“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?” - Naya Online

“जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?”

जीवन देवान गाउँले

मेरो एकजना जिग्री थियो –दीलदुःखी जन्तरे ।

थियो ! सुनेर चिसो लाग्यो होला हगी । बिनम्र अनुरोध –त्यतिपरसम्म पुगेर पनि नसोचिदिनु होला ।

कुरो सम्बन्धको र गर्दै गरेको भुतकालको नकि भुत भै सकेको । यति भनीसकेपछि पक्कै बुझ्नु भयो होला, कुनैबेलाका मेरो जिग्री हुन –दीलदुःखी जन्तरे । उनै जिग्री यतिबेला साथी मात्रै छन –फेसबुकमा । र, सम्बन्ध चै आईसियुमा छ । अझ यसो भनौ –झण्डैझण्डै कोमामा पुगेको अवस्थामा छ ।

म्यासेन्जरमा हाजिर हुने साथीहरुको लामो लर्कोमा अक्सर जन्तरेलाई खोजिबस्छु । किनकी कुनैबेलाका जिग्री होन्त । गोलाकारले घेरिएको जन्तरेको फोटो मुन्तिर प्रायः हरियो बत्ति बलिरहेकै हुन्छ । ढुक्क लाग्छ ।

साँचि जन्तरे चै तेसो गर्छ कि गर्दैन होला ?

हामी दुई चिनापर्ची गर्दाको थलो हो –कोताराया । जिग्रीयारीको गवाही हो –कोताराया । साहित्यिक रतिराग गाउँदाको साक्षी हो –कोताराया । हरेक आईतवार हाम्रो जिग्रीयारीको क्रिडास्थल हो –कोताराया । कुनै आईतवार त मस्त जवानी फैलाएर स्वागतमा उत्रिएको कोतारायामा लिन हुन पुगेको हाम्रो जिग्रीयारी कोताराया फतक्क गलेर सुतीसक्दा मात्रै छुटिन्थ्यो ।

कोतारायामा हाम्रो जिग्रीयारीले के मात्रै गरेन ? मनि राई गोठालेको भतेर रित्याएन कि ? द गोर्खाज रेष्टुरेन्टको साहुबाट पाईने बोनस सितनको आस गरेन कि ? संगतका साथीभाईलाई दिग्दारी बनाएन कि ? हाम्रो जिग्रीयारीले कोतारायामा नगरेको भनेको तीगापुलोह कारोबार मात्रै हो ।

यस्तोविधीको जिग्रीयारी कोमामा छ भन्दा अचम्म लाग्ला । तर, यो साँचो हो । यति लेख्दैगर्दा पनि एउटा कुरुवाले कोमामा लडेको विरामीको अवस्था मनिटरको स्क्रिनमा कुद्ने हरियो बत्तिमा हेरेजस्तो म्यासेन्जर लिष्टमा हेरिरहेको छु । जन्तरे हरियो बत्ति बालेर मुस्कुराई रहेको छ । ठिकठाक छ –म ढुक्क छु ।

…किन बोलाउनु ?

कसरी टुट्यो जिग्रीयारी ? थाहा छैन । जसरी भेउ नपाईकन जिग्रीयारी सुरु भयो, उसैगरी टुट्यो कि ! सायद । अँ… केएल छाडेर जन्तरे मुहार गयो । टाढा भयौँ अनि छुट्यो ? हैन । मुहार पुगे पनि बेलाबेला आउथ्यो । आउदा धेरै पहिला मुहार बस्ने धन देवान दाईको झझल्को बोकेर आउथ्यो । र, कोतारायामा हाम्रो जिग्रीयारी जम्थ्यो । जम्दा यस्तरी जम्थ्यो कि दुईतीन घण्टाको बस यात्रा गरेर फर्किनु पर्छ भन्ने समेत बिर्सिन्थ्यो –जन्तरे ।

जिग्रीयारी टुट्दै गएको जन्तरेले मध्यपान त्यागे पछि हो कि लाग्छ । लाग्छ के ? हो नै भनुङ न । किनभने मध्यपान त्याग गर्नेको घोषित सर्त नै हुन्छ,– अब उप्रान्त नखाने र खानेको संगत पनि नगर्ने । करिव दुईबर्ष अगाडी कोताराया आएको जन्तरेले तेस्तै छनक दिएथ्यो । अरुबेला फर्किनु हतारै नहुने मान्छेले उधुम हतारो देखाएको थियो । ‘बसुङ हाउ बसुङ’ कर गर्दा टक्टकिदै भनेको थियो,– हैट…मैले जाँडरक्सी छोडे ।

