नयाँ सन्दर्भः लिम्बूवान राजनीतिका अवयव र उतारचढावहरू - Naya Online

नयाँ सन्दर्भः लिम्बूवान राजनीतिका अवयव र उतारचढावहरू

उदय पूर्वेली चोङबाङक्याक

लिम्बूवानी इतिहास र राजनीतिक पतनको टर्निङ प्वाइन्टको रूपमा विशेषगरी वि.सं १८३१ बैशाख २५ गते नेपाल एकीकरणको नाउँमा लिम्बूवान भूमिमा भएको गोर्खाली सेनाको खुनी आक्रमणलाई लिनसकिन्छ । अरुण नदी र सभाखोलाको दोभानमा गोर्खाली सेना र लिम्बूवानी लडाकुबिच भीषण युद्ध चलेपछि हारजितको टुङ्गो नलागेकाले अर्धस्वतन्त्र राज्य कायम रहने सर्तमा वि.सं १८३१ श्रावण २२ गतेका दिन गोर्खाली र लिम्बूवानबिच सन्धि भएको थियो ।

त्यसपछि वि.सं. १८३३ मा गोर्खाली सेनाद्वारा विजयपुरे राजा बुद्धिकर्ण रायको हत्या गरियो । त्यसको केही वर्षपश्चात् वि.सं १८३७ मा नेपाल र अङ्ग्रेजबिच सुगौली सन्धि सम्पन्न भयो । यसपछि याक्थुङ लिम्बू तथा लेप्चाहरू बसिआएको भूभाग ३ भागमा विभाजित भई लिम्बूवान, सिक्किम र दार्जिलिङ कायम भयो ।

वि.सं १८४३ सालमा रणबहादुर शाहको पालादेखि लिम्बूवान राज्यमा भूमि कर अथवा तिरो लागू गरियो । वि.सं १८७३ मा पृथ्वीसिं लिम्बूले स्वतन्त्र लिम्बूवान राज्य खडा गर्ने प्रयास गरेका थिए । तर उक्त आकांक्षा सफल हुन सकेन । चन्द्रशमशेरको पालामा याक्थुङ मुन्धुम र ग्रन्थहरू चैनपुरमा लगेर निर्ममतापूर्वक जलाइयो । वि.सं १९०१ मा जङ्गबहादुर राणाले लिम्बूहरूको रहलपहल सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बूवान अर्धस्वतन्त्र राष्ट्रलाई पल्लो किराँत र राजा उपाधिलाई अनिवार्य रूपमा सुब्बा लेख्ने सनद जाहेर गरी लिम्बू राजनेताहरूलाई आफ्नो कर्मचारी सरह बनाए । यसरी मुन्धुममा पूर्णरूपमा आस्था र विश्वास राख्ने याक्थुङ जातिलाई सेनकालमा राय, गोर्खालीहरूले लिम्बू र जङ्गबहादुर राणाले भूगोललाई किरात र राजनेताहरूलाई सुब्बामा परिणत गरेका थिए ।

वि.सं १९४१ मा जगदल लिम्बूले स्वतन्त्र लिम्बूवानका लागि विद्रोह गरे । वि.सं १९५२ मा तत्कालीन सरकारले ताप्लेजुङमा अमाल राख्दा ताप्लेजुङ हाङपाङ निबासी बाजहाङ आङबुहाङले विरोध गर्दा उनको क्रुरतापूर्वक हत्या गरियो । वि.सं २००६ सालमा विजयबहादुर लिम्बूले लिम्बूवान स्ट्रेट स्थापनाका लागि विद्रोह गरेका थिए । त्यसको २ वर्षपछि अर्थात् वि.सं २००८ मा उनको बर्बरतापूर्वक हत्या गरियो ।

राणा शासनको अन्त्यसँगै लिम्बूवान स्वायत्त प्रान्तको आश्वासन पाएका लिम्बूहरूले १६ सदस्यीय आन्तरिम मन्त्री परिषद् समेत गठन गरेका थिए ।

वि.सं २००८ मा अखिल लिम्बूवान सुधार सङ्घको स्थापना गरी इमानसिं चेम्जोङ,गणेश रिजाल र तेजबहादुर प्रसाईंले लिम्बूवान पुनर्स्थापनाका नारा लिएर लिम्बूवान प्रादेशिक स्वायत्तता माग गरेका थिए ।

