दशैंको अर्थ—अरुको पीडामा खुसी मनाऔं - Naya Online

दशैंको अर्थ—अरुको पीडामा खुसी मनाऔं

इन्द्र नारथुङे

‪‎दशैं, दसहरा वा बिजयदशमीको सम्बन्ध पौराणिक पात्रहरूसँग जोडिए पनि मल्लकालसम्म यसको खास महत्व झल्कने कुनै सन्दर्भहरू नेपालमा पाईन्न । गोर्खा राज्यको बिस्तारसँगै दशैंले महत्व पाएको कुरा इतिहास खोल्दा थाहा लाग्छ ।

दशैं, रावण विरुद्ध रामले बिजय प्राप्त गरेको खुशियालीमा मनाइन्छ भन्ने सवार्धिक मत रहे पनि दशैंको मूलमर्म ‘दुर्गापूजा’ नै हो । शक्तिरूपा दुर्गाको पूजा र उपासना गरेपछि रामले रावणलाई हराएको भन्ने प्रशंग हिन्दुहरू सुनाउँछन् । दुर्गा तिनै हुन् जसलाई केही पौराणिक शास्त्रहरूले शुम्भ–निशुम्भ जस्ता शक्तिशाली दैत्य राजाहरूलाई मारेर देवगणको रक्षा गर्ने शक्तिशाली पात्रको रूपमा उभ्याएको छ । त्यसैले दशैंको शुरुवात सुम्भ–निशुम्भ बधसँगै भएको हो भन्ने मत पनि छ ।

दुर्गापूजाको महिमा सबै ठाउँका हिन्दुहरूमा भए पनि भारतको पश्चिम बङ्गालमा सवार्धिक महत्वका साथ पूजा गरिन्छ । त्यसैगरी उडिसा र असममा पनि दुर्गापूजाको महत्व ज्यादा छ । तामिलनाडु, आन्ध्र प्रदेश र कर्नाटकतिर भने दशहराको समयमा लक्ष्मी, सरस्वती र दुर्गाको तीन–तीन दिन पूजा गर्ने चलन छ । हिमाञ्चल प्रदेशमा स्थानीय देवि–देवताका साथ रधुनाथको उपासना गरिन्छ । गुजरातमा माटोको घडामा देविको प्रतिक स्थापना गरि सो घडालाई कन्याकेटीले शिरमा राखेर ‘गरवा’ नाच, नाच्ने चलन छ । पञ्जाबका हिन्दुहरूले रावणबधको उत्सव गर्छन् । उता महाराष्ट्रमा भने नौ दिनसम्म दुर्गाको उपासनागरि दशौं दिनको दिन सरस्वतीको बन्दना गर्ने चलन छ । हिन्दुहरूको कम बाहुल्यता रहेको कस्मिरमा नौ दिनसम्म पानी मात्र पिएर उपवास बसी ‘खीर भवानी’ को मन्दिरमा गई दर्शन गर्ने चलन छ । नेपालका तराईमूलका हिन्दुहरूले सामान्य रूपमा दुर्गापूजा गर्ने गर्छन् । तर भारतका विभिन्न ठाउँका र नेपालका तराईमूलकाभन्दा बेग्लै तरिकाले पहाडी हिन्दुहरूले दशैं मनाउँछन् । नेपालका पहाडी मूलका हिन्दुहरूले नौ दिनसम्म दुर्गाको पूजा गरे पनि सबैभन्दा महत्व ‘टीका’ को छ । त्यसैगरी नवमीको दिन शक्तिपिठ र घरघरमा ‘मार’ हान्नु अर्को महत्वको बिषय हो । जमरा राख्ने, फूलपाती भित्र्याउने र सैनिकहरूबाट लहरे बढाइँ गर्ने चलन पनि नेपालका पहाडी हिन्दु समुदायमा छ, जुन नेपालकै तराईमूलका हिन्दु र अन्य ठाउँका हिन्दुहरूमा छैन ।