‘हाम्रो त खुन मै थीः मिसिएको हुन्छ’ –कुनैबेला प्याला ठोकीठोकी दुईभाई दावा गर्थ्यौ । जन्मजात खाईल्याकोमा हाम्रो कत्रो घमण्ड ! तर यो सब पाखण्डी घमण्ड न रहेछ । हगि जन्तरे !

तत्क्षणलाई ठानेको थिए –जन्तरेले छाडेको जाँडरक्सी हो । अहिले यसो गम्छु –आमाको पेटमा छदैदेखि खाँईल्याको छोड्न सक्नेले कुनै कालखण्डमा जोडील्याको जिग्रीयारी किन तोड्न नसकोस । मान्छे जिगरको टुक्रलाई बिर्षिन सक्छ, हाम्रो त जावो जिग्रीयारी ! कि कसो जन्तरे ?

हिजोआज जिग्रीयारीलाई सम्झिनु पनि वहाना चाहिने भएको रहेछ । यो बोध मलाई त्यतिबेला भयो जव पेशल मावुहाङको शब्द रहेको गीत चोःलुङ पार्क सार्वजानिक भयो । पेशल माबुहाङ अर्थात कुनैबेलाका मेरा जिग्रीयारी उनै दीलदुःखी जन्तरे । चोःलुङ पार्क गीतको बाहानामा आज उनै जन्तरे संगको जिग्रीयारी सम्झिरहेको छु ।

पेशल मावुहाङको शब्दमा यति राम्रो गीत बजारमा आउदैछ भनेर मेरो जिग्रीयारीले समेत मलाई भनेन । आउदै गरेको त भनेन भनेन, गीत बजारमा चलेको यतिका समय भैसक्दा पनि भनेको छैन । तर, पेशल मावुहाङ उर्फ दीलदुःखी जन्तरेले नभन्दैमा गीत आउदै गरेको मलाई थाहा थिएन भन्ने हैन । गीत तयारी हुदै गर्दा नै मलाई जानकारी थियो ।

कसरी ?

हाम्रो जिग्रीयारीको एक्सरेदेखि पोष्टमार्टम गर्ने सम्मको ल्याकत राख्ने डाक्टर हुन –देवेन्द्र सुर्केली । उनै सुर्केलीले मलाई सुनाएका थिए । भनेका थिए,– पेशल जी को राम्रो गीत आउदैछ । गीत सार्वजानिक भै सके पछि पनि उनैले युट्युव लिंक ईनबक्समा खसाएर भने,– सुन्नुस है ।

त्यसपछि सुने –चोःलुङ पार्क ।

एकसर्को सुनिसकेपछि,

–निश्चित भेगका सोल्टी सोल्टिनीविचको सांगीतिक संवाद हो –चोःलुङ पार्क । त्यो निश्चित भेग भनेको अहिलेको ब्यवस्थाले प्रदेश नं १ को छथर र चौविस हो । छथर भन्ने बितिकै जिल्लाले धनकुटा र तेह्रथुमको केही भाग भन्ने बुझ्नु पर्दछ भने चौबिसे धनकुटा जिल्लाको तमोरले काटेको केही भाग भन्ने बुझ्नु पर्दछ । त्यहिँ भेगको गीत चोःलुङ पार्क ।

–पछिल्लो समय लिम्बू सांस्कृतिसँग जोडेर निर्माण गरिएको पर्यटकिय स्थालको रूपमा विकास हुदै गरेको स्थानलाई स्थापित गर्ने गीत चोःलुङ पार्क ।

–प्रयुक्त शब्द सोमिःप्मा र सोमिःप्पा लिम्बू समुदायका विम्वात्मक युवा युवती । तेसोर लिम्बु तरुनी तन्नेरी विचको भावनात्मक सम्बाद चोःलुङ पार्क ।

