प्राचिन किरातकालिन नेपालसँग लिम्बू मानव समूहको सम्बन्धः केही तर्क र प्रमाणहरू - Naya Online

प्राचिन किरातकालिन नेपालसँग लिम्बू मानव समूहको सम्बन्धः केही तर्क र प्रमाणहरू

नन्द कन्दङवा

०. किरात शासनकाल र किरात मानव समूहको अस्तित्व
कतिपयले किरात र प्राचिन नेपालका शासक रहेका किरातकाल भनेको आधार विनाको इतिहास हो भन्ने गर्दछन् । लिच्छवीभन्दा अघि किरातहरू थिए भन्ने कुरा धेरै अभिलेख, भाषागत र सांस्कृतिक हिसावका तथ्य तथा प्रमाणहरूले सावित गर्दछ । अभिलेखको हिसावले हनुमान ढोकाको परिसरमा भाषा संस्कृत र लिच्छवी लिपीमा लेखिएको एउटा ढुङ्गाको पिलर (Steele) मा ‘भत्किएको किरात दरबार’भन्ने उल्लेख छ जुन ढुङ्गाको पिलर देगुतले मन्दीरको आधार बनाउन प्रयोग भएको छ । उक्त भत्किएको किरात दरबार प्राचिन बस्ति दक्षिणकुल भनिने दक्षिण कोलीग्राममा अवस्थित थियो भन्ने देखाइएको छ । भाषागत, सामाजिक र सांस्कृतिक हिसावका तथ्य र प्रमाणहरू त अनगिन्ती रहेका छन् । गोपालराजवंशावलीले प्राचिन नेपालमा ३२ पुस्ता किरात राजाहरूले शासन गरेको फेहरिस्त दिएको छ ।

१.मौखिकरूपमा रहेका भनाई तथा प्रचलन
किरात भनेको एउटा ठुलो मानव समूह हो जसभित्र धेरै फरक फरक पहिचानका मानव समूहहरू पर्दछन् । प्राचिन नेपालका किरातहरूकै कुरा गर्दा र विभिन्न मिथकहरूलाई आधार मान्दा किरात भित्र कर्कोटक नागवंशी, आसामबाट ल्याईएका र आएका अष्ट्रोलोईड (अष्ट्रो–एशियाटिक समूह) र मंगोलोईड अर्थात पुर्वी एशियन मानव समूह रहेको देखिन्छ । यो किरात शब्द आफैँले बनाएको नाम पहिचान नभएर बाहिरीय मानव समूहले दिएको नाम हो । यस अर्थमा यो एक्जो नेम (बाहिरीयहरूले दिएको नाम) हो । बाहिरीयहरू खास गरि आर्यहरूले शाररीक र वर्णको आधारमा यि सबैलाई किरात भनि दिएका हुन् भन्ने देखिन्छ । प्राचिन नेपालका किरात भनिएका मानव समूह पनि प्राचिन मगध–नेपाल–ल्हासाको बाटो भएर गंगा–ब्रह्मपुत्रको मैदानबाट नेपाल उपत्यका आएका हुन् र राज्य शासन गर्न पुगेका हुन भन्ने धेरै इतिहासकार तथा बिद्धानहरूको बिचार रहेको छ । कतिपयले भने नेपाल उपत्यकाको पुर्वी क्षेत्रमा रहेका थिए र तिनैले प्राचिन नेपालको शासन हात लिए र ३२ पुस्तासम्म राज्य गरे भन्ने बिचार दिएका छन् ।

धेरै इतिहासकारहरूले काश्मिरदेखी आसामसम्मका विभिन्न जातिहरू खासी, नागा, मनिपुरिया, चक्मा, बोडो, मेचे, थारु लगायतका धेरै मानव समूहहरू किरात हुन् भनेका छन् । यसअर्थमा किरात भनेको धेरै खाले फरक फरक पहिचान भएका मानव समूहहरूबाट बनेको एउटा ठुलो मानव समूह हो ।

नेपालको सन्दर्भमा, मौखिकरूपमा पुर्वका राई, लिम्बू, याख्खा र सुनुवारलाई किरात भन्ने गर्दछन् । राई, लिम्बू, याख्खा र सुनुवारले आफुलाई किरात भएको दावी पनि गर्दछन् । यसो त किरात भन्नेहरूमा थामी, हायु, जिरेल, सुरेलदेखि लिएर नेवार (ज्यापु), मगर र गुरुङहरू पनि छन् । तामाङहरूले आफु किरात भएको दावी गरेको स्थिति छैन । नेवा समुदायमा विभिन्न मिथकहरू छन् । ति मिथकहरूलाई पनि किरातकालिन मिथक र लिच्छवीकालिन मिथक भनेर छुट्याउन आवश्यक हुन्छ । लिच्छवीकालसँग सम्बन्धित नेपाल उपत्यका भित्रका धेरै मिथकहरूमा उपत्यकाको सिमानामा रहेका मानिसको रूपमा भेष बदलेर यहाँका स्थानियहरूलाई खेतिपातीमा सहयोग गर्ने कथित राक्षसहरू सहित लाखेको कथा आउछ । तिनीहरू को हुन् त भन्ने प्रश्नको जवाफ भने आउदैन । काठमाण्डौ उपत्यकाको वरिपरी तामाङ समुदाय रहेकोले सम्भवत ति मिथकहरूले उनीहरूलाई इंकित गर्न खोजेको त होईन भन्ने प्रश्न आउछ । यसो त प्राचिन नेपालका किरातहरूको अधिकांश बस्तिहरू नेपाल उपत्यकाको वरिवरी पहाडी भिरालो लगायत थान्कोट, गोकर्ण, भादगाउँ (खोप्रिङ), अहिदुम (गोकर्ण क्षेत्र), लोहप्रिङ (गोकर्ण क्षेत्र), मुहप्रीङ (गोकर्ण क्षेत्र), लेम्बती (लेले), माथन (बासबारी उत्तर), फरप्रिङ (फर्पिङ), बुगायुमी (बुङमती), थानकोटको क्षेत्रमा कादुङ, फेराङकोट्टा, किचप्रिङ, थेन्चो र जोलप्रिङ आदी क्षेत्रमा थियो भनेर लिच्छवीकालका अभिलेखको आधारमा इतिहासकार तथा केही विद्धानहरूले लेखेकाले यि ठाउहरू कोर क्षेत्रबाट बाहिर नै छन् । फेरि किरातहरू धान खेती हुने दक्षिण गंगा–ब्रहमापुत्र मैदानबाट आएकोले खेतीपातीको अनुभव थियो भन्न मिल्छ ।

अर्को कथा ईसापुर्व २५० पछि खास गरि सम्राट अशोकको समय पछि मगधमा ब्राह्मणहरूले विद्रोह गरे भने कोसल राज्यले कपिलबस्तुमाथी आक्रमण गर्यो । उक्त आक्रमणमा हजारौ बौध शाक्यहरूको हत्या भयो । सो आक्रमणबाट बच्न कपिलबस्तुका शाक्यहरू विभिन्न क्षेत्रतिर भागे । ति भाग्ने समूह मध्ये एक समूह प्राचिन नेपालको किरात राज्यमा पसे र शरण लिन आईपुगे । तिनै शाक्यहरूले कपिलबस्तुमा धेरै कुरा बिकास गरिसकेको र खेतीपाती गर्न कुशल भएकोले शुरुमा यिनीहरू पनि नेपाल उपत्यकाको सिमामा नै आएर बसे । त्यसपछि उपत्यका भित्रका स्थानियहरूलाई धेरै काममा सहयोग गरे भनेर मानेमा स्थानियहरूलाई खेतीपातीमा मानिसको भेष बदलेर सहयोग गर्ने कथित राक्षसकोरूपमा चित्रण गरिएका समूह शाक्यहरूको समूहहरू हुनै सक्दैनन् भन्ने पनि छैन । अलि पछिल्लो समयमा शाक्यहरू कोर क्षेत्रमा आएर बसे भनेर मानेमा यम्बुमा शाक्यहरूको कारणबाट उत्तरी र दक्षिणी कोलियग्राम विकास भयो भन्न सकिन्छ । प्राचिन किरातकालिन नेपालमा किरातहरू प्राकृत (Annemist) विश्वास प्रणालीका मानिसहरू भए पनि बौद्ध धर्मको प्रभाव र बिस्तार यिनै शाक्यहरू उपत्यकामा आए पछि भएको देखिन्छ । यसैले, यि विषयहरूमा अरु थप अध्ययन गर्न आवश्यक होला ।

थारु, दनुवार पनि किरात समूह भित्रकै होलान । लिम्बूहरू रहेको लिम्बूवान भूमिलाई पल्लो किरात, राईहरू रहको भूभागलाई माझ किरात र सुनुवार, थामी, हायु रहेको भूभागलाई वल्लो किरात भन्ने प्रचलन र लिखतहरू राणाकालसम्म नै थियो । यसैले बोलचालको प्रचलनमा प्राचिन नेपालमा ३२ देखी ३४ पुस्तासम्म राज्य शासन गर्ने किरात भनिएका मानव समूहसँग विशेष त राई, लिम्बू, याख्खा र सुनुवारलाई जोडेर हेर्ने प्रचलन छ यद्यपी प्राचिन नेपालका किरातहरूको विश्लेषणबाट नेवा (ज्यापु, खडगी लगायत) समूह किरात मानव समूह मध्येको एक मुख्य मानव समूह हुन भन्ने देखिन्छ ।

यतिखेर, लिम्बू एक अलग पहिचान भएको मानव समूहकोरूपमा स्थापित भईसकेको छ । लिम्बूलाई याक्थुङ भन्ने गरिन्छ । यो जाति समूह ३ वटा मानव समूह सिन्युक मुदेनसा (समूह), खाम्बोङबा–लुम्बोङबासा(समूह) र तेमेनसा(समूह) एक आपसमा बिलय भएर बनेको एक राष्ट्र हो । यस भित्रको खाम्बोङबा–लुम्बोङबा र तेमेन समूह सहितका लिम्बू समुदाय प्राचिन नेपालमा राज्य शासन गर्ने किरात भनिएको मानव समूहसँग सम्बन्धित छन् भन्ने देखिएको छ । समग्रमा लिम्बू अर्थात याक्थुुङ मानव समूहको प्राचिन नेपालमा राज्य शासन गर्ने किरात भनिएको मानव समूहसँग नजिकको सम्बन्ध छ भन्ने देखिएको छ ।

२. सम्बन्ध देखाउने आधार र प्रमाणहरू
कुनै पनि मानव समूहको अर्कोसँग सम्बन्ध छ कि छैन भनेर ५ वटा आधारमा हेर्न सकिन्छ । पहिलो हो, वंश वृक्ष । यसले सोझो सम्बन्ध देखाउछ । दोस्रो हो, लिखत प्रमाणहरू । एक मानव समूहसँग अर्कोको सम्बन्ध प्राचिन लिखत प्रमाण तथा अभिलेखहरूले देखाउछ । तेस्रो हो, सांस्कृतिक सम्बन्ध । ति दुई मानव समूहका संस्कृतिहरू एउटै या उस्तै उस्तै छन् खास फरक छैन भने पनि दुईटाको वीचमा कुनै समयमा वंशीय समिप्यता थियो भन्न सकिन्छ । चौथो हो, भाषागत सम्बन्ध । कुनै पनि ठाउको ठाउ, गाउ, खोला, डाँडा आदीको नाम जुन मानव समूह पहिले आएर बस्यो त्यहि मानव समूहको भाषामा अर्थ लाग्ने गरि रहेका हुन्छन् । प्राचिनकालमा रहेका ठाउ गाउ, खोला, डाँडा आदीको नामको अर्थ अर्को मानव समूहको भाषामा लाग्छ या जोडिन्छ भने त्यसले भाषागत वंशीय सम्बन्ध देखाउछ । भाषागत हिसावले कुनै समूहहरू वीच भाषा अत्यधिकरूपमा मिल्छ भने त्यसले भाषागत वंशीय सम्बन्ध देखाउछ । पाचौ हो, पुरातात्वीक बस्तु । पुरातात्वीक बस्तुका साथै एउटा मानव समूहको शाररिक बनावट अर्कोसँग मिल्ने कुराहरूले पनि एउटा मानव समूह र अर्को मानव समूह प्राचिन समयमा एउटै थियो भन्ने देखाउछ ।

३. प्राचिन नेपालमा शासन गर्ने किरात र लिम्बू मानव समूहको सम्बन्ध
३.१ वंश वृक्ष
३.२.२ वंशावली लेखन चलन
कुनै दुई या दुई भन्दा बढी मानव समूहहरू प्राचिन समयमा एउटै थिए भन्ने सम्बन्ध देखाउने पहिलो आधार –वंश वृक्ष हो । वंश वृक्ष भनेको थाहा भएसम्मको वंश पुस्ता जोडीएको वंशको थाक हो । यस्तो वंश वृक्ष विभिन्न कारणले शुरुदेखीको थाहा पाउन सम्भव हुदैन । एउटा निश्चित पुस्तादेखी मात्र उक्त वंश वृक्ष थाहा हुन सक्छ । पहिले यस्तो वंश वृक्षको रेकर्ड राख्ने चलन थिएन । लेख्ने लिपी र लेख्ने चलन नै नभएको अवस्थामा मौखिकरूपमा मानिसहरूले जति सम्झन्थे त्यति नै र त्यहिदेखि तिनको वंश पुस्ता शुरु गर्ने धेरै उदाहरणहरू छन् । इतिहासमा राजाहरूको वंश शासन क्रम मात्र वंशावलीकोरूपमा लेखिने चलन थियो । यसैले, चिनमा कोङ वंशको ईसापुर्व ४–५ शताब्दिबाट त्यस वंशको एक नामी व्यक्ति कन्फ्युसियसदेखी वंशावलीको विवरण दिएको देखिन्छ । त्यो भनेको २५ सय वर्ष अघिदेखीको वंश पुस्ताको विवरण हो । तर त्यो उक्त वंशको शुरुदेखीको वंश पुस्ता विवरण होईन । अहिले सो वंशको ७८ पुस्ता पुगेको छ । नेपालको सन्दर्भमा शासक राजवंशको व्यवस्थित वंशावली गोपालराज वंशावलीको लेखनपछि ईस्वीको १४ औ शताब्दिबाट मात्र राख्न र लेख्न थालियो । अझ लिम्बूहरूको वंशावली १८ औ शताब्दिको मध्यको आसपासदेखि मात्र केहीले टिप्पन गर्न शुरु गरेको देखिन्छ । लिम्बूहरूको ७ पुस्तासम्म नाता सम्बन्ध केलाउने र खेदाउने परम्परागत चलन रहेकोले एउटा वंशले करिव २०० वर्षसम्मको वंश पुस्ता सजिलै थाहा हुन्छ । यो ७ पुस्तासम्म नाता सम्बन्ध केलाउने प्रचलन पनि १० लिम्बूवान (थिबोङ याक्थुङ) हरूले थिति बाँधेपछिको चलन होला । यसको अर्थ वंशावली टिप्पन गर्न थालेदेखि ७ पुस्ता र त्यसअघिको ७ पुस्तासम्मको वंश पुस्ता अर्थात ४०० देखि ६०० वर्षसम्मको वंश पुस्ता परम्परागत प्रचलनका कारण केही हदसम्म ठिकै हुन सक्छ भन्न सकिन्छ । त्यसभन्दा अघिका वंश पुस्ताहरूको विवरण ठिक हुन् भनेर भन्ने आधार पाउन गाह्रो छ ।

३.१.२ मांगेन्न मुन्धुम र वंशावली
यससँगै लिम्बू समाजमा सो वंशका पुर्खा कताबाट कता गए र कहाँ कहाँ बसोबास गरे भन्ने वर्णन गर्ने एउटा मुन्धम आउछ जस्लाई माङ्गेन्ना मुन्धुम भनिन्छ । वास्तवमा यो मुन्धुम भनेको उक्त वंशका मानिसहरूको शिर उठाउन गरिने अनुष्ठानमा फलाकिने मुन्धुम हो । कतिपय लिम्बू वंशको माङ्गेन्ना मुन्धुममा विभिन्न पुर्खाहरूको नाम लिने गरिन्छ भने कतिपयकोमा नाम आउदैन । ठाउहरूको नाम मात्र आउछ । यो माङ्गेन्ना मुन्धुम कहिले बन्यो भन्ने कुराले सो वंशको धेरै कुराको निर्धारण गर्दछ । हुन त मांगेन्न मुन्धुम मानिसको सृष्टीबाट नै जोडेर ल्याउने गरिन्छ । सृष्ट्रिबाट जोडेर ल्याएता पनि सबैजसो लिम्बू वंशको माङ्गेन्ना मुन्धुम एउटा निश्चित स्थानबाट निश्चित समय यताको अवधिलाई मात्र समेटेर बनेको देखिन्छ । उक्त निश्चित स्थान र समयभन्दा अघिको कुरा जोडिन्न । उदाहरणको लागि कन्दङवा लगायत केही लिम्बू वंशको माङ्गेन्ना मुन्धुम तेमेन काशीबाट शुरु हुन्छ । कन्दङवा वंशको माङ्गेन्ना मुन्धुमले विभिन्न ठाउ हुदै सुम्बादोभा, साँगुरी, जलाहारा, बेलाहारा, याक्चाना, हाक्पारा, नावढुङ्गे, सिमरा, पित्तोलुङ, थगक्लुङ भएर बोखिम यकमा ल्याएर बिसाउछ । काशी भन्दा उताको माङ्गेन्ना मुन्धुम आएको या जोडेको देखिन्न । सृष्टिबाट एकै चोटी काशी पुग्छ । यसको अर्थ हजारौ हजार वर्षको वंश वृक्ष या पुस्ता नआउन र नजोडिन सक्छ । यसैले कतिपय अवस्थामा आएको रुट (मार्ग) लाई आधार बनाएर बिश्लेषण गर्न पर्ने हुन्छ ।

प्राचिन नेपालमा किरात भनिएकाहरूको शासनकाल ईसापुर्व ९–१० औ शताब्दिबाट शुरु भएको मानिन्छ यद्यपि कतिपयले ईसापुर्व सातौ/आठौ शताब्दिबाट शुरु भएको मान्दछन् । किरात भनिएका मानव समूहको राज्य शासन टुटेको करिव ८–९ सय वर्ष पछि (विभिन्न लिम्बू वंशका वंशावलीहरू अनुसार) लिम्बू वंशको वंशावली शुरु भएको देखिन्छ । यो ८–९ सय वर्षको करिव २५ देखी ३०÷३१ पुस्ता हुन्छ । त्यसको विवरण पाउन अहिले सम्भव छैन । ति वंश पुस्ताहरू धेरै मानव समूहमा विभाजन भईसकेको स्थिति होला भन्न सकिन्छ । दक्षिणतिर लागेका यो मानव समूहका कतिपय समूह अरु नै मानव समूहमा बिलय भईसकेको स्थिति पनि होला । प्राचिन नेपालका किरातहरूहरूको ठुलो हिस्सा नेवा मानव समूहमा बिलय भयो । नेपाल उपत्यकालाई त्यागेर जाने शासक बर्गका किरातहरूको संख्या त त्यसबेला बढीमा ४०/५० देखि डेड दुई सय थिए होला भनेर अनुमान गर्न सकिन्छ । तिनीहरू पनि विभिन्न ठाउहरूमा बसोबास गर्दै एक ठाउँबाट अर्को ठाउँ बसाई सराई गरेर गएको ८–९ सय वर्षको इतिहास तथा वंश विवरण पाउन सकिन्न ।

यस्तो चाही हुन सक्छ कि उक्त समूहको प्राचिन ऐतिहासिक पुर्खा तथा व्यक्तित्वको नाम सो मानव समूहका मानिसहरूमा पुस्ता पुस्तामा हस्तान्तरण हुदै कुनै फरक नाम या देवताको नाममा परिवर्तन भएको हुन सक्छ । यसबाहेक अन्य मुन्धुमहरूमा आएको विभिन्न राजा, पुर्खा तथा बिशेष व्यक्ति र वंशहरूको वर्णनहरूलाई आधार बनाउन सकिन्छ । उदाहरणको लागि प्राचिन नेपालमा राज्य शासन गर्ने वंशको राज्य पतन भएपछि पुर्वी क्षेत्रमा आएका अन्तिम राजा लिलिमहाङ (सुसुवादेन लिलिमहाङ याक्थुङहाङ) बारे मुन्धुमले वर्णन गर्दछ । शायद यसैलाई कहि कतै कथामा आउने लिंगम या भुईफुट्टाहाङ भनेको हुन सक्छ । तर भुईफुट्टाहाङ भनेको चाही किराती राजा फुकोङ होला भनेर अनुमान हुन्छ । फेरि भुईफुट्टा भनेको संस्कृत शब्द भएकोले यो धेरै पछि संस्कृतकरण भए पछि कसैले नामाकरण गरेको हुन सक्छ । सुसुवादेन भनेको ठाउ त फेदापमा रहेको छ । यसैले यि सुसुवादेन लिलिमहाङ याक्थुङहाङले ईस्वीको २–५ शताब्दितिर फेदापमा आएर बसे र स्थानिय तहको राज्य खडा गरि शासन चलाएका थिए भन्ने अर्थ निस्कन्छ । यो सँगै एउटा कुरा के बुझ्न आवश्यक छ भने अहिले लिम्बूवान भनिएको भूमि ईस्वीको ११–१२ शताब्दिसम्म जंगलात मुलुक थियो भन्ने केही इतिहासकारहरूको दावी रहेको छ । यस्तो जंगलात मुलुकमा ईस्वीको आठौ–नवौ शताब्दितिर २÷४ ठाउ बाहेक मानव बस्ति थिएन भनेर सहजरूपमा अनुमान गर्न सकिन्छ । यिनै सुसुवादेन लिीलमहाङ याक्थुङहाङको नाम उनका पुस्ताहरूमा हस्तान्तरण हुदै पछिल्लो पुस्तासम्मले स्मरण गरिरहे होला भन्न सकिन्छ र उक्त नाम मुन्धुममा पर्न गयो । यिनैका शाखा सन्तानहरू त्यस क्षेत्रको भूगोलमा फैलिए । पछिल्लो समयमा तिनैका शाखा सन्तानहरूलाई पछिबाट आउनेहरूले बिस्थापन पनि गरे । जानिफकार तथा बुढापाकाको श्रोत अनुसार ति मध्ये कतिपय त आसामतिर पनि गए भन्ने भनाई छ ।

यसैगरि, लिलिमहाङ पछि धेरै पुस्ता पछिका आठ राजा (१) होन्देनहाङ (२) चस्वीहाङ (३) याकेदेतहाङ (४) खादीहाङ (५) लारासो पाङबोहाङ (६) खेसिबाहाङ (७) ईकाङसोहाङ र (८) ईमेहाङ हरूले अलि व्यवस्थित राज्य सन्चालन गरेको हो कि भन्ने देखिन्छ । यि आठ राजाहरू मध्ये लारासो पाङबोहाङको मिसाम सेप्मा मुन्धुममा वर्णन आउछ । यिनी सँगै सोधुङ याङहाङ, पोमु याङहाङ, लुङथुङहाङ, येहाङ, तेन्दुङहाङ, तापेसुहाङ, पेरुङहाङ, लेलेपहाङ, सेक्यासुहाङ, उपाहाङ, सेच्छेरे सेनीहाङ, पापोहाङ, पेलीहाङ, चाङबाहाङ, सेन्सेगुम्बा फेदाहाङ आदीको वर्णन मिसाम सेप्मा मुन्धुममा आउने हुँदा यि सबै उही समयका समकालिन खास खास ठाउका व्यक्ति तथा राजाहरू थिए भन्ने देखिन आउछ । यिनीहरू ईस्वीको ११ देखि १३/१४ औ शताब्दितिरका व्यक्ति तथा राजाहरू हुन भन्ने कुरा तिनीहरूसँग जोडिएका केही लिम्बू वंशका वंशावलीहरूले देखाउछ । मुन्धुमले वर्णन गर्ने लाहादोङना र सुहाम्फेबाका सन्तानहरू मध्ये लाहादोङनाको भागमा परेका ८ सन्तानलाई येत्हाङसा भनिन्छ । यि सबै खाम्बोङबासा लुम्बोङबासा, सिन्युक मुदेनसा, तेमेन वरङसा सहित छरिएर रहेका समूहहरूलाई समग्रमा मुन्धुमले सावायेत्हासाको रूपमा समेट्यो र क्रमश सावायेत्हासा याक्थुङहाङको नाममा समेट्दै वर्णन गर्यो । पछिल्लो समयमा यि सबै शब्दहरूको ठाउ याक्थुङले लियो र पछिल्लो समयमा याक्थुङ सँगसँगै लिम्बू शब्द प्रयोगमा आयो ।

३.२ लिखत प्रमाणहरू
नेपालको सन्दर्भमा लिच्छवीकालबाट मात्र लिखित प्रमाणकोरूपमा लेखिने प्रचलन शुरु भयो । लिच्छवीहरूले प्रयोग गरिएको लिपी लिच्छवी लिपी भनिए पनि त्यो गुप्त लिपी थियो भने भाषा संस्कृत थियो । यसैकारण, लिच्छवीकालदेखी लिखीत अभिलेखहरू पाउन सकिन्छ । किरातकालमा लिपी नभएको कारण भाषा मात्र थियो लिपी नभएकोले अभिलेखहरू पाउन सकिन्न । बौद्ध ग्रन्थ ललितबिस्तरमा किराती लिपी थियो भन्ने उल्लेख भएकोलाई बिचार गर्दा त्यहि लिच्छवी लिपीलाई किरात लिपी भनेको हो कि भन्ने शंका हुन्छ । ईस्वीको ९–१० शताब्दिदेखि देवनागरी लिपी व्यापक प्रयोगमा आयो । त्यस समयपछिका लिखत अभिलेखहरू देवनागरी लिपीमा पाउन सकिन्छ । विभिन्न लिपीहरूको विकास पछि अभिलेखहरू पनि तिनै लिपीमा पाईन्छ ।

लिम्बूवानको सन्दर्भमा, १८ औ शताब्दिमा सिरीजंगा लिपीको विकास भएपछि केही लिखत अभिलेखहरू उक्त सिरीजंगा लिपीमा लेखिएको पाईन्छ । अझ यसो भनौ लिम्बूवान क्षेत्रमा लेखन पढनको काम १८ औ शताब्दिपछि मात्र शुरु भयो । सिरीजंगा लिपीको विकास भए पनि देवनागरी लिपीको प्रचलन व्यापकरूपमा चलिसकेको स्थितिमा त्यसपछिका प्रायः अभिलेखहरू देवनागरि लिपीमै पाईन्छ । यसमा कहि भाषा मैथिली तथा कही नेपाली प्रयोग गरिएका छन् । लिम्बू वंशको वंश पुस्ता टिप्पन १९ औ शताब्दिको मध्यदेखी मात्र शुरु भएकोले ति सबै देवनागरी लिपीमा भएको पाईन्छ । लिखत अभिलेखहरूको हिसावले लामो समयको ग्याप रहेकोले धेरै कुरालाई जोड्ने लिखत प्रमाणहरू पाउन सकिन्न । त्यसको लागि अरु नै आधारहरू लिनुपर्ने हुन्छ । ति आधारहरू मध्ये मिथक, आख्यान र कथाहरू पनि आधार बन्न सक्छन् ।

३.४ सांस्कृतिक सम्बन्ध
समयको परिवर्तनसँगै संस्कृतिहरू पनि केही न केही परिवर्तन हुन्छन् । यस्तो परिवर्तन बाहिरीय प्रभाव तथा समयकालमा परेको आवश्यकताको कारणले हुन्छ । तिनीहरू जस्ताको तस्तै (Static) रहदैनन, हुदैनन । समयको लामो अन्तरालमा संस्कृतिहरू फरक पर्ने र परिवर्तन हुने भएको कतिपय संस्कृतिको मुलरूप तथा मुल्यलाई हेरेर विश्लेषण गरिनुपर्ने हुन्छ । सास्कृतिक सम्बन्धलाई हेर्न संस्कृतिको पनि गुदी संस्कृति र मुल्य (Core culture and values) लाई हेर्न आवश्यक हुन्छ । यस्तो मुल संस्कृति तथा मुल्यमा निम्न संस्कृतिहरूलाई लिन सकिन्छः

३.४.१ मातृक नाउहरूले जानिने (Matrimonial society) अर्थात महिला स्वतन्त्रता र प्रधानता
प्राचिन नेपालका किरातहरूको संस्कृति कस्तो थियो भन्ने बिस्तृतरूपमा बुझ्न सकिने अभिलेख, कथा तथा आख्यानहरू पर्याप्त मात्रमा पाउन गाह्रो छ । यद्यपी प्राचिन नेपालमा शासन गर्ने किरात भनिएका मानव समूह महिला स्वतन्त्रता भएको अर्थात महिलालाई प्रधानता दिने समाज थियो भन्ने कुरा लिच्छवीकालिन अभिलेखमा आएको किरातकालिन माप्चोक अड्डा र महिलालाई दिएको स्वतन्त्रता र प्रधानताले स्पष्ट देखाउछ । किरातकालको माप्चोक न्याय सम्पादन कार्य लिच्छवीकालमा माप्चोक अड्डाकोरूपमा रह्यो । उक्त अड्डाले महिलाको श्रीमान मरेमा, हराएमा, जोगी बनेमा, पतित भएमा या अन्य कारणबाट विवाहपछि पतित भएमा महिलाले अर्कोसँग विवाह गर्न पाउने र यसरी विवाह गरेपछि पनि निःसन्तान भएमा माप्चोक अधिकरणले लाग्ने कानून लगाउनु पर्ने र तिनीहरूको शेषपछि सारूपय नामले तोकिएको धन माप्चोक अधिकारीले लिने भन्ने अभिलेखमा उल्लेख भएको पाईन्छ । उक्त माप्चोक अधिकरणले त्यस्ता महिला लोग्नेसँग असन्तुष्ट भई अर्को लोग्नेसँग गएर सन्तान भएमा कानूनी कार्वाही गर्न नपर्ने सारूपय बुझाउन नपर्ने व्यवस्था भएबाट किरातकालिन समयको वैवाहिक जीवन संस्कृति महिला स्वतन्त्रता र प्रधानता भएको समाज थियो भन्ने देखिन्छ । यो प्रकारको महिला स्वतन्त्रता र प्रधानताको संस्कृति लिम्बू समाजमा अवशेषकोरूपमा रहेकै देखिन्छ । हुन त यस्तो महिला स्वतन्त्रता तथा महिला प्रधानता समग्र आदिवासीहरूमा पनि पाईन्छ ।

अर्को मिथकको रूपमा उदाहरण के पाईन्छ भने बुङमतीमा हयांंग्रिव भैरव (शासद किरात राजा हुमती या हुरमा होलान) लाई मान्दछन् । स्थानियहरूले त्यहा कुन्दे आजिमा र नन्दे आजुको दशैको नवमी, दशमी र एकादशीमा पुजा तथा जात्रा गरिन्छ । यि कुन्दे अजिमा भनेका मनकामना देवी हुन । नन्दे आजु भनेका उनका श्रीमान हुन । यि कुन्दे अजिमा भागेर गएको कथा छ । यिनलाई खोज्न हयंग्रिव गएका र मनकामनामा भेट्टाएर फकाएर ल्याएकोले तिनी मानकामनाबाट दशैको नवमी, दशमी र एकादशी ३ दिन बुङमती आएर बस्छिन र एक रात हयंग्रिवसँग बिताउछिन भन्ने कथा रहेको छ । लिम्बू समाजमा युमा–थेबालाई मान मनितो, पुजा आजा गरे जस्तै बुङ्मतीलगायत काठमाण्डौ उपत्यका भित्र धेरै स्थानहरूमा अजिमा–आजु मान्ने, मानव मनितो र पुजा आजा गर्ने चलन किरातकालदेखी नै चल्दै आएको देखिन्छ । यसले पनि किरातकालिन समाजमा महिलाहरूको यौनिक स्वतन्त्रता र महिला प्रधानता थियो भन्ने देखाउछ । लिम्बू समाजमा युमाको आख्यान आउछ । युमा कहिले कहाबाट कहा पुगेको धेरै ठाउ चाहारी हिडेको धेरै कुराहरू सिकाएको आख्यान आउछ । यो कथा र युमाको आख्यान धेरै मिल्दा जुल्दा छन् । यस्तो कथा अन्य आदिवासी समाजमा पनि होलान । यो सँगै फर्पिङका किरात राजा पचली (किरात राजा पेलम या पवी होलान) को पनि अजिमासँग प्रेम परेको कथा आउछ । यस्ता कथाहरू धेरै आउछन र ति कथाहरूले प्राचिन नेपालको किरातकालिन सभ्यता, संस्कृति र समाजको झल्को दिन्छन् ।

३.४.२ प्रकृतिसँग जोडिएका पुजा चलन, संस्कृति र विधी
प्राचिन नेपालको किरातकालिन समयमा पानी तथा पानीको मुहान कुवालाई पुजा गर्ने चलन भएको देखिन्छ । नेवा समुदायले पानीको मुहान हिती धारा तथा कुवालाई पुजा गर्ने चलन त हिजो आज पनि छदैछ । बुङमतीलाई अंशुबर्माको अभिलेखमा बुगायुमी उल्लेख छ । नेपाल भाषामा बोङगा भनेको कुवा हो । त्यहा कुवालाई पुजा गर्ने चलनबाट सो बोङ्गाबाट बुङमती भएको भन्ने भनाई रहेको छ । बुगायुमी चाही कुवाको देवीकोरूपमा लिएर बुगायुमी नाम चलेको होला भन्न सकिन्छ । यस्तो पानीलाई पुजा गर्ने चलन र त्यसको महत्व लिम्बू समाज लगायत अन्यमा पनि रहेको छ ।

प्राचिन नेपालको किरातकालिन समयमा खेतीपति लगाउन या गर्न अघि शक्ति माग्न पुजा गरिन्थ्यो भन्ने उदाहरण गथांमुगको प्रचलन आजसम्म पनि छदैछ । यो प्रकृति पुजकहरूको प्रकृतिसँग बल माग्ने विशेषता हो । गथांमुग ख्याक भनेको एक हिसावले भुत हो । गथांमुगमा खेतीपाती लगाउन अघि भुतहरू (खासगरि राक्षसहरूको रूपमा चित्रण गरिएको) लाई खेतीपातीमा सहयोग गर्न आह्वान गरिन्छ । यो पुजापछि भुतहरू मानिसको शरीरमा प्रवेश गरेर बल दिन्छन् र खेतीपातीको काम चाँडै र सजिलै सम्पन्न हुन्छ भन्ने विश्वास छ । लिम्बू समुदायले खेतीपाती शुरु गर्नु अघि खेतीपाती तथा समयसाल राम्रो होस् भन्नका लागि बैसाख या जेठ महिनामा यक्वा पुजा गर्ने चलन रहेको छ । यस्तो पुजा शायद अरु आदिवासीहरूमा पनि होला । यस पुजालाई उभौलीसँग जोडेको पाईन्छ । लिम्बू समुदायले बाली पाके पछि प्रकृति अर्थात सृष्टिकी आमालाई पाकेको बाली चढाएर खाने चासोक पुजा गर्ने चलन छ । यसलाई उधौलीसँग जोडेको देखिन्छ । यस्तो पुजाको प्रचलन प्राचिन नेपालका किरात समुदायमा थियो भन्ने कुरा यमरी पुन्हेको प्रचलन रहिरहेकोले स्पष्ट गराउछ । नेवाभित्रको ज्यापु समुदायले निरन्तररूपमा मानी आएको यो यमरी पुन्हे भनेको बाली (धान) पाकेपछि पुर्खाहरू र अन्नका देउता (अन्नपुर्ण) लाई चढाएर खान नयाँ धानको रोटी (यमरी) बनाएर चढाउने पुजा चाड हो । यो वास्तवमा नया बाली घरमा थन्क्याउने खुशियालीको चाड हो । यसलाई धान्यपुर्णीमा भनेर पनि भन्ने गर्दछन् ।

३.४.३ जीवन पद्धतिगत संस्कार कार्य र विधि
कुनै पनि मानव समूहको जन्मनु अघि र जन्मे पछि देखी मर्दा र मरेपछि पनि गरिने जीवन पद्दतिगत संस्कार कार्य र विधिहरू रहेका हुन्छन । प्राचिन नेपालमा शासन गर्ने किरात समूहको जीवन पद्दति (जन्मेदेखि मृत्यसम्मको संस्कार) के थियो भन्नेबारे पर्याप्त मिथकहरू र प्रमाणहरू पाईएको छैन । सिन्धुधाटीको सभ्यता तथा चिनियाँ येलोरिभर सभ्यताको प्रभाव भएको भए पक्कै पनि मानिस मरेपछि लासलाई जमिनमा गाडेर मृत्य संस्कार गर्दथिए भन्ने हुन्थ्यो । केही भनाई र मिथकहरूका अनुसार प्राचिन किराकालिन नेपालमा किरात समुदायका मरेका मानिसहरूलाई चिहान बनाएर दाहसंस्कार गर्ने स्थान हाडी–माली गाउ आसपास र पशुपतिको सिफल, देउपाटन र जयबागेश्वरी आसपासको ईलाका हो भन्ने रहेको छ । तर आजसम्म नक्साल र हाडीगाउ क्षेत्रमा घर बनाउदा भेटिएका केही हडडी खुड्डी बाहेक मानिसको सग्लो अस्थिपन्जर या खप्पर या मानव हड्डीहरू भेटिएको अवस्था छैन ।

३.४.४ विश्वासकेन्द्र र मानव मुर्तिहरू
प्राचिन किरातकाली नेपालका किरातहरूको समयमा प्रकतिक विश्वास प्रणाली थियो भन्ने कुरा उनीहरूले मन्दिर निर्माण नगरेकोबाट स्पष्ट हुन्छ । किरातकालिन मानव समूहले प्राकृतिकरूपमा विश्वास गरिआएको डिस्काजस्ता स्थल र स्थानहरूमा लिच्छवीकालामा आएर विभिन्न देवदेवीको नाममा मन्दिरहरू निर्माण गर्ने कार्यहरू भए भन्ने कुरा मन्दिर स्थापनाका साल सम्बतहरूले बताउछ । पशुपति मन्दिरलाई छोडेर प्रायःजसो मन्दिरहरू आजभन्दा १ हजार वर्ष अघिबाट मात्र निर्माण गरिएको इतिहास छ । उदाहरणको लागि चाँगुनारायणको मन्दिर लिच्छवी राजा मानदेवको पालामा, स्वयम्भु चैत्य मानदेवकै समयमा, बौद्ध चैत्य आठौ शताब्दिमा, ईचंगुनारायणको मन्दिर पाचौँ शताब्दिमा लिच्छवी शासनकालमा बनेका देखिन्छन् । पशुपतिको मन्दिर रहेको स्थानमा किरातहरूले पहिल्यैदेखी मान्ने पुज्ने ठाउ भएकोलाई पछिल्ला समयमा मन्दिरको स्वरूप दिईएको देखिन्छ ।

किरातकालमा शिखालेखसहितका मुर्ति राख्ने चलन थिएन भन्ने कुरा केही यक्ष (यख्ख) हरूको मुर्तीहरू पाईएकोबाट स्पष्ट हुन्छ । ति मध्ये पशुपति घाटमा अवस्थित विरूपाक्ष नाम दिईएको यक्ष (यख्ख) को मुर्ति पनि एक हो । मिथक र धेरै विद्धानहरूले यसलाई प्राचिन नेपालका किरातहरूको देउताको रूपमा मानेका छन् भने कतिपयले किरात राजाको मुर्ती मानेका छन् । यस विरूपाक्षलाई हिन्दु मिथकहरूले आमा बलत्कार गर्ने व्यक्तिको रूपमा कथा जोड्ने र चित्रण गर्ने गरेका छन । यस्तो आमा बलत्कार गर्ने व्यक्तिको मुर्ति बनाएर किन राख्नुपर्यो भन्ने प्रश्नको जवाफ भने आउदैन । यहि बिरूपाक्ष भनिएको मूर्ति भुकम्पका कारणले पुरिएको थियो भन्ने कथा पनि छ । शायद पशुपतीको रूपमा भेटिएको मुर्ति यहि नै थियो होला । अभिलेख विनाका यस्ता यक्ष (यख्ख) मुर्तिहरूलाई बदनाम गराउन पछिल्लो समयमा हिन्दु मिथकहरूमा नानाभाती कथाहरू जोड्ने गरिएको पाईन्छ । शिलालेख विनाका यक्ष (यख्ख) का यस्ता मुर्तिहरू धुलीखेल क्षेत्रमा बाटो खन्दा केही समय अघाडी भेटिएका थिए । ति मुर्तिहरू किरातकालका हुन् भनेर पहिचान भएका छन् । ति मुर्तिहरू महिला स्वरूपका मुर्तिहरू छन् । ति मुर्तिहरूको आकार र गहना लगाई विरूपाक्षसँग मिलेको देखिन्छ ।

शिलालेख विनाका किरातकालिन यस्ता मुर्तिहरूले २ वटा कुरा संकेत गर्दछ । पहिलो हो, किरातकालमा लिपी प्रयोगमा थिएन । लिपी भएको भए ति मुर्तीहरूमा शिलालेख रहने थिए । दोस्रो हो, प्राकृतिकरूपमा विश्वास गरिआएको डिस्का, स्थल र स्थानहरूलाई आध्यात्मिक शक्तिको रूपमा मान्ने र पुजाआजा गर्ने चलन थियो, मुर्ति अर्थात मानव निर्मीत बस्तुलाई पुजा गर्ने चलन थिएन । तर खास खास नामी तथा प्रख्यात व्यक्ति तथा राजाहरूको मुर्ति बनाउने चलन भने रहेको थियो भन्ने यि यक्ष (यख्ख) का मुर्तिहरूले देखाउछ । धेरैले प्राचिन नेपालका किरात समूहले पुर्खाहरूलाई प्रतिनिधीत्व गर्ने लिंगजस्तो देखिने ढुङ्गालाई पुज्दथे भनेका छन् । तिनीहरू न हिन्दु देवी देवता मान्दथे न बौद्ध विश्वास मान्दथे । तिनीहरू प्राकृतिक विश्वास प्रणालीका मानिसहरू थिए भन्ने स्पष्ट देखिन्छ । यस्तो चलन र विश्वास प्रणाली नेपालका धेरै आदिवासीसहित लिम्बू आदिवासीमा रहिरहेकै छ । लिम्बूहरूले त शक्ति भएका ढुङ्गाहरू – ढुङ्गाका पहाडहरू मुक्कुमलुङ, चेन्जेलुङ, पेन्वेलुङ, वदिङलुङ, सेसेलुङ, फियालुङ, वसालुङ आदीलाई मान्ने र पुज्ने गर्दछन् ।

३.५ भाषागत सम्बन्ध
इतिहासकार धनवज्र बज्राचार्यले लिच्छवीकालका ३०० भन्दा बढी अभिलेखहरू संकलन गरि प्रकाशनमा ल्याउनु भएको छ । ति अभिलेखहरूमा किरातकालिन भाषाबाट राखिएका बस्तु, ठाउँ गाउँ, अड्डा, कुलो, पोखरी, बाटो, खेत, जग्गा, डिस्को, डाँडा पाखा आदी नामहरू प्रशस्त पाईन्छ । लिच्छवीकालमा संस्कृत राज भाषा भएकोले धेरै कुराहरूमा संस्कृतकरण त गरियो तर किरातकालमा प्रयोगमा आएका गाउको नाम, ठाउको नाम, कुलो, जग्गा, भूमि, डाँडा आदीको नाम संस्कृतमा नामकरण गर्न तत्काल सम्भव भएन । त्यसैले, लिच्छवीहरूले पनि भाषा संस्कृत प्रयोग गरेको अभिलेखमा पनि तिनै किरातकालिन नामहरू प्रयोग गरे जसरी हिजोआज लिम्बूवानका लिखत दस्तावेजहरूमा भाषा नेपाली तर ठाउ गाउँ, डाँडा, नदिका नाम भने लिम्बू भाषामै रहेका नामहरू लेखिएको छ । उदाहरणको रूपमा सरकारी दस्तावेजमा लेखिएको फिदिम तीन चार सय वर्ष पछि कोट्याउदा नेपालीमा अर्थ नलाग्ने नेपाली ईतरको भाषाबाट राखिएको नाम हुन जान्छ । ३/४ सय वर्षपछि लिम्बू भाषा लोप भएको अवस्थामा त्यसलाई फेदेन भनेर अर्थ लगाउन गाह्रो भए जस्तै लिच्छवीकालिन अभिलेखमा पाईएका किरातकालिन नामहरू पनि त्यस्तै हो भनेर बुझ्न जरुरी छ । यस्तैगरि तेह्रथुम जिल्ला सदरमुकामको नाम हाल म्याङलुङ हो तर यो धेरै पछि मेयङलुङबाट अप्रभंस भई म्याङलुङ भएको भनेर बुझ्न गाह्रो हुन्छ । त्यसैगरि, तमोर नदीको नाम तेम्तेम्वा या ईम्धिरी याङधाङवाबाट अप्रभंस भएर बनेको भन्ने कुरा धेरै समयपछि बुझ्न गाह्रो हुन्छ । यस्ता धेरै उदाहरण दिन सकिन्छ जस्तो कि काङवाबाट अप्रभंस भएर काबेली, कोक्वाबाट अप्रभंस भएर कोया खोला, मुराहङबाट अप्रभंस भएर मोराङ भयो भनेर समयको लामो अन्तरालमा बुझ्न सकिन्न ।

लिच्त्रवीकालमा राजश्व सम्बन्धि काम गर्ने अड्डालाई कुथेर अधिकरण भनिन्थ्यो । यो कुथेर नाम पनि किरातकालिन भाषाबाट राखिएको प्रचलित नाम थियो ।यससँग सम्बन्धित विभिन्न करहरूमध्ये सिंकर र चोख्परा कर लिच्छवीकालिन अभिलेखमा पाईन्छ । सिंकर भनेको काठ दाउरामा लाग्ने करको रूपमा उल्लेख भएको देखिन्छ भने चोख्परा कर चाहीँ कुनै बस्तु उत्पादनमा लाग्ने करकोरूपमा रहेको देखिन्छ । कर भन्ने शब्द संस्कृत हो भने सिं भनेको लिम्बू भाषामा काठ दाउरा नै हो । सिं लाई दाउरा काठको अर्थमा प्रयोग त तिब्बत–बर्मी भाषा परिवारका धेरै जातिले गर्दछन् । यसैगरि चोग्परा अर्थात चोख्परा भन्ने शब्दले लिम्बू भाषामा केही बस्तु बनाउने भन्ने अर्थको संकेत गर्दछ ।

लिच्तवीकालका अभिलेखमा प्रयोग भएका कतिपय शब्दहरू मुल तेही भए पनि धेरै जसो अलि बिकृतरूपमा राखिए होलान भनेर अनुमान गर्नु पर्ने हुन्छ । त्यसैगरि, प्राचिन किरातकालिन नेपालमा बोलिने भाषा सयौ हजारौ वर्षको अन्तरालमा पुर्वी भेकमा पुग्दा या उत्पति (बिकास) भएको ठाउबाट फैलदै आउदा भाषा बोलाईमा केही तलमाथी तथा फरक परेको हुन सक्छ । लिम्बूवान भित्रका लिम्बू भाषा बोलाई तरिका र केही शब्दहरू लिम्बूवान भित्र नै केही फरक परेको देखिन्छ भने सयौ हजारौ वर्षमा प्राचिन भाषा बोलाईमा केही फरक पर्नु स्वभाविक छ । लिच्छवी राजा मानदेवको समयमा लेखिएको बिष्णुपादुका फेदीमा रहेको शिलास्तम्भको अभिलेखमा ‘केदुम्बाट’ भन्ने मानिसको उल्लेख छ । केदुम्बाट भनेको शब्द संस्कृत ईतर भाषाको हो । लिम्बू भाषामा केदुम्बा भनेको पाकेको र केधुम्बा भनेको शक्तिशाली मानिस भन्ने अर्थ लाग्छ । यसरी नै लिच्छवीकालको अभिलेखमा उल्लेख भएको माप्चोक अड्डा पनि लिम्बू भाषाको मेखिमचोग (विवाह सम्बन्धि) शब्दसँग मिल्न जान्छ । किरातकालिन प्राचिन नेपालमा गाउलाई जनाउन प्रिङ शब्द प्रयोग भएको देखिन्छ । लिम्बू भाषामा पाङ या पाङभे भनेको गाउँ नै हो । प्रिङ र पाङ एउटै उत्पतिका हुन् । कालान्तरमा प्रिङ भन्ने शब्द पाङ या पाङ्भे भएको पनि हुन सक्छ । किरातकालिन प्राचिन नेपालमा यस्ता गाउ जनाउने गाउका नामहरू अनगिन्ति रहेको देखिन्छ । जोन्जोङदिङ अर्थात जोन्जोङप्रिङ (नक्सालको पुरानो नाम), याप्रिङ ग्राम (भक्तपुर बोडेको पुरानो नाम), नरप्रिङ, जोलप्रिङ, प्रङप्रिङ, थंसम्प्रिङ, खोप्रिङ (भक्तपुरको पुरानो नाम) फरप्रिङ (फरपिङको पुरानो नाम) आदी धेरै लिच्छवीकालिन अभिलेखहरूमा उल्लेख भएको पाईन्छ ।

यसैगरि, लिच्छवीकालिन अभिलेखमा उल्लेख भएका किरातकालिन प्राचिन नेपालमा डाँडाका शिखरलाई जनाउने नामहरूको पछि ‘चो’ जोडिएर आएको छ । उदाहरणको लागि थेञ्चो (थानकोटको पुरानो नाम), पहञ्चो (थानकोट वरिपरिकै डाँडा), लुम्बचो (थानकोट वरिपरिकै डाँडा), मिंदिचो (थानकोट वरिपरिकै डाँडा), खाह्रीचो, ब्रेम्गुचो, मोगुंचो, खारेवाल्गञ्चो, गोमीभुधञ्चो, फुलोच्च(अहिले फुलचोकी डाँडा), ध्यानोच्च (हालको चम्पादेवीको डाँडा), धिलाचो (हालको मनिचुथनको डाँडा), जामाचो (ईचट्टगु नारायणको चुली) आदी अलि अग्ला डाँडाको चुलीलाई जनाउने डाँडाका नामहरू रहेको देखिन्छ । लिम्बू भाषामा अलि अग्लो डाँडाको टुप्पा या चुलीलाई जनाउन जङ या चङ शब्द जोडिएको हुन्छ । जङ भन्ने शब्द किल्ला या गढीलाई जनाउन पनि प्रयोग भएको देखिन्छ भने चङ भनेको टुप्पा जनाउन प्रयोग भएको पाईन्छ । उदाहरण्को लागि ताप्लेजङ, वयाकजङ, पोमाजङ, मिक्लाजङ, आगेजङ, साखेजङ, यासोकजङ आदी । यो वास्तवमा चङ बाट सन्धि हुदा जङ भएको हो । जस्तो कि ताप्ले + चङ = ताप्लेजङ, याक्को + कुचङ = याक्कोजङबाट वयाकजङ, मिक्ला + कुचङ = मिक्लाजङ आदी । किरातकालिन प्राचिन नेपालमा प्रयोगमा आएको चो र लिम्बू भाषाको चङ शब्दमा धेरै सामिप्यता छ । अझ लिम्बूलाई सिक्किममा चोङ भन्दछन् । शायद यो पहाडी उच्च भागमा बस्ने मानव समूहको रूपमा चित्रण गरिएको होला ।

यसरी नै, डाँडालाई जनाउन गु शब्द जोडिएका नामहरू लिच्छवीकालिन अभिलेखमा प्रशस्त पाईन्छ । यस्ता शब्दहरूमा सनिगु (स्वयम्भु डाँडाको पुरानो नाम), ईचङगु (ईचङगुको डाँडा), चाङगु (चांगुनारायणको डाँडा), हगु, हारागु, येचङगु (दक्षिण नारायणको डाँडा यसलाई ईचङगु भन्ने गरिएको), योचङगु (पश्चिम नारायणको डाँडा), यंचङगु (उत्तर नायरायणको डाँडा), वंचङगु (पुर्व नारायणको डाँडा) आदी । नारायण त पछि थपिए र नारायणको डाँडा बनाईयो । लिम्बू भाषामा यस्तै प्रकारका डाँडाहरूलाई गु नै जोड्ने गरिएको छ । जस्तो थेगु भनेको डाँडा, चोक्मागु (चोक्मागुको डाँडा),सागु, सेङगु आदी । यसले प्राचिन नेपालका किरातको भाषा र लिम्बू मानव समूहको भाषा नजिकको सम्बन्ध देखाउछ ।

किरातकालिन प्राचिन नेपालमा समथर खेती भूमिको नाम पछि बु जोडिएर आएको पाईन्छ । लिच्छवीकालिन अभिलेखमा प्रोज्ञाम्बु, थम्बु, यम्बु (काठमाण्डौ), बलम्बु, सलम्बु (साखुतिरको भूमि), मित्तम्ब्रु (खेतको नाम), प्रीतुम्ब्रु (खेतको नाम) आदि प्रशस्त उल्लेख भएको पाईन्छ । लिम्बू भाषामा तेम्बे भनेको समथर भूमि भन्ने अर्थ दिन्छ । बे र बु शब्द नाम पछि जोडाई एकदम नजिक छन् । लिम्बूहरूको मुन्धुममा आउने मनातेम्बे भनेको मानिस विकास भएको समथर फाँटिलो भूमि भन्ने अर्थ दिन्छ । यस्तै अर्थमा प्रयोग भएका लिम्बूवानका ठाउको नामहरूमा थेचम्बु, सेम्बु, थिङलाबु, ईख्खाबु आदी रहेका छन् । यि शब्दहरूको प्रयोग र तिनको अर्थ लगाईले प्राचिन किरात र लिम्बू मानव समूह एउटै भाषा परिवारका थिए कि भन्ने देखाउछ ।

प्राचिन नेपालका किरातहरूले कुलो पानी अर्थात सिन्चाई सम्बन्धिको अड्डालाई लिङग्वल भनेको देखिन्छ जसलाई लिच्छविहरूले पनि निरन्तरता दिए । लिच्छवीकालमा कुलोलाई तिलमक र पानी निकासलाई लखमक भनेको पाईन्छ । यि दुई शब्द सहित अरु धेरै शब्दहरूको अर्थ शायद किरात दावी गर्ने नेवार, थामी, हायु, सुनुवार र राईमा लाग्छ होला । लिम्बूमा भने कुलोलाई बाली या वाजीक भनेको पाईएको छ । यसै वाली या वाजिकमा लुङ (ढुङ्गा) जोडेर लुङग्वल हुदै लिङग्वल भएकै होईन भन्ने ठाउ पनि छैन । फेरि बलियो र व्यवस्थित कुलो बनाउन ढुङ्गा नै प्रयोग हुन्छ । यसरी नै शंगा या सांगाको अर्थ लिम्बू भाषामा तामा अर्थात तामा पाईने ठाउ भन्ने हुन्छ । शंगा या सांगा, तेसलुङ, पालुङ, शुल्ली या शोल्ल (अपराध हेर्ने अड्डाा), चहुङपेडा, ब्रह्मुङ, नङपटा, विङबोचा, गोच्छीजाक, लेम्बटी (लेलेको पुरानो नाम), बुगायुमी (बुङमतिको पुरानो नाम), तेङखु (टेकुको पुरानो नाम) जस्ता शब्दहरू पनि लिच्छवीकालिन अभिलेखहरूमा पाईन्छ । यिन शब्दहरू कति हदसम्म संस्कृतकरण र अप्रभंस भए भनेर भन्न अहिले कठिन छ ।

केही विद्धानहरूले नेपाल उपत्यका वरीपरिका पहाडी भिरालोमा प्राचिन नेपालका किरातहरूको बस्ति भएको अनुमान गरेका छन् । ति विद्धानहरूले यस्ता बस्तिहरूमा अहिदुम (गोकर्न आसपास), लेम्बटी (लेले), लोहप्रिङ (गोकर्न आसपास), मुहप्रिङ (गोकर्न आसपास), माथन (बासबारी उत्तर), कादुङ, फेराङकोट्टा, किचप्रिङ, पसिङख्या, थेन्चो र जोलप्रिङ, (थानकोट आसपास) स्थरुद्रङ (चापागाउ), कोन्को (भादगाउ दक्षिण गुन्टु) , खोप्रिङ (भादगाउ), थन्दुरीद्रङ (बुढानिलकण्ठ) आदी मुख्य ठुला बस्तिहरू थिए । यि गैरसंस्कृत नामका बस्तिहरू लिच्छवीहरूले शासन सत्ता लिन भन्दा अघिदेखी अस्तित्वमा थिए । यसैगरि नामको पछाडी चो र गुङ आउने स्थान, ठाउ, डाँडा आदीका गैरसंस्कृत नाम किरातकालिन किरात मानव समूहका भाषाबाट रहेका नामहरू हुन भन्ने अध्ययनकर्ता विद्धानहरूको राय रहेको छ । यस्ता नामहरूमा हारागुङ, ह्नागुङ, भ्रेमगुमचो, लुम्बचो, खारिन्चो, मिदिनचो, मोगुङचो, पहानचो, धान्चो, धङदङगुङ, थेन्चो, छोगुङ, गुङसीखारा, गुङदीमाका, गुङवीहारा, खारेबालगान्चो आदी मुख्य छन् ।

यि माथी उल्लेख गरिएका किरातकालमा नै नाम राखिएका ठाउ, डाँडा, शिखर, गाउ, स्थान, भूमि आदीको अर्थ किन लिम्बू भाषामा लाग्छ र अन्य भाषामा लाग्दैन भन्ने कुराको जबाफ हुनु जरुरी हुन्छ । यसैगरि, प्राचिन किरातकालिन यस्ता ठाउ, डाँडा, शिखर, गाउ, स्थान तथा भूमि जनाउने नामहरू जस्ता ठाउ, गाउ, डाँडा, शिखर, स्थान, भूमि जनाउने नामहरू किन लिम्बूवान क्षेत्रमा नै पाईएको होला, र प्रकृतिसँग गासिएका प्रकृत पुजा र चाडहरू किन आदिवासी लिम्बू, नेवा, राई, थामी, सुनुवार, याख्खासँग मात्र मिल्छ भन्ने कुराको पनि उत्तर हुनु जरुरी हुन्छ । के यि सबै काकताली परेर नै मिलेका हुन् त ?

३.६ पुरातात्वीक हिसाबले सम्बन्ध
पुरातात्विक हिसावले तुलना गर्न सकिने त्यस्ता पुरातात्विक बस्तुहरू पर्याप्तरूपमा पाईएको अवस्था छैन । पशुपती क्षेत्रमा भएको विरूपाक्षको आकार रूप तथा मुखाकृति किराती समुदायका मानिससँग मिल्न जान्छ भने काभ्रे धुलिखेलमा पाईएको यक्षीनी (यख्खनी) को किरातकालिन मुर्तीहरूको मुखाकृति, कानमा लगाएको गहना, घाँटीमा लगाएको गहना र मालाले उक्त मुर्ती किराती भनिएका महिलासँग मेल खान जान्छ । पुरातन्वविदहरूले यो मुर्ती ३५०० वर्ष पुरानो भएको बताउदै ईसापुर्व २०–३० शताब्दिसम्मको हुनसक्ने बताएका छन् । यसदेखि बाहेक बुढानिलकण्ठ क्षेत्रमा प्राचिन ढुङ्गे हतियार पाईएको छ । बिरूपाक्ष र धुलिखेलमा पाईएको यक्षनी (यख्खनी) को मुर्तीले काठमाण्डौदेखि पुर्वसम्म किरात भनिएका समग्र मानव समूहलाई जोड्न सक्छ । यो अझै खोज अध्ययन अनुसन्धानको बिषय पनि हो ।
असोज २०७८

(अनुरोधः यो लेख मेरो व्यक्तिगत अध्ययनको आधारमा लेखिएको छ । यसमा कतिपय कुराहरू तलमाथि हुन सक्छन् । मलाई सामाजिक सन्जालमा हावा र पानी विद्धान भन्ने केही मित्रहरूले यो लेख हेर्न र टिप्पणी गर्न कष्ट नगर्नु होला भनेर अनुरोध गर्दछु । यसको साथै यो लेखसँग अहिलेको बहस र विवादलाई नजोड्न पनि अुरोध गर्दछु । बाँकी मित्रहरूबाट सिर्जनात्मक टिप्पणी आए स्वीकार हुन्छ)

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी

उदय पूर्वेली चोङबाङक्याक भारतको उत्तरप्रदेश, जालौन जिल्लाको गोराहास्थित सानो गुमनाम गाउँमा अत्यन्तै उपेक्षित र...

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...