‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’ - Naya Online

‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’

रोना लिम्बू वर्देवा

१५ वर्ष अघि मैले अन्तरजातीय विवाह गरेकी थिएँ । चाडवाडमा भेटघाटको त के कुरा ? मैले मेरी आमालाई नदेखेको पनि १५ वर्ष भयो । विवाहपछि हरेक चाडपर्वहरूमा म माइतीविहिन हुन्छु । माइत जाने माइती आउने बाटोमा कथित जातीय पर्खाल छ । सधै झैँ यसपटक पनि  मेरै घरमा दशैँ मनाएँ । मेरो परिवारसँगै ।

म लिम्बुको छोरी मेरो श्रीमान् दलित । अहिले पनि अन्तरजातीय प्रेम र विवाहको नाममा हत्या हुने गरेको पाइन्छ भने तपाइँ कल्पना गर्नोस् १५ वर्ष अघि मैले केके सामना गरे हुँला ? विभेदको चरम शिकार बनेकै हौँ हामी पनि । कसरी ? केके भयो ? ती कुराहरू बताउन यति समय प्रर्याप्त छैन । यो कुरा छोडौं ।

म १८ वर्ष पुग्दा छोरीकी आमा बनिसकेकी थिएँ । त्यति परिपक्व नभएर पनि होला सुरुका दिनहरूमा चाडवाड आउदा त्यति मन दुख्दैन थियो । अर्को पक्ष माया गर्ने परिवार पाएर पनि हुनसक्छ । त्यसो त केहि नरमाइलो त हुन्थ्यो नै । मेरो माइतघरमा ख्रिष्टियन धर्म मान्ने गर्छन् । दशैँ नमनाए पनि साथीभाई भेटघाट हुन्थ्यो । आफन्तहरू आउथे । पिङ खेल्थ्यौं । चेली माइती मिलेर पाहुना आएको घरमा धान नाच्न जान्थ्यौं । अझ २/४ जना साथीहरू दशैँदेखि तिहार नसकुन्जेलसम्म करिब–करिब छुट्दैन थियौं । कहाँ पो पुगेनौं ? रमाइलो गर्ने कुनै कसर छाडेका थिएनौं । हो, दशैको त्यो क्षणमा ती दिनहरूको साह्रै याद आउने गथ्र्यो । अर्को कुरा माइतीमा दशैं मनाउदैनथ्यौं विवाह गरें दशैँ मान्ने हिन्दु परिवारमा । फेरि पहिला म छोरी थिएँ विवाह गरेर आएपछि बुहारी भएँ । बुहारी भएपछि पूर्ण रूपमा स्वतन्त्रता खोसियो भन्ने त हैन, त्यस्तो थिएन । तैपनि छोरी र बुहारी हुँदाको केहि फरक त हुन्छ नै ।

विस्तारै ममा परिपक्वता आउदै गयो । त्यसपछि भने दशैँ, तिहार, तीज जस्ता चाडबाडमा मन खिन्न हुन थाल्यो । दशैको टिका थाहिरहँदा मनमा नमिठो अनुभुति हुन थाल्यो । तीजमा साथीहरू माइत जाँदा मन चस्स दुख्न थाल्यो । तिहार आउदा भाइको याद आउन थाल्यो । मेरो पनि बुबाआमा, माइतीसँग भेटघाट भएको भए भन्ने हुन थाल्यो । मन दुख्थ्यो, रुन्थ्यो तर मलाई त रुन पनि छुट छैन जस्तो लाग्ने । किनकी यति माया गरेको बुहारीको मन कसरी दुख्यो भन्ने लागेर घरका आफन्तहरूको मन दुख्छ ।