–पूर्वेली लोक भाकामा ख्यालीको प्रयोग बराबरको परिणाम चोःलुङ पार्क ।

अलिक गमेर सुनिसकेपछि अरुथप ः–

–गायक विश्वव्यापी अनलाईन पालाम प्रतियोगितामा उत्कृष्ट पालाम चोःलुङ अवार्डले सम्मानित मात्रै हैनन् नवनिर्मित चोःलुङ पार्क आसपासका बासिन्दा पनि हुन् ।

–गायिका विश्वव्यापी अनलाईन पालाम प्रतियोगितामा तेश्रो स्थान ओगट्न सफल मात्रै हैनन चौविसे क्षेत्रको बासिन्दा पनि हुन् ।

–गीतकारले यहि तथ्यमा डुबेर छथरे सोल्टी र चौविसे सोल्टिनी विचको भावनात्मक संवाद परिकल्पना गरे । अझ यसो भनौ यो संगोग मात्र नभएर गायक र गायिका कै लागि भनेर गीतकारले गीत लेखे ।

–गीतकारले गीत लेख्दै गर्दा ऐतिहासिक थतथलो, पहिचान र संस्कृतिक पक्षलाई बढी जोड दिए ।

र, सारमा –खास जाति, पहिचान, संस्कृति अनि ऐतिहासिकता प्रति सचेत गीत नै चोःलुङ पार्क ।

यत्ति बोलिसकेपछि

दीलदुःखी जन्तरेको सोमिःप्मा भएर चै म चोःलुङ पार्क घुम्न निस्किन्छु ।

यतिबेला, म थाकेलुङमा थकाई मारिरहेको छु वा हाङ्सेमालुङलाई अंगालो हालेर खुई काढिरहेको छु । चौविसे र छथरलाई वारी–पारी बनाएर तमोर(कोसी) बगरिहेको छ । सुसाउदै उधैउधो बग्ने तमोरको वेगले पछिल्तिर छाडेको सिरसिर वतास मलाई छुदै लाग्छ उभैउभो फक्ताङलुङतिर । वदनलाई स्पर्श दिएर जाने तमोरको निश्छलताले वसिभुत हुदै आनन्दको आँखा चिम्लिन्छु –म ।

च्याङ….. आवाजले हृदयको एकछेउ हिर्काउछ र थिर्लिङ दिदै जान्छ । सपना झैँ लाग्ने च्याब्रुङको थरथराहटले मनभित्र काउकुती लगाउछ । अझ जोडले आँखा चिम्म गर्छु –म ।
………………….

ए कतिमा राम्रो तोरीबारी, सोमिःप्मा उता कोसीपारी
ऐसेलु फूल्यो बन सेतै, ज्यान मात्र यता मन त्यतै

–पुरुष आवाजले आँखा उघारी दिन्छ । मिच्दै आँखा सफा गर्छु र आवाज आएतिर हेरिपठाउछु । देख्छु –ढाकाटोपी ढल्काएर, ढाकाकै स्टकोटमाथि ढाकाकै गल्फन फिरफिर हल्लाउदै कोसीपारीको बन्चरेडाडा ओह्रालो याक्चाना घाटतिर झर्दे गरेको सोमिःप्पालाई । वा, देख्छु –उस्तै पहिरनमा उसैगरि गल्फन फिरफिर हल्लाउदै कोसीपारीको लुकुवाडाँडा ओह्रालो फलामेटार घाटतिर झर्दै गरेको सोमिःप्पालाई । सायद उसले पनि मलाई देखिरहेको छ –थाकेलुङमा तान बुन्दै गरे जस्तो वा हाङ्सेमालुङ गाढ्दै गरे जस्तो ।

डाडैडाडा ओह्रालो झरेर आफुतिर आउदै गरेको सोमिःप्पालाई देखेपछि मन उद्धेलित भएर आउछ । र, कुसेटार÷सदमटार वा हंसमोरङ÷फलामेटारका फाँट डुल्दै भाका हाल्छ,–
…………..

धानैमा काटी सुकि न्यानले, सम्झेको छु नि दुःखी ज्यानले
माझीले जालै हान्छ नि, कटक्कै मुटु खान्छ नि

देख्दैछु –याक्चाना घाट वा फलामेटार घाटपारी डुङ्गा कुरिरहेको सोमिःप्पा, जो ढुङ्गामा टुकुक्र बसेर सुनाई रहेछ,–

चौविसै वारी छथर पुग्दैन मनको रहर
खोरुङ्वा खोलाको पानी चोखो छ

र, कतिबेला डुङ्गा चढिवरी तमोर तरेर मेरो छेउ टुसुक्क बस्न आईपुग्छ अनि हात बढाएर म सम्म आउनुको उदेश्य प्रकट गर्नु थाल्छ,–

हात समाई सोमिःप्मा ज्यू
चोःलुङ पार्कमा घुम्ने धोको छ ।

बुझ्छु –आफुलाई कुमार जताएर सोमिःप्पा मेरो हात मागिरहेको छ । चोःलुङ पार्क आसपासको ठेगाना बताएर उ मसँग घर बसाउन चाहन्छ ।

सोमिःप्पाको छुवाईले म लज्जावती झार हुन्छु र खुम्चिदै खुम्चिदै लजालु भाव पोखिदिन्छु, –

चौविसै पारी छथर मरेर लानु के छ र
खदमखोलाको पानी चोखो छ

’खदमखोलाको पानी पिएर हुर्किएकी यो सोमिःप्माको पनि घरजम भै सकेको छैन नि’ –को संकेत दिएर म आफ्नो गाउँ सिरानका थुम, यक, भञ्ज्याङ्ग पुर्याउन खोज्छु सोमिःप्पालाई,–

धानै नाच्ना सोमिःप्पा ज्यू
साम्लो लुङधुङमा भेट्ने धोको छ ।

‘हात माग्नुको लागि यो नाक ठोक्किने उकालो कसरी छिचोलु !’ मेरो भावना बुझेको सोमिःप्पा मुर्कुटे डाडाको बाटो हेरिपठाउछ । खुईया मार्छ । एकछिन सुस्ताउछ । सायद, उकालो चढ्नु उसको साँस हिक्दैन । अनि, अभिभावकको अनुमति बिनै कोसीपारी लैजान जोरजुलुम गर्न थाल्छ । हात जोडेर युमा माङसंग उपकार गर्छ । र, मेन्छायायम डाडामा नयाँ नाताको जोडी छेलो हानिपठाउछ ।

नाक ठोक्किने उकालो देखेर हरेसखानु लागेको सोमिःप्पाको मनलाई म अर्कोबाटो छरुवा खोलैखोला हिडाउछु । जरुवाको पानी चखाउदै शिरमै पुर्याउछु । त्यसपछि पाःवरक र माःवरक(थेवामाङ र युमामाङ)को मुन्दुम फलाक्छु । राजापोखरी र रानीपखरीको पौरणिकता फलाक्छु । खदमखोला उत्पतीको कथा फलाक्छु । राजारानी नामकरण हुनुको कथन फलाक्छु । फलाक्दै फलाक्दै खदमखोलाको मुहानमै उठ्ने चण्डीपूर्णे(बैसाख पूर्णेमा लाग्ने मेला जुन हालसम्म पनि लाग्ने गर्छ) मेला घुमाउछु । र, पुनः उही छरुवा खोलाको पानीसँगै बगाउदै बगाउदै त्रिवेणी दोभान झार्छु अनि खुसुक्क कानमा भन्छु,– सोमिःप्पा ज्यू ! तेलिया खोला भएर बग्दै बग्दै झर्नु, म छरुवा भएर बग्दै बग्दै झर्छु र यो कोसी वारीपारीको सम्बन्धलाई तमोरमा मिलाएर बगौला –उधैउधो ।

छरुवा खोला दोभानैनिर उठ्ने शिवरात्री मेला (कुनै समय धनकुटा, तेह्रथुम, पाँचथर तीन जिल्लाका मान्छे भेला भएर उठ्ने मेला, अचेल उठ्न छाडेको छ ।) मा भेट्ने भाका राख्छु । मैले राखेको भाकामा मञ्जुरी जनाउदै सोमिःप्पाले ईस्टकोटको भित्री गोजीबाट चन्द्रहार निकाल्छ । अनि, मैले ओढिरहेको पच्छ्यौरीको फेरो तान्छ र एकछेउमा चन्द्रहारको पोको बाँधिदिन्छ । भनौनः बैना मार्छ । अनि मायाको रित जताउदै कोसीपारी फर्किजान्छ र तमोरको किनारै किनार उभोतिर लाग्छ, सुनाउदै –
………………………..

चिताको माग्न सोमिःप्मा ज्यू
मुक्कुमलुङ दर्शन गर्ने धोको छ ।

मनै त हो, कहा मान्दो रहेछ र ! मान्दै मान्दैन । पारी किनार हिड्ने सोमिःप्पालाई हेर्दै म पनि वारी किनारै किनार लाग्छु उभोतिर, मुक्कुमलुङलाई ताकेर ।

चोःलुङ पार्क घुमिसकेपछि भन्नै पर्ने हुन्छ –मैले किन सोमिःप्मा भईखाने दुस्साहस गरे ? किनभने,

–पेशल मावुहाङ भनेकै दीलदुःखी जन्तरे हुन र दीलदुःखी जन्तरे कुनैबेलाका मेरा जिग्रीयार हुन । त्यसैले एउटा जिग्रीयारीको नाताले आफूलाई सोमिःम्माको कल्पना गर्ने दुस्साहस गरे ।

–पेशल मावुहाङले कल्पना गरेको सोमिःप्मा पात्र चौविसेवासी हुन भन्ने मेरो बुझाई हो । म आफु चौविसेवासी भएको नाताले यथार्थको पात्र चित्रित गराउनलाई सोमिःप्मा हुने दुस्साहस गरे ।

–हुन त गीत भावनाको बहाव मात्रै हैन । तर, भावसून्य गीतमा जीवन हुदैन –यो साँचो हो । अतः कल्पनाको पात्र भन्दा यथार्थ पात्र बढि भावनात्मक हुन्छ भन्ने लागेर सोमिःप्मा हुने दुस्साहस गरे ।

–यद्धपी यो भावनाको कुरा मात्रै हो तर यदी म भैदिएको भए चौविसे भित्रैका त्यस्ता ऐतिहासिकता, मौलिकता, मिथकियताहरु(जुन चोःलुङ पार्क गीतको मूल थिम हो)लाई उजागर गर्ने थिएँ भन्ने अभिष्टका लागि सोमिःप्मा हुने दुस्साहस गरे ।

र, अन्त्यमा प्रष्टिकरण –

यो चोःलुङ पार्क माथिको समिक्षा हैन । विश्लेषण पनि हैन । समालोचना पनि हैन । र आलोचना त झन हुदै हैन । हो भने, सोमिःप्मा माथिको थोरै गुनासो हो । त्यो गुनासो भनेको –

–नागराजा र नागरानी वास भएको ति दुईपोखरी उज्यालो पवित्र स्थलदेखि अध्यारोतिर खोलिएर जाने क्रममा बनेको खोल्सी नै अहिलेको खदम खोला हो । जुन खोला मोरङतिर फर्किएर बग्छ । तेसरी मोरङतिर फर्किएर बग्ने खोलाको पानी खाएर हुर्केकी सोमिःप्मालाई विपरिद दिसातिर फर्काएर छथरे(तेह्रथुम) सोमिःप्पासँग प्रेमलाप गराउनु सफल प्रयोग हो । तर, सोमिःप्मा न खदम खोलैखोला बहकिदै बहकिदै बगी, न त छथर फर्किएर झर्दै झर्दै तमोर झरी । बरु चौविसेको शिरैशिर भएर पान्थरको हेवाखोलामा नुहाउदै युमा पुज्न कुम्मायक कुस्सायक पुगी अनि माईखोलाको पानीमा पौडिदै पौडिदै माईबेनी मेला झरी ।

प्रेम छथरेसँग अनि झुकाव अन्तैतिर ! सोमिःप्माले यसो किन गरी ? –गुनासो यति हो । तर पेशल मावुहाङको चोःलुङ पार्क भएको हुनाले यति गुनासो गर्ने हक पनि मलाई छैन । यदी दीलदुःखी जन्तरेको चोःलुङ पार्क भै दिएको हुन्थ्यो भने पक्कै सोध्थे,–

जन्तरे ! तपाईको सोमिःप्मा किन त्यति चन्चले हँ ?

चौविसे ५, बोधे
हाल, मलेसिया ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...