उनीहरूले सेना, मुद्रा, परराष्ट्र मामिला र यातायात केन्द्रको मातहत रहने र बाँकी सम्पूर्ण प्रशासनिक र राजनीतिक अधिकारहरू लिम्बूवान स्वायत्त सरकारलाई हस्तान्तरण गर्नुपर्ने जोडदार माग अघि सारेका थिए ।

वि.सं २०१३–१४ मा लिम्बूवान प्रतिनिधि मण्डल काठमाडौँ गई उनीहरूले लिम्बूवान प्रान्तीय राज्यको माग गरेका थिए । तर वि.सं २०१७ साल पौष १ गतेको महेन्द्रको ‘कु’पछि फौजी कारबाही प्रक्रियामा लिम्बूवानको ऐतिहासिक सिमा र संरचना तहसनहस गरी कोसी र मेची अञ्चलका पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र ताप्लेजुङमा विभाजन गरियो । त्यसको लगत्तै वि.सं. २०१८ सालमा भूविक्रम नेम्वाङको नेतृत्वमा लिम्बूवान राज्य पुनस्र्थापनाको लागि सशस्त्र विद्रोह भयो । तर विविध कारणले त्यसले पूर्णता पाउन सकेन ।

वि.सं २०२४ सालमा महेन्द्रलाई किपट व्यवस्था कायम राख्न क्याप्टेन दलबहादुर खापुङ लिम्बूको अगुवाइमा एक प्रतिनिधिमण्डल काठमाडौँ गएका थिए । त्यसैबेला मानबहादुर पयाङगु र क्याप्टेन दलबहादुर खापुङ लिम्बू जेल चलान गरियो ।

वि.सं २०२५ साल धरानमा प्रेमबहादुर माबोहाङ, कृष्णबहादुर थाङदेन, जर्नल हर्कप्रसाद नेम्वाङद्वारा किपट सम्पर्क समिति गठन गरियो । माबोहाङको नेतृत्वमा लिम्बूवान प्रतिनिधि काठमाडौँ गई तत्कालीन राजा महेन्द्रसँग मागपत्र प्रस्तुत गरे । वि.सं २०२५ साल मङ्सिर महिनामा मियङलुङमा शमशेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा बृहत् किपटिया सम्मेलनको आयोजना गरियो । त्यस भेलाले भूमिसुधार लागू नगरी किपट व्यवस्था नै कायम गर्न दबाब सिर्जना गर्ने प्रस्ताव पारित गरेको थियो ।

पछिल्लो अवधिमा वि.सं २०४५ सालमा वीर नेम्वाङको नेतृत्वमा लिम्बूवान मुक्तिमोर्चा गठन गरी लिम्बूवान स्वायत्तताको माग गरियो । वि.सं २०४६ सालमा काठमाडौँमा गठन भएको किरात याक्थुङ चुम्लुङ पनि लिम्बूवानको सांस्कृतिक, भाषिक र धार्मिक आन्दोलनको एउटा हिस्सा नै थियोे । तर प्रकारान्तरले कियाचुले पनि धार्मिक तथा सांस्कृतिक विलचन साम्य पार्न सकेन । वि.सं १९८८ वैशाख २४ गतेको सत्य धर्म मुचुल्काको अस्त्रद्वारा याक्थुङ मुन्धुममा वर्णित धार्मिक, सांस्कृतिक तथा मुन्धुमी स्थलहरूमा भएका आक्रमण र अतिक्रमणलाई रोक्ने समेत तत्परता देखाउन चाहेन वा सकेन ।

परापूर्वकालदेखि पितापुर्खाले संरक्षण र अवलम्बन गरिल्याएको मौलिक परम्परागत संस्कार, मुन्धुमको मर्म र मार्गदर्शनलाई जीवन्तता प्रदान गर्नु याक्थुङ सन्ततिहरूको महत्त्वपूर्ण जिम्मेवारी र कर्तव्यबोध गरी वि.सं २०७४ साल माघ २२ गते सोमबारका दिन युमा साम्यो महासभा विधिवतरूपमा दर्ता भएको थियो । अझैसम्म पनि तीनतिरबाट याक्थुङ जाति, संस्कार, भाषा, लिपि र मुन्धुमलाई हिन्दुकृत, किरातीकरण र याक्थुङ इन्डोनिमलाई बहिष्कृत गर्ने कुटिल षड्यन्त्र निरन्तर जारी रहेको छ । सबैभन्दा पछिल्लोपटक स्थापित याक्थुङ लिम्बूहरूका संस्कार र मुन्धुमको संरक्षण र विकासका लागि खडा गरिएको धार्मिक संगठन युमा धर्म महासभाले यी विकराल समस्या र अतिक्रमणहरूलाई कतिसम्म निस्तेज वा निरुत्साहित तुल्याउन सक्छ? त्यो भविष्यले नै तय गर्नेछ ।

वि.सं २०५५ सालमा लिम्बूवान विद्यार्थी मञ्च गठन भयो । यसले पनि लिम्बूवान स्वायत्तताको माग नै अघि सारेको छ ।

वि.सं २०५७ सालमा भक्तराज कन्दङवाको अध्यक्षतामा माओवादी निकट लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चा गठन गरी लिम्बूवान स्वायत्तताकै माग गरेको थियो ।

वि.सं २०६२ मङ्सिर २६ गते झापाको बिर्तामोडमा चुडामणि तुम्बाहाम्फेको अगुवाइमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना भयो ।

वि.सं २०६४ सालमा संयुक्त लिम्बूवान मोर्चा गठन भयो । मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्को तर्फबाट २०६४ असोज १६ गतेदेखि आह्वान गरिएको अनिश्चितकालीन आमहड्तालको पाँचौँदिन असोज २० गते झापा जिल्ला प्रशासनले जारी गरेको कर्फ्यु आदेश तोड्ने क्रममा प्रहरीले चलाएको गोली लागेर केर्खापूर्व कमल खोलामा सहिद राजकुमार आङदेम्बे ‘माङतोक’ ले सहादत प्राप्त गरेका थिए ।

त्यसको केही महिना पश्चात् विद्यार्थी युनियनले समानुपातिक पद्धतिमा स्ववियुको निर्वाचन हुनुपर्ने माग राखी सञ्चालन गरेको आन्दोलनमा वि.सं २०६५ चैत ५ गते झापाको धुलाबारी क्याम्पसको प्राङ्गणमा प्रशासनले प्रहार गरेको गोली लागि मनिल तामाङ सहिद भएका थिए ।

अन्य विभिन्न मुख्य राजनीतिक दलहरूमा पनि जनवर्गीय वा जातीय संगठनको रूपमा लिम्बूवान जोडिँदै आएको छ । माओवादी अन्तर्गतको क्रान्तिकारी लिम्बूवान मञ्च, काङ्ग्रेस सम्बद्ध लिम्बूवान सम्पर्क मञ्च, एमालेसँग जोडिएको लिम्बूवान लोकतान्त्रिक मञ्च र मधेस केन्द्रित दलसँग आबद्ध लिम्बूवान राज्य समिति र लिम्बूवान राष्ट्रिय समिति आदि नामले दलीय संरचनामा पनि सहभागिता वा संलग्नता जनाएको पाइन्छ । तर कुनै पनि पार्टीको विधान र राजनीतिक दस्तावेजहरूमा लिम्बूवानको संरचना र मुद्दाहरूका बारेमा स्पष्टरूपमा केही उल्लेख गरिएको छैन । केवल पार्टीको संगठनात्मक ढाँचामा भोट बटुल्ने सर्तमा किनाराको फड्के साक्षी सरहमात्र बनाइएको छ ।

लिम्बूवान राजनीतिक परिदृश्यमा २९ र ३३ दलीय गठबन्धनको नाममा काठमाडौँ केन्द्रित आन्दोलन पनि भएको थियो । यसैको जगमा उभिएर २०७० सालको दोस्रो संबिधानसभाको निर्वाचन बहिष्कार पनि गरेको थियोे । तर यसैको आलोकमा लेखिएको संबिधान बमोजिम पछिल्लो आम निर्वाचनमा सहभागी हुनुले यसको ओचित्य पुष्टि गर्दछ भन्ने अलि भिन्न मत र दृष्टिकोण रहेको छ ।