दशैं वा दशहरासँग विभिन्न पौराणिक सन्दर्भहरू जोडिए पनि नेपालको सन्दर्भमा भने बिल्कुलै नयाँ तथ्य फेलापर्छ । खासगरी गोर्खा राज्यको बिस्तारसँगै दशैं नेपालमा स्थापित भएको सन्दर्भ यहाँ चर्चा गर्न लायक छ । मैले शुरुमै लेखेको छु कि, मल्लकालिन उपत्यकामा दशैंको महत्व झल्काउने कुनै सन्दर्भहरू भेटिएका छैनन् । बरु मल्लकालमा अरु धेरै जात्रा र उत्सवहरू महत्वका साथ मनाइन्थ्यो । गोर्खाली फौजले कान्तिपुरमा आक्रमण गर्दा राजा जयप्रकाश मल्ल इन्द्रजात्रा हेरिरहेका थिए । तर जब गोर्खाली फौजको राज्य बिस्तार अभियान अगाडि बढ्यो तब दशैंले साँस्कृतिक रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै र गोर्खालीहरूमा सवार्धिक महत्व पाउँदै गयो ।

युद्धको साइत दशहरा
अयोध्याका राजा रामले दुर्गा भवानीको पूजा–आरधना गरि लङ्कामा आक्रमण गर्दा बिजय प्राप्तगरेको कथासँग दशैको सम्बन्ध जोडिएपछि दशैंको महिमा के हो भन्नेकुरा आफैमा प्रष्ट छ । अर्थात युद्धमा कसैलाई मारेवापत वा हराएवापतको खुशियालीमा दशैं मनाउन थालिएको हो । तर युद्धमा पक्ष–बिपक्ष हुन्छ । एउटा पक्षले जित्छ । एउटा पक्षले हार्छ । जित्नेले खुशियालीमा दशैं मनाईरहेका हुन्छन् । हार्नेहरूमध्ये मारिने, मारिसकिएका र बाँच्नेहरू अथाह पीडामा हुन्छन् ।

रामले दुर्गा भवानीको पूजा–आरधना गरेर आश्विन शुक्लपक्षमा लंकामाथि आक्रमण गरेको र बिजय प्राप्त गरेको कथाले दशैं चाड स्थापित मात्र भएको छैन, हिन्दुआर्य समाजमा युद्धसम्बन्धि मनोविज्ञानको समेत निर्माण भएको छ । त्यसैले दशहराको समयमा युद्ध शुरुगर्दा बिजय हातलाग्छ भन्ने मान्यता अद्यपि हिन्दुआर्य समाजमा छ । हो, यहि मनोबिज्ञानबाट प्रेरित भएर पृथ्वीनारायण शाहले धेरै युद्ध लडेका छन् ।

पृथ्वीनारायण शाहले गोर्खा राज्यको राजगद्दी सम्हालेपछि लडेको पहिलो युद्ध नुवाकोटको युद्ध हो । सो युद्ध सन् १७७४ सेप्टेम्बर २६ तारिक सनिबारको दिन भएको धेरै इतिहासकारहरूको ठम्याई छ । २६ सेप्टेम्बर भनेको अशोजको झण्डै आधाउधी हो । अर्थात दशैंले छुनै लागेको समय । नुवाकोटको सो युद्धमा गोर्खाली फौजले सजिलै बिजयप्राप्त गर्छ । तात्कालिन समयमा कान्तिपुर अधिनस्थ नुवाकोटमा पूर्वगोर्खाली शैन्यकमाण्डर जयन्त राना रक्षकको रूपमा रहेका हुन्छन् । उनी उपत्यका गएको बेला गोर्खाली सेनाले नुवाकोटमाथि आक्रमण गर्दा उनका छोरा शंखमनी राना युद्धमा मारिन्छन् । छोरा मारिएको सुनेर बिह्वल अवस्थामा रहेको जयन्त राना नुवाकोट नजिकैको बेलकोटमा पक्राउ पर्छन् र छाला तरिएर कष्टपूर्ण मृत्युवरण गर्छन् । इतिहासकारहरूको अनुसार नवरात्रमा बेलकोट कब्जा भएको थियो र त्यहिबेला जयन्त राना छाला तरिएर मारिएका थिए । सम्भवतः गोर्खालीहरूले पहिलोपल्ट हर्सोल्लासका साथ दशैं त्यही बर्ष मनाए । र, त्यो क्रमले हरेक बर्ष निरन्तरता पायो ।

गोर्खालीहरूले नुवाकोट जितेपछि महत्वपूर्ण ठाउँहरूमा आक्रमण गर्दा कि, आश्विन शुक्लपक्षको नवरात्र कि, चैत शुकपक्षको नवरात्रलाई साइत पारेको देखिन्छ । कीर्तिपुरमाथि पहिलोपल्ट चैत्र शुक्लपक्षको साइत पारेर २८ मे १७५७ मा गोर्खाली फौजले आक्रमण गरेको थियो । तर त्यस युद्धमा गोर्खालीहरू नराम्ररी पराजित भए । सन् १७६२ अगस्तको अन्तिममा मकवानपुरमाथि चढाइँ गर्दा गोर्खालीलाई अपूर्व जीत हातलाग्यो । त्यो बर्षको दशैं गोर्खाली फौजले मकवानपुरमै धुमधामसँग मनाएको र दशैं लगत्तै सिन्धुलीगढी कब्जा गरेको देखिन्छ । मकवानपुर, पृथ्वीनारायण शाहको ससुराली राज्य हो तर मकवानपुर राज्यको तात्कालिन राजा दिग्बन्ध सेन (जेठान) सँग पृथ्वीनारायण शाहको सुरुबाटै सम्बन्ध राम्रो थिएन । इतिहासकारहरूको अनुसार एक घटनामा दिग्बन्ध सेनले पृथ्वीनारायण शाहको झण्डै ज्यान नै लिएका थिए । दाइजो–तिलकको बिषयमा पनि दिग्बन्ध सेन र पृथ्वीनारायण शाहबीच बिबाद भएको थियो । ससुरा हेमकर्ण सेनको मृत्युपछि गोर्खा र मकवानपुरको सम्बन्ध राम्रो थिएन । पृथ्वीनारायण शाह कुनै पनि हालतमा मकवानपुरलाई आफ्नो राज्यमा गाभेर दिग्बन्ध सेनलाई कठोर सजाय दिन चाहान्थे । त्यसैले मकवानपुरको बिजय पृथ्वीनारायण शाहको लागि ज्यादै महत्वपूर्ण थियो । मकवानपुर बिजयपछि दशैं सुरु हुनुले त्यो बर्षको दशैं गोर्खालीको लागि विशेष नै रहेको हुनुपर्छ । तर राज्य गुमाएर अन्तै लुकीबसेका दिग्बन्ध सेन र यूद्धमा अफन्त गुमाएर पीडामा रहेका मकवानी जनताको लागि भने कालो दिन थियो । मकवानी जनताहरू रोइरहेको बेला गोर्खालीहरू खुशीमा झुमिरहेका थिए । यता गोर्खाली सेनाले आक्रमण गर्दा कान्तिपुरमा इन्द्रजात्रा चलिरहेको थियो । इन्द्रजात्राको समाप्तीसँगै दशैं लाग्ने भएको हुँदा कान्तिपुर जितपछिको दशैं महत्वपूर्ण हुने भै नै हाल्यो । यहि फेरोमा बिना युद्घ ललितपुर हातलाग्नुको खुसी पक्कै सामान्य थिएन । उता सन् १७७२ अगष्त २५ तारिक दुधकोशी नदि तरेर किरातभूमि छिरेका गोर्खाली फौजले दशैं अगाडि नै अरुणवारीको भूभाग जितिसकेको थाहालाग्छ । राज्य, आफन्त, धन–सम्पत्ति सबै गुमाएका किरातीहरू पीडामा छट्पटी रहँदा सन् १७७२ को दशैं गोर्खाली फौजले धुमधाम साथ किरातभूमिमा मनायो । र, त्यसै बर्षबाट आजसम्म दशैंको दर्दनाक रूप किरातीहरूले भोगिरहेका छन् । यसर्थ दशैंको अवसरमा अरु राज्यमाथि लगातार अधिकार गर्दै गएपछि गोर्खालीको लागि दशैं बढी महत्वपूर्ण हुँदै गयो र जहाँ जहाँ जित्दै गए, त्यहाँ त्यहाँ दशैंको साँस्कृतिक साम्राज्य पनि बिस्तार हुँदै गयो ।

दशैं पुरानो चाड होइन
दशैं र इन्द्रजात्रा दुवैको आधार पौराणिक कथाहरू नै हुन् । दशैंसँग दुर्गा र राम जोडिए जस्तै इन्द्रजात्रासँग पौराणिक शास्त्रहरूमा वर्णित राजा ‘इन्द्र’ जोडिएका छन् । हिन्दुआर्यहरूले जति पनि मानिल्याएका देवीदेवताहरू छन्, ती सबै देविदेवताहरूमा ‘इन्द्र’ पुराना देखिन्छन् । ऋगवेद, सबैभन्दा पुरानो शास्त्र हो, जहाँ एकक्षत्र ‘इन्द्र’ को बर्णन छ । बाँकी देविदेवताहरूको बर्णन ऋगवेदमा उस्तो भेटिन्दैन । तर पछि लेखिएका शास्त्रहरूमा ‘इन्द्र’ भन्दा अरु देविदेवताहरूलाई महान बनाईएको भेटिन्छ । अर्थात बैद्घिक साहित्यमा शास्त्रअनुसार त्यही पात्र बढिमहत्व र कममहत्वको बनेका छन् । शुम्भ–निशुम्भ बध र दुर्गाभवानीको कथा, कुन कालखण्डको हो भनेर ठोकुवा गर्ने आधार छैन तर रामायणको कथा र राम–रावण युद्घ काल्पनिक वा यथार्थ नै किन नहोस् त्यो ऋगवैद्घिक कालभन्दा परको होईन । त्यसैले शास्त्रमा वर्णित पात्र र घटनाहरूलाई हेर्दा पनि दशैं मान्नुको महत्व दर्शाउने घटना वा पात्रभन्दा इन्द्रजात्रा मान्नुको महत्व दर्शाउने पात्र र परिघटनाअगाडिको देखिन्छ ।

इन्द्रजात्राको प्रचलन लिच्छवीकालका राजा गुणकामदेवले काठमाण्डौमा चलाएका हुन् भन्ने आम बुझाई छ । स्वर्गका राजा इन्द्रले काठमाण्डौमा आएर फूल चोरेको प्रशंगसँग जोडिएको यो जात्रालाई प्रचलनमा ल्याउने राजा गुणकामदेव विक्रमको दशौं–एघारौं शताब्दी आसपास काठमाण्डौका राजा थिए भनेर इतिहासकारहरूले भन्दै आएका छन् । गुणकामदेवले नै कृष्णजात्रा, लाखेजात्रा, हिलेजात्रा आदि पनि प्रचलनमा ल्याएका हुन् भन्ने भनाई छ । समयक्रमसँगै इन्द्रजात्राका झाँकीहरू थपिन्दै र परिस्कृति हुँदै अहिलेको अवस्थामा आएको संस्कृति तथा इतिहासविदहरूको तर्क छ । मल्लकालसम्म इन्द्रजात्रालाई ‘येँया पुन्हि’ भनिन्थ्यो र अचेल समेत नेवारी समुदायमा ‘येँहा पुन्हि’ नै भनिन्छ । लिच्छबीकालमा गुणकामदेवले प्रचलनमा ल्याएको र मल्लकालमा विशेष महत्वकासाथ मनाईने यहि ‘येँया पुन्हि’ लाई नै पछि ‘इन्द्रजात्रा’ बनाईएको कुरामा सबैको मतैक्य छ । तात्कालिन कान्तिपुरमा बर्षा ऋतुको अन्त्यपछाडि अत्यन्तै भब्यताका साथ मनाईने यो पर्वको चर्चा जति छ दशैंको चर्चा मल्लकालिन दस्तावेज वा लिखतहरूमा भेटिन्दैन ।

नेपालका पहाडि–मधेसी लगायत भारतीय हिन्दुहरूमा दशैंको महिमासँग सम्बन्धित भेटिने साझा मान्यता भनेको ‘दुर्गापूजा’ नै हो । दुर्गापूजा कहिलेबाट मनाउन थालिएको हो भन्ने बारेमा ठ्याक्कै तिथीमिती केलाउन सकिने आधार छैन । तर आधुनिक दुर्गापूजाको शुरुवात भारतको बङ्गाल क्षेत्रबाट विकास भएको र त्यसको श्रेय बंगाल ताहिपुरका महाराजा कंश नारायणलाई जान्छ भन्ने कुरोमा आम इतिहासविद तथा संस्कृतिकर्मीहरूको सहमति छ । पहिला हर्सोल्लासका साथ नभै घर–घरमा सामान्य रूपमा दुर्गापूजा गर्ने चलन थियो । उनै महाराजा कंश नारायणले मूर्ति स्थापना गरी दुर्गाको भब्य अनुष्ठान गरेपछाडि आधुनिक दुर्गापूजाको विकास भएको हो । ‘अभिब्यक्ती’ साहित्यिक पत्रिकामा भारतीय चर्चित लेखक ‘देवप्रकाश’ सन् २००९ को अक्टोबर अंकमा ‘दुर्गापूजाको साँस्कृतिक विश्लेषण’ शिर्षकमा लेख्छन्—‘महाराजा कंश नारायणले अरुलाई समेत डाकेर भब्यताका साथ दुर्गापूजा गरेको साल सन् १५३८ थियो ।’ यहि मितीलाई आधिकारिक मान्ने हो भने आधुनिक दुर्गापूजा शुरु भएको ४६७ बर्ष हुँदैछ । उनै महाराजा कंश नारायणको सिको गर्दै बंगालमा ढनाढ्यहरूले नवरात्रमा हजारौं धन खर्चिएर दुर्गापूजा गर्न थाले । तात्कालिन बंगालको राजा ‘नवकृष्ण देव’ ले बिट्रिस गर्वनरलाई पहिलोपल्ट दुर्गापूजाको अनुष्ठानमा निम्तो गरेर यसको महत्व अन्य समुदायसम्म चिनाउने काम गरेको भारतीय इतिहासकार तथा संस्कृतिअध्येताहरूले गर्वका साथ लेखेका छन् । यसप्रकार बंगाल क्षेत्रमा दुर्गापूजा गर्नु प्रतिष्ठाको विषय बन्नु पुग्यो । तर हजारौं धन खर्चिएर सर्वसाधरणले दुर्गापूजा गर्ने अवस्था थिएन । त्यसैले सन् १९१० मा कोलकाताको बलरामपुर स्थित बसुघाटमा आयोजित एक धार्मिक भेलाले सामुहिक रूपमा दुर्गापूजाको अनुष्ठान गर्ने निर्णय गरेपछि बंगालको दुर्गापूजाले अहिलेको रूप लिनपुग्छ । त्यसैले भन्न सकिन्छ बंगालमा सर्वसाधरणकालागि हर्सोल्लासको साथ दुर्गापूजा मनाउने प्रचलनको शुरुवात सन् १९१० मा मात्र भएको हो । त्यसपछि मात्र भारतको अन्य ठाउँमा दुर्गापूजाले बिस्तार पाएको हो । अझै पनि भारतको पश्चिम बंगालमा जसरी दुर्गापूजा हर्सोल्लासका साथ मनाईने चलन अरु राज्यहरूमा छ्रैन । नेपालमा दशैं मनाउने हिन्दुहरूमा दुर्गापूजाको महत्व छ तर पश्चिम बंगालको जस्तो भब्य मूर्ति खडागरेर सामुहिक रूपमा अनुष्ठान गर्ने चलन छैन । विगत केही बर्ष अगाडिबाट भने केही ठूला शहरहरूमा दुर्गामूर्ति स्थापना गरेर सामूहिक रूपमा पूजा–आरधना गर्न थालिएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने ‘दुर्गापूजा’ मात्र दशैं होईन । दुर्गापूजाभन्दा पनि फुलपाती, ‘टीका’ र ‘जमरा’ को महत्व धेरै छ भनेर माथि पनि भनियो । तर यहि फुलपाती, टीका र जमराको महत्व, भारतका हिन्दुलाई मात्र होईन नेपालकै तराई क्षेत्रका हिन्दुहरूलाई छैन । यसर्थ सबै ठाउँका हिन्दुहरूले मान्ने दुर्गापूजा वा दशहरालाई नै नेपालको दशैं हो भन्नु सरासर गलत हुन जान्छ । फूलपाती, जमरा र टीकाको सम्बन्ध दुर्गा पूजासँग नभएकै कारणले यिनीहरूको सम्बन्ध नेपाल भित्रै खोज्नुपर्छ । र, खोज्दै जाँदा पृथ्वीनारायण शाहको राज्य विस्तारसँग स्वतः जोडिन्छ । गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाण्डौ हनुमान ढोका दरबारमा भित्र्याउने चलन अझैसम्म रहनुले पनि सो कुरालाई पुष्टि गर्छ । भलै अक्षताको सेतो टीका र जमरा आदिवासीहरूको संस्कृतिसँग जोडिएला तर फुलपाती बढाइँ गर्ने, मार हान्ने र दशमीको दिन रातो टीकाको साथमा जमरा लाउने चलन गोर्खा राज्यको बिस्तारसँगै स्थापित भएको हो । यसकारण पौराणिक मान्यता होस् वा गोर्खा राज्यको विस्तारसँगै नेपालमा स्थापित भएको दशैंको मान्यता होस्, त्यसको एउटै अर्थ हुन्छ—अरुको पीडामा खुसी मनाऔं ।

नोटः दसैंको सन्दर्भमा नयाँ मान्यता स्थापित गर्न जरुरी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जनगणनामा थर लेख्ने प्रचलन

निनाम कुलुङ ‘मंगले’ लामो समयदेखि (लगभग एकसय २० वर्ष अघिदेखि) नेपालमा पनि राष्ट्रियस्तरमा जनगणना...

‘कथित दलितसँग विवाह गरेकैले १५ वर्ष भयो, माइतीको आँगन टेक्न पाइनँ’

रोना लिम्बू वर्देवा १५ वर्ष अघि मैले अन्तरजातीय विवाह गरेकी थिएँ । चाडवाडमा भेटघाटको...

शुद्ध हुनुपर्छ भरिएको घडा

आश्मा अर्याल आयो दशैँको बेला अरे । के आएकै हो त दशैँ? तिथि, मिति,...

दसैँसँग याक्थुङ जातिको के साइनो लाग्छ ?

प्राज्ञ अमर तुम्याहाङ चाड भनेको के हो ? चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो...

समसामयिक राजनीतिक रङ्गमञ्चमा प्रतिगामी र अग्रगामी आरोप–प्रत्यारोपको शल्यक्रिया

उदय ‘पूर्वेली’ चोङ्बाङक्याक अहिलेको सत्ताको केन्द्रलाई नियाल्दा लिबरल डेमोक्रेसी प्रकृतिको देखिन्छ । काँग्रेस र...

लिम्बु, याक्थुङ, किरात शब्दको उत्पति र सम्बन्ध

नन्द कन्दङवा किरात, याक्थुङ र लिम्बुको सम्बन्ध किरात भनेको आर्यहरूले इंगित गरेको एउटा ठुलो...

दशैंको अर्थ—अरुको पीडामा खुसी मनाऔं

इन्द्र नारथुङे ‪‎दशैं, दसहरा वा बिजयदशमीको सम्बन्ध पौराणिक पात्रहरूसँग जोडिए पनि मल्लकालसम्म यसको खास...

सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी

युवराज ठकुरी उन्यु र बुकी फुल्ने उत्तरी मोरङ केराबारी–२, सिंहदेवीमा रहेको पाखोबारी आज हराभरा...

“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?”

जीवन देवान गाउँले मेरो एकजना जिग्री थियो –दीलदुःखी जन्तरे । थियो ! सुनेर चिसो...

विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना

लक्ष्मण कटुवाल एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको...