लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध - Naya Online

लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध

नन्द कन्दङवा

किरात, याक्थुङ र लिम्बुको सम्बन्ध
किरात भनेको आर्यहरूले इंगित गरेको एउटा ठुलो मंगोलोईड मानव समुह हो भन्ने कुरा स्पष्ट भएकोले यस सम्बन्धमा अब धेरै चर्चा गरिरहनु परेन । अहिले यहिँ मानव समुहहरू भिन्न भिन्न पहिचानका साथ भिन्न भिन्न मानव समुहरूलाई प्रतिनिधित्व गर्दछन् । प्राचिन नेपालमा ३२–३४ पुस्तासम्म राज्य शासन गर्ने किरात भनिएकाहरू पनि एउटै मानव समुह थिए या एकभन्दा बढी मानव समुह थिए निश्चित गर्न सकिएको अवस्था छैन । किरातकालीन ठाउँ गाउँ, डाँडा तथा खेती भूमिहरूको नामहरूलाई लिच्छवीकालको अभिलेखहरूले स्पष्ट गरे अनुसार उक्त किरात भनिएको मानव समुह र याक्थुङ भन्ने गरिएको लिम्बु मानव समुहको नजिकको सम्बन्ध देखा पर्दछ । याक्थुङ भनिएको मानव समुहलाई यक अर्थात गढ बनाई बसोबास गर्ने भएकोले यक निवासी भन्ने अर्थमा यक्ताम्बाबाट याक्थुम्बा/योकतुम्बा हुदै याक्थुङ भएको अनुमान गरिएको छ । यो मानव समुह प्राचिन नेपालमा राज्य शासन गर्ने किरात भनिएका राजवंशको राज्यसत्ता पतन भए पछि पुर्वतिर लागेका यस वंशको अन्तिम राजा लिलिमहाङका सन्तानलाई मुन्धुममा ‘सुसुवादेन लिलिमहाङ याक्थुङ पाङफे’ र सुसुवादेन लिलिमहाङ सावायेतहाङसा याक्थुङहाङ’ भनिएको छ । यसले लिलिमहाङका सन्तान रहेको गाउँ भन्ने अर्थमा र तिनलाई सावायेत्हाङसासंंग जोडेको देखिन्छ । तिनै वंशका मानिसहरूको पहल र नेतृत्वमा १० थुम कायम गरि विभिन्न १० राजाहरूले राज्य शासन गरेकोले दश लिम्बुवान (थिबोङ याक्थुङ) राज्य बन्न गएको हो भन्ने संकेत मिल्दछ । तिनै प्राचिन नेपालमा राज्य शासन गर्ने किरात भनिएको वंशका लिलिमहाङका सन्तानहरूलाई याक्थुङहाङ भनिएकोले तिनै मानव समुहको नामबाट समग्र सावायेत्हाङसा, सिन्युक मुदेनसा, खाम्बोङबासा लुम्बोङबासा र तेमेनवलकसाहरूलाई याक्थुङ भनेको देखिन्छ । त्यो भन्दा अघि सिन्युक मुदेनसा, खाम्बोङबासा लुम्बोङबासा र तेमेनवलकसाहरूलाई समग्रमा सावायेत्हाङसा भनेको पाईन्छ ।

यसअघि सो भूभागमा रहेका मानव समुहहरूलाई सिन्युक मुदेनसा, खाम्बोङवासा लुम्बोङबासा, तेमेन वलकसा र समग्रमा सावलासा सावायेतहाङसा भन्ने गरिन्थ्यो जुन कुरा मुन्धुमले पनि प्रमाणीत गर्दछ । यक निवासी याक्थुङहरूले राज्य शासन गर्न थालेपछि राज्य शासन र सत्ताको कारण उक्त नामहरू मुन्धुममा सिमित भए भने चलनचल्तीमा याक्थुङ मात्र भन्न थालिएको हो भन्ने स्पष्ट संकेत मिल्दछ । दश थुम बनाएर राज्य गर्नु अघि लिम्बु जङ (चङ) बाट आएका या झरेकाहरू भनेर लिम्बु भन्ने शब्द पनि समाजमा चलनमा थियो तर थिबोङ याक्थुङहरूको नामबाट राज्य र राज्य शासन चलेपछि राज्य शासन र सत्ताका कारण लिम्बु शब्द प्रचलनबाट हटेर याक्थुङ मात्र प्रचलित भयो । त्यसैकारणले लिम्बु समाजमा लिम्बु र याक्थुङ पर्यायवाची शब्दकोरूपमा रह्यो र रहिआएको छ । यि दुबै शब्दहरू लिम्बु समाजको मौलिक शब्दहरू हुन । यसमा एउटा कुरा के बुझ्न जरुरी छ भने लिम्बु समाजमा लिम्बु शब्द कसैले प्राथमिकताका साथ भन्न लगाउँको शब्द नभई स्वतत चलेको (unimpose) शब्द हो भने याक्थुङ चाही दश थुम राज्य शासनको समयमा अलि प्राथमिक्ता दिएको (impose) शब्द हो । त्यसैले यो शब्द तुम्याङहाङहरूको निर्देशनमा मुन्धुममा पनि छिर्यो । पछिल्लो समयमा सन्धि सम्झौता र आधिकारीक दस्तावेजहरूमा लिम्बु शब्दलाई प्रयोग गरियो र यो शब्द प्रचलित भयो र व्यापकता पायो ।

लिम्बुलाई जनाउने अन्य शब्दहरू
लिम्बुलाई सिक्किम र तिब्बतका राजाहरूले ‘चङ/चोङ’ भन्थे भन्ने कुरा उनीहरूले जारी गरेका चिट्टीपत्र तथा सन्धि मोहरले स्पष्ट गर्दछ । तिब्बती राजा दलाई लामा तेस्रो (चौथो ?) ले सन १६११ तिर विजयपुरका राजा पानोहाङ उर्फ बिद्याचन्द्र रायलाई गरिदिएको तिब्बती मोहरमा लिम्बु वंशलाई जनाउन ‘चोङ/चोङरिक’ शब्द प्रयोग गरेको पाईन्छ । उक्त मोहरमा फेदाप देशबाहेक नुहाङमा, भागासुम र अरु तराईसम्म फैलिएका सात देशहरू अघि उनकै पुर्वजहरूले चर्ची आएको उल्लेख छ । फेदापदेखि बाहेक यि सात देशहरू कुन कुन थिए भन्ने खुल्दैन । यसले कतै आठराय (आठ राजा) हरूको राज्यहरूलाई संकेत गरेको हो कि भन्ने सम्म शंका गर्न सकिन्छ ।

यसैगरि, सन १६९४ (वि.सं. १७५१) तिर सुखिमका राजाले लिम्बुवान देशको तम्बर गाउँ, याङवारोक गाउँ, उत्तर पान्थर गाउँ, फाकफोक गाउँ, ईलाम गाउँ र दार्जिलिङ तथा मिरिक गाउँ फिर्ता दिएको मोहरमा पनि लिम्बुलाई ‘चोङ’ नै उल्लेख गरेको छ । ति गाउँहरू स्वायत्त ढङ्गले चलाउन, रेखदेख गर्न स्थानिय लिम्बुहरूलाई सुभा पद पनि सुखिम राजाले दिएको देखिन्छ । वि.सं. १७०८ देखि १७५७ (ईस्वी १६५१ देखि १६९४) सम्म लिम्बुवान भूमिको तम्बर गाउँ, याङवारोक गाउँ, उत्तर पान्थर गाउँ, फाकफोक गाउँ, ईलाम गाउँ र दार्जिलिङ तथा मिरिक गाउँसहितका भूभागहरू सिक्किमको अधिनस्त र नियन्त्रणमा थियो । सिक्किमले वि.सं. १७५१ देखि सो क्षेत्रका भूमिहरू फिर्ता दिन थालेको देखिन्छ ।

यसैगरि, सन १८४० (वि.सं.१८९७) तिर हड्जनले संकलन गरेको गोर्खा–लिम्बु लडाईबारेको पाण्डुलिपीमा लिम्बुलाई याक्थुङ, योक्तुम्बा भनेर उल्लेख भएको छ । यसको ठिक ६६ बर्ष पहिले अर्थात सन १७७४ (वि.सं. १८३१) साउनमा भएको लिम्बुवानका लिम्बु राय नेता र कान्तिपुरका राजा पृथ्वीनारायण शाहसँग भएको नुनपानीको सन्धिमा लिम्बुलाई तुतु तुम्याङ याकहाङका सन्तान र लिम्बु कुल भन्ने शब्दहरूले सम्बोधन गरिएका छन् । यसको लगत्तै सन १७७४ (वि.सं. १८३१ भदौमा नन्द राय र जामुन रायसँगको सन्धि मोहोरमा लिम्बु र लिम्बुवान भन्ने शब्दहरू राखिएका छन् । यसको अर्थ लिम्बुवान भन्ने शब्दलाई पछिल्लो सन्धि मोहोरले जोड दिएको छ । यसले लिम्बु भन्ने शब्द लिम्बु समाजमा धेरै पहिलेदेखी प्रचलनमा थियो र उक्त सन्धि मोहोरमा राख्न र मान्यता दिलाउन जोड गरेको स्पष्ट हुन्छ । त्यसपछि लिम्बु शब्द लिम्बु समाज र बाहिरीय समाजका मानिसहरूमा व्यापक भयो । यसो त लिम्बु शब्द कान्तिपुरका राजा पृथ्वीनारायण शाहको खल्तीबाट झिकेर राखिएको होईन र यसको प्रचलन त्यस अघि नै थियो भन्ने कुरा योगीनरहरी नाथले संकलन गरेको ईतिहास प्रकाशन पत्र सन्धिको पृष्ठ ६८४ र ६८५ मा उल्लेख भएको र श्री भगिराज ईङनामद्धारा लिखित लिम्बुवानको ऐतिहासिक दस्तावेजको पेज २७०–२७१ मा वि.सं. १८२४ मा विजयपुर सेनका चौतारिया (दिवान) ले १० लिम्बुको नाम जारी गरेको स्यानमोहोर (सेन मोहोर) मा लिम्बु तथा १० लिम्बु भन्ने शब्द राखिएबाट विजयपुर सेनकालमा पनि लिम्बु शब्द लिम्बु समाजमा प्रचलनमा थियो भन्ने प्रमाणीकरण गर्दछ ।

लिम्बु र याक्थुङ शब्दको उत्पति
लिम्बु समाजमा याक्थुङ र लिम्बु शब्द पर्यायवाची शब्दकोरूपमा प्रयोग हुदै आएको छ । यूमा मुन्धुममा आउने ‘लिम्बु चङ’ शब्दले लिम्बु शब्दको उत्पति र प्रचलन यूमा मुन्धुमको निर्माण हुनु अगावै भयो भन्ने देखिन्छ । मुन्धुमहरूमा मानव समुहकोरूपमा खाम्बोङबासा लुम्बोङबासा आउने भएकोले त्यहि लुम्बोङबासाको अप्रभंस लिम्बु हुन गएको हो भन्ने मत पनि रहेको छ । यसले ‘लिम्बु चङ’ र ‘लुम्बोङबासा’ भन्ने शब्द, शब्दको उत्पति र प्रचलनलाई स्पष्टरूपमा जोड्न पुग्दछ । यसलाई आधार बनाउदा लिम्बु शब्दको उत््पति खाम्बोङबासा लुम्बोङबासा मानव समुहलाई वर्णन गर्ने मुन्धुम निर्माण सँगसँगै भयो भन्ने निश्कर्ष निक्लन्छ । इतिहासकारहरूले लिम्बु शब्दको उत्पति ‘लिआबु, लुम्बासुम्बा, लिलिमहाङका सन्तान’ भन्ने अर्थबाट भएको भन्ने मत राखेका छन् । कतिपयले भाषाको हिसावले याक्थुङसा भन्न सहज र मिल्ने हुन्छ तर लिम्बुसा भन्न त भाषागत हिसाबले अप्ठ्यारो हुन्छ मिल्दैन भन्ने तर्क गरेको देखिन्छ । लिम्बुसाको ठाउमा लुम्बोङबासा भन्यो भने भाषागत हिसाबले अप्ठ्यारो पर्छ र ? याक्थुङ पनि यकताम्बा अर्थात योक्तुम्बाबाट भएको मानेमा यकताम्बासा अर्थात योक्तुम्बासा भन्न अलि असहज नै हुन्छ नि ! शब्द जे बोलीचालीको प्रचलनमा रहेको हुन्छ त्यसलाई भन्न स्वभाविकरूपमा सहज हुन्छ भन्ने बुझ्न आवश्यक छ । केहीले लिम्बु शब्द प्रयोगलाई कोलोनाईज्ड दिमागसम्म भन्न पुगेको देखियो । ‘लिम्बु चङ’ र ‘लुम्बोङबासा’ बाट आएको लिम्बु शब्दको प्रयोगलाई के को आधारमा कोलोनाईज्ड दिमाग भनिएको हो त्यो भने बुझिएको छैन । यस सम्बन्धमा अरु धेरै भन्नु भन्दा पनि बहकिने बानी र अल्पज्ञानको आवेग होलासम्म भन्न सकिन्छ ।

त्यहि यूमा मुन्धुममा ‘सुसुवादेन लिलिमहाङ याक्थुङ पाङफे’ र ‘सुसुवादेन लिलिमहाङ सावायेतहाङसा याक्थुङहाङ’ भनि वर्णन आउने भएकोले याक्थुङ भन्ने शब्दको उत्पति यूमा मुन्धुम निर्माण हुनु अगावै भयो र प्रचलन थियो भन्ने देखिन्छ । यूमा मुन्धुममा आउने वर्णनहरूलाई विश्लेषण गर्दा उक्त मुन्धुम ७ देखि १०/११ औ शताब्दि पछि नै निर्माण भयो कि भन्ने अनुमान हुन्छ ।

असोज २०७८

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जनगणनामा थर लेख्ने प्रचलन

निनाम कुलुङ ‘मंगले’ लामो समयदेखि (लगभग एकसय २० वर्ष अघिदेखि) नेपालमा पनि राष्ट्रियस्तरमा जनगणना...

‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’

रोना लिम्बू वर्देवा १५ वर्ष अघि मैले अन्तरजातीय विवाह गरेकी थिएँ । चाडवाडमा भेटघाटको...

शुद्ध हुनुपर्छ भरिएको घडा

आश्मा अर्याल आयो दशैँको बेला अरे । के आएकै हो त दशैँ? तिथि, मिति,...

दसैँसँग याक्थुङ जातिको के साइनो लाग्छ ?

प्राज्ञ अमर तुम्याहाङ चाड भनेको के हो ? चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो...

समसामयिक राजनीतिक रङ्गमञ्चमा प्रतिगामी र अग्रगामी आरोप–प्रत्यारोपको शल्यक्रिया

उदय ‘पूर्वेली’ चोङ्बाङक्याक अहिलेको सत्ताको केन्द्रलाई नियाल्दा लिबरल डेमोक्रेसी प्रकृतिको देखिन्छ । काँग्रेस र...

लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध

नन्द कन्दङवा किरात, याक्थुङ र लिम्बुको सम्बन्ध किरात भनेको आर्यहरूले इंगित गरेको एउटा ठुलो...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...

सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी

युवराज ठकुरी उन्यु र बुकी फुल्ने उत्तरी मोरङ केराबारी–२, सिंहदेवीमा रहेको पाखोबारी आज हराभरा...

“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?”

जीवन देवान गाउँले मेरो एकजना जिग्री थियो –दीलदुःखी जन्तरे । थियो ! सुनेर चिसो...

विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना

लक्ष्मण कटुवाल एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको...