना गर्न सकिदंैनथ्यो । वि.सं. २००७ को क्रान्तिमा पूर्व ब्रिटिस इण्डियन सैनिकहरूको संलग्नता नै राणाशाही ढल्ने प्रमुख कारण बन्यो । ब्रिटिस इण्डियाका रिटायर्ड सैनिकहरूको आन्दोलन प्रतिको झुकावले प्रजातन्त्रिक पक्ष सशस्त्र विद्रोह गर्न सक्षम बन्यो । ब्रिटिस इण्डियाबाट अवकास प्राप्त दसौं हजार पूर्व सैनिकहरू भरुवा, टोटा र थ्रीनट थ्री राईफलका भरमा राणाहरूका फौजहरूसंग लड्न अघि बढेका थिए ।

तिनताका राणाहरूले गोरखाली फौजमा राई, लिम्बू आदिलाई लिदैंनथे । एकाध संख्यामा लिम्बूहरू राणा फौजमा भए पनि उनिहरू आम जनताबाट टाढा मात्र होईन, अलोकप्रिय पनि थिए । मध्ययुगीन सामन्ती समाजका प्रतिनिधिहरू बाहेक सबै जनता क्रुर जहाँनिया राणा शासनबाट मुक्ति चाहन्थे । लिम्बू जातिलाई विद्रोहबाट विमुख गराउन उनिहरूकै राजा सिरीजंगाको नाममा सिरीजंगा पल्टन खडा गरी त्यसको भरपोषण(तलब, भत्ता, रासन आदि) पनि लिम्बूवानकै आम्दानीबाट हुने व्यवस्था बनाई दिएका थिए । जनताबाट उठेका करहरू सोझै कम्पु पल्टनहरूको नाममा जम्मा गर्नुपर्दथ्यो । लिम्बूवानका ठूल्ठूला बेंसी र खेतहरू श्रीजंग पल्टनका खान्गीमा दरिएका थिए ।

उ बेला नारदमुनि थुलुङ र रामप्रसाद राईको अगुवाईमा पूर्व नेपालको जनक्रान्तिको मुख्य आधारभूमि भोजपुर बनेको थियो । भोजपुर छिनामखुका लोकप्रिय प्रजातान्त्रिक नेता नारदमुनि थुलुङले यस क्रान्तिलाई थप उँचाईंमा पु¥याउन अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए । उनकै गुप्त योजना र निर्देशनमा भोजपुरबाट हप्पु गुरुङ र पूर्णप्रसाद राई लगायतका विद्रोही नेता तथा लडाकु कमाण्डरहरू चैनपुर क्षेत्रमा सैनिक संगठन गर्न पठाईएका थिए । जमदार नारदमुनि थुलुङ, सुबेदार हप्पु गुरुङ र सुबेदार रत्नबहादुर ब्रिटिस सेनामा काम गर्दादेखि नै एक आपसमा परिचित भएकाले चैनपुरमा जनमुक्ति सेना गठन र सञ्चालन गर्न सहज भएको थियो । वि.सं. २००७ साल मङ्सिर २४ गते शनिबार नारदमुनि थुलुङको नेतृत्वमा बिना रक्तपात भोजपुर कब्जा भयो । त्यसको लगत्तै भोजपुरकै दिङला, खोटाङ, ओखलढुंगा, एेंसेलुखर्क समेत सर भयो ।

“प्रशासनिक विभाजन अनुसार धनकुटा जिल्ला गौंडा अन्तर्गत पर्ने बस्ती, बजार र केन्द्रमा राणाशासकहरूले सैनिक परिचालनको व्यवस्था मिलाउने क्रममा चैनपुर बजारमा पनि एउटा सैनिक टोली पठाईयो । २०/२५ जवान सम्मिलित पहिलो सैनिक टोलीमा पुण्यविक्रम शाहलाई कमाण्डर बनाई पठाईएको थियो । वि.सं. २००६ सालमा तत्कालिन बडाहाकिम खेम समसेर र सहायक लोचन समसेरले यो टोली धनकुटाबाट पठाएका थिए । कमाण्डर मेजर पुण्य विक्रम भएको त्यो टोली पूरा हातहतियारले सुसज्जित भएर चैनपुर आएको र चैनपुर बजारबीचमा अवस्थित मेजरपाटीमा अखडा जमाई बसेको थियो ।” (शाक्य २०५६ :१५)

चैनपुरको क्रान्तिमा राजनीतिक कमिसारका रुपमा पूर्णप्रसाद राई र खगेन्द्र पाराली, सेनाको कमाण्डरमा कप्तान रत्नबहादुर लिङथेप र सहायकमा कमाण्डरमा सुबेदार हप्पु गुरुङ, हर्कबहादुर लिम्बू(कोम्फे) र सुबेदार चन्द्रबहादुर लिङथेप(एमसी)लाई जिम्मेवारी दिईएको थियो । “वि.सं. २००७ मंसिर २६ गते सुबेदार हर्कबहादुर लिम्बूको नेतृत्वमा चैनपुर कब्जा गरी सुबेदार रत्नबहादुर लिम्बूलाई प्रशासक बनाईयो ।”(माबुहाङ २०६३ ः ५६) अर्जुन माबुहाङले चैनपुर युद्धको नेतृत्व हर्कबहादुरले गरे भनेका छन् । “वास्तवमा चैनपुर युद्धका सैनिक कमाण्डर सुबेदार रत्नबहादुर नै थिए र युद्धको नेतृत्व पनि उनैको थियो । सुबेदार हप्पु गुरुङ र हर्कबहादुर लिम्बू(कोम्फे) सुबेदार रत्नबहादुरका सहायक सैनिक कमाण्डरहरू भएकाले चैनपुर युद्धको कमाण्डिङ पनि उनैको मान्नु पर्ने हुन्छ । अर्काे कुरा– चैनपुर विजय मङ्सिर २६ गते भएको होईन ।”(लिङथेप, सु. तुलाराम : २०७४)

वि.सं. २००७ पुष २ गते चैनपुर विजयपछि क्रान्तिका सैन्य कमाण्डर कप्तान रत्नबहादुर लिङथेपलाई जिल्ला प्रशासकमा नियुक्त गरियो । त्यस्तै न्यायालयतर्फ मैदानेका धननारायण लिम्बूलाई प्रमुख नियुक्त गरियो भने डिठ्ठामा आशिकराम लिम्बू, बिचारीमा वानाका लावाहाङ याक्खा राई र राईटरहरूमा चैनपुरका जयबहादुर अधिकारी, नरसिंहबहादुर फाबेन लिम्बू आदि नियुक्त भए । बमप्रसाद राईलार्ई मालपोत प्रमुखमा नियुक्त गरियो । सुबेदार चन्द्रबहादुर लिङथेप(एमसी)लाई लप्टन पदमा पदोन्नोति गरी दैनिक प्रशासन तथा प्रहरी विभाग हेर्ने जिम्मेवारी तोकियो ।

तेह्रथुम आक्रमण, प्रत्याक्रमण र पुनः विजय
वास्तवमा तेह्रथुम कब्जा गर्ने जनमुक्ति सेनाका कमाण्डर र चैनपुरका सैनिक प्रशासक कप्तान रत्नबहादुर लिङथेपले गरेका थिए । चैनपुर युद्धमा सुबेदार हप्पु गुरुङ र हर्कबहादुर लिम्बू कप्तान बहादुर लिङथेपका सहायकहरू भएकाले युद्धको नेतृत्व स्वाभाविक रुपमा नै रत्नबहादुर लिङथेपको रहेको थियो । उक्त प्रथम आक्रमण भएको भोलिपल्ट नै धनकुटाबाट राणा फौजहरू रातभर हिडेर तेह्रथुम आइपुगे । उज्यालो हुनासाथ दुवै पक्षबाट युद्धको तयारी हुन थाल्यो ।

तेह्रथुम आक्रमणका सैनिक कमाण्डर कप्तान रत्नबहादुर लिङ्थेप म्याङलुङे तुम्बाहाम्फेहरू प्रति केही नरम थिए, यसो हुनाको कारण सुब्बा काजिमानका कान्छा छोरा पूर्णबहादुरका छोरा समशेरबहादुर तुम्बाहाम्फेहरू लिङथेपहरूका भानाभान्जा थिए । तेह्रथुमका राणा सरकारपट्टिका कप्तान गजेन्द्रबहादुर तुम्बाहाङफे सुब्बा काजिमानकै माईला छोरा सुबेदार लालबहादुरका छोरा थिए । यस अर्थमा गजेन्द्रबहादुर र समशेरबहादुर माईला र कान्छा दाजुभाइका सन्तान थिए । पहिलो आक्रमणमा चैनपुरको जनमुक्ति सेनाले तेह्रथुमे तुम्बाहाङफेहरूलाई आर्थिक, भौतिक तथा मानवीय नपुर्याउनुका प्रमुख कारणहरूमा सैनिक संयम, राजनीतिक सुझबुझ र सहानुभूति हुनु पनि हो । तर यो अवस्था दुई दिनमा नै तोडियो– वि.सं. २००७ पुस ६ गते धनकुटाबाट आएको राणा सैनिकहरूको सहयोगमा कप्तान गजेन्द्रबहादुरले युद्धको मोर्चा खोले । यस युद्धमा चैनपुरको बाघा गाउँ बस्ने जनमुक्ति सेनाका सिपाही रामजित लिङथेपले सहादत प्राप्त गरे । तेह्रथुमको सैनिक, प्रशासनिक तथा अन्य व्यवस्थापन हुन नपाउँदै धनकुटाबाट आएको राणा फौजबाट आक्रमण भएकाले जनमुक्ति सेना पछि हट्न बाध्य भयो । सातरेनुहाङ तुम्बाहाङफे वंशावली अनुसार ‘जनमुक्ति सेनाका क्याप्टेन हप्पु गुरुङ र मुक्तिप्रसाद चापागाईंहरूले २००७ साल पौष ३ गतेका दिन पहिलो पटक आक्रमण गरी तेह्रथुम कब्जा गरी लिएका थिए । ३ दिन पछाडि लगत्तै पौष ६ गतेका दिन धनकुटाबाट द्रोण समसेरको नेतृत्वमा आएको फौजले हप्पु गुरुङ र मुक्तिप्रसादले कब्जा जमाई बसेको तेह्रथुममा आक्रमण गरे । दोहोरो भीडन्त हुँदा जनमुक्ति सेनाका खाँदबारी जिल्ला याङसिजुङ बस्ने एक लिम्बूको मृत्यु भएको थियो ।’ (तुम्बाहाङफे २०६३ :९८)

वास्तवमा यो कथनमा कुनै सत्यता छैन– पहिलो कुरो यो आक्रमण हप्पु गुरुङ र मुक्तिप्रसाद चापागाईंहरूको नेतृत्वमा नभई चैनपुरका सैनिक कमाण्डर कप्तान रत्नबहादुर लिङथेपको नेतृत्वमा भएको थियो । त्यस्तै धनकुटाबाट लप्टन पद पाई गजेन्द्रबहादुर तुम्बाहाङफेको अगुवाईका राणा फौजले प्रत्याक्रमण गरेको थियो । सो आक्रमणमा याङसिजुङ नभई बाघा बस्ने सिपाही रामजित लिङथेपलाई निज गजेन्द्रबहादुरले नै पेस्तोलबाट गोली प्रहार गरी हत्या गरेका थिए । नारदमुनि थुलुङका अनुसार– ‘तेह्रथुममा अघि सल्लाहमा रहेको तेह्रथुमकै मित्र गजेन्द्रबहादुरको मातहतमा चल्ने चलाउने जिम्मा दिएर ताप्लेजुङ कब्जा गर्न जाने आदेश तेह्रथुम जाने साथीहरूलाई दिएको थिएँ । तर ती मित्र गजेन्द्र सुब्बा राणाहरूका फकाईमा लागेर लप्टन दर्जा लिन धनकुटा लागेका थिए ।’ (थुलुङ २०५७: ८२)

“चैनपुरका कप्तान श्री रत्नबहादुर राई, बाघा बस्ने सु. चन्द्रबहादुर राई, चित्लाङ बस्ने सुबेदार हर्कबहादुर लिम्बू, बाघा बस्ने पूर्णबहादुर, हापु गुरुङ र मुक्तिप्रसाद चापागाईं आदिलाई भोजपुरले दिएको निर्देशन अनुसार काम गर्ने जिम्मा सुम्पियो । भोजपुरबाट माष्टर खगेन्द्रप्रसाद पाराली राई, दिङलाबाट मुक्तिप्रसाद चापागाईं र उनका साथीहरू, चैनपुरबाट सु. हर्कबहादुर लिम्बू, हापु गुरुङ पछि कप्तान रत्नबहादुरहरूको नेतृत्वमा तेह्रथुम ८ गते कब्जा भयो ।” (थुलुङ २०५७: ८१)

‘पहिलो पटकको तेह्रथुम कब्जा असफल भएपछि पुनः वि.सं. २००७ माघ ८ गते चैनपुरबाट गएको सशस्त्र जनमुक्ति सेनाले रातको समयमा तेह्रथुम बजारलाई घेरा हाल्यो । सो दिन निज गजेन्द्रबहादुरका भाइको विवाह थियो । विवाहको भोलिपल्ट माघ ९ गते विहान ६ बजे नै जनमुक्ति सेनाका कमाण्डर रत्नबहादुर लिङथेपको नेतृत्वमा सुबेदार हप्पु गुरुङ, खगेन्द्र पाराली राई, हर्कबहादुर लिम्बू लगायत करीब १५० जनाको सशस्त्र जनमुक्ति सेनाले लप्टन गजेन्द्रबहादुर तुम्बाहाङफेलाई परेवाको घुरीमा लुकिरहेको स्थानबाट निकालेर गिरफ्तार गरेका थिए । निजका दाजु तथा भाइहरू महिलाको पोशाक लगाई भाग्न सफल भएका थिए ।’ (लिङथेप :२०७४) यस बेलासम्म धनकुटा तथा विराटनगरहरू जनमुक्ति सेनाका कब्जामा नभएकाले निज गजेन्द्रबहादुरलाई कैद गर्न चैनपुर हुँदै प्रजातन्त्र हेडक्वाटर भोजपुरतर्फ चलान गरिएको थियो । तेह्रथुममा गजेन्द्रबहादुर तुम्बाहाङफेको गिरफ्तारीपछि माघ ९ गते इलामका लोकबहादुर चेम्जोङलाई स्थानीय प्रशासक र साब्लाका सुब्बा लाखध्वज फुदोङलाई मालपोत प्रमुख नियुक्त गरियो ।

चैनपुरको जनमुक्ति सेनाको योगदान
जनमुक्ति सेनाले विजय गरेका ताप्लेजुङ, तेह्रथुम, चैनपुर, ओखलढुंगा र खोटाङ जिल्लाहरूमा शान्ति सुव्यवस्था कायम राख्न पनि उत्तिकै जरुरी थियो । धनकुटा, मोरङ र ईलाम विजय हुन बाँकी नै थिए । खासगरी तेह्रथुमको आठराई क्षेत्र र खोटाङतिर लुटपाट, साम्प्रदायिक दंगा तथा राज्य विद्रोह समेत हुन थालेको थियो । यसै क्रममा वि.सं.२००७ माघ १२ गते बिहीबारका दिन प्रजातन्त्र हेडक्वाटर भोजपुरबाट खोटाङ जंगी परेठमा सुबेदार चन्द्रबहादुर लिङथेप(एमसी)लाई १०० जवान सिपाही गोलीगठ्ठा सहित खोटाङमा भइरहेको लुटपाट रोक्न पठाईएको थियो । स्वयमसेवकका रुपमा सुबेदार विष्णुप्रसाद लिङथेपलाई निज लप्टन चन्द्रबहादुर एमसीको साथमा पठाइएको थियो । प्रजातन्त्र हेडक्वाटर भोजपुरबाट जारी सो आदेशमा पूर्णप्रसाद राईले हस्ताक्षर गरेको देखिन्छ । वास्तवमा पल्लो किरात क्षेत्रको समग्र शान्ति, सुरक्षा र व्यवस्थापनमा बाघाका लिङथेपद्वय कप्तान रत्नबहादुर र चन्द्रबहादुर एमसीको अतुलनीय योगदान रहेको देखिन्छ । उहाँहरूकै नेतृत्वमा करिब ३५० जवानहरूको सैनिक टोलीले चैनपुर, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुंगासम्म पनि जनमुक्ति सेनाले आफ्नो जिम्मेवारीहरू निर्वाह ग¥यो । यसमा पनि बाघा, मावादिन, फाबिङ, वाना र मैदाने क्षेत्रका १५० भन्दा बढी ब्रिटिस इण्डियाका पूर्व सैनिकहरूको योगदानलाई महत्वपूर्ण मान्न सकिन्छ ।

वि.सं. २००७ फागुन १ गते दिल्लीमा राजा, राणा र कांग्रेस बिच त्रिपक्षीय संझौता भएपछि जनक्रान्ति रोक्ने सहमति भयो । राजा त्रिभुवन नेपाल फर्किए, फागुन ७ गते १०४ बर्षे जहाँनीया राणा शासन समाप्त भई प्रजातन्त्र स्थापित भएको घोषणा गरियो । तर नेपालका कतिपय स्थानहरूमा क्रान्ति(विद्रोह) रोकिएनन् । भोजपुरबाट रामप्रसाद राईहरू हजारौं जनमुक्ति सेना लिएर काठमाण्डौं हान्न अगाडि बढे । पश्चिम, सुदुर पश्चिमबाट भीमदत्त पन्त, डा.के.आई.सिंह आदिले दिल्ली संझौता धोका हो भनेर क्रान्ति जारी राखे । चैनपुर क्षेत्रको सशस्त्र क्रान्तिको शुरुवात भोजपुरका नारदमुनि थुलुङको अगुवाई र सक्रिय नेतृत्वमा भएकाले सो जनमुक्ति सेनाका कमाण्डर रत्नबहादुर लिङथेप विचार, उद्देश्य र रणनीति अनुरुप स्वतः उनीप्रति उत्तरदायी हुने नै भए । यसकारण उनको नेपाली कांग्रेसको मूलधारसंग केही खटपट शुरु भयो । अतः वि.सं. २००८ मार्ग १ गते मातृकाप्रसाद कोईराला प्रधानमन्त्री बनेपछि उनलाई चैनपुरको जिल्ला प्रशासकबाट हटाईयो । यसको केही समयपछि उनलाई नेपाल सरकारले गोरखा दक्षिण बाहु(गो.द.बा) पदले सम्मान गरेको थियो ।

सामाजिक तथा शैक्षिक सुधारका कार्यहरू
कप्तान रत्नबहादुर लिङथेप एक कुशल सैनिक, राजनीतिज्ञ र संगठनकर्ता थिए । उसका अतिरिक्त उहाँ शिक्षाप्रेमी र समाज सुधारक पनि थिए । उ बेलाका सुब्बा जिम्मावालहरूले किपटीया दाजुभाइहरूबाट पनि रैती सरह झारा, ठेकी, बेठी तथा कोसेली लिने र किपटीयाले रैकर जग्गा कमाएको भए रैतीमा गणना गरी दशैंमा टीका तथा सिसार समेत लिने चलन थियो । यस्तै रैतीहरूले दशैंमा टीका थाप्न अनिवार्य सिसार ल्याउनु पथ्र्याे, उनले सो चलन कटौती गरिदिएका थिए । त्यस्तै रैतीहरूले रैकर जग्गाहरूको ठेग(मालपोत) नतिरे, जग्गा बाँझो राखे र बसाईं हिडेमा सो जग्गा पजनी गरी सट्टा रैती भर्ना गर्ने चलन हटाई रैतीकै नजिकका हकदारलाई प्राथमिकता दिने चलन उनले शुरु गरे । राणा शासन समाप्त भएपछि पनि चैनपुरदेखि पोखरी, चित्लाङ, नुनढाकी हुँदै चाँगे(ताप्लेजुङ)सम्मको हुलाकी बाटो बर्षैपिच्छे दशैंको बेला खनाउने चलनलाई गाउँ गाउँको सुब्बा जिम्मावालहरूमा भाग लगाई ५ दिनबाट घटाएर २ दिनको श्रमदान गर्ने व्यवस्था मिलाएका थिए । यसबाट यस क्षेत्रका सयौं जनताहरूलाई धेरै राहत मिलेको थियो । यस्तै चैनपुर बजारको हटिया लाग्ने टुँडिखेल सम्याउन पनि आफ्नो मौजाबाट सयौंजना मानिसहरूको श्रमदान गराएका थिए । आफ्नो गाउँघरको बाटोघाटो, खोलाका बाँसे पुल, कुवा, धारा, चौतारो तथा पाटीपौवाहरूको मर्मत, संरक्षण र सरसफाईमा पनि उनी उत्तिकै ध्यान दिन्थे ।

उनले आफ्नो गाउँमा थुप्रै सामाजिक तथा भौतिक निर्माणका कामहरू पनि गरेका थिए । बाघा गाउँको मेहेलेफेदी पिलुवाखोलामा चैनपुर जानका लागि काठे साँघु निर्माण गराएका थिए । बाघा गाउँदेखि तेह्रथुम जाने कागते देउराली हुँदै धनपोखरीबाट मंगलबारेसम्मको बाटो चौडा बनाउन श्रमदान गराएका थिए । यसैगरी बाघाको धर्मदेवी मन्दिर(देवीथान) स्थापना गर्न अगुवाई गर्दै आफ्नो नामको पित्तलको घण्ट पनि स्थापना गरेका थिए, जुन अद्यावधि छँदैछ । त्यस्तै मावादिन र बाघाको लखुवा दोभानमा लाग्ने महादेउ मेलालाई व्यवस्थित गरी त्यहाँ रहेको ऐतिहासिक महादेवको शीलालाई पहराको फेदमा सारिएको थियो ।

उनकै अगुवाईमा लखुवाखोलाको दाभानदेखि केही माथि ताक्तिफोमा यक(गढी)लाई लिङथेपहरूको ऐतिहासिक यक(गढी) हो भन्ने पहिचान गरी संरक्षणको प्रयास गरिएकोे थियो । यस्तै उनले लिङथेप वंशको उत्पत्तिस्थल ताप्लेजुङ जिल्लाको साबिक मेवाखोलाको लिङतेप गाउँ हो भन्ने जानकारी प्रचार प्रसार शुरु गरेका थिए । वि.सं. १९९९ सालमा उनले लिङतेप गाउँको भ्रमण गरी थुकिमाको वरकदेनमा रहेको ऐतिहासिक ‘नुगेयुङमा ईत’(चौतारो) पनि अवलोकन गरेका थिए । यसपछि उनले सुब्बा बुद्धिनारायण, सुब्बा रन्धोज, सुब्बा लक्ष्मीधोज आदिसंग मिली लिङथेपहरूको वंशावली खोजी कार्य शुरु गरेका थिए तर यो कार्य विविध कारणहरूले गर्दा त्यतिकै सेलाएर गयो । उ बेला लिम्बूहरूले आफ्नो थर(मिङ्स्रा) लेख्दैनथे, नाम पछाडि लिम्बू मात्र लेख्थे । नामको अगाडि आफ्नो जिम्मा, किपट वा पद लेख्दा राई, सुब्बा वा सुभा मात्र लेख्ने चलन थियो । उनकै प्रयासले गर्दा वि.सं. १९९९ सालदेखि नै लिङथेपहरूको थर लिङथेप हो भन्ने किटान भई लेख्न शुरु गरिएको हो । हाल लिङथेप थर लेखिएका प्रमाणित कागजहरूमा उनले मावादिनका सुब्बा दलबहादुर लिङथेपलाई वि.सं. २००८ सालमा लेखेको पत्र र सोही साल साहु मानदेउ गुरुङले बाघा बस्ने ऋणी बुद्धिलाल लिङथेपलाई दिएको तमसुकको भर्पाईमा कलमी सु. रत्नबहादुर लिङथेप र ऋणी बुद्धिलालको नामपछि लिङथेप थर लेखेको पाईन्छ ।

वि.सं. २००८ सालमा छिमेकी गाउँ मादी बिर्तामा दाहालहरूले विद्यालय स्थापना गरे । मादीका दाहालहरूसंगको मितेरी नाताले गर्दा श्रीप्रसाद दाहाल, लीलानाथ दाहाल, चन्द्रप्रसाद दाहाल, सीताराम दाहाल आदिसंग उनको राम्रो सम्बन्ध थियो । उनी समाजसेवीकासाथै शिक्षाप्रेमी पनि भएकाले आफ्नो गाउँमा स्कुल खोल्न मन लाग्यो । उनले वि.सं. २००९ सालमा भारतीय एक्ससर्भिसमिन (सेवा निवृत सैनिक)हरूका बालबच्चाहरू पढाउनका लागि भारतीय सरकारको आर्थिक सहयोग, स्थानीय बुद्धिजीवि तथा समाजसेवी सुब्बा बुद्धिनारायण लिङथेप समेतको अगुवाईमा बाघामा एउटा हाईअर प्राईमरी स्कुल स्थापना गरेका थिए । बाघामा स्थापना गरिएको विद्यालयको नाम श्री एक्स–सर्भिसमिन हाईअर प्राईमरी स्कुल, बाघा राखिएको थियो र हाल यो विद्यालय श्री जनता माध्यमिक विद्यालय, बाघाको नामबाट कक्षा १० सम्म सञ्चालित भइरहेको छ । यस विद्यालयको स्थापनादेखि झण्डै वि.सं. २०२१ सालसम्म भारतीय सहयोग मार्फत सञ्चालन हुने डिस्ट्रिक्ट सोल्जर्स बोर्ड, चैनपुरले आंशिक आर्थिक सहयोग गर्दथ्यो ।

वि.सं. २०१३ सालतिर मादीको डबले र हिंवाखोलापारी याङसिजुङमा पनि १/१ वटा प्राईमरी स्कुल स्थापना भएका थिए । यी दुवै स्कुलहरूका टिचरहरूको तलब भत्ता इन्डियन एक्स–मिलिटरी पेन्सन पेईंग अफिस (IEMPPO, Purnea) पूर्णियाले बेहोर्ने व्यवस्था मिलाइएको थियो । वि.सं. २०२० सालसम्म यी ३ वटै स्कुलहरूको रेखदेख र तलब भत्ताको केही रकम भारतीय सोल्जर्स बोर्डले दिन्थ्यो तर यसपछि भने सबै स्कुलहरू नेपाल सरकारलाई जिम्मा लगायो । वि.सं. २०२५ सालसम्म डिस्ट्रिक्ट सोल्जर्स बोर्ड, चैनपुरले केही आर्थिक सहयोग भने दिई नै रहेको थियो । यस कामको रेखदेख र सहयोग चाहीं डिस्ट्रिक्ट सोल्जर्स बोर्ड, चैनपुरका प्रमुख लप्टन चन्द्रबहादुर लिङथेप(एमसी)ले गर्दथे ।

जीवनको उत्तरार्ध
जीवनको अधिकांश समय भारतीय सैनिक सेवामा बिताएकाले उनको स्वभाव अलिक कडा मिजासको फौजी अनुशासनमा आधारित थियो । सेनाबाट अवकास लिईसकेपछि वि.सं. २००७ को जनमुक्ति सेनामा सामेल भई राणा सरकार विरुद्ध उनले अर्काे युद्ध लडे । पहिलो युद्ध विदेशी भूमिमा विदेशीकै लागि लडेका थिए भने दोस्रो युद्ध स्वदेशमा आफ्नै देशका लागि लडेका थिए । वि.सं. २००८ सालपछि उनको संलग्नता राजनीतिमा भन्दा सामाजिक क्षेत्रमा बढी झुकाव रह्यो । वि.सं. २००७ देखि वि.सं. २०१५ सालको अवधिमा उनको राजनीतिक सक्रियता नेपाली काँग्रेसको संगठन विस्तारतर्फ मात्र रह्यो । वि.सं. २०१५ को आम चुनावमा धनकुटा दक्षिण पश्चिम क्षेत्र नं. २२ का नेपाली काँग्रेसका उम्मेदवार लीलानाथ दाहाललाई विजय गराउन उनको महत्वपूर्ण योगदान गरेका थिए ।

वि.सं. २०१७ सालको राजा महेन्द्रको राजनीतिक ‘कु’पछि उनले स्वास्थ्यको कारण राजनीतिक जीवनबाट सन्यास लिए । उनको वृद्ध उमेर र शारीरिक अस्वस्थताले पनि सक्रिय राजनीतिबाट अलग बनायो । यसपछि उनको लगाव सामाजिक कार्यहरूमा हुन गयो । यस अवधिमा कप्तान रत्नबहादुर लिङथेपसंग भेटघाट गर्न नेपालका लब्धप्रतिष्ठित व्यक्तित्वहरू पनि आइरहन्थे । खासगरी लिम्बूवान र किपट व्यवस्था सम्बन्धी जानकारी लिन प्रख्यात किरात इतिहासकार ईमानसिंह चेमजोङ आएका थिए । त्यस्तै कांग्रेस नेता पूर्णकुमार सेर्मा र ब्रिटिस इण्डियाको पल्टनका नम्बरी तथा २००७ का सहयोद्धा सुबेदार हापु गुरुङ झापा जिल्ला हुँदै उनलाई भेट्न बाघा गाउँ आइपुगेका थिए । विख्यात इतिहासकार योगी नरहरिनाथ, काजिमान कन्दङवा आदि राष्ट्रिय व्यक्तित्वहरू भिन्न भिन्न समयमा उनीसंग भेटघाटका लागि आएका थिए । धनकुटाका बडाहाकिम मकरबहादुर वान्तवासंग उनको विशेष खालको सम्बन्ध थियो । योगी नरहरिनाथको चैनपुर आगमनको केही समयपछि ईमानसिंह चेमजोङ पनि आएका थिए । वि.सं. २०१९ तिर काजिमान कन्दङवा पनि कप्तान रत्नबहादुरसंग भेटघाट गर्न आएका थिए । दुर्भाग्यवश, चेमजोङ र कन्दङवाको भ्रमण र भेटघाट त्यति फलदायी रहेन । उनीहरूले खोजेका लिम्बू, लिम्बूवान सम्बद्ध लालमोहर, रुक्का, सनद, ढड्डा–तिर्जा आदि कागजातहरू रत्नबहादुरका जेठा छोरा चन्द्रकुबेरले आफ्नो बाकसमा राखी आसाम गएको बेला परेको रहेछ । निज चन्द्रकुबेरले पिता रत्नबहादुरको जीवनकालदेखि नै सुब्बाङ्गी जिम्मावाल कार्य सम्हाल्दै आएका थिए । यद्यपि ती कागजपत्रहरू अधिकांश हराए, नाश भए । वि.सं. २०३३ तिर रत्नबहादुरका कान्छा छोरा पूर्णकुमारबाट पुरातत्व विभागमा काम गर्ने एक जना कर्मचारी र चैनपुर माल अड्डाका हाकिम मणिशंकर चोङवाङले केही दिनका लागि अध्ययन गर्न भनेर लगिएका २७ थान लालमोहर, रुक्का, सनद आदि कागजपत्रहरू फेरि फर्केर आएनन् । अर्काे एक भनाई अनुसार– ‘योगी नरहरिनाथले चौबिसका प्रेमबहादुर माबोहाङ, आठराईका गुञ्जमान सुब्बा र तेह्रथुम तम्फुला बस्ने धनकुटाका पूर्व गभर्नर तथा सम्धि ललितबहादुर तुम्बाहाम्फेको बाहुली पत्र ल्याई निज रत्नबहादुरबाट सेनकालिन स्याहामोहर तथा अन्य कागजपत्रहरू संकलन गरेर लगेका थिए ।’ (खडकमाया तुम्बाहाङफे ः २०७०)

यद्यपि उनको छवि राजनीतिक पीडित व्यक्तिको बनेको थियो । वि.सं. २०३२ तिर पत्रकार गोविन्द वियोगीद्वारा सम्पादित हुने ‘मातृभूमि साप्ताहिक’ राष्ट्रिय समाचारपत्रले संखुवासभाका राजनीतिक पीडित व्यक्तिहरूको सूचीमा कप्तान रत्नबहादुर लिङथेप र गेहनाथ भट्टराईको नाम प्रकाशित गरेको थियो । सो समयमा राजनीतिक पीडित व्यक्तिहरूलाई नेपाल सरकारले तराईका झोडाहरूमा पुनर्वास योजना अन्तर्गत ४÷५ बिघा जमिन दिने कार्य चलिरहेको थियो, तर दुःर्भाग्यवश वि.सं. २०२५ सालमा नै उनको निधन भइसकेको हुनाले उनको परिवारले सो योजनाबाट कुनै लाभ लिन सकेन । बरु यस योजनाको फाईदा यस जिल्लाका केही कांग्रेसी चाकडीबाज र धूर्त व्यक्तिहरूले लिए, वास्तविक राजनीतिक पीडित व्यक्तिहरू भने बेनाम रहे । सोही ताका क्रान्ति नायक नारदमुनि थुलुङले उदयपुर जिल्लाको बसाहा भन्ने (भित्री मधेश) स्थानमा झोडा फाँडी भूतपूर्व सैनिक आदिलाई धमाधम बसोबास गराइरहेका थिए । नारदमुनि थुलुङसंग रत्नबहादुरका कान्छा छोरा पूर्णकुमार लिङथेपले संपर्क गरी राजनीतिक पीडित परिवारको रुपमा बसोबास गराउन अनुरोध गरेका थिए तर निज रत्नबहादुर लिङथेपको निधन भइसकेका कारण उहाँसंग राम्रो सम्बन्ध विस्तार हुन सकेन ।

त्यस्तै वि.सं. २००७ को जनमुक्ति सेनाका सिपाही रामजित लिङथेप तेह्रथुमको प्रथम युद्धमा सहिद भएका थिए । उनका बारेमा न सरकारले नै खोजखबर गर्यो नत काँग्रेसले नै । वि.सं. २००७ सालदेखि हालसम्म पनि नेपाली काँग्रेसले दर्जनौं पटक सत्तारोहण गरिसकेको छ तर सहिद रामजितका बारेमा एउटा सिन्को भाँच्ने काम समेत गरेन । वि.सं. २००७ सालको क्रान्ति नायक कप्तान रत्नबहादुर लगायत सयौं योद्धाहरूको खोजखबरसम्म पनि गरेन । अरु कुरा त परै राखौं– नेपाली कांग्रेस सत्ता नजिकका केही कांग्रेसीहरूले कप्तान रत्नबहादुर, लप्टन चन्द्रबहादुर, सुबेदार विष्णुलाल, हवल्दार पुनाहाङ र रामजित लिङथेप आदिको मानमर्दन हुने गरी विविध गतिविधिहरू गरे । उदाहरणको रुपमा– चैनपुरका केही नव कांग्रेसीहरूले वि.सं. २००७ सालको जनमुक्ति सेनाका कमाण्डर र सहिदको सट्टा अर्का योद्धा हर्कबहादुर लिम्बूको सालिक चैनपुरमा निर्माण गर्ने हल्ला चलाए । कप्तान रत्नबहादुरलाई राणापक्षसंग मिल्न खोजेको आरोप लगाउँदै केही पुस्तक पत्रिकाहरूमा क्रान्तिका असली कमाण्डर हर्कबहादुर र हापु गुरुङ हुन् भनेर प्रचार गरे । उनलाई एउटा पुस्तकमा कप्तान रत्नबहादुर भन्नुको सट्टा खोले सुबिदार भनेर हेय भावमा उनको नाम उल्लेख गरियो । क्रान्तिमा होमिएका योद्धा हवल्दार पूनाहाङ लिङथेपलाई बदमास र रक्स्याहाको रुपमा चित्रित गरियो । वि.सं. २००७ सालको चैनपुरको जनक्रान्ति नायकहरूलाई छायाँमा राखेर चैनपुरका केही नेवार र बाँडाहरूले क्रान्ति गरेको मिथ्या कथाहरू लेखिए । त्यसबेला लडाईंका डरले कोठामा लुक्ने, चपरासी काम गर्ने, भारी बोक्ने र भान्सेहरू अहिले ठूल्ठूला क्रान्तिकारी भएको प्रचार र डिंग हाँक्दैछन् । यथार्थमा ती गफाडीहरू त्यसबेला लडिएका युद्धहरूका रमिते, गाईजात्रे मात्रै थिए । उनीहरूको उखान र बखानहरूमा कुनै सत्यता छैन ।

वास्तवमा अहिले कप्तान रत्नबहादुर लिङथेप, लेप्टन चन्द्रबहादुर लिङथेप(एमसी) र सिपाही रामजित लिङथेप लगायतका राजनीतिक पीडित परिवारसंग बाबुबाजेको विरासतको रुपमा वि.सं. २००७ सालको पुरानो कथा बाहेक अरु केही छैन, कथा भन्ने अनि सुन्ने पनि कोही छैन । उनीहरूको वीरता, बलिदान र देशभक्ति केही बुढापाकाहरूको संझनामा मात्र सिमित छ । उतिबेलाका राजा, राणा र कांग्रेस बीचको त्रिपक्षीय संघर्षका कुरा पुराना भएका छन् । राणा र राजा फालिएर अहिले उनिहरूका नाती पनाती पुस्ताका युवाहरूले गणतन्त्रको स्वाद लिन थालेको पनि डेढ दशक नाघिसकेको छ । वास्तवमा भन्ने हो भने २०६२/०६३ को राजनीतिक आन्दोलन र परिवर्तनपछि ती वीर सपूतहरूको नाती पुस्ताहरूसंग नेपाली कांग्रेसको साईनो लगभग टुटिसकेको अवस्थामा पुगेको छ ।

‘वि.सं. २००७ पछि कप्तान रत्नबहादुर र चन्द्रबहादुरहरू राजनीतिक क्षेत्रमा निरन्तर लागिरहे पनि नेपाली काँग्रेसको मूल धारबाट सदा उपेक्षित भए । यसको मूल कारण उनको राजनीतिक सम्बद्धता कोईराला परिवार र उनका आसेपासेसंग नभई पूर्वका क्रान्ति नायक नारदमुनि थुलङ, रामप्रसाद राईहरूसंग व्यक्तिगत तथा राजनीतिक सम्बन्ध नजिक भएकाले ओझेलमा परे । यसको मूल कारण पूर्वी पहाडको जनक्रान्ति नेपाली काँग्रेससंग सम्बन्ध नभई थालिएको थियो । त्यस्तै नारदमुनि थुलुङकै भतिजा डा. भूदेव राई वीपी कोईरालासंग नेपाली काँग्रेसको सभापति पदमा चुनाव लडेका थिए । यस्तै विविध कारणहरू र नेपाली कांग्रेसको नातावाद, कृपावाद र फरियावादको जालोले कप्तान रत्नबहादुर लिङथेपको राजनीतिक उँचाईलाई दाहाल र रेग्मी परिवारको छातामुनि राखिदियो । कांग्रेसका मातृका र वीपी कोईराला पक्षले उनको मानमर्दन हुने गरी विविध कार्यहरू गरे । मातृका प्रधानमन्त्री हुने बित्तिकै उनलाई जिल्ला प्रशासकबाट हटाईयो । कालान्तरमा कप्तान रत्नबहादुर र लेप्टन चन्द्रबहादुर एमसीको राजनीतिक उँचाई घटाउन उहाँकै सहयोगी लडाकुहरू हापु गुरुङ र हर्कबहादुरलाई क्रान्तिका बहादुर योद्धा भनेर प्रचार गरियो । खासगरी यस्ता खाले निन्दनीय प्रचारबाजी कार्यहरू सो सात साले क्रान्तिको समयमा लप्टन चन्द्रबहादुर लिङथेप(एमसी)का चपरासी(पियन) रहेका एकजना ध्वाँसे भन्ने व्यक्ति आजीवन लागिपरेको देखिन्छ । उक्त क्रान्ति समयमा खाद्य विभाग प्रमुख(स्टोर किपर) हवल्दार पूनाहाङ लिङथेपले निज चपरासीलाई खानेकुरा भण्डारबाट सामान चोरी तथा हिनामिना गरेको आरोपमा कुटपिट गरेका कारण उसले जीवनभर बाघाली लिम्बू जनमुक्ति योद्धाहरू प्रति नकारात्मक सोच राखेको हो ।’(लिङथेप, सु. तुलाराम: २०७४)

नेपाली कांग्रेसका पुराना कार्यकर्ता तथा इतिहासका जानकारहरू भन्छन्– “कप्तान रत्नबहादुरको कुशल नेतृत्व, आँट, त्याग र बलिदानले जहाँनिया राणा शासनको जुवाबाट चैनपुर र तेह्रथुम क्षेत्रका नेपाली जनतालाई मुक्ति दिलाउन सक्षम भएको हो । अहिले उनीहरूको बहादुरीको गाथा नयाँ पुस्ताहरूलाई थाहा नभए पनि चैनपुर वरिपरि रहेका लामाचौर, चुनढुंगाको एक्ले पिपल, भ्यागुते ढुंगो, चैनपुरको मेजरपाटी र सिद्धिपुर गढी आदिले सात दशक अघिको सात साले कथा सुनाइरहेको अनुभूति गर्न सकिन्छ ।”(लिङथेप, सु. तुलाराम: २०७४)

स्रोत तथा सन्दर्भ सामग्रीहरू:
१. कार्की, डा. गोविन्दमानसिंह २०६५, वि.सं. २००७ सालको जनक्रान्तिमा भोजपुर, नारमुनि थुलुङ स्मृति परिषद, भोजपुर ।
२. तुम्बाहाङफे, लीलाबहादुर २०६३, सातरेनुहाङ तुम्बाहाङफे वंशावली र फेदाप लिम्बुवान, जेठानसिं भगिमानसिं तुम्बाहाङफे परिवार, तेह्रथुम ।
२. थुलुङ, नारदमुनि २०५७, बिर्सेका अनुहारहरू: बिर्सन नसकिएका घटनाहरू, नारमुनि थुलुङ स्मृति परिषद, भोजपुर ।
३. लिङथेप, खडकमाया तुम्बाहाङफे २०७०, पुर्खाका किर्तीहरू, कृष्ण तुम्बाहाङफे/सुरेश तुम्बाहाङफे, काठमाण्डौं ।
४. लिङथेप, खम्बसिंह: अन्तर्वार्ता २०४८।०८।१९
५. लिङथेप, सु. तुलाराम लिङथेप: अन्तर्वार्ता २०७४।०९।१५
६. शाक्य, भरतकुमार २०५६, २००७ सालको जनक्रान्ति र चैनपुर, चैनपुर साहित्य संगम, संखुवासभा ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

कप्तान रत्नबहादुर लिङथेप, २००७ को जनक्रान्ति र चैनपुर

उत्तमकुमार लिङथेप कुराः उहिलेका हिजोआज वि.सं. २००७ सालको कुरा उप्काउनु मात्रै पर्छ, कुरा नसक्किदैं...

प्रदेश नं. १ का प्रमुख  परशुराम खापुङद्वारा पदभार ग्रहण

विराटगर, २९ कात्तिक । प्रदेश नं. १ का प्रमुख  परशुराम खापुङद्वारा पदभार ग्रहण गरेका...

लिम्बू भाषाको गीत ‘चिताङ्सिर’को भिडियो छायांकन सम्पन्न

फेदेन, २७ कात्तिक लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो  शनिबार  छायांकन सम्पन्न भएको...

याक्थुङ लिम्बू जाति र मर्चा उत्पादन एक चिनारी

उदय पूर्वेली चोङ्बाङक्याक घरायसी जाँड बनाउन प्रयोग हुने मुख्य निर्विकल्प पदार्थ “मर्चा”को बारेमा हामी...

युद्ध साहित्य पुरस्कार केदार संकेतको ‘अफगानी रणमैदान’लाई प्रदान गरिने

-प्रकाश दिप्साली राई धरान, २५ कात्तिक । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध...

नियात्रा: सेभोइ ग्रिल, लण्डनका अविस्मरणीय यादहरू !

भीम राई भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरू टिमटिम टल्किरहेका मज्जाले...

याक्थुङ समुदायमा चेली माइतीबीच फूल वर्जित छ

दिलेन्द्र कुरुम्बाङ तिहार हिन्दूहरूको दशैंपछिको दोश्रो ठूलो चाड हो । दिपावली, दिवाली, यमपञ्चक आदि...

प्राचिन किरातकालिन नेपालसँग लिम्बू मानव समूहको सम्बन्धः केही तर्क र प्रमाणहरू

नन्द कन्दङवा ०. किरात शासनकाल र किरात मानव समूहको अस्तित्व कतिपयले किरात र प्राचिन...