यसै सिलसिलामा २०७१ साल साउन १८ र १९ गते बृहत् लिम्बूवान एकताको नाममा वीर नेम्वाङले नेतृत्वको लिम्बूवान मुक्तिमोर्चा,रामभक्त कुरुम्बाङको लिम्बूवान मुक्तिमोर्चा नेपाल, कमल छाराङ मातहतको सङ्घीय गणतान्त्रिक राष्ट्रिय पार्टी, सञ्जुहाङले नेतृत्व गरेको सङ्घीय लिम्बूवान राज्य परिषद् र कुमार लिङदेनले सञ्चालन गरेको मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान परिषद् सबैलाई एकीकृत गरेर सङ्घीय लिम्बूवान पार्टी नेपाल नामकरण र गठन भएको थियो ।

तर यो लिम्बूवानी भावना, चाहना, आस्था र विश्वासको खुसीयाली करिबकरिब तीनचार महिनासम्म पनि टिक्न सकेन । वि.सं २०७२ सालतिर लिम्बूवान क्षेत्रमा हाराहाङ नेतृत्वको एउटा समूह पनि चर्चामा आएको थियोे । प्रहरीसँगको मुडभेटमा उक्त संगठनका ताप्लेजुङ खेजेनिमका एकजना युवाले ज्यानसमेत गुमाएका थिए । त्यसपछि उक्त समूहद्वारा कुनै सक्रिय गतिविधि सञ्चालन भएको सुनिएको छैन । उनीहरूको राजनीतिक मूल उद्देश्य,सिद्धान्त र एजेन्डाको बारेमा अहिलेसम्म बुझ्ने अवसर मिलेको छैन ।

अन्तिम समयमा आइपुग्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बूवान मञ्च नेपाल पार्टीको तर्फबाट समानुपातिक तर्फको कोटाबाट प्रदेश १ को प्रतिनिधिसभामा एकजना महिला सांसद पठाउन सफल भएको थियोे । तर त्यहाँ एउटा सबैभन्दा सहजरूपमा गर्न सकिने ऐतिहासिक उपलब्धि समेत गुमाइएको थियोे । प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रदेशसभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिन तीन दिन अगावै प्रदेशसभा सचिवालयलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । त्यतिबेला मैले सम्बन्धित व्यक्तिलाई समेत अनुरोध गरेको थिएँ । तर पछिबाट त्यो काम गरिएन । त्यसको कारण अहिलेसम्म मैले थाहा पाउने मौका पनि मिलेको छैन ।

तर संसदको रेकर्डमा याक्थुङ लिम्बू भाषामा लिईएको सपथ समावेश गर्ने ऐतिहासिक र सुवर्ण अवसर गुमिईसकेको छ ।

जब हालसालै भाषा आयोगले प्रदेश १ को हकमा लिम्बू र मैथिलीलाई भाषालाई सिफारिस गरिसकेपछि मात्र उनीहरू हठात् सपनाबाट झसङ्ग ब्युँझिएजस्तो भान भइरहेको छ । नत्र पहिले कानुनी रूपमा प्राप्त गरेको भाषिक अधिकारसमेत प्रयोग गर्न चुकिसकेका थिए ।

पहिचानको मुद्दामा त्यसको मूल जराको अत्यन्तै ठूलो महत्त्व र अर्थ बोध गर्न अत्यावश्यक हुन्छ । लिम्बू र लिम्बूवान इतिहासको जरा भनेको याक्थुङ जाति र मुन्धुम हो । अहिलेसम्म पनि भाषाको लिखित अलिखित र सक्कली मुहान वा स्रोत भनेकै मुन्धुम हो ।

मुन्धुम भनेको याक्थुङ जातिको हकमा लोक नाटकीय साहित्य हो, जीवन,जगत र अलौकिक शक्तिलाई नियाल्ने र अनुभूत गर्ने सामाजिक तथा अध्यात्मिक दर्शन हो । समग्रमा जीवन जिउने कला (Art of living) पनि हो । तर यसलाई वेवास्ता गर्ने कुनै पनि दल पहिचानवादी हुनसक्तैन । राजनीतिक अधिकारकै व्यवस्थाकै वकालत गर्ने हो भने, नेपालमा मात्र नभएर विश्वमै तीनवटा धार मात्र अस्तित्वमा रहेकाछन्; लोकतान्त्रिक प्रणाली,साम्यवादी विचारधारा र राजतन्त्र वा राजसंस्था । साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद समेत प्रत्यक्षरूपमा अस्तित्वमा रहेका छैनन् ।

यदि पहिचानवादी पक्षधरले भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण र पहिचान गर्नसक्तैन भने उसले पहिचानको वकालत गर्नु नै व्यर्थ छ । पहिचानको प्रारम्भिक आन्दोलनकै क्रममा साम्यवादी सिद्धान्तका आधुनिक संसोधनवादका जन्मदाता कहलिएका ख्रुस्चेभ बन्ने रहर कसैमा जागेको हो भने, भन्नु केही पनि छैन ।

यदाकदा पहिचानको मसिह हुँ भन्नेहरूकै मुखबाट सुन्छु कि लिम्बूवान राष्ट्र बन्न बाँकी छ, धान नाच, हाक्पारे, केलाङ आदि संस्कृति मात्रै हुन, बल्लतल्ल भर्खरै राष्ट्र बन्ने प्रक्रियामा छ !

यो कस्तो निम्छरो बुझाई हो ?

एउटा राष्ट्र बन्नलाई भाषा, लिपि, संस्कार, संस्कृति, भूगोल, इतिहास, भेशभूषा, खाद्यान्न परिकार र जाति नै प्रमुख मापदण्ड हुन् । हालको लिम्बूवान भनेको प्राचीन इतिहासमा याक्थुङ पुर्खाले रचना,सिर्जना,कार्यान्वयन र अवलम्बन गरेका मुन्धुम, भाषा, लिपि, संस्कार र संस्कृतिको आलोकमा अविछिन्न तवरले निर्माण भएको गौरवशाली इतिहास हो । यसबाट के प्रष्ट हुन्छ भने, मुन्धुमीकाल भनेको राष्ट्र र देशमात्र नभई सानोतिनो साम्राज्य नै थियो । लिम्बूवान इतिहासको कालखण्डमा लिम्बूवान स्वतन्त्र र सार्वभौम सम्पन्न देश नै थियो । आधुनिककालमा साम्राज्यवाद र उपनिवेशवाद लिडिङ कोरमा नभएपनि कुनै पनि देश पूर्णरूपमा स्वतन्त्र र सार्वभौमसम्पन्न छैनन् । जस्तो कि विश्वका १९५ वटा देश संयुक्त राष्ट्रसङ्घको मातहतमा रहेकाछन् । तर लिम्बूवानको रुलिङ हकअधिकार खोसिएको अवस्था चाहिँ सत्य हो । यद्यपि भर्खरै राष्ट्र बन्ने प्रक्रियामा मात्र छ भन्नुचाहिँ इतिहासप्रतिको घोर अन्याय हुन्छ ।

यति पर्याप्त गौरवशाली र वैभवशाली इतिहास बोकेको हाम्रो विरासतलाई आफैँले नजरअन्दाज गर्न कुनै हालतमा उचित हुँदैन । याक्थुङ र लिम्बू दुवै हाम्रालागि उत्तिकै महत्त्व र गौरवपूर्ण पहिचानहरू हुन् । यी दुवैलाई स्थापित गर्न सकेको खण्डमा मात्र हाम्रो इतिहासका सबैखाले आयाम,मर्म र भावनाको कदर र सम्मान हुनसक्छ भन्ने मेरो बुझाई रहेको छ । तसर्थ यो आसन्न जनगणना हाम्रो जाति र भाषाका कोलममा इन्डोनिम आइडेन्टिटी “याक्थुङ“लाई पनि स्थापित गर्न गराउन,लेख्न लेखाउन आवश्यक छ । हामीले याक्थुङ र लिम्बू दुवै जातीय र भाषिक पहिचानलाई सँगसँगै लैजानुपर्छ । मुन्धुमीकालको बारेमा मैले योभन्दा अगाडिको स्तम्भमा लेख समावेश गरिसकेको छु । यो अहिलेको लेख लिम्बूवानको संक्षिप्त इतिहासमा आधारित छ । यी दुईवटा गौरवशाली इतिहासहरूका न्यायिक र सन्तुलित समायोजनका लागि पनि याक्थुङ र लिम्बू दुवैलाई एकैसाथ राष्ट्रिय डाटामा लिखितरूपमा समावेश गर्न अपरिहार्य भइसकेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...