समय बित्दै गयो । मैले चित्त बुझाउँदै गएँ । दुई सन्तान भए । छोराछोरीले धेरै कुरा भुलाइदिए । म उनिहरूको खुशी खोज्न थालेँ । सन्तानको खुशी खोज्दाखोज्दै आफ्नो खुशी बिर्सिने रैछ । तैपनि ती व्यस्तताबीचको कुनै एकपलमा ती दिनहरू, जन्म दिने आमा र परिवारको याद झल्यास्स आउने रैछ । अहिले त दशैँ, तीज, तिहार सबैले दुखाएर जान्छ मलाई । अझ बढि तिहारले । हामी ३  दिदीबहिनी पछिको रहरको भाइ हो । ऊ जन्मेपछि भाइटिका नलगाएपनि माला लगाइदिएको थियौं हामीले । ऊ ५ वर्षको हुँदा मैले छाडेको हो । अहिले ऊ युवा भइसक्यो । उसलाई फोटोमा हेरेर चित्त बुझाउने गरेको छु । फोनमा भने कुरा गर्ने गर्छौं । यतिका वर्ष भयो आमा र भाइसँग भेट भएको छैन । बाबा र बहिनीहरूसँग भने भेट भएको छ ।

करिब १५ वर्षपछि यो वर्ष बाबाले दशैंमा माईतीघर बोलाउनुभयो । म हर्षविभोर भएँ । आइज छोरी, तेरी आमालाई सम्झाउने काम मेरो भयो ।’ बाबाले यति भन्नुहँदा खुशीले एकपटक मैले धर्ती छोडेर आकाशमा उडेको महशुस गरेँ । जाने तयारी गर्न थालेँ । तर, सासुआमा बिरामी पर्नुभयो जसका कारण म जान पाइनँ । बोलाएको बेला जान नपाउँदा मेरो मन साह्रै दुख्यो । हुन त बाबाले पहिला पनि पटकपटक बोलाउनुभएको हो तर आमाले भने बोलाउनुभएको छैन । त्यसैले जाने आँटै आएन । बाबाले जुवाइलाई ल्याएर आउनु भन्नुहुन्थ्यो तर आमाको अनुमति नआएपछि म डराउँथे । यसो गरिरहँदा बाबाको इमोशनसँग खेलेँ कि ? भन्ने लाग्थ्यो । आमाको रिस मरेको छैन कि ? त्यसो हो भने त अरुको छोरालाई मैले बदनाम गर्न लैजानु हुँदैन भन्ने लाग्थ्यो । एकपटक त बाबा लिन पनि आउनुभयो । म घरबाट पनि हिँडे । धनुकुटा पुग्नेबेला बाबाले कल गरेको गरेकै गर्नुभयो । फेरि सोचेँ, मेरो कारणले बाबाआमाको झगडा हुने त हैन ? त्यति मिलेको परिवारमा मैले किन झगडा गराउने ? त्यसपछि मैले माइत जाने आँट गरिनँ । यसपटक आँट बटुलेँ , जाने तयारी पनि गरेँ तर परिस्थिति नै त्यस्तै आइप¥यो, म जान पाइनँ । आमाको मन हो, एकदिन आमाको अंगालोमा बेरिएर रुने दिन आउँछ भन्ने आश र विश्वासमा बसेको छु । बाँचेको छु ।

दशै, तिहार, तीजमा सबैजना माईती जान्छन् अनि मलाई सोध्छन्, –‘माईती जादैनौ ?’ ‘बाबाआमाले बोलाएनन् ?’ यस्ता प्रश्नले कति दुखाउँछ त्यो त मैले मात्रै महशुस गर्न सक्छु । कहिले –‘जान्छु’, ‘कहिले विदा मिल्दैन’, भन्छु । यसरी नै १५ वर्ष भयो मैले यस्ता प्रश्नहरूको जवाफ दिएको । म जिल्ला अस्पताल तेह्रथुममा काम गर्छु । अस्पतालको काम भनेको चौबिसै घण्टा व्यस्त रहनु पनि हो । त्यसैले मलाई जवाफ दिन सजिलो भएको हो । कसलाई मन हुँदैन माईत जाने ? पीडा छ भनेर हिँड्न नमिल्ने रैछ । आफ्नो पीडा आफैसँग हुनेरहेछ ।

हुन त ख्रिष्टियन परिवारमा कसरी जातीय विभेद गरियो भन्ने प्रश्न धेरैमा होला । विभेद त कसैले कसैलाई गर्न मिल्दैन । अझ ख्रिष्टियनहरूको बाइबलमा त ‘परमेश्वरको नजरमा सबै एक हौ’ भन्ने वचन उल्लेख छ । तैपनि मलाई के लागछ भने, त्यतिबेला मेरी आमाको मप्रति आशा थियो, भरोषा थियो, घमण्ड थियो । त्यो समयमा हाम्रो गाउँमा अहेवलाई डाक्टर सम्बोधन गरिन्थ्यो । म अहेव पढ्दै थिएँ । गाउँमा फलानाको छोरी डाक्टर पढ्न गई भन्ने कुरा हुन्थ्यो । त्यस्ता प्रसँगले आमाको मन प्रफुल्ल हुन्थ्यो । तर मैले आफै विवाह गर्नु त्यसमा पनि अन्तरजातीय विवाह गर्नुले आमाको आशामाथि ठूलो आघात पुग्यो । त्यतिबेला आमा रिसाउनु स्वभाविक थियो । छोराछोरीप्रति आमाबाबुको आशा र अपेक्षा कस्तो हुँदोरहेछ भन्ने अहिले आफै आमा बनेपछि म पनि अनुभव गर्न सक्छु । पक्कै मन दुख्छ । फेरि आमाको मन कसरी यतिका लामो समयसम्म फर्किन सक्तैन ? भन्ने प्रश्न पनि आउँछ कहिलेकाहिँ ।

मैले माइत जाने आँट गरिनँ, फोनमा आमा बोल्न मान्नुभएन । यसरी नै आमाछोरीको लुकाछिपी चलिरहेको छ अझैँपनि । नजिक भए ‘आमा’ भनेर जबरजस्ती बोलाइरहन्थेँ जस्तो लाग्छ । फेरि मनको कुरा मनमै रहन्छ ।

मलाई लाग्छ मेरो रोजाई सहि नै थियो । मेरो घरबाट कहिल्यै नराम्रो भएन । यतिका वर्ष वित्यो, मेरो परिवार साच्चै सुन्दर छ । म पनि खुशी नै छु । अघि पनि भनें नि ! चाडवाड आउँदा भने माइतीको सम्झनाले मन दुखेर आउछ ।

कर्मघरका परिवारका सदस्यसँग दशैंको टीकापछि रोना

 

अहिले जति पनि जातीय विभेदबारे बहसहरू भइरेका छन्, त्यसमा मलाई खासै विस्वास लाग्दैन । बहस गर्नु र व्यावहारमा प्रयोग गर्नुमा धेरै अन्तर छ । अहिले जातीय विभेदविरुद्ध बहस गरिरहेका कथित दलित बाहेककाहरूले दलितलाई जुवाइ या बुहारी स्वीकार गरुन् त ! परिवर्तन हुनुपर्छ भनेर भाषण मात्रै गरेर परिवर्तन हुन्छ ? परिवर्तन हुनुपर्छ पनि आत्मैदेखि भन्न सक्नुपर्छ, तब हुन्छ परिवर्तन ।

मैले आत्मैदेखि कहिल्यै जातीय विभेद गरिनँ । बाल्यकालदेखि नै मान्छे एउटै हौँ भन्ने लाग्थ्यो । संयोग भनौं विवाह पनि अन्तरजातीसँग नै गरेँ । मेरो विवाहसँग मलाई पश्चाताप छैन । मान्छेसँगै विवाह गरेको छु भन्ने घमण्ड छ मलाई । कसैको घरभित्र पस्नु र नपस्नु त मेरो कुरा हो जस्तो लाग्छ । तर तैँले छोएको नखाने भन्ने किसिमको व्यावहार चाहिँ मैले भोग्नुपरेको छैन । यत्ति हो, चाडवाडले मेरो बाबाआमा बहिनीहरू र भाइको सम्झना बोकेर ल्याइदिन्छ ।
(कुराकानीमा आधारित)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...