नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष गर्ने क्रममा यो बेला उनी काठमाडौमा छन् । प्रायः हार्मोनियम र वाद्यवादनसँग भेटिने उनी अहिले हास्य टेलिश्रृंखला ‘गफै त हो सम्धी’मा पनि देखिन थालेका छन् । भीम राई प्रोडक्सन प्राइभेट लिमिटेड नामबाट उत्पादन भइरहेको यो श्रृङ्खला दर्शकदीर्घामा अहिले निक्कै रुचाइएको छ । दर्जनौँ गीत गाइसकेका उनी समाजसेवामा समेत सकृय छन् । उसो त उनले आपत विपतमा परेकाहरूको निम्ति सांगीतिक कार्यक्रमहरूको आयोजना गरेर मल्हमसमेत लगाएका छन् । उनै गायक तथा संगीतकार भीम राईको हालसालको सांगीतिक यात्राको बारेमा नयाँ अनलाइनको नयाँ साहित्य परिष्टांकको नयाँ भेटमा गरिएको कुराकानीको सार अंश ।
दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
दिनचर्या सामान्य तरिकाले चल्दै छ । नयाँ गीत संगीतको तयारी गरिदैँछ । अरु त्यही सधैं झैँ घरायसी काम, व्यबहार यस्तै छ चल्दैछ ।
दसैँतिहार कस्तो भयो, के कस्ता सिर्जनशील काम गर्नु भो ?
दसैँ तिहार घर परिवारसङ्गै मनाइयो,अलिक स्वास्थ्य स्थिती राम्रो नभएकोले देउसी भईलो कार्यक्रमहरू गर्न पाईएन, कुनै कार्यक्रमलाई समय दिन पनि पाईएन । समग्रमा भन्ने हो भने महत्वपूर्ण पर्वहरूमा खास रौनक छाउन सकेन ।
अहिलेको तपाईंको गीत संगीत यात्रा के कसरी चल्दैछ ?
अहिले पहिलाभन्दा अलिक फरक तरिकाले चल्दैछ । कोरोनाको कारण कलाकारलाई पहिलाभन्दा जिन्दगी गुजार्न गाह्रो छ । त्यही अनुरूप सांगीतिक काममा समय दिन पनी कन्जुस्याईँ गर्नुपर्ने स्थिती छ । तर यति भनिरहँदा पनी संगीतले नै अहिलेसम्म जिन्दगीको खास चुला चैँ बलेको छ ।
कोरोना कहरले संगीतलाई कत्तिको असर पुर्यायो ?
कोरोनाले संगीतलाई कति प्रभाव पर्योभन्ने कुरा त शायद सबैलाई महसुस भएकै छ जस्तो लाग्छ । किनकी संगीतलाई सबैभन्दा धेरै मनोरन्जनको माध्यमको रूपमा लिन्छन् । कोरोनाले मानव जातिको मनोरञ्जन भन्ने कुरा नै शून्य बनाईसकेपछि प्रभाव कति पर्यो ? बाँकी त हामीले भोगिसकेकै कुरा हो ।
काठमाडौमा संगीतमा स्थापित हुन कत्तिको कठिन छ ?
काठमाडौ नेपालको राजधानीमा संगितलाई नै एम बनाएर सफल बन्न गाह्रो नै छ। किनकी म ज्वलन्त उदाहरण छु । मैले कती दुःख भोगेको छु? म जस्ता संगीतलाई माया गरेर हिंड्ने सफल नहुने व्यक्तिहरू त्यही संगीतको कारण पागल भएको भेटेको छु। तेस्तै असफल भएर रक्सिको साहारामा मताहा भएको उदाहरण मैले देखेको छु। किनकी मिठो स्वर मात्रै, कला भएरमात्रै नहुदो रहेछ । जुनसुकै कुरा पनि पैसाको बिट्टोले चल्दो रहेछ। राजनैतीक पावरले चल्दो रहेछ । नाताबाद कृपाबाद चल्छ यहाँ।अहिले चलेका गायक भन्दा मिठो गाउने व्यक्तिहरू काठमाडौको गल्लीगल्लीमा हजारौं भेटिन्छन्। तर जसले जान्यो त्यही अगाडि जाने हो । त्यसैले प्रतिस्पर्धा गर्न धेरै गाह्रो छ।
म गायक बन्छु भनेर कुनै गीत गुनगुनाएको याद छ ?
गीत त गोठाला मेलापात अर्मपर्ममा थुपै्र गुनगुनाइयो । तर मैले जानेर म गायक बन्छु भनेर गुनगुनाएको गीत चैँ ‘पर लैजाउ फुलहरू…..’, प्रेमध्वोज प्रधान अग्रज दाईले गाउँनु भएको गीत हो ।
आजसम्म कति जति गीत गाउनु भो ?, अनि संगीत कति वटा गीतमा गर्नु भो ?
आजसम्म दर्जनभन्दा ज्यादा गीत गाइएछ । केही गीतहरूमा संगीत पनि भरिएछ ।
एउटा राम्रो गायक बन्न के गर्नु पर्छ ?
एउटा राम्रो गायक बन्न संगीत सिक्न जरुरतनै छ। त्योसँगै साधना अनिवार्य गर्नुपर्छ। किन ढाँट्नु हैन । त्योसँगै सुरुवातमा नेपाली समाजमा परिचित बन्न खर्च पनि त्यत्तिकै चाहिन्छ । राजनैतिक, आर्थिक र सामाजिक, यि तीन कुरालाई मिलाएर,लान सके राम्रो गायक बन्न सकिदो रहेछ । हिजोको जस्तो रमाम्रो गाएर मात्र चाहीँ राम्रो र सफल गायक नबनिदो रहेछ ।
तपाईंलाई गायन, गीत लेखन र संगीत भर्न कुन सहज लाग्छ ?
यी तिनै कुरा नै त्यति कै गाह्रो छ। किनकी यी तिनै कुरा तिनै चिज मिलेपछि मात्रै गीत बन्ने हो । जस्तै भावनामा बहकिनु पर्ने हुन्छ । बुद्धि पनि लगाउनै पर्ने हुन्छ। त्योसँगै बल पनि चाहिन्छ । त्यसैले तीनै चिजको महत्व उत्तिकै छ । मलाई चाँही धेरै गाइराखेको कारण गाउँनमा अलिक सहज महसुस गर्छु ।
तपाइको विचारमा संगीत के होला ? संगीतबिनाको मानव जीवन कस्तो होला ?
संगीत एउटा जीवनको अभिन्न चिज नै हो जस्तो लाग्छ । संगीत नजान्नेले पनि संगीत सुनेर जीवनको केही समय संगीतमै बिताएका हुन्छन् । संगीतबिनाको जीवन शायद नुनबिनाको तरकारी जस्तै नै होला ।
भावी योजनाहरू के के छन् ?
भावी योजना धेरै छन् तर तत्काल बन्दै गरेको गीत साकेला गीत गीतकार सम्भु बाछाना राईको को रचनामा सुदिता राई र मेरो भोकलमा छिट्टै यो हाम्रो किरातीहरूको महान पर्व उधौलीको लागि तयारी हुँदैछ । एरेन्ज राजु कार्की दाईले गर्नु भएको छ । सबैलाई धन्यवाद छ । ‘सँगै गफै त हो सम्धी’ सिरियलमा नायक तथा निर्देशक सुरेन्द्र बराल दाईलाई लेखन निर्देशनको जिम्मेवारी दिएको छु । अब यहाँहरू माझमा निरन्तर सिरियल पनि दिने कोशीस गर्ने छौं ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।